काठमाडौँ । बिहीबार राती ८ बजेर ५१ मिनेटमा नेपाल खबर अनलाइनमा एउटा समाचार प्रकाशन भयोः दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइँदै” । लगत्तै अनलाइन खबर, कान्तिपुरसहितका अन्य सञ्चार माध्यमहरूले पनि राजतन्त्र पुनर्वहालीका लागि आयोजित प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं पक्राउ परेको समाचार प्रकाशन गरे । केही समयमा नै यो खबर सामाजिक सञ्जालमा भाइरल बन्यो ।

राति ९:२४ मा दुर्गा प्रसाईंको सचिवालय नामक फेसबुक पेजमा एउटा स्टाटस आयो । “अहिले २ घण्टा अगाडि हाम्रो अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षाको लागि आफै भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामीले भिडिओ मार्फत हाम्रो ज्यान को सुरक्षाको ग्यारेन्टी भए २४ घण्टा भित्र उपस्थित हुन्छौँ भनेका थियौँ र आज उपस्थित भयौँ ! (दुर्गा प्रसाईं) ।
समाचारले बजार तताउँदै थियो । त्यत्तिकैमा नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजबाट राती ११:०२ मा प्रेस विज्ञप्ति जारी गर्यो । जसमार्फत प्रसाईं पक्राउ परेको समाचारको खण्डन गरियो । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं खोजीको सूचिमा रहेको जानकारी गराउँदै प्रहरीले उनी पक्राउ नपरेको र भ्रामक समाचार प्रकाशन, प्रसारण नगर्न अनुरोध नै गर्यो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यको हस्ताक्षरसहित जारी गरिएको उक्त प्रेस विज्ञप्ति सार्वजनिक भएको केही समय पनि नबित्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू मिडियाहरूमाथि खनिन थाले ।

दुर्गा प्रसाईं पक्राउ परेको विषयमा लेखिएका समाचारका पोस्टमा गएर मिडियालाई तथानाम गालीगलौजको वर्षा नै हुन थाल्यो । प्रहरीकै विज्ञप्तिको पोस्टमा हालसम्म करिब ११ सय कमेन्ट आइसकेका छन्, जसमा अधिकांशमा मिडियालाई नै गाली गरिएको छ । यतिसम्म नकारात्मक टिप्पणी मिडियाहरूमाथि भएका छन् कि ती कमेन्ट यहाँ जस्ताको त्यस्तै उल्लेख गर्न समेत असहज हुने स्थिति छ ।
अर्कोतर्फ आत्मसमर्पण गरेको कुरालाई मिडियाले पक्राउ परेको भनेर लेखेको भन्दै आलोचना भयो । प्रहरीको प्रेस विज्ञप्ति सँगसँगै ईकान्तिपुरमा “दुर्गा प्रसाईं पक्राउ, शुक्रबार सार्वजनिक गर्ने तयारी” शीर्षकमा राती ११ बजेर ११ मिनेटमा अर्को समाचार प्रकाशन भयो । हालसम्म त्यो समाचारमा ३३२ कमेन्ट छन् । अनि कमेन्टमा मिडियाप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आक्रोश पोखेका छन् ।
“१२ भाइ पत्रकारिता” देखि लिएर “फेक न्युज” जस्ता शब्दावलीसहित दुर्गा प्रसाईं प्रकाउ परेको समाचार झुटो भएको कुरा नेपाल प्रहरीले पुष्टि गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता मिडिया विरुद्ध खनिए । प्रहरीको एउटा विज्ञप्तिका कारण बिहीबार राती सामाजिक सञ्जालका भित्ताहरू मिडियालाई गरिएका गालीले भरिए ।
तर परिस्थिति त्यति बेला पनि परिवर्तन भएन, जति बेला नेपाल प्रहरीले शुक्रबार बिहान ११:११ मा अर्को विज्ञप्ति जारी गरेर भन्यो, “दुर्गा प्रसाईं झापाबाट पक्राउ”। प्रहरीले नै प्रसाईं पक्राउ परेको विषय स्पष्ट पार्दा समेत सामाजिक सञ्जालमा मिडिया विरुद्ध गाली गर्ने क्रम भने रोकिएन ।
१५ चैतमा राजावादीको आन्दोलनका क्रममा तीनकुनेमा भएको हिंसात्मक गतिविधिपछि दुर्गा प्रसाईं फरार थिए । यसबिच उनले सामाजिक सञ्जाल मार्फत नै दुई ओटा भिडिओ सार्वजनिक गर्दै आफ्नो परिस्थितिको विषयमा जानकारी दिइरहेका हुन्थे ।
निकै चर्चा र चासोको विषय बनिरहेका उनी पक्राउको समाचार एक्सक्लुसिभ रूपमा दिनु आफैँमा सहज थिएन । प्रहरीले सार्वजनिक गर्नु भन्दा अगाडि नै यस्तो समाचार मिडियामा ल्याउन पत्रकारले पनि कम्ती मेहेनत गरेका हुँदैनन् ।
त्यसो त पछिल्लो समय सामाजिक सञ्जालमा पत्रकारहरू प्रति गलत धारणा राखेर मिडियालाई गालीगलौज गर्ने क्रम निकै बढेको छ । सामाजिक सञ्जाल हेर्ने हो भने समाचार जस्तोसुकै होस्, पत्रकार र मिडियाले गाली नखाएको कमै भेटिन्छ ।
पाठक, श्रोता, दर्शकसम्म समयमै सूचना पुर्याउन पत्रकारले गर्ने मेहनेत र कष्टको विषयमा यहाँ चर्चा कमै हुन्छ । तीनकुनेको हिंसात्मक आन्दोलनमा एक जना पत्रकार रिपोर्टिङ गर्दागर्दै आन्दोलनकारीले नै आगजनी गरेको घरमा जलेर बिते । पत्रकारितालाई ‘अड आवर जब’ भनिन्छ ।
अर्थात् पत्रकारको काम गर्ने कुनै निश्चित दिन, समय वा बार हुँदैन । अर्थात् हरेक समयका लागि पत्रकार तयार भएर बस्नुपर्छ । तर पछिल्लो समय पत्रकार र मिडिया प्रति भने सामाजिक सञ्जालमा उल्टै नकारात्मकता बढ्दोछ । जसले पत्रकार तथा सञ्चारकर्मीहरूमा आफ्नो पेशाप्रति नै नैराश्ययता बढाउने चिन्ता पनि गर्न थालिएको छ ।
पत्रकारिता भनेको समाजको निगरानी गर्ने र सुधारको पक्षमा आवाज उठाउने माध्यम हो । तर समय क्रममा विभिन्न प्रकरणहरूमा पत्रकारिता आफ्नो भूमिकाबाट विचलित हुँदै गएको आम सञ्चार तथा पत्रकारिताका अध्यापक डा श्रीराम पौडेल बताउँछन् ।
कहिलेकाहीँ राजनीतिक, कहिले कर्पोरेट, त कहिले कुनै विशेष स्वार्थ समूहको प्रभावमा परेर पत्रकारिता विचलित भएको र जसको असर मिडिया प्रतिको विश्वासमा परेको उनको विश्लेषण छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा गलत सूचना (misinformation), भ्रामक सूचना (disinformation), र दुर्भावनायुक्त सूचना (malinformation) को प्रवृत्ति बढेको उनले बताए । विशेषगरी घृणा व्यक्त गर्ने, गालीगलौजका शब्दहरू प्रयोग गर्ने र तथ्य नजाँचिकन आरोप लगाउने प्रवृत्ति तीव्र हुँदै गएको उनको भनाई छ ।
“सामाजिक सञ्जालका सामान्य प्रयोगकर्तादेखि पत्रकारसम्म सबैलाई एउटै तराजुमा जोख्ने, आलोचना गर्दा मर्यादा नअपनाउने, र व्यक्तिगत गालीगलौजसम्मको अवस्था देखिएको छ। यसको पछाडि कतिपय अवस्थामा कुनै न कुनै स्वार्थ, विचारधारा, वा समूहगत आबद्धता रहने गरेको पाइन्छ,” डा पौडेल भन्छन् ।
यस्ता प्रवृत्तिहरूले पत्रकारिता र मिडियाको विश्वसनीयता खस्काउने काम गरेको उल्लेख गर्दै उनी अहिलेको सन्दर्भमा कतिपयले जानाजान, नियोजित रूपमा पत्रकार र मिडियालाई गलत देखाउन कै लागि सामाजिक सञ्जालमा गालीगलौज गर्ने काम गरिरहेको बताउँछन् । पत्रकार मात्र होइन, नेता, मन्त्री, कलाकार लगायतका व्यक्तिहरू पनि सामाजिक सञ्जालमा बढी गाली खेप्नेहरूमा पर्छन् ।
यसको पछाडि मनको सन्तुष्टि हुने गरेको मनोविज्ञ करुणा कुँवर बताउछिन् । “सामाजिक सञ्जालमा राम्रो होस् वा नराम्रो, केही मान्छेहरूमा नकारात्मक कमेन्ट गर्ने प्रवृत्ति नै हुन्छ,” उनी भन्छिन्, “कसैलाई गालीगलौज गर्दा अनि त्यसमा अरूले पनि समर्थन गर्दै थप गाली गरेको देख्दा आत्मसन्तुष्टि महसुस गर्ने मान्छेहरू पनि छन् । प्राय: यस्तै प्रवृत्तिका मान्छेहरूले सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट बढी आउने गरेको पाइन्छ ।”
आफूले गरेको कमेन्टले कसलाई कस्तो असर गर्छ वा त्यसले भविष्यमा कस्तो परिणाम दिन्छ भन्ने कुरा वास्ता नगरी उनीहरू क्षणिक सन्तुष्टिका लागि गालीगलौजमा उत्रिने गरेको कुँवर बताउँछिन् । अर्कोतिर नेता र देशको राजनीतिक अवस्थाबाट आजित भएर जेन्युन फ्रस्टेसन कमेन्ट मार्फत पोख्ने मान्छे पनि हुने गरेको उनको भनाई छ । “आफ्नो भनाई वा सोचमा विश्वस्त नभएका मानिसहरू भने फेक अकाउन्ट बनाएर नेगेटिभ कमेन्ट गर्ने गर्छन् । उनीहरूमा आफूलाई ब्याकफायर हुन्छ कि भन्ने डर भने हुन्छ,” उनी थप्छिन् ।
आफूभित्रको कुण्ठा पोख्नकै लागि मानिसहरू सामाजिक सञ्जालमा नेगेटिभ कमेन्ट गर्ने गरेको उनको विश्लेषण छ । यस्तै मनोविमर्शकर्ता कृपा सिग्देल केही अनुसन्धानहरूले मानिसहरूलाई अगाडि भेटेर भन्नु भन्दा पछाडि थाहा नहुनेगरी भन्न सहज मान्ने भएकाले पनि सामाजिक सञ्जालमा व्यक्तिहरू यस्तो प्रवृत्तिको शिकार हुनुपरेको बताउँछिन् ।
“प्रत्यक्ष भेट्दा भन्दा सामाजिक सञ्जालबाट नकारात्मक भावनाहरू व्यक्त गर्न सहज हुन्छ,” उनी भन्छिन्, “सामाजिक सञ्जालमा सिधै देखिँदैन । भेट्नु पर्दैन, त्यसैले भन्न सजिलो हुन्छ ।” साथै सार्वजनिक व्यक्तित्वहरू सहजै उपलब्ध हुन्छन् । फेरि सकारात्मक भन्दा नकारात्मक कुराबाट छिट्टै प्रभावित हुने मानिसको प्रवृत्ति नै हुने भएका कारण सार्वजनिक व्यक्तित्वहरू बारे नकारात्मक कुराहरू छिट्टै फैलिन्छन् र औँल्याउन पनि सहज हुने उनी बताउँछिन् ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८१ २१:२८
सामाग्री श्रोत :
टेक पाना