२०८२ कार्तिक ७ बिहीबार
२०८२ कार्तिक ७ बिहीबार

काठमाडौँ । करेन्ट लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ । बराहापोखरी गाउँपालिका वडा नं ४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको सोमबार राति मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

 

वडाध्यक्ष सन्तोष आचार्यका अनुसार करेन्ट लागेको केही समयमा नै राईको मृत्यु भएको थियो । “चार्जर निकाल्ने बेलामा प्लगमा झ्यारझ्यार आवाज आइरहेको रहेछ । उहाँ खाली खुट्टामा हुनुहुन्थ्यो,” उनले टेकपानासँग भने । 

घटनाको जानकारी प्राप्त भएपछि फाक्टाङतर्फ प्रहरी खटाइएको र अहिले मुचुल्का उठाउन लागिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक सुशान्त मिश्रका अनुसार इलाका प्रहरी कार्यालय चिसापानीबाट घटनास्थल ९५ किलोमिटर टाढा पर्छ । मौसम र सडकका कारण प्रहरी घटनास्थलमा पुग्न समय लागेको हो ।

घटनास्थलको मुचुल्का उठाइसकेपछि थप जानकारी प्राप्त हुने उनले बताए ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १५:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- सरकार र नेपाल चिकित्सक संघबीच भएको उपभोक्ता संरक्षण ऐन २०७५ बिरुद्ध सर्वोच्चमा दायर रिटमा विपक्षी झिकाउने फैसला भएको छ। 
कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र  मन्त्री, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय र मन्त्री, उद्योग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र मन्त्री, गृह मन्त्रालय, नेपाल चिकित्सक संघ र महासचिव डा. सन्जिव तिवारीलगायत बिरुद्ध मुद्दा दायर गरिएको थियो।

अदालतमा मुद्दा विचाराधीन अवस्थामा  बन्द हडतालको दबाब दिएको, गैरकानुनी अनुचित हस्तक्षेप गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्चमा मुद्दा दायर गरेको थियो। 

रिटमा भनिएको छ, ‘उक्त सहमति कार्यान्वयन भएमा उपभोक्ताको मौलिक तथा कानुनी हकमा अपुरणीय क्षति पुग्ने र गैरकानुनी कार्यले निरन्तरता पाउने भएकोले उपभोक्ता संरक्षण ऐन संसोधन सम्बन्धि निर्णय सहमति कार्यान्वयन नगर्नु यथास्थिति राख्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी पाउँ।’

उक्त विषयमा अन्तरिम आदेश जारी किन नगर्ने भन्ने विषयमा मन्त्रालय र मन्त्रीसहितलाई सर्वोच्चले झिकाउने आदेश गरेको हो। 

उपभोक्ता अदातलको फैसलालाई लिएर आन्दोलित चिकित्सकसँग सरकारले  असार २४ मा तीन बुँदे सहमति गरेको थियो। चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) लगायत स्वास्थ्य क्षेत्रका संघ संगठनका प्रतिनिधि वार्तामा सहभागी थिए।

सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, उद्योग मन्त्री दामोदर भण्डारी र कानुन मन्त्री अजय चौरसिया सहभागी थिए।

सर्वोच्च दायर गरेको रिट

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित ठुला डेटा सेन्टरहरू निर्माण गर्ने भएको छ । कम्पनीका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले अर्को वर्ष (सन् २०२६) सम्ममा सञ्चालनमा आउनेगरी अत्याधुनिक डेटा सेन्टरहरू खोल्न लागेको जानकारी दिएका हुन् ।  

‘प्रोमेथियस’ नाम दिइएको यस मल्टि-गिगावाट डेटा सेन्टरले लगभग म्यानह्याटन सहर (५९.१ वर्ग किलोमिटर) जत्रो क्षेत्रफल ओगट्ने बताइएको छ । मेटाले ‘सुपरइन्टेलिजेन्स’ को विकासमा ठुलो लगानी गरिरहेको छ, जुन प्रविधिले सबैभन्दा चलाख मानिसलाई पनि सोच्ने क्षमतामा उछिन्न सक्ने कम्पनीको दाबी छ । 

अनलाइन विज्ञापनबाट आफ्नो अधिकांश आम्दानी गर्ने मेटाले सन् २०२४ मा १६० अर्ब डलर बढी आर्जन गरेको थियो । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म थ्रेड्समा एक पोस्ट गर्दै जुकरबर्गले मेटाले धेरै मल्टि-गिगावाटका क्लस्टरहरू निर्माण गरिरहेको र ‘हाइपेरियन’ नामक एउटा क्लस्टरलाई केही वर्षमा पाँच गिगावाटसम्म विस्तार गर्न सकिने बताएका छन् । 

“हामी अरू धेरै टाइटन क्लस्टरहरू पनि निर्माण गर्दैछौं । यिनीहरूमध्ये एउटाले मात्रै म्यानह्याटनको महत्त्वपूर्ण हिस्सा ओगट्छ,” उनले थपे । जुकरबर्गका अनुसार, प्रोमेथियस ओहायोको न्यू अल्बानीमा निर्माण हुनेछ भने हाइपेरियन लुइजियानामा बन्नेछ । 

यो डेटा सेन्टर सन् २०३० सम्ममा पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । उनले मेटाले ‘सुपरइन्टेलिजेन्स निर्माण गर्न सयौं अर्ब डलर लगानी गर्ने’ र ती डेटा सेन्टरहरूलाई ‘तिनीहरूको स्तर र प्रभाव सुहाउँदो नाम’ दिइएको बताए । 

यस विषयमा क्याम्ब्रियन एआई रिसर्चका प्रमुख विश्लेषक कार्ल फ्रुन्डले बीबीसीलाई भने, “स्पष्ट रूपमा, जुकरबर्ग एआईको शिखरमा पुग्न आफ्नो बाटो खर्च गर्न चाहन्छन्,” उनले थपे, “उनले नियुक्त गरिरहेको प्रतिभाले विश्वको उत्कृष्ट एआई हार्डवेयरमा पहुँच पाउनेछन् ।” 

यो घोषणापछि मेटाको शेयर १ प्रतिशतले बढेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यस वर्ष हालसम्म कम्पनीको शेयर २० प्रतिशतभन्दा बढीले बढेको छ । विश्वभर कम्तीमा १०,००० डेटा सेन्टरहरू छन्, जसमध्ये अधिकांश अमेरिकामा र त्यसपछि बेलायत र जर्मनीमा छन् । 

एआई-सञ्चालित डेटा सेन्टरहरूले अत्यधिक ऊर्जा र पानी खपत गर्दछन् । एक अध्ययनले यी सेन्टरहरूले सन् २०२७ सम्ममा विश्वव्यापी रूपमा १.७ ट्रिलियन ग्यालन पानी खपत गर्न सक्ने अनुमान गरेको छ । एउटा सामान्य एआई प्रश्नले (जस्तै च्याटजीपीटीलाई सोधिएको प्रश्न) पसलबाट किनेको सानो पानीको बोतल बराबर पानी खपत गर्न सक्छ । 

बीबीसीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १५:१५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा यसबारे उल्लेख गरेका छन्। 

‘विगत केही दिनअघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई जानकारीनै छ। कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ, अब लागेको आरोप अनुसन्धान गरी सत्यतथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजीनामा गरेको छु,’ मन्त्री गुप्ताले भनेका छन्।

साथै उनले प्रविधिको प्रयोगको शिकास आफू भएको र अब कोही पनि यस्तो शिकार नबनुन भन्ने अपेक्षा गरेको उल्लेख गरेका छन्। ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारी बोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निष्ठाका साथ पूरा गर्ने प्रतिबद्धताको साथ जनताको घरदैलोमा आउने प्रण गर्दछु,’ उनले भनेका छन्।

मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गुप्ताको राजीनामा माग भएको थियो।

सत्तारूढ नेपाली कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतले मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । आफूलाई ‘काजु’ (Kazu) भन्ने ह्याकर समूहले शिक्षा मन्त्रालयको वेबसाइट ह्याक गरी १.४ टेराबाइट डेटा डार्क वेबमा बिक्रीका लागि राखिएको दाबी गरेको छ । सोमबार राति डार्क फोरममा पोस्ट गर्दै ह्याकरले मन्त्रालयको डेटाबेस बिक्री गर्ने घोषणा गरेको हो ।

ह्याकरले डेटाको मूल्य दुई हजार देखि १० हजार अमेरिकी डलर तोकेको छ । यो भनेको दुई लाख ७४ हजारदेखि १३ लाख ७२ हजारसम्म हुन आउँछ । ह्याकरले डेटा खरिद गर्न चाहनेका लागि टेलिग्राम, सिग्नल र सेसन जस्ता माध्यमबाट सम्पर्क गर्न सकिने उल्लेख गरेको छ । साथै डेटाको नमुना हेर्नका लागि छुट्टै टेलिग्राम च्यानलको लिङ्क समेत उपलब्ध गराइएको छ ।

ह्याकरको उक्त समूहले नमुनाका लागि भन्दै १० जीबी डेटाको लिङ्क पनि उपलब्ध गराएको छ । यद्यपि त्यसमा भाइरस र मालवेयर भएको सङ्केत देखिएपछि टेकपानाले डेटा पुष्टि गर्न सकेन । 

ह्याकरले सार्वजनिक गरेको स्क्रिनशटमा भने शिक्षा मन्त्रालयको १.४१ टीबी डेटा भएको देखिन्छ । तर, ती सबै फोल्डरका रूपमा रहेका छन् । ह्याकरले आफ्नो पोस्टमा उल्लेख गरे अनुसार यो डेटा शिक्षा मन्त्रालयको आधिकारिक पोर्टलबाट निकालिएको हो । मन्त्रालयको वेबसाइट नेपालको राष्ट्रिय शिक्षा नीति, विज्ञान तथा प्रविधि पहल र सरकारी सेवाहरूबारे जानकारीको आधिकारिक स्रोत हो ।

आफूसँग भएको मन्त्रालयको डेटामा विदेशमा अध्ययनका लागि जाने हजारौं विद्यार्थीहरूले दिएको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) को डेटा भएको ह्याकरको दाबी छ । यदि ह्याकरको दाबी सत्य हो भने उक्त डेटामा विद्यार्थीको व्यक्तिगत विवरण, नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र जस्ता अति संवेदनशील जानकारी हुनसक्ने देखिन्छ ।

१.४ टीबी डेटा चुहावट हुनु नेपालको सरकारी इतिहासमा सबैभन्दा ठुला साइबर सुरक्षा घटना मध्ये एक हुन सक्छ । यद्यपि यो पुष्टि भइसकेको भने छैन । 

यता शिक्षा न्त्रालयले भने यस्तो कुनै पनि घटना नभएको दाबी गर्दै ह्याकरको दाबी झुटो भएको जनाएको छ । मन्त्रालयको सूचना प्रविधि शाखाकी प्रमुख सलिना डङ्गोलले भनिन्,  “उसले (ह्याकरले) राखेको कुरा टोटल्ली फेक हो । हाम्रो मन्त्रालयको वेबसाइट उसले कुनै पनि हालतमा एक्सेस गर्नै सक्दैन ।”

ह्याकरले दाबी गरेको डेटाको आकारमाथि नै उनले प्रश्न उठाइन् । “हाम्रो मन्त्रालयको १.४ टीबी डेटा छँदैछैन । भएको डेटा टेक्स्टमा मात्र छ, जुन यति धेरै पुग्दै पुग्दैन,” उनले भनिन् । एनओसीको डेटा मात्रै ५ टीबीभन्दा बढी रहेको बताउँदै उनले थपिन्, “एनओसीको डेटा १.४ टीबी मात्र होइन, करिब ५ टीबी जति छ । त्यो डेटा उसले ह्याक गर्नै सक्दैन ।”

प्रणालीको सुरक्षामा मन्त्रालय ढुक्क रहेको उनको भनाइ छ । “हामीले भर्खरै मात्र सिस्टम अपग्रेड गरेका छौँ, भीएपीटी (Vulnerability Assessment and Penetration Testing) पनि गरेका छौँ,” उनले भनिन्, “सबै तहबाट प्रणालीलाई सुरक्षित राखेका छौँ । त्यसैले हामीलाई कुनै शङ्का छैन ।”

ह्याकरले प्रणालीमा पहुँच बनाउन नसकेपछि चर्चामा आउनका लागि मात्रै यस्तो दाबी गरेको हुनसक्ने उनले अड्कल गरिन् । “उसले ह्याक गर्न नसकेपछि मिडियामा चर्चा पाउनका लागि मात्रै यस्तो कुरा राखेको हो,” डङ्गोलले भनिन्, “हाम्रो एनओसी र वेबसाइटमा उसले कुनै पनि तरिकाबाट पहुँच बनाउनै सक्दैन, हामी त्यति बलियो अवस्थामा छौँ ।”

ह्याकरले प्रमाणका रूपमा कुनै डकुमेन्टको स्क्रिनशट नराखी फाइलको नाम मात्र राखेकाले पनि दाबी झुटो भएको पुष्टि हुने उनको तर्क छ ।

यसअघि ह्याकर काजुले नेपाल प्रहरी र लोक सेवा आयोगको डेटा बिक्रीका लागि राखेको थियो । त्यसबेला डेटाको नमुनाको स्क्रिनशट सार्वजनि गरेको थियो । उक्त स्क्रिनशटमा नेपाली राहदानी, नागरिकता र बसाइँसराई जस्ता कागजातको फोटो देखिन्थ्यो । यस पटक भने स्क्रिनशटमा फाइल नेम मात्र छ । त्यस विषयमा थप अनुसन्धान भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १४:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै देशभरीका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन्। 

नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिव दुई दशक अघि देखि सुरू गरिएको भए पनि एकै आर्थिक वर्षमा सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको यो पहिलो अवसर हो। 

‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा हुनुले स्वास्थ्यकर्मीहरू एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधीहरूको नेतृत्व एवं अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यलाई दर्शाउँछ,’ परिवार कल्याण महाशाखाका प्रमुख डा विवेक लालले बताए। 

हरेक वर्ष घरदैलो कार्यक्रम गरि खोज र खोप अभियान अन्तर्गत दुई वर्ष मुनिका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाए नपाएको पहिचान गरिन्छ। र खोप लगाउन छुट भएका ति बालबालिकालाई सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ।

‘पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणा मात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्वपूर्ण कदम हो,’ बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमले भने, ‘यो एउटा सफलताको उत्सव पनि हो।’

प्रदेश घोषणाका हिसाबले मधेस प्रदेशले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ भने अन्य प्रदेशहरूले घोषणाको तयारी थालेको छ। 

यो सफलता प्राप्त गर्नमा गाभी, युनिसेफ, विश्व स्वास्थ्य संगठन, वाटर एड लगायतका साझेदार संस्थाको सहयोग रहेको समेत गौतमले बताए।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । अमेरिकी ट्रम्प प्रशासनले रक्षा विभागमार्फत आगामी चार वर्षमा ‘अफेन्सिभ साइबर अपरेसन’ मा एक अर्ब डलर (करिब एक खर्ब ३७ अर्ब रुपैयाँ) खर्च गर्ने योजना बनाएको छ । यो घोषणा ट्रम्पको महत्त्वपूर्ण ‘वन बिग ब्युटिफुल बिल’ मा समावेश गरिएको छ, यद्यपि उक्त प्रावधानले ‘अफेन्सिभ साइबर अपरेसन’ को विस्तृत विवरण वा यसमा प्रयोग हुने उपकरण तथा सफ्टवेयरको बारेमा भने केही खुलाएको छैन ।

यो रकम अमेरिकी इन्डो-प्यासिफिक कमान्डको क्षमता अभिवृद्धि र सुधारमा खर्च गरिनेछ । जसले चीन सहित एसिया-प्रशान्त क्षेत्रमा काम गर्दै आएको छ । चीनलाई अमेरिकाको सबैभन्दा ठुलो भू-राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेर्ने गरिन्छ ।

ह्याकिङलाई व्यापक रूपमा विस्तार गर्ने अमेरिकी सरकारको यो कदमले प्रतिशोध निम्त्याउने विश्लेषण गर्न थालिएको छ । अमेरिकी साइबर प्रतिरक्षातर्फ बजेट कटौती गरेको बेला अफेन्सिभ कार्यक्रम घोषणा गर्दा उल्टै ब्याकफायर हुने चिन्ता पनि छ ।

के हो अफेन्सिभ साइबर अपरेसन ?

यो अफेन्सिभ साइबर अपरेसनले अमेरिका विरोधीहरू विरुद्ध लक्षित ह्याकिङलाई जनाउँछ । जसमा जेरो-डे एक्सप्लोइट, स्पाइवेयरको प्रयोग, साइबर आक्रमण गर्न आवश्यक पूर्वाधार, खुफिया जानकारीको सङ्कलन आदि हुन सक्छन् ।

सफ्टवेयरमा रहेका अज्ञात त्रुटिहरूको मौका छोपेर लक्षित उपकरणमा ह्याक गर्ने क्षमताको रूपमा जेरो-डे एक्स्प्लोइटको प्रयोग गरिन्छ । त्यस्तै व्यक्तिबाट डेटा चोरी गर्न स्पाइवेयर सफ्टवेयर डिप्लोय गरिन्छ ।

यस बाहेक इन्टरनेट ट्राफिक (जसलाई नेटफ्लो भनिन्छ) सङ्कलन वा खरिद गर्ने जस्ता गतिविधिहरू मार्फत खुफिया जानकारी सङ्कलन गर्ने गरिन्छ ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ १३:२५





सामाग्री श्रोत :
टेक पाना

ताजा दुध, दुध जमाएर बनेको बाक्लो दही र दहीलाई मथेर बनाइएको मोही/मही मन नपर्ने नेपाली कमै होलान्। शहरी जीवनमा यसको प्रयोग कम भएता पनि ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुले नियमित रुपमा महीको सेवन गरेको पाइन्छ । मही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि मही उत्तम पेय मानिन्छ। आयुर्वेदमा महीलाई तक्र भनिन्छ। 

तक्र बनाउने तरिका एवं गुणको आधारमा यसको पाँच संस्कृत नाम छन्।

१.    घोल – मक्खन / नौनी सहितको मही (पानि नमिलाइ मथिएको)
२.    मथित – मक्खन / नौनी निकालिएको मही (पानि नमिलाइ मथिएको)
३.    तक्र – मक्खन/नौनी सहितको दही मथेर चौथाई भाग पानि मिलाएर मक्खन निकालेर बनाइएको मही
४.    उद्स्वित् – मक्खन/नौनी सहितको दही मथेर आधा भाग पानि मिलाएर मक्खन निकालेर बनाइएको मही 
५.    छच्छिका – मक्खन/नौनी सहितको दही मथेर मक्खन निकालेर प्रशस्त मात्रामा पानी मिलाएर बनाइएको मही । 

मही सेवनको फाइदाहरु 
१.    घोल – घोलमा सक्खर / चिनी / मिश्री मिलाएर खानाले रसायनको काम गर्छ । यसले आनन्द दिनुका साथै वात, पित्त शामक हुन्छ । 
२.    मथित – कफ, पित्त शामक हुन्छ । 
३.    तक्र – कषाय, अम्ल तथा मधुर रस युक्त हुन्छ ।  यसको विपाक मधुर हुन्छ । तक्र ग्राही, लघु, उष्ण विर्य प्रधान हुन्छ । यसले अग्निदीपन गर्नुका साथै वात नाशक हुन्छ । यो तृप्तिकारक एवं शुक्रवर्धक हुन्छ । 
४.    उद्स्वित् –बलबर्धक, कफनाशक, शुन्ठी मिलाएर पिउँदा आमनाशक ।
५.    छच्छिका – शीतल, लघु हुन्छ । वात, पित्त, श्रम, तथा तृषा नाशक एवं कफकारक हुन्छ । 

मही सेवन गर्ने तरिका
१.    ग्रहणी रोग – १ गिलास महीमा १/२ चिया चम्चा जीरा अथवा सौफ (मिठा सुप) को धुलो मिसाएर पिउने । 
२.    अर्श – दहीमा सुठो (सुठोको सट्टा अदुवाको प्रयोग नगर्ने) को धुलो मिलाएर मथेको मही । अथवा १ गिलास महीमा १/४ चिया चम्चा सुठोको धुलो मिलाएर पिउने ।
३.    वात दोष प्रकुपित भै शरीर दुख्ने, पेट दुख्ने, पेट फुल्ने आदि भएमा अम्ल रस युक्त महीमा सुठो एवं सिंधे नुन मिलाएको मही पिउने ।
४.    पित्त दोष प्रकुपित भएको अवस्थामा मधुर रस युक्त महीमा चिनी, मिश्री, सख्खर मिलाएर ।
५.    कफ दोष जन्य समस्यामा त्रिकटु (सुठो, मरिच, पिप्पलाको धुलो बराबर मात्रामा मिलाएर बनाइएको मिश्रण) अथवा यवक्षार मिलाएर । 

महीको प्रयोग विभिन्न द्रव्यको साथमा 
१.    मही, भुटेको हिंग र जीरा, सिंधे नुन मिलाएर सेवन गर्नाले अर्श, पखाला आदि रोगमा फाइदा गर्छ । साथै खाना रुचाउने, बलबर्धक तल्लो पेट दुख्ने समस्यामा फाइदा गर्छ । 
२.    मही र गुड मिलाएर खानाले पिसाबको रोगमा फाइदा गर्छ । 
३.    मही र चित्रक मिलाएर खानाले अर्श एवं पाण्डु (anemia) रोगमा फाइदा गर्छ । 

मही सेवन गर्न मिल्ने अवस्था 
१.    शितकाल, अग्निमान्ध्य, वात रोग, अरुचि, ग्रहणी, अर्श (rectal hemorrhoids), भगंदर (fistula in ano), परिकर्तिका (fissure in ano), पाण्डु, मेदोरोग (hyperlipidemia), मधुमेह, अतिसार, स्नायुदौर्वल्य आदिमा अमृत समान लाभदायक हुन्छ । 

मही सेवन गर्न नमिल्ने अवस्था 
ग्रिष्म ऋतु, दुर्बल व्यक्ति, मुर्छा, भ्रम, दाह तथा रक्तपित्त रोग भएका व्यक्तिले मही सेवन गर्नु हुँदैन । 

महीको औषधीय गुणको बारेमा गरिएका केहि अनुसन्धानहरु 
महीको सेवन एवं बस्ति (गुदामार्गबाट औषधि युक्त क्वाथ ठूलो आन्द्रामा पठाएर गरिने बिशेष उपचार पंचकर्म विधि) प्रयोग इरिटेबल बल सिन्ड्रम (आइबीएस) (जसको कारण, लक्षण र उपचार विधि आयुर्वेदमा वर्णित ग्रहणी रोग संग मिल्दोजुल्दो हुन्छ) को उपचारमा  प्रभावकारी पाइएको छ । त्यसै गरि तक्र धारा उच्च रक्तचाप, अनिद्रा र माइग्रेन (माइग्रेन हेडेक)को उपचारमा तेल धारा/ शिरोधारा समान प्रभावकारी पाइएको छ। 

निस्कर्ष 
वर्तमान परिप्रेक्ष्यमा खाद्यपदार्थ उत्त्पादन एवं संरक्षणका लागि प्रयोग गरिने किटनाशक विषादी एवं खाद्य सुरक्षा तत्त्व (preservatives) को अधिक प्रयोगबाट उत्पन्न विषाक्त तत्व शरीरमा जम्मा भएर रहेको हुन्छ, लामो समय पश्चात यस्ता विषाक्त तत्वले उच्चरक्तचाप, मुटुको रोग, मृगौलाको रोग, क्यान्सर जन्य रोगहरु हुने सम्भावना अधिक हुन्छ । नियमित रुपमा महीको सेवन गर्नाले शरीरको आमपाचन एवं शोधन भइ शरीरमा विषाक्त तत्व जम्मा हुन पाउँदैन, तसर्थ बिबिध किसिमका रोगहरु बाट बच्न मद्दत पुर्याउछ । विशेष गरि पाईल्स, ग्रहणी (बारबार पातलो दिसा आउने र कहिले काहीं दिसा कब्जियत भई अनियमित हुने अवस्था) आदि रोग हुने व्यक्तिले महीको नियमित प्रयोग गर्नु लाभदायक हुन्छ । गर्मि याममा तयारी जुसहरुको सेवन गर्नु भन्दा मही पिउनु धेरै राम्रो हुन्छ ।  

सन्दर्भ सामाग्रीहरु:
१.    भाव प्रकाश निघंटू
२.    चरक संहिता
३.    Recent research updates from google scholar 
(लेखक डा अधिकारी कन्सल्टेन्ट भेषज विज्ञ ((बीएएमएस, एमडी) हुन्, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवनमा कार्यरत छिन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । घुस लेनदेनको ‘डिल’ अडियो प्रकरणमा विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले अन्ततः पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ताले मंगलबार बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।

राजीनामापछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि सहयोग गर्न राजीनामा दिएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य बाहिर आउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष मन्त्री पदबाट राजीनामा गरेको छु । प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरू कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रुपले आफूलाई सहयोग गर्नु हुनेहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।” 

अडियो सार्वजनिक भएपछि गुप्तामाथि चौतर्फी आलोचना बढेको थियो । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुसको ‘डिल’ भएको आरोप लागेपछि उनलाई राजीनामा दिन दबाब बढेको थियो ।

सत्तापक्ष र प्रतिपक्ष दुबै तर्फबाट गुप्ताको राजीनामा र निष्पक्ष छानबिनको माग उठिरहँदा उनले प्रविधिको दुरुपयोग गरेर उक्त अडियो सिर्जना गरिएको बताउने गरेका छन् । 

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ ११:४७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- १८ वर्ष मुनिका किशोरीहरुको डिम्बको कारोबार गरेको आरोपमा पक्राउ परेका बबरमहलस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालीका पाँच जना हाजिर जमानतमा छुटेका छन्।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो। अदालतले थुनामा नराखेर नै अनुसन्धान अगाडि बढाउन भनेपछि ब्युरोले उनीहरुलाई हाजिर जमानतमा छाडेको हो।

ब्युरोका एक प्रहरीले दिएको जानकारी अनुसार हाजिर जमानतमा छाडे पनि उनीहरुविरुद्ध अनुसन्धान भने जारी नै रहने र बोलाएको समयमा ब्युरोमा उपस्थित हुनुपर्ने हुन्छ।

ब्युरोको प्रारम्भिक अनुसन्धानमा होप फर्टिलिटीमा १८ वर्ष मुनिका किशोरीहरुलाई बोलाएर इन्जेक्सन लगाएर डिम्ब निकाल्ने गरेको र किशोरीहरुलाई १० हजार देखि १५ हजारसम्म रकम दिने गरेको देखिएको छ। 

पीडित किशोरीहरुले दिएको जानकारी अनुसार होपमा उनीहरुलाई १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको थियो। यसरी किशोरीहरुबाट निकालिएको डिम्ब विकास भइसकेपछि किशोरीको शरीरबाट डिम्ब निकालेर त्यसलाई सुरक्षित गरेर राख्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको ब्युरोले जानकारी दिएको छ।

होप फर्टिलिटीबाट प्रहरी नियन्त्रणमा रहेका पाँच जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट