
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन्।
हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए। त्यस आधारमा मन्त्रालयले यस अघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरुका नाममा सात दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ।
प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ। मन्त्री पौडेलले यस अघि अतिक्रमणमा परेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नाममा रहेको अतिक्रमित जग्गा संरक्षणमा समेत पहल गरेका थिए। अब केन्द्रकै सेवा विस्तारका लागि जग्गा उपयोग गर्ने तयारी अघि बढाइएको छ।
देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन्।
कतिपयको जग्गा लिजमा दिइएको छ भने केहीको दर्ता हुन समेत बाँकी रहेको मन्त्रालयको आन्तरिक विश्लेषण छ। यसले केही स्थानको सेवा प्रवाहमा नै समस्या देखिएको छ भने बाँकीमा भावी दिनमा सेवा विस्तारमा प्रभाव पर्ने देखिएकाले यकिन विवरण संकलन गरेर संरक्षणमा सक्रियता देखाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पतालहरुका जग्गा संरक्षणमा थालिएको प्रयासले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे।
सामाग्री श्रोत :
swasthyakhabar
भक्तपुर- शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले २०८२ असार महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण शत प्रतिशत सफलताका साथ सम्पन्न गरेको जानकारी सार्वजनिक गरेको छ।
केन्द्रले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ इतिहास कायम गरेको दाबी पनि गरेको छ। ‘संसार भरी नै यति धेरै संख्यामा मिर्गौला प्रत्यारोपण बिरलै हुने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र ८ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। सोही आर्थिक वर्षमा केन्द्रको अगुवाइमा प्रादेशिक अस्पताल सुर्खेतमा ३, पोखरामा ३ र भेरी अस्पतालमा २ जनाको मिर्गौला प्रत्यारोपण पनि गरिएको थियो। यसका साथै, सोही आर्थिक वर्षमा एक जना मस्तिष्क मृत व्यक्तिबाट प्राप्त एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको थियो।
केन्द्रमा मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरूको उमेर १४ देखि ७१ वर्षसम्म रहेको छ। जसमध्ये, १५५ जना (झन्डै ८० प्रतिशत) ग्रहणकर्ताहरूको उमेर २० देखि ४९ वर्ष समूहका थिए।
मिर्गौला ग्रहणकर्तामध्ये १३६ जना पुरुष (करिब ७३ प्रतिशत) र ५० जना महिला (करिब २७ प्रतिशत) रहेका छन्। यस्तै, अंगदाताहरूमा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) रहेका छन्। यसले अंग प्रत्यारोपणमा लैङ्गिक भेदभाव सुधारोन्मुख देखिए पनि अझै पनि असमानता रहेको देखाउँछ।
देशका सातवटै प्रदेशबाट केन्द्रमा उपचारका लागि आएका बिरामीहरूमध्ये बागमती प्रदेशबाट सबैभन्दा धेरै ३२ प्रतिशत, कोशी प्रदेशबाट २७ प्रतिशत, गण्डकी प्रदेशबाट १३ प्रतिशत, लुम्बिनी प्रदेशबाट ११ प्रतिशत, मधेश प्रदेशबाट १० प्रतिशत, कर्णाली प्रदेशबाट ५ प्रतिशत र सुदूरपश्चिम प्रदेशबाट २ प्रतिशत बिरामीहरू रहेका थिए।
केन्द्रमा देशका विभिन्न भू-भागबाट सबै जातजातिहरू प्रत्यारोपणका लागि आउने गरेका छन्। आदिवासी जनजातिहरू ५२ प्रतिशत, ब्राम्हण क्षेत्री २६ प्रतिशत, मधेशी ११ प्रतिशत, दलित ९ प्रतिशत र मुस्लिम २ प्रतिशतले प्रत्यारोपण गराएका छन्।
मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापनाको १३ वर्ष अवधिमा हालसम्म १४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ।
नेपाल सरकारको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको यस केन्द्रले हालसम्म चारवटा प्रदेश (बागमती, गण्डकी, कर्णाली, लुम्बिनी) मा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ। बाँकी तीनवटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण सेवा सुरु गर्ने योजना बनाएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं- भारतका विभिन्न प्रतिष्ठित शिक्षण संस्थानहरूमा अध्ययनरत नेपाली आवासीय चिकित्सकहरूको दीर्घकालीन मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यो मुद्दालाई प्राथमिक राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा राष्ट्रिय चिकित्सक संघ (एनडान) का अध्यक्ष प्राडा विकास गौचन, महासचिव डा सम्राट पराजुलीलगायत पदाधिकारीहरूले प्रधानमन्त्रीसँग विशेष भेटवार्ता गरेका थिए। उक्त भेटमा, भारतका सम्पूर्ण शिक्षण संस्थानहरूमा अध्ययनरत नेपाली आवासीय चिकित्सकहरूलाई निर्वाह भत्ता उपलब्ध गराउने विषयमा अन्तिम र सार्थक पहल गर्न आग्रह गरिएको थियो।
यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा, पिजीआई चण्डीगढ़मा एमडी, एमएस, डिएम तथा एमसीएच अध्ययनरत नेपाली चिकित्सकहरूले निर्वाह भत्ता प्राप्त गर्न सफल भएका थिए। तर, एम्स लगायत अन्य प्रतिष्ठित शिक्षण संस्थानहरूमा अझै यो सुविधा लागू हुन सकेको छैन।
प्रधानमन्त्री ओली समक्ष एनडानले प्रारम्भिक कार्ययोजना प्रस्तुत गरेको थियो। त्यसलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक कूटनीतिक र कार्यान्वयन पक्षमा निर्णय गराउन पहल गर्ने आश्वासन प्रधानमन्त्री ओलीले दिएको महासचिव डा पराजुलीले जानकारी दिए।
सोही अवसरमा, सात महिनाअघि आवसीय चिकित्सकहरूको लागि हप्ताको ७२ घण्टा काम र कम्तिमा श्रमिक सरह प्रसुति र क्रिया बिदाको लगायतका व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनको पालना नभएको पनि जानकारी गराइएको उनले बताए।
प्रधानमन्त्री ओलीले यसबारे छिटो ठोस कदम लिने उल्लेख गरेको उनकझो भनाइ छ। ‘यो पहलले भारतमा अध्ययनरत सयौं नेपाली चिकित्सकहरूको जीवनमा सुधार ल्याउने अपेक्षा गरिएको छ। यदि यो कार्यान्वयन भयो भने, विदेशमा अध्ययनरत नेपाली चिकित्सकहरूको हक अधिकार सुरक्षित गर्ने दिशामा एक महत्वपूर्ण कदम सावित हुनेछ,’ भेटपछि प्राडा गौचनले भने।
सामाग्री श्रोत :
swasthyakhabar
चिकित्सा विज्ञान, पोषण, सरसफाई, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु (लाइफस्पान) पछिल्लो एक शताब्दिमा करिव दोब्बर भएको छ । तर रोग एवं औषधीरहित उत्पादनशिल आयु (हेल्थस्पान) भने सो अनुसार बढेको छैन। केही दशक अघीसम्म बुढ्यौलीका रोगका रुपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरु हिजोआज युवावस्थामै सामान्य भैसकेको छ । जस्ले व्यक्तिको जीवनको गुणस्तर, उत्पादन र उत्पादकत्वमा ह्रास ल्याएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वका करिव तीन चौथाई मानिसको मृत्यु नसर्ने रोगबाट हुन्छ । जसको करिव आधा मृत्यु अल्पायुमा हुन्छ । सन २०१९ को तथ्यांक अनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो , जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट , ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ । यी नसर्ने रोगहरु जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन, जुन स्वास्थ्य प्रतिकुल आहार, विहार, विचार, व्यवहार र वातावरणको कारणले लाग्दछ ।
पोषण विज्ञानमा ‘वि आर ह्वाट वि इट’ भनिन्छ । आयुर्वेद विज्ञान (चरक संहिता) मा ‘आहारसम्भव वस्तु रोगाश्च आहारसम्भवाः’ अर्थात आहारले नै स्वस्थ जीवन र रोग दुवैको निर्धारण गर्दछ भनिएको छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्रेट्सले ‘लेट फुड वि द मेडिसिन’ अर्थात आहार नै औषधी हो भनेका छन् । खाद्य पदार्थको औद्योगिकीरण र व्यापारिकरणसंगै बढ्दो प्रशोधित आहारको उपलब्धता र उपयोगले विश्वभरी नै नसर्ने रोग महामारीको रुपमा फैलिएको छ । विशेषगरी प्रशोधित अन्न, प्रशोधित वनस्पतीजन्य तेल, चिनी, मैदा, ट्रान्स फ्याट र नुन एवं यिनीहरुबाट निर्मित तयारी ठोस एवं पेय आहार सेवन नसर्ने रोगको मुख्य कारण हो भनी वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । यस आलेखमा नसर्ने रोगको आहारजन्य कारण, रोगको प्याथोफिजियोलोजी र आहारले उक्त रोग गराउन खेल्ने भूमिकाका साथै आहारको सहि छनौट र उपयोगबाट नसर्ने रोगबाट बँच्न र रोगको प्रारम्भिक उपचार कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरिएको छ ।
नसर्ने रोगको सामान्य कारणलाई व्याख्या गर्न जनस्वास्थ्यको दृष्टिकोणबाट विश्व स्वास्थ्य संगठनको नसर्ने रोगको (४*४ अथवा ५*५) मोडेल, म्याकमोहन एण्ड पगको वेभ थ्योरी अफ कजेसन वा मल्टिफ्याक्टोरियल थ्योरीलाई अघी सारिन्छ । जस्ले नसर्ने रोगको कारण कुनै एक नभएर धेरै पक्षहरु जिम्मेवार छन् भन्दछ । समग्रमा सुर्तिजन्य पदार्थ र मद्यपान सेवन,शारीरिक निश्क्रियता, अस्वस्थकर खानपान, तनावपूर्ण जीवनशैली, प्रदुषण आदिलाई नसर्ने रोगको जोखिम तत्वको रुपमा लिइन्छ । प्थाथोफिजियोलोजीकल दृष्टिकोणबाट उल्लिखित कारणहरुले शरीरको कोषीय एवं मोलिकुलर लेभलमा अक्सिडेटिभ स्ट्रेस एवं दीर्घ सुजन र इन्सुलिन रेसिस्टान्स बढाउने, गट माइक्रोबायोटाहरुको असन्तुलित पार्ने,माइटोकोन्ड्रियल डिस्फङसन गराउने आदि गर्दछन । नसर्ने रोगको लागि जिम्मेवार यी प्याथोलोजिकल परिवर्तन गराउनमा आहारको प्रमुख भूमिका हुन्छ । यसर्थ आहारको सहि छनौट र प्रयोगबाट नसर्ने रोगको रोकथाम र उपचार सम्भव छ ।
सामान्यतया शरीरमा अक्सिडेन्ट र एन्टि–अक्सिडेन्ट सन्तुलित अवस्थामा रहन्छन् । तर जव अक्सिडेन्डहरुको मात्रा बढ्छ वा एन्टिअक्सिडेन्ट डिफेन्स सिस्टम कमजोर हुन्छ , रोग लाग्ने प्रक्रिया शुरु हुन्छ । बाह्य श्रोत ( न्यून ओर्याक भ्यालुयुक्त आहार, रेडियसन, रसायन,औषधी ,विषादि, सुर्तिजन्य पदार्थ आदिको प्रयोग) र आन्तरिक श्रोत ( शरीरमा मेटाबोलिज्म हुने क्रममा उत्पन्न हुने सुपरअक्साइड, हाइड्रोजन पेरोअक्साइड, हाइड्रोक्सिल रेडिकल, पेरोक्सिनाइट्राइट आदि) बाट शरीरमा फ्रि रेडिकल्सहरु (अक्सिडेन्ट) निस्कन्छन । जसलाई एन्टिअक्स्डिेन्ट डिफेन्स सिस्टम ( सुपरअक्साइड डिस्म्युटेज, काटालेज, ग्लुटाथियोन पेरोअक्सिडेज, भिटामिन सि,ई) ले निश्क्रिय पार्दछ । यो सन्तुलन कायम रहदा शरीर स्वस्थ रहन्छ भने विग्रदा रोग लाग्दछ । अक्सिडेटिभ स्ट्रेसले शरीरमा क्रोनिक सिस्टेमिक इन्फ्लामेसन, माइटोकोन्ड्रियल डिस्फङसन, इन्सुलिन रेसिस्टान्स् ,लिपिड पेरोक्सिडेसन, प्रोटिन र डिएनए ड्रयामेज आदि गर्दछ जुन कोरोनरी हार्ट डिजिज, मधुमेह, मोटोपना ,क्यान्सर लगायतका सवै दीर्घ एवं नसर्ने रोगहरुको कारण हो । आयुर्वेदमा सबै रोगको कारणको रुपमा उल्लेखित आम र प्राकृतिक चिकित्सामा उल्लेखित विजातिय पदार्थको अवधारणा आधुनिक चिकित्साको अक्सिडेटिभ स्ट्रेसंग मेल खान्छ । आहारले शरीरमा अक्सिडेटिभ स्ट्रेसको तहलाई कस्तो असर गर्छ भनि उक्त आहारको अक्सिजन रेडिकल अप्जर्सन क्यापासिटी (ORAC value) बाट थाहा पाउन सकिन्छ ।ओर्याक भ्यालुले कुनै पनि आहारको एन्टि अस्क्सिडेन्ट ( शरीरमा रहेका फ्रि रेडिकलको असरलाई न्यून गर्न सक्ने) क्षमता लाई जनाउछ । फापर, कोदो, जौ,कागुनो, मकै जस्ता परम्परागत अन्नको ओर्याक भ्यालु बढी छ भने आधुनिक आहारको मुख्य हिस्साको रुपमा रहेको प्रशोधित सेतो चामल र गहुँको ओर्याक भ्यालु निकै न्यून छ । यसैगरी बेसार, ल्वाङ, दालचिनी, जिरा, मरिच आदि जस्ता मसलाहरु, कागती, अंगुर, स्याउ, जामुन, चुकन्दर, गाजर, अमलाजस्ता फलफूलहरुको ओर्याक भ्यालु बढी छ । यस्ता उच्च ओर्याक भ्यालुयुक्त अन्न, फलफूल, मसलालगायतका खाद्य परिकारहरु नसर्ने रोगको रोकथाम र प्रारम्भिक उपचारमा उपयोगी हुन्छन भने न्यून ओर्याक भ्यालुयुक्त आहारहरु नसर्ने रोगको कारण बन्दछन्।
दीर्घ सुजन सम्पूर्ण नसर्ने रोगको मुख्य प्याथोलोजी हो । अस्वस्थकर खानपिन, धुम्रपान एवं मद्यपान, दीर्घ तनाव, अनिन्द्रा,शारीरिक निष्क्रियता, प्रदुषण आदिले कोषीय तहमा सुजनकारक रसायन, साइटोकाइन्स (ट्युमर निक्रोसिस फ्याक्टर अल्फा, इन्टरल्युकिन्स सिक्स, सि रियक्टिभ प्रोटिन, अक्सिजन फ्रि रेडिकल्स आदि) बढाउदछन । जस्ले अक्सिडेटिभ स्ट्रेस बढाउने, डिएनए, प्रोटिन र लिपिडको संरचनात्मक परिवर्तन ल्याउने, कोषहरुको इन्सुलिनप्रतिको संवेदनशिलता घटाउने, रक्तनलिको भित्री तह इन्डोथेलियममा असर गरी एथेरोसिस गराउने, कोषको फाइब्रोसिक गराउने, शरीरको हर्मोनल र इम्युन प्रणालीको कार्यमा प्रतिकुलता ल्याउने आदि गर्दछ । आहारको डाइटरी इन्फ्लामेटरी इन्डेक्सबाट उक्त आहारले शरीरमा दीर्घ सुजन गराउदछ वा दीर्घ सुजन हुन बाट रोक्दछ भन्ने थाहा पाउन सकिन्छ । डाइटरी इन्फ्लामेटरी इन्डेक्स धनात्मक भएका आहारहरु (प्रोइन्फ्लामेटरी डाइट)ले शरीरमा दीर्घ सुजन गराउछन् भने ऋणात्मक भएका आहार(एन्टि इन्फ्लामेटरी डाइट)ले शरीरमा दीर्घ सुजन हुन दिदैदन वा दीर्घ सुजन घटाउछन भन्ने बुझिन्छ । जौ, फापर, कोदो, खैरो, खैरो चामल, गहुँ जस्ता अन्नको साथै भान्छामा प्रयोग हुने मसलाहरु, हरिया सागपात र फलफूलहरुको डाइटरी इन्फ्लामेटरी इन्डेक्स ऋणात्मक छ भने सेतो चामल, प्रशोधित गहुँ, मकैको साथै चिनी, रातो मासु, तयारी खाद्य परिकारहरुको धनात्मक छ । यसर्थ नसर्ने रोगको कारकको रुपमा रहेको प्रोइन्फ्लामेटरी डाइटको सट्टा एन्टि इन्फ्लामेटरी डाइटलाई नियमित आहार बनाई नसर्ने रोगको रोकथाम र उपचार गर्न सकिन्छ।
यसैगरी उमेगा थ्रीयुक्त चिल्लाले एन्टिइन्फ्मेटरी हुन्छ भने उमेगा सिक्सयुक्त चिल्लो प्रोइन्फ्लामेटरी हुन्छ । नसर्ने रोगबाट बँच्न उमेगा थ्रि र सिक्सयुक्त चिल्लो सन्तुलनमा सेवन गर्नु पर्दछ । चिल्लोहरुमा ट्रान्स फ्याट सवैभन्दा नराम्रो मानिन्छ, जस्ले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडिएल) बढाउछ र राम्रो कोलेस्टेरोल (एचडिएल) घटाउछ । पुनः तताइएको तेल र बनस्पती घ्यु ट्रान्स फ्याटको प्रमुख स्रोत हो , जुन खाद्य उद्योग र (अधिकांश) होटेलहरुले प्रयोग गर्दछन् । उमेगा ६ बाट शरीरमा प्रोस्टाग्लान्डिन २, प्रोस्टाग्लान्डिन इ २, प्रोस्टाग्लान्डिन १२, थ्रोम्बोक्सेन ए २ , ल्युकोट्राइन बि ४ , ल्युकोट्राइन सि ४ ल्युकोट्राइन इ ४ आदि जस्ता इन्फ्लामेटरी केमिकल्सहरु बन्दछ, जस्ले रक्तनली एवं शरीरमा सुजन, रक्तनली साँघुरो बनाउने, प्लेटलेट एकीकृत गर्नेजस्ता कार्यहरु गर्दछ , जसले मुटुरोग लगायत अन्य नसर्ने रोग गराउन भूमिका खेल्दछ । यसैगरी उमेगा ३ बाट रिजोल्भिन , प्रोक्टेटिन, प्रोस्टाग्लान्डिन वि ३ , प्रोस्टाग्लान्डिन डि ३ , प्रोस्टाग्लान्डिन इ ३, थ्रोम्बोक्सेन ए ३ जस्ता केमिकल्सहरु बन्दछ , जस्ले उमेगा ६ को विपरित कार्य गरी मुटु, स्नायु र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्दछ र नसर्ने रोगबाट बचाउछ । आहारमा उमेगा ३ र ६ अनुपात १:१ देखी १:४ सम्म स्वस्थकर मानिन्छ । यो अनुपात परम्परागत रुपमा तयार गरिएको घ्युमा १:१.५, तोरीको तेलमा १:२, सूर्यमुखी तेलमा १:१०, ओलिभ तेलमा १:१२, मकैको तेलमा १:४६, भटमासको तेलमा १:१६,घास खाएको (चरेको)जनावरको मासुमा १:७ र अन्न (दाना)खाएको जनावरको मासुमा १: १५ हुन्छ । नरिवल तेलमा भने मिडियम चेन फ्याटी एसिड बढी हुन्छ, जुन स्वस्थकर हुन्छ । यसैगरी आलसमा उमेगा ३ र ६ को मात्रा करिव ४:१ र चिया सिडमा ३:१ हुन्छ । पछिल्लो समय बढ्दो प्रशोधित उच्च उमेगा सिक्सयुक्त तेलको प्रयोगले नसर्ने रोगलाई बढोत्तरी दिइरहेको छ । यसरी हेर्दा नेपाली परिवेशमा चिल्लोको रुपमा घ्यु र तोरीको तेल (कोलमा परम्परागत तरिकाले पेली निकालिएको) सवैभन्दा उपयुक्त र स्वस्थकर देखिन्छ ।
इन्सुलिन एनाबोलिक हर्मोन हो । यस्ले कार्बोहाइड्रेट प्रोटिन र फ्याटको मेटाबोलिजमका साथै शरीरमा प्रणालिगत असर देखाउदछ । सामान्यतया कार्बोहाइड्रेटयुक्त आहार सेवनबाट शरीरमा ग्लुकोज पैदा हुन्छ र रगतमा पुग्छ। उक्त ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट इन्सुलिनको उत्पादन हुन्छ। इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउंनुको साथै बढी (खर्च नभएको) भएको ग्लुकोजलाई फ्याटमा रुपान्तरण गरी पेटमा भन्डारण गर्छ। आधुनिक प्रशोधित आहार एवं अन्नहरु हाई इन्सुलेनेमिक एवं हाई ग्लाइसेमिक इन्डेक्स (उच्च मात्रामा सुगर भएको र सेवन लगत्तै रगतमा उच्च मात्रामा ग्लुकोज बढाउने) युक्त छन्। यसका साथै विभिन्न बहानामा आहार धेरै पटक सेवन गर्ने प्रचलन छ । अर्कोतर्फ मानिसको शारीरिक श्रम कम भएको छ। यसले गर्दा सबै सेवन गरिएको ग्लुकोज खर्च हुँदैन । त्यो फ्याटी लिभर एवं बेल्ली फ्याटको रुपमा बस्छ। अचेल भान्सामा खाना तयार गर्दा सेतो चामल, मैदा, फ्रिज गरिएका परिकार, ट्रान्स फ्याट, सिम्पल कार्ब आदि र खाजा एवं नास्ताको रुपमा जंक फुड, चिनीयुक्त चिया वा पेयको प्रयोग सर्वत्र देखिन्छ। यी परिकारहरुले सुगर छिटो र उच्च मात्रामा उपलब्ध गराउँछ र सोही अनुपातमा इन्सुलिनको मात्रा र अन्ततोगत्वा मोटोपना बढाउँछ।
हाइपरइन्सुलिनेमियाको अवस्था रहिरहेमा कालान्तर ( वैज्ञानिक अध्ययन अनुसार ५ देखी २५ वर्ष ) मा इन्सुलिनप्रति शरीरका कोषहरुले प्रतिक्रिया देखाउँन छोड्छ वा इन्सुलिन रेसिस्टेन्ट हुन्छ। इन्सुलिनको उच्च मात्रा वा रेसिस्टेन्टले सम्पूर्ण शरीरमा असर गर्छ । हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टेन्टले मोटोपनाको अलवा उच्च रक्तचाप, मधुमेह, उच्च ट्राइग्लेसेराइड, उच्च कोलेस्टेरोल, फ्याटी लिभर, पिसिओडी, मुटुजन्य रोग, अल्जाइमर्स, थाइरोइड डिसअर्डर आदि गराउँछ । अतः मुख्य आहारको रुपमा नियमित सेतो चामल, प्रशोधित गहुँ, चिनी जस्ता ग्लाइसेमिक इन्डेक्सयुक्त उच्च आहार एवं अन्नको सेवनले नसर्ने रोग गराउछ भने फापर, जौ, कोदो, जस्ता अन्न र लहरामा फल्ने तरकारी एवं गेडागुडी, सागपात आदिले नसर्ने रोगको रोकथाम एवं उपचारमा उपयोगी हुन्छ ।
मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् । विशेषगरी प्रशोधित एवं न्यून फाइबरयुक्त आहार सेवन, दीर्घ तनाव, एण्टिवायोटिक्सको अविवेकशील प्रयोग, संक्रमण, शारीरिक निष्क्रियता, बढ्दो उमेर, प्रदुषण, अनिन्द्रा आदिले गट माइक्रोवायोटाको संगठन र कार्यलाई असर गर्दछ जसबाट लिकी गट, कोषमा दीर्घ सुजन, कोषहरुको इन्सुलिनप्रती न्यून सेन्सेटिभ, मस्तिष्कमा शुक्ष्म दीर्घ सुजन , रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या गराई नसर्ने रोग गराउन भूमिका खेल्दछ । गट माइक्रोवायोटालाई सन्तुलनमा राख्न प्रिवायोटिक्स(उच्च फाइबर) प्रोवायोटिक्स(गुन्द्रुक, तामा, अंकुरित अनाज जस्ता फर्मेन्टेड फुडहरु) र उच्च फिनोलिक कम्पाउण्डयुक्त आहारको महत्वपूर्ण भूमिका हुन्छ । आहारमा कार्ब र फाइबरको अनुपात १०:१ र सामान्यता दैनिक २५ ग्राम फाइबर लिनको लागि सिफारिस गरिएको छ । तर उच्च मात्रामा आंशिक एवं पूर्ण रुपमा प्रशोधित गरिएको अन्न र आहार एवं न्यून मात्रामा फलफूल र सागपातको सेवनको कारण फाइबरको कमी भई गट माइक्रोवायोटा असन्तुलित बन्न पुगेको छ । यसर्थ स्वस्थकर र सन्तुलित गट माइक्रोवायोटाको लागि उच्च फाइबरयुक्त सम्पूर्ण अन्न (होल ग्रेन र मिलेट) र प्रशस्त फलफूल एवं सागपात सेवन गर्न जरुरी छ । यसैबाट नसर्ने रोगको रोकथाम हुन्छ ।
तालिका: १०० ग्राम पकाइएको विभिन्न अन्न एवं परिकारको विवरण
अक्सिडेटिभ स्ट्रेस, दीर्घ सुजन, भिटामिन एवं मिनरल्सको कमी, प्रदुषण, उच्च मात्रामा प्रशोधित कार्ब सेवन, बढ्दो उमेर, शारीरिक निष्क्रियता आदिको कारणबाट शरीरको उर्जाघरको रुपमा रहेको माइटोकोन्ड्रियाको कार्य क्षमतामा ह्रास आउछ र पुन: अक्सिडेटिभ स्ट्रेस बढ्ने दुष्चक्र चल्दछ । माइटोकोइन्ड्रियालाई स्वस्थ राखि नसर्ने रोगबाट बँच्न माइक्रोन्यूटियन्ट, एन्टि अक्सिडेन्ट, उच्च फिनोलिक कम्पाउण्ड, न्यून ग्लाइसेमिक्स इन्डेक्स र स्वस्थकर चिल्लोयुक्त आहारको साथै आवधिक उपवासको जरुरी छ ।
निष्कर्षमा भन्नुपर्दा नसर्ने रोगहरु जीवनशैलीजन्य रोग हुन र तिनीहरुलाई जीवनशैली चिकित्सामार्फत मात्रै रोकथाम र व्यवस्थापन गर्न सकिन्छ । नसर्ने रोगको आहारजन्य कारण उच्च क्यालोरियक्त, अक्सिडेटिभ स्ट्रेस बढाउने, दीर्घ सुजन गराउने, उच्च ग्लाइसेमिक इन्डेक्स र न्यून फाइबर एवं माइक्रोन्युट्रियन्टयुक्त आहार सेवन भएकाले नसर्ने रोगको रोकथाम र उपचारको लागि उचित क्यालोरियुक्त, एन्टि अक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी, न्यून ग्लाइसेमिक इन्डेक्स र उच्च फाइबर एवं माइक्रोन्यूट्रियन्टयुक्त आहार सेवन गर्नुपर्दछ । जुन रिजनल, सिजनल र ओरिजिनल स्रोतको आहारबाट सजिलै प्राप्त गर्न सकिन्छ ।
(डा केसी स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं- सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा उज्वल चालिसेलाई नियुक्त गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले अस्पतालका निमित्त निर्देशक डा चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
डा चालिसे अस्पतालमा हालसम्म आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त निर्देशकका रुपमा कार्यरत छन्। मन्त्रिपरिषदको निर्णयसँगै उनी अब चार वर्षका लागि कार्यकारी निर्देशक भएका छन्।
निमित्त निर्देशकका रुपमा डा चालिसेले अस्पतालमा विभिन्न सुधार र सेवा विस्तारका काम अगाडि बढाइरहेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं- नेपालमा सहयोगी प्रजनन सम्बन्धी ऐन अत्यावश्यक भएको बताइएको छ । सोमबार महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले तयार पारेको सहयोगी प्रजनन सम्बन्धी ऐनको नमुना मस्यौदामा गरिएको छलफलमा बाँझोपन वा प्रजनन क्षमतामा समस्या भएका दम्पती वा व्यक्तिलाई विज्ञानसम्मत र नैतिक आधारमा सहयोगी प्रजननसम्बन्धी सेवा उपलब्ध गराउनका लागि यो ऐन आवश्यक रहेको छलफल कार्यक्रममा बताइएको हो। उनीहरुको सन्तान प्राप्तिको अधिकार, सम्मान, संरक्षण र परिपूर्ति गर्न तथा सेवाको गुणस्तर, पहुँच, गोपनीयता र नियमनका सम्बन्धमा आवश्यक कानुनी व्यवस्था वाञ्छनीय भएकाले यो ऐन आवश्यक रहेको छलफलमा बताइयो ।
स्वास्थ्य सेवा विभागकी कानुन अधिकृत सीता घिमिरेले यस्ता कानुन निर्माण गर्न सरकारले चासो देखाउनुपर्नेमा अहिलेसम्म यसबारे छलफलसमेत नभएको बताइन् । नागरिक समाजको तर्फबाट एफडब्लुएलडीले नमुना कानुन बनाएर छलफल चलाएको छ, यो एकदमै सह्रानीय छ । उनले भनिन्, ‘यो नमूना कानुन पूर्ण छ भन्ने होइन, कम्तीमा कानुन आवश्यक छ भन्ने कुरा छलफल चलाउनु नै अहिलेको सन्दर्भमा ठूलो कुरा हो ।’
अहिलेसम्म प्रजनन स्वास्थ्य अधिकार कानुनमा सन्तान प्राप्तिको कुरा अटाएका छन्, तर यसलाई छुट्टै ऐन ल्याउन ढिला भइसकेको अधिकृत घिमिरेको भनाइ थियो ।
कार्यक्रममा एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले ऐनको आवश्यकता र अवधारणाबारे प्रस्तुति दिएका थिए । उनले सन्तान प्राप्तिको आकांक्षा लिएर प्रत्येक साता ६ जोडी फटिलिटी सेन्टरमा सेवा लिन जाने गरेको बताए । निर्देशक श्रेष्ठले सुरक्षित प्रजननसम्बन्धी अहिलेसम्म बनेका कानुन, ऐन र सर्वोच्च अदालतले स्थापित गरेका नजिरका बारेमा उल्लेख गरेका थिए ।
सरकारले २०७५ सालमा ल्याएको ऐनले सुरक्षित मातृत्वसम्बन्धी ४ वटा कुरा मात्र समेटिएको निर्देशक श्रेष्ठको भनाइ थियो । सन्तान प्राप्तिको अधिकारमा सरकारले २०८० मा ल्याएको नीति तथा कार्यक्रममा सबै प्रदेशमा बाँझोपनको निःशुल्क र सुरक्षित सेवा उपलब्ध गराउने कुरा उल्लेख थियो । यसले कृतिम गर्भधारणका सबै विषय समेट्न नसकेको उनले बताए ।
एफडब्लुएलडीले तयार पारेको नमुना मस्यौदाका बारेमा अधिवक्ता दिपेश श्रेष्ठले ब्याख्या गरेका थिए । उनले परिच्छेद–१ मा संक्षिप्त नाम र प्रारम्भ गरेर सेवाका प्रकारसहित ऐनको मस्यौदा तयार पारिएको बताए । ऐन ६ वटा परिच्छेदमा समेटिएको छ ।
ऐनमा प्रारम्भ, सहयोगी प्रजननसम्बन्धी सेवाको अधिकार, सहयोगी प्रजनन सेवाको सञ्चालन र नियमन, डिम्ब तथा वीर्य दान, कसुर र सजाय तथा अन्य प्रावधानहरु समेटिएका छन् ।
सन्तान प्राप्तिका लागि पछिल्लो समय धेरै प्रकारका सेवा प्रयोगमा रहेको उनले बताए । नेपालमा यस्ता सेवा दिने ४२ वटा क्लिनिक रहेको र त्यसमध्ये २५ वटा काठमाडौं उपत्यकाभित्र रहेको उनले तथ्यांक प्रस्तुत गरे । सेवा प्रदायकले ३ देखि ६ लाख रुपैयाँसम्म लिने गरेको र ३५ देखि ५५ प्रतिशत मात्र सफल हुने गरेको अधिवक्ता श्रेष्ठको भनाइ थियो ।
क्लिनिक सञ्चालनदेखि सेवा प्रदायक र सेवाग्राहीलाई समेट्ने एकीकृत कानुन अहिलेसम्म नभएकाले त्यो आवश्यकता पूर्ति गर्नका लागि नमुना कानुन एफडब्लुएलडीले निर्माण गरेको उनको भनाइ थियो । यो नमूना कानुनमा प्रजनन नैतिक र सुरक्षा, डिम्ब वा शुक्रकिटदाता र सन्तानको अधिकारी, शोषण, मानवअधिकारलगायतका विषय समेटिएको अधिवक्ता श्रेष्ठको भनाइ थियो ।
कानुनविद् देव महत, ल क्याम्पसका प्राध्यापक अधिवक्ता डा. विष्णु बस्याल, एफडब्लुएलडीकी महासचिव अधिवक्ता लक्ष्मी पोखरेल, सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थी, परिवार नियोजन संघका प्रभाकर श्रेष्ठ, राष्ट्रिय मानवअधिकार आयोगकी विजिता दाहाल तथा स्वास्थ्य क्षेत्रका विज्ञ प्राविधिकहरुले नमुना मस्यौदाको कमजोरी र सुधार गर्नुपर्ने पक्षका बारेमा सुझाव दिएका थिए । छलफल कार्यक्रम अधिवक्ता नविनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा पार्वती मोक्तान निर्वाचित भएकी छन्। आइतबार सम्पन्न निर्वाचनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिमा तारा पुन मगर वरिष्ठ उपाध्यक्ष, मंगल प्रसाद योङ्हाङ र निरञ्जन भण्डारी उपाध्यक्ष, कमल भण्डारी महासचिव, सोनाम शेर्पा र दुर्गा प्रसाद भण्डारी सचिवका रूपमा चयन भएका छन्।
यस्तै, अर्जुन श्रेष्ठ कोषाध्यक्ष, टेक बहादुर बोहोरा युवा संयोजक, मिता गुरुङ महिला संयोजक तथा मनसुन खड्का र आइशा सिटौला सदस्य पदमा निर्वाचित भएका छन्।
सामाग्री श्रोत :
deshparadesh
केस स्टडी: ९४ वर्षीय बुबाको साहसिक यात्रा
केही समयअघि पाटन अस्पतालको मेडिकल अनकोलोजी विभागमा ९४ वर्षीय एक बुबा आउनुभयो, उहाँलाई कोलोन (आन्द्राको क्यान्सर) भएको पुष्टि भएको थियो। प्रारम्भमा धेरैले सोचे, ‘यो उमेरमा उपचार सम्भव होला र?’ तर उहाँको परिवार दृढ थियो – उहाँको शारीरिक अवस्था राम्रो थियो, जीवनका लागि इच्छाशक्ति प्रबल थियो।
हामीले उहाँलाई सन्तुलित र सहन सक्ने केमोथेरापी सुरु गर्यौं। नियमित फलो-अपमा उहाँले थोरै कमजोरी भएपनि जीवनशैलीमा उल्लेखनीय सुधार देखाउनुभयो। तर उपचार यात्रा सहज थिएन।
अस्पतालसम्मको यात्रा आफैंमा संघर्ष पूर्ण थियो, कम सुनिने, दृष्टि कमजोर र अनेक पुराना रोगहरूसँग सहअस्तित्व थियो, आर्थिक पक्ष, सामाजिक सहयोग र पोषण व्यवस्थापन अझै चुनौतीपूर्ण थिए।
उहाँको केसले हामीलाई सम्झायो- क्यान्सर उमेर हेरेर आउँदैन, र उमेरले उपचार रोकिनु हुँदैन।
नेपालमा जेष्ठ नागरिकको क्यान्सर उपचार (जेरियाट्रिक अन्कोलोजी): अब आवश्यकताको विषय मात्र होइन, प्राथमिकताको कुरा हो।
हाल देशको कुल जनसंख्याको करिब ९ प्रतिशत ६५ वर्षभन्दा माथिका छन्, र आगामी दशकमा यो अनुपात झन् उच्च हुँदै जानेछ। जस्तै, माथिको उदाहरणले देखाउँछ- जेष्ठ नागरिकको क्यान्सरको उपचार नेपालमा सम्भव छ । उनीहरुको जीवनको गुणस्तर पनि उल्लेखनीय रूपले सुधार गर्न सकिन्छ। तर, यसका लागि सरकारको समुचित योजना, सहजीकरण र नीति जरुरी हुन्छ।
किन आवश्यक छ जेष्ठ नागरिकका लागि लक्षित क्यान्सर सेवा?
उमेरसँगै क्यान्सरको जोखिम बढ्दछ
६५ वर्षमाथिका व्यक्तिहरूमा क्यान्सर हुने दर तुलनात्मक रूपमा धेरै हुन्छ।
कोमोरबाइडाटिज र पोलिफार्मेसी
मधुमेह, उच्च रक्तचाप, मुटु र मिर्गौलाका समस्या हुँदा केमोथेरापी वा अन्य उपचारको सहनसक्ने क्षमता घट्छ।
मनोसामाजिक र पारिवारिक संरचना
धेरै वृद्धहरू एक्लोपन, आर्थिक असुरक्षा र समाजिक सहयोगको अभावमा हुन्छन्।
सहनशक्ति अनुसारको उपचार आवश्यकता
सबै वृद्ध बिरामीलाई एउटै स्ट्यान्डर्ड रेजिमेन दिनु जोखिमपूर्ण हुन सक्छ। टेलोरेड, लो-इन्टेन्सिटी, होलिस्टिक एप्रोच आवश्यक हुन्छ।
नेपालको वर्तमान स्थिति र चुनौतीहरू
साँघुरो संरचना: जेष्ठ नागरिकका लागि छुट्टै जेरिइट्रिक अन्कोलोजी सेवा अहिलेसम्म छैन।
तथ्यांक अभाव: वृद्ध समूहमा कुन-कुन क्यान्सर प्रचलित छन् भन्ने तथ्यांक अपूर्ण छन्।
जनशक्ति अभाव: जेरियाट्रिक केयरमा प्रशिक्षित अनकोलोजिस्ट वा हेल्थवर्करको अभाव छ।
सामाजिक सुरक्षा कमजोर: वृद्ध उमेरमा लाग्ने क्यान्सरको उपचार महँगो हुन्छ तर बीमा योजना पर्याप्त छैन।
नीति तहमा के गर्न सकिन्छ?
जेरियाट्रिक अन्कोलोजी मापदण्डको विकास : नेपालको स्वास्थ्य प्रणालीले वृद्ध बिरामीका लागि उपयुक्त क्यान्सर उपचार मापदण्ड ल्याउन आवश्यक छ।
विशेषज्ञ सेवा केन्द्रको स्थापना प्रमुख क्यान्सर अस्पतालहरूमा जेरियाट्रिक अन्कोलोजी युनिट सुरु गरिनुपर्छ।
स्वास्थ्य बीमा योजनामा वृद्ध लक्षित प्याकेज : ६५ वर्ष माथिका नागरिकका लागि विशेष बीमा प्याकेज आवश्यक छ।
अनुसन्धान र डाटा संकलन : वृद्धावस्थामा देखिने क्यान्सर, उपचारको परिणाम, जीवनको गुणस्तरमा सुधार सम्बन्धी डाटा संकलन प्राथमिक हुनुपर्छ।
सुधारका सम्भावना र सहजीकरण उपायहरू
फ्रन्टलाइन स्वास्थ्यकर्मीको तालिम
जीपी, एमबीबीएस र नर्सिङस्तरमै वृद्ध क्यान्सर सेवाको चेतना र प्राथमिक उपचार सिप विकास गरिनुपर्छ।
पारिवारिक सहभागिता
परिवारलाई मानसिक, आर्थिक र सामाजिक रूपमा तयार गर्नुपर्ने खाँचो छ।
टेलिमेडिसिन र होम-केयर
वृद्धहरूलाई सेवा पुर्याउन मोबाइल स्वास्थ्य सेवा, घरमै सल्लाह दिने प्रणाली जस्ता उपाय लागू गर्न सकिन्छ।
पाटन अस्पतालमा ९४ वर्षीय ती वृद्धको कथा कुनै अपवाद होइन – यो हाम्रो देशका प्रमुख अस्पतालहरूमा दैनिकजस्तो देखिने घटनाहरूको प्रतिनिधित्व हो। अब हामी सबैको जिम्मेवारी भनेको ज्येष्ठ नागरिकहरूको क्यान्सर उपचारलाई अधिकारको रूपमा लिनु, नीति र कार्यक्रमहरू मार्फत् दीर्घकालीन समाधान ल्याउनु, र प्रत्येक वृद्ध नेपाली नागरिकलाई सम्मानपूर्वक जीवनको अन्तिम चरण जिउन दिनु हो।(मेडिकल अनकोलोजिस्ट डा शाही पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक हुन्।)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं- नेपालको पुरानो र भरोसाको केन्द्र बनेको वीर अस्पतालले आज आफ्नो १३६ औं वर्षमा प्रवेश गरेको छ। १३५ वर्षअघि आजकै दिन तत्कालीन श्री ३ वीर शम्शेरको पहलमा स्थापना गरिएको यो अस्पताल अहिले नेपाल सरकारको केन्द्रीय अस्पतालको रूपमा आधुनिक विशिष्टकृत उपचार सेवासहित देशकै अग्रणी स्वास्थ्य संस्था बनिसकेको छ। वीर अस्पतालको वार्षिकोत्सवको लाइभ :
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ।
विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधि प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताए।
रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधि अभाव भएको समाचार आएलगत्तै चासो लिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न भनेका थिए । उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधि आपूर्ति गरेको हो।
विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ।
सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ । बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ । यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ।
मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।
विभागले हाल आपूर्ति भएका अतिरिक्त दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।
सामाग्री श्रोत :
swasthyakhabar