नेपालमा टेस्ला फोन सार्वजनिक हुने झुटो भ्रम फैलाउँदै फेसबुक पेज

Facebook
Twitter
LinkedIn

काठमाडौं । अर्बपति एलन मस्कको टेस्ला कम्पनीले काठमाडौंमा आफ्नो स्मार्टफोन सार्वजनिक गर्न लागेको भन्दै केही नेपाली फेसबुक पेजले गलत जानकारी फैलाएको पाइएको छ । टेस्ला फोन ४० हजार रुपैयाँमा उपलब्ध हुने, चार्ज गर्नु नपर्ने र निःशुल्क इन्टरनेट दिने भन्दै आकर्षक तरिकाले प्रचार भइरहेको छ । नेपाल तथ्यजाँचले गरेको अनुसन्धान अनुसार यी सबै दाबी पूर्ण रूपमा भ्रामक छन्।

नागरिक सञ्चार र नेपाल खबर अपडेट नामका फेसबुक पेजले मस्कले काठमाडौंमा टेस्ला फोन सार्वजनिक गर्न लागेको दाबी गरेका थिए । यी पोस्टमा हजारौं रियाक्ट आएको देख्न सकिन्छ ।

मस्कले सार्वजनिक गर्ने टेस्ला फोन नेपाली ४० हजार रुपैयाँमा पाइने भनिएको छ । त्यसबाहेक यसलाई चार्ज पनि गर्नु नपर्ने र निःशुल्क इन्टरनेट प्रयोग गर्न सकिने भ्रामक दाबी गरिएको छ । तर, यो पोस्ट भ्रामक रहेको छ । प्रविधिबारे जानकारी दिने प्लेटफर्म, टेस्लाको वेबसाइट, एलन मस्कको एक्स ह्यान्डलमा कतै पनि फोन डिसेम्बरमा सार्वजनिक हुन्छ भन्ने पोस्ट आएको छैन । 

यसअघि पनि टेस्लाले एप्पल र गुगलसँग प्रतिस्पर्धा गर्न आफ्नै फोन सार्वजनिक गर्न लागेको भन्ने भ्रामक सूचना आएको थियो । दक्षिण एसियाली देशमा यस्ता पोस्ट भाइरल भएका थिए । यस विषयमा विभिन्न सञ्चार माध्यमले तथ्यजाँच गर्दा टेस्लाले फोन सार्वजनिक गर्न लागेको कुरा भ्रामक रहेको खुलेको थियो । 

टेस्ला फोनबारे एलन मस्कले के भनेका छन् ?

टेस्लाका मालिक एलन मस्कले नै समय समयमा फोनबारे विभिन्न धारणा दिइरहेका हुन्छन् । उनले फोनका विषयमा राखेका धारणा नै यस्ता अफवाह फैलिने प्रमुख कारण बन्छन् । 

सन् २०२० मा मस्कले एक्समा पोस्ट राख्दै स्मार्टफोनहरू ‘हिजोका प्रविधि’ भनेका थिए । उनले न्युरालिङ्कको विशेषता चर्चा गर्दै यस्तो अभिव्यक्ति दिएका थिए । मस्कको कम्पनी न्युरालिङ्कले तीन जनाको मष्तिष्कमा चिप प्रत्यारोपण गरिसकेको दाबी गरेको छ । तर, दाबी गरिएको जस्तो सोचेकै भरमा डिभाइस नियन्त्रण गर्न सकिने प्रविधि त्यसमा समावेश हुन अझै वर्षौं लाग्न सक्छ । 

मस्कले फोन विकास गरिरहेका छन् वा फोन विकास गर्ने विचार गरिरहेका छन् भन्ने विषय दर्साउने केही कारण छन् ।

सन् २०२२ मा सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि मस्क जोडतोडले त्यसलाई रिब्रान्ड गर्नतर्फ लागे । सबैभन्दा पहिले कम्पनीको नाम परिवर्तन गरेर उनले ट्वीटर इङ्कबाट एक्स कर्पोरेसन राखे । त्यसपछि सामाजिक सञ्जालको नाम नै परिवर्तन गर्न तम्सिए । उनले ट्वीटर एप र वेबसाइटलाई रिब्रान्ड गरेर ‘एक्स’ बनाउने निधो गरे ।

तर, यता एप्पलले भने सुरुवातमा मस्कलाई ‘एक अक्षर’को नाम एपमा राख्ने नदिने योजना बनायो । त्यसैको आवेगमा आएर मस्कले एप्पललाई टक्कर दिन आफ्नै फोन ल्याउने सङ्केत दिए ।  

हालैको द स्ट्यान्डर्डको रिपोर्ट अनुसार ट्रम्पको राजनीतिक अभियानका क्रममा मस्कले टेस्ला र फोन सम्बन्धी आफ्नो विचारहरू सार्वजनिक गरेका थिए । मस्कले भनेका थिए, “त्यो त ठूलो काम हो । फोन बनाउने सोचले नै मलाई निराश बनाउँछ । तर, यदि फोन बनाउनै पर्ने अवस्था आयो भने हामी बनाउँछौं । अहिलेलाई फोन नबनाउन नै हामी प्राथमिकता दिन्छौं ।”

मस्कको यो प्रतिक्रिया उत्साहजनक छैन भन्ने प्रस्ट छ । मस्कले नोभेम्बर २०२३ मा न्युयोर्क टाइम्सको एक कार्यक्रममा भनेका थिए, “यदि फोन बनाउन एकदमै आवश्यक भयो भने म बनाउनेछु । तर मेरो धेरै कामहरू बाँकी छन् ।”

यस्तै विचार उनले हालैको द जो रोगन एक्सपिरियन्स पडकास्टमा पनि दोहोर्‍याएका थिए । मस्कले भनेका थिए, “हामी फोन बनाउने पक्षमा छैनौं । तर, यदि एप्पल र गुगल एन्ड्रोइडले खराब कामहरू गर्न थाले जस्तै एपहरू सेन्सर गर्ने वा हानिकारक तरिकाले गेटकिपरजस्तो व्यवहार गर्न थाले भने हामी फोन बनाउनेछौं ।”

टेस्लाले अचानक कुनै नयाँ फोन घोषणा गर्न सक्ने सम्भावना पूरै असम्भव भने छैन । तर, मस्क आफ्ना भनाइमा यो विषयमा खासै उत्साहित देखिएका छैनन् ।

यदि टेस्लाले फोन बनाइहाल्यो भने के कस्ता फिचर आउलान् ?

माथि उल्लेखित विभिन्न सामग्रीबाट के देखिन्छ भने तत्कालै मस्क र उनको कम्पनी टेस्लाले स्मार्टफोन ल्याउने कुनै चालचुल गरेको छैन । तर मस्ककै भनाइलाई आधार मान्ने हो भने नल्याउला पनि भन्न सकिंदैन । यदि टेस्लाले फोन ल्यायो भने त्यसको डिजाइन कस्तो होला ?

कन्सेप्ट आर्टिस्ट अन्टोनियो डि रोजाले टेस्लाले अपनाउन सक्ने केही फोनका डिजाइन सार्वजनिक गरेका थिए । यहाँ क्लिक गरेर ती फोटो हेर्न सक्नुहुन्छ । यही भिडिओमा उनले फोन कस्तो हुन सक्छ भन्नेबारे आफ्नो व्यक्तिगत धारणा दिएका छन् । तर, शतप्रतिशत यिनै फिचर र यस्तै डिजाइन हुन्छ भन्ने प्रमाण चाहिं कतै छैन । तिनै कन्सेप्ट डिजाइन र फिचरका फोटो नै अहिले फोनका फोटो भन्दै बाहिरिएका हुन् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८१ १८:२७





समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.