

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।
यहाँस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विभिन्न विषयमा महत्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाइएको छ।
उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताए। उनले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएका र केही प्रक्रियामा रहेका जानकारीमा आएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। ‘नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ’, उपराष्ट्रपति यादवले भने, ‘यी क्षेत्रहरूमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन्।’
उनले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित चार हजार ५०० नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताए। उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र संघलगायत अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसको निरन्तरतामा आफू विश्वस्त रहेको बताए।
नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदाहरूसँग भएको सम्झौताबमोजिम सुविधा पाए÷नपाएकाबारे विभिन्न सङ्घ÷संस्थाहरूले अनुगमन गर्ने गरेको बताए। ‘दुई मुलुकबीच केही सम्झौताहरू भइसकेका र केही प्रक्रियामा रहेकाले ती सम्झौताले पनि पूर्णतथा पाउने विश्वास गर्दछु’, उनले भने, ‘इजरायलबाट विभिन्न किसिमका प्रशिक्षण लिएर आएकाहरू नेपालमा सफल भइरहेको जानकारी पाउँदा खुसी लागेको छ।’
सामाग्री श्रोत :
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा पार्नका लागि स्वास्थ्य क्षेत्रको बजेट बढाउनुपर्ने बताएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई राज्यको प्राथमिकतामा पार्नका लागि विनियोजन हुँदै आएको बजेटलाई बढाउनुपर्नेमा जोड दिएका हुन्।
हाल स्वास्थ्य क्षेत्रमा कूल बजेटको ४ प्रतिशत मात्रै विनियोजन हुँदै आएको तथा उक्त बजेट अन्र्तराष्ट्रिय मापदण्ड अनुसार पनि थोरै भएको मन्त्री पौडेलको भनाइ थियो।
‘यो पटकको बजेटमा ४ प्रतिशतबाट पनि घट्ने जोखिम छ,’ मन्त्री पौडेलले भने ‘स्वास्थ्य क्षेत्रमा लगानी न्यूनीकरणका लागि बीमा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ।’ बीमालाई व्यवस्थित गर्न सके मात्रै कम लगानीमा उच्चतम स्वास्थ्य सेवा पाउने स्थिती आउने मन्त्री पौडेलको दाबी थियो।
उनले २३ वर्षको अवधिको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थुप्रै जनशक्ति उत्पादन गर्नुका साथै थुप्रैलाई स्वास्थ्य सेवा समेत उपलब्ध गराएको बताए। आगामी केही वर्ष भित्र नै सबैभन्दा बढी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा न्याम्स अगाडि बढिरहेको उनको भनाई छ। नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भन्ने स्थिती नरहेपनि चिकित्सकहरु टिकाउन भने एकदमै मुस्किल रहेको मन्त्री पौडेलको भनाई छ।
काठमाडौं भित्रका स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहेपनि काठमाडौं बाहिर भने स्वास्थ्यकर्मी अभावको स्थिती रहेको उनले बताए। जनशक्ति उत्पादन गरी नेपालमै टिकाउने तथा दुरदराजसम्म पनि स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि जनशक्ति अभाव नरहने स्थिती बनाउन आवश्यक रहेको मन्त्री पौडेलको धारणा छ।
जनशक्ति उत्पादनमा समेत राज्यले लगाानी गर्ने वातावरण बनाउन आवश्यक रहेको मन्त्री पौडेलको जिकिर छ। ‘उत्पादित जनशक्तिलाई नेपाल भित्रै टिकाउने स्थिती बन्नुपर्छ,’ ‘स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत उन्नयनका लागि प्रोत्साहित गरिनुपर्छ’ ,मन्त्री पौडेलले भने ‘यसो गर्न सकेमा स्वास्थ्य जनशक्तिको क्षेत्रमा देखिएको समस्याको समाधान गर्न सकिन्छ’।
आगामी ५,७ वर्षमा गंगालाल अस्पतालमा मुटुको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने परिस्थिती आउन सक्ने मन्त्री पौडेलको दाबी छ। ‘विज्ञापन गर्दा पनि चिकित्सक नपाउने स्थिती छ, यो गम्भीर अवस्था हो’, मन्त्री पौडेलले भने, ‘यो विषयलाई न्याम्सले गम्भीर ढंगबाट लिनुपर्छ’।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेडबिच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
हालै भएको सम्झौताअनुसार अब लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले स्मार्ट पेमार्फत स्वदेश तथा विदेशबाट पठाइएको रकम तुरुन्तै आफ्ना खातामा प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, बैंकमा खाता भएका व्यवसायी तथा व्यापारीहरूले स्मार्ट क्यूआर सेवा प्रयोग गरी विभिन्न मोबाइल बैंकिङ र मोबाइल वालेटमार्फत भुक्तानी लिन सक्ने बताइएको छ ।
सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र लुम्बिनी विकास बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १६:३९
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–इजरायलले गाजामा योजनाबद्ध सैन्य आक्रमणको घोषणा गरेपछि युरोपेली सङ्घ (इयु) ले गाजामा तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गर्दै इजरायली अधिकारीहरूलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ।
“युरोपेली सङ्घ गाजामा इजरायली सेनाद्वारा अपरेसनको योजनाबद्ध विस्तारमा चिन्तित छ, जसको परिणामस्वरूप प्यालेस्टिनी जनसङ्ख्याका लागि थप हताहत र पीडा हुनेछ। हामी इजरायललाई अत्यधिक संयम अपनाउन आग्रह गर्दछौँ”, युरोपेली आयोगका प्रवक्ता अनौर एल अनौनीले पत्रकार सम्मेलनमा भनेका छन्।
इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजा पट्टीमा आफ्नो सैन्य आक्रमण विस्तार गर्ने योजनालाई आइतबार राति अनुमोदन गरेको छ।
इयुले तत्काल मानवीय पहुँच र सहायताको वितरणका साथै गाजामा बिजुली र आवश्यक सेवाहरूको पुनःस्थापनाका लागि आह्वान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाल सरकार अन्तरगतको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता भएको छ।
मंगलबार खानेपानी मन्त्रालय सिंहरबारमा एक कार्यक्रमको आयोजना गरी खानेपानी मन्त्रालयका सहसचिव ई.रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयका तर्फबाट प्रदेश सचिव इन्द्रदेव भट्टले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै खानेपानीमन्त्री प्रदीप यादवले यस सम्झौतामार्फत संघीय र प्रदेश सरकारबीच आपसी समन्वय, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा प्रभावकारिता सुनिश्चित गर्दै, कर्णाली प्रदेशभित्र खानेपानी क्षेत्रको सुशासन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने साझा प्रतिबद्धता रहेको बताए।
उनले भने, ‘यो सम्झौता संघीयता अन्तर्गत तीन तहका सरकारहरूबीच समन्वय र सहकार्यको उत्कृष्ट नमूना हो। खानेपानी क्षेत्रको सुशासन प्रवद्र्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने साझा प्रतिबद्धता पनि हो।’
मन्त्री यादवले कर्णाली प्रदेशमा खानेपानीका क्षेत्रमा प्रर्याप्तमात्रामा बजेट विनियोजन गरिने समेत आश्वासन दिए।
उनले भने, ‘म कर्णाली प्रदेशका बिकट र दुर्गम क्षेत्रमा पुगेको छु। त्यहाँ भएका खानेपानीका समस्या मैले आफ्नै आँखाले देखेको छु। त्यहाँको खानेपानीको समस्या अन्त्य गरेरै छाड्छु।’
यसैगरी कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले सम्झौता सम्पन्न भएको यस आयोजनाले कर्णाली प्रदेशको खानेपानीको क्षेत्रमा निकै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना (यसपछि ‘आयोजना’ भनिने) सञ्चालन गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकारबीच १३ जुलाई २०२२ मा वित्तीय सम्झौता भएको छ। यो आयोजनाको अवधि जुलाई १५, २०२८ सम्म रहेको छ।
आयोजना कार्यान्वयनमा लगानी सहभागिता जनाउन तथा आयोजना कार्यान्वयनको अनुगमन गर्न नेपाल सरकार, खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार, जलस्रोत तथा उर्जा विकास मन्त्रालयबीच यो ‘सहभागिता सम्झौता’ सम्झौता गरिएको सम्झौतापत्रमा हस्ताक्षर गर्नु हुने मन्त्रालयका सहसचिव ई.रमाकान्त दुवाडीले बताए।
आयोजना कार्यान्वयनका लागि चाहिने कुल १०० मिलियन अमेरिकी डलर (तदनुसार रु १३ अर्ब ३८ करोड ७० लाख रुपैयाँ) मध्ये आइडिएबाट नेपाल सरकारलाई प्राप्त हुने ऋण ८० मिलियन अमेरिकी डलरको लागि चाहिने समपूरक कोषको व्यवस्था गर्न आवश्यक पर्ने २० मिलियन अमेरिकी डलरको लागत सहभागिता नेपाल सरकारले संघीय सरकारका तर्फबाट ३ दशमबल ७० मिलियन अमेरिकी डलर, प्रदेश सरकारहरू (कर्णाली प्रदेश र सुदूरपश्चिम) का तर्फबाट १० दशमलब ५७ मिलियन अमेरिकी डलर र सरोकारवाला छ वटा पालिकाहरूका तर्फबाट ५ दशमलब ७० मिलियन अमेरिकी डलर तय गरेको जनाइएको छ।
खानेपानी मन्त्री यादव, कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढा, वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी), शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारी, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर सम्पन्न गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव ई.मीना श्रेष्ठले जानकारी दिए।
सामाग्री श्रोत :
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सरकारको स्टार्टअप कर्जा कार्यक्रममा सूचना प्रविधि (आईटी) कम्पनीलाई प्राथमिकता नदिएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै डा. वाग्लेले ६६१ ओटा परियोजना कर्जाका लागि छनोट हुँदा आईटी क्षेत्रका स्टार्टअपको संख्या १७ मात्रै रहेको उल्लेख गरे ।
“…अर्को गुगल, मेटा, च्याटजीपीटी नेपालमा जन्माउन लागेको जस्तो देखाइयो । तर छनोट हुनेमा ३४० वटा जति त माछा, दूध, बाख्रा, कुखुरा छ । मैले यसलाई होच्याउन खोजेको होइन । तर यो लघु उद्यमसँग सम्बन्धित छ । टेक स्टार्टअप भन्दा हाम्रो अपेक्षा अर्कै हुन्छ,” उनले भने ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आइतबार स्टार्टअप कर्जाका लागि छनोट भएका उद्यमीहरूको नाम सार्वजनिक गरेको थियो । अनलाइन र भौतिक रूपमा गरी पाँच हजार १५८ युवाले स्टार्टअप कर्जाका लागि प्रस्ताव दर्ता गराएकामा १,३१४ जनाले परियोजनाको प्रस्तुतीकरण गरेका थिए । यसबाट मूल्याङ्कन गरी प्रतिष्ठानले ६६१ परियोजनालाई कर्जाका लागि छनोट गरेको हो ।
वाग्लेले अन्य व्यवसायहरूमा पनि कर्जा वितरण भएको जानकारी दिँदै भने, “टेलरिङमा ३३ वटा, मसला, दालमोठ, कागज प्लेट उत्पादन जस्ता व्यवसायमा ६५ ओटा छनोट भएका छन् । आईटीसँग सम्बन्धित चाहिँ ६६१ मा १७ ओटा रहेछ ।”
उनले बैतडीबाट निर्वाचित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकै प्रभावमा सुदूरपश्चिमका धेरै परियोजना छनोट भएको दाबी गरे । “सुदूरपश्चिमबाट १०२ ओटा छनोट भएका छन्, जसमध्ये बैतडीमा मात्रै २६/२७ ओटा परेका छन् । मन्त्रीज्यूको अर्को निर्वाचनको तयारीजस्तो देखिन्छ,” डा. वाग्लेले आरोप लगाए ।
त्यस्तै, उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासका लागि सरकारले नीति तथा कार्यक्रममा पर्याप्त प्राथमिकता नदिएको टिप्पणी गरे । “एआईको विषयमा नीति तथा कार्यक्रममा दुई-चार लाइन खर्चिएको छ । तर, सञ्चार मन्त्रालय आफैँ जम्मा सात अर्ब जाबोको बजेट छ । त्यहाँभित्र उपसचिवले हेर्न मिल्ने गरी एआई डिभिजन राख्ने रे,” उनले भने ।
नेपाललाई वर्तमान अवस्थामा सात अर्ब रुपैयाँ एआईको विकासको लागि मात्रै लगानी गर्नुपर्ने र सो लगानीबाट ७० अर्ब बराबरको निजी क्षेत्रको लगानी आकर्षित गर्न सकिने उनको भनाइ थियो ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १७:१०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ –वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
उपचारका क्रममा मंगलबार दिउँसो नेता नेपालको ७१ वर्षको उमेरमा निधन भएको अस्पताल उच्च स्रोतले जनाएको छ।
थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आइसीयूमा राखेर उपचार हुँदै थियो।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए। केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले छन्सार छलीको कपडा दुईथान मोटरसाइकल सहीत एकजना तस्कर लाई पक्राउ गरेको छ।
तस्करीको सामान र मोटरसाइकलसहित पक्राउ पर्नेमा ईशनाथ नगरपालिका-१ का ३७ वर्षीय राकेश पैसवान रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए।
जिल्ला प्रहरीबाट विशेष सूचनाको आधारमा गएको गस्ती टोलीले गौर नगरपालिका-४ लालबकैया नदीको छेउबाट दुई लाख २३ हजारको अवैध कपडा, नम्बर नभएको दुईथान मोटरसाइकलसहित पासवानलाई नियन्त्रणमा लिएको थियो।
बरामद कपडा, मोटरसाईकलको कुल तिनलाख २३ हजार मूल्यांकनसहित पक्राउ पैसवानलाई आवश्यक कारबाहीको लागि सोमबार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
सामाग्री श्रोत :
भन्सार छलीको कपडासहित दुई मोटरसाइकल र एक व्यक्ति नियन्त्रणमा
काठमाडौँ । आजकल इन्टरनेट हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । सार्वजनिक स्थानमा नि:शुल्क वाई-फाईको उपलब्धताले धेरैलाई सहज बनाएको छ । तर, यसले सुरक्षा चुनौतीहरू पनि थपेको छ । यस्तै एउटा खतरा मध्येको एउटा हो, ‘वाई-फाई पाइनापल’ ।
के हो वाई-फाई पाइनापल ?
‘वाई-फाई पाइनापल’ सुन्दा हास्यास्पद नाम जस्तो लाग्छ, तर यो तपाईँको साइबर सुरक्षाका लागि एउटा खतराको विषय हो । यो एउटा यस्तो उपकरण हो, जुन वास्तवमा वाई-फाई सुरक्षा जाँचको लागि बेचिए पनि यसको प्रयोग तपाईँको डिभाइसमा आक्रमण गर्नमा हुन सक्छ ।
यो उपकरण भुइँकटहर (pineapple) जस्तो देखिने भएकाले यसको नाम यस्तो राखिएको हो । किनकि सुरुतिरका डिभाइसहरूमा भुइँकटहरको पात जस्तै एन्टिनाहरू निस्किएका हुन्छन् ।
यद्यपि ‘वाई-फाई पाइनापल’ भन्नाले कुनै खास व्यापारिक उपकरणलाई जनाउँछ, जसले म्यान-इन-द-मिडल (man-in-the-middle) आक्रमणलाई स्वचालित बनाउँछ । तर यस्ता आक्रमणहरू ल्यापटप वा साना कम्प्युटरहरू जस्ता सजिलै उपलब्ध हुने हार्डवेयरबाट पनि गर्न सकिन्छ ।
वाई-फाई पाइनापलले कसरी काम गर्छ ?
वाई-फाई नेटवर्क प्रयोग गरेर गरिने मुख्यतया दुई प्रकारका साइबर आक्रमण हुन्छन्:
१. इभिल ट्विन (Evil Twin) आक्रमण
यसमा तपाईँले पहिले प्रयोग गरिरहेको वा विश्वास गर्नु हुने वाई-फाई नेटवर्कको नक्कल (impersonate) ह्याकरले गर्छ । तपाईँको उपकरणलाई यस नक्कली नेटवर्कमा जोड्न लगाई तपाईँको डेटामा हस्तक्षेप (intercept) गरेर तपाईँको डिभाइसमा रिमोट एक्सेस प्राप्त गर्ने प्रयास गरिन्छ ।
२. रग एपी (Rogue AP – Access Point) आक्रमण
यसमा आक्रमणकारीले सार्वजनिक स्थानमा रहेका (जस्तै कफी शप, एयरपोर्ट, होटेल) खुला नेटवर्कहरूको विज्ञापन गर्छन् । सोझा वा इन्टरनेटमा झुन्डिरहने प्रयोगकर्ताहरू यस्ता नेटवर्कमा जोडिने आशा राखिन्छ । एक पटक जोडिएपछि अघिल्लो इभिल ट्विन आक्रमण जस्तै परिणामहरू आउन सक्छन्, जस्तै डेटा चोरी वा उपकरणमा पहुँच । कहिलेकाहीँ त होटेलको नाम जस्तै देखिने नेटवर्कको नाम राखेर मात्र पनि मानिसहरूलाई झुक्याउने गरिन्छ ।
यसबाट के कस्तो खतरा हुन्छ ?
-
व्यक्तिगत प्रयोगकर्ताका लागि: मालिसियस (Malicious) वाई-फाई हटस्पटमा जोडिँदा तपाईँको ईमेल, सामाजिक सञ्जाल लगइन, र अन्य संवेदनशील जानकारी (तपाईँले कुन वेबसाइट भिजिट गर्नुहुन्छ भन्ने सहित) चोरी हुन सक्छ । तपाईँको डेटा इन्क्रिप्टेड (encrypted) भए पनि त्यसको दुरुपयोगको सम्भावना रहन्छ । फायरवाल (firewall) सही ढङ्गले कन्फिगर नगरिएका उपकरणहरूमा कम्प्रोमाइज्ड (compromised) नेटवर्क मार्फत रिमोट एक्सेस प्राप्त गर्न सकिने भएकाले तपाईँको डिभाइसको सबै डेटा जोखिममा पर्न सक्छ ।
-
व्यवसायका लागि: वाई-फाई पाइनापल र अन्य दुर्भावनापूर्ण प्रयोजनका लागि राखिएका उपकरणहरूलाई नेटवर्कमा घुसाएर (इन्टरनेट सकेट प्रयोग गरेर वा आधिकारिक वाई-फाई क्रेडेन्सियलहरू चोरेर) आक्रमणकारीले कम्पनीको आन्तरिक पूर्वाधारमा अनियन्त्रित पहुँच पाउन सक्छ ।
कसरी सुरक्षित राख्ने ?
निम्न उपाय अपनाएर तपाईँ वाई-फाई पाइनापल र अन्य नक्कली हटस्पटबाट बच्न सक्नु हुन्छ ।
-
सार्वजनिक वाई-फाईबाट टाढा रहनुहोस्: यदि सम्भव छ भने सार्वजनिक वाई-फाई प्रयोग नगर्नुहोस् । आफ्नो मोबाइल फोनको टेदरिङ (tethering) प्रयोग गरी इन्टरनेट चलाउनु राम्रो हुन्छ ।
-
भीपीएन (VPN) प्रयोग गर्नुहोस्: यदि सार्वजनिक वाई-फाई प्रयोग गर्नैपर्ने भएमा भरपर्दो भीपीएन प्रयोग गर्नुहोस् । त्यसलाई यस्तो तरिकाले सेटअप गर्नुहोस् कि सबै इन्टरनेट ट्राफिक भीपीएनबाट मात्र जाओस् । जसलाई केही भीपीएनमा ‘किल स्विच’ समेत भनिन्छ ।
-
नेटवर्कका नामहरू चेकजाँच गर्नुहोस्: वाई-फाई नेटवर्कमा जोडिनु अघि दोहोरिएका वा शङ्कास्पद नेटवर्क नामहरू छन् कि छैनन् जाँच गर्नुहोस् । क्यूआर कोड (QR Code) स्क्यान गरेर जोडिनु अघि त्यो कोड सुरक्षित स्थानमा छ कि छैन भनेर पनि विचार गर्नुहोस् ।
-
अटो-कनेक्ट (Auto-Connect) डिसेबल गर्नुहोस्: तपाईँले पहिले जोडेका सार्वजनिक नेटवर्कहरूको लागि अटो-कनेक्ट सुविधा डिसेबल गर्नुहोस् ताकि तपाईँ झुक्किएर कुनै नक्कली नेटवर्कमा फेरि जोडिनु नपरोस् ।
-
घरको नेटवर्क सुरक्षित राख्नुहोस्: घरमा आफ्नो वाई-फाई नेटवर्क र एडमिनिस्ट्रेटर पासवर्ड बेलाबेला परिवर्तन गरिराख्नु होस् । पाहुनाहरूका लागि छुट्टै गेस्ट नेटवर्क सेट अप गर्नुहोस् । आफ्ना स्मार्ट डिभाइसहरूका लागि छुट्टै आईओटी (IoT) नेटवर्क बनाउनुहोस् । छिमेकमा उस्तै नेटवर्क नामहरू देखा परेमा आफ्नो नेटवर्कको नाम परिवर्तन गर्ने विषयमा पनि सोच विचार गर्नुहोस् ।
-
सेक्युरिटी अलर्टहरूलाई ध्यान दिनुहोस्: एसएसएल सर्टिफिकेट (SSL certificate) चेतावनी र अनपेक्षित रिडाइरेक्ट (redirects) लाई सधैँ ध्यान दिनुहोस् । यस्ता चेतावनी देखिएमा कहिल्यै पनि कुनै वेबसाइट वा एपमा लगइन नगर्नुहोस् । यदि लगइन स्क्रिन सामान्य भन्दा फरक देखिएमा पनि तपाईँको ट्राफिकलाई नक्कली साइटमा रिडाइरेक्ट गरिएको हुन सक्छ भन्ने हिसाबले शंका गर्नुहोस् ।
-
एन्टिभाइरस र फायरवाल प्रयोग गर्नुहोस्: सार्वजनिक वाई-फाई नेटवर्कमा जोडिँदा एन्टिभाइरस (antivirus) र व्यक्तिगत फायरवालको महत्त्वपूर्ण भूमिका हुन्छ । यदि तपाईँको डिभाइस कम्प्रोमाइज्ड भएमा यिनीहरूले मालिसियस सफ्टवेयर र गतिविधि पत्ता लगाई त्यसलाई रोक्न मद्दत गर्छन् ।
व्यवसायहरूलाई कसरी बचाउने ?
यदि तपाईँ कुनै व्यवसाय चलाउनुहुन्छ र कर्मचारी तथा ग्राहकहरूलाई वाई-फाई उपलब्ध गराउनुहुन्छ भने त्यसलाई सुरक्षित राख्ने जिम्मेवारी पनि तपाईँकै हो । यसका लागि निम्न उपायहरू अपनाउनु होस् ।
-
आईटी (IT) टिमलाई स्रोतसाधनयुक्त बनाउनुहोस्: आफ्नो आईटी टीमलाई आवश्यक समय र स्रोतसाधन दिनुहोस् ताकि उनीहरूले नेटवर्क पूर्वाधारलाई राम्ररी व्यवस्थित, सुरक्षित र अपडेटेड राख्न सकून् ।
-
नेटवर्क स्क्यान गर्नुहोस्: अनधिकृत उपकरणहरू र नक्कली वाई-फाई नेटवर्कहरू पत्ता लगाउन आफ्नो नेटवर्कलाई नियमित रूपमा स्क्यान गर्नुहोस् । शंकास्पद कुरा फेला परेमा त्यस उपकरणको खोजी गरी हटाउनुहोस् ।
-
इन्टरप्राइज-ग्रेड (Enterprise-grade) हार्डवेयर प्रयोग गर्नुहोस्: क्लाइन्ट आइसोलेसन (client isolation), म्यानेजमेन्ट टुल र अतिरिक्त सुरक्षा फिचरहरू प्रदान गर्ने इन्टरप्राइज-ग्रेडका वाई-फाई हार्डवेयर प्रयोग गर्नुहोस् ताकि तपाईँको नेटवर्क तपाईँकै नियन्त्रणमा रहोस् ।
पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १६:८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ।
केही दिनदेखि लगातार घटेको नेप्से आज १.०३ अंकले वृद्धि हुँदै २६११ विन्दुमा पुगेको हो।
झिनो अंकले नेप्से बढेसँगै १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। जसमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबारमध्ये चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र रिढी पावर कम्पनी लिमिटेड रहेका छन्।
यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ। यो कम्पनीले आज मात्रै प्रतिसेयर २८३ रुपैयाँ गुमाएको छ। आज आठ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









