काठमाडौं । साढे दुई अर्ब बढी मासिक सक्रिय प्रयोगकर्ता रहेको युट्युब सबैभन्दा रुचाइएको अनलाइन भिडिओ प्लेटफर्म हो । नेपालमा पनि यो प्लेटफर्म लोकप्रिय छ । पछिल्लो समयमा त युट्युबमा कन्टेन्ट राखेर मनग्गे कमाउने नेपालीहरू बढेका छन् । यसर्थ अहिले अर्थोपार्जनको राम्रो माध्यम युट्युब बनेको छ ।
युट्युबमा निच अर्थात् विषयगत क्षेत्र अनुसारका कन्टेन्ट बनाउनु राम्रो मानिन्छ । यदि तपाईं पनि युट्युब च्यानल सञ्चालन गर्ने सोच्दै हुनुहुन्छ भने यो लेख उपयोगी हुनसक्छ:
के हो युट्युब निच ?
खासमा निच भनेको क्षेत्र हो । कस्तो प्रकारको भिडिओ बनाउनुहुन्छ ? कुन विषयमा बनाउनुहुन्छ, यो निश्चित गर्नु नै निच हो । युट्युबमा सही निच छनोट गर्नु एक अर्थमा सफल हुनु पनि हो ।
उदाहरणका रूपमा, कुनै युट्युब च्यानलले कुनै उत्पादनबारे मात्र जानकारी दिइरहेको हुन्छ । कसैले गीत गाएर मात्र राखिरहेका हुन्छन् । यसरी लगातार एउटै क्षेत्रमा काम गर्नु निचको उदाहरण हो । छोटोमा बुझ्दा तपाईं कुन विषयमा भिडिओ बनाउने, त्यो निच हो । यो एउटा विशेष क्षेत्र, विधा हो ।
भिडिओ बनाउन अनेकन् क्षेत्र छन् । तर एउटा विषय/क्षेत्रमा मात्र केन्द्रित भएर भिडिओ बनाउँदा भीडमा तपाईं अलग देखिनुहुन्छ । कालान्तरमा तपाईं त्यस क्षेत्रको विशेषज्ञ नै बन्न सक्नुहुन्छ ।
अब अहिले युट्युबमा राम्रो सम्भावना भएका निचबारे चर्चा गरौं:
गेमिङ
गेमिङ युट्युबमा सबैभन्दा धेरै हेरिनेमा पर्छ । यसमा गेम खेलेका भिडिओ, ट्युटोरियल, रिभ्यु आदि पर्छन् । सीआर सेभेन होरा, फोरके गेमिङ आदि यो क्षेत्रबाट उदाएका युट्युबर हुन् । अब यसमा के-कस्ता निच छन्, हेरौं;
-
स्पीड रनिङ: खेल वा खेलको कुनै विशेष भाग सकेसम्म छिटो सक्ने खालका भिडिओ बनाउने
-
लाइभ स्ट्रिमिङ: आफैं खेल खेलेर लाइभ स्ट्रिमिङ गर्ने, खेलबारे जानकारी दिने, विशेष गरी कठिन भागहरू खेल्ने
-
गेम गाइड: अन्य गेमरहरूलाई लक्षित गर्दै खेलको रणनीति, पात्र आदिबारे विस्तृत जानकारी दिने
-
ईस्पोर्ट्सको प्रतिस्पर्धा: विभिन्न ईस्पोर्ट्सको प्रतिस्पर्धा गर्ने/गराउने
-
लेट्स प्ले भिडिओ: यसमा खेलाडीको अनुभव र कमेन्ट्री खालका भिडिओ बनाउने
-
गेम रिभ्यु: विभिन्न नयाँ र पुराना खेलहरूको समीक्षा गर्ने
-
गेमिङ समाचार र अपडेट: गेमिङ सम्बन्धी विभिन्न समाचार, अपडेट र कार्यक्रमहरूबारे जानकारी दिने
-
रेट्रो गेमिङ: पुराना खेलहरू खेल्ने तथा खेलका इतिहासबारे जानकारी दिने
सङ्गीत
सङ्गीत युट्युबमा अर्को लोकप्रिय क्याटगोरी हो । अहिले अधिकांश कलाकारले नयाँ गीत युट्युबमा नै सार्वजनिक गर्छन् । यसले गर्दा नयाँ सङ्गीत पत्ता लगाउने प्रमुख स्रोत युट्युब नै बनेको छ । प्राय: सङ्गीतको आयु नहुने भएकाले यस्ता कन्टेन्ट सदाबहार हुन्छन् । युट्युबमा सङ्गीत सम्बन्धी के-कस्ता निच छन्, हेरौं:
-
आफैं गाएर भिडिओ बनाउने: यदि तपाईंलाई गाउन मन पर्छ भने आफ्नो गायन प्रतिभाको भिडिओ खिचेर हाल्न सक्नुहुन्छ । भनौं, कभर गीत बनाउन सक्नुहुन्छ ।
-
वाद्य यन्त्र बजाउने वा सिकाउने: यदि तपाईं कुनै पनि वाद्ययन्त्रमा अलिकति पोख्त हुनुहुन्छ भने तिनलाई बजाएको भिडिओ राख्न वा ती बाजा कसरी बजाउने भनेर सिकाउन सक्नुहुन्छ ।
-
गीत, एल्बमको समीक्षा गर्ने: कलाकारहरू र तिनका सङ्गीतबारे तपाईंले आलोचनात्मक विश्लेषण र छलफल गरेको भिडिओ राख्न सक्नुहुन्छ ।
-
गीतको प्यारोडी बनाउने: तपाईंले चर्चित गीतहरूको प्यारोडी (हास्य संस्करण) बनाउन सक्नुहुन्छ ।
-
एआईबाट गीत बनाउने: अहिले एआई टुलले विभिन्न गीत बनाउन सकिन्छ । तपाईंले तिनबाट गीत बनाएर युट्युबमा राख्न सक्नुहुन्छ ।
ट्राभल भ्लगिङ
कतिपयले भ्लगिङ निच धेरै भयो भन्छन् । तर अहिले पनि यो निच उत्तिकै लोकप्रिय छ । घुमन्ते, पूर्वेली ब्लुज, एट वन्डर नेपाल आदि यस निचका उदाहरण हुन् । नेपालमा धेरै घुम्न लायक ठाउँ छन् । तपाईं कसरी घुम्नुहुन्छ, त्यसका आधारमा भिडिओ बनाउन सक्नुहुन्छ । भन्नुको अर्थ घुम्दै गर्दा तपाईंले शिक्षाप्रद भिडिओ बनाउन सक्नुहुन्छ । ट्राभल गाइड, स्थानीयहरूसँग अन्तर्वार्ता आदि बनाउन सक्नुहुन्छ । ट्राभल भ्लगिङका सम्बन्धी निचको चर्चा:
-
बजेट यात्रा: सस्तोमा घुम्ने ठाउँहरू कताकता छन्, तिनबारे भिडिओ बनाउने
-
लक्जरी यात्रा: यसैगरी भव्य होटल, स्वादिष्ठ खाना र लक्जरी यात्राबारे भिडिओ बनाउने
-
साहसिक र रमणीय यात्रा: कतिपयलाई साहसिक र रमणीय यात्रा मन पर्छ । तपाईंले तीबारे भिडिओ बनाउने
फिटनेस
अहिले निकै माग बढिरहेको निच हो, फिटनेस । स्वास्थ्यप्रति मान्छेहरू जति धेरै चिन्तित हुँदै जान्छन्, यो निच त्यति नै धेरै चर्चित हुँदै जान्छ । यसमा रहेका निचहरू:
-
घरमै कसरत: न्यूनतम उपकरणको सहयोगमा घरबाटै गर्न सकिने कसरतबाट जानकारी दिने
-
योगा: विभिन्न योगबारे पुरै जानकारी दिने
-
जिम र क्रसफिट वर्कआउट: जिममा प्रयोग हुने विभिन्न उपकरण र प्रशिक्षणबारे भिडिओ बनाउने
-
तौल र पोषण: तौल घटाउने/बढाउने वा शरीरलाई कसरी बनाउने भन्नेबारे भिडिओ बनाउने । सँगै स्वस्थ खानाबारे जानकारी दिने ।
शिक्षा
यदि तपाईं अध्ययनमा रुचि राख्नुहुन्छ भने शिक्षा सम्बन्धीका भिडिओ बनाउन सक्नुहुन्छ । अझ कोभिड महामारीका कारण युट्युबमा यो निच निकै तीव्र गतिमा बढिरहेको छ । यसको राम्रो पक्ष भनेको यो अरूलाई शिक्षित बनाउने विधा पनि हो । युट्युबमा गर्न सकिने शिक्षा सम्बन्धी क्षेत्रहरू:
-
मुख्यमुख्य विषयको शिक्षण: गणित, विज्ञान, अङ्ग्रेजी, नेपाली, इतिहास जस्ता विषयको शिक्षण गर्ने
-
शैक्षिक टिप्स र ट्रिक्स: विद्यार्थीहरूले जहिल्यै यस्तो कुरा खोजिरहेका हुन्छन् । तपाईंले अध्ययन गर्ने प्रवृत्ति, समय व्यवस्थापन, नोट लिने तरिका, प्रेरणा, सुझाव आदिबारे भिडिओ बनाउन सक्नुहुन्छ ।
-
भाषा: फ्रेन्च, कोरियन, स्पेनिस, अंग्रेजी, जर्मनजस्ता भाषामा तपाईं अलि जानकार हुनुहुन्छ भने भाषा सिकाउने भिडिओ ट्युटोरियल बनाउन सक्नुहुन्छ ।
-
डु इट योरसेल्फ (डीआईवाई): युट्युबमा निकै प्रख्यात विधा हो, डीआईवाई । यसमा कुनै पनि सामानन आफैंले बनाइने गरिन्छ । यदि तपाईं यस्तो कुरामा रुचि राख्नुहुन्छ भने विभिन्न चीज आफैंले बनाएको भिडिओ हाल्न सक्नुहुन्छ ।
-
व्याख्यात्मक भिडिओ: कुनै पनि विषय, वर्तमान घटना आदिबारे तपाईंले राम्रोबारे बुझाउन सक्नुहुन्छ भने यसमा राम्रो अवसर छ । यस निचको उद्देश्य भनेकै दर्शकलाई कुनै पनि कुरा बुझाउनु हो।
खाना र पकाउने कला
युट्युबमा धेरै दर्शकहरूलाई आकर्षित गर्ने ठूलो यो पनि विधा हो । यो विधामा बनाइएका भिडिओहरू पनि दीर्घकालीन (evergreen) हुन्छन् । शहर बसेर कलेज पढिरहेका विद्यार्थीदेखि घरजम गरिरहेकाहरूसम्मलाई ती भिडिओ निकै उपयोगी हुन्छ । यसमा बनाउने सक्ने भिडिओहरू:
-
पकाउने ट्युटोरियल: कुनै पनि खाना सुरुदेखि अन्त्यसम्म कसरी बनाउने भन्ने बारे जानकारी यसमा दिन सकिन्छ ।
-
भान्साको उपकरण समीक्षा: विभिन्न होम अपलान्यस (भान्साको उपकरण)बारे जानकारी तथा तिनको समीक्षा गर्ने
-
किनमेल सुझाव र अनुभव: खाना पकाउन आवश्यक सामग्री पर्ने विभिन्न सामग्री किन्दा ध्यान दिनु पर्ने कुराहरू र अनुभवबारे भिडिओ बनाउने
-
खानेकुराबारे जानकारी दिने: स्थानीय परिकार, सामग्री र पकाउने परम्पराहरूको अनुभव तथा कथाबारे जानकारी दिने
कमेडी
कमेडी पनि युट्युबको सबैभन्दा ठूलो विधामध्ये एक हो । मिमदेखि स्ट्यान्ड-अप कमेडीसम्म यसका निचहरू हुन् । तर यसमा अन्य निच पनि छन्:
-
स्ट्यान्ड-अप कमेडी: तपाईंले हँसाउने खालका मोनोलगहरू भन्न सक्नुहुन्छ अथवा प्रत्यक्ष दर्शकहरूको अगाडि उभिएर स्ट्यान्डअप कमेडी गर्ने र तिनको भिडिओ पनि बनाउन सक्नुहुन्छ ।
-
व्यङ्ग्यात्मक समाचार र टिप्पणी: विभिन्न राजनीतिक र सामाजिक प्रवृत्तिहरूको व्यङ्ग्यात्मक प्रस्तुति गर्न सक्नुहुन्छ ।
-
हास्य शो र पडकास्ट: विभिन्न रमाइला छलफल, व्यङ्ग्य सहितका लामो कार्यक्रम अथवा पडकास्ट चलाउन सकिन्छ ।
-
प्राङ्क: अन्य व्यक्तिहरूलाई थाहा नै नदिई विभिन्न हर्कत गर्ने, जोक सुनाउने विधा प्राङ्क हो । यसको पनि राम्रै सम्भावना रहेको छ ।
कुन निच रोज्ने ?
हामीले अहिलेसम्म युट्युबमा सम्भावना रहेका विभिन्न विधागत क्षेत्रहरूको बारे चर्चा गर्यौं । सम्झनुपर्ने कुरा के छ भने युट्युब एउटा विशाल प्लेटफर्म हो । यसमा रहेका धेरै प्रयोगकर्ताका कारण विधा पनि फरक फरक हुन्छ । ती पनि समयसापेक्ष परिवर्तन र विस्तार हुँदै जान्छन् । तर मुख्य: कुरो आफ्नो रुचि केमा छ, अनि त्यो सुहाउँदो कुन विधा छ भन्ने थाहा पाएर युट्युब च्यानल सुरु गर्नु राम्रो हुन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २३, २०८१ १५:२४
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्