२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

मुस्ताङको जोमसोममा पहिलोपटक सुरु भयो गम्भीर बिरामीलाई रगत चढाउने सेवा

जोमसोम- हिमाली जिल्ला मुस्ताङको जोमसोमस्थित प्रदेश अस्पतालमा पहिलोपटक गम्भीर प्रकृतिका बिरामीलाई रगत चढाउने सेवा सुरु गरिएको छ। यसअघि मुस्ताङमा दुर्घटनामा परेका गम्भीर घाइते वा अत्यधिक रक्तश्राव भएका सुत्केरी महिलाहरूलाई पोखरा लैजानेबाहेक विकल्प थिएन।जोमसोममै पहिलोपटक अस्पतालमै रगत चढाउने सेवा सुरु भएपछि धेरैको ज्यान बचाउन सकिने विश्वास गरिएको अस्पतालका कन्सल्टेन्ट डा विशाल सापकोटाले जानकारी दिए।उनका अनुसार चैत २३ गते, २३ वर्षीया एक महिला घरमै सुत्केरी भएकी थिइन्। सुत्केरीपश्चात अत्यधिक रक्तश्राव भएको, पाठेघरको मुख गम्भीर रूपमा चिरिएको तथा रगतमा हेमोग्लोबिनको मात्रा निकै कम (५.५) रहेको अवस्थामा उनलाई तत्काल रगत चढाउनु अपरिहार्य थियो। सामान्य व्यक्तिमा करिब १३ हेमोग्लोबिन हुने भए तापनि ती महिलामा अत्यन्त न्यून मात्रा रहेकाले अवस्था अत्यन्तै गम्भीर बनेको थियो। बिहान करिब ७ बजे सुत्केरी भएकी ती महिलालाई दिउँसो १ बजे मात्रै अस्पताल ल्याइएको थियो, त्योबेला उनी अर्धचेत अवस्थामा थिइन्।डा विशाल सापकोटाको नेतृत्वमा डा अनिसा गुरुङ, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्सहरू दिव्या जिसी र सुधा पौडेलको टोलीले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेका हुन्। सो क्रममा दुई पिन्ट रगत आवश्यक परेको थियो। रक्तसमूह पहिचान गरी उपयुक्त रगतदाताको खोजीपछि रगत चढाइएको थियो।’घरमै सुत्केरी भएकी महिलाको बच्चाको नाभि काट्ने लगायतका काम पनि घरमै गरिएको रहेछ। रक्तश्राव भएपछि मात्र उनलाई अस्पताल ल्याइएको हो। अवस्था गम्भीर देखिएपछि तत्काल शल्यक्रिया गरेर रगत चढायौं। यो मुस्ताङमा पहिलोपटक गरिएको महत्त्वपूर्ण सेवा हो,’ डा सापकोटाले भने, ‘एक व्यक्तिले दिएको रगत अर्को व्यक्तिलाई सफलतापूर्वक चढाइएको यो पहिलोपटक हो। अबदेखि रगत आवश्यक परेमा पोखरा लैजानुपर्ने बाध्यता अन्त्य भएको छ।’रक्त आपूर्तिको सुनिश्चितताका लागि डा सापकोटाले मुस्ताङमा ब्लड बैंकको स्थापना अपरिहार्य रहेको उल्लेख गरे। ‘तत्काल रगत दिने व्यक्ति सधैँ पाउन सकिन्न,’ उनले भने, ‘मुस्ताङमा रगत आवश्यक पर्ने बिरामीको सहज उपचारका लागि ब्लड बैंक स्थापना गर्न जरुरी छ। साथै, यो पर्यटकीय क्षेत्रसमेत भएकाले यहाँ सुविधा सम्पन्न अस्पताल, पूर्वाधार र दक्ष जनशक्तिको आवश्यकता छ।’उपचारपछि आमाको अवस्था स्थिर भएपछि उनलाई थप उपचारका लागि क्षेत्रीय अस्पताल पोखरा रिफर गरिएको छ।डा सापकोटाले रक्त परीक्षण र क्रस म्याचिङमा सहयोग गर्ने ल्याब टेक्निसिएन मैना थापा र टोली तथा मध्यरातमा रक्तदान गर्ने नविन थापा र शनि लाल बागदासप्रति आभार व्यक्त गरेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट