विराटनगरबाट ठूलो मात्रामा अवैध औषधिसहित १ जनालाई मोरङ प्रहरीले आइतबार साँझमा पक्राउ गरेको छ। विराटनगर–५ घर भई विराटनगर–१० मा डेरा गरी बस्दै आएका २ जना दाजुभाइले भारतबाट नेपालमा प्रतिबन्धित औषधि ल्याइ बिक्रीवितरण गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले बताए। ‘आइतबार साँझ विराटनगरबाट ठूलो मात्रामा प्रतिबन्धित औषधि बरामद गरेका छौं,’ डिएसपी थापाले भने, ‘दाजुभाइले डेरा लिएर अवैध तरिकाले औषधि बिक्री गर्ने गरेको सूचनाका आधारमा औषधिसहित १ जनालाई पक्राउ गरेको छौं।’
विकास मण्डल र उनका भाइ विक्रम मण्डलले डेरा गरी बसेको कोठाबाट प्रहरीले १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको ७९ किसिमका विभिन्न औषधिसहित विक्रमलाई पक्राउ गरेको डिएसपी थापाले बताए।
मण्डलको कोठाबाट औषधिसहित औषधिमा टाँस्न प्रयोग गरिने स्टीकर बबनाउने कलर प्रिन्टरसमेत बरामद गरी थप कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको प्रहरीले जनाएको छ।
प्रकाशित: २६ माघ २०७७ १६:४४ सोमबार
श्रोत: नागरिक