
काठमाडौं – मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई ‘इतिहास रच्ने क्षण’ भन्दै बधाई दिए।
उनले मष्तिष्क मृत्युपछि अंग दान गरी जीवन बचाउन सकिने यथार्थको उदाहरणस्वरूप शेर्पाको यो अभियानले जनचेतना फैलाउने विश्वास व्यक्त गरे।
‘अहिले पनि अंगदाताको अभाव छ, तर पेम्बा शेर्पाको सन्देशले अंगदानप्रतिको सोचमा परिवर्तन ल्याउने छ,’ मन्त्री पौडेलले भने।
उनले हिमाल आरोहणको कठिन र जोखिमपूर्ण काममा संलग्न भरियाहरुको अझै पनि स्वास्थ्य बीमा नभएकोप्रति चिन्ता व्यक्त गर्दै, ‘अब भरियाको बीमाका लागि मन्त्रालयले पहल थाल्नेछ,’ भन्ने जानकारी पनि दिए।
पेम्बा शेर्पाले मिर्गौला प्रत्यारोपणपछि आफूले जीवनलाई पुनः पाएको महसुस गर्दै यो आरोहणले आत्मबल अझै बढाएको बताए।
‘जीवनमा केही पनि असम्भव छैन भन्ने कुरा मैले सगरमाथामा हिँड्दा महसुस गरेँ,’ शेर्पाले भने।
शेर्पाको मिर्गौला विफल भएपछि तीन वर्ष अघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गरिएको थियो। वैदेशिक रोजगारीबाट फर्किएपछि उनले मार्च २२, २०२४ मा लोबुचे हिमाल र त्यसपछि मे १४ मा सगरमाथाको सफल आरोहण गर्दै इतिहास बनाएका हुन्।
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा सफल आरोहण गर्ने शेर्पा संसारकै पहिलो आरोही हुन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा नपारेको बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै महरले सबै राजनीतिक दलका घोषणापत्रमा शिक्षामा २० प्रतिशत बजेट छुट्याइने उल्लेख भए पनि १० प्रतिशत मात्रै छुट्याइनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन्।
देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको घोषणापत्र र चुनावताका जनतामाँझ गरेका प्रतिबद्धता एकातिर र हालको बजेट अर्कातिर देखिएको महरले औंल्याए।
‘बजेटमाथिको छलफलमा संशोधन राखेर शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउनु अपरिहार्य छ। यसो हुन सकेमा मात्र कक्षा १२ सम्म निःशुल्क, गुणस्तरीय, व्यवहारिक, जीवनोपयोगी, प्रविधिमैत्री शिक्षा लागू गर्न सकिन्छ। यसका साथै, विश्वविद्यालयमा अनुसन्धानमूलक र प्राविधिक शिक्षाको व्यवस्थित कार्यान्वयन गर्न सकिन्छ,’ उनले भने।
शिक्षामा २० प्रतिशत बजेट विनियोजन भए मात्रै शिक्षक, प्राध्यापकका सेवासुविधा, तालिम, शिक्षाभित्रका पूर्वाधारलगायत समग्र शिक्षा क्षेत्रको विकास गर्न सकिने उनले बताएका छन्।
बजेटबारे थप टिप्पणी गर्दै उनले भने, ‘बजेटले कृषि, पर्यटन, ऊर्जा, औद्योगीकरण र पूर्वाधारलाई प्राथमिकता दिँदै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राखेको छ। तर, स्रोत व्यवस्थापन, कार्यान्वयन क्षमता र विगतका सिकाइको प्रयोगमा स्पष्टता अभाव देखिन्छ।’
पुँजीगत खर्चको कमजोरी, राजस्व र ऋणको यथार्थता तथा कार्यान्वयन संयन्त्रको अभावले यसको प्रभावकारितामा प्रश्न उठाउने महरले बताएका छन्। सामाजिक क्षेत्र, मानव पुँजी र नवप्रवर्तन तथा अनुसन्धानजस्ता दीर्घकालीन विषयमा लगानी कम देखिएको उनको भनाइ छ।
सामाग्री श्रोत :
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ निशा डाँगीले आगामी आर्थिक वर्ष २०८२/८३ देखि डिजिटल कारोबारमा लाग्दै आएको कर हटाउने सरकारी निर्णयको प्रशंसा गरेकी छिन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सांसद् डाँगीले डिजिटल कारोबारलाई करमुक्त मात्र नभई पूर्ण रूपमा निःशुल्क बनाउनुपर्नेमा जोड दिएकी छन् ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल कारोबारमा लाग्ने कर खारेज भएको घोषणा गरेका थिए ।
“मैले सदनमा डिजिटल भुक्तानी निःशुल्क गर्नुपर्छ भन्दै सात पटकसम्म बोलेँ, अर्थमन्त्री ज्यूलाई पत्र बुझाएँ, प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ र अर्थ समितिमा छलफल चलाउन अनुरोधसमेत गरेँ,” प्रतिनिधि सभाकी कान्छी सांसदसमेत रहेकी उनले लेखेकी छन्, “मैले सदन र सार्वजनिक मञ्चमा निरन्तर उठाउँदै आएको विषय आर्थिक वर्ष २०८२/८३ को बजेटमा सम्बोधन भएको छ । बजेटमा डिजिटल कारोबारमा लाग्ने भ्याट हटाउने निर्णय सकारात्मक छ ।”
डाँगीले कर हटाउने निर्णयमात्र पर्याप्त नभएको बताउँदै दिगो र सबल डिजिटल भुक्तानी प्रणालीका लागि आधुनिक पूर्वाधार विकास अत्यावश्यक रहेको औंल्याइन् । “बिस्तारै डिजिटल कारोबार पूर्ण रूपमा निःशुल्क हुने व्यवस्था गरिनुपर्छ । र म त्यसको लागि निरन्तर लागिरहनेछु,” उनले थपिन् ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १३:४५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट यथार्थपरक ल्याएका दाबी गरेका छन्।
शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
अर्थमन्त्री पौडेलले भने, ‘यो बजेट आम्दानी र खर्चको यथार्थपरक रहेको छ। आम्दानी र खर्च दुवैको प्रश्नमा यो बजेट यथार्थपरक छ।’
बिहीबार अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए।
बजेट चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ।
सरकारले ल्याएको बजेटका लागि राजस्व, अनुदान र ऋणबाट स्रोत जुटाइने भनिएको छ। जसमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब स्रोत जुटाइने भनिएको छ।
सुरु भएका आयोजनाहरुलाई सम्पन्न गर्नका लागि बजेटले विशेष ध्यान दिएको उनले बताए। मन्त्री पौडेलले निजी क्षेत्रको मनोबल बनाउने र लगानी वृद्धि गर्ने दृष्टिकोणले अनुकुल रहको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले स्वास्थ्य क्षेत्रमा खासै नयाँपन दिन नसकेको टिप्पणी गरेका छन्। उनले स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरूलाई बजेटले बेवास्ता गरेको भन्दै केही महत्त्वपूर्ण बुँदाहरूमा प्रकाश पारेका छन्।
डा कार्कीले बजेटलाई आठ बुँदामा समीक्षा गर्दै बजेटले जनअपेक्षा पूरा नहुने भन्दै चिन्ता व्यक्त गरेका छन्।
जनशक्ति व्यवस्थापनमा उपेक्षा: स्वास्थ्य क्षेत्रमा जनशक्ति परिपूर्तिका विषयमा बजेटले खासै चासो नदिएको डा कार्कीको भनाइ छ। चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्स उत्पादनमा जोड दिए पनि उनीहरूको व्यवस्थापन र सुविधामा ध्यान नदिइएको उनले औंल्याए।
एनजीओ/आइएनजीओलाई प्राथमिकता: सरकारी स्वास्थ्य प्रणालीलाई बढावा दिनुको सट्टा बजेटले गैर-सरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था (आइएनजीओ) हरूलाई प्राथमिकता दिएको उनको आरोप छ।
स्वास्थ्य बीमा र मौलिक उपचारमा बेवास्ता: स्वास्थ्य बीमाको व्यवस्थापन आफैंले गर्न नसकेको र प्राकृतिक चिकित्सा, योगलगायत नेपालका मौलिक उपचार विधिहरूलाई प्राथमिकतामा नराखिएको उनले बताए।
आधारभूत अस्पताल र राजनीतिक भर्ती केन्द्र: आधारभूत अस्पतालका नाममा राजनीतिक भर्ती केन्द्र बनाउने उद्देश्यले असफल कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ।
जडीबुटी उत्पादनमा बजेट अभाव: सातै प्रदेशमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना हुनुपर्नेमा राजावादी आन्दोलनका कारण क्षतिग्रस्त एक केन्द्रलाई पनि पर्याप्त बजेट विनियोजन नभएको उनले उल्लेख गरे।
पुरानै शैलीमा बजेट: समग्रमा स्वास्थ्य क्षेत्रको बजेट पुरानै ढाँचामा आएको र कुनै नयाँपन दिन नसकिएको उनको निष्कर्ष छ।
दीर्घ रोग र प्रविधिमा ध्यानको कमी: पाठेघरको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायतका विभिन्न दीर्घ रोगको उपचार र नियन्त्रणका लागि कुनै उपलब्धिमूलक कार्यक्रम नआएको उनले बताए। नयाँ प्रविधिको प्रयोग (जस्तै रोबोटिक सर्जरी), स्वास्थ्य अनुसन्धान र औषधि अनुसन्धानका विषयमा पनि बजेट मौन रहेको उनको भनाइ छ।
राज्यको दायित्वमा बेवास्ता: जनतालाई बिरामी हुन नदिनु र बिरामी भएपछि उपचार गर्नु राज्यको दायित्व हो भन्ने पक्षलाई बजेटले बेवास्ता गरेको उनको ठहर छ। स्वदेशी औषधि उद्योगलाई आत्मनिर्भर बनाउने कुनै पनि कार्यक्रम नआएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे।
सामाग्री श्रोत :
swasthyakhabar
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आज भागवत मञ्जरी राधिका दासी आउने भएकी छन्।
उनले शनिबारदेखि कथा वाचन गर्ने कार्यक्रम छ। जेठ १० देखि कथा वाचन गरिरहेकी अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको भने आज बिदाइ हुनेछ।
मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले कोटिहोममा जेठ १७ देखि २६ गतेसम्म श्रीमद्देवी भागवत कथा वाचन गर्ने प्रचार÷प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
भागवत मञ्जरी दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होमहोमादी हुने ठाउँमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताएकी छन्।
‘यस्तो ऐतिहासिक कोटीहोम आफ्नो जेनेरेसनले देखेको पहिलो पटक हुनु पर्दछ, यस्तो दिव्य स्थानमा कथा वाचन गर्न म आउँदै छु ’, फेसबुक लाइभमा उनले भनिन्, ‘कथा वाचनको साथ साथमा त्यहाँ हुने करोडौँ हवनमा पनि हजुरहरू सदा सर्वदा आएर जोडिनुहोला, म पनि आउँदै छु तपाईँहरू पनि आउनुहोस् कोटीहोममा भेटौंला।’
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले आँटेका हरेक गतिविधिमा पूर्णरूपमा साथ दिँदै आएकी कथा वाचिका देवी प्रतिभा र राधिका दासीको कोटीहोम आगमनले आफूलाई उर्जा मिलेको बताए।
देवी प्रतिभालाई बहिनीको रूपमा र राधिका दासीलाई माताको रूपमा सम्बोधन गर्दै आएका महाराजले देवी र माताको प्रवचन श्रवण अवसरलाई सदुपयोग गर्न आग्रह गरे।
सामाग्री श्रोत :
काठमाडौँ । अब वर्षमा एक ठाउँमा एकपल्ट केवाईसी विवरण भरे पुग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारेको हो ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै नागरिकले एक पटक केवाईसी विवरण भरेपछि उक्त विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने र आवश्यक परेमा अन्य निकायले विद्युतीय माध्यमबाट सो विवरण प्राप्त गर्नसक्ने व्यवस्था मिलाइने जानकारी दिए ।
“केवाईसी आवश्यक पर्ने निकायले सो विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्ने व्यवस्था मिलाइनेछ,” उनले भने ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १२:५९
सामाग्री श्रोत :
टेक पाना
निरोगी नेपालः स्वस्थ नेपाली
१७२. स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न ‘निरोगी नेपाल’ अभियान सञ्चालन गरिनेछ। आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिनेछ।
१७३. स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिनेछ। यस सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिनेछ। बीमितहरूको सुविधा थैली क्रमशः वृद्धि गर्दै लगिनेछ। सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बीमितहरूलाई फरक फरक पोलिसी छनौटको सुविधा उपलब्ध गराइनेछ। बीमा सुविधाको दुरूपयोग हुन नदिन दोहोरोपना हटाइनेछ, चुहावट नियन्त्रण र संस्थागत सुशासन कायम गरिनेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसंख्यक समुदायको बीमा सुविधालाई निरन्तरता दिइनेछ। स्वास्थ्य बीमा कार्यक्रमका लागि रु.१० अर्ब विनियोजन गरेको छु। साथै, हालसम्म बाँकी रहेको भुक्तानी दावी रकम तेस्रो पक्षबाट परीक्षण गराई यसै आर्थिक वर्षमा फरफारक गर्ने व्यवस्था मिलाएको छु।
१७४. उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला, कलेजो र क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरणसहित विशिष्टीकृत सेवा विस्तार गरिनेछ। सातै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार गरिनेछ। फागुन महिनामा नसर्ने रोगको सघन स्क्रिनिङ्ग गर्ने व्यवस्था मिलाइनेछ।
१७५. आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएका औषधीहरूको आपूर्ति सुनिश्चित गरिनेछ। वितरण गरिएका औषधीको अभिलेख राख्ने र वेबसाइटमा प्रकाशन गर्ने व्यवस्था मिलाइनेछ। यसका लागि रु. २ अर्ब ६ करोड विनियोजन गरेको छु।
१७६. संक्रामक रोग र महामारीबाट सिर्जना हुने स्वास्थ्य आपतकालीन अवस्थाको पूर्व तयारी एवम् प्रतिकार्यलाई प्रभावकारी बनाउन र डेङ्गी लगायत कीटजन्य रोगको नियन्त्रण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु। थारू समुदायमा गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम् प्रविधि अवलम्बन गरिनेछ।
१७७. स्वदेशमै जलनको गुणस्तरीय उपचार सेवा प्रदान गर्न सबै प्रदेशका एक-एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग
सञ्चालन गरिनेछ। वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ।
१७८. कीर्तिपुर जलन अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ, तीलगङ्गा र रणअम्बिका आँखा अस्पतालको सेवा तथा गुणस्तर वृद्धि गर्न पुँजीगत अनुदानको व्यवस्था गरेको छु।
१७९. निर्माणाधीन आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न गरिनेछ। निर्माण सम्पन्न भएका अस्पतालहरूलाई स्थानीय तह र समुदायको सहकार्यमा सञ्चालन गरिनेछ। यसका लागि रु. ११ अर्ब २४ करोड विनियोजन गरेको छु।
१८०. स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको विस्तार गरिनेछ। अत्याधुनिक स्वास्थ्य सेवाको लागि रोवोटिक प्रविधि तथा कृत्रिम बौद्धिकताको उपयोग गरिनेछ।
१८१. वीर अस्पतालबाट अन्तर्राष्ट्रियस्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्था गरेको छु। कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य सेवाको सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गरिनेछ।
१८२. पाठेघर तथा स्तन क्यान्सर र पाठेघर खस्ने रोगको निःशुल्क परीक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ। बालिका लक्षित एच. पी. भी खोप र चौध वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार गर्न रकम विनियोजन गरेको छु।
१८३. गर्भवती, सुत्केरी तथा नवजात शिशुको जीवनरक्षाका लागि आमा सुरक्षा कार्यक्रम, सुनौला हजार दिन र विपन्न नागरिकका लागि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सञ्चालन गर्न रु. १३ अर्ब ८२ करोड विनियोजन गरेको छु। सबै प्रदेशमा अटिजम तथा बौद्विक अपाङ्गता भएका बालबालिकाहरूको पहिचान, उपचार तथा पुनर्स्थापनाका लागि सेवा प्रारम्भ गरिनेछ।
१८४. मनोसामाजिक परामर्श र सचेतना कार्यक्रममार्फत मानसिक स्वास्थ्य समस्या निराकरण गरिनेछ। मानसिक अस्पताल लगनखेलको क्षमता विस्तार गरिनेछ। काठमाडौं उपत्यका स्थित केन्द्रीय अस्पतालमा मस्तिष्क, मेरूदण्ड तथा स्नायु रोगको गुणस्तरीय उपचारका लागि राष्ट्रिय न्युरोसाईन्स केन्द्र स्थापना गरिनेछ।
१८५. टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालामा स्तरोन्नति गर्न पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ। यसबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएको छु।
१८६. आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, अक्युपञ्चर, आम्ची लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिनेछ। सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिनेछ। राष्ट्रिय आयुर्वेद पञ्चकर्म योग सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ। नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीय तहमा विस्तार गरिनेछ।
१८७. सुपथ मूल्यमा गुणस्तरीय औषधी उपलब्ध गराउन नियमन क्षमता अभिवृद्धि गरिनेछ। राष्ट्रिय औषधी प्रयोगशालाको क्षमता विस्तार गरी सबै प्रकारका औषधीको गुणस्तर जाँच गरिनेछ।
अत्यावश्यक औषधीको स्वदेशमै उत्पादन बढाउन सहजीकरण गरिनेछ।
१८८. राष्ट्रिय जनसङ्ख्या नीति कार्यान्वयन गरी विकास र समृद्धिमा जनसाङ्ख्यिक लाभको उपयोग गरिनेछ। ‘विकास उकालो चढ्ने, मान्छे ओरालो झर्ने’ अवस्थालाई बदल्न ग्रामीण अर्थतन्त्रमा उत्पादन र रोजगारीका अवसरहरू सिर्जना गरिनेछ। बसाइँसराइलाई व्यवस्थित गर्ने र जनसङ्ख्या वृद्धिदरलाई प्रतिस्थापन दरभन्दा कम हुन नदिने नीति लिइनेछ।
१८९. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि रु ९५ अर्ब ८१ करोठ विनियोजन गरेको छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । पिपुल्स क्याम्पसले ‘दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तन’ विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपालले अहिलेको युगमा क्याम्पसहरूले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। यस्ता सेमिनार अनुसन्धानका निष्कर्षहरुमाथि मन्थन गर्ने थलो भएको बताउँदै नेपालले भने, “यस्ता कार्यक्रमले प्राज्ञिक कर्ममा अपरिहार्य भूमिका खेल्दछन् जसले समसामयिक चुनौतीहरूको समाधान गर्दै शैक्षिक अनुसन्धानको महत्वलाई पनि उजागर गर्छ।”
सम्मेलनमा प्रतिष्ठित प्राज्ञिक व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गरेका थिए। प्रा. डा. अर्हन स्थापितले “कर्पोरेट सामाजिक उत्तरदायित्व र दिगो व्यवस्थापन” विषयमा बोल्दै व्यवसायमा दिगोपन समावेश गर्न कर्पोरेट समाजिक जिम्मेवारीको भूमिका महत्वपूर्ण रहने बताए।
डा. दशरथ न्यौपानेले “शैक्षिक क्षेत्रमा उद्यमशील मानसिकताको विकास” शीर्षकमाथि आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। उनको जोड थियो, नवप्रवर्तन र आर्थिक वृद्धिका लागि उद्यमशीलताको समावेशीकरण आवश्यक छ।
सेमिनारमा डा. शंकरनाथ अधिकारीको “व्यवसायको दिगोपनका लागि प्राविधिक उन्नति” शीर्षकमा प्रविधिहरूले कसरी दिगो व्यवसाय अभ्यासलाई सुदृढ पानै सकिन्छ भन्ने विषयमा चर्चा गरे। त्यसैगरी, डा. जीतेन्द्र डंगोलले पनि “वित्तीय नवप्रवर्तनका लागि प्राविधिक उन्नति र दिगोपन” विषयमा कृत्रिम बुद्धिमत्ता र अन्य अत्याधुनिक प्रविधिहरूले वित्तीय क्षेत्रमा ल्याउने रूपान्तरण बारे पनि अन्तरसंवाद गरेका थिए।
“गत वर्षको अनुभवलाई आधार बनाएर यस वर्ष सेमिनार अझ व्यवस्थित र सहभागीहरूको संख्यामा वृद्धि गराइएको छ,” पिपुल्स क्याम्पसका प्रमुख मनोज कुँवरले भने। सहायक क्याम्पस प्रमुख रोजेश पण्डितले थपे, “यस वर्ष एमफिल र पीएचडी अनुसन्धानकर्ताहरूलाई सहभागी गराइएको छ जसले सेमिनारको शैक्षिक गम्भीरतालाई अझ गहिरो बनाउनेछ।”
सेमिनारको यो दोस्रो संस्करण हो। पिपुल्स क्याम्पसले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राष्ट्रिय तथा विश्वव्यापी दिगोपना लक्ष्यसँग मेल खाने अनुसन्धान र संवादलाई प्रवद्र्धन गर्न यो कार्यक्रम गरेको हो।
दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तनका क्षेत्रमा ज्ञान आदानप्रदान र नविनतम दृष्टिकोणहरूका लागि यो एक महत्वपूर्ण मञ्च हुने अपेक्षा गरिएको छ। दुई दिनसम्म चल्ने यो कार्यक्रममा २०० भन्दा बढी विद्यार्थी, अनुसन्धानकर्मी, शिक्षक तथा प्राज्ञिक व्यक्तित्व सहभागी छन्।
सामाग्री श्रोत :
दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तनबारे पिपुल्स क्याम्पसमा मन्थन
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक करोड १२ लाख २८ हजार रुपैयाँमा र्याक सर्भर खरिद गर्ने भएको छ । विभागले यसका लागि एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ ।
गृह मन्त्रालयअन्तर्गतको यस विभागले गत ८ चैतमा र्याक सर्भर टाइप १ र टाइप २ आपूर्ति, डेलिभरी तथा स्थापना सम्बन्धी बोलपत्र आव्हान गरेको थियो । प्राप्त बोलपत्रमध्ये प्राविधिक तथा आर्थिक प्रस्तावको मूल्याङ्कन गर्दा न्यूनतम मूल्य प्रस्ताव गर्ने एस्ट्रल कम्प्युटर्स छनोटमा परेको विभागले जनाएको छ ।
काठमाडौंको सानो गौचरण, ज्ञानेश्वरमा रहेको एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिले सरकारी खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम प्रक्रिया पूरा गरी विभागसँग सम्झौता गर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ ११:५७
सामाग्री श्रोत :
टेक पाना