
काठमाडौँ । स्टेलान्टिसले नेपालमा दोस्रो डिलरशिपको उद्घाटन गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको यो डिलरशिप गोल्छा अर्गनाइजेशनअन्तर्गतको सहायक कम्पनी साङ्ग्रिला मोटर्स प्रा. लि. द्वारा सञ्चालन हुने बताइएको छ ।
नयाँ शोरुममा स्टेलान्टिस अन्तर्गतका तीन प्रमुख ब्रान्डहरू — सिट्रोन (Citroën), लिपमोटर (Leapmotor) र प्यूजो (Peugeot) एउटै छानामुनि उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सुविधाजनक र समग्र सेवा अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शोरुमको औपचारिक उद्घाटन नेपालस्थित फ्रान्सकी राजदूत भर्जिनी कोर्तेवाल, स्टेलान्टिस इन्डियाका प्रमुख कार्यकारी अधिकृत शैलेश हजेला, र साङ्ग्रिला मोटर्सका प्रबन्धक निर्देशक हेमन्त गोल्छाको उपस्थितिमा गरिएको थियो ।
कार्यक्रममा शैलेश हजेलाले भने, “नेपाल हाम्रो लागि रणनीतिक बजार हो । साङ्ग्रिला मोटर्ससँगको सहकार्यबाट हामी नेपाली ग्राहकलाई अत्याधुनिक प्रविधि युक्त गाडी र भविष्यका इलेक्ट्रिक सवारी समाधान उपलब्ध गराउन प्रतिबद्ध छौँ ।”
हेमन्त गोल्छाले भने, “यो नयाँ शोरुम हामीले उत्कृष्ट ग्राहक सेवा केन्द्रित गर्दै गरेको प्रयासको निरन्तरता हो। एकै स्थानमा तीन ब्रान्ड उपलब्ध गराएर हामी प्रिमियम मोबिलिटी समाधानको प्रमुख गन्तव्य बन्ने लक्ष्यमा छौँ ।”
स्टेलान्टिस विश्वकै अग्रणी सवारीसाधन निर्माता कम्पनीहरूमध्ये एक हो, जसले अबार्थ, अल्फा रोमियो, क्रिसलर, सिट्रोएन, डज, फिएट, जीप, मासेराटी, प्यूजो लगायतका दर्जनौँ ब्राण्ड उत्पादन गर्दै आएको छ । कम्पनीले नवीनतम प्रविधिमार्फत प्रयोगकर्तालाई स्वतन्त्र र सुरक्षित गतिशीलताको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १३:४३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–नेपाली ललितकलाको महाउत्सव मानिने यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा कलामा विविधता दिने प्रयास गरिने बताइएको छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा यही जेठ १५ देखि ३० गतेसम्म आयोजना हुने प्रदर्शनीमा सातै प्रदेशका विविधता झल्किने गरी प्रदर्शनी गर्ने अन्तिम तयारी भइरहेको प्रदर्शनी संयोजक एवं प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले जानकारी दिएका हुन्।
उनले भने- ‘नेपालमा अभ्यासमा रहेका रैथाने कलादेखि हालका समसामयिक कलालाई एकै ठाउँमा राखेर प्रदर्शनी हुँदैन। पहिलो अभ्यासका रुपमा यसपटक हरेक प्रदेशको छुट्टाछुट्टै ग्यालरीमा कला प्रदर्शनी हुनेछ। जसबाट प्रदेशको कला अवलोकनका साथै अध्ययन पनि गर्न सकिनेछ। प्रदर्शनीमा करिब ६०० कलाकारका ६५० हाराहारीका कलाकृतिहरु समावेश गरिनेछ।’
राष्ट्रिय प्रदर्शनीको पूर्वसन्ध्यामा यसअघि फागुनमा सातै प्रदेशमा कला प्रदर्शनी गरिएको थियो। त्यहाँ कलाकारका एक हजार कलाकृति समावेश थिए। तीमध्ये छनोट भएका ५०० कलाकृति र आमन्त्रित कलाकारका गरी ६०० हाराहारीमा कला प्रदर्शनी हुने प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले बताएका छन्।
सातै प्रदेशममा अभ्यासमा रहेका विविध मौलिक कलाकृतिको प्रतिनिधित्व हुने गरी व्यवस्थापन गरिएको उनले जानकारी दिए। ‘लोककला, हस्तकलामा पनि समुदायगत, जातिगत, भौगोलिक क्षेत्रका हिसाबले पनि विविधता झल्किने गरी व्यवस्थापन गर्दैछौँ। यसमा मौलिक शिल्प ज्ञानहरू हुनेछन् भने त्यो साङ्केतिक रूपमा पनि हेर्न पाइने व्यवस्था गरिने छ। प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने सामान रहने छन्’, सदस्यसचिव काफ्लेले भने, ‘यसलाई हामीले पुनर्जागरणको चरण भनेका छौँ। नेपालका लोपोन्मुख कतिपय लोककला, हस्तकला, शिल्प हस्तकलाहरू देख्न पाइने छन्। राउटेदेखि मधेशका डोम समुदायले बनाउने कलाहरू प्रदर्शनीमा समावेश हुनेछन्।’
प्रदर्शनीमा समसामयिक पक्षलाई उठाइएका आधुनिक पक्षलाई उठाइका लोककला, परम्परागत कला, शिल्प हस्तकला, विश्वमा चलेका न्यू मिडियासँग सम्बधित बहुआयामिक तथा सिर्जनात्मक वास्तुकलालगायत प्रदर्शनीमा राख्ने जनाइएको छ। नेपाल ललितकलालाई समावेशी बनाउँदै जनसाधारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली बताउँछन्।
उनले भने, ‘भोक, सोख र लोकलाई सन्तुलन मिलाउँदै लोक र भोकलाई सोखमा जोड्नका लागि तयार हुनुपर्छ। कलाको पहिचान स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय पहुँचमा पुर्याउँदै अर्थतन्त्रमा योगदान दिने उद्देश्य हो। विगत वर्षदेखि सातै प्रदेशका लुकेका कलालाई उजागर गर्दै प्रदर्शनी भइरहेको छ, त्यसले कलामा एउटा जागरण पैदा गर्न सफल भएको छ।’
प्रदर्शनी सफल बनाउन प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा मूल समिति र अन्य सातवटा उपसमिति गठन गरिएका छन्। यसपालि प्रदर्शनीअन्तर्गत सांस्कृतिक संस्थानसँगको सहकार्यमा साङ्गीतिक प्रस्तुति, नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक प्रस्तुतिसमेत रहने गरी कार्यक्रम तयार पारिएको छ।
प्रदर्शनीअन्तर्गत गत वर्ष जस्तै राष्ट्रिय, प्रादेशिक तथा नवप्रतिभा र विधागत पुरस्कारसमेत प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। यसका साथै दुई जनालाई विशेष सम्मानका रूपमा अरनिको सम्मान, कला प्रवर्द्धक तथा सहिदको स्मरणमा पुरस्कार तथा सम्मान, कला लेखक तथा पत्रकार र सहयोगी संस्थाहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति तथा प्रतिनिधि सभा सदस्य बीरबहादुर बलायरले मातृभूमिप्रति आशावादी बन्न अमेरिकामा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डले बिहीबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेता बलायरले केही व्यक्तिका कारण जनतामा निराशा देखिए पनि लोकतान्त्रिक व्यवस्था देश र जनताको पक्षमा रहेकोले आशावादी बन्नुपर्नेमा जोड दिए।
नेपालको सुदूरपश्चिम क्षेत्रमा आशाको सञ्चार हुने गरी विकासका कामहरू भइरहेको बताउँदै नेता बलायरले अब सुदूरपश्चिममा विगतझैं निराश हुनुपर्ने अवस्था नरहेको दाबी गरे। आफू सुदूरपश्चिम प्रदेश स्तरीय राजनीतिक संयन्त्रको अध्यक्ष रहेको उल्लेख गर्दै उनले नेपाली काँग्रेस नेतृत्वमा रहेको प्रदेश सरकारलाई सुदूरपश्चिमेलीको आवश्यकताअनुसार विकास योजना सञ्चालन गर्न निर्देशन दिएको जानकारीसमेत दिए।
सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष बिक्रम शाहीको अध्यक्षता र महासचिव यज्ञबहादुर रानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा बोल्दै नेता बलायरले सुदूरपश्चिमेलीहरू भौतिक रूपमा जहाँ भए पनि एकताबद्ध भएर भाषा, कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा क्रियाशील रहनु उल्लेखनीय भएको भन्दै प्रशंसा गरे।
बाना अमेरिकाको सभाकक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डका संस्थापक अध्यक्ष दमनबिक्रम शाह, बानाका नवनिर्बाचित बरिष्ठ उपाध्यक्ष जनक थापा, सुदूरश्चिम नेपाली समाज मेरिल्याण्डका सल्लाहकार भिम बिक, नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका अध्यक्ष राजेन्द्र सेन्चुरी, बानाका अध्यक्ष सुबोध पन्तले प्रवासी नेपालीका विभिन्न सवालमा धारणा राखेका थिए।
सामाग्री श्रोत :
लोकतान्त्रिक व्यवस्था देश र जनताको पक्षमा रहेकोले आशावादी बन्नुपर्छ : बलायर
काठमाडौं । पारदर्शी फोनको नामले विश्वभर परिचित नथिङले नेपालमा सीएमएफ फोन टु प्रोको बुकिङ पुनः खुलाएको छ । यसअघि अत्यधिक माग भएपछि १०० ओटा बुकिङ आउनासाथ बन्द गरेको कम्पनीले पुनः १५० पिसका लागि बुकिङ खुलाएको हो ।
फोनका दुई ओटा भेरियन्टका लागि प्रि-बुकिङ खुलाइएको छ । ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९ हजार ४९९ रुपैयाँ तोकिएको छ ।
यी दुई भेरियन्ट प्रि-अर्डर गर्ने प्रयोगकर्ताका लागि कम्पनीले छ हजार ४९९ रुपैयाँ पर्ने सीएमएफ बड्स टु ए निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
कस्तो छ नथिङ टु प्रो ?
यो फोनको लुक्स र स्पेसिफिकेसनबारे विभिन्न धारणा बाहिर आएका छन् । फोन मूल्य अनुसारको छ कि छैन, यसमा अन्य फोनभन्दा खास फिचर के छ ? भन्नेबारे विश्वव्यापी रूपमा टेक रिभ्युअरले चर्चा गरिरहेका छन् । एउटा कुरामा भने कसैको दुईमत नहोला, त्यो हो- यो फोन एकदमै राम्रो डिल ।
सुरुमा अलिकति पृष्ठभूमि बुझौं । ‘नथिङ’ एउटा बजेट फोन निर्माता कम्पनी हो र त्यही कम्पनीको अझै सस्तो सब-ब्राण्ड हो सीएमएफ । नेपालमा यस कम्पनीको आधिकारिक बितरक चौधरी ग्रुप हो । अनि यो सीएमएफ फोन टु प्रो सीएमएफको दोस्रो फोनको प्रो भर्सन हो । यद्यपि यसको नन-प्रो भर्सन भने बजारमा छैन । यो अलि अलमलिने खालको छ । तर मुख्य कुरा के हो भने, सीएमएफले एउटा बजेट फोन बनाएको छ । जसको डिजाइन एकदमै फरक छ र यसमा केही राम्रा फिचरहरू छन् भने केही कुरामा कम्पनीले सम्झौता पनि गरेएको छ ।
‘प्रो’ नाम किन दिइयो भन्ने कुरामा सायद यसको पछाडि भएको तीन ओटा क्यामेराका कारण होला । तर नाम जे भए पनि यो फोन हेर्दा र चलाउँदा यसको मूल्यभन्दा महँगो फोन जस्तो अनुभव हुन्छ । यसमा ठुलो, उज्यालो र उच्च रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले छ । यसमा अन्डर-डिस्प्ले फिङ्गरप्रिन्ट रिडर पनि छ । अर्थात् डिस्प्लेमै फिङ्गरप्रिन्ट स्क्यानरको सुविधा छ ।
यो फोन अलि पातलो छ । बेजल पनि प्रायः सबैतिर बराबर छन् । अगाडिपट्टि सेल्फी क्यामेराका लागि सानो पञ्च-होल कटआउट छ । ५००० एमएएचको ब्याट्री भएर पनि यो फोन हलुका छ ।
यसको पछाडिको भाग प्लास्टिकको छ । तर रातो कलरको भेरियन्टमा तल्लो आधा भागले धातुको जस्तो अनुभव दिन्छ । अरू कलरमा भने पूरै भाग धातु जस्तै लाग्छ । यसको फ्ल्याट ब्याक र मेटल क्यामेरा रिङले यसलाई फरक डिजाइन दिएको छ । कसैलाई यो आकर्षक लाग्न सक्छ, कसैलाई नलाग्न सक्छ । तर यसको आफ्नै ‘पहिचान’ छ भन्न सकिन्छ । विशेषगरी यसको सुन्तला कलरमा खास पहिचान भेट्न सकिन्छ ।
गत वर्षको सीएमएफ फोन जस्तै यो फोन मोडुलर पनि छ । पछाडि चार ओटा स्क्रु र एउटा थम्ब स्क्रु छ । तर पछाडिको भाग पूरै खुल्दैन । बरु एउटा छुट्टै एक्सेसरी ब्याक लगाउन मिल्छ । त्यसमा क्यामेरा लेन्स माउन्ट र एकदमै बलियो म्यागसेफ म्याग्नेट छन् । कम्पनीका अनुसार यी म्याग्नेट यति बलिया छन् कि विभिन्न म्यागसेफ र अरू म्याग्नेटिक एक्सेसरीहरू सजिलै टाँसिन्छन् ।
एक्सेसरी ब्याकमा भएको क्यामेरा लेन्स माउन्ट पनि रोचक छ । सीएमएफले दुई ओटा लेन्स बनाएको छ- एउटा म्याक्रो र अर्को फिसआई । यो फोनको पछाडि मुख्य ५० मेगापिक्सेल क्यामेरामाथि सजिलै लगाउन मिल्छ । यी लेन्सले आफ्नो काम राम्रैसँग गर्छन् । हुन त अरु फोनहरूले पनि बिल्ट-इन म्याक्रो क्यामेराबाट यस्तै वा अझ राम्रो म्याक्रो फोटो खिच्न सक्छन् । फिसआई लेन्सले भने फोटोलाई अलि फरक लुक्स दिन्छ । मुख्य क्यामेरा आफैमा ठिकै छ । फोटोमा अलि वार्म्थ (न्यानो) र गुलाफी रङ देखिन्छ र कहिलेकाहीं ओभर एक्सपोज पनि हुन्छ । यी लेन्सलाई राख्ने ठाउँ भने छैन । त्यसैले बोक्दा फोहोर हुने वा सफा गर्न गाह्रो हुने हुन सक्छ ।
अब कुरा गरौं सफ्टवेयरको । यो फोनमा भएको सफ्टवेयर सायद ४०० डलर (करिब ५० हजार रुपैयाँ)भन्दा कम मूल्यका फोनमध्ये सबैभन्दा राम्रो हो । यो एकदमै सफा छ भने यसमा भएका एनिमेसन सहज छन् । केही अतिरिक्त फिचर जस्तै कस्टम विजेट र डट्स मोटिफ पनि छ । यो धेरै झन्झटिलो पनि छैन र विज्ञापनहरू पनि छैनन् । यसमा ‘इसेन्सियल स्पेस’ भन्ने एउटा एआई इन्फो कलेक्सन टुल पनि छ ।
डिस्प्ले यसको अर्को बलियो पक्ष हो । यसमा ६.७७ इन्चको १०८० पिक्सेल रिजोलुसन सहितको एडप्टिभ १२० हर्जको एमोलेड डिस्प्ले छ । यो एकदमै रेस्पोन्सिभ छ (४८० हर्ज टच स्याम्पल रेट) भने एकदमै उज्यालो छ (३००० निट्स एचडीआर, १३०० निट्स फुल-स्क्रिन बाहिर) देखिन्छ । यसमा २१६० हर्जको पीडब्लुएम डिमिङ पनि छ । डिस्प्लेमा मन नपरेको एउटै कुरा भनेको यसमा पहिले नै लगाइएको स्क्रिन प्रोटेक्टर हो । त्यसमा सेल्फी क्यामेराको वरिपरि कटआउट छ ।
अन्य स्पेसिफिकेसनको कुरा गर्दा यसमा मिडियाटेक डाइमेन्सिटी ७३०० प्रो प्रोसेसर छ (जसको प्रदर्शन स्न्यापड्रागन ८६५ जत्तिकै छ)। यो ८ जीबी र्याम र १२८ तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ साथै माइक्रोएसडी कार्ड स्लट पनि छ । यसमा एनएफसी पनि थपिएको छ जुन अघिल्लो सीएमएफ फोनमा थिएन ।
ह्याप्टिक्स पनि राम्रो छ । तर, तलपट्टिको एउटा मात्र स्पिकर भने खासै राम्रो छैन । यो आईपी ५४ रेटेड पनि छ अर्थात् पानीको छिटाले केही हुँदैन ।
यसमा ५००० एमएएचको ब्याट्री छ भने यसले ३३ वाटको चार्जिङ सपोर्ट गर्छ । र, ब्याट्री लाइफ एकदमै राम्रो छ । पछाडिको ट्रिपल क्यामेरा सेटअप छ । जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेलको छ तर ओआईएस छैन ।
टेलिफोटो लेन्स केवल २एक्स जुम भएको र सानो सेन्सर भएको छ । अल्ट्रावाइड लेन्स मुख्य क्यामेराभन्दा फराकिलो छ तर ८ मेगापिक्सेलको मात्रै छ ।
समग्रमा नेपाली बजारमा ३४ हजार ९९९ र ३९ हजार ४९९ रुपैयाँ पर्ने यो फोनले सफ्टवेयर र डिस्प्लेमा उत्कृष्ट छ । यसको मोडुलारिटी र डिजाइनले यसलाई अझै रोचक बनाएको छ । बजेट फोन खरिद गर्दै हुनुहुन्छ र केही पृथक फिचर भएको क्यामेरा फोन तपाईंको आवश्यकता हो भने यो फोन खरिद गर्न सिफारिस गर्न सक्छौं ।
(टेकपानाले यस फोनको भिडिओ रिभ्यु तयार पारेको छ । सो भिडिओ शुक्रबार बेलुका टेकपानाको युट्युब च्यानल र सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा हेर्न सकिनेछ ।)
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १३:६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–बेलायतले हिन्द महासागरमा अवस्थित चागोस टापुहरू मौरिससलाई हस्तान्तरण गरेको छ।यससम्बन्धी सम्झौतामा बिहीबार दुई देशबिच हस्ताक्षर भएको छ।
चागोस द्वीपसमूहको सबैभन्दा ठूलो टापु डिएगो गार्सिया बेलायत–अमेरिकी सेनाको लागि रणनीतिक रूपमा महत्त्वपूर्ण नौसेना र बमवर्षक आधार हो।
बेलायतले यो कदमले सुरक्षाको लागि महत्त्वपूर्ण अमेरिकी–ब्रिटिश सैन्य अड्डाहरूको भविष्य सुनिश्चित गर्ने बताएको छ।
यही कारणले गर्दा डिएगो गार्सिया अझै पनि बेलायत र अमेरिकाको नियन्त्रणमा रहनेछ। यो टापु धेरै वर्षसम्म बेलायती कब्जामा थियो। यस विषयमा दुई देशबिच लामो समयदेखि वार्ता भइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । कर्नाटकमा भाजपा सांसद मुनीरत्न र उनका सहयोगीहरू विरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता गरिएको छ। एफआईआरमा ४० वर्षीया पीडितले उनीहरूमाथि सामूहिक बलात्कार गरेको, उनको अनुहारमा पिसाब फेरेको र घातक भाइरसको सुई लगाएको आरोप लगाएकी छिन्। प्रहरीले बुधबार यो जानकारी दिएको हो।
समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार आरएमसी यार्ड प्रहरी चौकीमा पीडितको उजुरीको आधारमा भाजपा सांसद र उनका सहयोगीहरू विरुद्ध एफआईआर दर्ता गरिएको छ। आफूलाई भाजपा कार्यकर्ता बताउने पीडित महिलाले आफ्नो उजुरीमा आरोप लगाएअनुसार घटना जुन ११, २०२३ मा मठीकेरेस्थित विधायकको कार्यालयमा भएको थियो। उजुरीकर्ताका अनुसार सांसदका सहयोगीहरूले उनलाई कारमा सांसदको कार्यालयमा लगेका थिए।
घटनामा संलग्न विधायकका तीन सहयोगीहरूको नाम एफआईआरमा दर्ता गरिएको छ भने चौथो अभियुक्तको पहिचान अज्ञात छ। पीडित महिलाका अनुसार कार्यालय पुगेपछि उनले अस्वीकार गर्दा पनि विधायकले आफ्ना दुई साथीहरूसँग मिलेर उनको लुगा फुकालेका थिए र सहयोग नगरेमा उनको छोरालाई मार्ने धम्की पनि दिएका थिए। एफआईआरमा मुनिरत्नले दुई जना पुरुषहरूलाई बलात्कार गर्न निर्देशन दिएको उल्लेख छ।
महिलाका अनुसार विधायकले उनको अनुहारमा पिसाब पनि गरे । घटनाको क्रममा एक अज्ञात व्यक्ति कथित रूपमा कोठामा प्रवेश गरे र विधायकलाई सेतो बक्स दिए। उनले बक्सबाट सिरिन्ज निकाले र उनलाई सुई लगाइदिए। एफआईआर अनुसार विधायकले उनलाई कथित रूपमा धम्की दिएका थिए कि यदि उनले यसबारे कसैलाई भनिन् भने, उनले उनको परिवारलाई छोड्ने छैनन् र उनीहरूलाई बर्बाद गर्नेछन्।
यस वर्षको जनवरीमा, महिलालाई अस्पतालमा भर्ना गरिएको थियो र उनलाई निको नहुने भाइरस संक्रमण भएको पत्ता लागेको थियो र उनले यसलाई इंजेक्शन लगाइएको घटनासँग जोडेकी थिइन्। मे १९ मा आफूलाई भएको कथित घटनाबाट विचलित भएर उनले केही चक्की खाइन् र उनको स्वास्थ्य बिग्रियो। यसपछि उनले यस विषयमा प्रहरीमा उजुरी गर्ने निर्णय गरिन् ।
प्रहरीका अनुसार भाजपा विधायक र अन्य अभियुक्तहरू विरुद्ध भारतीय दण्ड संहिताको धारा ३७६ डी (सामूहिक बलात्कार) लगायत अन्य धाराहरू अन्तर्गत एफआईआर दर्ता गरिएको छ। यद्यपि, यस मुद्दामा आरोपी भाजपा विधायक मुनिरत्नबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।
सामाग्री श्रोत :
काठमाडौँ – सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको शव नियन्त्रणमा लिएको छ ।
भोटेखोला गाउँपालिका–४ स्थित सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले बताए । मृतक गोपाल तामाङकी छोरी हुन् ।
जेठाजु र बुहारीको बिचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो । बालिकालाई डिलबाट धकेल्ने अनिका गुरुङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस विमान दुर्घटनामा प्रमुख संगीत एजेन्ट डेभ शापिरोको मृत्यु भएको छ।
शापिरो साउन्ड ट्यालेन्ट ग्रुपका सह-संस्थापक थिए। उनी ‘सम ४१’, ‘स्टोरी अफ द इयर’ र ‘पियर्स द भिल’ जस्ता रक ब्यान्डहरूको हिस्सा थिए ।
यस दुर्घटनामा मेटल ब्यान्ड ‘द डेभिल वियर्स प्राडा’ का पूर्व ड्रमर डेनियल विलियम्सको पनि मृत्यु भएको आशंका गरिएको छ। मिडिया रिपोर्टका अनुसार उनले यही विमानबाट सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
विमान दुर्घटनाले मर्फी क्यान्यनमा रहेको एउटा घर ध्वस्त पारेको छ र नजिकैका दशवटा भवनहरूमा क्षति पुगेको छ। यसका कारण जलेका कारहरू र तिनीहरूको भग्नावशेष सडकमा छरिएका छन्। यसमा अन्य आठ जना घाइते पनि भएका छन्।
साउन्ड ट्यालेन्ट ग्रुपका प्रवक्ताले बीबीसीलाई दिएको एक विज्ञप्तिमा भने: “हाम्रा सह-संस्थापक, सहकर्मी र साथीहरूको मृत्युले हामी स्तब्ध भएका छौं। हाम्रो समवेदना उनीहरूको परिवार र आजको त्रासदीबाट प्रभावित सबैसँग छ।”
उड्डयन कम्पनीले यस विमान दुर्घटनामा आफ्ना तीन कर्मचारीको मृत्यु भएको बताएको छ। उनीसँगै शापिरो पनि समावेश छन्। कम्पनीले अन्यको पहिचान सार्वजनिक गरेको छैन।
सान डिएगोका अधिकारीहरूले दुर्घटनामा कम्तिमा दुई जनाको मृत्यु भएको पुष्टि गरे पनि दुर्घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय यातायात सुरक्षा बोर्डले मृत्यु हुनेको कुल संख्या स्पष्ट नभएको बताएको छ।
अधिकारीहरूले मारिएका कसैको पनि नाम सार्वजनिक गरेका छैनन्।
सामाग्री श्रोत :
विमान दुर्घटनामा पूर्व मेटल ब्यान्ड ड्रमर डेनियल विलियम्सको मृत्यु भएको आशंका
काठमाडौँ । ह्वाट्सएपले सबै प्रकारका ग्रुपमा ‘भ्वाइस च्याट’ सुविधा उपलब्ध गराएको छ । यसअघि ३३ देखि २५६ मेम्बरसम्मका ठुला ग्रुपमा मात्र उपलब्ध यो सुविधा अब साना ग्रुपका लागि पनि खुला गरिएको हो ।
कम्पनीका अनुसार नयाँ अपडेटपछि कुनै पनि ह्वाट्सएप ग्रुपमा ‘लाइभ अडियो च्याट’ सुरु गर्न सकिनेछ । यसमा प्रयोगकर्ताले ग्रुप च्याटमै बसेर वास्तविक समयमा कुराकानी गर्न सक्नेछन् ।
‘अडियो ह्याङआउट’ भनिएको यो फिचरले ग्रुपमा सीमित मेम्बरबिच पडकास्टजस्तो भ्वाइस कुराकानी गर्न सकिने सुविधा दिन्छ । भ्वाइस च्याट सुरु गर्दा सहभागीहरूलाई छुट्टै नोटिफिकेसन या रिङ नजाने व्यवस्था गरिएको छ । जसले गर्दा प्रयोगकर्ताले आफूले चाहेको समयमा च्याटमा जोडिन वा बाहिरिन सक्नेछन् ।
भ्वाइस च्याटको कन्ट्रोल स्क्रिनको तल राखिने भएकाले यसलाई सजिलै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्रुपमा नयाँ मेम्बरले पनि च्याटमा सहभागी हुनेबित्तिकै कुन-कुन प्रयोगकर्ता पहिल्यैदेखि च्याटमा छन् भन्ने देख्न सक्नेछन् ।
यो सुविधा सुरु गर्न प्रयोगकर्ताले ह्वाट्सएप ग्रुपको च्याट बक्सको तलबाट स्वाइप गरी केहीबेर होल्ड गर्नुपर्छ । हाल यो सुविधा तीन सदस्य भएको ग्रुपमा परीक्षण गर्दा पनि सहजै काम गरिरहेको देखिएको छ ।
कम्पनीले यो फिचर अहिले किन ल्याएको भन्ने जानकारी नदिए पनि अन्य च्याट, कल र मिडियाजस्तै यो भ्वाइस च्याट पनि इन्ड-टु-इन्ड इन्क्रिप्सनले सुरक्षित हुने जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८२ १०:३३
सामाग्री श्रोत :
टेक पाना
मकवानपुर – हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग विस्तारको क्रम क्रमशः बढ्दै गएको छ । हालै त्यहाँ चारवटा नयाँ उद्योग थपिएका छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान र टोटल प्याकेजिङले प्लाष्टिकको बोरा उत्पादन थालेका छन् । गत माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका छन् ।
औद्योगिक क्षेत्रमा हाल १० वटा उद्योगका संरचना निर्माणाधीन छन् । तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ ।
लामो समयदेखि बन्द रहेका छवटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगले पनि फलामको काटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए ।
विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए ।
उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेशनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्रोडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकहरूबाट जानकारी प्राप्त भएको छ ।
अमेरिका सरकारको सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रभित्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी , गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् ।
औद्योगिक क्षेत्रमा सरकारी स्वामित्वका हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड सञ्चालनमा छन् ।
कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ वटा छन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्रका उद्योग– प्रतिष्ठानका भवन, गोदाम, क्वार्टर र जग्गाबाट पनि बहाल सङ्कलन गर्दैै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ