
काठमाडौँ । अवैध रेडियो सञ्चार उपकरणको अनलाइन बिक्रीमाथि अङ्कुश लगाउन भारत सरकारले नयाँ निर्देशिका जारी गरेको छ । शुक्रबार उपभोक्ता मामिला मन्त्रालय अन्तर्गतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले यस्ता उपकरणको सूचीकरण र बिक्रीलाई नियमन गर्न ‘ई-कमर्स प्लेटफर्ममा वाकी-टकीसहित रेडियो उपकरणको अवैध सूचीकरण र बिक्रीको रोकथाम तथा नियमनका लागि गाइडलाइन, २०२५’ जारी गरेको हो । यससँगै भारतका प्रमुख ई-कमर्स प्लेटफर्म अमेजन, फ्लिपकार्ट, मिशो, जिओमार्ट र मेटाले मापदण्ड पालना नगर्ने वाकी-टकीलाई सूचीबाट हटाएका हुन् । प्रहरी र आपत्कालीन सेवामा प्रयोग हुने महत्त्वपूर्ण सञ्चार नेटवर्कमा हस्तक्षेप गर्न सक्ने अनियन्त्रित वाकी-टकीबारे बढ्दो चिन्तालाई सम्बोधन गर्न यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
“ई-कमर्स प्लेटफर्ममा वाकी-टकी बिक्री गर्दा वायरलेस अपरेटिङ लाइसेन्सको आवश्यकता वा प्रचलित कानुनको पालना सम्बन्धी अनिवार्य तथा स्पष्ट जानकारी नराखेको पाइएको छ,” प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूरसञ्चार विभाग र गृह मन्त्रालयसँगको परामर्शमा तयार पारिएको उक्त नयाँ निर्देशिकाले उपभोक्ता र राष्ट्रिय सञ्चार पूर्वाधारको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको ‘द मिन्ट’मा उल्लेख छ । यससँगै अब आधिकारिक तथा उचित रूपमा प्रमाणित उपकरण मात्र बिक्रीका लागि उपलब्ध हुनेछन् । ई-कमर्स प्लेटफर्मले पनि रेडियो उपकरण सूचीकृत गर्नुअघि उनीहरूले लाइसेन्स पाएका छन् कि छैनन्, पाएका छन् भने मापदण्ड पालना गरेका छन् कि छैनन् भन्ने हेर्नुपर्ने छ । भ्रामक प्रचार वा मिथ्या दाबी भएका पोस्ट ई-मकर्स प्लेटफर्मले स्वतः हट्नेगरी व्यवस्था मिलाएको बताइएको छ ।
पहिले अनलाइनमा बिक्री हुने अधिकांश वाकी-टकीमा आवश्यक प्राविधिक विवरण उपलब्ध हुँदैनथ्यो । खासगरी त्यस्ता उपकरणका लागि वायरलेस अपरेटिङ लाइसेन्सको कानुनी आवश्यकता, फ्रिक्वेन्सी रेन्ज, नियामकीय स्वीकृति वा भारतीय टेलिग्राफ ऐन, १८८५ तथा वायरलेस टेलिग्राफी ऐन, १९३३ अन्तर्गत लाइसेन्स आवश्यक पर्छ कि पर्दैन भन्ने प्राविधिक विवरण उल्लेख हुनुपर्छ । यी विवरण नहुँदा खरिदकर्तामा त्यस्ता उपकरण बिना कुनै प्रतिबन्ध प्रयोग गर्न सकिन्छ भन्ने भ्रममा रहने गरेका थिए ।
नयाँ निर्देशिका अनुसार अनलाइन प्लेटफर्मले अब वाकी-टकीलाई लाइसेन्स आवश्यक पर्ने वा नपर्ने स्पष्ट खुलाउनु पर्नेछ । त्यस्तै स्वीकृत फ्रिक्वेन्सी रेन्ज उल्लेख गर्नुका साथै ‘इक्विपमेन्ट टाइप अप्रुभल’ (ईटीए) जस्ता आधिकारिक नियामकीय प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
भारतमा मोबाइल सिग्नल बुस्टर र वायरलेस जामरको अनलाइन सूचीकरण वा बिक्रीलाई पूर्ण रूपमा अवैध मानिएको छ । बिक्रेताले आफ्ना उपकरणले दूरसञ्चार विभाग (डीओटी)बाट पूर्व-स्वीकृति आवश्यक पर्ने फ्रिक्वेन्सीको प्रयोग नगर्ने सुनिश्चित गर्नु पर्ने जिम्मेवारी वहन गर्नुपर्छ । यस्ता लाइसेन्स आवश्यक पर्ने उपकरण पहिले डीओटीको ‘सरल सञ्चार’ पोर्टलमा सूचीकृत गर्नुपर्छ । त्यसपछि डीओटीको आधिकारिक डिलर (डीपीए होल्डर) बाट मात्र खरिद गर्नुपर्ने हुन्छ ।
‘अपरेसन सिन्दुर’ पछि पाकिस्तानसँग सीमा जोडिएका जिल्लामा ३१ मेदेखि सुरु भएको ‘अपरेसन शिल्ड’ मा नागरिक सुरक्षालाई ध्यानमा राख्दै सरकारले यो कदम चालेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ २१:३
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।
पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् । उनले मापसे सेवन गरी अपशब्द बोलेका कारण रिहा नगरेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले सोमबार काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।
आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन्।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका छन्।
सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्नू परेको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सामाग्री श्रोत :
काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय अथेन्टिकेटर एप माइक्रोसफ्ट अथेन्टिकेटरमा रहेको पासवर्ड व्यवस्थापन प्रणालीलाई चरणबद्ध रूपमा हटाउने घोषणा गरेको छ । यो परिवर्तन सुरु हुनुअघि नै एपका प्रयोगकर्तालाई आफ्ना सबै पासवर्ड सुरक्षित रूपमा सेभ गर्न चेतावनी दिइएको छ ।
माइक्रोसफ्ट अथेन्टिकेटर मुख्यतया अनलाइन अकाउन्टका लागि टु-फ्याक्टर अथेन्टिकेसन प्रदान गर्नका लागि परिचित छ । साथै यसले वेबसाइट र एपका लागि पासवर्ड पनि सेभ गर्ने र स्वतः भर्ने (अटोफिल) सुविधा पनि दिँदै आएको थियो ।
कम्पनीको योजनाअनुसार यही महिनादेखि यो फिचर विस्तारै हट्ने काम सुरु भएको छ । १ जुनदेखि माइक्रोसफ्ट अथेन्टिकेटर एपले नयाँ पासवर्ड सेभ गर्न बन्द गर्ने बताएको छ । माइक्रोसफ्टले पासवर्ड व्यवस्थापनको यो कार्यभार आफ्नो एज ब्राउजरमा सारिरहेको छ ।
१ जुलाईसम्ममा अथेन्टिकेटरमा रहेको अटोफिल फिचर निष्क्रिय हुनेछ भने एपमा सेभ गरिएका क्रेडिट कार्ड लगायतका सबै पेमेन्ट विवरण पनि मेटिनेछन् । यस किसिमको पेमेन्ट डेटा स्वतः एजमा स्थानान्तरण नहुने कुरा माइक्रोसफ्टले स्पष्ट पारेको छ । त्यसैले प्रयोगकर्ताले आफ्नो क्रेडिट कार्ड विवरण नयाँ ठाउँमा वा एजमा म्यानुअल्ली राख्नु पर्नेछ ।
आउँदो अगस्टसम्ममा अथेन्टिकेटर एपमा यसअघि सेभ गरिएका सबै पासवर्ड पूर्ण रूपमा हटाइने कम्पनीले जनाएको छ । माइक्रोसफ्टले अगस्टपछि पनि आफ्ना पासवर्ड र लगइन प्रयोग गरिरहन चाहने प्रयोगकर्तालाई आफ्नो फोन र अन्य डिभाइसमा माइक्रोसफ्ट एज डाउनलोड गर्न सुझाएको छ ।
माइक्रोसफ्ट एजको एकीकृत पासवर्ड म्यानेजर प्रयोग गरी सबै प्लेटफर्ममा पासवर्ड पहुँच र अटोफिल सुविधालाई सुव्यवस्थित गर्ने उद्देश्यले यो कदम चालिएको हो । त्यसैले माइक्रोसफ्ट अथेन्टिकेटरका प्रयोगकर्तालाई आगामी महिनामा हुन लागेको यो परिवर्तनबारे सचेत रहन र आफ्ना महत्त्वपूर्ण पासवर्ड तथा पेमेन्ट डिटेल सुरक्षित रूपमा अन्यत्र सेभ गर्न वा एजमा सार्न सुझाव दिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १८:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं— सरकारले उपत्यकाका थप तीन ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलचौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारी क्षेत्र र बल्खु क्षेत्रलाई दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । यी क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी आदेशमा उल्लेख छ ।
यसअघि नारायणहिटी संग्रहालय आसपास क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोषणा गरिसकेको छ । पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाललगायत विभिन्न राजावादी दल र समूहले अनिश्चितकालीन आन्दोलन घोषणा गरेपछि प्रशासनले प्रदर्शन गर्ने क्षेत्रलाई खुम्च्याउँदै लगेको हो ।
राजावादी दल तथा समूह जेठ १५ देखि आन्दोलनमा छन् । आइतबार पनि उनीहरुले नक्साल-नारायणचौर क्षेत्रमा प्रदर्शन गरेका थिए । त्यसक्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई भेट्न गएका राप्रपा सांसद दीपकबहादुर सिंहलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीस्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको छ ।
काठमाडौंका प्रजिअ तिवारीले निषेधित क्षेत्र तोकिएबाहेक प्रशासनको समन्वयमा हुने कार्यक्रमको हकमा सोहीअनुसार समन्वय गरिने बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
सुर्खेत । कर्णालीका यातायात व्यवसायीहरुले सोमबारदेखि कालो र रातो प्लेटका सवारी साधनहरु चल्न नदिने चेतावनी दिएका छन्।
सरकारले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधासरह सञ्चालनको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै सार्वजनिक यातायात व्यवसायीहरुले आन्दोलनको घोषणा गरेका हुन्।
सवारी ऐन विपरीत संघीय सरकारसँग बाँझिने गरी सातै प्रदेश सरकारहरूले निजी सवारी साधनलाई यात्रु बोक्ने सुविधा सरह सञ्चालनको अनुमति दिने नियमावली ल्याउन लागेकोले आन्दोलन गर्नु परेको यातायात व्यवसायीको भनाई छ।
आइतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका कर्णाली प्रदेशका संयोजक रमेश सापकोटाले सोमबारदेखि सार्वजनिक यातायात चल्न नदिने बताए।
गण्डकी प्रदेश सरकारले ल्याएको विधेयक खारेज गर्नु पर्ने सापकोटाले बताए। ‘गण्डकी प्रदेश सरकारले निजी सवारीसाधन सञ्चालन गर्न ल्याएको नियमावली व्यवसायीको हितमा छैन्’ उनले भने, ‘संघीय सवारी ऐन २०४९ को विपरित छ।’
प्रदेश सरकारले गण्डकीको जस्तै कानून बनाएको अवस्थामा सार्वजनिक यातायात धरापमा पर्ने सापकोटाले बताए। गण्डकीको नियमावली खारेज नभए जेठ १९ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन नगर्ने उनको भनाई छ।
यातायात व्यवसायी महासंघ कर्णाली प्रदेश समितीले सरकारलाई सात बुँदे ज्ञापन पत्र समेत बुझाएको छ। उनीहरुले विभिन्न ७ बुँदे माग राखी आइतबार देशभर एक १ घण्टा चक्काजामसमेत गरेका छन्।
सामाग्री श्रोत :
कर्णालीका यातायात व्यवसायीले कालो र रातो प्लेटका सवारी चल्न नदिने
काठमाडौँ । मिस्टर विस्ट ४० करोड सब्सक्राइबर पुर्याउने विश्वकै पहिलो युट्युब च्यानल बनेको छ । अमेरिकी युट्युबर मिस्टर विस्टको वास्तविक नाम भने जिमी डोनाल्डसन हो ।
हालका दिनमा उनको च्यानलमा दैनिक औसत करिब ३ लाख ५० हजार सब्सक्राइबर थपिइरहेका छन् ।
मिस्टर विस्टले १३ वर्षको उमेरमा फेब्रुअरी २०१२ मा युट्युबमा सामग्री बनाउन सुरु गरेका थिए । सुरुवाती दिनहरूमा उनले गेमिङ भिडिओहरू (जस्तै Minecraft र Call of Duty), सेलिब्रेटीहरूको सम्पत्ति अनुमान गर्ने, युट्युबरहरूको ड्रामामा कमेन्ट गर्ने र युट्युबका टिप्स तथा ट्रिक्स दिने जस्ता सामग्री बनाउँथे । सन् २०१७ मा १ लाखसम्म लगातार गन्ने उनको भिडिओ भाइरल भयो । उक्त भिडिओ बनाउन उनलाई ४४ घण्टा लागेको थियो । त्यसपछि उनले च्यालेन्ज र स्टन्टमा आधारित भिडिओहरूमा ध्यान केन्द्रित गरे, जसले गर्दा उनको च्यानल द्रुत गतिमा अघि बढ्यो ।
मिस्टर विस्टको कन्टेन्ट बनाउने मुख्य सूत्रमा ध्यान खिच्ने च्यालेन्जहरू (प्रायः ठुलो रकम वा सहनशक्ति परीक्षण गर्ने जस्ता) र परोपकारी कार्यहरू रहेका छन् । उनको कन्टेन्ट बनाउने टिममा १०० जनाभन्दा बढी कर्मचारीहरू रहेको बताइन्छ । यो स्तरको उत्पादन लागतले युट्युब भिडिओ र परम्परागत मिडियाबिचको रेखालाई धमिलो पारिदिएको छ ।
मिस्टर विस्टको सफलताको एउटा महत्त्वपूर्ण रणनीति उनको बहु-भाषिक सामग्री पनि हो । अङ्ग्रेजी बोल्नेहरूको सङ्ख्या सीमित भएकाले उनले आफ्ना भिडिओहरूलाई विभिन्न भाषाहरूमा डब गरेका छन्, जसमा स्पेनिस, पोर्चुगिज, फ्रेन्च, रुसी, हिन्दी, अरबी आदि रहेका छन् । यसले उनलाई विश्वभरका दर्शकहरू माझ पुग्न मद्दत गरेको छ र यो उनको सफलताको एक प्रमुख कारण हो ।
विगतमा १ करोड सब्सक्राइबरलाई नै निकै ठुलो उपलब्धि मानिन्थ्यो । विशेषगरी पिउडाइपाई र टी-सिरिज बिचको प्रतिस्पर्धाको समयमा एक करोड सब्सक्राइबरको कुरा धेरै दिनसम्म चर्चामा रहन्थ्यो । अहिले १४ ओटा च्यानलले एक करोडभन्दा बढी सब्सक्राइबर हासिल गरेका छन् । टी-सिरिज पहिलो च्यानल थियो, जसले सन् २०१९ मा १ करोड र सन् २०२१ मा २ करोड सब्सक्राइबर पार गरेको थियो । मिस्टर विस्ट र टी-सिरिज मात्र दुई च्यानल हुन्, जसका सब्सक्राइबर २ करोडभन्दा बढी छन् । मिस्टर विस्टले गत वर्ष मात्र टी-सिरिजलाई पछि पारेर सबैभन्दा धेरै सब्सक्राइबर भएको च्यानल बनेका थिए । मिस्टर विस्ट ३ करोडभन्दा बढी सब्सक्राइबर भएको एक मात्र च्यानल हो, र अब ४ करोड पुग्ने पहिलो बनेको छ ।
युट्युब बाहेक, मिस्टर विस्टले विस्ट बर्गर, फिस्टेबल्स, विस्ट फिलान्थ्रोपी र विस्ट गेम्स जस्ता व्यावसायिक उद्यमहरू पनि विस्तार गरेका छन् । उनको सामग्री र कार्यशैलीलाई लिएर विभिन्न बहस र आलोचनाहरू पनि हुने गरेका छन् । उनको परोपकारी कार्यलाई ‘स्टन्ट परोपकारिता’ भनेर पनि बहस हुने गर्छ । जसमा सामग्री बनाउनकै लागि परोपकार गरिएको हो कि भन्ने प्रश्न उठ्ने गरेको छ । यद्यपि, समर्थकहरूले वास्तविक मानिसहरूले सहयोग पाएकोले जायज भएको तर्क गर्छन् ।
रेडिट छलफलहरूमा केही प्रयोगकर्ताहरूले सब्सक्राइबरहरूमा बोटको सङ्ख्या धेरै हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । साथै, उनले आफ्ना भिडिओहरूमा च्यालेन्जहरूमा नक्कल गर्ने वा धाँधली गर्ने गरेको आरोप पनि लागेको छ । यद्यपि यी आरोपहरू पुष्टि भने भएका छैनन् । कार्यस्थलको वातावरण र दर्शकहरू, विशेषगरी युवाहरूमा पर्ने नैतिक र सामाजिक प्रभावबारे पनि चिन्ताहरू व्यक्त गरिएका छन् । यी बहसका बाबजुद, मिस्टर विस्टको ४० करोड सब्सक्राइबरको उपलब्धिले उनको युट्युब र डिजिटल सामग्री निर्माणमा रहेको विशाल प्रभावलाई देखाउँछ ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १९:१९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– गृह मन्त्रालयले चार जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । गृहमन्त्री रमेश लेखकले बर्दिया, कास्की, धनुषा र पाँचथरको प्रमुख जिल्ला अधिकारी फेरेका हुन् ।
सरुवा सूची अनुसार, मन्त्रालयमा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दिया, शंकरहरि शर्मालाई धनुषा र अरुण पोखरेललाई पाँचथरमा पठाइएको छ ।
कास्कीमा बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई पठाइएको छ । कास्कीका सीडीओ भरतमणि पाण्डेलाई मन्त्रालयमा तानिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए ठेक्का तोडिने बताएका छन्।
मधेस प्रदेश सरकारको एक निर्वाचन क्षेत्रः एक सडक आयोजनाअन्तर्गत आज जनुकपुरधाममा एकैसाथ ६४सडकको विद्युतीय माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सिँचाइको आशामा मधेसका जनताले लामो समय जमिन बाँझो राख्न नसक्ने भएकाले परियोजना चाँडो सक्न आग्रह गरेका हुन्।
सुशासन र विकासमा जोड दिँदै उनले भ्रष्टाचारभन्दा ठुलो अपराध ढिलासुस्ती भएकाले विकासका लागि वामे सराइ नभइ रकेटको शैलीमा काम गर्न आग्रह गरे। कुनै पनि परियोजनमा ढिलासुस्तीले त्यसको लागत बढ्ने र लाभान्वित समूह पनि प्रभावित भई विकास र समृद्धिमा बाधा उत्पन्न हुने उनको भनाइ थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा विकास गरिएको राष्ट्रिय गौरवको उक्त परियोजनाअन्तर्गत सिन्धुलीमा रहेको सुनकोशी नदीको पानी वाग्मती नदीको सहायक नदी मरिन नदीमा अन्तर–बेसिन जल स्थानान्तरण गरी मधेसका रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गराइनेछ।
साथै ३१ दशमलव ०७ मेगावाटको जलविद्युुत् उत्पादनबाट औद्योगिक विकासमा टेवा पुर्याइनेछ। रु ४९ अर्ब ४२ करोडको सो आयोजनाको हेड वक्र्समा गत वर्षको बाढी–पहिरोबाट सामान्य क्षति हुँदा केही समय काम प्रभावित भएको थियो।
प्रधानमन्त्री ओलीले ऐतिहासिक र पवित्र भूमीका रुपमा रहेको मधेस प्रदेशको विकासका लागि केन्द्र सरकार दृढ रहेको बताउँदै जनकपुरको रेल सेवामा घाटा अन्त्य आफ्नै दक्ष जनशक्तिको विकास गरिने बताए।
उनले चुुरे संरक्षण, कृषिमा आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, शिक्षा–स्वास्थ्यमा विशेष ध्यान, जनकपुर रंगशालाको निर्माण, छोरी पढाऔं अभियानजस्ता कामलाई गुणस्तर कायम गर्दै प्राथमिकता दिन आग्रह गरे।
उनले सुशासनका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिँदै राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्ने जो कोहीलाई कारवाही हुने स्पष्ट गरे।
सामाग्री श्रोत :
सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा नसकिए ठेक्का तोडिनेछ : प्रधानमन्त्री
काठमाडौँ । हालै सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेको भन्दै एउटा पोस्ट भाइरल बनिरहेको छ । टिकटकमा ‘स्वाटस्नाइपर१’ नामक प्रयोगकर्ताले शनिबार यस्तो दाबी सहितको सामग्री पोस्ट गरेका थिए । टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचमा यो मिथ्या सूचना भएको खुलेको छ । राजनीतिक दलका शीर्ष नेताहरूको आलोचना गर्न भ्रामक पोस्ट बनाएको देखिन्छ ।
दाबी
शनिबार, ३१ मार्च २०२५ टिकटकमा ‘swatsniper1’ युजरनेम भएका प्रयोगकर्ताले क्याप्सनमा #बालेनशाह र #बालेनफरमेयर राख्दै भिडिओ राखेका छन् । भिडिओको सबैभन्दा माथि ‘मेयर बालेन शाह द्वारा शौचालयको नयाँ लोगो र फोटो सार्वजनिक’ लेखिएको छ । तलपट्टि फोटोमा ‘सार्वजनिक शौचालय चिनाउन प्रयोग हुने बोर्ड’ मेयर शाहले हातमा लिएर अगाडि राखेको देखिन्छ । बोर्डमा भने महिलाको ठाउँमा काङ्ग्रेस नेतृ एवम् पराराष्ट्र मन्त्री डा. आर्जु राणा र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा साढे १९ हजार बढी लाइक, ११०० बढी कमेन्ट, ४५८ शेभ, १५६२ शेयर र ४ लाख २२ हजार भ्युज पुगेको छ । हेर्नुहोस् ओरिजिनल लिंक, अर्काइभ लिंक र स्क्रिनशट ।
अनुसन्धान
टिकटकमा पोस्ट आएको फेला परेपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान सुरु गर्यो । त्यस क्रममा सोही फोटो फेसबुकमा ‘मनिश जङ्ग कार्की’ले ‘लु जा त … सार्वजनिक शौचालय …महिला, पुरूष’ राखेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, अर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यस्तै ‘एकथरीको भनाई’ नामक फेसबुक पेजले ‘फोटो सहितको शौचालय’ क्याप्सन राख्दै पोस्ट राखेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, अर्काइभ पोस्ट र स्क्रिनशट ।
त्यसैगरी फेसबुकमा ‘भट्टी गफ’ नामक फेसबुक पेजले पनि सोही फोटो राखेको छ । ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सार्वजनिक शौचालयको फोटो सहितको लोगो सार्वजनिक गरेका छन् ’ पेजले क्याप्सनमा लेखेको छ । सो पोस्टमा ५७४ बढी रियाक्सन, २० कमेन्ट र १५ शेयर भएको देखिन्छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, अर्काइभ पोस्ट र स्क्रिनशट ।
यस बाहेक अन्य फेसबुक पेजले पनि सोही फोटो राखेको फेला पर्यो । ‘शैचालय’, ‘सौचालय’, ‘बालेन’ जस्ता कीवर्ड फेसबुकमा खोज्दा यस्ता पोस्ट भेटिन्छन् ।
यसरी भाइरल भइरहेको देखिएपछि टेकपाना फ्याक्टचेक डेस्कले फोटो विश्लेषण गर्न थाल्यो । फोटोमा मेयर शाहले हातमा लिएको बोर्डको ‘प्रतिबिम्ब’ टेबुलमा देखिएको छ । प्रतिबिम्बमा मन्त्री राणा र प्रधानमन्त्री ओलीको फोटो देखिन्छ । तर, त्यो प्रतिबिम्ब स्वाभाविक देखिँदैन ।
यसैलाई लिएर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौँ मेयर बालेनप्रति आक्रोश पोख्दै कमेन्ट लेखिरहेका देखिन्छन् । केहीले भने काम ‘राम्रो’ भन्दै उनको प्रशंसा पनि गरिरहेका छन् ।
फोटो डाउनलोड गरेर गुगलमा रिभर्स इमेज सर्च गरी हेर्दा ६ जुन २०२२ मा मेयर शाहले आफ्नै एक्स ह्यान्डलमा फोटो शेयर गरेको फेला पर्यो । उनले ‘काठमाडौँ महानगरपालिकाले होटेल, रेस्टुरेन्ट, बैँक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेका छन् ।’ उक्त क्याप्सनसहित मेयर शाहले सार्वजनिक शौचालयको बोर्ड समातेको फोटो राखेका थिए ।
आधिकारिक फोटोमा महिलाको ठाउँमा महिलाको आइकन र पुरुषको ठाउँमा पुरुषको आइकन देखिन्छ ।
त्यस बाहेक ‘सार्वजनिक शौचालय’ किवर्ड राखेर समाचार खोज्दा पछिल्लो समय काठमाडौँ महानगरपालिकाले लोगो फेरेको भन्ने समाचार फेला पार्न सकिएन । महानगरपालिकाको वेबसाइटमा रहेको ‘सार्वजनिक शौचालय’को सेक्सनमा राखिएको लोगो पनि पहिलेकै यथावत् छ । महानगरपालिका र बालेनको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा कतै पनि लोगो परिवर्तन भएको पोस्ट फेला परेनन् ।
यी सबै पक्षलाई विश्लेषण गर्दा फोटो एडिट गरी महिला र पुरुषको आइकन हटाएर त्यसको ठाउँमा मन्त्री राणा र प्रधानमन्त्री ओलीको फोटो राखेको देखिन आउँछ ।
दाबी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरी परराष्ट्रमन्त्री डा. आरजु राणा र प्रधानमन्त्री ओलीको फोटो राखे ।
दाबीकर्ता
‘स्वाटस्नाइपर१’ नामको टिकटक आईडी, ‘भट्टी गफ’, ‘एक थरीको भनाई’, ‘मनिश जङ्ग कार्की’ लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेका छैनन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो एडिट गरी तयार पारिएको हो ।
निष्कर्ष
टेकपाना फ्याक्टचेक डेस्कले गरेको विस्तृत तथ्यजाँच र काठमाडौँ महानगरपालिकाका वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल लगायतका स्रोतबाट प्राप्त जानकारीअनुसार मेयर बालेन्द्र शाहले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरेका छैनन् । काठमाडौँ महानगरपालिका वा मेयर बालेन्द्र शाहको सचिवालयबाट सार्वजनिक शौचालयको लोगो परिवर्तन गरिएको कुनै पनि आधिकारिक सूचना, निर्णय वा घोषणा हालसम्म सार्वजनिक भएको छैन । काठमाडौँ महानगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक शौचालयमा पहिलेदेखि प्रयोग हुँदै आएको लोगो नै यथावत् छ । नयाँ लोगो प्रयोगमा ल्याइएको छैन । टेकपाना फ्याक्टचेकका अनुसार भाइरल भएको पोस्ट राजनीतिक दलका शीर्ष नेताहरूप्रति असन्तुष्टि व्यक्त गर्ने मनसायले सिर्जना गरेको देखिन्छ । यी सबै तथ्यबाट मेयर शाहले सार्वजनिक शौचालयको लोगो परिवर्तन गरी शीर्ष दलका राजनीतिज्ञको फोटो राखेको भन्ने दाबी पूर्णतः मिथ्या भएको पुष्टि हुन्छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १५:१४
सामाग्री श्रोत :
टेक पाना