२०८२ भाद्र ६ शुक्रबार
२०८२ भाद्र ६ शुक्रबार

काठमाडौँ । राइड हेलिङ एवम् फुड डेलिभरी सेवा प्रदायक पठाओले नियमित राइड र फुड अर्डर गर्ने ग्राहकलाई लक्षित गर्दै ‘पठाओ सेभर प्याक’ सार्वजनिक गरेको छ । बेटा भर्सनमा उपलब्ध यस योजना विशेषतः क्याम्पस र अफिस जाने यात्रुहरूका लागि तयार गरिएको कम्पनीले जनाएको छ ।

यस प्याक अन्तर्गत तीन ओटा प्याकेज उपलब्ध छन्- स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक ।

स्टुडेन्ट प्याकको मूल्य २९९ रुपैयाँ राखिएको छ । यो प्याक खरिद गर्ने विद्यार्थीले २६ ओटा बाइक राइडमा प्रत्येक राइडमा ४५ रुपैयाँ छुट पाउनेछन् । विद्यार्थीका लागि सस्तो, भरपर्दो र नियमित यात्राको सजिलो विकल्प दिने उद्देश्यले यो प्याक ल्याइएको कम्पनीले जनाएको छ । प्याक खरिद गर्न विद्यार्थी परिचयपत्र अनिवार्यरूपमा देखाउनु पर्नेछ ।

अफिस प्याकको मूल्य ४९९ रुपैयाँ तोकिएको छ । यस अन्तर्गत ग्राहकले १८ ओटा बाइक राइडमा प्रत्येकमा ४० रुपैयाँ छुट, तीन ओटा कार लाइट राइडमा प्रत्येकमा १२० रुपैयाँ छुट र तीन ओटा कार प्लस राइडमा प्रत्येकमा १५० रुपैयाँ छुट पाउनेछन् ।

सुपर सेभर प्याकको मूल्य ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यस प्याकमा १५ ओटा बाइक राइडमा प्रत्येकमा ४० रुपैयाँ छुट, पाँच ओटा कार–लाइट राइडमा प्रत्येकमा १५० रुपैयाँ छुट, पाँच ओटा कार प्लस राइडमा प्रत्येकमा २०० रुपैयाँ छुट उपलब्ध हुनेछ । साथै, पाँच ओटा फुड अर्डरमा १० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म छुट पाउने सुविधा पनि यसमा रहेको छ । यो प्याक नियमित राइड तथा फुड अर्डर गर्ने ग्राहक‍लाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ ।

सेभर प्याकले ग्राहकको खर्च बचत गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ । ग्राहकले यी प्याकेजहरू पठाओको वेबसाइटको ब्लग सेक्सनमार्फत खरिद गर्न सक्नेछन् ।

कम्पनीले प्रयोगकर्ताको सुझाव र प्रतिक्रियाका आधारमा आगामी दिनमा थप सुधार तथा परिमार्जन गर्दै यो प्याकको पूर्ण संस्करण ल्याउने जनाएको छ ।‍

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १६:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बढुवा समितिको सिफारिसका आधारमा ठाडा मगरलाई हालै एआईजी पदमा बढुवा गरिएको हो।

बुधबार सशस्त्र प्रहरी बलको मुख्यालय, हलचोकमा आयोजित विशेष कार्यक्रममा आईजी अर्यालले ठाडा मगरलाई पद अनुसारको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

Ncell 2
Ncell 2

कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू, कर्मचारी, तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा महानिरीक्षक अर्यालले ठाडा मगरको पेशागत योगदान, कार्यकुशलता र नेतृत्व क्षमताको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बढुवापछि ठाडा मगरले आफ्नो जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र राष्ट्रसेवामा समर्पित भावनाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं –  डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएकोमा नेपाल डेन्टल एशोसिएसनको आपत्ति जनाएको छ। मन्त्रालयले हालै अर्थ मन्त्रालय पठाएको दरबन्दी प्रस्तावमा दन्त सर्जनलाई प समावेश नगरिएकोप्रति नेपाल डेन्टल एशोसिएसन (एनडीए)ले ध्यानाकर्षण पत्र बुझाएको हो।

एशोसिएसनका केन्द्रीय सदस्य डा भूमेश काफ्लेले भने, ‘हिजो सार्वजनिक भएको ओएन्डएम रिपोर्टमा एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ। यसपटक पनि डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिनु अत्यन्तै आपत्तिजनक कुरा हो। त्यस्तै हाम्रा विशेषज्ञ विषयहरू जस्तै ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्रि मा अहिलेसम्म एउटा पनि दरबन्दी खोलिएको छैन।’

रिपोर्ट सार्वजनिक भएसँगै बुधबार एनडिएका महासचिव डा. प्रदीप भण्डारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको छ। पत्रमा मन्त्रालयले डेन्टल सर्जनसम्बन्धी दरबन्दी तथा विशेषज्ञ शाखाहरूलाई नसमेटिएकोप्रति गम्भीर चासो व्यक्त गरिएको छ।

एशोसिएसनले सरकारसँग  सार्वजनिक स्वास्थ्य प्रणालीमा दन्त सेवाको महत्वलाई दृष्टिगत गर्दै विभिन्न विशेषज्ञलाई पनि दरबन्दीमा तत्काल समावेश गर्न माग गरेको छ। डेन्टल सर्जनको संख्या र उपस्थितिलाई सुनिश्चित गर्न प्रभावकारी योजना आवश्यक रहेको एशोसिएसनको भनाइ छ।

स्वास्थ्य सेवा पहुँचको क्षेत्रमा दन्त विशेषज्ञताको योगदान बढ्दो रहेको सन्दर्भमा उपेक्षा गर्नु नीति निर्माताहरूको उदासीनता रहेको एनडीएले जनाएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं, सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश डा. शान्ता सेढाई सापकोटालाई नियुक्त गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीस सापकोटालाई सरकारले न्यायाधिकरणको अध्यक्ष तोकेको हो ।
असार २ गते बसेको मन्त्रिपरिषद्को बैठकले न्यायाधीस सापकोटालाई न्यायाधिकरणको अध्यक्ष तोको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार सम्वन्धी मुद्धाको फस्र्यौट गर्ने गर्दछ ।
प्रवक्ता गुरुङका अनुसार सरकारले दक्षिण कोरिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियोजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ करोड ८० लाख रूपियाँ अनुदान सहायता स्वीकार गरेको छ।

सामाग्री श्रोत :
deshparadesh

 

काठमाडौँ । ताइवानले पहिलो पटक चिनियाँ प्रविधि र चिप निर्माता कम्पनी ह्वावे र सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्प (एसएमआईसी) लाई कालोसूचीमा राख्दै अमेरिकाको प्रविधि नियन्त्रण अभियानमा साथ दिएको छ ।

ताइवान सरकारले अबदेखि यी कम्पनीहरूसँग कुनै पनि व्यापार गर्न पूर्वस्वीकृति अनिवार्य रूपमा लिनुपर्ने नीति ल्याएको छ । यो कदमलाई अमेरिकासँग प्रविधि साझेदारी मजबुत बनाउने र चीनमा प्रविधि हस्तान्तरण रोक्ने रणनीतिक प्रयासको रूपमा हेरिएको छ ।

ताइवानी राष्ट्रपति लाइ छिङ-तेले ‍गएको अप्रिलमा अमेरिकालाई निर्यात नियन्त्रणबारे चासो सम्बोधन गर्ने वाचा गरेपछि लिएको यो पहिलो ठोस निर्णय हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै ताइवानमाथि यस्तो कदम चाल्न दबाब दिइएको थियो ।

अमेरिकी कंग्रेसको चीनसम्बन्धी समितिले पनि ताइवानको निर्णयपछि साझेदार राष्ट्रहरूसँग सहकार्यलाई अझै मजबुत बनाउने बताएको रोयटर्समा उल्लेख छ । 

विश्लेषकहरूका अनुसार यो कदमले ताइवानलाई चीनसँगको प्रविधि प्रतिस्पर्धामा सक्रिय बनाएको छ । यसअघि अमेरिकी प्रतिबन्धविपरीत ताइवानको टीएसएमसी ‍कम्पनीले ह्वावेका लागि २९ लाख एआई चिप उत्पादन गरेको तथ्य बाहिर आएको थियो । त्यसपछि अमेरिकी दबाबमा टीएसएमसीले उक्त बिचौलिया कम्पनीसँग सम्बन्ध तोडेको थियो ।

यद्यपि यो प्रतिबन्धले तत्काल ठुलो व्यापारिक असर नपार्ने विश्लेषण गरिएको छ । किनभने धेरै चिनियाँ कारोबार ताइवान कम्पनीका चिनियाँ शाखामार्फत हुँदै आएका छन् । चिनियाँ विदेश मन्त्रालयले भने ताइवानले अमेरिकालाई खुसी पार्न आफ्नै हित गुमाएको आरोप लगाएको छ । चीनले ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै आवश्यक परे बल प्रयोग गरेर एकीकरण गर्ने बताउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १६:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको गुनासो गरेका छन्।

नाम, रङ र डिजाइनसमेत नक्कल गरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन्।

उनले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको सुरुवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पारे।

Ncell 2
Ncell 2

‘हालसम्म त्यस्ता नक्कली महानगर यातायात तथा मिल्दोजुल्दो नाम हुबहु रङ र डिजाइन राखी सवारी साधन सञ्चालन गर्ने व्यवसायीहरूप्रति नरम रुपमा प्रस्तुत हुँदै आएको भएपनि अब उप्रान्त यस कम्पनीको नाम र रङको डिजाइन आफ्ना सवारी साधनबाट नहटाइएमा क्षतिपूर्तिको मागसहित जस्तोसुकै कानुनी कारबाही गर्न पनि नपर्नेसमेत जानकारी गराउन चाहन्छु,’ उनले भने।

सडक दुर्घटना, सामान छुट्ने लगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झन्झट व्यहोर्नु परेको उनले दाबी गरे।

अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन्।

‘महानगर यातायातकै नाम, रङ र डिजाइनसमेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरी एकै रुटमा चलिरहँदा हामी सञ्चालकमात्र नभएर यात्रुहरूले समेत समस्या झेलिरहेका छन्,’ उनले भने, ‘यसबारे पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही भएको छैन। नियमानुसार सम्बन्धित निकायमा दर्ता गराई आवश्यक प्रक्रिया पुर्‍याएर गरिएको व्यवसायमा सोही काम र नामको अर्को कम्पनी सञ्चालन गर्ने अनुमति सम्बन्धित निकायले दिँदैन।’

कैयौं पटक केही बसहरूको नियमित सेवा समेत रोकिने र यात्रुले पाएको दुःखसँगै कम्पनीलाई हुने आर्थिक नोक्सानीको कुनै लेखाजोखा नै नहुने अवस्था रहेको उनको गुनासो थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मानसिक स्वास्थ्य समस्या कम चर्चा भइरहेको तर अहिले बढ्दो अवस्थामा रहेको विषय हो। जसले समाजका धेरै पक्षहरूलाई प्रभाव पारिरहेको छ। विश्वको तथ्यांक केलाउने हो भने हरेक वर्ष ८ लाख मानिसले आत्महत्या गर्छन्, जसको अर्थ हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन्। नेपालको सन्दर्भमा भने, हरेक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको चिकित्सक बताउँछन्। एउटा आत्महत्याका घटनाले प्रत्यक्ष रूपमा ६ जना मानिसलाई प्रभावित पार्छ। 

पाटन मानसिक अस्पतालका पूर्व निर्देशक समेत रहेका मानसिक रोग विश्षज्ञ डा अनन्त अधिकारीका अनुसार हरेक व्यक्तिले आफ्नो जीवन समाप्त पार्ने सोच बाहिर ल्याउनु भनेको सहयोगको याचना गर्नु हो र यो अत्यन्त संवेदनशील विषय हो। ‘प्रकृतिले हरेक प्राणीमा जिजीबिषा दिएको हुन्छ र अत्यधिक पिडाको अनुभूति नभई व्यक्तिले आत्महत्याको सोच ल्याउँदैन,’ उनी भन्छन्। 

सनसनीखेज किन बनाउनुहुँदैन ?

सनसनीपूर्ण तरिकाले आत्महत्याका घटनाहरूलाई प्रस्तुत गर्दा, ब्रेकिङ न्युजको होडबाजीमा लाग्दा वा सामाजिक सञ्जालमा सेयर गर्दा पीडितहरूलाई थप पिडा हुने उनले बताए। ‘प्रतिष्ठित व्यक्तिले आत्महत्याको सोच सेयर गरेको वा आत्महत्या गरेको घटनालाई बढाइचढाई गरेर प्रसारण गर्दा भोलिपल्ट आत्महत्याको दर ह्वात्तै बढेका घटनाहरू छन,’ उनले भने,  ‘ नेपालमै पनि पोहोरतिर सार्वजनिक स्थलमा आत्मदाहको घटनापछि आत्महत्याको दर बढेको थियो। यस्तो तरिकाले समाचार सम्प्रेषण गर्दा आत्महत्याको सोच भएका व्यक्तिहरूलाई आत्महत्या गर्न उद्यत गराउने सम्भावना हुन्छ।’
हुबहु सुसाइड नोट प्रसारण गर्दा पढ्ने व्यक्तिले पनि त्यस्तै पिडा भोगिरहेका हुनसक्छन् र उनीहरूलाई आत्महत्यातर्फ प्रेरित गराउने सम्भावना बढी हुने उनले बताए।

के गर्ने ?
– कुनै पनि आत्महत्यासम्बन्धी घटनालाई सनसनीपूर्ण नबनाउने।

– छापा माध्यममा भए भित्रपट्टि तलपट्टि साना अक्षरमा राख्ने।
– आत्महत्या गर्ने तरिकाहरू वा विधिहरू नदेखाउने।
– फोटोहरू प्रदर्शन नगर्ने।

स्वास्थ्यकर्मीमा किन बढी समस्या ?
स्वास्थ्यकर्मीहरूमा मानसिक स्वास्थ्य समस्या विश्वका आंकडा हेर्दा स्वास्थ्य क्षेत्रका मानिसहरूमा आत्महत्या गर्ने दर बढी देखिएको छ। यसबारे डा अधिकारी भन्छन्,  ‘चिकित्सक वा स्वास्थ्यकर्मी पनि सर्वप्रथम मानिस हुन्, उनीहरूमा पनि भावना, संवेग र आवेग हुन्छन्। उनीहरूले पनि अरू मानिसले जस्तै तनाव झेल्नुपर्छ। यसको कारणमा कडा खालका विषादी पदार्थहरूमा सहज पहुँच, बिरामीको जीवनमरणसँग जोडिएको, समुदायमा प्रतिष्ठाको कुरा गासिएको र स्थापना हुन कठिन हुनेजस्ता कारणले गर्दा यो पेसा अत्यधिक तनावपूर्ण हुनु पनि हुन सक्छ।’

सार्वजनिक वा पेसागत जीवनमा कहिलेकाहीँ षड्यन्त्रको भावना आउनु सामान्य हो, तर जब यसले दैनिक जीवनमा अप्ठ्यारो पार्छ, कार्यशैलीमा असर गर्छ, व्यक्ति भाग्न थाल्छ वा षड्यन्त्रविरुद्ध अर्को षड्यन्त्र बुन्न थाल्छ भने त्यो मानसिक स्वास्थ्य समस्या हुन सक्ने उनी बताउँछन्।

शिक्षितमा पनि किन उपचारमा हिचकिचाहट ?
उपचारमा हिचकिचाहट र सामाजिक कलंक मानसिक स्वास्थ्य समस्यासम्बन्धी समाजमा धेरै भ्रमहरू रहेको उनी बताउँछन्। 
‘शिक्षित वर्गमा पनि आफ्नो अधिकार र जिम्मेवारीबाट वञ्चित भइने हो कि भन्ने डरत्रास र सामाजिक प्रतिष्ठामा आँच आउने कुराको ठूलो डर हुन्छ।  टिबी र कुष्ठरोगलाई पहिले घृणाको दृष्टिकोणले हेरिए पनि बिस्तारै कम हुँदै गएको जस्तै, मानसिक रोगी वा आत्महत्याको प्रयास गरेर बाँच्न सफल भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोणमा अझै पनि सुधारको खाँचो छ।’मानसिक स्वास्थ्य उपचार वा मनोपरामर्श लिन हिचकिचाउन नहुने उनी बताउँछन्।

मानसिक स्वास्थ्य समस्याका लक्षण तथा संकेत कसरी थाहा पाउने ?
कुनैपनि व्यक्तिमा मानसिक स्वास्थ्य समस्या आएको कुरा निम्न लक्षणहरूबाट थाहा पाउन सकिन्छ:


आफ्नो पेसा वा व्यवसायमा मन नजानु।
दैनिक रूपमा आउने तनावहरू व्यवस्थापन गर्न कठिन हुनु।
पीडाको अनुभूति हुनु।
चरम निराशा वा एक्लोपन महसुस गर्नु।
आफूलाई एक्ल्याइएको वा षड्यन्त्रको भुमरीमा पारिएको भन्ने सोच आउनु।
यस्ता सोचले दैनिक जीवन र सामाजिक तथा व्यावसायिक कार्यमा अप्ठ्यारो पार्नु।
मनस्थितिमा तलमाथि हुनु र समाजलाई हेर्ने दृष्टिकोण निराशाजनक हुनु।
पहिला सहजै व्यवस्थापन गर्न सक्ने सामान्य तनावहरू झेल्न नसक्नु।
भविष्य राम्रो नभएको जस्तो सोच व्यक्त गर्न थाल्नु।
एकाएक लागुपदार्थको दुर्व्यसनीमा फस्नु वा मात्रा बढाउनु।

आफन्त र साथीभाइले कसरी थाहा पाउने ?


घर व्यवहारको आर्थिक पाटो बिस्तारै अरूलाई जिम्मा लगाउँदै जानु।
‘म कति बाँचुला र’, ‘तिमीहरूले यसो गर्नु’, ‘फलानोसँग ऋण यति छ अथवा धन यति छ’ भन्दै कुरा सेयर गर्नु।
जीवनको निरर्थकताको बारेमा धेरै बहस गर्नु।
कसरी आत्महत्या गर्ने वा सहजैसँग जीवन समाप्त पार्ने भनी सामाजिक सञ्जाल वा प्रविधिमा खोजी गर्नु।

डा अधिकारीसँग विशेष अन्तर्वार्ता हेर्न/सुन्न क्लिक गर्नुहोस् :

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं, इजरायलस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको नाम दर्ता सुरु गरेको छ। दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहनेहरुका लागि अनलाइन मार्फत दर्ता गर्न सुरु गरेको जनाएको हो।
‘इरान र इजरायलबीच बढेको पछिल्लो आक्रमणका बीच त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,’ दूतावासले सूचनामा भनेको छ।
उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको वेब लिंकमा क्लिक गरी रजिष्ट्रेसन गर्न अनुरोध गरिएको छ। इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको छ। इरानमा भनें थोरै संख्यामा नेपाली छन् ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि मोबाइल एप ‘NT App’ सञ्चालन गरिरहेको छ । ग्राहकको आवश्यकता र प्रविधिसँगै बदलिंदो प्रवृत्तिलाई मध्यनजर गर्दै कम्पनीले एपमार्फत धेरैजसो सेवा एउटै स्थानबाट उपलब्ध गराएको छ ।

एपबाट मोबाइल सेवासम्बन्धी सम्पूर्ण विवरण हेर्नदेखि डिजिटल भुक्तानीसम्मका काम गर्न सकिन्छ । ‘Company Info’ सेक्सनमार्फत कम्पनीको वार्षिक साधारणसभा सूचना, वित्तीय विवरण, स्मारिका र महत्त्वपूर्ण उपलब्धिहरूको जानकारी लिन सकिनेछ । ग्राहकले आफ्नो मोबाइल सेवाको हालको ब्यालेन्स, प्रयोग गरिरहेका प्याकेजको स्थिति, बाँकी डेटा वा मिनेट र ‘Usage History’ को पाँच दिने विवरण हेर्न सक्छन् ।

मोबाइल एपबाटै ईसिम (eSIM) दर्ता गर्न मिल्ने सुविधा थप्ने तयारीमा रहेको टेलिकमले ‘नमस्ते पे’ लाई एपसँगै एकीकृत गरेको छ । यसले डिजिटल भुक्तानीलाई थप सहज बनाएको देखिन्छ । ‘Complain Section’ मार्फत विभिन्न समस्याको गुनासो दर्ज गरेर सिधै सम्बन्धित विभागमा कल गर्न सकिन्छ ।

एपमार्फत ब्यालेन्स ट्रान्सफर, डेटा वा भ्वाइस प्याक गिफ्ट गर्नु, केवाईसी अपडेट, बायोमेट्रिक सेटअप, पासवर्ड परिवर्तन, कल वेटिङ वा फरवार्डिङ जस्ता सेवा सक्रिय/निष्क्रिय गर्न सकिन्छ । साथै, भीएएस (VAS) सेवा, रिचार्ज, बिल तिर्ने, फ्रेन्ड्स एन्ड फ्यामिली नम्बर थप्ने जस्ता सुविधा पनि सहजै प्रयोग गर्न सकिन्छ ।

एपमा टेलिकमका सबै सेवाहरूको महसुल दरबारे जानकारी पनि दिइएको छ । पहिलोपटक एप डाउनलोड गर्ने प्रयोगकर्तालाई १ जीबी निःशुल्क डेटा दिने व्यवस्था गरिएको छ भने एप प्रयोग गर्दा टेलिकम नेटवर्कमा डेटा शुल्क नलाग्ने व्यवस्था छ । टेलिकमको वेबसाइट खुल्दा पनि इन्टरनेट शुल्क लाग्दैन ।

पछिल्लो अध्यावधिक: असार ४, २०८२ १५:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भएको एक विधेयक प्रमाणीकरण गरेका छन्।

उनले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण गरेका हुन्।

Ncell 2
Ncell 2

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय शीतल निवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।

विधेयक-प्रमाणीकरण-2082-3-4_Scan_20250618-1489x2048-1750237847.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट