काठमाडौं । तपाईंलाई स्मार्टफोनमा पप-अप क्यामेरा भएको सम्झना छ ? हामीमध्ये कतिपयले यस्तो क्यामेरा भएका स्मार्टफोन प्रयोग गरेका छौं होला । केहीले सुनेका मात्रै छौं होला । केहीले यो कस्तो फोन भन्ने अड्कल नै पाएनौं होला ।
कुनै समय यस्ता स्मार्टफोनहरू बजारमा थिए, जसको डिस्प्लेमा न त नच थियो, न कुनै पञ्च-होल क्यामेरा । अगाडि केबल सफा डिस्प्ले हुन्थ्यो । डिस्प्लेमा त्यस्तो केही कुरा समावेश थिएन, जसले डिस्प्लेको अनुभव खलबलाउन सकोस् । अहिले जस्तो डिस्प्लेमा सेल्फी क्यामेरा देखिने चलनभन्दा फरक ती फोनहरूको सेल्फी क्यामेरा माथिल्लो भागमा राखिएको हुन्थ्यो ।
आवश्यक परेको बेला मात्र त्यसलाई बाहिर निकाल्न सकिन्थ्यो, जसलाई ‘पप-अप क्यामेरा’ नाम दिइएको थियो । पप-अप क्यामेरा एक समय यस्तो समाधानका रूपमा आएको थियो, जसले हामीलाई सधैं चाहिएको फुलस्क्रिन अनुभव दिन्थ्यो । केही समयको लागि ‘बजार यसैले पो कब्जा गर्छ कि’ भन्ने उत्साह उब्जाएको थियो ।
त्यहीमध्ये वनप्लस सेभेन प्रो स्मार्टफोन धेरैको रोजाइमा पर्न सफल भएको थियो । फोनको फुलस्क्रिन लुक्सले नै यसलाई उत्कृष्ट बनाएको थियो । र, पप-अप क्यामेराले सेल्फी क्यामेरा प्रयोग गर्ने तरिका साँच्चै नै अद्भूत छ भन्ने देखाएको थियो । तपाईंलाई सेल्फी फोटो लिनुपर्यो भने उक्त क्यामेरा सुटुक्क माथि निस्किन्थ्यो । र, प्रयोगपछि त्यत्तिकै गायब हुन्थ्यो । न कुनै नच, न कुनै कटआउट । यसले विशुद्ध फुलस्क्रिनको अनुभव दिएको थियो ।
तर आज हामी यस्तो अवस्थामा छौं, जहाँ लगभग हरेक स्मार्टफोनमा सेल्फी क्यामेराका लागि पञ्च-होल वा नच हुन्छ । यदि पप-अप क्यामेराले हामीलाई चाहिएको फुलस्क्रिनको अनुभव दिन्थ्यो भने किन त्यस्ता फोन हराए भन्ने प्रश्न धेरैको मनमा आउँछ । यसको उत्तर खोज्नका लागि हामी पप-अप क्यामेराको उदय र पतनलाई नजिकबाट बुझ्नुपर्ने हुन्छ । र, त्यो प्रविधि अहिले किन गायब भयो भन्ने जान्नुपर्ने हुन्छ ।
सन् २०१७ मा एप्पलले आईफोन १० सार्वजनिक गरेपछि फुलस्क्रिन अनुभवको होडले तीव्रता पायो । त्यसअघिका फोनका डिस्प्लेमा माथिल्लो भागको बीचमा क्यामेरा र स्पिकर राखिएको हुन्थ्यो । भने छेउका दुई भाग त्यत्तिकै खाली छोडिएको हुन्थ्यो । त्यसको तलपट्टि भने डिस्प्ले देखिन्थ्यो ।
एप्पलले नच राखेपछि डिस्प्लेको माथिल्लो भाग क्यामेरा, सेन्सर र स्पिकरका लागि छुट्याइयो । पहिले बाँकी भएको छेउको भागमा पूरै डिस्प्ले थियो ।
‘नच’ का कारण चर्चित यस फोनले स्मार्टफोन डिजाइनमै नयाँ मोड ल्यायो । आईफोन १० को अत्यन्त पातलो बेजल डिजाइनले उपभोक्तालाई आकर्षित गर्यो । र, अन्य ब्रान्डहरूलाई पनि यस दिशामा अघि बढ्न प्रेरित गर्यो । उपभोक्ताले यति सम्मको स्क्रिन पहिले कहिल्यै देखेका थिएनन् । यो डिजाइन फ्युचरिस्टिक महसुस हुन्थ्यो । जसले सबैलाई एज-टु-एज स्क्रिनको माग गर्न बाध्य बनायो ।
एप्पलले ‘नच’ डिजाइनलाई आत्मसात गरे पनि अन्य निर्माताले एप्पलको जस्तो डिजाइन ल्याउन चाहेनन् सकेनन् । यसलाई उनीहरूले फ्रन्ट-फेसिङ क्यामेराको स्थान गुमाउँदा स्क्रिनको सबै क्षेत्र उपयोग गर्न नसकिने चुनौतीका रूपमा लिए । केहीले पातलो नच बनाए भने केहीले टियर्ड्रप आकारका नच प्रयोग गरे । त्यही समयमा फुलस्क्रिन अनुभव दिन गम्भीर भएका कम्पनीले नयाँ समाधान ल्याए-‘पप-अप क्यामेरा’ ।
पप-अप क्यामेराले प्रयोगकर्तालाई नच वा कटआउट बिना नै स्क्रिनको सबै भाग उपयोग गर्न दिई फुल इमर्सिभ एक्सपिरियन्स दियो । सेल्फी खिच्नुपर्ने बेला मात्र फोनको माथिल्लो भागबाट क्यामेरा बाहिर निस्किन्थ्यो र काम सकिएपछि पुनः फोनभित्र हराउँथ्यो । यो अनुभव फ्युचरिस्टिक देखिने मात्र नभई प्रयोग गर्दा पनि रमाइलो अनुभूति प्रदान गर्थ्यो ।
पप-अप क्यामेराको अर्को फाइदा गोपनीयतासँग जोडिएको थियो । डेटा सुरक्षासम्बन्धी चासो बढिरहेका बेलामा यसले प्रयोगकर्तालाई एक तहको सुरक्षा प्रदान गर्यो । क्यामेरा प्रयोगमा नहुँदा यो फोनभित्र लुकेको हुन्थ्यो । यसले प्रयोगकर्तालाई कुनै पनि एपले अनधिकृत रूपमा क्यामेरा एक्सेस गर्न सक्दैनन् भनी आश्वस्त गराउँथ्यो । यो सिद्धान्त नै आजको ल्यापटप क्यामेरा कभर र प्राइभेसी शटरको अवधारणा भएको छ ।
तर, पप-अप क्यामेरा व्यापक रूपमा अपनाउन भने सकेन । धेरै स्मार्टफोन कम्पनी यो प्रविधि अपनाउन हिच्किए। विशेषगरी यस डिजाइनको ‘मुभिङ पार्ट्स’ले प्रयोगकर्तालाई असहज बनाउन सक्छ भन्ने डर उनीहरूको थियो । यद्यपि यसले मोबाइल स्क्रिन डिजाइनमा नयाँ आयाम थपेकोमा कुनै शंका छैन ।
पप-अप क्यामेराको लोकप्रियता जति छिटो चुलियो, उति नै छिटो ओझेलमा पर्दै गयो । वनप्लस जस्ता केही ब्रान्डले यस प्रविधिलाई केही समयसम्म उत्साहपूर्वक तरिकाले प्रयोग गरे । तर चाँडै नै उनीहरूले आफ्नो ध्यान पञ्च-होल क्यामेरातर्फ मोडे । यस्तो किन भएको होला ?
उपभोक्ताले पहिले कटआउट डिजाइनलाई कम बाधकका रूपमा लिए । हाम्रो आँखा सानातिना अवरोधसँग सहजै बानी पर्न सक्छ । पहिले कटआउट डिजाइनले आँखालाई डिस्टर्ब गर्ने भए पनि समयसँगै ती साना ‘डट’ हरू स्क्रिनमा हराएजस्तै लाग्छ । तर, कटआउट डिजाइन आउनको कारण केवल डिजाइनको सौन्दर्य मात्र थिएन ।
पप-अप क्यामेराको जटिलता, चलायमान भागको प्रयोग र दीर्घकालीन विश्वसनीयता प्रतिको शंकाका कारण पनि कटआउट डिजाइन प्रयोगमा आयो । पञ्च-होल डिजाइन जस्ता ठोस अवस्था (solid-state) मा आधारित भागहरूले प्रयोगकर्तालाई यो दीर्घकालीन हुन्छ भन्ने भरोसा दिन्थ्यो । यी भागहरू सामान्यतः कम क्षतिग्रस्त हुने भएकाले दैनिक प्रयोगको लागि उपयुक्त ठहरिए ।
यस बाहेक पप-अप क्यामेराले फोनको पानी र धुलो प्रतिरोधी क्षमतालाई कमजोर बनायो । यो प्रविधिले फोनको आईपी रेटिङलाई प्रभावित पारेर फ्ल्यागशिप स्तरका डिभाइसहरूमा अपेक्षित सुरक्षा मापदण्डमा बाधा बन्यो । पानी प्रतिरोध आजका स्मार्टफोनको मापदण्डजस्तै बनेको अवस्थामा पप-अप क्यामेरा अलि कम व्यवहारिक देखिन थाल्यो ।
अर्को समस्या थियो ब्याट्री र इन्टर्नल पोजिसनको । पप-अप क्यामेरा चलाउने मोटरले ब्याट्रीमा अतिरिक्त दबाब पार्थे । र, फोनभित्र महत्त्वपूर्ण हार्डवेयर राख्न सकिने ठाउँ ओगट्थे । ठूला ब्याट्री वा अन्य आवश्यक कम्पोनेन्टका लागि ठाउँ गुमाउनु परेकाले यो प्रविधि कार्यक्षमताको हिसाबले कमजोर देखियो ।
यसको परिणाम स्वरूप फुलस्क्रिन अनुभवका लागि पप-अप क्यामेराको आकर्षण विस्तारै कम हुँदै गयो । उपभोक्ताले दीर्घकालीन विश्वसनीयतातर्फ झुकाव राख्न थाले । आजको परिदृश्य हेर्ने हो भने स्मार्टफोन अब सोलिड स्टेट टेक्नोलोजीमा केन्द्रित छन् । पप-अप क्यामेराको सट्टा ब्रान्डहरूले स्क्रिनभित्रै क्यामेरा राख्ने (under-display camera) प्रविधिमा ध्यान केन्द्रित गरेका छन् । यसले चलायमान भागको प्रयोग नगरी एकै ठाउँमा रहने क्यामेराको विकल्प दियो । र, कार्यक्षमताको समस्या पनि समाधान गर्यो ।
यसैबीच उपभोक्ताले साना कटआउट डिजाइन सामान्य मान्न थालेका छन् । एप्पलको ‘डाइनामिक आइल्यान्ड’ जस्तो नवीनतम प्रयोग यसको राम्रो उदाहरण हो । जहाँ कटआउटलाई समस्याका रूपमा नलिई यसलाई अनुभव स्तरीय बनाउने प्रविधिका रूपमा प्रयोग गरिएको छ । एप्पलले डिजाइनको कमजोरीलाई नै उपयोगी विशेषतामा परिवर्तन गर्दै प्रयोगकर्तालाई नयाँ तरिकाले आकर्षित गरेको छ ।
ब्रान्डहरू प्रविधिलाई फोनभित्रै एकीकृत गर्दै अघि बढ्न थालेका छन् । कटआउट, पन्चहोल वा वाटरड्रपलाई हटाउनुपर्ने कुरा सम्झिन छाडेका छन् । पप-अप क्यामेरा साँच्चै नै राम्रो प्रयोग थियो । तर त्यो कहिल्यै दीर्घकालीन समाधानका लागि डिजाइन गरिएका थिएन । वास्तवमा अधिकांश ब्रान्डले यसलाई अस्थायी उपायको रूपमा प्रस्तुत गरेका थिए ।
तर समस्या के भयो भने अन्डर डिस्प्ले प्रविधि प्रभावकारी रूपमा काम गर्ने अवस्थामा पुग्न समय लाग्छ भन्ने कुरा निर्माताले कम आँकलन गरे । क्यामेरा स्क्रिनमुनि लुकाउँदा पिक्सेल हस्तक्षेप कम हुने र इमेजको क्वालिटि सुरक्षित राख्नुपर्ने चुनौती अपेक्षा गरेभन्दा जटिल भए । त्यसरी बित्दै जाँदा कम्पनीहरूले यस्तो प्रविधि छिट्टै तयार हुनेवाला छ भन्ने महसुस गरेनन् ।
यो अवस्थामा उनीहरूका सामु दुई ओटा विकल्प थिए: पप-अप क्यामेरा प्रविधिमा लगानी जारी राख्ने कि स्क्रिन कटआउटजस्ता बढी भरपर्दो विकल्पमा फर्किने । र अन्ततः, प्रायः ब्रान्डले दोस्रो विकल्प रोजे ।
पप-अप क्यामेरा प्रविधिमा लगानी जारी राख्ने कुरा सबैका लागि सहज भएन । पप-अप क्यामेरासहितको फुलस्क्रिन अनुभव गरिसकेका प्रयोगकर्तालाई पञ्च होल वा नच भएका फोनमा फर्कंदा केही असहज महसुस भयो । तर, पछि जुन प्रकारले पन्चहोल र कटआउटले प्रभाव पार्यो त्यसका अघि पप-अप क्यामेराको प्रभाव फिक्का जस्तै भयो ।
यद्यपि पप-अप क्यामेरा भएका स्मार्टफोन पूर्ण रूपमा गायब भएका छैनन् । केही बजारमा अझै पनि यस्ता स्मार्टफोन उपलब्ध छन् ।
पप-अप क्यामेराले जेजस्ता समस्या सामना गरेको भए पनि आजका धेरै प्रविधिको बाटो खोलिदिने श्रेय यही प्रविधिलाई जान्छ । यस्तो प्रविधिले स्मार्टफोन उद्योगलाई स्क्रिन स्पेस र डिजाइनको बारेमा गहिरो सोच्न प्रेरित गर्यो । यसैले अन्डरडिस्प्ले प्रविधिको सुरुवात गर्न सघायो । आज ब्रान्डहरूले सक्रिय रूपमा यही प्रविधिको पदचाप पछ्याइरहेका छन् ।
पप-अप क्यामेरासहितका फोनहरू एक परीक्षण मैदानजस्तै बने । जसले उपभोक्तालाई क्लिन र अवरोधरहित स्क्रिन चाहिएको छ भन्ने देखायो । पप-अप क्यामेराहरू छोटो समयमै हराए पनि तिनले स्मार्टफोन इतिहासमा गहिरो छाप छोडेका छन् । ती साहसिक प्रयोग थिए भन्दा फरक पर्दैन । यसैको परिणाम फुलस्क्रिन अनुभव दिन अहिले प्रायः सबै कम्पनीहरू प्रयासरत छन् । यद्यपि पप-अप क्यामेरा दीर्घकालीन समाधानमा परिणत भएनन् । पप-अप क्यामेरा एउटा यस्तो समयको प्रतीक हो,जतिबेला फोन डिजाइनले थप साहसी मोड लियो ।
पछिल्लो अध्यावधिक: मंसिर २५, २०८१ १७:११
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्