२०८२ कार्तिक ६ बुधबार
LATEST NEWS
२०८२ कार्तिक ६ बुधबार

काठमाडौँ । दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारका लागि आईएमई खल्ती लिमिटेडको इजाजतपत्र नवगठित सञ्चालक समितिलाई हस्तान्तरण गरे । सञ्चालक समितिमा कृष्णप्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रवीण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन् भने प्रमुख कार्यकारी अधिकृतमा विनय खड्का नियुक्त भएका छन् ।

मर्जरसँगै अब खल्ती ब्रान्डमा वालेट सञ्चालन हुनेछ । नयाँ लोगोमा खल्तीको पहिचान बनेको बैजनी रङलाई विस्थापित गरी रातो रङलाई मुख्य बनाइएको छ । लोगोको दायाँपट्टि माथिल्लो भागमा आइएमईको ब्रान्डलाई झल्काउने चङ्गा राखिएको छ भने त्यसको तल कालो अक्षरमा ‘by’ र रातोमा ‘IME’ लेखिएको छ ।

समारोहमा नयाँ लोगो अनावरणका साथै एकीकृत एप र वेबसाइटमा गरिएका प्राविधिक तथा प्रवर्द्धनात्मक परिवर्तनहरूबारे पनि जानकारी दिइएको थियो ।

राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि यी दुई कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ १४:६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो ‘ए’ सिरिज अन्तर्गतको नयाँ फोन ‘ओप्पो ए फाइभ’ नेपाली बजारमा सार्वजनिक गरेको छ । मिडरेन्ज सेगमेन्टमा बलियो डिजाइन, लामो समयसम्म टिक्ने ब्याट्री र भरपर्दो पर्फर्मेन्स खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो मोडेल विस्तार गरेको हो । 

पातलो र आकर्षक डिजाइन रहेको यो फोन ७.९९ एमएम मोटो र १९३ ग्राम तौलको छ । यो फोन अरोरा ग्रीन र मिस्ट ह्वाइट गरी दुई रङमा उपलब्ध छ । 

धुलो, फोहोर र पानीको छिटाबाट बचाउन फोनमा आईपी६५ वाटर एन्ड डस्ट रेसिस्टेन्स सुविधा छ । मिलिटरी-ग्रेड शक रेसिस्टेन्स र बलियो ग्लास स्क्रिनले गर्दा फोन सामान्यभन्दा १.६ गुणा बढी शक्तिशाली बनेको कम्पनीको दाबी छ । 

फोनमा ६,००० एमएएचको विशाल ब्याट्री दिइएको छ । कम्पनीका अनुसार ब्याट्री एक पटक फुल चार्ज गर्दा १६ घण्टाभन्दा बढी युट्युब भिडिओ हेर्न सकिन्छ । ४५ वाटको सुपरभोक फ्ल्यास चार्ज प्रविधिले ८४ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यो ब्याट्रीले पाँच वर्षसम्म राम्रो काम गर्छ । 

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । स्न्यापड्रागन सिक्स एस जेन वन प्रोसेसर रहेको फोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज छ । प्रयोगकर्ताले थप ६ जीबी भर्चुल र्‍याम बढाउन सक्नेछन् ।

२२ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको फोन शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा समेत खरिद गर्न सकिने छ । साथै, आगामी ९ अगस्टभित्र फोन खरिद गर्ने ग्राहकले दुई वर्षको वारेन्टी पाउनेछन् ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ १३:१२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । दुई डिजिटल वालेट कम्पनी खल्ती र आइएमई पे मर्ज भएर (गाभिएर) आज बिहीबार, १ साउनदेखि एक बनेका छन् । दुवै वालेटहरूको डेटा खल्तीमा इन्टिग्रेट (एकीकृत) गर्ने काम पूरा भइसकेको छ । 

दुवै वालेट प्रयोग गरिरहेका ग्राहक तथा आइएमई पे मात्रै प्रयोग गर्ने ग्राहक आफैँले खल्तीमा आफ्नो अकाउन्ट स्थानान्तरण गर्न सक्छन् । यसरी आफ्नो अकाउन्ट स्थानान्तरण गर्ने विषयमा प्रयोगकर्तामा अन्योलता पनि छाइरहेको छ । 

त्यस्तै अन्योल मध्येको एक हो, रिवार्ड पोइन्ट । आइएमई पे वालेटका प्रयोगकर्तालाई आफ्नो रिवार्ड पोइन्ट अब के हुन्छ भन्ने लागिरहेको हुन सक्छ । यस्तो पोइन्टका विभिन्न फाइदा हुने भएकाले प्रयोगकर्ताका लागि यो एउटा चासोको विषय पनि हो ।

खाता मर्ज भइसकेपछि धेरै फिचरहरू पनि मर्ज हुँदैछन् । यसै क्रममा रिवार्ड पोइन्ट पनि मर्ज हुने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार अकाउन्ट मर्ज गरेसँगै आइएमई पेको रिवार्ड पोइन्ट खल्तीको रिवार्ड पोइन्टमा थप हुनेछ । (आफ्नो आइएमई पे वालेटलाई खल्तीमा मर्ज गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्न सक्नु हुनेछ ।)

यसअघि खल्ती प्रयोग नगर्ने र आइएमई पे मात्रै चलाउने प्रयोगकर्ताको रिवार्ड पोइन्ट पनि अब खल्ती वालेटमै सर्नेछ । यससँगै प्रयोगकर्ताको पुरानो जम्मा भएको रकम, रकमको ब्याज, कारोबारको विवरण लगायत सबै खल्तीमा स्थानान्तरण हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: साउन १, २०८२ १२:४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । एनआईसी एसिया बैँकको मोबाइल बैङ्किङ ‘मो बैँक’ मा देखिएको समस्या समाधान भएको छ । बिहीबार बिहानैदेखि बैँकको सिस्टममा समस्या आउँदा ग्राहक मर्कामा परेका थिए ।

मोबाइल बैङ्किङ सेवामा समस्या आउँदा ब्यालेन्स नदेखिने, रकम ट्रान्सफर गर्न नमिल्नेदेखि क्यूआर कोड स्क्यान समेत नहुने जस्ता समस्याहरू ग्राहकले भोग्नुपरेको थियो । बैँकले केही समय अघि एक सूचना जारी गर्दै हाल सबै सेवाहरू नियमित रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको हो । 

 

पछिल्लो अध्यावधिक: साउन १, २०८२ ११:२





सामाग्री श्रोत :
टेक पाना

नेपालमा पुरानो श्वासप्रश्वास सम्बन्धी रोग अर्थात् क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) को भार दिनानुदिन गहिरिँदो देखिन्छ। स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र ग्‍लोबल बर्डन अफ डिजिज (जीबीडी) २०१९ को प्रतिवेदनअनुसार नेपालमा कुल मृत्युमध्ये ७० प्रतिशतभन्दा बढी मृत्यु नसर्ने रोगका कारण भएको देखिन्छ। तीमध्ये मुटु सम्बन्धी रोगले करिब २४ प्रतिशत र सीओपीडीले २१ प्रतिशत जनशक्ति गुमाएको छ। यो तथ्यांक स्वयंमा एउटा चेतावनी हो कि नेपालजस्तो मध्यम आय भएका देशहरूमा श्वासप्रश्वाससम्बन्धी रोग अब केवल वृद्धहरूमा सीमित नरही, एक सार्वजनिक स्वास्थ्य संकट बन्दै गएको छ।

सीओपीडी सामान्यतया फोक्सोको दीर्घकालीन क्षति र श्वासप्रश्वासको कठिनाइसँग सम्बन्धित  छ । रोगको मुख्य लक्षणहरूमा लगातार खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, र सामान्य काम गर्दा समेत थकाई लाग्ने जस्ता समस्या पर्छन् । यो अवस्था दीर्घकालीन हुन्छ, र प्रायः उपचार सम्भव हुँदाहुँदै पनि जनचेतना, पहिचान, र समयमै उपचार नपुग्दा रोग गम्भीर चरणमा पुग्ने गर्छ ।

संक्रामक रोगहरुमा जस्तो यो रोगमा एकपटक औषधी सेवन गरेर पूरा निको भने हुँदैन । लामो समयसम्म औषधी सेवन, दैनिकी जीवनको उचित व्यवस्थापन एवम् केही थेरापीको समेत आवश्यकता पर्न सक्दछ । 

नेपालमा सीओपीडी को प्रमुख कारणहरू मध्ये घरेलु वायु प्रदूषण पहिलो स्थानमा आउँछ । दाउरा, गोबर, परालजस्ता परम्परागत इन्धनको प्रयोग अझै पनि ग्रामीण क्षेत्रमा व्यापक छ, जसको सीधा असर विशेषतः महिलाहरूको श्वासप्रश्वास प्रणालीमा पर्ने गरेको छ। त्यस्तै, सहरी क्षेत्रमा भने बाह्य वायु प्रदूषण (सवारी साधन, निर्माण कार्य, र इँटाभट्टाहरू) प्रमुख कारक बनेका छन्। अध्ययनहरूमा उल्लेख गरिएको छ कि सहरी वायुमा हुने सूक्ष्म कण (पीएम २.५) को मात्रा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सीमा भन्दा दोब्बरभन्दा बढी छ ।

धूम्रपान अर्को गम्भीर समस्या हो। विशेषतः पुरुषहरूमा धूम्रपानको प्रचलन व्यापक छ। अनुसन्धानहरूले देखाएका छन् कि नेपालमा सीओपीडी बिरामीमध्ये झण्डै ६० प्रतिशत हाल पनि धूम्रपान गर्नेहरू हुन्। महिलाहरूमा पनि परोक्ष धूम्रपान -सेकेन्डहेन्ड स्मोक) को असर गम्भीर रूपमा देखिएको छ। यो रोग खासगरी ४० वर्षमाथिका व्यक्तिमा बढी देखिन्छ, तर पछिल्लो समय युवावर्गमा पनि प्रारम्भिक लक्षणहरू देखिन थालेका छन्। यसले जनाइरहेको छ कि जोखिम कारकहरू अझै नियन्त्रणमा छैनन्, र समस्या थप जटिल बन्दैछ।

सीओपीडीको वृद्धिको अर्को खतरनाक पक्ष भनेको यसले अन्य गैर-संक्रामक रोगहरूसँग जोडिएर देखा पर्ने प्रवृत्ति हो। उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह आदिसँग यस रोगको सहअवस्थिति काे-मर्विलिटी हुनाले मृत्यु दर अझै उच्च हुने गरेको पाइन्छ। साथै, यसले उत्पादक उमेरका व्यक्तिहरूलाई असर गर्दा राष्ट्रिय श्रमशक्ति र अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पार्ने गर्छ।

सन् २०२३ मा जेएएमए नेटवर्क ओपनमा प्रकाशित अध्ययनले २०५० सम्ममा सीओपीडी का समस्याहरु २३ प्रतिशतले बढ्ने भविष्यवाणी गरेको छ। यसले स्पष्ट पार्छ कि नेपालजस्ता मध्यम तथा अल्पविकसित देशहरूमा जोखिम अझ बढी रहन्छ, जहाँ वायु प्रदूषण र स्वास्थ्य सेवा पहुँचको अभाव छ। नेपालमा हालसम्म सीओपीडी का लागि कुनै स्पष्ट नीतिगत कार्यक्रम देखिएको छैन, र जनस्वास्थ्यका लागि यो एक मौन महामारी बन्दै गएको संकेत मिलेको छ।

अहिलेको परिस्थितिमा समाधानका उपायहरू बहुआयामिक हुन आवश्यक छ। पहिलो, सार्वजनिक चेतनामूलक कार्यक्रम सञ्चालन गरेर रोगको सुरुवाती लक्षणबारे जानकारी दिनुपर्छ। दोस्रो, स्वास्थ्य संस्थाहरूमा स्पाइरोमेट्रीजस्ता परीक्षण उपकरणहरू सरल रूपमा उपलब्ध गराइनुपर्छ ताकि प्रारम्भिक अवस्थामा रोगको पहिचान गर्न सकियोस्। तेस्रो, वायु प्रदूषण नियन्त्रणका लागि कडाइका साथ वातावरणीय नियमहरूको कार्यान्वयन गरिनुपर्छ। सहरी योजनामा हरियाली प्रवर्द्धन, सार्वजनिक यातायातको सुधार, र निर्माण व्यवसायमा  धुलो नियन्त्रण अनिवार्य गर्नुपर्ने देखिन्छ।

सरकार, नागरिक समाज, र जनस्वास्थ्यका सरोकारवालाहरूको साझा प्रयासबिनाको सीओपीडी नियन्त्रण असम्भवप्रायः छ। यदि हामीले अहिलेबाटै सतर्कता नअपनाउने हो भने, केही दशकपछि नेपाल दक्षिण एशियामै सीओपीडी को केन्द्र बन्न सक्ने गम्भीर सम्भावना देखिन्छ। त्यसैले, सीओपीडी विरुद्धको लडाइँ अब चिकित्सा क्षेत्रसम्म सीमित नरही, नीतिगत प्राथमिकता र सामुदायिक क्रियाशीलताको सवाल बन्न पुगेको छ।

(लेखक आयुर्वेद चिकित्सक एवं स्वास्थ्य अनुसन्धानकर्ता हुन्  )

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सरकारले आजदेखि सबै सार्वजनिक निकायबाट हुने भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागु गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा गरिएको घोषणा कार्यान्वयन गर्दै सरकारले सार्वजनिक निकायमा नगद कारोबार बन्द गर्न लागेको हो ।

यसअघि अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, संस्थान तथा समितिहरूलाई यसको पूर्ण कार्यान्वयन गर्न पत्राचार गरेको थियो ।

सरकारको यो कदमसँगै अब सरकारी कोषबाट हुने सबै प्रकारका भुक्तानी, जस्तै कर्मचारीको तलब-भत्ता, वस्तु तथा सेवा खरिदबापतको रकम, अनुदान, सामाजिक सुरक्षा भत्ता लगायतका कारोबार अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र हुनेछन् ।

बजेटको बुँदा नम्बर ३३५ मा सार्वजनिक निकायबाट हुने सबै भुक्तानीलाई विद्युतीय प्रणालीमा आबद्ध गर्ने नीतिगत व्यवस्था गरिएको छ ।

केही सार्वजनिक संस्थान, बोर्ड तथा समितिहरूमा अझै पनि विद्युतीय भुक्तानी प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन ।

यो प्रणाली लागु भएसँगै नगद कारोबारमा हुने अपारदर्शिता, ढिलासुस्ती र अनियमितताको अन्त्य हुने विश्वास लिइएको छ । तर, ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच र डिजिटल साक्षरताको अभावले कार्यान्वयनमा केही चुनौतीहरू देखिन सक्ने सरोकारवालाहरूले बताएका छन् ।

 

पछिल्लो अध्यावधिक: साउन १, २०८२ ७:२६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ।

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैह्रनाफमूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी दुुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ। बैठकमा मेडिकल कलेजहरुलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन काुननी सहजीकरणका विषयमा पनि छलफल भएको थियो। 

चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुुल्क निर्धारण सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ। कार्यदलले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई बुुझाएको सो प्रतिवेदन अध्ययन गरी कार्यान्वयनको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष प्रा डा अञ्जनीकुमार झालाई हस्तान्तरण गरे। बैठकले आयोगको आगामी आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ। 

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिए। उनले शिक्षा क्षेत्रको नियोजन नभई गुणस्तरीयता कायम गर्दै विस्तार र सहजीकरणमा जानुपर्ने बताए।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । सामाजिक सञ्जाल विशेषगरी फेसबुक र टिकटकमा अहिले एउटा दाबी भाइरल भइरहेको छ । जसमा भनिएको छ, “मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ ।” अष्ट्रेलियाको एक विश्वविद्यालयको अध्ययनले यस्तो निष्कर्ष निकालेको भन्दै शेयर भइरहेका पोस्टले धेरै प्रयोगकर्तामाझ कौतुहल र एक प्रकारको त्राससमेत पैदा गरेको छ ।

तर, टेकपाना फ्याक्टचेकले यो दाबीलाई अतिरञ्जित र भ्रामक रूपमा प्रस्तुत गरिएको पत्ता लगाएको छ । एउटा वास्तविक तर विवादास्पद वैज्ञानिक अध्ययनको तथ्यलाई बङ्ग्याएर यस्तो अफवाह फैलाइएको हो ।

दाबी

सामाजिक सञ्जालमा फैलिएको दाबी अनुसार धेरै मोबाइल चलाउँदा टाउकोमा सिङ पलाउन सक्छ । सोमबार (१४ जुलाईमा)  ‘ग्यालेक्सी खबर’ (galaxykhabar) नामक टिकटक आईडीबाट पोस्ट गरिएको एक भिडिओमा समाचारवाचिकाले भनेकी छिन्, “मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको सनसाइन विश्वविद्यालयमा गरिएको अनुसन्धानमा धेरै मोबाइल चलाउँदा यस्तो नयाँ हड्डी विकसित भएको पाइएको हो ।” भिडिओको पृष्ठभूमिमा सिङजस्तो देखिने मानिसका तस्बिरहरू समेत प्रयोग गरिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त टिकटक भिडिओमा ६६.५ हजारभन्दा बढी लाइक, २०१२ कमेन्ट र ७४.६ हजारभन्दा बढी शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

‘ग्यालेक्सी खबर’ कै फेसबुक पेजले १३ जुलाईमा सोही भिडिओ राखेको देखिन्छ । जसमा यो सामग्री तयार पार्दासम्म ३६.४ हजार रियाक्सन, १.२ हजार कमेन्ट र २.४ हजार शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान

गुगल, फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल र सर्च इन्जिनहरूमा विभिन्न किवर्डहरू राखेर सर्च गर्दा यो दाबी व्यापक रूपमा फैलिएको पाइयो । ‘धेरै मोबाइल चलाउनेको टाउकोमा अब सिङ उम्रन सक्ने’ भन्ने दाबीसँग सम्बन्धित किवर्डहरू जस्तै; ‘मोबाइल चलाउँदा सिङ’, ‘मोबाइल सिङ’, ‘मान्छे सिङ’, ‘phone use horns’, ‘head horns study’ आदि राखेर सर्च गर्दा यस्तै दाबी गरिएका दर्जनौँ पोस्ट तथा पुराना सामग्री भेटिए ।

यसक्रममा फेसबुक पेज ‘NEB Result’ ले १२ जुलाईमा पोस्ट राखेको भेटियो, जसमा लेखिएको छ, “मोबाइल धेरै प्रयोग गर्नेहरुको टाउकोमा सिङ उम्रन सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको सनसाइन विश्वविद्यालयमा गरिएको अनुसन्धानमा धेरै मोबाईल चलाउदा यस्तो नयाँ हड्डी बिकशित भएको पाइएको हो । अनुसन्धानको अनुसार लगातार टाउको झुकाउदा घाँटीमा दबाव परेर हड्डी बाहिर निस्किन सक्ने बताइएको हो ।” यो सामग्री तयार पार्दासम्म ‘NEB Result’ को उक्त पोस्टमा ३.४ हजार रियाक्सन, ३३३ कमेन्ट र २१४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

केही फेसबुक प्रयोगकर्ताहरूले ‘पुरुषको पछाडि र महिलाको अगाडि एन्टेना जस्तो हड्डी पलाउने प्रबल सम्भावना हुन सक्ने’ जस्ता विवरण थपेर समेत पोस्ट गरेका छन् ।

पुराना सामग्री खोज्ने क्रममा अनलाइन खबर डटकम (onlinekhabar.com) ले २०७६ असार ९ गते ‘बढी मोबाइल चलाउँदा खप्परमा पलाउँदैछ ‘सिङ’’ शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो । अनलाइन खबरले पनि सनसाइनकोस्ट विश्वविद्यालयका शोधकर्ताको खोजलाई आधार मानी सीएनबीसीले लेखेको समाचारको आधारमा बढी मोबाइल चलाउने मानिसको खप्परमा सिङजस्तो हड्डी पलाउन थालेको लेखेको छ । समाचारमा भनिएको छ, “स्मार्टफोनको स्क्रिनमा हेर्नका लागि टाउको अगाडि झुकाइरहने बानीका कारण खप्परमा यसरी सिङजस्तो हड्डी पलाउन थालेको शोधकर्ताको निष्कर्ष छ । साथै मोबाइल बढी चलाउने मानिसको शरीरको उठबसको शैली अर्थात् पोस्चरमा हुने गडबडीका कारण पनि त्यस्तो भएको हो ।” हेर्नुहोस् ओरिजिनल लिङ्क र समाचारको शीर्षकको स्क्रिनशट ।

त्यस्तै, जुलाई १५, २०१९ मा नयाँ नेपाल न्युज डटकमले ‘कस्तो अचम्म ! धेरै मोबाइल चलाउँदा टाउकोमा उम्रिँदै छ सिङ’ नामको शीर्षकमा समाचार लेखेको छ । स्रोतको आधार सनसाइन कोस्ट युनिभर्सिटीकै शैधलाई लिएपनि नयाँ नेपाल न्युज डटकमले बढाइचढाइ गरी समाचार लेखेको छ । जसमा लेखिएको छ,- “मोबाइल ट्याबजस्ता साना मेसिनरी सामानका कारण हाम्रो शरीरभित्र रहेको अस्थिपञ्जर अर्थात् कंकालको आकारमा पनि परिवर्तन भइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शोधका अनुसार मोबाइल धेरै प्रयोग गर्ने युवाको शिरमा सिङ निस्किरहेको छ । धेरै ग्याजेट्स चलाउने केही युवाको शिरको स्क्यान गर्दा यो कुरा प्रमाणित भएको हो ।” हेर्नुहोस् ओरिजिनल लिङ्क र समाचारको शीर्षकको स्क्रिनशट ।

यसबाहेक सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा विभिन्न आईडीमार्फत यस्तै सामग्री पोस्ट भइरहेका छन्, जसलाई सयौंले रियाक्सन, कमेन्ट र शेयर गरेका छन् । हेर्नुहोस् केही उदाहरण:

  

भाइरल भइरहेको यो दाबीको सत्यता केलाउन हामीले यसको स्रोत र वैज्ञानिक आधारबारे अनुसन्धान गर्‍यौँ । अनुसन्धानको क्रममा निम्न तथ्यहरू फेला परे:

यो दाबी सन् २०१६ मा अष्ट्रेलियाको युनिभर्सिटी अफ द सनसाइन कोस्ट (University of the Sunshine Coast) का अनुसन्धानकर्ता डेभिड शाहार (David Shahar) र मार्क सेयर्स (Mark Sayers) ले गरेको एक अध्ययनसँग सम्बन्धित रहेको भेटियो । उनीहरूको अनुसन्धान सन् २०१९ मा बीबीसी, वासिङ्टन पोस्ट जस्ता अन्तर्राष्ट्रिय मिडियाले रिपोर्ट गरेपछि विश्वव्यापी रूपमा भाइरल भएको रहेछ ।

‘Journal of Anatomy’ मा प्रकाशित ‘A morphological adaptation? The prevalence ofenlarged external occipital protuberance in youngadults’ शीर्षकको उक्त अध्ययनले १८ देखि ३० वर्ष उमेर समूहका युवाहरूको एक्स-रे विश्लेषण गर्दा सहभागीमध्ये कतिपयको टाउकोको पछाडिपट्टि, घाँटीको ठीक माथि एउटा सानो हड्डीको टुक्रा (Bone Spur) बढेको पाएको थियो । यसलाई वैज्ञानिक भाषामा ‘Enlarged External Occipital Protuberance (EEOP)’ भनिन्छ ।

उक्त अध्ययनमा १८-३० वर्ष उमेर समूहका कुल २१८ जना सहभागीहरूमा ‘EEOP’ (बढेको बाहिरी ओसिपिटल प्रोटुबेरेन्स) को प्रचलनको जाँच गरिएको थियो । यसअन्तर्गत कुल जनसंख्याको ४१ प्रतिशत (८९ जना) मा ‘EEOP’​ अर्थात् उनीहरुको खोपडीको पछाडि १० देखि ३० मिलिमिटरको हड्डीको गाँठो विकास भएको पत्ता लगाएको थियो । पुरुषहरूमा ‘EEOP’​ को प्रचलन महिलाहरूमा भन्दा उल्लेखनीय रूपमा बढी थियो । पढ्नुहोस् अनुसन्धानको नतिजा र निष्कर्ष

उसो भए अनुसन्धानको निष्कर्षमा ‘सिङ’ पलाएको वा पलाउन सक्ने भनिएको छ त ? छैन । अध्ययनमा पाइएको हड्डीको टुक्रालाई सिङ वा एन्टेना कतै भनिएको छैन । यो हड्डीको एउटा सानो असामान्य वृद्धि (बोन स्पर) मात्र हो, जुन सामान्यतया नाङ्गो आँखाले देखिँदैन र बाहिरबाट छाम्दा मात्र महसुस हुन सक्छ । नेपालमा अहिले टिकटक, फेसबुक पोस्टमा देखाइएको जस्तो बाहिरै निस्किएको सिङ पलाउने कुरा अध्ययनले कतै उल्लेख गरेको छैन ।

अनुसन्धानकर्ताहरूको परिकल्पना (हाइपोथेसिस) अनुसार, लामो समयसम्म मोबाइल, ट्याब्लेट वा ल्यापटपजस्ता उपकरण चलाउँदा हाम्रो टाउको लगातार अगाडि झुकिरहन्छ । यो अवस्थालाई ‘टेक्स्ट नेक’ (Text Neck) पनि भनिन्छ । टाउकोको तौल (करिब ५ केजी) लाई सन्तुलनमा राख्न र घाँटीको मांसपेशीमा पर्ने अतिरिक्त दबाबलाई कम गर्न शरीरले अनुकूलनका लागि टाउकोको पछाडि यो सानो हड्डीको विकास गर्छ । यो शरीरको एक प्रकारको रक्षात्मक प्रतिक्रिया हो । अहिले सामाजिक सञ्जालका पोस्टमा भनिएजस्तो यो ‘नयाँ हड्डी’ भने होइन, बरु विद्यमान हड्डीकै सानो वृद्धि हो ।

अर्कोतर्फ पुरुषको पछाडि र महिलाको अगाडि पलाउने दाबी पनि उक्त अध्यययनले पुष्टि गरेको छैन । हड्डीको आकार बढ्यो भने पनि महिला र पुरुष दुवैको टाउकोको पछाडिको भागमा (External Occipital Protuberance) मात्र हुन्छ । पुरुषको पछाडि र महिलाको अगाडि पलाउँछ भन्ने कुरा अफवाहलाई थप रोचक बनाउन थपिएको झुटो विवरण भएको पायौँ ।

अर्कोतर्फ उक्त अनुसन्धानले निकालेका निष्कर्ष नै अहिलेसम्म विवादित बनिरहेको छ । अनुसन्धानकर्तामध्ये एक डेभिड शाहारको व्यावसायिक स्वार्थ रहेको आरोप लागेपछि अध्ययनको निष्पक्षतामाथि नै प्रश्न उठेको छ ।

शाहार पेशाले एक काइरोप्राक्टिक हुन् । उनले ‘डाक्टर पोस्टर’ नामक अनलाइन स्टोर सञ्चालन गर्दै आएका छन्, जहाँ राम्रो पोस्चरका लागि विभिन्न उपकरण बेचिन्छन् । अध्ययन प्रकाशन गर्ने बेलामा उनले स्वार्थको खुलासा नगरेको पाइएपछि विवाद उत्पन्न भएको थियो । यस विषयमा द वासिङ्टन पोस्टले प्रकाशित गरेको सामग्री यहाँ क्लिक गरी पढ्नुहोस् ।

तर यही अध्ययनलाई लिएर स्मार्टफोन प्रयोगले मानिसकको टाउकोमा सिंग वा हड्डीको वृद्धि गराउने भन्दै बेलाबेलामा सनसनी तरिकाले पोस्ट बनाउने गरेको पाइन्छ । उक्त अध्ययनले स्मार्टफोन प्रयोगको सीधा मापन गरेकै थिएन । पछिका अध्ययनहरूले पनि स्मार्टफोन प्रयोग र हड्डी‍ वृद्धिको सम्बन्धलाई पुष्टि गरेको तथ्य भेटिएन । थिबट ज्याक्ससहितको टोलीले गरेको एक अनुसन्धानमा २०११ र २०१९ बिच ‘EEOP’ को प्रचलन र आकारमा कुनै ठुलो परिवर्तन नभएको पाएको थियो । यो अवधि भनेको स्मार्टफोन प्रयोग वृद्धि भएको अवधि हो । पढ्नुहोस् उक्त रिसर्च पेपर

टाउकोको पछाडि सानो हड्डीको वृद्धि देखिनु सामान्य शारीरिक प्रक्रिया हुन सक्छ भनी विभिन्न अध्ययनहरूले देखाए पनि यस्तो वृद्धिलाई मोबाइल फोनको अत्यधिक प्रयोग (टेक नेक) सँग सिधा जोडेर हालसम्म कुनै वैज्ञानिक अध्ययन नै नभएको पाइयो ।  

दाबी

धेरै मोबाइल चलाउँदा टाउकोमा सिङ पलाउन सक्ने ।

दाबीकर्ता

टिकटक/फेसबुक पेज ‘ग्यालेक्सी खबर’, एनईबी रिजल्ट लगायत ।

तथ्य

भाइरल दाबीमा ‘सिङ’ भनिएको कुरा वास्तवमा टाउकोको पछाडि कहिलेकाहीँ देखिने एउटा सानो हड्डीको असामान्य वृद्धि (बोन स्पर) मात्र हो, जुन बाहिरबाट देखिँदैन । यसलाई ‘सिङ’ भन्नु अतिरञ्जित र भ्रामक हो । अनि, हड्डीको वृद्धि मोबाइल फोनको प्रयोगले नै हुन्छ भन्ने कुरा वैज्ञानिक रूपमा अहिलेसम्म प्रमाणित छैन । एउटा पुरानो (सन् २०१८) अध्ययनले मोबाइल वा अन्य स्क्रिनमा हेर्दा लामो समयसम्म टाउको अगाडि झुक्ने (Text Neck) बानीले हड्डी वृद्धि हुनसक्ने सम्भावना औंल्याए पनि वैज्ञानिक रूपमा प्रमाणित गरेको थिएन । पछि भएका अन्य विश्वसनीय अनुसन्धानहरूले मोबाइल प्रयोग र यो हड्डीको वृद्धिबिच कुनै सिधा सम्बन्ध भेटाएका छैनन् । हड्डीको असामान्य वृद्धि स्मार्टफोनको आविष्कार हुनुभन्दा पहिले पनि मानिसमा देखिने शारीरिक अवस्था हो ।

निष्कर्ष

एक अष्ट्रेलियाली अध्ययनले केही युवाहरूको टाउकोको पछाडि सानो हड्डी (बोन स्पर) बढेको पाएको थियो, जसलाई ‘सिङ’ वा ‘एन्टेना’ भनिएको छैन । यो वृद्धिको कारण मोबाइलको प्रयोग हुनसक्ने भन्ने कुरा केवल एक विवादास्पद र अप्रमाणित परिकल्पना हो । यसलाई पछिल्ला कुनै पनि अध्ययनहरूले समर्थन गर्दैनन् । पुरुषको पछाडि र महिलाको अगाडि सिङ पलाउँछ भन्ने दाबीमा पनि कुनै सत्यता छैन । यो पूर्ण रूपमा मनगढन्ते हो । तसर्थ, विज्ञानको एउटा तथ्यलाई अतिरञ्जित र गलत व्याख्या गरेर सामाजिक सञ्जालमा त्रास र भ्रम फैलाइएको छ । सही शारीरिक मुद्रा कायम राख्नु स्वास्थ्यका लागि राम्रो भए पनि ‘सिङ’ नै पलाउँछ भन्ने हल्लामा कुनै वैज्ञानिक आधार छैन ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ ९:१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । अनलाइन इलेक्ट्रोनिक्स प्लेटफर्म मोबाइलमान्डुले आजदेखि ‘मनसुन धमाका सेल’ सुरु गरेको छ । ‘अफरको चट्याङ, छुटको बतास !’ भन्ने नाराका साथ सुरु भएको यो अभियान एक हप्ता अर्थात् ७  साउनसम्म चल्नेछ ।

यस अभियानमा ग्राहकले विभिन्न इलेक्ट्रोनिक्स सामग्रीमा ६० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार, अभियान अवधिभर ९९९ रुपैयाँमा डेली फ्ल्याश सेल, वालेटमार्फत भुक्तानी गर्दा थप १० प्रतिशत छुट, एउटा किन्दा एउटा सित्तैमा र १० हजार रुपैयाँ बराबरको गिभअवे जस्ता अफरहरू उपलब्ध हुनेछन् ।

ग्राहकलाई सहज र भरपर्दो किनमेल अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा दुई हजार ४९९ रुपैयाँभन्दा माथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा पनि दिइनेछ । साथै, मोबाइल तथा घरेलु उपकरणहरूमा सजिलो किस्ताबन्दी (ईएमआई) को सुविधा पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मोबाइलमान्डुले फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता डिजिटल माध्यमबाट गिभअवे सञ्चालन गर्नेछ । सहभागी ग्राहकहरूले #MonsoonDhamakaSale, #MobileMandu, र #FlashSaleNepal ह्यासट्याग प्रयोग गरी आकर्षक उपहार जित्ने अवसर पाउनेछन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई mobilemandu.com मा गई विभिन्न छुट तथा अफरहरूको लाभ लिन आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८२ ७:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले सञ्चालन गरिरहेको ‘सधैं अन करोडपति’ योजना बन्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनपछि एनसेलले आज (साउन १ गते) देखि लागु हुने गरी उक्त योजना बन्द गरेको हो ।

एक सार्वजनिक सूचना जारी गर्दै एनसेलले प्राधिकरणको निर्देशनअनुसार आफ्ना ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको योजना बन्द गरिएको जानकारी दिएको छ । योजना बन्द हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

यद्यपि, योजनाको सञ्चालन अवधिभित्र सहभागी भइसकेका ग्राहकहरूको हितलाई ध्यानमा राख्दै उनीहरूलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । 

सूचनामा भनिएको छ, “उपभोक्ताहरूको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्र यस योजनामा सहभागिता जनाउनु भएका ग्राहकहरूलाई कम्पनीले प्रतिबद्धता जनाए बमोजिम विजेता घोषणा गरी पुरस्कृत गरिने व्यहोरा समेत अनुरोध गर्दछौं ।”

एनसेलले गत असार १ गतेदेखि १२ हप्तासम्म चल्ने गरी यो योजना सार्वजनिक गरेको थियो । योजना अन्तर्गत हरेक हप्ता १० जना ग्राहकले जनही एक लाख रुपैयाँ र एक जनाले बम्पर उपहारमा एक करोड रुपैयाँ नगद जित्ने व्यवस्था थियो ।

योजनामा सहभागी हुन एनसेलका ग्राहकले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि सेवा (जस्तै डेटा, भ्वाइस, एसएमएस प्याक) खरिद गर्नुपर्ने थियो । हरेक ९९ रुपैयाँ बराबरको खरिदमा ग्राहकले एक टिकट प्राप्त गर्ने र सोही टिकटका आधारमा हरेक हप्ताको आइतबार विजेता घोषणा गर्ने गरिएको थियो । तर, अब प्राधिकरणको हस्तक्षेपपछि योजना बीचमै रोकिएको हो ।

 

पछिल्लो अध्यावधिक: साउन १, २०८२ ७:१२





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट