
काठमाडौँ । राइड शेयरिङलाइ नियमन र व्यवस्थापन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले ल्याएको ‘गण्डकी प्रदेश राईड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ स्थगन नभएसम्म देशव्यापी रुपमा जारी सार्वजनिक सवारीको आन्दोलन नरोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
राइड शेयरिङ नियमावली लगायत अन्य छ बुँदे मागसहित सोमबार १९ जेठदेखि सवारी ठप्प गरी आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले रातो नम्बर प्लेटलाई यात्रु बोक्ने अनुमति दिने निर्णय स्थगन नगरेसम्म सवारी सुचारु नगर्ने बताएका हुन् ।
सोमबार अबेर रातसम्म सरकार पक्षसँग भएको छलफल छ बुँदे सहमति मस्यौदासहित टुंगिएको छ । सरकारले व्यवसायीको सबै माग पुरा गर्ने गरी सहमति गरेको छ । राइड शेयरिङका हकमा पनि प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेशलाई नियमावली स्थगन गर्ने अनुरोध गर्ने सहमति भएको छ । यद्यपि व्यवसायीले भने सो सहमति कार्यान्वयन नभएसम्म सडकमा सार्वजनिक सवारी चल्ने छैनन् ।
नियम अनुरूप जाने हो भने यातायात मन्त्रालयले नियामावली स्थगनका लागि गण्डकी प्रदेश सरकारसँग समन्वय गर्नका लागि प्रधानमन्त्री कार्यालयमा पत्रचार गर्नुपर्ने हुन्छ । यसपछि प्रधानन्त्री कार्यालयले प्रदेश समन्वय समितिमार्फत प्रदेश सरकारलाई पत्रचार गर्नेछ । यस विषयलाई गण्डकी प्रदेश सरकारले अनुमोदन गर्नुपर्ने हुन्छ । सो अनुमोदन नभएसम्म भने आन्दोलन जारी हुने महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले बताएका छन् ।
सोमबार बसेको बैठकका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा आठ सदस्यीय सरकारी टोली गठन गरेको थियो भने व्यवसायी पक्षबाट महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय वार्ता टोली बनाइएको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ ९:१७
सामाग्री श्रोत :
टेक पाना
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।
सामाग्री श्रोत :
नेपाललाइभ
असार नजिकिएसँगै नुवाकोट छहरेका किसानहरु यतिबेला खेत जोत्ने र खन्ने काममा व्यस्त छन् । असार आउनै लाग्दा रोपाईँको लागि किसानहरुले खेत जोतेर तयारी गरिरहेका हुन् ।
सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/664014/
काठमाडौं – ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको क्यान्सरका कारण निधन भएको छ । लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।
‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका गौतम गाईजात्रा लगायतका थुप्रै हास्य कार्यक्रममा समेत सहभागी हुँदै आएका थिए । कलाकार गौतमको पशुपति आर्यघाटमा मंगलबार बिहान अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
इलाम। खानेपानीमन्त्री प्रदीप यादवले ईलामको कन्याम-पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कन्याम-पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिसत काम भएको आफुले जानकारी पाएकाले बाँकी रहेको काम तत्काल सक्न सम्बन्धित निर्माण व्यवसायीलाई आग्रह गरे।
उनले भने,‘कन्याम-पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु। आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ। कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्का रद्द गर्नुपर्छ।’
मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने बताए।
उनले भने,‘खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन्। खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ। अब सहेर बसिदैन, काम नगरे ठेक्का रद्द गर्छौँ।’
यसैगरी उनले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताए।
‘वर्षाद्को बेला आएको छ, बाढी आउँछ, केही घटना होला त्यसको जिम्मा कस्ले लिने ? बाँकी रहेको यो खानेपानीको काम ततत्काल सुरु गर्नुहोला। अधुरो छोडिएको पाइपलाईनको काम भोली बिहानबाट सुरु गर्नुस्।’
सामाग्री श्रोत :
कन्याम-पञ्चकन्या खानेपानी योजनाको ठेक्का रद्द गर्ने खानेपानी मन्त्रीको चेतावनी
काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओले आफ्नो सेवामा भाडा वृद्धि नगरिएको स्पष्ट पारेको छ । सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड शेयरिङ कम्पनीहरूले भाडा बढाएको समाचार आएपछि पठाओले सोमबार एक सूचना जारी गर्दै यस्तो खण्डन गरेको हो ।
कम्पनीले आफूले नियमित शुल्कमा नै राइड सेवा उपलब्ध गराइरहेको दाबी गरेको छ । पठाओले जारी गरेको सूचनामा भनिएको छ, “आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड शेयरिङले भाडा वृद्धि गरेको समाचार आइरहेका छन्, जसमा पठाओको नाम समेत जोडिएको छ । हामीले नियमित शुल्क मात्रै लिएका छौँ । त्यसैले पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन ।”
यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर थप राइडका लागि प्रोत्साहन गरिरहेको पठाओले जनाएको छ ।
साथै कम्पनीले सुरक्षित र सुनिश्चित राइडका लागि अफलाइन यात्रा नगर्न यात्रुहरूलाई विशेष अनुरोध गरेको छ । “अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुर्व्यवहारमा परेको घटना यस अगाडि पनि आउने गरेकै छ,” सूचनामा भनिएको छ, “अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बीमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन हामी अनुरोध गर्दछौं ।”
पठाओले कुनै समस्या परेमा वा गुनासो तथा उजुरी गर्नका लागि २४सै घण्टा सञ्चालनमा रहने कल सेन्टरको नम्बर ०१-५९७००९९ मा सम्पर्क गर्न सकिने पनि जानकारी दिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ११:१०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –सरकारको वार्ता टोली र यातायात व्यवसायीबिच ६ बुँदे सहमति भएको छ । सोमबार दिनभर र रातिसम्म भएको छलफल ६ बुँदे सहमतिको मस्यौदा तयार गर्दै टुङ्गिएको हो ।
गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए । जस अन्तर्गत सोमबार देशभरका सार्वजनिक यातायात बन्द भएका थिए ।
रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको हो ।
गण्डकी प्रदेशले ल्याएको निर्देशिका रोक्न प्रधानमन्त्री कार्यालयमार्फत् अनुरोध गर्नेगरी सहमति भएको सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए ।
सहमतिसँगै यातायात सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन व्यवसायी सकारात्मक देखिएको सरकाको दाबी छ । तर, बन्द फिर्ता भने भएको छैन । मंगलबार बिहान पनि काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक सवारी चलेका छैनन् । काठमाडौंसहित देशका धेरै सडकमा आज बिहानसम्म सार्वजनिक सवारी बन्दै छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले गण्डकी प्रदेशले नियमावलीमा भएको उक्त बुँदा हटाएपछि मात्रै आन्दोलन स्थगित गर्ने बताए । त्यो नहुँदासम्म आन्दोलन यथावत् रहने उनको भनाइ छ । आज पुनः छलफल हुने उनको भनाइ छ । आजको छलफलपछि मात्रै बन्दको कार्यक्रम फिर्ता लिने व्यवसायीको तयारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्ष पदमा डा सन्तोष पौडेल चुनिएका छन्। उपाध्यक्षमा उम्मेदवारी दिएका उनलाई एमाले नेताहरुले अध्यक्षमा नियुक्त गरेका हुन्।
राजधानीमा शनिबारदेखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनमा एमाले नेता भानुभक्त ढकाल र कृष्णगोपाल श्रेष्ठले हस्तक्षेप गरेर उनीहरुको चित्तमा परेकाहरुलाई विभिन्न पद बाँडफाँट गरेका छन्।
जसअनुसार अध्यक्षमा उम्मेदवारी दिएका भीमराज सिंह महासचिव पदमा चयन भएका छन्। उनी यसअघि उपाध्यक्ष थिए ।
महासचिवमा उम्मेदवारी दिएकी अमृता बराल उपाध्यक्ष बनेकी छिन्। त्यस्तै रामहरी ढकाल पनि उपाध्यक्ष भएका छन्।
उपमहासचिव पदमा खगराज पोखरेल, सचिव पदमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसीलाई नियुक्त गरिएको छ।
सुरुमा ९ पदाधिकारी घोषणा गरिएको थियो। हलले नै अस्वीकार गरेपछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
अध्यक्ष मण्डलमा रहेका ढकाल, श्रेष्ठले फेरि निर्वाचन समितिलाई समेत पेलेर मनमर्जी गरेका हुन्।
निर्वाचन समितिको बिज्ञप्ति, बैधानिकतामाथि प्रश्न
नेताहरुले मनमर्जी गरेको भन्दै निर्वाचन समितिले बिज्ञप्ति निकालेको छ। समितिले घोषणा गरिएकाहरुलाई निर्वाचित भएको प्रमाण पत्र दिन समेत अस्वीकार गरेको छ।
हाललाई निर्वाचन स्थगित भएको बिज्ञप्ति निकालेको छ। बिज्ञप्तिमा भनिएको छ, ‘सर्वसम्मतीको लागि पहल गर्ने भनि यस निर्वाचन समिति समक्ष पटक-पटक समय माग गर्नुभई निर्वाचन समितिले यथेस्ठ रुपमा समय उपलब्ध गराउँदा गराउँदैको अवस्थामा निर्वाचन समितिलाई कुनै थाहा जानकारी नगराई नदिई एकलौटी तवरवाट नेकपा एमालेको पार्टी विधान तथा नियमावलीको व्यवस्था विपरित हुने गरी नाम घोषणा गरिएको हुँदा उक्त घोषणा पार्टी विधान तथा नियमावली र महासंघको विधान समेतको विपरित भएकोले यस निर्वाचन समितिको बैठकको निर्णय अनुसार हाललाई प्रस्तुत निर्वाचन कार्यक्रम अगाडी वढाउन नसकिएको हुँदा अर्को व्यवस्था नभए सम्मको लागि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको वाँकी निर्वाचन प्रकृया तथा कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।’
सामाग्री श्रोत :
swasthyakhabar
पोखरा। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन्।
कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरिन्। आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।
कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ। जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन्। उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा आएका थिइन्।
काठमाडौँबाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा.तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंसा गरिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत मिल्ने बताइन्। उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए।
कोटिहोममा सविता खत्री क्षेत्री पोखरा–१७ बाट २५ हजार, निलम गुरुङ सपरिवार पोखरा–१७ बाट २५ हजार ५, राम बहादुर खाँड ठकुरी पोखरा–८ बाट २५ हजार १ सय ५५, अनिता कुमारी शर्मा पोख्रेल पोखरा-१७ बाट २५ हजार, शोभा महत पोखरा–८ बाट २५ हजार ६ सय ५, झपटबहादुर केसी, देवका केसी तनहुँबाट १० हजार २ सय १०, डिल्लीराम अधिकारी माछापुच्छे-४ बाट २५ हजार, मानव मिलन नारी जागरण नेपाल पोखराबाट २५ हजार १ सय, हरिराज कोइराला पोखरा-६ बाट २५ हजार १ सय ५, हरिराम देवकोटा पोखरा-१७ बाट २५ हजार १ सय ५, नारी परोपकार केन्द्र पोखरा–८ बाट २५ हजार १ सय १५, भवानी आमा समूह पोखरा-८ बाट २७ हजार ५ सय ५५, चन्द्र सुर्य टोल विकास संस्था पोखरा–१७ बाट २५ हजार १ सय, रमेश राज भुसाल काठमाण्डौं बाट १५ हजार ५ सय ५५, शिखतानी चेलीबेटी पोखरा–११ बाट २८ हजार ५५ सहयोग प्राप्त भएको छ।
महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ। यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन।
सुरुको अवस्थामा केही विरोधका आवाज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए।
कोटिहोममा लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र चर्चित लोक दोहोरी गायिका टिका सानुले भजन प्रस्तुत गरी भक्तजन र अतिथिलाई छमछम नचाएका थिए।
कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन्। उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन्। देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ।
अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं। दिनबन्धु पोखरेललगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान जारी छ।
कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् ९हरिवंश पुराण०, कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ ९चण्डी पाठ० जारी छ।
साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठलगायतका अनुष्ठान तथा कर्म, पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर-परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।
पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भइरहेको छ। कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
सामाग्री श्रोत :
काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने ८ जना अफलाइन राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार साँझ पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा आठ जना अफलाइन राइडरलाई कारबाही गरेको हो ।
प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो ।
“इनड्राइभको नाममा राइडरले बढी भाडा लिएको पाइएपछि नियन्त्रणमा लिइएको हो,” डीएसपी बस्नेतले टेकपानासँग भने, “सर्वसाधारणले गुनासो गरेको खण्डमा जतिबेला पनि खटिएर कारबाही गर्छौं ।”
अहिले गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवसायीहरूले राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै सेवा ठप्प पारेका छन् । यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारण गन्तव्यमा पुग्न राइड शेयरिङ प्रयोग गरिरहेका छन् ।
यही मौकामा केही राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि राइड शेयरिङ प्लेटफर्महरूले एपमा देखाइएको भाडा मात्र तिर्न आग्रह गरेका छन् । साथै अफलाइन राइडमा विभिन्न किसिमका जोखिम हुने र भाडा पनि राइडरले मनपरी लिने सम्भावना भएकाले अफलाइन राइड नलिन उनीहरूले आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ११:२३
सामाग्री श्रोत :
टेक पाना