
काठमाडौँ । मर्जर प्रक्रियामा रहेका दुई प्रमुख डिजिटल वालेट आइएमई पे र खल्तीले एकअर्काबिच सहकार्य विस्तार गर्दै नयाँ सुविधा सुरु गरेका छन् । यसअन्तर्गत अब विदेशबाट आइएमई मार्फत पठाइएको रकम सिधै खल्ती वालेटमा प्राप्त गर्न सकिने भएको छ ।
यो सुविधा सुरु भएसँगै प्रयोगकर्तालाई रकम झिक्न एजेन्ट वा बैंक धाउनुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ । खल्ती वालेटमा केवाईसी प्रक्रिया पूरा गरेका प्रयोगकर्ताले यो सेवा लिन सक्ने खल्तीका सहसंस्थापक अमित अग्रवालले जानकारी दिए । उनका अनुसार यो नयाँ सुरुवातले डिजिटल भुक्तानी प्रणालीमा थप सहजता ल्याउने छ ।
राष्ट्र बैंकले छिट्टै लेटर अफ अप्रुभल दिनेमा आशावादी रहेको भन्दै उनले भने, “हामी राष्ट्र बैंकको मर्जर स्वीकृतिको पर्खाइमा छौँ । तर, त्यसभन्दा पहिल्यै सहकार्य विस्तार गर्दै प्रयोगकर्तामैत्री सेवाहरू एकीकृत गर्न थालेका छौँ,” अग्रवालले टेकपानासँग भने ।
अग्रवालले खल्ती र आइएमई पेबिचको मर्जर प्रक्रिया योजनाअनुसार नै अगाडि बढिरहेको बताए । “हामीले आवश्यक सम्भाव्यता अध्ययन गरेर राष्ट्र बैंकलाई निवेदन दिइसकेका छौँ,” उनले थपे, “स्वीकृति पाएसँगै नयाँ आर्थिक वर्षबाट एकीकृत कारोबार सुरु गर्ने तयारीमा छौँ ।”
यसअघि नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ संशोधन गरी मर्जर तथा प्राप्तिको मार्ग खुला गरेपछि डिजिटल वालेट कम्पनीहरूबिच गाभिने व्यवस्था बनेको हो ।
खल्ती र आइएमई पे यसअघि नेपाल सुपर लिग फुटबल प्रतियोगितामा संयुक्त टिकटिङ साझेदार बनिसकेका छन् । मर्जर प्रक्रिया सम्पन्न भएपछि एउटै एपमार्फत खल्ती र आइएमई पे दुवै सेवाहरू प्रयोग गर्न सकिने व्यवस्था मिल्नेछ । ग्राहक संख्या र सेवा दायरा दुवैका हिसाबले खल्ती-आइएमई पे एकीकृत संस्थाले देशकै सबैभन्दा ठुलो डिजिटल वालेटको स्वरूप लिने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १६:१२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको वार्तामा सहमति जुटेको छ। सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिसँगै टुंगिएको हो।
गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए।
सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी प्रदेशले गरेको निर्णयका सन्दर्भमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयमार्फत गण्डकी प्रदेश कार्यालयमा अनुरोध गर्नेगरी सहमति भएको जानकारी दिए।
छलफलमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्नेगरी सहमति भएको जनाउँदै त्यो नहुँदासम्म आन्दोलन यथावत् रहने बताए।
यसअघि सोमबार बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा टोली गठन गरेको थियो। उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी थिए।
यातायात व्यवसायीले पनि यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली छलफलका लागि गठन गरेको थियो।
सरकार र व्यवसायीका प्रतिनिधिबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो। त्यसपछि दुवै पक्षका वार्ता टोलीबीच यातायात मन्त्रालयमा भएको छलफल सोमबार अबेर राति छबुँदे सहमति गर्दै टुंगिएको हो।रासस
सामाग्री श्रोत :
सरकार र यातायात व्यवसायीबीच सहमति जुट्यो, यातायात संचालनबारे अझै अन्योल
काठमाडौँ । पछिल्लो १२ महिनामा इन्टरनेटमा ‘बग बाउन्टी’ शब्द खोज्नेमा नेपाल विश्वमै पहिलो स्थानमा रहेको एक तथ्याङ्कले देखाएको छ । गुगल ट्रेन्ड्सको तथ्याङ्क अनुसार नेपाल यस सूचीको शीर्ष स्थानमा रहन सफल भएको हो ।
विगत एक वर्षको अवधिमा नेपालमा यो शब्दको सर्च इन्ट्रेस्ट १०० अङ्कको उच्चतम विन्दुमा पुगेको गुगल ट्रेन्ड्सले देखाएको छ । ट्रेन्ड्समा १०० अंकले कुनै निश्चित अवधिमा उक्त विषयमा सबैभन्दा बढी सर्च भएको अवस्थालाई जनाउँछ । दोस्रोमा रहेको इजिप्टले ४५ सर्च इन्ट्रेस्ट अङ्क पाएको छ । त्यसपछि क्रमशः बङ्गलादेश, मोरक्को लगायतका देश छन् ।
आइतबार एक्स प्रयोगकर्ता ‘स्विटलाई’ (sw33tLie) ले पहिलो पटक यो विषयमा पोस्ट गरेपछि नेपाली साइबर सुरक्षा समुदायमा ‘बग बाउन्टी’बारे थप चर्चा सुरु भएको छ । यस तथ्याङ्कले नेपालमा साइबर सुरक्षा र इथिकल ह्याकिङप्रतिको चासो ह्वात्तै बढेको सङ्केत गरेको छ ।
बग बाउन्टी भनेको एउटा यस्तो कार्यक्रम हो, जहाँ विभिन्न कम्पनी तथा संस्थाले आफ्नो सफ्टवेयर, वेबसाइट, एप्लिकेसन वा प्रणालीमा रहेका सुरक्षा कमजोरी (बग) पत्ता लगाउने व्यक्ति (इथिकल ह्याकर) लाई पुरस्कार स्वरूप निश्चित रकम दिने गर्दछन् । यसले कम्पनीलाई आफ्नो प्रणाली सुरक्षित बनाउन सहयोग पुर्याउँछ भने इथिकल ह्याकरका लागि आयआर्जनको राम्रो अवसर दिन्छ ।
साइबर सुरक्षा अनुसन्धानकर्ता नरेश लाम्गादेका अनुसार नेपालमा इथिकल ह्याकिङको अवधारणा फराकिलो बन्दै गएको छ । “नेपालमा इथिकल ह्याकिङ अनि बग बाउन्टीको प्रभाव बढेको छ, किनभने यसबाट पैसा कमाउन सजिलो हुन्छ भन्ने हिसाबले प्रचार भएको छ,” उनी भन्छन्, “मानिस सीपयुक्त भएर सजिलै एक्जिक्युट गर्न सक्ने भएर आकर्षण बढेको हो ।”
उनका अनुसार गुगल, फेसबुक जस्ता ठुला कम्पनीहरूले पहिलेदेखि नै बग रिपोर्ट गर्ने प्लेटफर्म उपलब्ध गराएकाले ‘कनेक्टिङ ब्यारियर’ कम छ । अर्थात् यस्ता विश्वविख्यात कम्पनीसँग उनीहरूका कमजोरी फेला पारेर सजिलै जोडिन सकिन्छ । “तपाईँले बग मात्रै खोज्नु पर्नेछ, रिपोर्ट गर्ने ठाउँ छँदैछ, भ्यालिड भयो भने त रिवार्ड (पुरस्कार) आउँछ,” उनी थप्छन् ।
यस किसिमको सहजता, राम्रो आम्दानीको सम्भावना र अरूले कमाएको देखेर पनि धेरैमा आकर्षण बढेको उनको भनाइ छ । “यसरी धेरैले पैसा कमाएको र ती विषयमा समाचार समेत आउन थालेपछि अरू मान्छेलाई उत्सुकता लाग्यो,” उनी भन्छन्, “हाम्रो जनसङ्ख्या कम भए पनि रुचि राख्नेको सङ्ख्या तुलनात्मक रूपमा धेरै छ । जसले गर्दा देशगत रूपमा हेर्दा पनि नेपाल शीर्ष स्थानमा पर्नु ठुलो कुरा हो ।”
यस्तै साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेल पनि नेपालमा बग बाउन्टीको चर्चा बढ्नुमा मिडिया कभरेज र यसबाट प्राप्त हुने अवसरलाई प्रमुख कारण मान्छन् । “मिडियाहरूले अरू देशको भन्दा निरन्तर राम्रो तरिकाले कभरेज गरिराखेको भएर नेपालमा यसबारे चासो बढेको जस्तो लाग्छ,” उनी भन्छन्, “यो नयाँ क्षेत्र भयो । त्यसैले सबै जनाले के रहेछ, कस्तो रहेछ भनेर बुझ्न खोजे ।”
उनका अनुसार आईटी पढेका विद्यार्थीका लागि यो एउटा नयाँ र आकर्षक विकल्प बनेको छ । जसले गर्दा पहिले जस्तो ग्राफिक्स डिजाइनिङ, भिडिओ एडिटिङ वा प्रोग्रामिङमा सीमित हुने भन्दा फरक क्षेत्रमा हात हाल्ने मौका मिलेको छ ।
साइबर सुरक्षा अनुसन्धानकर्ता विशाल श्रेष्ठ पनि नेपालमा बग बाउन्टीको विषयमा चासो बढ्नुका पछाडि मिडिया कभरेजलाई नै श्रेय दिन्छन् । उनका अनुसार पहिले ‘फेसबुक अकाउन्ट कसरी ह्याक गर्ने’ जस्ता कुरा खोजिन्थ्यो भने अहिले ‘कसरी बग बाउन्टी सुरु गर्ने’ वा ‘कसरी सेक्युरिटी करियर सुरु गर्ने’ जस्ता कुरा खोजिनुले सकारात्मक परिवर्तन देखाउँछ ।
उनी भन्छन्, “यसरी आफ्नो उत्सुकता पनि मेटिने, करियरलाई पनि राम्रो हुने अनि बग बाउन्टीका विषयमा खोज्दा राम्रा र जानकारीमूलक सामग्रीहरू आउँछन् ।”
उनी आफ्नो भनाइलाई निरन्तरता दिँदै अगाडि थप्छन्, “साथै नेपाली अनुसन्धानकर्ताले ह्याकरवन एम्बेसेडर वर्ल्डकप २०२४ मा तेस्रो स्थान र मेटाको हल अफ फेम २०२४ मा स्थान बनाउनुले प्रगति देखाएको छ । आईटी सेवा मार्फत डलर भित्रिनुमा पनि बग बाउन्टीले योगदान दिएको छ ।”
समाजले ह्याकर वा बग बाउन्टी गर्नेलाई हेर्ने नजर परिवर्तन हुँदै गएकोले पनि यसमा थप आकर्षण बढेको उनको बुझाइ छ ।
बग बाउन्टीलाई करियर बनाउन सकिएला ?
बग बाउन्टीबाट आकर्षक आम्दानी हुन सक्ने भए पनि यो सधैँ सहज नहुने लाम्गादे बताउँछन् । “सबैले बाहिरबाट हेर्दा राम्रो पक्ष मात्र देख्छन्, पैसा कमाएको देखिन्छ । तर त्यो बिचको तनाव, समयको महत्त्व, घण्टौँ लगाउँदा पनि बग नभेट्दा गुज्रिनुपर्ने परिस्थिति, ‘बर्न आउट’ भएको कुरा धेरैले गर्दैनन्,” उनी भन्छन्, “कहिलेकाहीँ एक महिनाभर पनि केही भेटिँदैन ।”
उनका अनुसार बग बाउन्टीलाई पूर्णकालीन काम बनाउन गाह्रो छ । किनभने यसमा निरन्तर दबाब हुन्छ र पत्ता लगाएको बग पनि पहिलो र पृथक हुनुपर्छ । यदि त्यस्तो भएन, गम्भीर सुरक्षा कमजोरी हो, तर अरू कसैले पत्ता लगाएर रिपोर्ट गरिसकेको छ भने डुप्लिकेट हुन्छ र रकम पाइँदैन । “एकदम स्मार्ट, फ्लेक्जिबल र स्पिड चाहिन्छ, यसमा,” उनी थप्छन् ।
नयाँ पुस्ताले बग बाउन्टीमा रुचि देखाउनु सकारात्मक भए पनि यसलाई कसरी अगाडि बढाउने भन्नेमा स्पष्ट हुनुपर्ने नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ताहरूको सुझाव छ । लाम्गादे भन्छन्, “सुरुमै बग बाउन्टीमा हाम फाल्नुभन्दा पहिला आधारभूत कुरा जस्तै सिस्टमले कसरी काम गर्छ, प्रविधिले कसरी काम गर्छ भन्ने बुझ्नुपर्छ । त्यो ज्ञान भएपछि पो कमजोरी खोज्न सकिन्छ ।”
उनका अनुसार बग बाउन्टी आफ्नो सीप परीक्षण गर्ने माध्यम हो । पूर्णकालीन रूपमा पैसा कमाउने उद्देश्य मात्र राख्नु हुँदैन । “फेला परिहाल्यो भने ठिक छ, परेन भने पनि आफ्नो सीप सुधार्छु भन्ने तरिकाले जानुपर्छ,” उनी थप्छन् ।
विशाल श्रेष्ठले सुरक्षा कमजोरी खोज्नेहरूलाई महत्त्वपूर्ण सल्लाह दिएका छन् । “सुरुमा सिक्दा ‘.gov.np’ (नेपालका सरकारी वेबसाइट) साइट वा भीडीपी (Vulnerability Disclosure Program) र बग बाउन्टी कार्यक्रम नभएका वेबसाइटमा बग खोज्नु र रिपोर्ट गर्न खोज्नु गलत हो । यसले साइबर अपराधको मुद्दा समेत लाग्न सक्छ,” उनी भन्छन् ।
श्रेष्ठका अनुसार सिक्नका लागि पोर्टस्विगर (PortSwigger), ट्राइ ह्याक मि (TryHackMe), ह्याक द बक्स (HackTheBox) जस्ता प्लेटफर्म प्रयोग गर्नुपर्छ । त्यस्तै ह्याकरवनका डिस्क्लोज्ड रिपोर्टबाट पनि बग पत्ता लगाउने सीप सिक्न सकिन्छ । त्यसैगरी बग खोज्नका लागि ह्याकरवन (HackerOne), बगक्राउड (Bugcrowd), यसवीह्याक (YesWeHack) जस्ता प्लेटफर्मबाट पुरस्कार पाउन सकिन्छ । विश्वभर बृहत् सञ्जाल भएका मेटा, गुगल, माइक्रोसफ्ट, एप्पल जस्ता कम्पनीका आफ्नै बगबाउन्टी कार्यक्रम पनि हुन्छन् । ती कार्यक्रममा सहभागी हुँदा पुरस्कार पाउनुका साथै उनीहरूको लाइभ ह्याकिङ कार्यक्रममा सहभागी हुने अवसर पनि मिल्न सक्छ ।
सौगात पोखरेलका अनुसार बग बाउन्टीलाई करियरमा अगाडि बढ्ने ‘सिँढी’का रूपमा लिन सकिन्छ । ‘यसबाट नाम, दाम कमाउन र आफ्नो सीप प्रदर्शन गर्न सकिन्छ । जसले गर्दा भोलि कम्पनीहरूले कामका लागि आह्वान गर्न सक्छन्,” उनी भन्छन्, “यो अनुभव भोलि राम्रो जागिरका लागि काम लाग्छ र सरकारी वा अन्य जुनसुकै क्षेत्रमा पनि अवसरको ढोका खुल्न सक्छ ।”
स्नातक तहका विद्यार्थीका लागि यो पार्ट-टाइम कमाईको राम्रो माध्यम बन्न सक्ने उनको भनाइ छ । विगतमा स्नातक तहका विद्यार्थीले ट्युसन पढाउने जस्ता परम्परागत काम गर्नुपर्ने अवस्था थियो । अहिले पनि छ । त्यसैलाई परिमार्जन गर्दै विद्यार्थी बढीभन्दा बढी रिवार्डिङ र करियर उपयोगी काममा समय लगाउन सक्छन् ।
साइबर सुरक्षा र बग बाउन्टीलाई सँगसँगै लैजान सकिने धारणा राख्दै उनी भन्छन्, “बग बाउन्टी साइबर सुरक्षाको एउटा हाँगा जस्तै हो । कसैलाई सीटीएफ (क्याप्चर द फ्ल्याग- सिस्टममा कमजोरी फेला पार्ने प्रतियोगिता) खेल्न रमाइलो लाग्छ, कोही एक्सप्लोइट डेभलपमेन्टमा जान्छन् । यो आफ्नो आवश्यकता र रुचिको कुरा हो ।”
नेपालमा बग बाउन्टी प्रतिको यो आकर्षणले युवामा प्रविधि र साइबर सुरक्षाप्रतिको बढ्दो रुचिलाई दर्साएको छ । यद्यपि यस क्षेत्रमा सफलता पाउन निरन्तर सिकाइ, धैर्यता, सही ज्ञान र कानुनी पक्षको जानकारी राख्नुपर्ने साइबर सुरक्षा अनुसन्धानकर्ताको सुझाव छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २१:११
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत आज स्कटल्यान्डविरुद्ध नेपालले सनसनीपूर्ण जित निकालेको छ ।
सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई एक विकेटले हराएको हो । नेपालका जितका करण केसीको ब्याटिङ सानदार रह्यो ।
२९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा आठौं नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले सानदार अर्धशतक प्रहार गरे । ४१ बल खेलेका उनले तीन चौका र चार छक्कासहित ६५ रन बनाए ।
त्यसअघि आजको खेलमा नेपालका ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले राम्रो ७२ रनको साझेदारी गरेका थिए । भुर्तेलले सानदार अर्धशतक प्रहार गरे । ४४ बलको सामना गरेका उनले ११ चौकासहित ५३ रन बनाए । अर्का ओपनर आसिफले ३३ बलमा २० रन बनाए ।
भीम सार्कीले ४० रन बनाउँदा कप्तान रोहित पौडेलले ३७ रन बनाए । यस्तै गुल्शन झाले ३० बलमा तीन चौका र तीन छक्कासहित ४२ रन बनाए । दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र आरिफ शेखको ब्याट आज चल्न सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ९६ रन बनायो ।
स्कटल्याण्डका लागि चार्ली टेयरले सवार्धिक ८० रन बनाए । ७२ बलको सामना गरेका उनले १२ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, फिन्ले म्याकरिथले ५५ रन जोडे ६७ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे ।
नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल सातौं स्थानमा उक्लिएको छ भने पराजित भएको स्कटल्याण्ड चौथो स्थानमा यथावत् छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
गण्डकी। पोखरा पर्यटन परिषद्ले फेवातालको सीमांकनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ। परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमांकन भन्दै बिनायोजना पोल गाड्न थालेकामा विरोध गरेको हो।
परिषद्ले बिनायोजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए।
राज्यले जग्गाको सीमांकन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उनले सहमति तथा उचित मुआब्जाबिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए। मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ।
परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले छ महिनाभित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि मानहानीको गालबाट बच्न पोल गाडिएको बताए। वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थानीयसँग छलफल नै नगरी सीमांकन गर्न खोज्न गलत हुने धारणा राखे।
परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटनको जग लेकसाइड मासेर पर्यटकीय राजधानी बनाउने सपना नदेख्न आग्रह गरे। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्थानीयको सहमतिमा फेवातालको सीमांकन हुनपर्नेमा जोड दिए।
चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, परिषद्का महासचिव जीवनराज सापकोटा लगायतले स्थानीयवासीको सहमतिमा सीमांकनको विषय टुंग्याउनुपर्ने आवश्यकता औँल्याए।
सन् १९५० को माउण्टेन टुरिजम हुँदै १९६० को हिप्पी टुरिजमदेखि सुरु भएको पर्यटन क्षेत्रको लगानी ड्यामसाइड गौरीघाट हुँदै हाल लेकसाइडको मुख्य क्षेत्र बाराही चोक, हल्लनचोक, खहरे हुँदै खपौदीसम्म होटल, रेष्टुराँ, गेष्ट हाउस तथा ट्राभल्स टे«किङ आदिमा अर्बौ लगानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
सामाग्री श्रोत :
काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने १५ जना राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा १५ जना राइडरलाई कारबाही गरेको हो ।
प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो ।
“राइडर र यात्रुबिच एपबाटै भाडाको सहमति भइसकेको हुन्छ । त्यही सहमति अनुसार राइडरले गन्तव्यसम्म पुर्याइदिने रहेछन्,” टेकपानासँग कुरा गर्दै प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “गन्तव्यमा पुगिसकेपछि पहिले सम्झौता भएको भाडा कम भयो, बढी दिनुस् भन्ने रहेछन् । यसरी बढी भाडा असुल्न खोजेको भन्दै गुनासो आएको थियो ।”
अहिले गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै सेवा ठप्प पारेका छन् । यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारण गन्तव्यमा पुग्न राइड शेयरिङ प्रयोग गरिरहेका छन् ।
यही मौकामा केही राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि राइड शेयरिङ प्लेटफर्मले एपमा देखाइएको भाडा मात्र तिर्न आग्रह गरेका छन् । जिप्रका कास्कीले आइतबार पनि मनलाग्दी भाडा असुलेको फेला पारेपछि आठ राइडरलाई कारबाही गरेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २०:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो ।
गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए ।
त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो ।
त्यस्तै, सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि बिभिन्न कमिटी गठन गरिएको कार्यवहाक प्रवक्ता झाले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
इलाम (फिक्कल)। खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन्।
आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने बताए।
उनले भने, ‘खानेपानीजस्तो अत्यावश्यक चिजलाई ढिलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन। खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ।’
तोकिएको समयमा योजना सम्पन्न नगर्ने गुनासो सुनिएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी उनले गराए। उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु। आज समस्या समाधान निकाल्नु पर्छ। कि ठेकेदारले काम गर्नुपर्छ, कि त ठेक्का रद्द गर्नुपर्छ।’
उक्त कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो।
सरकारले आधारभूतस्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना तर्जुमा गरेको थियो। सोही आयोजनाअन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजनास्थल सुर्योदय नगरपालिका-३, ६-८, १०-१४, इलाम नगरपालिका-१० र रोङ गाँउपालिका–३ मा निर्माण भइरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ।
सामाग्री श्रोत :
खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन: मन्त्री यादव
काठमाडौँ । ‘झोले’ र ‘म झोले हो’ भन्ने शब्दहरू सामाजिक सञ्जाल फेसबुकको ट्रेन्डिङमा देखिएका छन् । सोमबार नेकपा (एमाले)ले ‘म झोले हो’ भन्ने अभियान सुरु गरेसँगै यी शब्द ट्रेन्डिङमा आएका हुन् ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताले ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरेका थिए । त्यससँगै यो नयाँ ट्रेन्डको पक्ष र विपक्षमा अनेक चर्चा परिचर्चा सुरु भइरहेको छ ।
फेसबुकमा ‘झोले’ र ‘म…
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकरणसँग जोड्दै भ्रष्टाचारी ‘झोले’ भएको आरोप लगाएका छन्।
उनले भ्रष्टाचारको नभई राष्ट्रको ‘झोले’ बन्न प्रधानमन्त्रलाई आग्रह समेत गरे। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहीले प्रधानमन्त्री ओली विभिन्न विवादास्पद काण्ड र व्यापारिक समूहको स्वार्थमा लागेको आशय व्यक्त गरेका हुन्।
उनले प्रधानमन्त्री ओलीलाई गिरिबन्धु टी-स्टेट, कम्बोडिया प्रकरण, यति होल्डिङ्स, ओम्नी समूह, भ्यू-टावर, टेरामक्स, भुटानी शरणार्थी प्रकरण, वाइडबडी जहाज खरिद, एनसेल, पोखरा र भैरहवा विमानस्थल निर्माण तथा भिजिट भिसा प्रकरणसँग जोड्दै ‘झोले’ को संज्ञा दिए।
शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू-टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको।”
उनले अगाडि लेखेका छन्, “तर प्रधानमन्त्री ज्यू … भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्।” राप्रपा प्रमुख सचेतक शाहीको यो टिप्पणी प्रधानमन्त्री ओलीले आफूलाई ‘म झोलेले हुँ’ भन्दै सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेपछिको प्रतिक्रियाका रूपमा आएको हो।
प्रधानमन्त्री ओलीको उक्त पोस्टपछि विभिन्न राजनीतिक व्यक्तित्व तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ