
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री लेखकको राजीनामा मागेको हो।
पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकपछि रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले लेखकले पदबाट राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेका गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं।’
बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आदेश कानूनी रूपमा स्वीकार गरेको छ।
सामाग्री श्रोत :
भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।
आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए। ‘हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति आर्जन गर्दै अगाडि बढ्नुपर्छ’, उनले भने, ‘विधिको शासनमा विश्वास गर्ने भएकाले अमर्यादित टीकाटिप्पणी नगरी राजनीतिक रूपमा लडाइँको मैदानमा अगाडि बढ्ने संकल्प गर्छौं।’
उपसभापति वाग्लेले सभापति लामिछानेको मुद्दा राजनीतिक भएको जिकिर गर्दै आगामी दिनमा पार्टीले नयाँ रणनीति बनाएर अघि बढ्ने बताए। ‘केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ। संसद् र सभाहरूमा कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय गरेर विधिवत् रूपमा अगाडि बढ्छौँ’, उनले भने।
उपसभापति वाग्लेले अब पनि पार्टीको सभापति रवि लामिछाने नै भएको बताउँदै आगामी दिनमा बहुमत ल्याएर उनलाई नै प्रधानमन्त्री बनाउने संकल्प गरिएको बताए।
सामाग्री श्रोत :
सर्वोच्चको निर्णय मान्छौँ, पार्टी सभापति रवि नै हुन्ः उपसभापति वाग्ले
दुबई। संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ।
‘आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐन) मा ५१.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,’ केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ।
अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा यो १.२ डिग्री सेल्सियस बढी मापन गरिएको कार्यालयले जनाएको छ।
सन् २००९ को मे महिनामा अत्यधिक ५०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
युएई पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरू मध्ये एक मानिन्छ यो विशेष गरी जलवायु परिवर्तनको लागि संवेदनशील छ। युएई विश्वको एक शीर्ष वैश्विक तेल निर्यातकर्ता मुलुक हो भने यहाँको ठूलो क्षेत्र सुख्खा वातावरण (मरुभूमि) का लागि चिनिन्छ।
वैज्ञानिकहरूले यहाँ बारम्बार देखिने वायुको उष्ण लहर विश्वव्यापी तापक्रम वृद्धिको स्पष्ट संकेत भएको बताएका छन्। विगत तीन दशकमा विश्वमा अत्यधिक गर्मी हुने दिनको संख्या झण्डै दोब्बर भएको छ।
सामाग्री श्रोत :
राजविराज (सप्तरी)। हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन्।
मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुरा बस्ने वीरेन्द्र यादवका १९ वर्षीय छोरा सन्तोष यादव र सोही गाउँपालिका–२ बस्ने बिहारी मण्डलका २२ वर्षीय छोरा सागर मण्डल रहेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
पत्थरगाढाबाट राजविराजतर्फ जाँदै गरेको स१त ५४४२ नंको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको मप्र०२–०१९ प ९६२६ नंको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार छन् घाइते विष्णुपुर गाउँपालिका–१ जमुनि मध्येपुराका १८ वर्षीय धनञ्जय यादवलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
सामाग्री श्रोत :
लुम्बिनी। लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकामा सभामुख तुलाराम घर्तिमगरले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। ध्वनिमतका आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख घर्तिमगरले घोषणा गरेका हुन्।
प्रदेश सरकारले प्रदेशको समग्र विकास गर्नेगरी कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो। यही जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्न सुझाव दिएका छन्।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। आज बसेको बैठकलाई सम्बोधन गर्दै उनले कार्यान्वयनका लागि प्रभावकारी अनुगमन व्यवस्था मिलाइने जानकारी दिए।
मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम भएकाले आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइने बताए। उनले यस पटकको नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य रहेको र विगतका योजनाहरूको विश्लेषण, साधनस्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए।
सरकारले वस्तुनिष्ठ र कार्यान्वयन योग्य बजेट बनाउने तयारी गरिरहेको पनि मुख्यमन्त्री आचार्यले स्पष्ट पारे। दुई दिनसम्मको बैठकमा जारी छलफलमा ४० जना प्रदेशसभाका सांसदले सुझावसहित आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
सामाग्री श्रोत :
काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई-कमर्सले साइबर सुरक्षाप्रति जनचेतना फैलाउने उद्देश्यले एक अनौठो र प्रभावशाली सचेतनामूलक अभियान सम्पन्न गरेको छ ।
बिहीबार कलेजले देशभरका प्रमुख सहरहरूमा रहेका एलईडी स्क्रिनमार्फत ३० मिनेटको विशेष भिडिओ प्रसारण गर्यो, जसको सुरुवातमा ‘डिजिटल ब्रिच’ (साइबर आक्रमण) भएको झल्को दिने गरी दर्शकमा भ्रम सिर्जना गरिएको थियो ।
तर, यो भिडिओ वास्तवमा कलेजको बीएससी (अनर्स) इन इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी कोर्सको प्रचारप्रसार गर्न बनाइएको योजनाबद्ध मार्केटिङ अभियान थियो ।
कलेजका अनुसार यो अभियानले डिजिटल सञ्जालसँगै बढिरहेका लुकेका साइबर जोखिमहरूलाई उजागर गर्दै सर्वसाधारणमा सचेतना फैलाएको छ । साथै, यस्तो प्रयासले साइबर सुरक्षाको महत्त्वबारे आम जनमानसमा गम्भीर बहस सिर्जना गरेको कलेजको दाबी छ ।
साइबर सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिको निरन्तरतास्वरूप सफ्टवेरिका कलेजले कोभेन्ट्री विश्वविद्यालयसँगको साझेदारीमा सञ्चालित बीएससी (अनर्स) इन इथिकल ह्याकिङ एन्ड साइबर सेक्युरिटी डिग्री कार्यक्रममार्फत विद्यार्थीहरूलाई दक्ष बनाउन प्रतिबद्धता जनाएको छ ।
कलेजका अनुसार, यो कोर्सले विद्यार्थीलाई आवश्यक ज्ञान, व्यवहारिक सीप, र नैतिक आचारसंहितासहित साइबर सुरक्षाको क्षेत्रमा तयार पार्ने लक्ष्य राखेको छ ।
पाठ्यक्रममा प्रवेश परीक्षण, नेटवर्क सुरक्षा, डिजिटल फोरेन्सिक, मालवेयर विश्लेषण लगायतका प्रमुख विषयहरू समावेश गरिएको छ । सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासको सन्तुलनबाट विद्यार्थीहरूले साइबर खतरा पहिचान, रोकथाम र न्यूनीकरणमा दक्षता हासिल गर्ने कलेजको विश्वास छ ।
कोर्स र भर्ना प्रक्रियाबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ १५:५२
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आएको अविरल वर्षापछि उत्पन्न बाढीका कारण राज्यका पूर्वी क्षेत्रमा रहेका करिब १० हजार भन्दा बढी घरधुरी तथा सम्पत्तिहरूमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।
राज्य आपतकालीन सेवाका प्रमुख सुपरिन्टेन्डेन्ट पल म्याकक्विले आज बिहान पत्रकारहरूलाई जानकारी दिँदै भने,“क्षतिको विस्तृत मूल्याङ्कनका लागि हाम्रो टोलीहरू सक्रिय रूपमा खटिने छन्। यो अवस्था अझै पनि जोखिमपूर्ण भएकाले सबै जनालाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्दछु।”
उनले थप भने,“पानी पूर्ण रूपमा नघटेसम्म र जनताले सुरक्षित रूपमा आफ्ना घर तथा समुदायमा फर्कन सक्ने अवस्था नबनेसम्म हामी कसैलाई पनि घर फर्कन अनुमति दिन सक्दैनौं।”
यसैबीच, न्यू साउथ वेल्स प्रहरीले दिएको जानकारी अनुसार बाढी प्रभावित मिड नर्थ कोस्ट क्षेत्रको एक सम्पत्तिमा जलेको सवारी साधनभित्र एक व्यक्तिको शव फेला परेको छ।
यो घटनाले पछिल्लो पाँच दिनदेखिको लगातार वर्षाका कारण उत्पन्न बाढी सङ्कटमा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको पुष्टि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सिरहा। लहान नगरपालिका–१५ मा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र राजदेवी मन्दिर जाने जीर्ण सडक नगरपालिकाले स्तरोन्नति गर्ने भएको छ।
आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरीले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त सडकको खाल्डाखुल्डी मर्मत गरी स्तरीय कालोपत्र गर्ने उल्लेख गरे। उनले भने, ‘राजदेवी मन्दिर यहाँको धार्मिक आस्थाको केन्द्र हो। पछिल्लो समय टाढाटाढाबाट भक्तजन उल्लेख्य मात्रामा आउने गर्दछन्। पक्की सडक निर्माणले यहाँको धार्मिक पर्यटनको विकासमा सघाउ पुग्ने विश्वास लिएका छौँ।’
लहानको मुख्यचोकबाट राजदेवी मन्दिरसम्म १० किलोमिटर दूरी रहेको छ। जसमध्ये लहान–१० स्थित ग्रामीण चौकबाट उत्तरतर्फ आठ सय मिटर सडकमा रहेका खाल्डाखुल्डी मर्मत गरी चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न रु ७२ लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। बाँकी खण्डमा यसअघि सहरी विकास तथा भवन कार्यालय सप्तरीले कालोपत्र गरिसकेको छ।
उक्त सडक स्तरोन्नतिले लहानको उत्तरी भेगमा पर्ने वडा नं १०, १४, १५, १८ र २४ कोे आवागमनमा सहजता ल्याउने लहान–१० का वडाध्यक्ष मन्टीकुमार मण्डलले बताए। मधेश प्रदेशको गढीमाई मेलापछि दोस्रो बढी बलि दिने राजदेवी मन्दिरमा वैशाख चण्डी पूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ। सुरुमा शनिबार मात्रै बढी पर्यटक आउने यस मन्दिरमा सडक सुविधासँगै दिनहुँ धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको स्थानीय बताउँछन्।
सामाग्री श्रोत :
धार्मिक पर्यटकीयस्थल राजदेवी मन्दिर जाने सडक स्तरोन्नति गरिने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामै स्मार्टफोन उत्पादन गर्नुपर्ने भन्दै चीन र भारतमा निर्माण गरिरहेका कम्पनीहरूमाथि कडा चेतावनी दिएका छन् । शुक्रबार सार्वजनिक कार्यक्रममार्फत उनले एप्पलजस्ता कम्पनीहरूलाई २५ प्रतिशत आयात शुल्क तिराउन सकिने बताएका छन् ।
ट्रम्पको घोषणाले विशेषतः एप्पल र सामसङजस्ता प्रमुख स्मार्टफोन निर्माताहरू दबाबमा परेका छन् । यद्यपि सामसङ कोरियन कम्पनी भएकाले उसलाई अमेरिकी उत्पादनस्थल आवश्यक छैन भन्ने आलोचना पनि उठेको छ ।
ट्रम्पले एप्पलका प्रमुख कार्यकारी टिम कुकसँगको हालैको छलफलमा भारतमा निर्माण केन्द्र बनाउने योजनाप्रति असन्तुष्टि जनाएका थिए । ‘टिम कुक भारतभरि निर्माण गरिरहेका छन्, तर म त्यो चाहन्न,’ ट्रम्पले भनेका छन् ।
तर, प्राविधिक विश्लेषकहरूका अनुसार ट्रम्पको चाहना पूरा गर्नु अहिलेको अवस्थामा प्रायः असम्भव छ ।
विश्लेषकहरूका अनुसार स्मार्टफोन अमेरिकामै बनाउन तीन असम्भवजस्तै चुनौती छन् । पहिलो, त्यसका लागि आवश्यक कारखाना, प्रविधि र पूर्वाधार अमेरिकाभित्रै छैनन् । त्यस्ता संयन्त्र स्थापना गर्न अर्बौं डलर लाग्नेछ र दशकौं समय लाग्न सक्छ ।
दोस्रो, चुनौती कुशल श्रमिकको अभाव हो । यस्ता उत्पादनमा दक्ष जनशक्ति अमेरिकाभित्र नभएको र विदेशी श्रमिक ल्याउन पनि खर्चिलो र जटिल हुने विज्ञहरूको धारणा छ ।
तेस्रो चुनौती हो, कच्चा पदार्थ । स्मार्टफोन निर्माणमा प्रयोग हुने स्कान्डियमजस्ता दुर्लभ तत्वहरू अमेरिकाभित्र कमै पाइन्छन् । ती तत्व उत्खनन, प्रशोधन तथा उत्पादनको लागि छुट्टै संयन्त्र आवश्यक हुन्छ ।
यदि कुनै कम्पनीले यी चुनौती पार गरेर उत्पादन गर्न सके पनि त्यसले तयार हुने फोन अत्यन्त महंगो हुने विज्ञहरूको निष्कर्ष छ । यस्तो फोनको मूल्य १० हजार डलरसम्म पर्न सक्छ, जुन अहिलेको ३०० डलरको फोनभन्दा गुणस्तरमा पनि कमजोर हुने सम्भावना छ ।
केही विश्लेषकले ट्रम्पको प्रस्तावमा पूर्ण अमेरिकी उत्पादनको साटो अधिकांश भाग अमेरिकामै बन्ने बिचको समाधान खोज्ने प्रयास पनि हुनसक्ने बताए । तर त्यस्तो स्थितिमा पनि लागत अत्यधिक हुने र उपभोक्ताले अझ महंगो मूल्य तिर्नुपर्ने अवस्था आउनेछ ।
अब एप्पल, सामसङलगायत कम्पनीहरूले के गर्छन् भन्ने अझै प्रस्ट छैन । विश्लेषकहरू भन्छन्- उनीहरू ट्रम्पको प्रस्ताव कार्यान्वयन गर्नु असम्भव भएको देखाएर समझाइरहेका होलान् । तर ट्रम्प अझै आफ्नै अडानमा छन् ।
यस्तो अवस्थामा उनीहरूले २५ प्रतिशत करको भार ग्राहककै काँधमा थोपर्न सक्ने सम्भावना प्रबल देखिन्छ । जसअनुसार ७९९ डलर पर्ने फोनको मूल्य ९९९ डलरसम्म पुग्न सक्छ ।
अबको केही साताभित्र यस विषयमा थप प्रस्टता आउने अपेक्षा गरिएको छ । तर ट्रम्पको सपना अनुसार अमेरिकामै बनेको स्मार्टफोन अहिलेका लागि दूरदराजको सम्भावना मात्रै हो ।
-एन्ड्रोइड अथोरिटीको सहयोगमा
पछिल्लो अध्यावधिक: जेठ १०, २०८२ २२:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको सबै आरोप गलत भएको दाबी गरेका छन् । काठमाडौंमा पत्रकारसँग सक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको कुरा आएपछि लेखकको आलोचना भइरहेको छ । उनले आरोप साँचो भए राजनीति नै छोड्ने बताए ।
‘मलाई लागेको सबै आरोप गलत हुन् । आरोप साँचो सावित भए मन्त्री पदमात्र होइन, राजनीति नै छोड्छु’, उनले भने ।
यसअघि जनकपुरमा भएको एक कार्यक्रममा पनि गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप सही ठहरिए राजनीतिमै देखा नपर्ने बताएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ