
काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ। आज डलरको भाउ १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ।
यसैगरी आज युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ। त्यस्तै आज यूके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा छ।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा छ। यस्तै कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा छ।
सामाग्री श्रोत :
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (बुधवार) पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ पेस गरिनेछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उक्त विधेयक प्रस्तुत गर्नेछन् । साथै, आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मुस्ताङ, नेपाल प्राकृतिक सुन्दरतासँगै साहसिक पर्वतारोहणको लागि विश्वभर परिचित छ। मुक्तिनाथ, लोमान्थाङ, वा कोरला नाका, यी गन्तव्यहरू धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र साहसिक यात्राका प्रतीक हुन्। हरेक वर्ष हजारौं पर्यटक र तीर्थयात्री भारत, नेपाल तथा विदेशबाट पोखरा हुँदै यी स्थान पुग्छन्। तर, २ हजार ५०० मिटरभन्दा माथिको उचाइमा पुग्ने जो-कोहीलाई ‘लेक लाग्ने’ समस्या हुन सक्छ। छोटो समयमा अत्यधिक उचाइ चढ्दा वातावरणमा अक्सिजनको कमीले शरीरमा असर गर्छ, जसलाई उपेक्षा गर्दा गम्भीर अवस्था निम्तिन सक्छ। जसले सावधानी नअपनाउनेहरूलाई अकालमा ज्यान गुमाउन बाध्य बनाइरहेको छ।
के हो लेक लाग्नु?
लेक लाग्नु भनेको उचाइमा अक्सिजनको मात्रा कम हुँदा शरीरले अनुकूलन गर्न नसक्नु हो। यसले ‘पार्सियल प्रेसर’ घटाउँछ, जसका कारण शरीरमा अक्सिजनको आपूर्ति पर्याप्त हुँदैन। विशेषगरी ती व्यक्तिहरूलाई जोखिम हुन्छ, जो समुद्री सतहबाट चाँडै उचाइमा पुग्छन्।
‘मलाई केही हुँदैन’ भन्ने सोचको मूल्य, ज्यान
जोमसोम अस्पतालमा काम गर्दै आएको अनुभवले देखाउँछ, अधिकांश उचाइ रोगका बिरामीहरूले सुरुवातमा आफ्ना लक्षणहरूलाई सामान्य ठान्छन्। उनीहरू भन्छन्, ‘टाउको दुखेको त हो के भयो र!’ तर त्यही टाउको दुखाइ, वान्ता, चक्कर लाग्ने जस्ता प्रारम्भिक लक्षण केही घण्टामा फोक्सोमा पानी जम्ने (एचएपीई) वा मस्तिष्क सुन्निने (एचएसीई) जस्ता प्राणघातक अवस्थामा पुग्न सक्छन्। कतिपय अवस्थामा त बिरामीले हेलिकप्टर रेस्क्युको मौका पनि नपाइ, मुक्तिनाथकै बाटोमा प्राण त्यागेका छन्।
उच्च जोखिममा को ?
उचाइ रोग (एक्युट माउन्टेन सिकनेस) सामान्यतया २,५०० मिटरभन्दा माथि सुरु हुन्छ। तर निम्न समूहहरूमा जोखिम अझ बढी हुन्छ:
• मुटु र फोक्सोका पुराना बिरामी
• उच्च रक्तचाप भएका
• वृद्धवृद्धा
• गर्भवती र स्तनपान गराइरहेकी महिला
• निद्रा नलाग्ने वा मानसिक तनावमा रहेका
तथ्याङ्कीय चित्रण:
जोमसोम अस्पतालको २०८०/८१को आँकडा अनुसार: ४६२ (२८५ महिला एएमएस पीडित, (एचएपीई ४ जना), ११ जनाको मृत्यु , ७२ प्रतिशत पीडित भारतीय तीर्थयात्री रेहेको मा यो वर्ष फाल्गुन सम्मको आँकडा अनुसार ५३६ एएमएस पीडित, रहेकोमा ८ जनाको मृत्यु भइसकेको छ । यो अवस्था अझ बिकराल हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ ।
भौगोलिक विश्लेषण:
पोखरा (८०० मी ।) देखि मुक्तिनाथ (३,७१० मी ।) सम्मको उचाइको तीव्र परिवर्तनले शरीरको अनुकूलन क्षमतालाई निम्न प्रभाव पार्छ:
• रक्तमा अक्सिजन स्याचुरेसन ९८ प्रतिशतदेखि ७५ प्रतिशतसम्म झर्छ
• रक्तचाप ३० प्रतिशतले बढ्छ
• मस्तिष्कमा रक्त प्रवाह २० प्रतिशतले कम हुन्छ
चिकित्सकीय विश्लेषण
पर्यटन उद्योगको भूमिका: हेलिकप्टर लगायत यातयात कम्पनीहरूले ‘एक दिनमा दर्शन’को प्याकेज बेच्ने प्रवृत्ति साथै ६० प्रतिशत गाइडहरूले असर बारे पूर्ण जानकारी नदिने कारण यो समस्या बन्दै गएको छ ।
तीर्थ भन्दा पहिला स्वास्थ्य !
विशेषगरी भारतका समथर क्षेत्र (जस्तै उत्तर प्रदेश, बिहार, तमिलनाडु आदि) बाट आएका तीर्थयात्रीहरू, जो समुद्र सतहबाट सिधै ३,७०० मिटरको मुक्तिनाथ पुग्छन्, उनीहरू उच्च जोखिममा पर्छन्। जीप वा हेलिकप्टरबाट चढ्दा शरीरलाई समायोजन हुने समय नै दिइँदैन। उनीहरू भन्छन्, ‘म पूजा गरेरै मर्न चाहन्छु!’ तर चिकित्सकका नजरमा त्यो ‘भक्ति’ होइन, आत्महत्या जस्तै हो।
लक्षणहरू: बेवास्ता नगर्नुहोस्
• टाउको दुख्ने,
• खोकी लाग्ने , सास अड्किने वा सास फेर्न गाह्रो हुने
• वाकवाकी, वान्ता आउने वा खानामा अरुचि
• थकान वा कमजोरी महसुस हुने
• हिँड्न नसक्ने, होस गुमाउने
• निद्रामा अशान्ति,चक्कर लाग्ने
• बेहोसी,लठ्ठिनु वा बोलाइमा गडबडी हुने
यी लक्षण देखिनासाथ तुरुन्तै सावधानी अपनाउनु अत्यावश्यक हुन्छ।
के गर्ने ? सावधानी नै सुरक्षा
सबैभन्दा प्रभावकारी उपाय भनेको तल झर्ने हो। (लक्षण देखिएमा तुरुन्त ५००- १,००० मिटर तल ओर्लनुहोस्) यदि त्यो सम्भव छैन भने: सोही स्थानमा आराम गर्ने, प्रशस्त पानी पिउने (दिनमा ३–४ लिटर), पोषिलो खाना खाने
• बिस्तारै चढ्नुहोस् – जोमसोम, कागबेनी, चुसाङमा कम्तिमा एकरात बास बस्नुहोस्
• अल्कोहल र चुरोट त्याग्नुस्, अक्सिजनको अवशोषण घटाउँछ
• डाक्टरको सल्लाह लिएर यात्रा गर्नुहोस्, एसेटाजोलमाइड (डायमक्स) आवश्यक परेमा मात्रै
नेपाली समाजमा देखिएका भ्रमहरू
• ‘म नेपाली हुँ, मलाई लेक लाग्दैन’
• ‘लसुन वा अदुवाले लेक हटाउँछ’
• ‘शरीर बलियो छ, केही हुँदैन’
यी सोचहरू गलत छन्। शरीरको अक्सिजनसँग अनुकूल हुने क्षमता जात, बल वा अनुभवको आधारमा हुँदैन।
हठ होइन, समझदारी
हाम्रो अस्पतालमा एक वृद्ध तीर्थयात्रीले अक्सिजन लिइरहेको बेला भने, ‘मलाई पूजा गरेरै मर्न दिनुस्!’ हामी डाक्टरको धर्म स्वास्थ्य बचाउनु हो। पहाडको नियमलाई चुनौती दिनु हुँदैन, त्यसको सम्मान गर्नुपर्छ। धार्मिक यात्रा सफल तभ हुन्छ, जब तपाईं जिउँदै फर्कनुहुन्छ।
अन्त्यमा:
‘मुक्तिनाथ पुग्नु छ’ भन्ने सपना साँचो होस्। तर त्यो सपना पूरा गर्न जीवन गुमाउनु नपरोस्।
सावधानी अपनाऔं, शरीरको सन्देश सुन्न सिकौं, अनि मात्रै मुक्तिनाथको दर्शन साँचो अर्थमा पाउँ।
बाँचेर फर्कनुहोस्, किनभने,
मुक्ति मृत्यु होइन, सचेत जीवन हो।
आपतकालीन सम्पर्क
• प्रहरी: १०० ९८५७६५००३३
• जिल्ला अस्पताल, जोमसोम: ०६९–४४०२९१
• स्वास्थ्य कार्यालय, मुस्ताङ: ०६९–४४००८८
(जेनेरल प्य्राक्टिस तथा आपतकालीन चिकित्सा विशेषज्ञ डा सापकोटा प्रदेश अस्पताल जोमसोममा कार्यरत छन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भाग लगायत पहाडी भूभागका धेरै स्थानहरूमा अधिकतम तापक्रम बढेको देखिन्छ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भाग लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सामाग्री श्रोत :
मौसम पूर्वानुमान : देशभर गर्मी बढ्ने, दुई प्रदेशमा हावा हुरीको सम्भावना
काठमाडौं। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनले गरेका असर र भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गरिने बताएका छन्। नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्दैछ।
साथसाथै संस्थाले हालै सोलुखुम्बुको थामेमा गरेको जलवायुसम्बन्धी कार्यक्रमको प्रतिवेदन बुझ्दै आज उनले संवादमा हिमालदेखि समुद्री टापुसम्म जलवायुका कारण उत्पन्न समस्याबारे साझा धारणा बनाएर अघि बढ्ने बताए। मन्त्री शाहीले थामेमा बाढीबाट भएको क्षति र पछिल्लो वस्तुस्थितिबारे ध्यानाकर्षण गराउन स्थलगत कार्यक्रम गरेकामा धन्यवाद दिँदै सुझावलाई सगरमाथा संवादमा छलफलका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यस अवसरमा साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले थामे क्षेत्रमा जलवायुले गरेका असर तथा स्थानीयका अनुभवबारे जानकारी गराइन्। साथसाथै न्यूज डटकमका प्रधानसम्पादक एवं अन्तरराष्ट्रिय पत्रकार महासंघका कार्यकारी सदस्य बद्री सिग्देलले नेपाल जस्तो हिमाली मुलुकमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर परेकाले जलवायुजन्य हानिको क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा प्रभावकारी रूपमा दाबी गर्नुपर्ने धारणा राखे।
सामाग्री श्रोत :
‘सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ’
मोरङ। नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले आफ्नो पार्टी जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील रहेको बताएका छन्। कांग्रेस मोरङले आज साँझ विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेला एवं अन्तरक्रियामा उनले सबै नेपालीको आस्था र भरोसाको पार्टीले आफूहरूमाथि मुलुकलाई समृद्धितर्फ डो¥याउने जिम्मेवारी रहेको बताए।
नेता लेखकले कांग्रेसको नेतृत्वमा निर्माण गरिएको वर्तमान समावेशी संविधानकै कारण देशमा महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश हुन सफल भएको चर्चा गरे। राजनीतिमा वादविवाद, आलोचना, समालोचना, प्रतिवाद हुन्छ भन्दै उनले वर्तमान संविधानअनुसार एउटै पार्टीको सरकार निर्माण हुन नसक्नाले गठबन्धन सरकार निर्माण गर्नुबाहेक अन्य विकल्प नरहेको धारणा राखे।
‘मुलुकमा राजनीतिक स्थिरता दिन वर्तमान संयुक्त सरकार निर्माण गरिएको हो। नेपाल राष्ट्र बैंकको प्रतिवेदनका आधारमा १० महिनाको अवधिमा सरकारले वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि, मूल्यवृद्धिमा नियन्त्रण, राजस्व संकलनमा सुधार, आयात घटाएर निर्यात वृद्धि गरेको छ। हामी इमान्दारिताका साथ देश विकासमा लागिरहेका छौँ’, मन्त्री लेखकले भने।
उनले प्रतिनिधिसभामा दुईदेखि पाँच वर्षसम्म थातिरहेका पुराना विधेयक पारित हुने अवस्थामा पुगेको जानकारी दिँदै शिक्षा विधेयक आगामी असार १५ गते प्रतिनिधिसभाबाट पारित हुने बताए। यस्तै संविधान संशोधन गर्न कार्यदल गठन प्रक्रिया अगाडि बढेको बताउँदै गृहमन्त्री लेखकले बढीभन्दा बढी दलको सहमतिको आधारमा संविधान संशोधन गरिने उल्लेख गरे।
कांग्रेस मोरङका कार्यवाहक अध्यक्ष भक्ति माझी, सचिव मोदराज घिमिरेले जनताका समस्या समाधानतर्फ सरकार क्रियाशील हुनुपर्ने सुझाव दिए।
कार्यक्रममा विभिन्न पालिकाका अध्यक्ष, कार्यकर्ताले कृषि औजार कारखाना सञ्चालनमा अनुदान, महिला हिंसा नियन्त्रण, ग्रामीण क्षेत्रमा इलाका प्रहरी कार्यालय स्थापना, सुकुम्वासी समस्या समाधान गर्नुपर्नेलगायत विषयमा सुझाव दिएका थिए।
सामाग्री श्रोत :
‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’
काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन्।
निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रूपले सञ्चालनमा आएको हुन्। निगमका यी दुवै ट्वीनअटर विमान लामो समयदेखि ग्राउण्डेड हुँदा दुर्गम क्षेत्रका यात्रु मर्कामा परेका थिए। ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीको मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको उनले जानकारी दिए। नियामकीय जाँच सम्पन्न भएपश्चात् वैशाख २९ गतेदेखि पूर्णरुपमा नियमित उडान तालिकाअनुसार सञ्चालनमा आएको निगमले डाँगीले बताए।
यस कार्यले दुर्गम भेगका नागरिकहरूमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ। आगामी दिनहरूमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
निगमका प्रवक्ता डाँगीले हरेक दिन एक विमानले कम्तीमा चार उडान गर्नेगरी नयाँ उडान तालिका बनाएर आन्तरिक उडानलाई प्रभावकारी बनाइने उल्लेख गरेका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । गत सेप्टेम्बरमा ओपनएआईले च्याटजीपीटीको नयाँ भर्सन ल्यायो । उक्त भर्सनसँगै यसलाई गणित, विज्ञान र कम्प्युटर प्रोग्रामिङका काममा सोचविचार अर्थात् ‘थिङ्किङ’ गर्न सक्ने बनाइएको थियो । पहिलेका भर्सनभन्दा फरक यस प्रविधिले जटिल समस्यामा उत्तर दिनुअघि ‘सोच्न’ समय लगाउन सक्थ्यो ।
कम्पनीले उसको नयाँ ‘रिजनिङ’ मोडेल (तर्क गर्ने क्षमता)ले एआईको प्रगति मापन गर्ने विभिन्न परीक्षणमा उद्योगका प्रमुख मोडेलभन्दा राम्रो प्रदर्शन गरेको दाबी गर्यो । अहिले गुगल, एन्थ्रोपिक र चीनको डिपसिक जस्ता अन्य कम्पनीले पनि यस्तै मोडेल उपलब्ध गराइरहेका छन् ।
तर के एआईले साँच्चै मानिस जस्तै सोच्न सक्छ ? कम्प्युटर अथवा एआईले सोच्न सक्छ भन्नुको अर्थ के हो ? के यी प्रणाली साँच्चै वास्तविक बौद्धिकताको नजिक पुग्दैछन् ?
एआई प्रणालीले सोचविचार अर्थात् रिजनिङ गर्छन् भन्नुको अर्थ के हो ?
रिजनिङ गर्नुको अर्थ च्याटबटले प्रयोगकर्ताको जिज्ञासा मेटाउन वा प्रश्नको जवाफ दिन थप समय लगाउनु हो । “प्रश्न सोधिसकेपछि प्रणालीले थप काम गर्नु नै रिजनिङ हो,” क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका कम्प्युटर विज्ञानका प्राध्यापक तथा एआई स्टार्टअप स्केल्ड कोग्निसनका प्रमुख प्रविधि अधिकृत ड्यान क्लाइनले भने ।
यसले प्रयोगकर्ताले राखेका प्रश्न, जिज्ञासा वा अन्य कुनै कामलाई विभिन्न चरणमा विभाजन गर्छ । वा, जवाफ दिनुअघि ‘ट्रायल एन्ड इरोर’ प्रक्रिया अपनाउँछ । अनि उपयुक्त जवाफ दिन्छ । ट्रायल एन्ड इरोर प्रोसेस भनेको भनेको कुनै कुरा नमिल्दासम्म विभिन्न उपाय एकपछि अर्को गर्दै प्रयास गरिरहने र गल्तीबाट सिक्दै जाने प्रक्रिया हो ।
पुरानो च्याटजीपीटीले तुरुन्तै जवाफ दिन्थ्यो । नयाँ रिजनिङ मोडेलले जवाफ दिनुअघि केही सेकेन्ड वा मिनेटसम्म समस्यामा काम गर्न सक्छ ।
कहिलेकाहीं रिजनिङ मोडेलले प्रश्नको लागि आफ्नो उत्तर दिने तरिका सुधार्छ । आफूले रोजेको विधि बारम्बार राम्रो बनाउन खोज्छ । कहिलेकाहीं भने यसले एउटा निर्णय गर्नुअघि समस्या समाधानका विभिन्न तरिका अपनाउन सक्छ । वा, केही सेकेन्डअघि गरेको काम सही थियो कि भनेर जाँच्न सक्छ ।
मूलतः यस मोडेलले तपाईंको प्रश्नको उत्तर दिन जे पनि गर्न खोज्छ । जसरी गणितको समस्या समाधान गर्न कागजमा विभिन्न विकल्प कोरेर स्कुले विद्यार्थी समाधान गर्छ त्यसरी नै यस मोडेलले पनि काम गर्छ ।
कस्ता प्रश्नमा एआई प्रणालीले सोचविचार गर्नुपर्छ ?
यसले सम्भावित रूपमा जुनसुकै कुरामा रिजनिङ गर्न सक्छ । तर गणित, विज्ञान र कम्प्युटर प्रोग्रामिङ सम्बन्धी प्रश्नमा रिजनिङ सबैभन्दा प्रभावकारी हुन्छ ।
तपाईं अघिल्लो पुस्ताका च्याटबटलाई उसले कुनै उत्तर कसरी निकाल्यो भन्ने देखाउन वा आफूले गरेको काम फेरी जाँच गर्न भन्न सक्नुहुन्थ्यो । सुरुको च्याटजीपीटीले इन्टरनेटमा उपलब्ध ती वेबपेजबाट सिकेको थियो जहाँ मानिसले आफूले उत्तर कसरी निकालें भन्ने तरिका देखाउने गर्थे वा आफ्नै काम फेरी जाँच गर्थे । त्यसैले च्याटजीपीटीले पनि यस्ता आत्म-समीक्षा गर्ने क्षमता देखाउँथ्यो ।
तर, अहिलेको रिजनिङ मोडेल अझ प्रभावकारी बन्दै गएको छ । यसले यस्ता कुरा तपाईंले नभने पनि आफैं गर्न सक्छ । त्यसका साथै अझ विस्तृत र जटिल तरिकाले सोच्न सक्छ ।
कम्पनीले यसलाई ‘रिजनिङ सिस्टम’ (तार्किक प्रणाली) भन्ने गर्छन् किनभने यस प्रणालीले कुनै गाह्रो समस्या समाधान गर्ने क्रममा मान्छेले सोच्ने तरिका जस्तै महसुस गराउँछ ।
एआई रिजनिङ अहिले किन महत्त्वपूर्ण छ ?
ओपनएआई जस्ता कम्पनी आफ्ना च्याटबट सुधार्ने यो नै उत्तम तरिका हो भन्ने ठान्छन् । वर्षौंसम्म यी कम्पनी एक साधारण अवधारणामा निर्भर थिए । त्यो के भने जति धेरै इन्टरनेट डेटा च्याटबटमा हाल्यो प्रणाली त्यति नै राम्रो हुन्छ भन्ने उनीहरू सोच्थे । तर, २०२४ सम्ममा उनीहरूले इन्टरनेटको लगभग सबै टेक्स्ट प्रयोग गरिसके ।
यसको अर्थ अब उनीहरूलाई आफ्ना च्याटबट सुधार्ने नयाँ तरिका चाहियो । त्यसैले उनीहरूले रिजनिङ गर्ने प्रणाली बनाउन थाले ।
सोचविचार गर्ने प्रणाली कसरी बनाइन्छ ?
गत वर्षदेखि ओपनएआई जस्ता कम्पनी ‘रिइन्फोर्समेन्ट लर्निङ’ नामक प्रविधिमा बढी भर पर्न थालेका छन् । यस प्रक्रिया मार्फत एआई प्रणालीले व्यापक ‘ट्रायल एन्ड इरोर’ पद्दतिबाट व्यवहार सिक्न सक्छ । (ट्रायल एन्ड इरोर प्रोसेस भनेको भनेको कुनै कुरा नमिल्दासम्म विभिन्न उपाय एकपछि अर्को गर्दै प्रयास गरिरहने र गल्तीबाट सिक्दै जाने प्रक्रिया हो ।) उदाहरणका लागि हजारौं गणितीय समस्या समाधान गरेर यसले कुन विधिले सही उत्तर दिन्छ र कुनले दिंदैन भनेर सिक्न सक्छ ।
अनुसन्धानकर्ताले यस्तो ‘जटिल प्रतिक्रिया प्रणाली’ डिजाइन गरेका छन् जसले यस मोडेललाई उसले कहिले सही र कहिले गलत गर्यो भन्ने कुरा देखाउँछ ।
“यो कुकुरलाई तालिम दिएजस्तै हो,” ओपनएआईका अनुसन्धानकर्ता जेरी ट्वोरेकले भने, “यदि प्रणालीले राम्रो गर्यो भने तपाईं उसलाई बिस्कुट दिनुहुन्छ । यदि राम्रो गरेन भने ‘खराब कुकुर’ भन्नुहुन्छ ।”
के रिइन्फोर्समेन्ट लर्निङले काम गर्छ ?
रिइन्फोर्समेन्ट लर्निङले गणित, विज्ञान र कम्प्युटर प्रोग्रामिङ जस्ता केही क्षेत्रमा राम्रोसँग काम गर्छ । यी क्षेत्रमा कम्पनीले राम्रो र नराम्रो व्यवहार स्पष्ट रूपमा परिभाषित गर्न सक्छन् । गणितका समस्याको निश्चित उत्तर हुन्छ ।
तर रिइन्फोर्समेन्ट लर्निङले रचनात्मक लेखन, दर्शन र नैतिकता जस्ता क्षेत्रमा त्यति प्रभावकारी काम गर्दैन । किनभने त्यस क्षेत्रमा राम्रो र नराम्रो बीचको भिन्नता छुट्याउन गाह्रो हुन्छ । अनुसन्धानकर्ताका अनुसार यस प्रक्रियाले सामान्यतः एआई प्रणालीको कार्यक्षमता सुधार गर्न सक्छ । गणित र विज्ञानसँग सम्बन्धित प्रश्नको उत्तर मात्र नभई त्यसबाहेकका क्षेत्रमा पनि यस सिस्टमले काम गर्न सक्ने उनीहरू ठान्छन् । “कुन सोचाइको ढाँचाले सही दिशामा लैजान्छ र कुनले लैजाँदैन भनेर यसले विस्तारै सिक्दै जान्छ,” एन्थ्रोपिकका प्रमुख विज्ञान अधिकृत जारेड क्याप्लानले भने ।
के रिइन्फोर्समेन्ट लर्निङ र रिजनिङ गर्ने प्रणाली एउटै हुन् ?
होइनन् । रिइन्फोर्समेन्ट लर्निङ कम्पनीले रिजनिङ गर्ने प्रणाली बनाउन प्रयोग गर्ने विधि हो । यो तालिमको यस्तो चरण हो जसले अन्तिममा च्याटबटलाई रिजनिङ गर्न सक्षम बनाउँछ ।
के यी रिजनिङ गर्ने प्रणालीले अझै गल्ती गर्छन् ?
अवश्य गर्छन् । च्याटबटले गर्ने हरेक कुरा सम्भाव्यतामा आधारित हुन्छ । यसले आफूले सिकेको डेटा (चाहे त्यो इन्टरनेटबाट आएको होस् वा रिइन्फोर्समेन्ट लर्निङबाट) सँग मिल्दोजुल्दो बाटो रोज्छ । कहिलेकाहीँ यसले गलत वा अर्थहीन विकल्प रोज्न सक्छ । त्यस्तोमा यस मोडेलले गलत वा भ्रामक उत्तर दिन सक्छ ।
के यो मानव बौद्धिकतासँग मेल खाने मसिनको बाटो हो ?
एआई विज्ञ यस प्रश्नमा विभाजित छन् । यी विधि अझै तुलनात्मक रूपमा नयाँ छन् भने अनुसन्धानकर्ताहरू अझै पनि यिनका सीमा बुझ्ने प्रयास गरिरहेका छन् । एआई क्षेत्रमा नयाँ विधिहरू प्रायः सुरुमा धेरै छिटो प्रगति गर्छन् । त्यसपछि सुस्त हुँदै जान्छन् ।
न्यूयोर्क टाइम्सले निःशुल्क उपलब्ध गराएको ‘हाउ एआई रिजन्स’ शीर्षकको लेखबाट अनुवादित लेख ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १५:४४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई प्रभावकारी बनाउन आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ स्थापना गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आर्थिक अनुसन्धान ब्यूरो स्थापनाको अवधारणा अनुसार प्रारम्भिक चरणमा इकाइ स्थापना गरी काम अघि बढाइएको र नेपाल सरकारबाट ब्यूरोको दरबन्दी कायम नहुँदासम्म मौजुदा जनशक्तिबाट उक्त एकाई स्थापना गरिएको जानकारी दिए
उनले हाल केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा १९ जना प्रहरी कर्मचारी रहने गरी एकाइ स्थापना गरिएको राससलाई जानकारी दिए।
थापाले भने, ‘ब्यूरोकै अवधारणा अघि बढी नेपाल सरकारबाट सैद्धान्तिक सहमतिसमेत प्राप्त भइसकेको छ, तर दरबन्दी कायम भइनसकेकाले त्यो अवधिसम्मका लागि यही जनशक्तिबाट काम गर्ने गरी एकाइ स्थापना गरिएको हो, एकाइले अहिले काम गरिरहेको छ।’
प्रहरीले ब्यूरो स्थापनाका लागि ३५० जनशक्ति माग गर्दै अवधारणापत्र पेस गरेको छ। उक्त ब्यूरो स्थापना भएपछि संगठित अपराध, बैंकिङ अपराध, ठगीलगायतका अर्थतन्त्रसँग जोडिएको अपराधका उजुरीहरू हेर्ने छ।
सामाग्री श्रोत :
काठमाडौँ । सांसद मनिष झाले सरकार सुशासनको वास्तविक अभ्यासभन्दा प्रचारमुखी काममा केन्द्रित भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै झाले सरकारले जनतालाई प्रत्यक्ष असर पार्ने सेवामा ध्यान नदिई सुशासनको सपना बेचिरहेको धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासमेत रहेका उनले भने, “सुशासनका लागि पानीजहाज र मोनोरेलको सपना बेचेर मात्र हुँदैन । यसले हामीलाई अल्झाउने र बल्झाउने काम मात्र गर्छ । ”
देशको आर्थिक सुधार, विकास र नागरिकको दैनिकी सहज बनाउन सरकार जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए । “हामीलाई ड्राइभिङ लाइसेन्स ५/१० दिन भित्रमा चाहिएको छ । तर हामी पानीजहाज अफिसको उद्घाटन गर्छौँ,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १८:१
सामाग्री श्रोत :
टेक पाना