
करिब ६-७ वर्षअघि यस्तो समय थियो जब जताततै ‘मोबाइल र्याकेट’ सक्रिय थियो, जसले लासमाथि मोलतोल गर्थ्यो। चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई चोक-चोकमा ढुंगामुढा गर्ने र कुटपिट गर्ने सम्भावना थियो। अस्पतालहरु तोडफोड र आगजनीले रणमैदानको ब्यारेक झैं हुन्थे। भीडले वस्तुभाउजस्तै लासको मूल्य तोकेर फैसला गर्थ्यो। हामीले कुनै न कुनै तरिकाले ती अराजकताहरूलाई नियन्त्रण गरेका थियौँ।
आज, एउटा न्यायालय नै फेरि त्यही अराजकताको निरन्तरता झै भएको छ, उपभोक्ता अदालत बनेर। यसले विज्ञहरूको राय लिने प्रणालीलाई ध्वस्त पारेको छ र उपभोक्ता संरक्षण ऐन २०७५ साथै कानुनका छिद्रहरूलाई दुरुपयोग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि झूटो र निर्मम आदेश दिइरहेको छ। अझ भन्नै पर्दा नेपालको संविधान र मुलुकी अपराध संहिता २०७४ लाई समेत वेवास्ता गरेर मोलमोलाइमा आदेश दिइरहेको छ। सरसर्ती हेर्दा, यो पुरानो ‘मोबाइल र्याकेट’’ को निरन्तरता र संगठित रूपजस्तै मानसपटलमा प्रदर्शित हुन्छ।
हिजो हामी चिकित्सकहरू सरकारी, गैर-सरकारी र संघ-संस्थामा विभाजित थियौँ। कसलाई के चित्त बुझ्ने र कसलाई के नबुझ्ने भन्ने हुन्थ्यो, कुनै पनि आन्दोलनले आशातीत ऐक्यबद्धता नै पाउँदैनथ्यो, आन्दोलनको पूर्ण सफलताको त कुरै भएन। तर, इतिहासले फेरि हामीलाई नयाँ मोडमा ल्याइपुर्याएको छ, अर्थात् अब हामी एकजुट हुनैपर्ने अवस्थामा छौँ।
यो अवसरको सदुपयोग नै हाम्रो भविष्यको सुनौलो युगको सुरुवात हुनेछ। केवल अदालतको निर्णय पुनर्विचार मात्र होइन, हाम्रा तमाम आवश्यकता र उचित मागहरू राख्ने यो एक ऐतिहासिक अवसर हो। विश्वमा निम्नवर्गीय हाम्रो नियति फेरिनुपर्छ।
तसर्थ, हात थाप्ने र अनुनय-विनय गर्ने होइन, लडेर लिने समय हो। सम्पूर्ण दरिद्रता अन्त्यका निमित्त एकजुट हौँ।
हामी बलियो भए मात्र नेपालीहरूको स्वास्थ्य बलियो हुन्छ।
नोट: नेपालको संविधान स्वास्थ्य सम्बन्धी हक र मुलुकी अपराध संहिता २०७४, परिच्छेद-१९, इलाज सम्बन्धी कसूरलाइ बाझिने गरि आएको आदेश भएकोले ससक्त बिरोध गरिन्छ।
डा बस्नेत नेपाल चिकित्सक संघका परिषद सदस्य र स्वास्थ्य मन्त्रलायको मानसिक स्वास्थ्य, लागु पदार्थ तथा दुर्व्यसनी नियन्त्रण समिति सल्लाहकार हुन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ एआई सिस्टमले मानव डाक्टरहरूभन्दा चार गुणा बढी शुद्धता र कम खर्चमा बिरामीको रोग पहिचान गर्न सफल भएको दाबी गरेको छ । यो उपलब्धिलाई कम्पनीको एआई विभागका प्रमुख तथा सह-संस्थापक मुस्तफा सुलेमानले ‘चिकित्सकीय सुपर-इन्टेलिजेन्स तर्फको अग्रगमन’ भनेका छन् ।
द वायरका अनुसार यस परियोजनाका लागि माइक्रोसफ्टले गुगलबाट केही शीर्ष अनुसन्धानकर्ता भित्र्याएको छ । उनीहरूले मिलेर यस्तो शक्तिशाली उपकरण निर्माण गरेका हुन्, जसले मानव चिकित्सकले गर्ने रोग पहिचान प्रक्रिया झैँ चरणबद्ध रूपमा काम गर्छ ।
यो एआई प्रणालीलाई एमएआई डायग्नोस्टिक अर्केस्टर (MAI Diagnostic Orchestrator-MAI-DxO) नाम दिइएको छ ।
माइक्रोसफ्टको एआई टोलीले सार्वजनिक गरेको अनुसन्धानमा एआईले कसरी क्रमबद्ध तरिकाले चिकित्सा विज्ञानका सबैभन्दा जटिल निदानका चुनौतीहरू समाधान गर्न सक्छ भन्ने देखाइएको छ । यस्ता केसहरू जुन प्राविधिक विशेषज्ञ चिकित्सकहरूका लागि समेत कठिन हुन्छन्।
प्रत्येक हप्ता न्यु इङ्गल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित हुने वास्तविक केस अभिलेखलाई आधार बनाएर गरिएको परीक्षणमा माइक्रोसफ्ट एआई डायग्नस्टिक अर्केस्टर (MAI-DxO) ले ८५ प्रतिशतसम्म सही रूपमा केसहरूको निदान गर्न सफल भएको देखाइएको छ । परीक्षणका क्रममा यसले बिरामीको लक्षणहरू विश्लेषण गर्दै परीक्षणको सिफारिस गर्ने, नतिजा मूल्याङ्कन गर्ने र अन्ततः रोग पहिचान गर्ने जटिल प्रक्रिया दोहोर्याएको थियो ।
एआई प्रणालीले ८० प्रतिशत शुद्धताका साथ सही निदान गर्न सकेको देखिएको बताइएको छ, जुन मानव डाक्टरहरूको (मात्र २० प्रतिशत) को तुलनामा चार गुणाले बढी हो । परीक्षणका क्रममा बेलायत र अमेरिकाका ५ देखि २० वर्ष अनुभवसहितका २१ जना क्रियाशील फिजिसियनलाई समावेश गरिएको थियो । साथै, माइक्रोसफ्टको एआई सिस्टमले सस्तो मूल्यमा परीक्षण गरेर २० प्रतिशत खर्च समेत घटाएको दाबी गरिएको छ ।
“यो अर्केस्टर संयन्त्रमा एउटा चेनमा रहेर एआई एजेन्टहरूले एकसाथ काम गर्छन् । विभिन्न एआई मोडेलहरूलाई संयोजन गरेर बहस-शैलीमा कार्य गर्ने यस्तो संयन्त्र नै चिकित्सा सुपर-इन्टेलिजेन्स तर्फ अघि बढ्ने बाटो हो,” सुलेमानले भनेका छन् ।
माइक्रोसफ्टले यसका लागि ओपनएआईको जीपीटी, गुगलको जेमनाई, एन्थ्रोपिकको क्लाउड, मेटाको लामा र एक्सएआईको ग्रोक लगायतका प्रमुख एआई मोडेलहरू प्रयोग गरेको छ । यो अनुसन्धान एआई प्रणालीले कसरी डाक्टरहरूकै जस्तो शैलीमा काम गर्न सक्छ भन्ने दृष्टिकोणमा केन्द्रित छ । जसमा लक्षणहरूको विश्लेषण गर्ने, आवश्यक परीक्षणहरूका लागि आदेश दिने र थप विश्लेषण गर्दै अन्ततः निष्कर्षमा पुग्ने प्रक्रियालाई पछ्याइएको छ।
माइक्रोसफ्टका अनुसार, यसले वास्तविक संसारमा स्वास्थ्य सेवामा सुधार ल्याउन र खर्च कटौती गर्न सक्ने सम्भावना देखाएको छ । यसैबिच, केही विज्ञहरूले भने यो सवालमा सावधानी अपनाउनुपर्ने सल्लाह दिएका छन् । एमआईटीका वैज्ञानिक डेभिड सान्ट्यागले भनेका छन्, “यो अनुसन्धानले चिकित्सकको शैलीलाई नजिकबाट नक्कल गर्ने प्रयास गरेको छ र उनीहरूले अपनाउने विधिको गहिरो समीक्षा पनि गरेको छ, जुन सकारात्मक हो ।”
साइप्रस रिसर्च इन्स्टिच्युटका वैज्ञानिक एरिक टोपोलले यो अनुसन्धान प्रशंसनीय रहेको बताएका छन् । किनकि यसले जटिल रोगको निदानमा एआईको भूमिका देखाएको छ र सम्भावित रूपमा स्वास्थ्य खर्च घटाउन सक्ने बाटोसमेत खोलेको छ।
यद्यपि, यो सिस्टमलाई व्यापक रूपमा प्रयोग गर्नुअघि वास्तविक बिरामीमाथि चिकित्सकहरूसँगको तुलनात्मक परीक्षण आवश्यक रहने विज्ञहरूको मत छ ।
एआई यस अघि देखि नै अमेरिकाको केही स्वास्थ्य सेवा क्षेत्रमा व्यापक रूपमा प्रयोगमा आइसकेको छ, जसमा रेडियोलोजिस्टहरूलाई स्क्यान विश्लेषणमा सहयोग पुर्याउने काम पनि पर्छ । माइक्रोसफ्टले अहिले नै यस प्रणालीलाई व्यावसायिक बनाउने निर्णय गरेको छैन ।
तर, कम्पनीले यसलाई आफ्नो सर्च इन्जिन बिङमा एकीकृत गरेर साधारण प्रयोगकर्तालाई आफ्नो स्वास्थ्य अवस्थाबारे बुझ्न मद्दत गर्ने, वा चिकित्सकहरूलाई सहायक उपकरणका रूपमा विकास गर्ने सम्भावना रहेको जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १६:५८
सामाग्री श्रोत :
टेक पाना

बुटवल– लुम्बिनी प्रदेश सभा बैठक पुनः आधा घण्टाका लागि स्थगित भएको छ।
मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका प्रतिपक्षी दलहरूले बजेट सच्याउनुपर्ने माग राख्दै बैठकमा विरोध जनाउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अर्बपति उद्यमी एलन मस्कका कम्पनीहरूलाई दिइँदै आएको सरकारी अनुदान कटौती गर्ने चेतावनी दिएका छन् । उनले विद्युतीय सवारी (ईभी) राम्रो भए पनि सबैलाई किन्न बाध्य पार्ने नीतिको आफू सधैं विपक्षमा रहेको बताउँदै संघीय सरकारको पैसा बचत गर्न मस्कलाई दिइने अनुदानमाथि गहिरो नजर राख्न डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसेन्सी (डज) लाई सुझाव दिएका छन् ।
मस्कले ट्रम्पको खर्बौं डलरको कर विधेयकलाई समर्थन गर्ने लगभग सबै रिपब्लिकन सांसदहरूको आलोचना गरेपछि ट्रम्पको यो कडा प्रतिक्रिया आएको हो ।
१ जुलाईमा आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले भने, “एलन मस्कले मलाई राष्ट्रपतिका लागि समर्थन गर्नुभन्दा धेरै अघिदेखि नै म ईभी म्यान्डेटको घोर विरोधी हुँ भन्ने कुरा थाहा पाएका थिए । यो हास्यास्पद छ र मेरो चुनावी अभियानको सधैं एक प्रमुख हिस्सा थियो ।”
उनले थपे, “इलेक्ट्रिक कारहरू ठीकै छन्, तर सबैलाई किन्न बाध्य पार्नु हुँदैन । एलनले सायद इतिहासमा कुनै पनि मानवभन्दा धेरै अनुदान पाएका छन्, र अनुदानबिना उनले सायद आफ्नो पसल बन्द गरेर दक्षिण अफ्रिका फर्कनु पर्नेछ । त्यसपछि रकेट प्रक्षेपण, स्याटेलाइट वा इलेक्ट्रिक कार उत्पादन केही हुने छैन । अनि हाम्रो देशले ठुलो सम्पत्ति बचत गर्नेछ ।”
ट्रम्पको यो आक्रोश मस्कले सामाजिक सञ्जाल एक्समा रिपब्लिकन सांसदहरूप्रति लक्षित गरेको टिप्पणीपछि आएको हो । शनिबार सिनेटमा कर प्याकेजमाथि छलफल सुरु भएपछि मस्कले ती सांसदहरूले ‘लाजले शिर झुकाउनुपर्ने’ बताउँदै ‘जनताको साँच्चै ख्याल गर्ने नयाँ राजनीतिक दल’ को आवश्यकता औंल्याएका थिए ।
यो घटनाले ट्रम्प र मस्कबिच तनाव नरोकिएको अवस्थालाई चित्रण गरेको छ । ट्रम्पको यो चेतावनीले यदि उनी पुनः निर्वाचित भएमा मस्कको व्यापारिक साम्राज्यमाथि पर्न सक्ने सम्भावित असरबारे पनि बहस सिर्जना गरेको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १७:८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।
योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
“परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ । सङ्घीय निजामती विधेयकमा षड्यन्त्र भएको छ,” उनले भने, “यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।”
अध्यक्ष दाहालले संविधान र जनताको रगत-पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औँल्याए।
“यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्यौ। अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उनले भने।
सो अवसरमा अध्यक्ष दाहालले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गरे। पार्टीको आठौँ महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक रहेको उहाँको भनाइ थियो।
अध्यक्ष दाहालले वर्तमान अवस्थामा वर्गसङ्घर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।
“महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उनले भने।
वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिँदै अध्यक्ष दाहालले त्यसपछि सुरु गरिने सङ्गठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रा पदबाट निलम्बित भएकी छिन् । कम्बोडियाका नेतासँगको एउटा गोप्य फोन संवाद बाहिरिएपछि संविधान विपरीत आचरण गरेको आरोप खेप्दै आएकी उनलाई त्यहाँको अदालतले अनुसन्धान नसकिएसम्मका लागि निलम्बन गरेको हो ।
३८ वर्षीया शिनावात्राले १० महिनाअघि मात्रै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । उनको निलम्बनले दक्षिणपूर्वी एसियाली त्यस राष्ट्रमा नयाँ अनिश्चितता थपेको विभिन्न मिडियाले लेखेका छन् ।
के थियो घटना ?
थाइल्याण्डको संवैधानिक अदालतले पेटोङटार्न शिनावात्रालाई नैतिकता उल्लंघन गरेको आरोप लगाउँदै ३६ सिनेटरहरूको समूहले दायर गरेको निवेदन स्वीकार गरेको थियो । सार्वजनिक भएको फोन कल दुवै पक्षले पुष्टि गरेका छन् ।
१५ जुनमा भएको उक्त फोन संवादमा शिनावात्राले कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गरेको सुनिन्छ । साथै, गत महिना सीमा झडपका कारण एक कम्बोडियाली सैनिकको मृत्यु भएपछि उनले आफ्नै सेनाको आलोचना गरेकी थिइन् ।
थाइल्याण्डकी प्रधानमन्त्रीले हुन सेनसँग आफूमाथि देशभित्र बाटै दबाब रहेको र विपक्षी (जसबाट उनले थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रका एक थाई सेना कमाण्डरलाई संकेत गरेकी थिइन्) को कुरा नसुन्न आग्रह गरेको सुनिन्छ । साथै उनले वार्तामा उनले ‘केही चाहिन्छ भने मलाई भन्नुस्, म मिलाउँछु’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
थाइल्याण्ड र क्याम्बोडियाबिच ८१७ किलोमिटर लामो सीमा छ । इतिहासदेखि नै सीमा विवाद र सैनिक झडपले यी दुई देशबिचको सम्बन्ध तनावपूर्ण बन्ने गरेको छ । अहिलेको विवाद पनि यही सन्दर्भसँग जोडिएको छ ।
विपक्षीको आरोप र प्रधानमन्त्रीको स्पष्टीकरण
सार्वजनिक भएको अडियोमा उनका टिप्पणीहरूले थाइल्याण्डमा तरङ्ग ल्याएको छ । विपक्षीहरूले उनलाई देशको राष्ट्रिय हितमा सम्झौता गरेको आरोप लगाएका छन् ।
यस काण्डपछि प्रधानमन्त्रीलाई राजीनामा दिन दबाब बढ्दै गएको थियो । यसैले गर्दा राजधानी बैंककमा सरकारविरोधी प्रदर्शन जारी छन् ।
शिनावात्राले अदालतको आदेशलाई स्वीकार गर्ने बताएकी छन् । मंगलबार पत्रकार सम्मेलनमा उनले भनिन्, “मेरो उद्देश्य देशको हितका लागि मात्र थियो । म मातृभूमिको रक्षा गर्न, सैनिकको ज्यान जोगाउन र शान्ति कायम गर्न चाहन्थेँ ।”
यो घटनापछि सरकारको मुख्य साझेदार भुमजथाई पार्टीले गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । यसले प्रधानमन्त्रीको पार्टी फ्यु थाईलाई ठुलो झट्का लागेको छ । उनीमाथि संसद्मा अविश्वास प्रस्ताव समेत दर्ता भइसकेको छ ।
अदालतले नैतिकतासम्बन्धी मुद्दामा फैसला नभएसम्म शिनावात्रालाई प्रधानमन्त्रीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ । तर उनी संस्कृति मन्त्रीको भूमिकामा भने यथावत् रहने छिन् ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १५:४४
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– विश्वका सांस्कृतिक र प्राकृतिक सम्पदा स्थलहरूमध्ये झन्डै तीन चौथाइ कम वा बढी पानीका कारण खतरामा रहेको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सीले मङ्गलबार बताएको छ।
बढ्दो तापक्रमका कारण आँधीबेहरी, खडेरी, बाढी र तातो लहरलगायत चरम मौसमका घटनाहरू बारम्बार र तीव्र भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
युनेस्को हेरिटेज सूचीमा रहेका सबै एक हजार एक सय ७२ गैर–समुद्री स्थलमध्ये ७३ प्रतिशत कम्तीमा एउटा पानीको तनाव, खडेरी, नदीको बाढी वा तटीय बाढीसहित गम्भीर पानीको जोखिममा रहेको युनेस्कोले बताएको छ।
“विशेष गरी मध्यपूर्व र उत्तरी अफ्रिका, दक्षिण एसिया र उत्तरी चीन जस्ता क्षेत्रहरूमा पानीको तनाव तीव्र हुने अनुमान गरिएको छ, जसले इकोसिस्टम, सांस्कृतिक सम्पदा र तिनीहरूमाथि निर्भर समुदाय र पर्यटन अर्थतन्त्रका लागि दीर्घकालीन जोखिम खडा गरेको छ”, युनेस्कोले भन्यो।
सांस्कृतिक स्थलहरू प्रायः पानीको अभावबाट खतरामा परेका थिए भने आधाभन्दा बढी प्राकृतिक स्थलहरूले नजिकैको नदीबाट बाढीको जोखिमको सामना गर्नुपरेको युनेस्कोको अध्ययनले देखाएको छ।
“उदाहरणका लागि भारतमा आगराको ताजमहल स्मारकले पानीको अभावको सामना गरिरहेको छ जसले प्रदूषण बढाइरहेको छ र भूजल घटाउँदैछ, यी दुवैले समाधिमा क्षति पुर्याइरहेका छन्”, अध्ययनले भन्यो।
युनेस्कोका अनुसार संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा ठूलो बाढीले सबै येलोस्टोन राष्ट्रिय निकुञ्ज बन्द गरिदियो र पुनः खोल्न पूर्वाधार मर्मतका लागि दुई करोड डलरभन्दा बढी खर्च भयो।
प्रतिवेदनले थप चारवटा उदाहरण दिएको छ।
“इराकका दक्षिणी दलदलहरूले – बाइबलीय इडेन गार्डनको प्रतिष्ठित घर – अत्यधिक उच्च पानीको तनावको सामना गर्छन्, जहाँ मानवीय मागपूर्ति गर्न नवीकरणीय आपूर्तिको ८० प्रतिशतभन्दा बढी निकासी गरिन्छ”, अध्ययनमा भनिएको छ।
यो क्षेत्र आगामी वर्षहरूमा तातो हुँदै जाँदा प्रवासी चराहरू बस्ने र बासिन्दाहरूले भैँसी पाल्ने दलदलहरूमा पानीको प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।
स्कटल्यान्डका अन्वेषक डेभिड लिभिङस्टोनले पुनः नामकरण गर्नुअघि मूल रूपमा मोसी–ओआ–तुन्या (‘गर्जने धुवाँ’) भनिने जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको भिक्टोरिया फल्सले बारम्बार खडेरीको सामना गरेको छ र कहिलेकाहीँ कम हुँदै गएको छ।
पेरुमा पूर्व–कोलम्बियाली सहर चान चान र यसको नाजुक एक हजार वर्ष पुरानो एडोब पर्खालहरूले नदीको बाढीको अत्यन्त उच्च जोखिमको सामना गरिरहेको युनेस्कोले बताएको छ।
चीनमा जलवायु परिवर्तनका कारण बढ्दो समुद्री सतहले तटीय बाढी निम्त्याइरहेको छ। बाढीले प्रवासी पानीका चराहरूले खाना पाउने माटोको भूमि नष्ट गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
आजको जटिल र तीव्र गतिमा अगाडि बढिरहेको स्वास्थ्य सेवाको क्षेत्रमा चिकित्सकीय लापरवाही र गल्ती (medical malpractice and negligence) का घटनाहरू दिनप्रतिदिन बढिरहेका छन्। स्वास्थ्यकर्मीहरूले निरन्तर दक्षता र नैतिकताको पालना गरिरहेका भए तापनि, सबैभन्दा कुशल चिकित्सकहरू पनि यस्ता दावीहरूबाट अछुतो रहन सक्दैनन्। बिरामी पक्षकाहरू अब बढी सचेत, जानकार र कानुनी रूपमा सक्षम भएका छन्, जसका कारण साना त्रुटिहरू पनि कानुनी मुद्दामा रूपान्तरण हुन सक्छन्।
चिकित्सकीय लापरवाही र गल्ती के हो?
चिकित्सकीय लापरवाही भन्नाले त्यो अवस्था जनाउँछ, जहाँ चिकित्सकले उपचारका क्रममा मान्य मापदण्डहरू पालना नगर्दा रोगीलाई हानी पुगेको हुन्छ। गल्ती (Negligence) भनेको चिकित्सकीय कर्तव्यको बेवास्ता हो- जसमा उपचार नगर्ने, ढिला गर्ने, वा गलत निर्णय लिने जस्ता कार्यहरू पर्दछन्।
एक प्रचलित चिकित्सकका रूपमा, कुनै उपचारको जटिलता र लापरवाहीबीचको सीमालाई पहिचान गर्न सक्नु अत्यावश्यक हुन्छ – केवल कानुनी सुरक्षा होइन, रोगीको सुरक्षा र पेशागत प्रतिष्ठाका लागि पनि।
किन लापरवाहीका घटनाहरू बढिरहेका छन्?
१. कार्यभार र प्रणालीगत दबाव
अत्यधिक बिरामीहरू, समय अभाव, र स्रोतको कमीका कारण चिकित्सक थकित र तनावग्रस्त हुन्छन्, जसले त्रुटिको सम्भावना बढाउँछ।
२. आधुनिक चिकित्सा प्रविधिको जटिलता
नयाँ प्रविधि र प्रोटोकलहरूको प्रयोगले गल्तीको गुन्जायस पनि बढाउँछ — जस्तै EHR मा गलत इन्ट्री, AI आधारित निर्णयमा निर्भरता आदिले।
३. संचार र दस्तावेजीकरणमा कमजोरी
धेरै केसहरू उपचारको प्राविधिक त्रुटि नभई संचारमा आएको कमीकमजोरीका कारण हुन्छन् — अस्पष्ट नोटहरू, अपूर्ण जानकारी, वा अनुगमनको अभावले दावी निम्त्याउँछ।
४. बिरामीको कानुनी जागरुकता
आजका बिरामीहरू सूचित छन् र आफ्ना अधिकारबारे सचेत छन्। सानो त्रुटिले पनि उनीहरू कानुनी कदम चाल्न सक्छन्।
५. निरन्तर चिकित्सा शिक्षा (CME) मा कमजोरी
चिकित्सा क्षेत्र तीव्र गतिमा अगाडि बढिरहेको हुँदा पछिल्लो उपचार प्रविधिबारे अपडेट नभएसम्म चिकित्सकीय मापदण्ड पुरानो हुन सक्छ।
चिकित्सकमाथि यसको असर
• मानसिक र भावनात्मक दबाव: कानुनी प्रक्रिया थालिँदा चिकित्सकहरूमा तनाव, आत्म-सन्देह, र डिप्रेशनसम्म देखिन सक्छ।
• पेशागत छवि कमजोर: आरोप प्रमाणित नभए पनि प्रतिष्ठामा असर पर्न सक्छ।
• आर्थिक भार: बीमा शुल्क वृद्धि र कानुनी खर्चले आर्थिक समस्या निम्त्याउन सक्छ।
• डिफेन्सिभ मेडिसिन: डरका कारण आवश्यक नभएका परीक्षण वा औषधि सिफारिस गरिन सक्छ।
जोखिम न्युनिकरणका उपायहरू
१. स्पष्ट र पूर्ण दस्तावेजीकरण
उपचारको प्रक्रिया, निर्णय, सल्लाह र अनुगमन सबै कुरालाई यथासम्भव स्पष्ट रूपमा अभिलेख गर्नुहोस्।
२. रोगीसँग प्रभावकारी संचार
साझा निर्णय प्रक्रियालाई प्रोत्साहन गर्नुहोस्। बिरामीलाई बुझिने भाषामा कुरा गर्नुहोस्, प्रश्न गर्न हौसला दिनुहोस्।
३. सीएमईको निरन्तरता
नयाँ उपचार मापदण्ड, औषधि सूचना, र प्रक्रियागत परिवर्तनहरूमा सधैं अपडेट रहनुहोस्।
४. सहकर्मीहरूसँग समीक्षा
मर्विलिटी र मोर्टालिटी ( Morbidity & Mortality) समीक्षा बैठक, केस डिस्कसन आदि नियमित गर्नुहोस् जसले सिकाइको संस्कार बलियो बनाउँछ।
५. सुरक्षा संस्कारको विकास
त्रुटि, ‘near-miss’ र जोखिमका अवस्था खुलस्त रिपोर्ट गर्न सक्ने वातावरण सिर्जना गर्नुहोस्, दण्डको डर बिना।
६. बीमा सुरक्षाको सुनिश्चितता
आफ्नो पेशागत कार्य अनुसारको बीमा सुनिश्चित गर्नुहोस् र त्यसको सर्तहरू राम्ररी बुझ्नुहोस्।
आजको चिकित्सा अभ्यास केवल उपचार दिनेमात्र होइन, लगातार जोखिम व्यवस्थापन गर्ने कार्य पनि हो। हरेक चिकित्सकले आफ्नो पेशागत निष्ठा, कानुनी सुरक्षा, र रोगीको हितबीच सन्तुलन राख्नुपर्छ। गलतिहरू सधैं टार्न सकिन्न, तर धेरैजसो लापरवाही रोक्न सकिने खालका हुन्छन्- यदि हामीले व्यक्तिगत सतर्कता र संस्थागत सुधार दुवैलाई प्राथमिकता दियौं भने।
सामूहिक जिम्मेवारी, पारदर्शिता, र रोगी-सुरक्षालाई केन्द्रमा राख्ने प्रयासहरू मार्फत हामी यस बढ्दो समस्याको समाधानतर्फ अगाडि बढ्न सक्छौं — र चिकित्सा पेशाको मूलमन्त्र “नोक्सान नगर्नु” लाई पुनः स्थापित गर्न सक्छौं।
(डा रोय कास्र एआई हस्पिटल, कारियो युनिभर्सिटीमा कार्यरत छन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । निजी टेलिकम कम्पनी एनसेलले अब ग्राहकलाई ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । कम्पनीले साउनको दोस्रो साताभित्रै नयाँ सिमहरूको वितरण थाल्ने तयारी थालेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत १४ जेठमा एनसेललाई यो रेन्जका नम्बर वितरण गर्नका लागि अनुमति दिएको थियो । यसअघि प्रयोगमा आएका ९८०, ९८१, ९८२, ९७० रेन्जमा नम्बरहरू अपुग भएकोले कम्पनीलाई नयाँ नम्बर रेन्ज उपलब्ध गराइएको हो ।
यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ एलोकेसन प्लान) को नियम अनुरूप जारी भएको हो । दूरसञ्चार सेवा बाहेक वन टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरू साइन अप गर्न, डिजिटल कारोबार लगायतका महत्त्वपूर्ण प्रयोजनमा मोबाइल नम्बरको ठुलो आवश्यकता रहन्छ ।
मोबाइल नम्बर प्रणालीको विषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यालय, बैँक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्ज हाल सञ्चालनमा रहेका अन्य रेन्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्टिग्रेट/अपडेट गर्न समेत अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार १७, २०८२ १५:२३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– विपद् प्रतिकार्य हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच सम्झौता भएको छ।
मंगलबार गृह मन्त्रालयमा वायु सेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच सम्झौता भएको हो। सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले वायु सेवा सञ्चालक सङ्घले गरेको सहयोगले विपद्का वेला आम नागरिकको जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए।
मनसुन जन्य विपद्का बेला नेपाली सेनाले उद्वारका लागि प्रयोग गर्ने हेलिकप्टरको उपलब्धता नभएको बेला यसले थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे।
उनले नागरिकको उद्वारका लागि निःशुल्क हेलिकप्टर उपलब्ध गराउन सङ्घसँग थप समन्वय गर्ने पनि प्रतिबद्धता जनाए। मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि नेपाली सेना,सशस्त्र प्रहरी खोज तथा उद्धारका निरन्तर लागिरहेको पनि उनले बताए।
यसैगरी वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले विगतको भूकम्प,कोभिडको समयमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको बताउँदै मनसुनको बेलामा कुनै पनि विपद् आइपरेमा सम्झौता अनुसार हवाई उद्वारका लागि तयारी अवस्थामा रहने बताए।
एक वर्षका लागि सङ्घ र प्राधिकरणबिच भएको सम्झौता अनुसार मनसुन जन्य विपद्का वेला उद्वारका लागि अपरेटिङ शुल्क बाहेक अन्य सेवा निःशुल्क रहने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ




