२०८२ भाद्र २६ बिहीबार
२०८२ भाद्र २६ बिहीबार

काठमाडौं- नेपाल मेडिसिटी अस्पतालले डा अमित तोमरलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। उनको नेतृत्वमा अस्पतालले अझ नयाँ उचाइ हासिल गर्ने विश्वास अस्पताल प्रशासनले लिएको छ।

अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार डा तोमरले युनिभरसिटी अफ लिड्स युकेबाट हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् भने उनको  विकसित तथा विकासोन्मुख देशहरुको  विभिन्न अस्पताल र स्वास्थ क्षेत्रमा काम गरिसकेको अनुभव छ।

डा तोमरको नियुक्तिले नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य सेवालाई अझ गुणस्तरीय र पहुँचयोग्य बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।  ‘उनको कार्य अनुभव र नेतृत्व क्षमताले अस्पताललाई आगामी दिनमा थप सफलताको मार्गमा डोर्‍याउनेछ, जसले बिरामीहरूलाई अत्याधुनिक उपचार र उत्कृष्ट हेरचाह प्रदान गर्न मद्दत पुग्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य सेवालाई अझ प्रभावकारी र गुणस्तरी सेवा प्रदान गर्न अस्पतालले मेडिकल बोर्ड स्थापना गरेको छ। उक्त बोर्डमा विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरू समावेश छन्, जसमा जेनेरल तथा डाइजेस्टिभ डिजिज युनिट १ का प्रमुख प्राडा सुनिल कुमार शर्मा, इएनटी–हेड एण्ड नेक सर्जरीका प्रमुख प्राडा तोरण केसी, रेडियोलोजी र इमेजिङ विभागका प्रमुख प्राडा राम कुमार घिमिरे र अर्थोपेडिक सर्जरी विभागका प्रमुख प्राडा शिशिर लाखे रहेका छन्। 

यस बोर्डले अस्पतालको चिकित्सा उत्कृष्टता र नवीनतामा महत्वपूर्ण योगदान गर्ने विज्ञप्तिमा उल्लेख छ। 
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । बेलायतले कब्जा गरिएको वेस्ट बैंकमा “प्यालेस्टिनी समुदायहरू विरुद्ध बारम्बार हिंसा भड्काएको” आरोपमा दुई अति-दक्षिणपन्थी इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएको छ।

बेलायती विदेश सचिवले इटामार बेन-ग्भिर र बेजालेल स्मोट्रिच दुवैलाई बेलायत प्रवेशमा प्रतिबन्ध लगाइने र बेलायतमा रहेको उनीहरूको सबै सम्पत्ति जफत गरिने बताएका छन्।

बेलायती विदेश सचिव डेभिड लामीले इजरायलका अर्थमन्त्री स्मोट्रिच र राष्ट्रिय सुरक्षामन्त्री बेन-ग्भिरले “प्यालेस्टिनीहरू विरुद्ध अतिवादी हिंसा र मानव अधिकारको गम्भीर उल्लंघनलाई उक्साएको” बताए।

जवाफमा इजरायलले भन्यो, “निर्वाचित प्रतिनिधि र सरकारका सदस्यहरूमाथि यस्तो प्रतिबन्ध लगाइनु अत्यन्तै अपमानजनक छ।”

यी प्रतिबन्धहरू मंगलबार घोषणा गरिएको बेलायत, नर्वे, अष्ट्रेलिया, क्यानडा र न्यूजील्याण्डको संयुक्त कारबाहीको अंश हुन्।

स्मोट्रिच र बेन-ग्भिर दुवैलाई गाजाको युद्धमा आफ्नो अडानका लागि आलोचना गरिएको छ। दुवै मन्त्रीहरूले गाजामा सहायता प्रवेश गर्न दिनुको विरोध गरेका छन् र प्यालेस्टिनीहरूलाई क्षेत्र बाहिर पुनर्वासको लागि आह्वान गरेका छन्।


सामाग्री श्रोत :

बेलायतले दुई इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगायो

काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ वृद्धि भएको हो। 

जसअनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको थियो। 

यसैबिच बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि ९ वटा संघसंस्थाहरुले आपत्ति जनाएका छन्। प्रतिबेदनमा सेवाग्राही र व्यवसायीहरुलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको भावनाका साथै चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई गम्भीर लाञ्छना लगाइएको उनीहरुले बताएका छन्।

औषधि स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिका अध्यक्ष महेश प्रधानले आफ्नो सहमतिबिना नै प्रतिवेदन तयार पारिएको बताएका छन्। प्रधानले भने ‘औषधिको मूल्य नीति सुझाव समितिको सदस्य म पनि छु, तर प्रतिवेदनका कतिपय बुँदामा मेरो असहमति हुँदाहुँदै र मैले नोट अफ डिफेन्स लेख्दा पनि प्रतिवेदन बुझाइयो यसमा हाम्रो आपत्ति छ।’

औषधि स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिमा ९ वटा व्यवसायिक संघ संस्थाहरु जोडिएका छन्। जसमा नेपाल औषधि उत्पादक संघ, नेपाल मेडिकल एसोसिएसन, नेपाल औषधि व्यावसायिक संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल औषधि थोक व्यवसायी संघ, नेपाल औषधि आयातकर्ता संघ, एसोसिएसन अफ प्राइभेट हेल्थ ईन्स्टिच्युटसन अफ नेपाल, रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल र नेपाल पशुपन्छी व्यावसायि संघ रहेका छन्।

नेपाल औषधि उत्पादक संघ (एपोन)का अध्यक्ष समेत रहेका सरोकार समितिका अध्यक्ष महेश प्रधानले समितिको प्रतिवेदनले दुरगामी असर पर्ने दाबी गर्दै कार्यान्वयन नगर्न सरकारलाई सुझाएका छन्।

समितिको प्रतिवेदन लागू भएमा एक महिनाभित्र औषधिको हाहाकार हुन सक्ने चेतावनी समेत दिएका छन्। 

मंगलबार समितिले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाइएको थियो। मन्त्री पौडेलले ‘औषधि मूल्य पारदर्शी बनाउने प्रयास’का रुपमा प्रतिवेदनलाई लिएको बताएका छन्। 

‘देशमा लामो समयसम्म मूल्य समायोजनको विषयमा गहिरोसँग अध्ययन हुन नसकेको अवस्थालाई दृष्टिगत गर्दै हामीले आम उपभोक्तालाई उचित, यथार्थ र पारदर्शी मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यका साथ औषधि मूल्य समायोजन सम्बन्धमा गठित मूल्य नीति सुझाव समिति गठन गरेका थियौं । आज प्राप्त प्रतिवेदनले औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएका छौं,’ उनले भनेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडाैं। विदेशमा बसेर डेढ दशकदेखि अनबरत रुपमा नेपाली गीत गजगलरु लेखेर संगीत गरी नेपाल र नेपाली कलाकार गायकलाई विश्वभर पुर्‍याउनको लागि अग्नि पराजुलीको ठूलो याेगदान रहेकाे छ।

विदेशमा आफ्नो काम सकेर नेपाली चाड पर्व अनुसार विभिन्न लोक, आधुनिक, पप, खेल अनि केही अंग्रेजी गीतमा समेत संगीत भरी एपी मुजिक युट्युबमार्फत प्रकाशित गरी रहेका छन्।

अग्नि पराजुली भन्छन्, ‘फुर्सद को समय भयो कि विभिन्न तालसँग खेलेर नयाँ गीत लेखन र संगीत निर्माण गर्न मन लाग्छ।’ पहिले संगीत गरेर त्यो संगीत माथि गीत लेख्ने उनको कर्म भएकोले प्राय छुट्टिको दिनसमेत यसैमा बित्ने गरेकाे उनले बताए।


भर्खरै बजारमा आएको अंग्रेजी गीत, “मेरो माया खै” अनि नेपाली क्रिकेट को लागि लेखेको गीत, रचना रिमालले गाएको घुटु घुटुमा र समीक्षा अधिकारीले गाएको कसैले माया बुझ्दैन गीतहरु धेरै लाेकप्रिय भएका छन्।

रचना तथा संगीतकार अग्नि पराजुली नेपाली साहित्य र संगीतमा सधैं आबद्ध छन्, नेपाल गीतकार अनि संगीतकार संघको आजीवन सदस्य तथा गैह्रआबासीय नेपालीको भाषा साहित्यको बोर्ड मेम्बर छन्।

उनको येत्लान्तिक कविता संग्रह राम्राे बिक्री भएकाे थियाे भने गीति संग्रह अमेजन किन्डलमा आउन लागेको छ। अहिले उनी अनेसासको लागि एउटा गीत लेखेर संगीत समेत गरी राम्रो संयोजनकर्ता र गाएक खोजीमा रहेका छन्।


सामाग्री श्रोत :

गीत संगीतमा उदाउँदै अग्नि

काठमाडौँ । पछिल्लो समय टिकटकमा ‘My Top Stalkers’ नामको इफेक्ट/फिल्टर प्रयोग भिडिओ बनाउने प्रयोगकर्ता बढेका छन् । ‘मेरो प्रोफाइल कसले लुकीलुकी हेरेको छ ?’ भन्दै मनोरञ्जन वा जानकारीको रूपमा टिकटक बनाउने क्रम बढेको छ । यस्ता इफेक्ट वा फिल्टरहरू वास्तवमै तपाईंको प्रोफाइल कसले र कतिपटक हेरेको छ भनेर बताउने विश्वसनीय माध्यम हुन् त ? यस्ता ट्रेन्ड पछ्याउनुअघि त्यसको वास्तविकता र जोखिमबारे जान्नु जरूरी हुन्छ ।

टिकटकमा हाल देखिएको ‘My Top Stalkers’ भन्ने इफेक्ट कुनै आधिकारिक फिचर होइन । यो थर्ड पार्टी (तेस्रो पक्ष) बाट बनाइएको एक इफेक्ट हो । यसले प्रयोगकर्ताको प्रोफाइलमा बारम्बार जाने प्रयोगकर्ताहरूको नाम देखाउने नाटक गर्छ । वास्तवमा यो इफेक्ट रमाइलो र मनोरञ्जनको लागि बनाइएको हो । यसको पछाडि कुनै साइन्टिफिक गणना वा टिकटकको आधिकारिक डेटामा आधारित प्रक्रिया छैन । अर्थात्, यसले कुनै पनि नाम जथाभावी देखाउँछ । प्रयोगकर्ता आफैँले पनि रिजल्टमा देखाइएका नाम पत्याएको देखिँदैन ।

यो इफेक्ट यति छिटो भाइरल भइरहेको छ कि कतिपय प्रयोगकर्ताहरूले यसलाई आधार बनाएर आफ्ना साथीभाइ र फलोअरमाथि शंका गर्न थालेका छन् । यस्तो अवस्थामा बुझ्नुपर्ने कुरा के हो भने ‘My Top Stalkers’ जस्ता इफेक्ट केवल रमाइलो गर्ने ट्रेन्ड हुन्, वास्तविक होइनन् ।

साथै, यस्ता इफेक्टमार्फत कतिपय प्रयोगकर्ताहरूलाई तेस्रो पक्षका वेबसाइट वा एप डाउनलोड गराउन समेत प्रेरित गरिन्छ, जुन झन् खतरनाक हुन सक्छ । यस्ता वेबसाइट/एपले तपाईंको अकाउन्टको प्रयोगकर्ता नाम, पासवर्ड वा अन्य व्यक्तिगत जानकारी माग्न सक्छन् । यसबाट तपाईंको गोपनीयता उल्लंघन हुन सक्छ । केही केसहरूमा त प्रयोगकर्ताहरूको अकाउन्ट नै ह्याक भएको देखिएको छ ।

टिकटकले हालको अवस्थामा भने एउटा वास्तविक फिचर मात्रै प्रदान गरिरहेको छ । यसको नाम ‘Profile View History’ हो । यो फिचर इनेबल गरेमा तपाईंले पछिल्ला ३० दिनभित्र तपाईंको प्रोफाइल हेरेका प्रयोगकर्ताहरूलाई हेर्न सक्नुहुन्छ । यो फिचर सेटिङ्समा गएर ‘Privacy’ सेक्सनभित्र भेट्न सकिन्छ, जहाँ ‘Profile Views’ भन्ने अप्सन छ । त्यहाँबाट यसलाई अन/अफ गर्न सकिन्छ ।

यदि तपाईं आफ्नो टिकटक प्रोफाइलमा कसले आइरहेको छ भनेर चिन्तित हुनुहुन्छ भने, ‘Profile View History’ फिचर नै सबैभन्दा भरोसायोग्य विकल्प हो । अन्य कुनैपनि इफेक्ट वा इफोटेन्मेन्टमा आधारित एपहरूमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ ।

साथै, आफ्नो टिकटक प्रोफाइललाई प्राइभेट राख्न सकिन्छ, जहाँ तपाईं चाहेका व्यक्तिहरू मात्र तपाईंको भिडिओ र प्रोफाइल हेर्न पाउँछन् । यसले पनि तपाईंको गोपनीयता सुरक्षित गर्न सहयोग पुर्‍याउँछ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १०:७





सामाग्री श्रोत :
टेक पाना

म्याग्दी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक पुरानो व्यवस्थामा नफर्कने बताएका छन् । 

अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले लामो राजनीतिक सङ्घर्ष र जनताको बलबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुक पछाडि नफर्कने बताएका हुन् । 

“यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघिबढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढङ्गले काम गर्नुपर्छ”, उनले भने, । साथै उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न  आफ्नातर्फबाट हरसम्भव प्रयास हुने अध्यक्ष दाहालले बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल नेत्रज्योति संघ र अर्विस ईन्टरनेशनबिच नेपालमा आँखा उपचार सम्बन्धी डिजिटल तालिम हबका रुपमा विकास गर्ने परियोजना संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आँखा स्वास्थ्य क्षेत्रमा आवस्यक पर्ने क्लिनिकल, पारामेडिक्स, ब्यवस्थापन तथा प्रशासनिक कर्मचारीहारुलाई तालीम दिई दक्ष जनशक्ति को रुपमा बिकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र बिदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम संचालनका लागि यो परियोजना संचालन गरिएको हो  । भविश्यमा आवस्यकता अनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम संचालन गरिनेछ ।

‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगती विश्वमै उदाहरणिय छ, अब विश्व स्तरमै संचालन हुने क्षमता अभिवृद्धि तालिमहरु नेपालमै संचालनका लागि नेत्रज्योति संघसंगको सहकार्यमा यो परियोजना संचालन हुनेछ’ अर्विस इन्टरनेशन इन्डियाका कन्ट्री डाईरेक्टर डा.ऋषिराज बोराहले भने।

यो परियोजना अन्तर्गतको तालिममा सहभागी हुने सहभागिहरुले भौतिक रुपमा आफैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतिबिन्दुको, ऐन्टेरियर सेगमेन्ट,भिट्रियो रेटिना,जलबिन्दु,अप्ट्रोमेट्री साईन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम,वेट ल्याब व्यबस्थाप तालिम लगायतका अप्थाल्मीक बिधाहरुमा तालिममा सहभागी हुन सक्नेछन्, जसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ ।

अर्विसको साईबर साईट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमित रुपमा संचालन गरिनेछ ।

त्यस्तै यो परियोजना अन्र्तगत संचालन हुने तालिममा नेपालमा रहेका सम्पुर्ण आँखा अस्पतालहरु, मेडिकल कलेज, निजि आँखा अस्पतालहरु,स्वास्थ सेवा प्रतिस्ठानहरु, सरकारी स्वास्थ्य संस्थाहरुमा कार्यरत जनशक्तिहरुका साथै विश्वकै  विभिन्न स्वास्थ्य संस्थाहरुका जनशक्तिहरु समेत सहभागि हुनसक्नेछन् । उक्त तालिमहरुको सहजिकरण विश्वस्तरमै सम्बन्धीत विषयमा ख्याति प्राप्त विषयबिज्ञहरुद्धारा गराइनेछ ।
 
संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार परियोजना संचालनका लागि हाललाई बिराटनगर आँखा अस्पतालमा तालिम संचालनका लागि आवश्यक सिमुलेटर,वेट ल्याब र रिमोट सर्जिकल किट लगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई संचालन भएको छ भने बिस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ ।

यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचार पछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगाा साबित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलो पटक यो परियोजना मार्फत यस प्रकार को विश्वस्तरिय तालिम संचालन गरिने बताए।

संघका कार्यक्रम व्वस्थापक रन्जन शाहका अनुसार हाल लाई नेपालका जनशक्तीहरुलाई लक्षित गरी तालिम संचालन गरिने छ भने अर्को वर्ष बाट देश बाहिरको जनशक्तिहरुको लागि समेत खुला गरिने छ । यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशमा माङ्गलिक अवसरमा गाइने सगुना फागलगायत लोकगीत लोप हुने अवस्थामा पुगेको छ । अघिल्लोबाट पछिल्लो पुस्तामा मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका मौलिक लोकगीत सगुना र फाग गाउनेहरु पाउन मुस्किल भएको छ ।

सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, कैलाली, कञ्चनपुरलगायत जिल्लामा विवाह, व्रतबन्ध, न्वारन र धार्मिक समारोहमा सगुनाफाग गाउने चलन छ । युवापुस्ताले सिक्न लाज मान्नाले ज्येष्ठ महिलाहरूले सिकाउन प्रयत्न नगर्दा यस्ता मौलिक गीत लोप हुने अवस्था उत्पन्न भएको हो ।

महिलाहरूको अगुवाइमा माङ्गलिक समारोहमा गाइने गीतले धार्मिक, सांस्कृतिक, सामाजिक र नैतिक भाव बोकेको हुन्छ । सुदूरको सगुना गीतको सङ्ग्रहकर्ता लेखिका कलसा महरा सगुनाफाग शुभकार्यमा गाइने भएकाले यसले आशिष, मङ्गलकामना र सौभाग्यको सङ्केत दिने गरेको बताउँछन्। “डोटेली भाषामा गाइने यी गीतले स्थानीय संस्कृति, भाषा र परम्परालाई जगेर्ना गर्न ठूलो भूमिका खेल्छ, नारी सशक्तीकरणको साङ्गीतिक स्वरुपका रूपमा सगुनाफागलाई लिन सकिन्छ”, उनले भने ।

लेखिका महराका अनुसार सगुना यसरी प्रारम्भ हुन्छः
सगुना बोल सर्सर्ती लगुनु बोल बिरस्पती बोल मया भला सगुन बोल कसुघर सरसती कसु घर बिरस्पती ।
बोल माया भला सगुन बोल सीता घर राम घर बिरस्पती

त्यसपछि माङ्गलिक कार्यअनुसार फाग गाउने गरिन्छ । सगुनाफाग गाउने क्रममा दमाहा बजाएर बढाइँ गर्ने चलन डोटेलीभाषी समुदायमा प्रचलित छ । ज्येष्ठ महिलाले मात्रै मौलिकता बोकेका यी गीत धार्मिक तथा माङ्गलिककार्यमा गाउने गरेको पाइछ ।

युवा वयका बुहारीले सामाजिक सञ्जालमा अधिकांश समय टिकटक बनाउन र फोटो अपलोड गर्नमै बिताउने गरेको उहाँ बताउनुहुन्छ । बुढापाकाले गाउने गीत भनेर लाज मान्ने गरेका कारण पछिल्लो समयमा सगुना फाग गाउने थोरै मात्र महिला छन् ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठानले कञ्चनपुरस्थित झलारीमा हराउँदै गएका सगुना फागलगायत गीतबारे नयाँ पिँढीलाई जानकारी दिन शुक्लाफाँटा नगरपालिकाको सहयोगमा पाँच दिवसीय तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका महराले सगुन, फाग, ठाडो खेल, रोपाइँ मेलामा गाइने भैना देउडा गीत ओझेलमा पर्दै जान थालेपछि तालिममार्फत महिलाहरूलाई लयबद्ध रूपमा गायन गर्ने तौरतरिका सिकाउने काम गरिरहेको बताए । सगुनाफागका शब्दहरुको भाव एउटै हुने भए पनि गाउने लय जिल्लापिच्छे फरक हुने गरेको उनले बताए।

सहायक प्रशिक्षक महेशकुमार जोशीका अनुसार, सगुनाफाग प्रमुख रूपमा महिलाले गाउने परम्परागत मौलिक गीतले महिलाहरूलाई भाव व्यक्त गर्ने, अनुभव बाँड्ने र सामाजिक सन्देश दिने अवसर प्रदान गर्ने छ । जिल्लाजिल्ला र गाउँगाउँअनुसार सगुनाफागको लय फरक हुने भए पनि यसले दिने सन्देश र भाव भने एकै प्रकारको हुने गरेको छ ।

नयाँ पिँढीलाई जागरुक गराई डोटेली सभ्यताको पहिचानका रुपमा रहेका गीत जगेर्ना गर्न लाग्नुपर्ने उहाँले बताउनुभयो । यी गीतमा उपदेश, संस्कार, सामाजिक व्यवहारजस्ता सन्देश समेटिएका हुन्छन्, जसले भावी पुस्तालाई पनि संस्कार सिकाउने उनी बताउँछन् । महिलाले सगुनाफाग सामूहिक रूपमा गाउने भएकाले समाजमा ऐक्यबद्धता र सहकार्यको भावना पैदा गर्ने देउडा संस्कृति संरक्षण प्रतिष्ठानका शुक्लाफाँटा नगर अध्यक्ष गोदावरी ठगुन्ना मार्कण्ड बताउँछ ।

“गाउँमा सगुना फाग गाउने थोरै मात्र बुढापाका महिला हुने भएकाले उहाँहरूलाई समाजमा उच्च सम्मान दिने गरिन्छ, गायनबापत सम्मानपूर्वक दानदक्षिण दिएर मात्र बिदा गरिन्छ, फागसुगना गायन गर्ने महिलाको खोजी गरेर माङ्गलिक कार्यमा सहभागी गराउनुपर्ने अवस्था छ”, उनले भने ।

उनका अनुसार न्वारन, कपाल काटने (क्षौर), ताइ लगाउने, जग्यो लगाउने, हातमा पटली बाँध्ने, छोरीको विवाहमा खुट्टा धुने, लया भुटने, विवाहमा दुलही दुलहाले फेरा लगाउने, जन्ती दुलहाको घरमा पुग्ने, दुलही भित्र्याउने बेला सगुनाफाग गाउने गरिन्छ ।

त्यसैगरी, सासुले टीका लगाउने, बेहुला तयार हुने, बरियात दुलहीको घरमा पुग्ने, गौरा पर्वमा बिरुडा भिजाउने, व्रतबन्ध गर्ने, सत्यनाराण कथा, सप्ताह पुराणलगायत महायज्ञका बेला सगुनाफाग गाइन्छ ।

सगुनाफाग गाउनेलाई फगारी भन्ने गरिन्छ । एक जना जानकार महिलाले लयबद्ध रूपमा सगुनाफाग गाउँछन् भने अरु माङ्गलिक कार्यमा सहभागी महिलाले उनकै सिको गर्दै लयमा लय मिलाउँदै गाउने गर्छन् । डोटेली समुदाय मात्र होइन भारतको कुमाँउ गढवाल क्षेत्रमा पनि माङ्गलिक अवसरमा यो गाउने प्रचलन छ ।


सामाग्री श्रोत :

सुदूरपश्चिमका माङ्गलिक अवसरमा गाइने ‘सगुनाफाग’ लोप हुने अवस्थामा

काठमाडौँ । तपाईंले आफ्नो ईमेल सुरक्षित राख्ने प्रयास नगरे ह्याकरहरू खुसी हुन्छन् । तपाईंले ईमेलमा सुरक्षाका उपाय नअपनाउनु भनेको उनीहरूलाई प्रवेश गर्ने ढोका खुला राखिदिनु सरह हो । ह्याकर यस्ता मौका गुमाउन चाहँदैनन् । तर, केही सामान्य सेटिङ अन गरेर तपाईं आफ्नो ईमेललाई ह्याकरबाट सुरक्षित राख्न सक्नुहुन्छ । यी सेटिङ मिलाउन धेरै समय पनि लाग्दैन ।

टु-फ्याक्टर अथेन्टिकेसन (2FA) को प्रयोग

आफ्नो ईमेल ह्याक हुने जोखिम कम गर्ने सबैभन्दा सजिलो उपाय भनेको टु-फ्याक्टर अथेन्टिकेसन (2FA) अन गर्नु हो । यदि कुनै ह्याकरले तपाईंको पासवर्ड पत्ता लगाइहाल्यो भने पनि उसले लग-इन गर्न अर्को तरिकाले आफ्नो पहिचान प्रमाणित गर्नुपर्छ । यो एक्सेस सामान्यतया ह्याकरसँग हुँदैन । यो मल्टिफ्याक्टर अथेन्टिकेसनको सबैभन्दा राम्रो रूप हो ।

तपाईंले टुएफएलाई विभिन्न तरिकाले अन गर्न सक्नुहुन्छ । तर अथेन्टिकेटर एप (Authenticator App) प्रयोग गर्नु सबैभन्दा उत्तम हुन्छ । उदाहरणका लागि गुगल अथेन्टिकेटर एक राम्रो विकल्प हो । धेरै पासवर्ड म्यानेजरले पनि आफ्नै अथेन्टिकेटर एप उपलब्ध गराउँछन् ।

जब तपाईंले अथेन्टिकेटर एपमार्फत टुएफए अन गर्नुहुन्छ तपाईंले लग-इन गर्दा एउटा कोड हाल्नुपर्ने हुन्छ । यस्तो कोड केही सेकेन्डमा परिवर्तन भइरहन्छ । केही अवस्थामा तपाईंले क्यूआर कोड स्क्यान गरेर पनि लग-इन गर्न सक्नुहुन्छ ।

थर्ड पार्टी एपको एक्सेस हटाउने 

हरेक वेबसाइटमा नयाँ प्रोफाइल बनाएर पासवर्ड राख्नुभन्दा आफ्नो ईमेलबाटै लग-इन गर्नु सजिलो लाग्न सक्छ । तर, यसरी थर्ड-पार्टी एप वा वेबसाइटलाई आफ्नो ईमेलको एक्सेस दिँदा तपाईंको अकाउन्ट जोखिममा पर्न सक्छ ।

तपाईंले प्रयोग गर्ने धेरैजसो एपको सुरक्षा प्रणाली बलियो होला तर सबैको हुँदैन । विशेषगरी नयाँ र परीक्षण नभएका एपमा साइन-अप गर्दा होसियार हुनुपर्छ । यदि कुनै एप पछि गएर बन्द भयो र त्यसले सुरक्षा अपडेट पाउन छोड्यो भने ह्याकरहरूले त्यही कमजोरीको फाइदा उठाउन सक्छन् ।

त्यसैले तपाईंले नियमित रूपमा प्रयोग गर्ने एपलाई मात्र आफ्नो ईमेलको एक्सेस दिनुपर्छ । आफ्नो ईमेल खाताको सेटिङमा गएर नचाहिने एपको एक्सेस हटाउने बानी बसाल्नुहोस् । यो काम हरेक केही हप्तामा कम्तीमा एक पटक गर्नुहोस् ।

ईमेलको एक्सटर्नल लोडिङ फिचर प्रयोग गर्नुहोस्

धेरैजसो अवस्थामा ईमेलमा आएका तस्बिरहरू सुरक्षित हुन्छन् । तर कहिलेकाहीँ यिनले सुरक्षा खतरा निम्त्याउन सक्छन् । साइबर अपराधीहरूले स्प्याम ईमेलमा कोड वा ट्र्याकिङ पिक्सेल राखेर पठाउन सक्छन् । जबसम्म तपाईंलाई पठाउने व्यक्ति वा कम्पनीमाथि सतप्रतिशत विश्वास छैन, ईमेलका बाह्य तस्बिरहरू खोल्दा सावधानी अपनाउनुहोस् ।

तपाईंको ईमेल सेवामा भएको इमेज लोडर प्रयोग गर्नाले तपाईंको डेटा सुरक्षित रहन्छ र ह्याकिङको जोखिम कम हुन्छ । उदाहरणका लागि आउटलुकमा यो सुविधा उपलब्ध छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् । 

यदि तपाईंको ईमेल सेवामा यस्तो सुविधा छैन भने अर्को सुरक्षित ईमेल सेवा प्रयोग गर्नेबारे सोच्नु उत्तम हुन्छ ।

ईमेल फिल्टरिङलाई कडा बनाउने

दुर्भाग्यवश तपाईंको ईमेल अकाउन्ट धेरै किसिमका क्याम र फिसिङ आक्रमणको सुरूवात बिन्दु बन्न सक्छ । तपाईंलाई वास्तविक ईमेलभन्दा बढी स्प्याम र फिसिङ ईमेलहरू आउन सक्छन् । त्यसैले तपाईंको ईमेल सेवाको स्प्याम फिल्टर राम्रो हुनु जरुरी छ । धेरैजसो ईमेल सेवाले स्प्याम र फिसिङ ईमेल राम्रैसँग फिल्टर गर्छन् । तर तिनीहरूले सबैलाई रोक्न सक्दैनन् ।

त्यसैले ईमेल सेवाको फिल्टरलाई पहिलो चरणको सुरक्षाको रूपमा मात्र लिनुहोस् र बाँकी सुरक्षा आफ्नो हातमा लिनुहोस् । धेरैजसो ईमेल सेवाहरूले तपाईंलाई कसले ईमेल पठाउन पाउने भनेर आफैंले छनोट गर्ने सुविधा दिन्छन्, जसलाई ‘ह्वाइटलिस्ट’ (whitelist) भनिन्छ । यसरी तपाईंले चाहेको व्यक्ति वा संस्थाबाट मात्र ईमेल प्राप्त गर्ने सेटिङ मिलाउन सक्नुहुन्छ । यसले तपाईंलाई फिसिङ र अन्य सुरक्षा खतराबाट जोगाउँछ ।

अट्याचमेन्ट ब्लक गर्ने

बाह्य तस्बिर ब्लक गर्दा ह्याकिङको जोखिम कम हुन्छ । तर तपाईं अझ एक कदम अगाडि बढेर अपरिचित व्यक्तिबाट आउने अट्याचमेन्ट पनि ब्लक गर्न सक्नुहुन्छ । केही ईमेल सेवाले तपाईंको सुरक्षित सूची (safelist) मा नभएका व्यक्तिबाट आउने तस्बिर, डकुमेन्ट र अन्य फाइलहरू रोक्ने सुविधा दिन्छन् ।

तपाईंले सुरक्षित प्रेषक (ईमेल पठाउने व्यक्ति वा कम्पनी) आफ्नो कन्ट्याक्ट सूचीमा भएका व्यक्ति वा विश्वसनीय डोमेनबाट मात्र एट्याचमेन्ट स्वीकार गर्ने नियम बनाउन सक्नुहुन्छ । यी सबै सुविधा एकैपटक अन गर्नुपर्छ भन्ने छैन । तर कम्तीमा एउटा विकल्प प्रयोग गर्नु राम्रो उपाय हो ।

बलियो पासवर्डको प्रयोग

माथि उल्लेखित सबै सुरक्षाका उपायहरू अपनाउँदा पनि तपाईंको ईमेल खातालाई ह्याक हुनबाट बचाउने सबैभन्दा राम्रो तरिका बलियो पासवर्ड नै हो । आजकल बलियो पासवर्ड बनाउन धेरै सजिलो छ । एप्पल पासवर्ड जस्ता पासवर्ड जेनेरेटर एपले तपाईंको लागि एक मिनेटभन्दा कम समयमै अनुमान गर्न नसकिने पासवर्ड बनाइदिन्छन् ।

तपाईंको सबै अकाउन्टको पासवर्ड फरक-फरक र पृथक हुनुपर्छ । यदि तपाईंको एउटा अकाउन्टको पासवर्ड धेरै बलियो छ भने पनि त्यसलाई अन्य अकाउन्टमा कहिल्यै प्रयोग नगर्नुहोस् । यदि तपाईंको डेटा कहिल्यै चोरी भयो भने एउटै पासवर्डले तपाईंका धेरै अकाउन्ट जोखिममा पर्नेछन् ।

तपाईंले पासवर्डको सट्टामा ‘पासकी’ (Passkeys) को प्रयोग पनि गर्न सक्नुहुन्छ । यसले तपाईंलाई ह्याकरबाट मात्र नभई फिसिङ जस्ता खतराहरूबाट पनि बचाउँछ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ ८:५५





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट