
काठमाडौँ । एआई तथा मसिन लर्निङ प्लेटफर्म हगिङ फेसले दुई नयाँ रोबोट बजारमा ल्याउने घोषणा गरेको छ । यीमध्ये एउटा मानवरूपी (humanoid) रोबोटको मूल्य लगभग तीन हजार डलर (चार लाख रुपैयाँ हारहारी) मात्रै हुनेछ ।
हगिङ फेसले फ्रान्सेली रोबोटिक्स कम्पनी ‘द रोबोट स्टुडियो’ सँगको सहकार्यमा ‘होपजेआर’ (HopeJR) नामक ओपन सोर्सको मानवरूपी रोबोट बनाएको हो । यो रोबोट अन्य प्रतिस्पर्धी कम्पनीका रोबोटभन्दा निकै सस्तो छ ।
युनिट्री (Unitree) को जी१ रोबोटको मूल्य १६ हजार डलर र एलन मस्कको टेस्लाको अप्टिमस जेन २ (Optimus Gen 2) मानवरूपी रोबोटको मूल्य कम्तीमा २० हजार डलर पर्ने अनुमान गरिएको छ ।
हगिङ फेसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्लेम डेलान्ग्युले भनेका छन्, “महत्त्वपूर्ण कुरा के हो भने यी रोबोटहरू ओपन सोर्समा आधारित छन् । यसले गर्दा जो कोहीले पनि यसलाई जोड्न, फेरि बनाउन र यसले कसरी काम गर्छ भनी बुझ्न सक्छन् ।”
होपजेआरमा ६६ भन्दा बढी स्वतन्त्र डिग्री अफ फ्रिडम छन्, जसको अर्थ यसले हिँड्न र वस्तुहरू समात्न सक्छ । यद्यपि, यसमा स्वचालित (अटोनमस) हिँडडुलको सुविधा भने देखिँदैन । एउटा भिडिओमा यसलाई मानिसले टाढैबाट नियन्त्रण गरिरहेको देखिन्छ।
Meet HopeJr, a full humanoid robot lowering the barrier to entry!
Capable of walking, manipulating many objects, open-source and costs under $3000 🤯
Designed by @therobotstudio and @huggingface 👇 pic.twitter.com/wCwo8YPOGV
— Remi Cadene (@RemiCadene) May 29, 2025
एआई परीक्षणका लागि डेस्कटप रोबोट ‘रिची मिनी’
हगिङ फेसले ‘रिची मिनी’ (Reachy Mini) नामक अर्को रोबोट पनि बनाएको छ । जुन डिज्नीको चर्चित एनिमेटेड फिल्म ‘वाल-ई’ (Wall-E) को पात्रजस्तो देखिन्छ । यो पनि ओपन सोर्समै आधारित छ । यसलाई एआई एप्लिकेसनहरू परीक्षण गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
रिची मिनी एउटा डेस्कटप युनिट हो । यसले बोल्न, सुन्न र टाउको हल्लाउन सक्छ । यसको मूल्य २५० देखि ३०० डलरसम्म पर्ने अनुमान गरिएको छ।
जेनरेटिभ एआई क्रान्तिको गतिले रोबोटिक्सको क्षेत्रमा नयाँ चासो बढाइरहेको समयमा यी सस्ता रोबोट आएका छन् । यद्यपि, मानवरूपी रोबोटहरूलाई वास्तविक संसारमा विश्वसनीय रूपमा प्रयोग गर्न अझै केही प्राविधिक चुनौतीहरू समाधान गर्न बाँकी छन् । उदाहरणको रूपमा युनिट्रीको जी१ रोबोटको ब्याट्री दुई घण्टासम्म मात्र चल्छ ।
हगिङ फेसले यी दुई रोबोट कहिलेबाट उपलब्ध हुनेछन् भन्नेबारे निश्चित समयसीमा दिएको छैन । सीईओले होपजेआर र रिची मिनी किन्नका लागि वेटलिस्ट खुला रहेको बताएका छन् ।
पछिल्लो समय, हगिङ फेसले रोबोटहरूलाई शक्ति दिने विभिन्न एआई मोडलहरू र थ्रीडी-प्रिन्ट गर्न मिल्ने रोबोटिक हातहरू पनि ल्याएको छ । यसै वर्षको सुरुमा कम्पनीले फ्रान्समा रहेको मानवरूपी रोबोटिक्स कम्पनी ‘पोलन रोबोटिक्स’ लाई पनि खरिद गरेको खबर छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ७:१०
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी – दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको छ ।
घटनाबारे विवरण दिँदै मेडिकल रिलिफ अर्गनाइजेसन गाजाका निर्देशक मोहम्मद अबु अफाशले भने,“अधिकांश घाइतेहरू शरीरको माथिल्लो भागमा चोटपटक भई गम्भीर अवस्थामा छन्, जसका कारण मृतक सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ ।” उनले क्षेत्रमै जारी सैन्य गतिविधिका कारण एम्बुलेन्सहरूलाई घटनास्थलमा पुग्न कठिन भइरहेको बताए ।
प्रत्यक्षदर्शीहरूका अनुसार, बिहानैदेखि हजारौं मानिस उक्त सहायता केन्द्रमा खाद्य तथा अन्य सहयोग सामग्री प्राप्त गर्न जम्मा भएका थिए, यत्तिकैमा अचानक गोलीबारी र विस्फोटहरू सुरु भएको थियो ।
गाजास्थित हमास नियन्त्रित सरकारी सञ्चार कार्यालयले घटनाप्रति प्रतिक्रिया दिँदै यसलाई सहायता वितरण केन्द्रहरूमा पुनःपुनः लक्षित आक्रमण हुने क्रमको एक भाग भएको बताएको छ । यस कार्यालयका अनुसार, उक्त सहायता केन्द्र एक अमेरिकी इजरायली कम्पनीको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालनमा थियो ।
यता, इजरायली रक्षा बल (आइडीएफ) ले आइतवार एक विज्ञप्ति जारी गर्दै मानवीय सहायता वितरणस्थलमा आफ्ना गोलीबाट घाइते भएकोबारे जानकारी नभएको उल्लेख गरेको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । इजरायली सञ्चारमाध्यमहरूले इजरायली सेनाको उपस्थितिको उद्देश्य ‘आतङ्ककारी तत्व’ विरुद्ध लक्षित कारबाही रहेको बताएका छन् ।
यसबीच, इजरायलले मार्च २ तारिखदेखि गाजातर्फ जाने सीमाहरू बन्द गर्दै मानवीय सहयोगको आपूर्ति कटौती गरेको थियो । मे २२ देखि सीमित मात्रामा सहायता पुनः प्रवेश गर्न दिइएको छ ।
मार्च १८ मा हमाससँग दुई महिनाको युद्धविराम टुटेपछि इजरायलले गाजामा पुनः आक्रमण सुरु गरेको थियो । त्यसयता गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार, आइतवारसम्म कुल चार हजार १४९ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १२ हजार १४९ जना घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएका छन् । अनिश्चितकालीन यातायात बन्दको घोषणा भएसँगै विशेष गरी काठमाडौं उपत्यकामा सार्वजनिक सवारी ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न निकै सास्ती खेपिरहेका छन् ।
राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
यता, यातायात व्यवसायीहरूले भने सरकार र ट्राफिक प्रशासनद्वारा भइरहेको ‘दमन’ र ‘अत्याचार’विरुद्ध आन्दोलन गर्नुपरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अन्तर्गत अरनिको बस इकाइ कमिटीका सदस्य राजन गिरी भन्छन्, ‘नेपाल सरकारले हामीलाई दमन गरिरहेको छ । ट्राफिक र प्रहरी प्रशासनले व्यवसायी तथा मजदुरमाथि ज्यादती गर्दै आएका छन् अहिले हामी एकजुट भएर सडकमा उत्रन बाध्य भएका हौं ।’
उनको भनाइमा सरकारले पठाओ लगायतका राइड सेयरिङ सेवामाथि नियन्त्रण गर्नुपर्ने माग पनि छ ।
त्यस्तै, यातायात व्यवसायी अर्जुन श्रेष्ठले आन्दोलन आफ्नो अस्तित्वको रक्षाका लागि भएको बताए । ‘हामी यातायात व्यवसायी भएनौं भने राज्य नै चल्दैन,’श्रेष्ठले भने, ‘सरकार र प्रहरी प्रशासनको दमनविरुद्ध हाम्रो यो आन्दोलन जारी रहनेछ । वार्ताले समाधान निकाल्दैन भने आन्दोलन थप चर्किन्छ ।’
हालसम्म सरकार र संघर्ष समितिबीच औपचारिक वार्ता भने सुरु भइसकेको छैन । यात्रुहरु भने तत्काल सेवा पुनः सञ्चालन गरियोस् भन्ने अपेक्षामा छन् ।
सामाग्री श्रोत :
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक हक नेट प्रालिको सेवा सञ्चालन अनुमति (लाइसेन्स) खारेज भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै एक सूचना जारी गर्दै हक नेटलाई दिइएको इन्टरनेट (इमेल सहित) सेवाको अनुमतिपत्र रद्द भएको जानकारी दिएको हो ।
वीरगञ्ज महानगरपालिका-४, पर्सामा दर्ता रहेको हक नेट प्रा.लिलाई प्राधिकरणले ११ फागुन २०७२ मा अनुमतिपत्र प्रदान गरेको थियो । तर नवीकरणका लागि तोकिएको म्यादसम्म निवेदन नदिएपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार स्वतः अनुमतिपत्र खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणले सो कम्पनीसँग सम्बन्धित सबैलाई जानकारी गराउन सूचना जारी गरेको छ । साथै, कम्पनीले नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमका लागि एक महिनाभित्र सम्पर्क गर्न भनिएको छ । निर्धारित म्यादभित्र सम्पर्क नगरेमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ९:३९
सामाग्री श्रोत :
टेक पाना
पर्सा – चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा पाँचै थरिका पेट्रोलियम पदार्थको समग्र आयातमा एक अर्ब ३५ करोड रकम अर्थात ०.८६ प्रतिशतले गिरावट आएको हो ।
गत आवको १० महिनाको तुलनामा चालु आवको १० महिनामा पेट्रोलियम पदार्थको आयातमा गिरावट आएपछि समग्र पेट्रोलियम पदार्थबाट प्राप्त राजस्वमा भने उल्लेखनीय वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको परिमाणको आधारमा आयात घटेपनि राजस्व सङ्कलनमा वृद्धि भएको बताए ।
चालु आवको १० महिनामा पाँच थरिका पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले ६४ अर्ब ५० करोड रकम राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा पाँचै थरिका पेट्रोलियम पदार्थ आयातबाट ५८ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको थियो । गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा पेट्रोलियम पदार्थबाट सङ्कलन हुने राजस्व १०। ३१ प्रतिशतले वृद्धि भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म ७९ अर्ब ५२ करोड मूल्य पर्ने नौ लाख २९७ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा रु ८३ अर्ब ४७ करोड मूल्यपर्ने आठ लाख १३ हजार ८४६ किलोलिटर डिजेल आयात भएको छ । कार्यालयका अनुसार चालु आवमा डिजेल आयात वापत कार्यालयले ३५ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा ३२ अर्ब ७२ करोड राजस्व सङ्कलन गरेको थियो ।
चालु आवको १० महिनामा रु ३१ अर्ब ७१ करोड मूल्य पर्ने तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकी गत आवको १० महिनामा रु ३२ अर्ब ६० करोड मूल्य पर्ने तीन लाख २६ हजार ३८७ किलोलिटर पेट्रोलको आयात भएको थियो ।
चालु आवको १० महिनामा पेट्रोल आयातबाट कार्यालयले २० अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छभने गत आवको सोही अवधिमा १८ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा ३० अर्ब २८ करोड मूल्य पर्ने रु २६ करोड ४१ लाख सात हजार ५४८ किलोग्राम एलपीजी ग्याँस आयात भएको छ ।
जबकी गत आवको सोही अवधिमा रु २५ अर्ब १९ करोड मूल्य पर्र्ने २३ करोड ५५ लाख ४५ हजार ७४० किलोग्राम एलपीजी ग्याँस आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा एलपी ग्याँस आयात वापत पाँच अर्ब ६७ करोड राजस्व सङ्कलन गरेको छ भने गत आवको सोही अवधिमा एलपीजी ग्याँस आयातबाट चार अर्ब ७० करोड राजस्व सङ्कलन गरेको थियो ।
वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा १३ अर्ब ८८ करोड मूल्य पर्ने एक लाख ५३ हजार १९२ किलोलिटर एटिएफ आयात भएको छ । जबकी गत आवको १० सोही अवधिमा १५ अर्ब ४७ करोड मूल्य पर्ने एक लाख ४५ हजार ३३६ किलोलिटर एटिएफ आयात भएको थियो ।
कार्यालयले चालु आवको १० महिनामा एटिएफ आयात वापत दुई अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आवको सोही अवधिमा दुई अर्ब २२ करोड राजस्व सङ्कलन गरेको थियो । यो नाका हुँदै चालु आवको १० महिनामा ५५ करोड मूल्य पर्ने छ हजार १३० किलोलिटर मट्टितेल आयात भएको छ ।
जबकी गत आवको सोही अवधिमा ५६ करोड मूल्य पर्ने पाँच हजार ३६० किलोलिटर मट्टितेल आयात भएको थियो । कार्यालयले चालु आवको १० महिनामा मट्टितेल आयातबाट १५ करोड राजस्व सङ्कलन गर्यो भने गत आवको सोही अवधिमा पनि १५ करोड नै राजस्व सङ्कलन गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
म्याग्दी। पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो ।
आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले बताए । “मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ”, उनले भने, “अन्नपूर्ण रेञ्जका हिमाल हेर्न र चक्रिय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि आउने पर्यटकका कारण पोखरा र गण्डकी प्रदेशलाई मात्र नभई देशलाई नै फाइदा पुगेको छ ।”
प्रमुख लामिछानेका अनुसार मौरिस हर्जोग, अन्नपूर्ण रेञ्जका हिमाल, पोखरा, गण्डकी प्रदेश र नेपालको पर्यटन क्षेत्रको अन्तरसम्बन्ध छ । मौरिसले लेखेको ‘अन्नपूर्णमा पहिलो पाइला’ नामको पुस्तक २० करोडप्रति बिक्री भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । जुन पुस्तक विश्वमा धेरैप्रति बिक्री हुनेमध्येमा पर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन ९टान० गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले बताए।
“हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेलीहरू आठ हजार मिटरभन्दा अग्लो हिमालमा गए”, हर्जोगले आफ्नो पुस्तकमै लेखेका छन्, “हिमालमा फ्रान्सेली झण्डा फहराएपछि ती त्यत्रा हिमाल कसरी चढे, उनीहरू को हुनरु भनेर हल्लीखल्ली मच्चियो । संसारभरिका मानिसको आँखा खुल्यो ।”
एकतीस वर्षको उमेरमा अन्नपूर्ण आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।
भारतको नयाँदिल्लीमा सामान्य उपचार गरेर जन्मथलो फर्किएका उनले फ्रान्समा पनि राम्रो उपचार नभएपछि अमेरिका पुगेर कृत्रिम हातखुट्टा राखेका थिए । तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गर्नुभएको थियो । हर्जोगसँगै आरोहण यात्रामा रहेका लुइस र चिकित्सक मार्सेलोसहितको टोलीले मोहन शमशेरलाई भेट गरेको थियो । तत्कालीन सरकारले काठमाडौँमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।
हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झण्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर चुनेको थियो । हर्जोगले आफ्नो पुस्तकमा ‘हिमाल चढ्दा के हुन्छ, के हुँदैन’ भनी अविवाहित बसेको र अन्नपूर्ण चढेपछि बिहे गरेको उल्लेख गरेका छन्।
हर्जोगको टोली अन्नपूर्ण चढ्न दुई सय ५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३२ जनाले अन्नपूर्ण आरोहण गरेका छन् ।
प्रथम आरोहीको नाममा पदमार्ग
नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो ।
पदमार्गको प्रवेशबिन्दुमा पर्ने नारच्याङमा आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरको बारेमा जानकारी गराएपछि स्थानीयवासीहरुको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए।
“दुई दशक अघिसम्म अन्नपूर्ण आधार शिविर म्याग्दीको भूगोलमा पर्ने तथ्य र त्यहाँ जाने पदमार्गको पहिचान भएको थिएन,” उनले भने “पदमार्ग पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनका कार्यक्रम गरेपछि पछिल्लो दुई वर्षयता अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग गुल्जार बनेको छ ।”
कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ । हर्गोजले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य हो ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।
पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि गाउँपालिकाले एकीकृत गुरुयोजना तयार पारेर पूर्वाधार निर्माण थालेको अध्यक्ष पुनले बताए ।
अन्नपूर्ण आरोहणको हीरक जयन्ती
हरेक वर्ष नेपाल र विश्वभर विविध कार्यक्रम गरेर अन्नपूर्ण आरोहण भएको दिनको सम्झना गरिन्छ । अन्नपूर्ण आरोहणको ७५ वर्षपछि पहिलो पटक सम्बन्धित भूगोलमा विविध कार्यक्रमका साथै हीरक महोत्सव मनाउन थालिएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर पुनले बताए ।
उनका अनुसार काठमाडौँ र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो । अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को आयोजना र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समिति सहआयोजक भएर महोत्सव गर्न लागिएको हो । हीरक जयन्तीको अवसरमा आइतबारदेखि नारच्याङ गाउँदेखि आधार शिविर जोड्ने मौरिक हर्जोग पदमार्गमा पदयात्रा शुरु भएको छ । पदयात्रा टोलीमा प्रथम आरोही मौरिसका छोरा माथिएस, नाती इथेन हर्जोगलगायत फ्रान्सका छ, बेलायतका तीन, भारतका पाँच र इटलीका एक जना सहभागी भएका छन् ।
नेपाल सरकारको निमन्त्रणामा अन्नपूर्ण आरोहणको हीरक जयन्ती मनाउने कार्यक्रममा सहभागी हुन विदेशी पाहुनाहरु आएका हुन् । आरोहीका परिवारका सदस्य, पर्यटन व्यवसायी, पत्रकारसहित दुई सय जना सहभागी टोली नारच्याङ बेसीदेखि हुमखोला, फुतफुते झरना, साँधीखर्क, भुसकेत, पञ्चकुण्ड ताल हुँदै सोमबार साँझ चार हजार एक सय मिटर उचाईा रहेको अन्नपूर्ण आधार शिविरमा पुग्ने कार्यक्रम छ ।
टोलीका साथै मङ्गलबार अन्नपूर्ण आधार शिविरदेखि नारच्याङ गाउँसम्म हुने ३० किलोमिटर दुरीको म्याराथुन प्रतियोगितामा सहभागी ४२ जना धावकहरुको टोली पनि आधार शिविरतर्फ गएका अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले बताए। पदयात्रा र धावकहरुको टोलीलाई आइतबार बिहान नारच्याङ बेसीमा बिदाइ गरिएको थियो ।
माथि एसको नेतृत्वमा विदेशी कलाकारहरुले सोमबार साँझ आधार शिविरमा आरोहीहरुको सांगितिक कार्यक्रम गर्दैछन् । उनिहरुले शनिबार साँझ नारच्याङ बेसीमा पनि सांस्कृति कार्यक्रम गरेका थिए ।
आफ्ना बुवाले आरोहणका क्रममा प्रयोग गरेको पदमार्ग र आधार शिविरमा पुग्न पाउँदा खुसी लागेको माथिएसले बताए। उनी गत असोजमा उक्त पदमार्गको यात्रामा गएका थिए।
हीरक महोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मङ्गलबार हुने कार्यक्रमको तयारी पूरा भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवा तिलिजा पुनले बताए । पहिलो आरोही हर्जोग, लुइस लचेन र पहिलो नेपाली आरोही सोनाम वाङचुक शेर्पाको आधार शिविरमा स्थापना भएको शालिक अनावरण, खुला सङ्ग्रहालय र मौरिस हर्गोज पदमार्गको उद्घाटन, नारच्याङ बेसीमा मुल समारोह, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम तय भएको छ ।
मङ्गलबारदेखि नारच्याङ बेसीमा अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाको सहभागितामा मगर संस्कृतिमा आधारित पुर्खौली नृत्य, झाँकी तथा खुला नृत्य प्रतियोगिता सुरु हुँदैछ । २१ गते पर्यटकीयस्थल घोडेपानी पुनहिलमा पदयात्रा गर्ने कार्यक्रम छ ।
२२ गते पोखरामा प्रथम आरोही हर्जोगले प्रयोग गरेका उपकरण उनका परिवारबाट नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण र हर्गोजले लेखेर फ्रान्सेली राजदूतावासले अनुवाद गरेको पुस्तक ‘द अन्नपूर्ण’ को विमोचन गर्ने कार्यक्रम तय भएको छ ।
सामाग्री श्रोत :
काठमाडौँ । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड शेयरिङ सेवा सञ्चालन तथा नियमन नियमावली २०८२’ को विरोधमा सार्वजनिक यातायात व्यवसायीहरू देशव्यापी हडतालमा उत्रिएका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबार सार्वजनिक यातायात व्यवसायीहरूले आफ्ना सवारी साधनहरू ग्यारेजमै थन्क्याएर सेवा बन्द गरेका हुन् ।
यसको प्रत्यक्ष असर काठमाडौँ उपत्यकासहित देशभरका यात्रुहरूमा परेको छ । काठमाडौँका विभिन्न बस स्टपहरूमा यात्रुहरू गाडी कुर्दै अलपत्र देखिएका छन् । लामो तथा छोटो दुरीका सार्वजनिक बस, माइक्रोबस, टेम्पोजस्ता साधन नचलेपछि विद्यार्थी, कार्यालय जानुपर्ने कर्मचारी, कामदार तथा सर्वसाधारणलाई पैदल यात्रा गर्न बाध्य बनाएको छ ।
सडकमा निजी सवारी साधन र राइड शेयरिङ प्लेटफर्मका सवारी गुडेका छन् । सार्वजनिक यातायात बन्द भएको मौका पारी अफलाइन राइडरले मनपर्दी शुल्क लिएर यात्रु ओसारपसार गर्न थालेको गुनासो पनि आएका छन् ।
यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गण्डकी प्रदेश सरकारको नियमावलीले सवारी तथा यात्रा व्यवस्था ऐन २०४९ को उल्लङ्घन गरेको दाबी गरेको छ । नियमावलीले निजी प्रयोजनका लागि खरिद गरिएका (रातो नम्बर प्लेट) सवारीलाई राइड शेयरिङको नाममा व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न खुला गरेकाले आफ्नो व्यवसायमाथि अन्यायपूर्ण चुनौती आएको उनीहरूको ठहर छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले नियमावली खारेजीका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलन गर्न बाध्य भएको बताए । “सरकारसँगको वार्ता प्रयास असफल भएपछि आन्दोलन गर्नुपर्ने अवस्था आएको हो,” उनले टेकपानासँग भने ।
व्यवसायीहरूले सात बुँदे मागसहित सार्वजनिक रूपमा आन्दोलनमा उत्रिएका छन् । यसअन्तर्गत गण्डकी प्रदेशको नियमावली खारेज, एकै प्रकारका सेवा प्रदायकलाई समान व्यवहार, एकै किसिमको नम्बर प्लेट प्रयोगलगायतका माग छन् । उनीहरूले सबैखाले सार्वजनिक सवारी सञ्चालनमा समान मापदण्ड लागु गर्नुपर्ने माग राखेका छन् ।
यता, देशभर गरिएको हडतालले जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकासहित विभिन्न सहरहरूमा यातायात ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकी अलपत्र परेका छन् । कलेज जानुपर्ने विद्यार्थी, काममा हिँड्नुपर्ने मजदुर तथा कर्मचारीहरू बिहानैदेखि सडकमा अलपत्र परेका दृश्यहरू देखिएका छन् ।
गण्डकी प्रदेश सरकारले भने नियमावली सर्वोच्च अदालतको आदेश र श्रम तथा उपभोक्ता अधिकारसम्बन्धी कानुनी व्यवस्थाअनुसार ल्याइएको दाबी गर्दै आएको छ । तर व्यवसायीहरू यो नियमावली कानुनी रूपमा अमान्य रहेको जिकिर गर्दै विरोधमा उत्रिएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ८:५३
सामाग्री श्रोत :
टेक पाना
कञ्चनपुर – दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रुपमा काम भइरहेकोे जानकारी दिए । उनका अनुसार बन्दरगाह निमार्णका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन् ।” उनले भने, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।”
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रकम लागतमा बोलपत्र आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ । नेपाली पक्षले बन्दरगाहस्थल खाली गरेर भारतीय पक्षलाई हस्तान्तरण भएपछि पूर्वाधार निमार्ण सुरु हुनेछ ।
बन्दरगाहका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन, भन्सार जाँच भवन, क्वारेन्टाइन भवन, अध्यागमन भवन, सुरक्षा भवनल लगायतका पूर्वाधार निमार्ण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ । भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुक्खा बन्दरगाह निर्माणसँगै पश्चिममी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नयाँदिल्ली। भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ।
स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन्।
गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो। तर, उनले दुवै खोपसँगै बुस्टर डोज पनि लगाएका थिए तर पनि उनको ज्यान गुमाउनु परेको थियो।
भारत सरकारले मानिसहरूलाई भीडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।
ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । आजकल वित्तीय क्षेत्रमा ‘नियो बैंक’ (Neobank) भन्ने शब्द निकै सुनिन्छ । परम्परागत बैँकभन्दा फरक स्वरूपमा आएको यो कस्तो बैँक हो र यसले कसरी काम गर्छ भन्नेबारे धेरैलाई जिज्ञासा हुन सक्छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत आगामी आर्थिक वर्षभित्र नियो बैँक स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । ‘नियो बैँक’ स्थापना गर्ने घोषणा भएसँगै यो धेरैको चासोको विषय समेत समेत बनेको छ । आज हामी तपाईँलाई नियो बैँक के हो र यसले के-कसरी काम गर्छ भन्ने बारेमा बताउँदै छौँ:
के हो नियो बैँक ?
सरल भाषामा भन्नु पर्दा नियो बैँक भनेको भौतिक शाखा नभएका, पूर्ण रूपमा अनलाइन वा डिजिटल माध्यमबाट सञ्चालन हुने वित्तीय संस्था हुन् । यस्ता संस्थाले मोबाइल एप वा वेबसाइट जस्ता डिजिटल प्लेटफर्ममार्फत सबै प्रकारका बैङ्किङ सेवा प्रदान गर्छन् । यस्ता बैँकहरूले परम्परागत बैँकहरू (वाणिज्य बैँक, विकास बैँक) जस्तै वित्तीय सेवाहरू प्रदान गर्छन् । यिनीहरूलाई ‘फिनटेक बैँक’ वा ‘च्यालेन्जर बैँक’ पनि भन्ने गरिन्छ । किन कि नियो बैँकले परम्परागत बैँकलाई चुनौती समेत दिने गर्छन् ।
सरकारले आगामी आर्थिक वर्षमा नियो बैँक स्थापना गर्ने घोषणा गर्नुले नेपालको वित्तीय क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप तीव्रता दिने सङ्केत गर्छ । यस घोषणाले बैङ्किङ सेवालाई अझ बढी मानिससम्म पुर्याउने र डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको देखिन्छ । अझै ठुलो जनसङ्ख्या यसबाट वञ्चित छ । नियो बैँकहरूले यो अन्तरलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैँकले वित्तीय समावेशीकरण नीति, २०८१ मार्फत डिजिटल प्रविधिमा नवप्रवर्तन र डिजिटल वित्तीय सेवाको उपलब्धता, पहुँच र प्रयोग बढाउन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ । नियो बैँक सम्बन्धी सरकारको घोषणालाई यही नीतिको एक हिस्साको रूपमा हेर्न सकिन्छ ।
परम्परागत बैँकभन्दा कसरी फरक छ नियो बैँक ?
नियो बैँकहरू पूर्ण रूपमा अनलाइनमा आधारित हुन्छन्, जसले गर्दा तिनीहरूको सञ्चालन खर्च कम हुन्छ । शाखा र जनशक्तिमा हुने ठुलो खर्च जोगिने भएकाले यस्तो बैँकले ग्राहकहरूलाई कम शुल्क वा राम्रो ब्याजदर उपलब्ध गराउन सक्छन् ।
यस्ता वित्तीय संस्था मूलतः प्रविधिमा आधारित हुन्छन् । जसले प्रयोगकर्ता अनुभव सहज बनाउँछ र सेवाहरू वास्तविक समयमा उपलब्ध हुन्छन् । परम्परागत बैँकहरूभन्दा यिनले कम शुल्क लिने र बचत खातामा उच्च ब्याज दर दिने हुन्छ ।
बजेटिङ, खर्च ट्य्राकिङ र बचत लक्ष्यहरू सेट गर्न सहयोग गर्ने उपकरणहरू पनि यस्ता संस्थाले प्रदान गर्छन् । धेरै नियो बैँकहरूले फ्रिल्यान्सर, साना तथा मझौला व्यवसाय , युवा वा कम बैँकिङ पहुँच भएका विशेष ग्राहक वर्गलाई लक्षित गरी सेवा दिन्छन् । डेटा र प्रतिक्रियाको आधारमा नियो बैँकले नयाँ सुविधाहरू छिट्टै ल्याउन सक्छन् ।
नियो बैँककै नाममा छुट्टै लाइसेन्स जारी नभए पनि इसेवा, फोनपे, खल्तीजस्ता डिजिटल वालेट तथा सेवा प्रदायक कम्पनीका साथै बैँक र केही फिनटेक कम्पनीहरूले नियो बैँकजस्तै सेवाहरू प्रदान गर्न थालेका छन् । धेरै बैँकहरूले आफूलाई डिजिटल बैँकमा रूपान्तरण गर्न आवश्यक पूर्वाधारमा लगानी समेत गरिरहेका छन् ।
नियो बैँकहरूले विभिन्न चुनौतीहरूको पनि सामना गर्नुपर्ने हुन सक्छ । जस्तै नाफा कमाउनु, परम्परागत बैँकहरूका लागि बनाइएका नियमनकारी प्रावधानहरूसँग अनुकूल हुनु, साइबर सुरक्षा र स्थापित बैँकहरूको तुलनामा ग्राहकको विश्वास जित्नु आदि । भौतिक शाखा नहुँदा नगद व्यवस्थापनमा समस्या हुने गरेको विश्वका केही बैँकको उदाहरणबाट देखिन्छ ।
नेपालमा डिजिटल साक्षरता प्रवर्द्धनका चुनौती पनि रहेका छन् । जसमा प्रविधिमा पहुँच, न्यून साक्षरता, ग्रामीण क्षेत्रमा पूर्वाधार अभाव, भाषागत समस्या र आर्थिक स्थिति आदि हुन सक्छन् । साइबर सुरक्षाका लागि दक्ष जनशक्तिको अभाव, नियमित परीक्षणको कमी र साइबर आक्रमणको बढ्दो परिष्कृत प्रविधि नेपालका बैँकहरूमा मुख्य समस्याका रूपमा देखिएका छन् ।
नियो बैँक डिजिटल युगको मागअनुसार उदाएको नयाँ वित्तीय संस्था हो, जसले प्रविधिको प्रयोग गरी बैङ्किङ सेवालाई अझ पहुँचयोग्य, किफायती र सुविधाजनक बनाइरहेको छ । सरकारले नियो बैँक स्थापना गर्ने घोषणा गर्नुले नेपालमा पनि औपचारिक रूपमा यस्ता बैँकहरूको प्रवेशका लागि मार्ग प्रशस्त गरेको छ, जसले वित्तीय समावेशिता र डिजिटल अर्थतन्त्रलाई थप टेवा पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ७:४८
सामाग्री श्रोत :
टेक पाना