राजेन्द्र महर्जन
लेखक
‘एक भाइरसले सबैलाई अछुत बनाइदियो । अलिकति सोचौं त, त्यो समाज कसरी बाँच्यो होला, जसलाई हजारौं वर्षदेखि अछुत बनाएर राखिएको छ ।’
कोरोना भाइरसको महाव्याधिसँगै ‘सोसल डिस्टेन्स’ शब्दावली अत्यधिक प्रचलित भएको छ, जुन दक्षिण एसियाली समाजमा तीन हजार वर्षभन्दा अगाडिदेखि अभ्यास हुँदै आएको छ । ‘सोसल डिस्टेन्स’ नै महाव्याधिविरुद्ध लड्ने अचुक अस्त्रका रूपमा व्याख्या भएपछि धेरैले व्यक्तिगत र सामाजिक दूरी कायम राख्ने नमस्ते वा नमस्कार गर्ने शिष्टाचारको सर्वाेच्चताको बयान गरे भने कसैले अरूलाई छुवाछूत गर्ने कुसंस्कारको सांस्कृतिक पवित्रताको महिमासमेत गाए ।
आफूलाई सही, शुद्ध र श्रेष्ठ ठहर्याउने क्रममा ‘सोसल डिस्टेन्स’ को बखान गर्ने क्रममा छुवाछूतको महिमागान गाइएको देख्दा लाग्यो— दक्षिण एसियामा लागू रहेको वर्ण र जात नै सबैभन्दा ठूलो ‘आइसोलेसन सिस्टम’ हो, वर्ण र जातअनुसारको सहरबजार र गाउँबस्तीको बसाइ नै‘क्वारेन्टाइन’ हो, घरभित्र र बाहिर गरिने छुवाछूत र विभेद नै शुद्ध,निरोगी हुने वैज्ञानिक प्रक्रिया हो ।”
विश्वका विद्वान्हरू कोरोना भाइरसको महाव्याधिले मानव सभ्यताको भविष्यमाथि संकट आइलागेको हो कि भनी चिन्तनशील छन्, हाम्रा विद्वान्हरू भने पूर्वीय सभ्यताले भूतकालमा विकास गरेका शिष्टाचारदेखि कुसंस्कृतिसम्मको गुनगानमा लिप्त छन् ।
उनीहरू कोरोनाविरुद्ध लडाइँमा आफ्नो धर्म, परम्परा र संस्कृतिमा रहेका अनेक सामाजिक दूरीलाई सही अस्त्र ठहर्याउँदै छन् । व्यवहारमा पनि उनीहरू महिला र शूद्रलाई मात्रै होइन, श्रमसँग जोडिएका सबै पेसा र व्यवसायलाई छुन नहुने वा अछूत वा अपवित्र घोषणा गर्दै छन् । आज पनि सहरको सफाइदेखि शरीरको उपचारमा संलग्न मानिसलाई घर–डेराबाट निकाल्दै आफ्नो सुस्वास्थ्य, शुद्धता, श्रेष्ठता र पवित्रताको रक्षा गर्दै छन् ।
कोरोनासँग जोडिएर लेखिएका रचनामा प्राचीन पूर्वीय सभ्यता रआफ्नो सांस्कृतिक अभ्यासमा प्रभावशाली रहेको ‘सोसल डिस्टेन्स’ को बखान गर्न कुनै कन्जुस्याइँ गरिएको छैन, न त अरूका सामाजिक अभ्यासको बदख्वाइँ गर्नमा पनि ‘मुलाहिजा’ गरिएको छ ।
यस अर्थमा कोरोनाको संक्रमणबाट बच्न अत्यावश्यक ‘सोसल डिस्टेन्स’ लाई दक्षिण एसियामा ‘सामाजिक दूरी’ कै रूपमा बुझ्नु नै सही हुने रहेछ, व्यक्तिगत दूरीका रूपमा मात्रै होइन । अरूलाई अछूत ठान्नु, छोइछिटो गर्नु, अछूतपनालाई धर्म, शास्त्र, कानुन, न्यायसँग जोडेर वर्ण–जातको संरचना बनाउनु, स्रोत–साधन–सम्पत्तिसँगै प्रेम, यौन, विवाहसँग सम्बन्ध गाँस्नु अछूतपना वा अस्पृश्यता वा सामाजिक दूरीका अनेक आयाम हुन् ।
सामाजिक भाइरस
‘एक भाइरसले सबैलाई अछूत बनाइदियो । अलिकति सोचौं त, त्यो समाज कसरी बाँच्यो होला, जसलाई हजारौं वर्षदेखि अछूत बनाएर राखिएको छ ।’ कार्टुनिस्ट रविन सायमिको फेसबुक स्टाटसमा भेटिएको यो भनाइ भारतका प्रख्यात कलाकार नाना पाटेकरको हो । यसमाकोरोना महाव्याधिले ल्याएको अस्पृश्यताको आयाम झल्काउने खालको सन्देश छँदै छ, त्योभन्दा बेसी मार्मिक संकेत छ, दक्षिण एसियामा सयौं वर्षदेखि फैलिएको जातभात र छुवाछूतको भाइरसबारे ।
धेरैलाई थाहा छ— कसलाई छुन वा समात्न हुन्छ, कसलाई हुँदैन ? कुन शौच, कुनै अशौच ? को स्पृश्य, को अस्पृश्य ? को छूत, कोअछूत ? को शुद्ध, पवित्र र श्रेष्ठ, को अशुद्ध, अपवित्र र नीच ? यसको उत्तर खोज्न दक्षिण एसियाली विधान–कानुन वा हिन्दु धर्मका शास्त्र पल्टाइरहनु पर्दैन, एक क्षण अछूतको जीवन बाँचे पुग्छ । अरूलाई अछूत ठान्ने वर्णवादी मानसभित्र पसियो भने दक्षिण एसियाली हिन्दु समाजमा व्याप्त ‘अस्पृश्यताको भाइरस’ को मात्रै निदान (डाइग्नोसिस) गर्न सकिन्छ ।
दक्षिण एसियामा समाज बनेदेखि नै छूत–अछूतको भावना जन्मिएको होइन । समाजमा उचनीचको श्रेणी बन्न थालेदेखि अनेक भेदभाव सिर्जना भएका हुन् । कृषि व्यवस्था जटिल बनेपछि र नगरमा वाणिज्यसम्बन्धी क्रियाकलाप बढेकाले भेदभाव जन्मिएको हो । इतिहासकार रोमिला थापर लेख्छिन्, ‘भूमिमाथि नियन्त्रण कडा हुँदा स्थानीय आबादी र नवागन्तुक निवासीबीच भेदभाव पैदा भयो । सहरीकरणबाट नगर र जनपदबीच हदबन्दी भएसँगै अनेक आवश्यक व्यवसाय उत्पन्न भए । यसै क्रममा केही व्यवसाय प्रदूषक मानिए । र, यस्ता काम विस्थापितहरूले नै गर्ने भए । यिनै समुदायमध्येबाट अस्पृश्यहरूको उत्पत्ति भयो ।’
सहर वा नगरको पृष्ठभूमिमा अस्पृश्यता जन्मिएको धारणा प्रबलछ । प्रत्येकजसो सहर वा नगर वा गाउँका बाहिरी भागमा चण्डालहरूको बसाइले त्यही संकेत गर्छ । काठमाडौं सहरकै निर्माण र बसाइको भूगोल हेर्दा पनि समाजमा ‘प्रदूषित काम गर्नेहरू’ लाई सीमान्तमा राखिएको पाइन्छ । जो–जो श्रम गर्छन्, श्रममा पनि तल्लो दर्जाको मानिने फोहोरका काम गर्छन्, उनीहरूलाई सहरमा जतिखेर पनि छिर्न नदिने, छिर्न दिँदा पनि पवित्र गर्ने काम त्यत्तिकै भएको होइन । निष्कर्ष के निस्कन्छ भने, अस्पृश्यता भावनाको उद्भव केही व्यवसायलाई अपवित्र मान्ने सिद्धान्तका आधारमा भएको हो । तर, केही व्यवसाय अपवित्र मानिन्छन् नै किन ?
शारीरिक श्रमप्रतिको घृणाको भाव
इतिहासकार रामशरण शर्माका अनुसार, अस्पृश्यताको उत्पत्तिको एउटा कारण थियो— आदिम जातिहरूहरूको संस्कारहीन जीवन । उनीहरू मुख्यतया सिकारी र चिडीमारको जीवन बिताउँथे । जबकि उनीहरूका तुलनामा ब्राह्मण समाजका सदस्यहरू भने धातु (मेटल) सँग जोडिएका काम र कृषिको ज्ञान राख्थे अनि नगर–जीवनको विकास गर्दै थिए ।‘नीच जाति’ हरूको जीवन संकटमय थियो र शूद्रहरूको भन्दा नराम्रो हालत थियो । भौतिक जीवनको यही विषमता स्वयं ब्राह्मण समाजमा बढिरहेको घृणाको भावनासँगै उग्र हुँदै गयो । तत्कालीन ग्रीक समाजमा जस्तै वैदिक कालपछिको समाजमा शारीरिक श्रम गर्नुपर्ने पेसा र व्यवसायप्रति घृणा–भाव देखिन्थ्यो । ‘उच्च वर्ण’ का मानिसहरूले, खासगरी ब्राह्मण र क्षत्रियहरूले, बिस्तारै–बिस्तारै उत्पादनका कार्यबाट हात खिच्न थाले, आफ्नो स्थिति र कामका सन्दर्भमा वंश–परम्पराको निर्वाह गर्न लागे । यसैको परिणामस्वरूप उनीहरूको मनमा शारीरिक श्रमसँग जोडिएका पेसा र व्यवसायप्रति मात्रै घृणा बढेको होइन, उनीहरूले त यस्ता काम गर्ने मानिसहरूलाई नै हेय ठान्न थाले ।
यसको अर्थ हो— आदिम जातिहरूको हीन संस्कृति, श्रमसाध्य कार्यप्रति बढ्दो घृणाको भाव र निषेध तथा पवित्रतासम्बन्धी अति प्राचीनविचारको पृष्ठभूमिमा अस्पृश्यताजस्तो असाधारण भावनाको उदय भयो । यो खासगरी लास जलाउने चण्डालहरूको काममा सत्य थियो, जसलाई पुराना विचारका मानिसहरू अपवित्र र घृणास्पद ठान्थे । त्यसपछि छाला र लुगा सिउने काम गर्नेहरूलाई पनि अस्पृश्य मान्न थालियो । यसरी निम्नवर्गीय मानिसहरूको शारीरिक श्रमप्रतिको घृणाको भावले नै अन्तत: अस्पृश्यतालाई जन्माएको हो । यसको मतलब अस्पृश्यता आफ्नो पेसा, आफ्नो कर्म, आफ्नो लुगा, खाना र संस्कृतिलाई उच्च, सभ्य, पवित्र र श्रेष्ठ ठान्ने विचार, भावना र अभ्यासकै अतिनकारात्मक परिणाम हुन सक्छ ।
दक्षिण एसियाली इतिहास र धर्मशास्त्रहरूको अध्ययनबाट थाहा हुन्छ, ‘उच्च’ वर्णका सदस्य, खासगरी ब्राह्मणहरू शारीरिक श्रमसम्बन्धी व्यवसायप्रति घृणाको भाव राख्थे । यसबीच शारीरिक श्रम नगरीकनै खान, बस्न र योग–ध्यान–जप–तप–अध्ययन–लेखन गर्न पाइने गरी उत्पादनमा अधिशेष हुने अवस्था आयो र वर्ण–वर्गको एकाधिकार हुने स्थिति आयो । यही कारण शारीरिक श्रम गर्दै जीविका चलाउन बाध्य श्रमिकहरूलाई शूद्र, नीच, हीन, हेय, तल्लो दर्जाको मान्दै अस्पृश्यताको व्यवहार गरियो । शर्मा के दाबी गर्छन् भने अस्पृश्यताको उद्भव बौद्ध धर्मको उद्भव र विकास भएको समय, मौर्यपूर्व कालको अन्ततिर भएको हो ।
त्यस बेलादेखि चण्डालहरूलाई अछूत मान्ने, उनीहरूको स्पर्शबाट शरीर अपवित्र हुने, छोइएमा सबै वस्त्रसँगै शरीर स्नान गर्दै पवित्र हुनुपर्ने, उनीहरूलाई छोएर बग्ने हावासमेत दूषित मान्ने, अधम मानिने उनीहरूलाई देख्दासमेत अपशकुन हुने र आँखा सफा गर्नुपर्ने, उनीहरूले देखेको भोजन र पेय पदार्थसमेत ग्रहण गर्न नहुने तथा अज्ञानवश ग्रहण गरिएमा सामाजिक बहिष्कारको भागी हुनुपर्ने व्यवस्था सुरु भयो । कतिसम्म भने, कुनै सहरमा घाम डुबेपछि छिर्न नपाइने त कुनै नगरमा पसेमा कुटेर बेहोस पार्ने चलन त्यसकै परिणाम हो ।
छुवाछूत, वर्ण–व्यवस्था र जातभात
शास्त्र रचना गर्ने र पुरोहित्याइँ गर्ने ब्राह्मण तथा सत्ता–शक्तिको अभ्यास गर्ने क्षेत्रीहरूबाट सञ्चालित समाज र राज्यमा शारीरिक श्रम एवं शारीरिक श्रम गर्नेहरूप्रति घृणाको भाव हुनु अनौठो होइन । यही घृणाको भाव वर्ण–व्यवस्था र जातभातसँग मिसिएपछि ‘क्रोनिक’ भएको हो । अस्पृश्यता वा छुवाछूतसँग हिन्दु धर्मसँग सम्बन्धित वर्ण–व्यवस्था र जातभातको सालनाल जोडिएको छ, त्यसको अंग र विस्तारका रूपमा विद्यमान छ । थापर भन्छिन्, ‘अस्पृश्यता एक प्रकारको धार्मिक उत्पीडन नै हो, किनभने यसमा समाजबाट बहिष्कारको भावना निहित रहेको छ र यो भावना ब्राह्मणहरूसँगै अन्य श्रमण सम्प्रदायमा पनि थियो ।’
एकले अर्काेलाई अधीनस्थ बनाउने क्रममा सिर्जना भएको अस्पृश्यताको भाइरसले अनेक रूपरंग लिएको देखिन्छ । कुनै बेला शारीरिक हिंसाकै रूपमा बाँचेको थियो अस्पृश्यता । कालान्तरमा यो सांकेतिक हिंसाका रूपमा, शाब्दिक हिंसाका रूपमा वा अन्यलाई तल्लो, नीच, अशुद्ध जात, जाति, लिंगका रूपमा कलंकित गर्ने हिंसाका रूपमा, अन्यकरण र पृथकीकरण गर्ने सांस्कृतिक हतियारका रूपमा विद्यमान रहेको छ । पुराना उत्पीडनकारी मूल्य, पृथक्तावादी मान्यता र हिंस्रक अभ्यासलाई आधुनिक र वैज्ञानिक आवरण दिने तथा गौरवपूर्ण परम्पराका रूपमा महिमामण्डन गर्ने हदसम्मको बौद्धिक–नैतिक हिंसा नयाँ ‘कास्ट एलिट’ (जातवादी अभिजात) हरूबाट जारी छ ।
यसैको पछिल्लो ‘डिस्कोर्स’ हो— कोरोना महाव्याधिको निहुँमा हात मिलाउने र अँगालो मार्ने चलनको सट्टा नमस्ते वा नमस्कार गर्ने पूर्वीय चलनको सर्वाेच्चताको बखान । निश्चित समय र सन्दर्भमा विकास भएका यस्ता शिष्टाचारका विधि र प्रक्रियालाई सधैं सही वा सधैं बेसही भन्नु उचित होइन । कोरोना महाव्याधि वा अन्य विशिष्ट सन्दर्भमा कुनै उचित होला, कुनै अनुचित । तर, पहिलेदेखि अन्यकरण र पृथकीकरणमा रमाउने हाम्रो जातभातको अहंकारले कुनैलाई सदा सही, शुद्ध, पवित्र रश्रेष्ठ ठम्याइहाल्यो भने अरूलाई बेठीक, अशुद्ध, अपवित्र र नीच । निश्चित वर्ण, जात र लिंगको सर्वाेच्चता, श्रेष्ठता र पवित्रताको अभ्यास गर्दै अरूलाई पराया, पृथक् र कलंक ठहर्याउने हाम्रा शास्त्र र शिक्षाले अरूका शिष्टाचारको बदख्वाइँ गर्नमा कुनै कन्जुस्याइँ गरेनन् । र, हामीलाई
आफ्ना धर्म, शास्त्र, राज्य, समाज, परिवार र पुर्खाले सिकाएको आचरण नै सर्वाेत्कृष्ट लाग्यो र अरूको शिष्टाचार छि:छि: दुरदुर गर्न योग्य कुसंस्कृति ।
अब त सबैखाले छुवाछूत र विभेद हाम्रा लागि वैज्ञानिक, स्वस्थकर र शुद्ध–पवित्र लाग्न थालेका छन् । अब उदारवादी भनिने विद्वान् र लेखकहरूका संस्मरण र लेखनबाट समेत उद्घोष हुँदै छ— छुवाछूत सबैभन्दा वैज्ञानिक कर्म हो, अस्पृश्यता नै सबैभन्दा सभ्य र पवित्र धर्म हो ! यस्तो पुरातन चिन्तन र लेखनका आधारमा हामीले मानव जाति र पृथ्वीको प्राकृतिक जीवनको भविष्य सुनिश्चित गर्न सक्छौं ?