काठमाडौँ । तपाईँले च्याट गर्ने रोबोट अर्थात् च्याटबटहरू त देख्नुभएकै होला । तिनीहरूले तपाईँका प्रश्नहरूको जवाफ दिन्छन् । तर अहिले यस्तो नयाँ चतुर एआई सिस्टम आएको छ, जसलाई एआई एजेन्ट भन्ने गरिन्छ । यस्ता एआई एजेन्टहरूले तपाईँले भनेको काम आफैँ गर्न सक्छन् । त्यसमध्ये एउटा हो, म्यानस एआई ।

कल्पना गर्नुहोस् ! एउटा यस्तो भविष्य, जहाँ तपाईँले “मलाई नयाँ पासपोर्ट चाहियो” मात्र भन्नुपर्छ, बाँकी सबै प्रक्रिया एआईले नै पूरा गरिदिन्छ । यस्तो सम्भावना म्यानस एआईको आगमनसँग झनै नजिकिएको छ । च्याटजीपीटीजस्ता एआई च्याटबटहरू मानिसले दिने इनपुट तथा प्रम्प्टमा निर्भर हुन्छन्, तर म्यानसले भने मानिसको सहयोग बिना आफैँ सोच्न, निर्णय लिन र प्रक्रिया सम्पन्न गर्न सक्छ ।
म्यानस एआईका संस्थापक हुन्, ३३ वर्षीया जियाओ होङ । हङकङमा जन्मिएका उनले ह्वाजहोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सफ्टवेयर इन्जिनियर पढे । उनै जियाओ होङले बनाएको एआई एजेन्ट हो, म्यानस एआई । जसलाई साधारण प्रयोजनका कामलाई स्वचालित बनाउने विश्वकै पहिलो एआई एजेन्ट बताउन थालिएको छ । इन्भाइट गरिएका प्रयोगकर्तामा मात्र सीमित राखिएको म्यानस एआईका लागि १० लाखभन्दा बढी वेटलिस्टमा छन् ।
ह्वाजहोङ युनिभर्सिटीका पूर्वविद्यार्थी निरज भुसाल म्यानस एआईका संस्थापक जियाओ होङ आफ्ना सहपाठी भएको बताउँछन् । “विच्याटका जन्मदाता एलेन झाङसहित ह्वाजहोङका ग्र्याजुएयटहरूको मार्गमा म्यानसका संस्थापक तथा मेरा सहपाठी शियाओ होङको नाम पनि जोडिएको छ,” भुसाल भन्छन् ।

म्यानस एआई एउटा पूर्ण रूपमा स्वचालित एआई सिस्टम हो । चीनको मोनिका नामक कम्पनीले बनाएको यो एआई एजेन्ट गएको ६ मार्चमा मात्रै सार्वजनिक भएको हो । लगत्तै यो एआई एजेन्टले संसारभर चर्चा पाइरहेको छ । मानिसहरूले यसलाई अभूतपूर्व क्षमता भएको र छिटो समस्या समाधान गर्न सक्ने एआई भनिरहेका छन् ।
अन्य च्याटबटहरूले जस्तो यसले केवल प्रश्नोत्तर मात्र गर्दैन । बरु यसले धेरै किसिमका कामहरू आफैँ योजना बनाएर सम्पन्न गर्न सक्छ । उदाहरणका लागि, यसले धेरै जनाको बायोडेटा पढेर राम्रा आवेदक छाँट्न सक्छ । यसले अनुसन्धान गर्न, तथ्याङ्कहरू विश्लेषण गर्न, रिपोर्ट लेख्न, स्प्रेडशिट बनाउन, विभिन्न सामग्रीहरू तयार पार्न, यात्राको योजना बनाउनुका साथै वेबसाइटहरू समेत बनाउन सक्छ ।
म्यानस एआईले जीएआईए (GAIA) नामक परीक्षणमा धेरै राम्रो प्रदर्शन गरेको बताइन्छ । यो परीक्षणले एआईले वास्तविक संसारका समस्याहरू कति राम्ररी समाधान गर्न सक्छ भनेर जाँच्छ । केही रिपोर्टहरूका अनुसार, म्यानसले यस परीक्षणमा ८६.५% सम्म अङ्क प्राप्त गरेको छ । जुन अरू एड्भान्स एआईहरू भन्दा राम्रो हुन सक्छ ।
म्यानस एआईलाई एआईको क्षेत्रमा एउटा ठुलो फड्कोको रूपमा हेरिएको छ। यसले मान्छे र मसिनको सहकार्यलाई नयाँ तरिकाले अगाडि बढाउन सक्छ र सम्भवतः पूर्ण रूपमा आर्टिफिसियल जनरल इन्टेलिजेन्स -एजीआईको झलक दिन सक्छ ।
यसको क्षमताले विभिन्न उद्योगहरूमा काम गर्ने तरिकालाई परिवर्तन गर्न सक्छ, जस्तै व्यापार प्रक्रिया, तथ्याङ्क विश्लेषण, सफ्टवेयर विकास, सामग्री निर्माण, कर्मचारी भर्ना र वित्तमा स्वचालित बनाउन सक्छ ।
मोनिकाले भविष्यमा म्यानसका केही मुख्य प्राविधिक भागहरूलाई ओपन सोर्स गर्ने योजना बनाएको छ । जसले गर्दा धेरै मानिसहरूले यसलाई प्रयोग गर्न र अझ राम्रो बनाउन मद्दत गर्नेछन् ।
म्यानस एआई एक्लै काम गर्दैन । यसमा धेरै स-साना इन्टेलिजेन्ट एजेन्टहरू हुन्छन् । जस्तै, योजना बनाउने एजेन्ट, जानकारी खोज्ने एजेन्ट, कोड लेख्ने एजेन्ट आदि । यी सबै मिलेर ठुला र जटिल कामहरूलाई स-साना भागमा बाँडेर सम्हाल्न सक्छन् ।
म्यानस एआईले क्लाउडमा काम गर्छ । यसको मतलब तपाईँले आफ्नो कम्प्युटर बन्द गरे पनि यसले काम गर्न छोड्दैन र काम सकिएपछि तपाईँलाई खबर गर्छ ।
म्यानस एआईका विशेषता:
१. आफैँ काम गर्न सक्ने क्षमता: यसले कसैबाट लगातार रूपमा प्राप्त हुने निर्देशन बिना विभिन्न जटिल कामहरू गर्न सक्छ ।
२. धेरै तरिकाको सूचना बुझ्ने र बनाउने: यसले लेख, चित्र र कोड जस्ता धेरै प्रकारका सूचनाहरूलाई बुझ्न र बनाउन सक्छ ।
३. अरू उपकरणहरूसँग सजिलै जोडिन सक्ने: यसले वेब ब्राउजर, कोड एडिटर र डेटाबेस म्यानेजमेन्ट सिस्टम जस्ता टुलहरूमा सजिलै काम गर्न सक्छ । यसले इन्टरनेटमा आफैँ खोज्न, फारामहरू भर्न र वेबसाइटहरू चलाउन सक्छ ।
४. सिकिरहने क्षमता: यसले प्रयोगकर्तासँगको अन्तरक्रियाबाट लगातार सिकिरहन्छ र आफ्नो काम गर्ने तरिकालाई अझ राम्रो बनाउँदै लैजान्छ । यसको आफ्नै ज्ञान र सम्झने शक्ति हुन्छ, जसले गर्दा पहिले गरेका कामहरूबाट सिक्न सक्छ ।
५. पारदर्शिता: यसमा एउटा छेउमा देखिने प्यानल हुन्छ, जसले यो कसरी काम गरिरहेको छ भनेर देखाउँछ । अरू धेरै एआईले भित्र के गरिरहेको छ भन्ने कुरा थाहा नदिने भए पनि यसमा भइरहेका कामहरू देख्न सकिन्छ ।
६. कामको प्रक्रिया फेरि हेर्न मिल्ने: तपाईँले पहिले म्यानसले गरेको कुनै पनि कामलाई फेरि हेर्न सक्नुहुन्छ र यसले कसरी काम सम्पन्न गर्यो भनेर जान्न सक्नुहुन्छ । यो खासगरी गल्तीहरू पत्ता लगाउन, सिक्न र अरूसँग मिलेर काम गर्न उपयोगी हुन्छ ।
पछिल्लो अध्यावधिक: चैत २९, २०८१ ८:१५
सामाग्री श्रोत :
टेक पाना