
काठमाडौं- देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति शुक्रबार सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा नीति सार्वजनिक गरेका हुन्।
देशका हिमाली क्षेत्रका ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या वृद्धिदर ऋणात्मक रहेको अवस्थामा अहिलेको चुनौतीसँग जुध्नका लागि भन्दै मन्त्री पौडेलले परिवर्तित समस्या समाधान गर्न नीति अघि बढाउने तयारी गरेका थिए । सोहीअनुसार गत सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री पौडेलको प्रस्ताव पारित भए पछि नयाँ नीति आएको हो ।
यसले २०७१ सालमा आएको जनसंख्या नीतिपछि देखिएका जनसंख्या चुनौती समाधान तथा बढिरहेको युवा जनसंख्याबाट लाभ लिने विषय समेटेको छ ।
नीतिले हाल घटिरहेको प्रजनन दरलाई एक दशमलव ९४ बाट जनसंख्या वृद्धिदर सहज अवस्थामा पुर्याउन २ दशमलव १ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको छ । साथै हाल उच्च रहेको १५ देखि ५९ वर्ष उमेर समूहको ६१ दशमलव ९ प्रतिशत जनसंख्याबाट अर्थतन्त्रले लाभ लिने परिकल्पना गरेको छ।
जनसंख्याको अहिलेको अवस्थाका आधारमा योजना बनाउन आवश्यक रहेको र यसका लागि तीनै तहबीच समन्वय गर्नका लागि नीतिले जोड दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको अध्यक्षतामा राष्ट्रिय जनसंख्या निर्देशन तथा समन्वय समितिको परिकल्पना गरेको नीतिले तीनै तहका समस्या सम्बोधन गर्न व्यवस्थापन मार्गदर्शन जारी गर्ने लक्ष्य लिएको छ ।
विकास योजनाहरु बने पनि उपभोग हुन नसकेको अवस्थालाई सम्बोधन गर्न नीतिले यस्ता पूर्वाधार बनाउँदा जनसंख्याको प्रभाव मूल्यांकन गर्ने लक्ष्य लिएको छ । साथै, जनसंख्याका सबै खालको तथ्यांक तीनै तहबीच एकीकृत प्रतिवेदन बन्ने प्रणालीका साथै व्यक्तिगत जनसंंख्या विवरण प्रणालीमा आबद्ध गरी सरकारका अंगहरुले एकीकृत रुपमा प्राप्त गर्न सक्ने लक्ष्य नीतिले राखेको छ ।
साथै, नागरिकको स्वास्थ्य पहुँच अभिवृद्धिका लागि स्वास्थ्य बीमामार्फत सबै नागरिकको पहुँच पुर्याएर स्वास्थ्य उपचारमा आर्थिक सहायता प्रदान गर्ने लक्ष्य नीतिले लिएको छ।
नीतिको कार्यान्वयनले समृद्ध देश निर्माणको लक्ष्य प्राप्तिका लागि युवा परिचालनबाट जनसांख्यिक लाभ हुने अपेक्षा मन्त्रालयको छ । आन्तरिक बसाईंसराइ व्यवस्थि तगर्ने तथा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव क्षमताको उपयोग गरेर मर्यादित र सम्मानित जीवनको लक्ष्य प्राप्त हुने परिकल्पना नीतिले गरेको छ।
यसका लागि अहिलेको शिक्षा प्रणालीमा परिमार्जन गर्दै उद्यमशील सीपयुक्त शिक्षामा जोड दिइएको छ । साथै, विदेश गएका र फर्किएका आप्रवाशी जनशक्तिलाई उपभोग गर्ने गरी योजना तथा कार्यक्रम निर्माण गर्ने विषय नीतिले समेटेको छ ।
राज्यबाट प्रदान गर्ने सार्वजनिक सेवा राष्ट्रिय परिचय पत्रमा आवद्ध भएमा यसले नागरिकलाई सहजता र राज्यलाई सेवा र आवश्यकता तथा उपभोगको तथ्यांक दिने अपेक्षा नीतिले लिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जनसंख्या चुनौती सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै नागरिकबाट साथको अपेक्षा गरे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्यामैत्री सरकार निर्माण गर्न चाहेकाले मानिसको संख्या मात्र नभै उनीहरुका चाहनालाई समेत सम्बोधन गर्ने गरी का मगर्न नीति ल्याएको बताए ।
उनले सरकार जनसांख्यिक लाभ लिन र कम भएका क्षेत्रको समस्या सम्बोधन गर्न समन्वय गर्न तयार रहेको भन्दै तीनै सरकारसँग मिलेर युवाको परिचालनबाट देशलाई समृद्ध पार्न का मगर्ने प्रतिबद्धता जनाए । ‘नीतिले सरकारको प्राथमिकता अहिलेको समस्या सम्बोधन र अवसरबाट लाभ लिने भएको पुष्टि गरेको छ,’ उनले भने,‘यसको कार्यान्वयनमा तीनै तहका सरकार र सबैको साथ अपेक्षा गरेका छौं ।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । अनलाइन ठगी न्यूनीकरण गर्न नेपाल राष्ट्र बैँकले निष्क्रिय बैँक खाता न्यूनीकरण गर्ने नीति बनाउने भएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत केन्द्रीय बैँकले यस्तो घोषणा गरेको हो ।
मौद्रिक नीति अनुसार बैँक तथा वित्तीय संस्थामा निष्क्रिय खाताहरूको सङ्ख्या उल्लेख रूपमा बढिरहेको छ । यसरी उच्च सङ्ख्यामा निष्क्रिय खाता रहँदा अन्य व्यक्तिले समेत त्यस्ता खाता प्रयोग गर्ने (Money Mule) प्रवृत्ति देखिएको उल्लेख छ ।
यसै जोखिमलाई दृष्टिगत गरी राष्ट्र बैँकले निष्क्रिय खातालाई न्यून गर्ने कार्य योजना बनाएर लागु गर्ने भएको हो ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १६:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । अब हरेक बैंकमा खाता खोल्दा वा वित्तीय कारोबार गर्दा पटक-पटक ग्राहक पहिचान (केवाईसी) फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाइने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले एक बैंकमा केवाईसी विवरण भरेपछि सोही विवरण अन्य सबै बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने प्रणाली विकास गर्ने घोषणा गरेको हो ।
यो व्यवस्था कार्यान्वयनमा आएपछि ग्राहकहरूले एउटा बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अर्को बैंकमा नयाँ खाता खोल्न वा सेवा लिनका लागि पुनः सम्पूर्ण प्रक्रिया दोहोर्याउनु पर्ने छैन ।
गभर्नर प्राडा. विश्वनाथ पौडेलले प्रस्तुत गरेको मौद्रिक नीतिको ‘वित्तीय समावेशिता र ग्राहक हित संरक्षण’ सम्बन्धी व्यवस्थामा यो योजना समेटिएको छ ।
“बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवा प्रदायकको ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिनेछ,” यसलाई थप स्पष्ट पार्दै नीतिमा भनिएको छ, “ग्राहकले कुनै एक बैंकमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्नसक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिनेछ ।”
यो प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएकाले केवाईसी प्रक्रिया थप विश्वसनीय र छरितो हुने राष्ट्र बैंकको विश्वास छ । राष्ट्रिय परिचयपत्रलाई मुख्य आधार बनाएर एकपटक प्रणालीमा विवरण अद्यावधिक भएपछि अन्य वित्तीय संस्थाहरूले सुरक्षित विद्युतीय माध्यमबाट उक्त विवरण प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १५:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नेपाल राष्ट्र बैँकले फोनलोन जस्ता डिजिटल माध्यमबाट लिन मिल्ने ऋण प्रवाहलाई थप सहज बनाउने भएको छ । गभर्नर विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस किसिमको व्यवस्था गरिएको हो ।
“लघु, साना तथा मझौला व्यवसायीलाई विद्युतीय माध्यमबाट कारोबारमा आधारित भई प्रवाह गरिने कर्जामा सहजीकरण गर्न डिजिटल लेन्डिङ गाइडलाइनमा परिमार्जन गरिनेछ,” मौद्रिक नीतिमा भनिएको छ । यसका साथै सबल र सुरक्षित भुक्तानी प्रणालीको विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गरिनेछ ।
वर्तमान परिवेशमा भुक्तानी प्रणालीलाई सबल बनाउन नेसनल पेमेन्ट सिस्टम डेभलपमेन्ट रणनीतिको समीक्षा गरी नयाँ रणनीति तर्जुमा गर्ने कार्य योजना समेत राष्ट्र बैँकले अघि सारेको छ । यस बाहेक भुक्तानी प्रणालीलाई थप सबल, सक्षम र सुरक्षित बनाउन यस क्षेत्रमा हुने नवीन अभ्यास तथा नव प्रवर्तन प्रवर्धन गर्न रेगुलेटरी स्यान्डबक्स सञ्चालनमा ल्याउने कुरा गभर्नर पौडेलले उल्लेख गरेका छन् ।
साथै भुक्तानी सम्बन्धी कारोबार गर्ने संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षणको कार्य जोखिममा आधारित बनाइनेछ । प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीको पहिचान गरी प्रभावकारी अनुगमनका लागि फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्टम्याटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (SIPS) जारी गर्ने विषयलाई समेत मौद्रिक नीतिले समेटेको छ ।
सिस्टेमिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम भन्नाले यस्ता भुक्तानी प्रणालीहरू जनाइन्छ, जसको असफलताले पूरै आर्थिक प्रणालीमै गम्भीर असर पार्न सक्छ । यस्ता प्रणालीहरूबाट ठुला रकम तथा समय-संवेदनशील कारोबारहरू गरिन्छ र तिनको नियमित सञ्चालन वित्तीय स्थायित्वका लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।
ठुलो जोखिम सम्हाल्नुपर्ने भएकाले यस किसिमका प्रणाली सञ्चालकहरूले तरलता जोखिम, ऋण जोखिम र सञ्चालन जोखिमको व्यवस्थापनका लागि सुदृढ नीतिहरू अपनाउनु पर्छ ।
दैनिक कारोबारमा सर्वसाधारणदेखि व्यवसायसम्म सबै यिनै प्रणालीमाथि भर पर्ने गर्छन् । युरोपको टार्गेट २, युरो १, तथा स्टेप २, जाम्बियाको जिप्स र फ्रान्सको कोर (एफआर) यसका केही उदाहरण हुन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १४:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । ‘जुनियर रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ मा नेपाली टोली ‘टिम गौतम बुद्ध’ले दोस्रो स्थान हात पारेको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को आयोजनामा स्विजरल्यान्डको जेनेभामा सो प्रतिस्पर्धामा भएको थियो । विभिन्न २५ राष्ट्रका ५०० बढी टोली सहभागी प्रतिस्पर्धामा नेपाली जुनियर टोली दोस्रो भएको हो ।
नेपाली टोलीलाई पाँच अङ्कले पछि पार्दै टिम भेनेजुएला प्रथम बनेको छ । ९ र १० जुलाईमा आयोजना भएको प्रतिस्पर्धामा नेपालको सिनियर टोली ‘टिम सगरमाथा’ तेस्रो भएको छ ।
‘टिम गौतम बुद्ध’ मा आरव गौतम, परिधि श्रेष्ठ, अनुपम भुजेल र ऋद्धि मानन्धर सहभागी भएका थिए । उनीहरूलाई ऋषभ राज र किरण खत्रीले मोन्टरशिप दिएका थिए । यस्तै, ‘टिम सगरमाथा’मा सन्तोष थापा मगरको मनिटरिङमा प्रभिन श्रेष्ठ, सम्पना केसी र श्रेयश आचार्य रहेका थिए ।
प्रतियोगितामा जित निकालेपछि टोली आज स्विजरल्यान्डबाट स्वदेश फर्किँदैछ । उनीहरू दिउँसो तीन बजे तिर नेपालमा आइपुग्ने बताइएको छ । रोबोटिक एसोसिएसन अफ नेपालका सचिव ओमकार जैसवालले नेपाली टोलीहरूले सोचे अनुसारको प्रदर्शन गर्न सफल भएको बताए ।
उनका अनुसार उक्त प्रतियोगिताका लागि र्यानले गत पुसदेखि नै विभिन्न जिल्लाका विद्यालयहरूमा प्रतिस्पर्धा गराएर टोली निर्माणको काम सुरु गरेको थियो । १५ भन्दा बढी प्रतिस्पर्धाबाट विजेतालाई छनोट गरी राष्ट्रिय स्तरको प्रतिस्पर्धा गराइएको थियो ।
त्यसपछि राष्ट्रिय स्तरका विजेता टोलीहरू मध्येबाट पनि उत्कृष्ट विद्यार्थीहरू छनोट गरेर र्यानले एक महिना लामो विशेष प्रशिक्षण दिएको थियो । जैसवालले भने, “कम्तीमा एउटा उपाधि जित्ने अपेक्षासहित प्रतिस्पर्धामा सहभागी भएका थियौँ । अहिलेको नतिजाले हामीलाई उत्साहित बनाएको छ ।”
यो सफलतासँगै र्यानले आईटीयूसँग मिलेर आगामी वर्ष पनि ‘एआई फर गुड’ कार्यक्रमलाई निरन्तरता दिएर राष्ट्रिय स्तरको प्रतिस्पर्धालाई निरन्तरता दिने योजना बनाएको छ । यसका लागि दुई पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको उनले बताए ।
यस्तै कुनै पनि स्थानमा भएका प्रतिभा नछुटुन् भनेर आगामी वर्ष सातै प्रदेशमा कार्यक्रम विस्तार गर्ने योजना समेत र्यानले बनाएको छ । बिजेता विद्यार्थीहरू नेपाल फर्किएपछि विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न चासो देखाएको उनले बताए ।
यस्तै, टोली नेपाल आइपुग्ने बित्तिकै सम्मानमा विद्यालय र स्थानीय तह मिलेर विजय र्याली निकाल्ने तयारी पनि गरिएको छ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १३:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन् ।
विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिँदै हरेकले आफ्नो सन्तानवृत्तिलाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने बताए ।
`मानिस भएकाले हरेक देशको अर्थ छ, धर्तीको अर्थ छ । जनसङ्ख्या हुँदैनथ्यो भने देश हुँदैन । हामीले मानव जातिको अस्तित्व र सुखपूर्ण अस्तित्व रक्षाका लागि उपयुक्त नीति र कदमहरु चाल्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “सृष्टिको सृजनाका लागि मानव जाति जति मूल्यवान अर्काे छैन । कृपया आफ्नो स्वार्थका लागि मान्छे मार्नेहरु यो धन्दा छोड । जनसङ्ख्याका बारेमा गोष्ठी र सेमिनार पनि गर्ने अनि आम विनासका हतियार बनाएर मान्छे पनि मारिरहने क्रमले मानव संसारको अस्तित्व बच्दैन । जनसाङ्ख्यिक असन्तुलनलाई कायम रहन दिनु हुँदैन ।´
प्रधानमन्त्री ओलील् सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गर।
उनले सन्ताले डाँडाकाढा ढाकुन् नभन भनेर जनचेतना फैलाउँदा उल्टो असर परेर सन्तान नै नपाउने स्थिति भएकातर्फ चिन्ता व्यक्त गर्दै विकास भएका देशमा पनि जनसङ्ख्या ऋणात्मक हुँदा मानव अस्तित्वको खतरा देखिएकाले जनसङ्ख्याको उचित व्यवस्थापनका लागि यस नीतिको कार्यान्वयनमा लाग्नुपर्ने बताए ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । प्रविधि परामर्शदाता कम्पनी जेनेस सलुसन अमेजन वेब सर्भिस (एडब्लूएस) को ‘प्रिमियर टियर सर्भिस पार्टनर’ मा सूचीकृत हुन सफल भएको छ । कम्पनीले विश्वभरका १ लाख ४० हजारभन्दा बढी एडब्लूएस पार्टनरहरू मध्ये शीर्ष १ प्रतिशतमा स्थान सुरक्षित गरेको हो ।
यससँगै एडब्लूएसको प्रिमियर टियर सर्भिस पार्टनर बन्ने नेपालको पहिलो र एकमात्र कम्पनी बनेको दाबी छ । जेनेस सलुसनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले यसलाई कम्पनीको मात्र नभई देशका लागि गौरवको क्षण भएको बताए । “हामी अब डिजिटल रूपान्तरणको यात्रामा सहायक मात्र होइन, नेतृत्वदायी भूमिकामा छौँ, नवप्रवर्तनको अगुवाइ गर्दैछौँ र विश्वव्यापी मञ्चमा चिनिदै छौँ,” फुयाँलले भने ।
जेनेसले अमेरिकादेखि नाइजेरियासम्म तथा बैङ्किङ, शिक्षा र सरकारी क्षेत्रमा सुरक्षित, मापनयोग्य र भविष्य-उन्मुख प्रविधि उपलब्ध गराउन प्रयत्नशील रहेको उल्लेख गरेको छ ।
यो ‘प्रिमियर टियर’ स्टाटसले जेनेसका ग्राहक तथा साझेदारहरूलाई एडब्लूएसका उच्चतम विशेषज्ञता र स्रोत साधनमा पहुँच, एडब्लूएस एक्सपर्टसँग तत्काल प्रत्यक्ष सहयोग र एडब्लूएस रोडम्याप तथा बेटा कार्यक्रममा संलग्नता जस्ता लाभहरू पुर्याउने कम्पनीले बताएको छ । यसले ग्राहकहरूलाई जेनेरेटिभ एआई र साइबर सुरक्षा जस्ता नवीनतम एडब्लूएस इनोभेसनहरूमा सुरुवातमै पहुँच प्रदान गर्दछ ।
जेनेसका प्रमुख प्राविधिक अधिकृत निरञ्जन कुँवरले यो उपलब्धिले आफूहरू ठुलो लक्ष्य बोकेको र नवप्रवर्तन प्रतिको जोशसहितको संस्था भएको देखाउने बताए ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १२:१५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । अब युट्युबमा राखिने अश्लील तथा आपत्तिजनक गीत-सङ्गीत तथा भिडिओ सामग्रीलाई लिएर साइबर ब्युरोले उजुरी लिने भएको छ । गृहमन्त्री रमेश लेखकले बिहीबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको प्रतिनिधि टोलीसँगको भेटघाटमा यस्तो व्यवस्था मिलाउने जानकारी दिएका हुन् ।
बिहीबार मात्रै सो संस्थाले एक विज्ञप्ति निकाल्दै युट्युबमा राखिएका दुई ओटा गीतमाथि आफ्नो सञ्जालमा ‘प्रतिबन्ध’ लगाइएको जानकारी दिएको थियो । जसमा धुर्व पुन र चन्द्रकुमारी शाहीको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको ‘सल्ला दमार’मा शीर्षकका गीतहरू छन् ।
पत्रकारहरूसँगको भेटघाटका क्रममा गृहमन्त्री लेखकले अश्लील गीतहरूमा साइबर ब्युरोले एक्सन लिने जानकारी दिँदै त्यसप्रति आफ्नो प्रतिबद्धता समेत व्यक्त गरे । “गीतहरू अश्लील भए, अपमानजनक भए, घृणास्पद अभिव्यक्ति समावेश गरिएमा त्यसको उजुरी लिन साइबर ब्युरोमा एउटा छुट्टै सेल बनाउने सल्लाह भइसकेको छ,” गृहमन्त्रीले भने, “ब्युरोले त्यसका लागि फोकल पर्सन समेत तोकिदिनेछ । जहाँ सम्पर्क गरेर यस किसिमका विषयमा उजुरी टिपाउन सकिनेछ ।”
गृहमन्त्री लेखकले सिनेमा सेन्सर भइरहँदा गीत किन सेन्सर नगर्ने भन्दै तर्क समेत गरे । “यो विषय सञ्चार मन्त्रालयसँग सम्बन्धित छ र संस्कृति मन्त्रालयसँग पनि छलफल गरेर हेर्नुपर्ने हुन सक्छ,” उनले अगाडि भने, “सामाजिक सञ्जाल युट्युब लगायतका प्लेटफर्महरूबाट सार्वजनिक हुने गीतहरूको नियमन गर्ने कुराका लागि केही कानुनहरू समेत बनाउने क्रममा छन् ।”
लोक सञ्चारकर्मीहरूको उक्त संस्थाले सामाजिक मर्यादा विपरीत अश्लील र विकृत गीत-सङ्गीत उत्पादन तथा प्रसारण गरिरहेको विषयमा संलग्न उपर कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी, कलाकार सङ्गठन लगायतका निकायहरूलाई समेत अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ १०:४५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेको प्युरा ८० सिरिजका स्मार्टफोन अब अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने भएका छन् । कम्पनीले गत महिना चीनमा सार्वजनिक गरेको उक्त फोन अन्तर्राष्ट्रिय बजारमा ल्याउने भएको हो ।
यस सिरिजमा प्युरा ८०, प्युरा ८० प्रो र प्युरा ८० अल्ट्रा समावेश छन् । यस वर्षका लागि ह्वावेका यी प्रमुख फोनहरू हुन् । ह्वावेले एसिया, ल्याटिन अमेरिका, अफ्रिका र मध्य पूर्वका साथै युरोपमा पनि यी फोनहरू उपलब्ध गराउने स्पष्ट सङ्केत दिएको छ ।
प्युरा ८० अल्ट्रा सिरिजकै प्रमुख मोडेल हो, जसमा फेर्न मिल्ने टेलिफोटो लेन्स र १ इन्चको मुख्य सेन्सर रहेको छ ।
यूएईमा यसको मूल्य १,४०० अमेरिकी डलर (करिब १९१ हजार रुपैयाँ) रहेको छ, जबकि युरोपमा यसको ५१२/१६ जीबी भेरियन्टको लागि १,५०० युरो (करिब २ लाख ४० हजार रुपैयाँ) लाग्नेछ । १२ जीबी र्याम र सोही मात्राको स्टोरेजको अर्को भेरियन्टलाई भने १,०९९ युरो (करिब १ लाख ७६ हजार) पर्नेछ ।
अल्ट्रामा ६.८ इन्चको एलटीपीओ ओलेड फुल एचडी+१२० हर्ज डिस्प्ले छ । ह्वावेको किरिन ९०२० चिपसेट प्रयोग गरिएको फोनमा १६ जीबी र्याम र एक टिबीसम्मको स्टोरेज क्षमता रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आउने भर्सनमा ५,१७० एमएएच क्षमताको ब्याट्री छ । जब कि चिनियाँ भर्सनमा ५,७०० एमएएच पाउन सकिन्छ । यसले १०० वाट वायर तथा ८० वाट वायरलेस चार्जिङलाई सपोर्ट गर्दछ । प्युरा ८० र ८० प्रोमा प्युरा ८० अल्ट्राको तुलनामा केही कम क्यामेरा फिचर छन् ।
पछिल्लो अध्यावधिक: असार २७, २०८२ ८:५२
सामाग्री श्रोत :
टेक पाना
छोरीले राम्रो जीपिए ल्याएर एसईई पास गरिन्। ‘प्राबिधिक शिक्षा पढेकाहरुले आफ्नो क्षेत्रमा काम गरिरहेका छन् तर साधारण सिक्षा पढेकाले तुल्नात्मक रुपमा बेरोजगार छन्, छोरीलाई अब के पढाउने भनेर चिन्ता छ? काकाले प्रश्न गर्नु भो।
छोरीको रुची,मेहनत अनि परिवारकोसाथ भए उनको इच्क्षा अनुसार जुन बिषय पढे पनि हुन्छ मैले भने।
काकाले थप्नु भो उच्च माबिहरुले नयाँ भर्नाको लागि प्रवेश परिक्षा लिएर कक्षा संचालन गर्न थालिसक्यो। हामी अझै दोधारमै छौं। सि.टी.इ.भी.टि.कहिले भर्ना खुलाउँछ? यसपाली जाच नलिकन एसईईकै योगफलको आधारमा भर्ना गर्ने कुरा सुनेको छ। सिटीईभीटी रोजौ कि अरु नै? स्वास्थ्य क्षेत्रमा के-के पढाई हुन्छ जानकारी पाए आभारी हुने थिएँ? काका र म प्रश्न उत्तर सैलिमा कुराकानी गर्न थाल्यौं।
प्राबिधिक र अप्राविधिक शिक्षामा के फरक छ?
प्राबिधिक शिक्षालाई गरिखाने शिक्षाको रुपमा मानिन्छ। यसले सैधान्तिक सिक्षा भन्दा ब्यबहारिक र सिप युक्त ज्ञानलाई जोड दिन्छ। मध्यम वर्गीय परिवार र छिटो कमाई गरि खानको लागि यो शिक्षा उपयुक्त हुन्छ। व्यक्तिको सीप र कला विकास गरी आत्मनिर्भर बनाउँछ। दैनिक जीवनमा आउने कठिनाइहरुको बारेमा सीप सिकाउने भएकोले रोजगारी पनि चाँडै पाउने सम्भावना हुन्छ। यस्तै रक्तचाप नाप्ने,सुई लगाउने,डाक्टरहरुको कार्यमा सहयोग गर्ने, प्राथमिक उपचार गर्ने, बिजुली, खाने पानिको कार्य गर्ने इत्यादिको। हाल सीटीईभिटी मार्फत् मान्यता प्राप्त संस्थाले बिभिन्न विषयमा शिक्षा दिइरहेको छ।
अप्राविधिक सिक्षालाई साधारण शिक्षा पनि भनिन्छ। यस शिक्षाले सैद्धान्तिक ज्ञानमा जोड दिन्छ|यसले व्यक्तिको सीप भन्दा चरित्र निर्माणमा जोड दिछ जस्तै शिक्षा,मानविकी,गणित, इतिहास भूगोल, ग्रामिण बिकास इत्यादि। यस विकासको अध्यनले कुशल प्रशासक, ब्यबस्थापक,नेत्रित्वकलामा विकास गर्दछ। यस विषयमा अध्यनको समय लामो हुनसक्ला तर यसले आफ्नो बिषयमा बिज्ञ बनाउन सहयोग गर्छ।
सीटीईभिटीमा कुन कुन कोटा हुन्छ ?
लक्षित वर्ग कोटा; आदिबासी जनजाती,थारु,दलित,महिला,मुस्लिम लागयातका जातिले प्रसासन कार्लायाबाट जाति प्रमाणित गरी फारम भर्न पाइन्छ।
टी.सए.लसी.कोटा; अहेब,अनिमी,ल्याब पढेकाहरुले नियामानुसार यस कोटामा फारम भर्न पाइन्छ।
छात्रवृत्ति कोटा; यस कोटामा नाम निकालेको खण्डमा तोकोके कुनै पनि शुल्क तिर्न पर्दैन।
खुल्ला कोटा : संकाय अनुसार तोकेको शुल्क तिर्नुपर्छ।
स्वास्थ्या प्राबिधिक विषयमाहरुमा के के पर्छ?
परिवार, समाज र राष्ट्रको लागि दक्ष एवं सीपमूलक एवं दक्ष जनशक्ति उत्पादन गर्नको लागि २०४५ सालमा सीटीईभिटी स्थापना भएको हो। स्वास्थ्य प्रबिधिक अन्तर्गत केही प्रमुख संकाय निन्न अनुसार रहेको छ।
पीसीएल नर्सिङ
विदेशको व्यक्तिहरुले नर्सको सेवा दिइरहेको आबस्यकतालाई महसुस गरि नर्सको पढाइ नेपालमा सन् १९५६ बाट माहाराजगञ्च नर्सिङ क्यामपसबाट सुरु भयो। सीटीईभिटीले बि.स.२०५५ बाट तिन बर्से पि.सि.एल. नर्सिंग कार्यक्रम सुरु गरे। कतिपय अस्पतालहरुले मागगरे अनुसार निवेदक पनि पाइरहेको छैन। तसर्थ यो पढाइ पछि पछुताउनु पर्दैन। यो पढाई पछी नियमाअनुसार स्नातक, मास्टर र पि.एच.डीसम्म अध्ययन गर्न सकिन्छ। पीसीएल नरसिङ पछि बी.एन. पढ्ने अवसर पाइन्छ। प्लस टू साइन्स पछि नियमानुसार बिएससी नर्सिङ पढ्ने अवसर हुन्छ।
स्टाफ नर्सको कार्यहरु
• बिरामी र डाक्टर बीच उचित सम्बद्ध कायम गरी रोग छिटो निको हुन सहयोग गर्नु।
• रोगीको स्वास्थ्य अवस्थाको निगरानी गरी स्वास्थ्य रहन उत्प्रेरणा जगाउनु।
• डाक्टरको निर्देशन अनुससार बिरामी तथा कुरुवालाइ रोगको बारे जानकारी गराउनु,निर्देशन अनुससार जाच गराउनु,रिपोर्ट तयार पार्नु।
• स्वास्थ्य सिक्षा एबम परामर्श दिनु।
• सुरक्षित मातृत्व,परिवार नियोजनबारे स्वास्थ्य बारे कार्य गर्नु।
जेनेरल मेडिसिन (एच.ए.)
डिप्लोमा तह जेनेरल मेडिसिन तिन बर्सेको पढाइ हुन्छ। बोलीचालीमा गाउँघरको डाक्टर पनि भनिन्छ तर डाक्टर लेख्न पाइँदैन। डाक्टर लेखन एम.बि.बि.एस. वा सो भन्दा माथिको पढाइ पढ्नु पर्छ। एच.ए.ले रोगको प्रबर्द्धनात्मक र उप्चारात्मक सेवा प्रदान गर्दछ| सरकारी जागिरको लागि राम्रो अवसर रहन्छ। हेल्थपोस्टको हाकिम बन्ने अवसर पनि रहन्छ। आधारभूत असपताल,निजि क्लिनिक, पि.एच.सी,जिल्ला अस्पतालमा समेत सेवा दिने अबसर रहन्छ।
जेनेरल मेडिसिन (एच.ए.) को कार्यहरु
• प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नु हो।
• बिश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार रोगको उपचार गर्नु।
• खोप,सरसफाई,पोषण तथा समुदाय निरुपण कार्य गर्नु।
• सरुवा तथा नसर्ने रोग सम्बन्धि प्रारम्भिक परिक्षण र निदान गरि उपचार गर्नु र जटिलता हुन् बाट बचाउनु रेफर गर्नु ।
सी.एम.एल.टी.
प्रयोगशाला संग सम्बन्धित अध्यन गर्ने कार्यलाई सी.एम.एल.टी.भनिन्छ। मानिस रोगि छ वा छैन भनि रगत, दिशा, पिसाब खकार इत्यादिको जाँच गर्ने गर्दछ। यसको लागि माइक्रोस्कोप तथा अन्य मेसिनरी सामग्रीको आबश्यकता पर्छ| रोगको प्रकृति अनुसार डाक्टरले बिभिन्न जाचहरु लेख्ने गर्दछ। यसको सहिजाच भएमा उपचार सजिलो हुछ| जाचको प्रक्रिया र नतिजा गलत भएमा उपचार प्रक्रिया गलत हुनसक्छ।
सी.एम.एल.टि. यसको मुख्य कार्य भनेको
• उचित तरिकाले रगत,दिशा पिसाब,खकार संकलन गर्नु र जाचमा सहयोग गर्नु
• नमुना परोक्षणको लागि चाहिने रसायन तयार पार्नु
• प्रयोगशालाको सरसफाई तथा उपकरनहरु तयारि अबस्थामा राख्नू
• जाचको पछी रिपोर्टिंगमा सहयोग गर्नु
• बिरामीको विवरणको अभिलेख राख्नु
डिप्लोमा तह फिजियोथेरापी भनेको के हो ?
पुरानो एवं दिर्घ रोगिहरुको उपचारकोलागि यो पढाइ निकै राम्रो हो| यसले राम्रो शरीरको तन्तु,केशिका,अंग,प्रणालीहरुलाई चलायमान बनाई रोगको उपचार गर्न सिकाउँछ| मांसपेशी एवं हड्डीहरुलाई सारीरिक अभ्यास,मसाज एबम मेशिन थेरापी बाट रोग निको बनाउन सहगोय गर्दछ।
डिप्लोमा तह फिजियोथेरापीको कार्य
• शारीरिको अंगहरुलाई पुनरस्थापना सम्बन्धि शिप सिकाउनु।
• हड्डी,मांसपेशी,नशा तथा स्नायू सम्बन्धि ।
• शरीर चलाउन नसक्ने अबस्थामा थेरापी दिनु।
• सर्जरी पछीको पुन स्थाना गर्नु।
• बिरामीको अबस्था अनुसार बस्न उठन सिकाउनू ।
डिप्लोमा तह फार्मेसी
मानिसले खाने औषधि सम्बन्धि अध्ययन गर्ने बिज्ञानलाई फार्मेसी भनिन्छ। औषधिको उत्पादन,ब्यबस्थान,वितरण,भण्डारण तथा औषधि प्रयोग सम्बन्धि परामर्श दिन सिकाउने संकाय फार्मेसी हो|अरुकोमा जागिर खाने मन छैन भने आफ्नै गछ्यअनुसार लगानी गरि नियमा अनुसार औषधि पसल खोलेर जिबन चलाउन सकिन्छ। यो पढाईलाई बुढेस कलाको पेन्सनको रुपमा पनि मानिन्छ।
डिप्लोमा तह फर्मासीको कार्यहरु
• डाक्टरको पुर्जा अनुसार औषधि वितरण गर्नु।
• बिरामीलाई औषधिको मात्रा,खाने तरिका,साइड इफेक्ट बारे जानकारी दिनु।
• औषधि बनाउने कार्यमा सहयोग गर्नु।
• औषधिको भण्डारण तथा ब्य्बस्थान गर्नु।
• म्याद सकिन लागेको औषधि छुट्टाउने,नयाँ भण्डारण गर्ने।
(चौधरी कोशी हेल्थ इन्स्टिच्युट,बिराटनगरका उप-प्रध्यापक हुन्)
सामाग्री श्रोत :
swasthyakhabar




