२०८२ भाद्र २७ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र २७ शुक्रबार

काठमाडौँ । एप्पलले आफ्ना प्रमुख एपहरूमा ठुलो डिजाइन परिवर्तन ल्याउने तयारी गरेको छ । आगामी सोमबारदेखि हुने डब्लूडब्लूडीसी कन्फ्रेन्समार्फत कम्पनीले ‘फोन’ (Phone) ‘क्यामेरा’ (Camera), सफारी (Safari) जस्ता एपमा नयाँ डिजाइन ल्याउने तयारी गरेको हो ।

ब्लुमबर्गको रिपोर्ट अनुसार, फोन एपमा अब प्रयोगकर्ताले फेभरेट कन्ट्याक्टहरू, रिसेन्ट कलहरू र भ्वाइसमेलहरू एउटै स्क्रोल गर्न मिल्ने विन्डोमा हेर्न सक्नेछन् । यो नयाँ इन्टरफेस वैकल्पिक हुनेछ, जसलाई प्रयोगकर्ताले सेटिङबाट पुरानै स्वरूपमा फिर्ता गर्न सक्नेछन् ।

सफारी ब्राउजरमा पनि अझै पारदर्शी र ग्लासी एड्रेस बार ल्याउने तयारी छ । यो भिजन ओएस (visionOS) शैलीसँग मिल्दोजुल्दो हुनेछ । कम्पनीले क्यामेरा एपलाई समेत थप सरल बनाउने योजना बनाएको छ । ‘Messages’ एपमा पोल राख्न मिल्ने फिचर र सबै डिभाइसमा ब्याकग्राउन्ड इमेज सिङ्क हुने सुविधा पनि थपिने भएको छ ।

एप्पलले ‘Preview’ एपलाई आईप्याडओएस र आईओएसमा ल्याउने तयारी समेत गरेको छ । यसबाट मोबाइलमै पीडीएफ हेर्न र एनोटेसन गर्न सकिनेछ । साथै, नयाँ ‘Games’ एपमा होम, आर्केड, प्ले टुगेदर, लाइब्रेरी र सर्च ट्याबहरू समावेश हुने अनुमान गरिएको छ । एप आइकनहरूमा ठुलो परिवर्तन नहुने र ती हालजस्तै नै रहने ब्लुमबर्गले जनाएको छ ।

यसपटकको डब्लूडब्लूडीसी अपरेटिङ सिस्टमकै रूपान्तरणमा बढी केन्द्रित हुने चर्चा छ । यद्यपि, फोन कल र टेक्स्टहरूमा लाइभ ट्रान्सलेट जस्ता केही एआई फिचरहरू भने प्रस्तुत हुनेछन् । सिरीको पूर्ण एआई संस्करण भने आगामी कुनै अर्को कार्यक्रममा मात्र देखिने सम्भावना रहेको ब्लुम्बर्गले उल्लेख गरेको छ ।

डेभलपर कन्फ्रेन्स एप्पलको सफ्टवेयर अपडेट र नयाँ सुविधाहरू प्रस्तुत गर्ने एउटा महत्त्वपूर्ण वार्षिक कार्यक्रम हो । विगतमा यस्तै कार्यक्रमबीच भिजन प्रो र एप्पल सिलिकन जस्ता हार्डवेयर समेत घोषणा भएका थिए । 

तर यस वर्षको डब्लूडब्लूडीसी २०२५ पूर्ण रूपमा सफ्टवेयर लक्षित हुने अनुमान गरिएको छ । नयाँ आईफोनको प्रतीक्षामा रहेकाहरूले यस कार्यक्रममा केही नयाँ देख्ने छैनन् । किनभने आईफोन लन्च कार्यक्रम सामान्यतया सेप्टेम्बरमा हुने गर्दछ ।

यस वर्षको डब्लूडब्लूडीसीको आकर्षण

द वायरका अनुसार यो डेभलपर कन्फ्रेन्समार्फत एप्पलको अपरेटिङ सिस्टममा महत्त्वपूर्ण परिवर्तनहरू सार्वजनिक हुन सक्छन् । कम्पनी आईओएस १८ बाट आईओएस १९ मा नगई सिधै आईओएस २६ मा जाने अपेक्षा गरिएको छ । यो नयाँ नामाकरणले आउँदा वर्षहरू (२७, २८, २९) का लागि पनि सोही बाटो पछ्याउनेछ ।

त्यस्तै एप्पलको सफ्टवेयरको लुक्समा ठुलो परिवर्तन आउने अनुमान गरिएको छ । भिजुअलमा आउने ती परिवर्तनले एप्पलका विभिन्न उपकरणहरूको इन्टरफेसमा एकरूपता ल्याउनेछ । यो लुक्स भिजन प्रोको अपरेटिङ सिस्टममा आधारित हुन सक्ने सम्भावना छ । यद्यपि मिक्स रियालिटीका लागि बनाइएको डिजाइन स्मार्टफोन र स्मार्टवाच जस्ता अन्य उत्पादनहरूमा कसरी समावेश गरिएला भन्ने स्पष्ट छैन ।

एप्पलले सोसल गेमिङको दिशामा पनि प्रयास गर्न सक्छ । कम्पनीले सन् २०१० मा सुरु गरेको आफ्नो हालको गेम सेन्टर बन्द गरी आईफोन, आईप्याड, म्याक, र एप्पल टिभी डिभाइसहरूमा नयाँ, प्रि-इन्स्टल गेमिङ एप ल्याउन सक्नेछ ।

यसैगरी थर्ड-पार्टी सफ्टवेयर विशेषज्ञहरूले आईफोन एपहरू भित्र एआई फिचर सिर्जना गर्न सक्ने डेभलपर किटमा पहुँच पाउने सम्भावना छ । यसका लागि एप्पलका लार्ज ल्याङ्वेज मोडेल प्रयोग गरिनेछ । एप्पल इन्टेलिजेन्स फिचरहरू सुरुमा लन्च हुँदा आईफोन लक स्क्रिनमा त्रुटिपूर्ण सारांशहरू देखिएका थिए । प्रयोगकर्ताहरूका साथै बीबीसी जस्ता मिडियाहरूले त्यसको आलोचना भएको थिए । 

केके आउँदैछ नयाँ ?

कम्पनीका नयाँ स्मार्टफोन र अन्य ग्याजेटहरू यस वर्ष पछि हुने कार्यक्रममार्फत घोषणा गरिने सम्भावना छ । यस सम्मेलनअघि कुनै पनि नयाँ एप्पल डिभाइसको बारेमा जानकारी बाहिरिएको छैन, त्यसैले हार्डवेयर उत्पादनहरू सार्वजनिक हुने सम्भावना कम छ ।  

कम्पनीले यो कार्यक्रम मार्फत सफ्टवेयर सम्बन्धी कुनै सरप्राइज भने दिन सक्छ । तैपनि नयाँ सिरीको घोषणा हुने सम्भावना भने कमै रहेको बताइएको छ । एप्पलले आफ्नो भ्वाइस असिस्टेन्टका लागि जेनेरेटिभ एआईमा काम गरिरहेको छ ।

एआई सम्बन्धी घोषणा प्रायः डेभलपर-केन्द्रित टुलहरूसँग सम्बन्धित हुनेछन् । आईफोनको ब्याट्री लाइफ विस्तार गर्न मद्दत गर्ने एआईमा आधारित ट्रयाकरको बाहेक यस वर्षको डेभलपर कन्फ्रेन्स उपभोक्ताहरूका लागि एआईमा केन्द्रित हुने अपेक्षा गरिएको छैन ।

कसरी हेर्ने एप्पलको इभेन्ट ?

यस वर्षको डेभलपर कन्फ्रेन्सका लागि एप्पलको किनोट ९ जुन, सोमबार राति १०ः४५ बजेको समयमा लाइभ स्ट्रिम गरिनेछ । यो सिधै एप्पलको वेबसाइट वा कम्पनीको युट्युब च्यानलमार्फत हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १८:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा सद्भावनासहित नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढेका छन्। नमाज पढिसकेपछि एकापसमा सद्भावसहित शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेका थियो। 

हिजरी संवत्अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको  जानकारहरू बताउँछन्।  

नजिकको प्यारो चीज कुर्वान (बलिदान) दिन अल्लाहको आदेश भए बमोजिम इब्राहिमले छोरा इस्माइल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाहले परीक्षामा उत्तीर्ण भएको भन्दै प्रशन्न भई त्यसलाई रोकेको मुस्लिम धर्मावलम्बीको विश्वास छ। यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको ऐतिहासिक पृष्ठभूमि छ।

Ncell 2
Ncell 2

मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेको इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताउँछन्। 

जसले यो पर्व एवम् धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेको उनले बताए। 

“जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विद्यालय मदरसामा समेत अध्ययन अध्यापन गराइन्छ। मक्कामा जन्मिनुभएका सलल्ला ५३ वर्षको उमेरपछि मदिनामा सर्नुभएको थियो, यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने यी दुवै तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ”, मौलाना अलीले भने।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। गृह मन्त्रालयले आउनजान हवाई टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। 

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गरेका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कैलाली- सुदूरपश्चिम प्रदेशमा थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप चार जनामा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिएका छन्।

सङ्क्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूष छन् ।  त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए।

उनले भने, ‘शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।’ यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । आयुर्वेदिक औषधिको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ। यसै अनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन्।

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ। तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन राखेको दलबाट बनेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। कार्तिक शुक्ल एकादशीका दिन तुलसीलाई हुर्काइँबढाई दामोदरसँग विवाह गरिदिने धार्मिक मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

उक्त चार महिनालाई चतुर्मास पनि भनिन्छ। भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले यी चार महिनामा विवाह, व्रतबन्धलगायत कार्य गर्न नहुने शास्त्रीय मान्यता छ। यस अवसरमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो। आयुर्वेदिक रूपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा अक्सिजन बढी पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ। यही तथ्य पुष्टि भएपछि ऋषिमुनिले तुलसी रोपेर पूजाआराधना गर्ने परम्परा बसालेका शास्त्रीय मान्यता रहेको भट्टराईले बताए।


सामाग्री श्रोत :

विधिपूर्वक तुलसीको दल राखियो

काठमाडौँ । कतै ओहोरदोहोर गर्नु पर्दा वा सामान्य जीवनमा पनि कागजपत्रले निकै ठाउँ ओगटिरहेका हुन्छन् । सम्झौता पत्र, चिठ्ठी, करका कागजातहरू, नोट, रेकर्ड, परिचयपत्र, सर्टिफिकेट आदि समयसँगै थुप्रिँदै जान्छन् । सधैँ जसले गर्दा सधैँ साथमा लिएर हिँड्न सम्भव हुँदैन । कहिलेकाहीँ घरबाट टाढा हुँदा यस्ता कागजातको जरुरत पनि पर्न सक्छ । त्यसका लागि तपाईँले यस्ता कागजात डिजिटाइज गरेर क्लाउडमा स्टोर गरेर राख्न सक्नु हुन्छ ।

भौतिक रूपमा केही कागजातहरू ‘राख्ने’ वा ‘फ्याँक्ने’ भन्ने निर्णय लिन गाह्रो हुन्छ । डिजिटाइजेसनले तेस्रो विकल्प प्रदान गर्छ, सुरक्षाका लागि भर्चुअल कपी बनाउने र भौतिक कागजलाई बिदा गर्ने ।

डिजिटाइजेसन गर्नका लागि तपाईँसँग एउटा स्मार्टफोन र समतल, सफा सतह (जस्तै टेबल) आवश्यक पर्छ । अझ सहज र सुरक्षित बनाउन कम्प्युटर, फाइलहरू एक डिभाइसबाट अर्कोमा सार्ने माध्यम (जस्तै केबल, एयरड्रप, वा क्लाउड स्टोरेज), फोटो एडिट गर्ने सफ्टवेयर, र कम्तीमा एउटा ब्याकअप ड्राइभ राख्न सक्नु हुन्छ । 

यति गरिसकेपछि कागजातहरू डिजिटाइज गर्नका लागि विभिन्न तरिकाहरू अपनाउन सक्नु हुन्छ । यदि तपाईँसँग धेरै कागजातहरू छन् भने, स्क्यानर खरिद गर्ने वा केही दिनका लागि सहयोगमा लिन सक्नुहुन्छ । फिडर भएको स्क्यानरले एकैचोटि धेरै कागजातहरू छिटो स्क्यान गर्न सक्छ । 

तर व्यक्तिगत प्रयोजनको सन्दर्भमा कागजात स्क्यानका लागि तपाईँसँग भएको स्मार्टफोन नै पर्याप्त हुन्छ । फोनबाट कागजातको डिजिटल कपी बनाउने तीन ओटा सजिलो तरिका छन् । पहिलो हो, सामान्य क्यामेरा एप । कार्ड र कलाकृतिका लागि यो विकल्प उपयुक्त हुन्छ । किनभने यसले सम्पादन गर्न मिल्ने तस्बिर सिर्जना गर्दछ, जसलाई ट्याग सहित व्यवस्थित गर्न सकिन्छ । तर, टेक्स्ट कागजातहरूका लागि भने यो खासै राम्रो विकल्प होइन । धेरै पृष्ठ भएका कागजातहरूका लागि यसरी स्क्यान गर्नु झन् कठिन काम हुन सक्छ ।

यस्तोमा बिल्ट-इन स्क्यानिङ एपहरूको सहारा लिन सक्नु हुन्छ ।  यस्ता एपहरूले प्रायः पीडीएफको रूपमा फाइल तयार गरिदिन्छन् र धेरै टेक्स्ट भएका कागजातहरूका लागि राम्रो मानिन्छन् । यसका लागि आईफोनमा फाइल तथा नोट्स एप प्रयोग गर्न सकिन्छ भने, एन्ड्रोइड फोनमा गुगल ड्राइभ एप रहेको हुन्छ । एप खोलेर फोनलाई कागजातमाथि केही बेर स्थिर राख्दा यस्ता एपले पेजलाई स्वतः आउटलाइन गरी फाइल सिर्जना गरिदिन्छन् । गुगल ड्राइभ, नोट्स वा फाइलको भन्दा बढी सुविधाहरू चाहिएमा तपाईँले थर्ड-पार्टी एपहरूको सहारा लिन पनि सक्नु हुन्छ । 

स्क्यान गर्दा समतल, राम्रो उज्यालो भएको ठाउँमा कागजातलाई राख्नुहोस्, जहाँ छायाँ नपरोस् । फोनलाई कागजातमाथि सिधा र समतल पारेर राख्नु पर्ने हुन्छ  । समय बचत गर्न र सेभ गर्नु अघि तस्बिर हेरेर क्रप गर्नपर्ने हुन सक्छ । 

ब्याकअप र फाइलको व्यवस्थापन

डिजिटाइज गरिएका कागजातहरूलाई फोनमा मात्र राख्नु जोखिमपूर्ण हुन सक्छ । डेटा हराउन सक्ने जोखिम कम गर्नका लागि त्यस्ता कागजातहरूलाई कम्प्युटर, ब्याकअप ड्राइभ तथा क्लाउड स्टोरेजमा सार्नुहोस् । महत्त्वपूर्ण फाइलहरू कम्तीमा दुई स्थानमा राख्नु सुरक्षित मानिन्छ ।

गुगल ड्राइभ प्रयोग गरी स्क्यान गर्दा फाइलहरू स्वतः क्लाउडमा ब्याकअप भएर बस्छन् । आईओएसका फाइल वा नोट्स एप प्रयोग गर्दा सेटिङमा गएर आईक्लाउडमा फाइल ब्याकअप भइरहेका छन् कि छैनन् भनी सुनिश्चित गर्न सकिन्छ ।

फाइलहरू कम्प्युटर, मोबाइल, वा क्लाउड स्टोरेज जहाँ भए पनि तिनीहरूलाई व्यवस्थित गर्नु अर्को महत्त्वपूर्ण काम हो । ताकि पछि सजिलै फेला पार्न सकियोस् । यसका लागि टप लेभल अर्थात् शीर्ष-स्तरका मुख्य फोल्डरहरू (जस्तै कार्ड वा पर्सनल रेकर्ड) सिर्जना गर्नुहोस् । त्यहाँभित्र, सम्झौता पत्र र परिचयपत्र जस्ता थप विशिष्ट किसिमका फोल्डरहरू बनाउन सक्नु हुन्छ । यसका अतिरिक्त थप फाइलहरूमा ट्याग र अन्य मेटाडेटा थप्न पनि सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १७:१८





सामाग्री श्रोत :
टेक पाना

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन्।

आज आयोजित विशेष कार्यक्रममा उनले उक्त अस्पतालको उद्घाटन गरेका छन्।

Ncell 2
Ncell 2

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गगरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

जनकपुर- प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समिति सर्वसम्मत चयन भएको छ। 

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा संयुक्त आचार्यले जानकारी दिए।

अधिवेशनबाट प्रजातन्त्रवादी चिकित्सकहरूको मधेश प्रदेश कार्यकारिणी समितिको उपसभापतिमा डा अश्विनी कुमार झा, महामन्त्रीमा डा विपिनकुमार यादव, सहमहामन्त्रीमा डा राजेश शाह, डा सितेश गोइत, डा सञ्जय कुमार सिंह, डा अमित कुमार यादव, डा मिशा महासेठ र डा सन्तोष साह चयन भएका छन्।

यसैगरी, कोषाध्यक्षमा डा भावना रौनियार, सहकोषाध्यक्षमा डा राजेश साह र डा पर्शुराम चौधरी चयन भएका छन्। 

जिल्ला संयोजकहरुमा डा मनोज यादव (बारा), डा कुश राज गिरी (पर्सा), डा मनोज कौशल (रौतहट), डा विजय कापर (सर्लाही), डा अनिल ठाकुर (महोत्तरी), डा मनोज कुमार साह (धनुषा), डा तेज शंकर यादव (सिरहा) र डा अनिल कुमार यादव (सप्तरी) संयोजकका रुपमा चयन भएका छन्।

यस्तै धनुषाको सचिवमा डा विवश गोइत, सिरहा सचिवमा डा महेश्वर चौधरी, सर्लाही सचिवमा डा अभिशेक राज र सप्तरी सचिवमा डा अभिशेक अमर सर्वसम्मत चयन भएको डा आचार्यले जानकारी दिए।
मधेश प्रदेश कार्यकारिणी समितिको अधिवेशनमा कांग्रेस सभापति देउवासहित पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौलाज्यू, कांग्रेस सह महामन्त्री महेन्द्र यादव, प्रदेश सभापति कृष्ण यादव एवं प्रजातन्त्रवादी चिकित्सक संघका पूर्व पदाधिकारीहरुको उपस्थिति थियो।

नेपाली काँग्रेसको उर्वराशक्ति भएको मधेश प्रदेशमा गठित यस कार्यकारिणी समितिले प्रजातन्त्रवादी चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिसँग समन्वय गरी मधेश कार्यकारिणी समितिलाई मधेश प्रदेशमा आबद्ध सम्पूर्ण जिल्लाहरूमा संघले निर्धारण गरेका सम्पूर्ण गतिविधिहरूलाई सक्रिय रूपमा अगाडी बढाउँदै संघलाई थप सक्रिय र जुझारू बनाउने प्रतिबद्धता जाहेर गरिएको व्यहोरा अवगत गराउँदछु,’ अधिवेशनपछि संघका महासचिव आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुई महिला बलात्कृत भएका छन्।

प्युठानको ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ मौरीवाङ खबाङ बस्ने ७८ वर्षीय महाराम पुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पुनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

धादिङको १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धलेक गाउँपालिका-१ बिर्जेथुम्का बस्ने ५४ वर्षीय एक बहादुर चितौरेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

एक बहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सिद्धलेकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ– पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन्। 

हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह जुम्ला पुगेकी हुन्। 

Ncell 2
Ncell 2

जुम्ला विमानस्थलमा उनलाई स्थानीयवासीले स्वागत गरेका थिए। हिमानी ट्रस्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो। 

उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रूपमा लिइएको स्थानीयवासीको भनाई छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ।

प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे।

पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरुले नियन्त्रण गुमाउँदाको परिणामस्वरुप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो।

टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिंदा अप्mफन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए।

३ दशमलव ६ को औसतमा अरुभन्दा किफायति सावित भएका गण्डकीका शुशील भुसालले आप्mनो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए।

यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए। ब्याटिंगमा ४ चौका र एक छक्कासहित ३९ रन तथा बलिंगमा ७ ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने।

२ सय ५७ रनको मध्यम लक्ष्य पाएपनि बलिंगमाझैं ब्यांटिगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन्।

फलस्वरुप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुनपुग्यो।

अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६अंक जोडेको कोशी अंकतालिकाको पहिलो नम्बरमा उक्ल्उिको छ भने शुरुदेखि नै पुछारमा रहेको गण्डकी तेश्रो खेलसम्म अंकविहीन पुछारमै रहेको छ।


सामाग्री श्रोत :

प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट