काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ट्रोलको शिकार बनेपछि टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीको अकाउन्ट गायब भएको छ । सोमबार बिहानदेखि एकाएक आयुष र एलिजेको टिकटक अकाउन्ट देखिन छोडेको हो ।
पाकिस्तानी मूलकी एलिजे जमालीको टिकटक अकाउन्टमा २२ लाख बढी फलोअर थिए । त्यस्तै नेपाली युवक आयुषको टिकटकमा भने १३ लाख फलोअर थिए । अहिले उनीहरूको युजरनेम हेर्दा उक्त पेज उपलब्ध नभएको सङ्केत देखिन्छ ।
उनीहरू आफैले अस्थायी रूपमा अकाउन्ट हटाएका हुन् वा टिकटकले नै प्रतिबन्ध लगाएको हो भन्ने कुरा खुलिसकेको छैन ।
केही दिनयता टिकटक र फेसबुकमा आयुष र एलिजे चर्को आलोचनाको केन्द्रमा छन् । आयुषकी आमा नानुसिंह ठकुरीले छोराले बुहारीको आडमा आफूलाई हेपेको आरोप लगाएपछि यो जोडी थप चर्चामा आएको थियो ।
सुरुवातमा धेरैले नानुसिंह ठकुरीको पक्षमा उभिएर भिडिओ बनाए । तर, पछि उनले छोराको छोटो क्लिप हेरेको भरमा प्रतिक्रिया दिएको स्विकार्दै उल्टै छोराविरुद्ध बोल्नेहरूमाथि टिप्पणी गरिन् । यसलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना र ट्रोल हुन थालेको छ । आयुषलाई समर्थन गर्ने केही प्रयोगकर्ता नानुसिंहको पक्षमा बोल्नेहरूको फोटो हार्दिक श्रद्धाञ्जली भन्दै टिकटकमा राखिरहेका छन् ।
त्यसैबिच आयुष र एलिजेले काठमाडौंमा करोडौं खर्चेर घर किनेको चर्चा सामाजिक सञ्जालमा थप उचालिएको थियो । पारिवारिक कलहका कारण विवादमा तानिएका उनीहरू यतिबेला सामाजिक सञ्जालको चासो र बहसको विषय बनेका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर २४, २०८१ १५:३४
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्