काठमाडौं । शनिबार थाइल्यान्डको भ्रमण पुरा गरी नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुँगुर चढाइएको चिपफेक (डिपफेकको अपरिष्कृत भिडिओ) सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणका क्रममा खिचिएको एउटा तस्बिरलाई लिएर ‘रमाइलो संसार’ नामक फेसबुक पेजले त्यस्तो भिडिओ बनाएर भाइरल गराएको हो ।

उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “केपि ओली सुँगुर चडेर थाइल्यान्ड बाट नेपालमा आएको छ हेर्नुस् भिडियो ।” भिडिओभित्र पनि टेक्स्ट क्याप्सन राखिएको छ, जसमा लेखिएको छ, “सुँगुर चढेर आएको केपीलाई नेपाल एयरपोर्टमा स्वागत ।”
भिडिओमा परिवर्तन गरिएको आवाज पनि राखिएको छ, जुन सार्वजनिक स्थलमा सुन्न नसकिने किसिमको छ । उक्त भिडिओ हेर्न यहाँ रहेको अर्काइभ लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ । याद गर्नुहोस् सो भिडिओमा प्रयोग गरिएको आवाज सार्वजनिक स्थलमा सुन्न सकिने किसिमको छैन ।
भिडिओमा प्रधानमन्त्री ओलीले हात हल्लाएर अभिवादन गरिरहेको देखिन्छ । त्यसपछि रातो कार्पेटमा सुँगुर आइरहेको देखिन्छ र प्रधानमन्त्री ओलीलाई त्यही सुँगुरमाथि चढेको देखाइएको छ ।

यो समाचार तयार पार्दासम्म उक्त भिडिओमा ६७ हजारभन्दा बढी रियाक्सन, २२०० भन्दा बढी कमेन्ट र ६ हजारभन्दा बढी शेयर छन् । भिडिओलाई ३५ लाखभन्दा बढी पटक हेरिएको छ । उक्त पेजमा फलोअर भने ११ हजार मात्रै छन् । अर्थात् फलोअरको सङ्ख्याभन्दा झन्डै ६ गुणा बढी लाइक नै छन् ।
यही भिडिओ र क्याप्सन अन्य फेसबुक पेजहरूले पनि डाउनलोड गरेर शेयर गरिरहेका छन् । उक्त पेजले नै कमेन्टमा आफूले यो भिडिओ तयार पारेको दाबी गरेको छ । कमेन्टमा उक्त पेजले लेखेको छ, “नोट# म नेपाल मा छैन र मैले जे बनाएको छु, त्यो अहिले को यथार्थ र जनआक्रोश हो । यो तबसम्म जारी रहन्छ, जब सम्म यस्ता भ्रष्ट दलाल देशद्रोहीले जन विरोधी काम गरी रहन्छ्न् । मेरो शब्द सायद गलत होला तर भिडिओ यथार्थ हो । जय नेपाल,,,,,,। …. हाल नयाँ दिल्ली भारत) ।”
कमेन्टमा भारतबाट पेज सञ्चालन गरेको भनिए पनि पेजको ट्रान्सपरेन्सी हेर्दा यो पेज पोर्चुगलबाट सञ्चालन भएको देखिन्छ । इन्टरनेटमा यस्ता भिडिओ बनाउन प्रयोग हुने सयौँ एआई टुल छन् । खासगरी स्थिर फोटोलाई चाल भएको बनाउन यस्ता टुलहरू प्रयोग भइरहेका हुन्छन् । पछिल्लो समय नेपाली टिकटक प्रयोगकर्ताले यस्ता टुलहरू प्रयोग गरेर थुप्रै भिडिओ बनाएका छन् ।
खासगरी विभिन्न मठमन्दिरका देउता हिँडेको, नाचेको बनाउन यी टुल प्रयोग भइरहेका छन् । धार्मिक आस्थामाथि खलल पुर्याउने सामग्री आएको भन्दै यसअघि पुरातत्व विभागले चिन्ता समेत व्यक्त गरेको थियो ।
अहिले भाइरल भइरहेको प्रधानमन्त्री ओलीको उक्त भिडिओलाई लिएर केहीले समर्थन र केहीले आलोचना गरेका छन् । खासगरी व्यक्ति जो भए पनि वा जसको भिडिओ बनाएको भए पनि त्यसमा प्रयोग भएका भाषा सार्वजनिक प्लेटफर्ममा राखिनु गलत भएको नेपाली फेसबुक प्रयोगकर्ताको टिप्पणी छ ।
फेसबुकमा कमेन्ट गर्दै कुमार कटुवालले लेखेका छन्, “समाजमा विकृति, द्वेष र घृणा फैलाउनु दण्डनीय कार्य हो । विरोध गर्दा सभ्य भएर गरौँ । देशको प्रधानमन्त्री पद भनेको सबैको साझा पद हो । व्यक्ति मन नपरेमा आगामी चुनावमा जनता मिलेर हराई दिएमा राम्रो होला । सामाजिक सञ्जालमा यस्तो अश्लील भिडिओ पोस्ट गर्दा केपी ओलीको मात्र नभएर देशकै बेइज्जत हुन्छ भन्ने कुराको हेक्का राख्नु हुन अनुरोध छ ।”
नेपाल र थाइल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो औपचारिक भ्रमणका लागि गत मङ्गलबार थाइल्यान्ड पुगेका थिए । थाइल्यान्डमा सम्पन्न बिमस्टेक शिखर सम्मेलनमा सहभागी भएर उनी शनिबार नेपाल फर्किएका थिए । लगत्तै प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए । सोही क्रममा खिचिएको फोटोलाई चिपफेक बनाइएको हो ।
चिपफेक भनेको एआई प्रयोग गरेर बनाइएको त्यस्तो सामग्री हो, जसमा कुनै व्यक्तिले बोलेको वा गरेको कुरालाई वास्तविक भिडियोमा परिवर्तन गरिन्छ । यो प्रविधि प्रयोग गर्न सजिलो हुनुका साथै यसमा सामान्य भिडिओ एडिटिङ टुल प्रयोग गरिएको हुन्छ ।
यसमा भिडिओको गति बढाउने, घटाउने वा केही अंश परिवर्तन गर्ने जस्ता काम गरिन्छन् । चिपफेक सजिलै पत्ता लगाउन सकिन्छ । चिपफेकको परिस्कृत स्वरूप नै डिपफेक (Deepfake) हो । यो प्रविधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिप लर्निङ प्रयोग गरेर बनाइन्छ । यसमा अनुहार परिवर्तन गर्ने, बोलेको कुरा फेर्ने वा पूरै नयाँ भिडिओ बनाउने जस्ता जटिल कामहरू गरिन्छन् ।
पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १८:१३
सामाग्री श्रोत :
टेक पाना