काठमाडौं । गुगलका सहसंस्थापक ल्यारी पेज र सर्गेई ब्रिनलाई प्र्याङ्क निकै मन पर्थ्यो । उनीहरू अप्रिल फुलको दिन पारेर केही न केही उटपट्याङ आइडिया बजारमा ल्याएकै हुन्थे ।
अप्रिल फुलको दिन कुनै व्यक्तिले पहिले झुटो कुरा गरेको छ र पछि अप्रिल फुल भनेको छ भने मानिसहरूलाई अर्को पटकबाट उनीहरूका कुरामा विश्वास लाग्दैन । कम्पनीको सन्दर्भमा त झन् प्रयोगकर्ताको विश्वास अडिएको हुन्छ ।
एक पटक अप्रिल फुलकै दिन गुगलले पोस्ट राख्दै चन्द्रमामा रहेको कोपर्निकस अनुसन्धान केन्द्रमा जागिर खुलेको जानकारी दियो । अर्को वर्ष गुगलले आफ्नो सर्च इन्जिनमा ‘स्क्र्याच र स्निफ’ फिचर ल्याउने योजना भएको भन्दै पोस्ट राख्यो । यस्ता उटपट्याङ आइडिया अप्रिल फुलका दिन गुगलले सार्वजनिक गर्ने भएकाले मानिसहरू जहिले ती कुरालाई मजाकका रूपमा हेर्थे र झट्ट विश्वास गर्दैनथे ।
सर्वसाधारणमाझ त्यही भ्रम भएका बेला गुगलका संस्थापक पेज र ब्रिनले यस्तो प्रडक्ट सार्वजनिक गर्ने योजना बनाए, जसलाई मानिसहरूले २० वर्षसम्म पनि सम्भव होला र भन्ने सोचेका थिए । त्यो प्रडक्ट थियो जिमेल, जसले प्रति अकाउन्ट १ जीबी स्टोरेजसम्म निःशुल्क ईमेल सेवा दिन्थ्यो ।
त्यतिबेला १ जीबीसम्मको स्टोरेज भएको ईमेल सेवा त्यो पनि निःशुल्क कसैले कल्पना नै गरेको थिएनन् । अहिले आईफोनले १ टीबी स्टोरेज दिएको जत्तिकै त्यतिबेला जिमेलको १ जीबी स्टोरेजको महत्त्व थियो ।
अहिले जस्तो त्यतिबेला ईमेलको साइज पनि धेरै हुँदैनथ्यो । १ जीबी स्टोरेजमा झन्डै साढे १३ हजार बढी ईमेल भण्डारण गर्न सकिन्थ्यो । यति धेरै ईमेल भण्डारण गर्नसक्ने स्टोरेज भएको जिमेल किन पनि महत्त्वपूर्ण थियो भने त्यतिबेलाको लोकप्रिय वेबमेल सेवाप्रदायक याहु र माइक्रोसफ्टले ३० देखि ६० ओटा ईमेल भण्डारण गर्नसक्ने स्टोरेज उपलब्ध गराएका थिए ।
गुगलले उपलब्ध गराउने ईमेल सेवा याहु र माइक्रोसफ्टको तुलनामा २५० देखि ५०० गुणा बढी थियो ।
जिमेलको इतिहास थाहा पाएपछि यसको लोगो पहिले कस्तो थियो, अनि अहिले कस्तो छ भन्ने विषयमा चर्चा गरौं:
सन् २००४ को लोगो
सन् २००४ मा सार्वजनिक भएको जिमेलको पहिलो लोगोमा जिमेल कतै पनि उल्लेख थिएन । माथि त्यतिबेलाकै गुगलको लोगो थियो । त्यसको दायाँपट्टि टुप्पोमा ट्रेडमार्क थियो । गुगल (Google) को अङ्ग्रेजी अक्षर जीको छेउमा बेटा (BETA) लेखिएको थियो । यसले गुगल मेल पूर्ण रूपमा सुरु नभइसकेको सङ्केत दिएको थियो । त्यसको तलपट्टि भने चिठीको आइकन थियो, जसमा अङ्ग्रेजी अक्षर एम (M) लेखिएको थियो । र, छेउमा ‘ail’ थियो । अर्थात् यसले मेल (Mail) लाई साङ्केतिक रूपमा दर्साएको थियो ।
त्यही वर्ष गुगलले उक्त लोगो परिमार्जन गर्यो । पहिले गुगल मेल नाम दिएको सो प्लेटफर्मलाई ‘जिमेल’ नाम दिएपछि त्यसको स्वरूप फेरिएको थियो ।
पहिले थ्रीडी आकारमा रहेको ‘जी’ (G) लाई परिमार्जन गरी सामान्य जी राखिएको थियो । त्यसपछि अगाडिको जस्तै मेल आइकन राखियो । त्यसको तलपट्टि ‘बाई गुगल’ को ट्याग राखिएको भने । दायाँतिर तलपट्टि बेटा (BETA) राखियो ।
२००४ देखि २०१० सम्मको लोगो
गुगलले जिमेलका लागि २००४ देखि २०१० अर्थात् छ वर्षसम्म एउटै लोगोलाई निरन्तरता दिएको थियो । दोस्रो पटक जुन लोगो छानिएको थियो, त्यसबाट बेटा (BETA) को ट्याग हटाएर ‘जिमेल बाई गुगल’ ट्याग सहितको लोगो कायम गरियो ।
२०१०- २०१३ सम्मको लोगो
कम्पनीले छ वर्षसम्म कायम राखेको लोगोलाई २०१० मा परिमार्जन गर्यो । पहिले जिमेल लेखेको तल बायाँपट्टि बाई गुगल (By Google) लाई सारेर नयाँ लोगोमा दायाँपट्टि उक्त ट्याग राखियो । त्यस्तै पहिले मुख्य टेक्स्ट सामान्य भएकोमा पछि इम्बोस्ड बनाइयो । अर्थात् थ्रीडी आकारमा राखियो ।
त्यस्तै गुगलले सबैभन्दा पहिले राखेको ट्रेडमार्कको आइकन २०१० पछिको लोगोमा थपियो । सबैभन्दा महत्त्वपूर्ण विषय चिठीको आइकनवाला लोगोलाई गुगलले केही परिमार्जन गर्यो । पहिलेको लोगोमा (M) स्पष्ट रूपमा देखिएको थिएन भने पछिको लोगोमा एम स्पष्ट देखिने बनाइयो ।
२०१३-२०२० सम्मको लोगो
सन् २०१३ मा कम्पनीले फेरि जिमेलको लोगो परिवर्तन गर्यो । त्यसअघि लोगोमा अक्षर राखेको कम्पनीले २०१३ पछिको लोगोमा चिठीको आइकन परिमार्जन गर्यो । त्यसमा कुनै पनि अक्षर वा क्यारेक्टर राखिएन । कम्पनीले उक्त लोगोमा एम प्रष्ट देखिने बनायो । तर, लोगो भने चिठीकै आइकन जस्तो देखिन्थ्यो ।
२०२० पछिको लोगो
२०२० मा गुगलले जिमेलको लोगोमा आफ्नो ब्रान्ड कलर राख्यो । अर्थात् गुगलको मुख्य लोगोमा जति कलर छन्, त्यही कलरलाई मिलाएर जिमेलको लोगो परिमार्जन गरियो । पहिले चिठीको आइकन जस्तो देखिने लोगोलाई गुगलले परिमार्जन गरेर अङ्ग्रेजी अक्षरको (M) जस्तो देखिने बनायो । अहिले यही लोगोलाई गुगलले निरन्तरता दिएको छ ।
यो लोगो आधुनिक छ । यसले गुगलको प्रडक्ट सेटमा जिमेलको स्थानलाई लक्षित गरेको छ । यस लोगोले गुगलको व्यापक रिब्राण्डिङको प्रयासलाई पनि दर्साएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८१ १६:२०
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्