२०८२ भाद्र ५ बिहीबार
LATEST NEWS
२०८२ भाद्र ५ बिहीबार

 

काठमाडौँ । हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा ‘अप्सरा’ को भूमिकाबाट परिचित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको भन्दै आइतबार सामाजिक सञ्जाल टिकटकमा विभिन्न पोस्टहरू आइरहेका छन् । केही पोस्टमा उनको ‘निधन भएको’ उल्लेख गरिएको छ भने केहीमा श्रद्धाञ्जलीको सङ्गीत राखेर भिडिओ बनाइएको छ । तर, टेकपानाको फ्याक्टचेकले निधनको खबर झुटो भएको देखाएको छ । स्तन स्क्यान्सरबाट ग्रसित श्रेष्ठको स्वास्थ्य अवस्था भने दिनानुदिन बिग्रँदै गएको पाइएको छ ।

दाबी

आइतबार, ८ असार २०८२ (२२ जुन २०२५) मा बिहान करिब आठ बजे सामाजिक सञ्जाल टिकटकमा ‘राधिका तिवारी’ नामक अकाउन्टबाट एउटा भिडिओ पोस्ट भयो । भिडिओको क्याप्सनमा ‘आमाको बैकुण्ठ मा बास होस्’ लेखिएको छ । उक्त भिडिओभित्र ‘सबैलाई हसाउने अप्सरा आमा सबैलाई सम्झाना मात्र छोडि हामी बाट सदाका लागि बिदाई भएर जानू भएको छ’ लेखिएको छ । उक्त भिडिओमा गायक पुस्कल शर्माले गाएको ‘सति प्रथा’ बोलको गीत राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा ६५ हजार बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।

 

तथ्यजाँच 

राधिका तिवारी नामक टिकटक अकाउन्टबाट भिडिओ पोस्ट भएको फेला पारिसकेपछि टेकपाना फ्याक्टचेक डेस्कले यस्तै अन्य सामग्री खोज्न थाल्यो । त्यस क्रममा ‘चौहान क्विन ५४’ युजनरनेम र टिकटक किङ नाम सहित गायिका एलिना चौहानको फोटो प्रोफाइल पिक्चर राखिएको अकाउन्टबाट २० घण्टाअघि अर्थात् शनिबार राति ११ बजेतिर त्यही आशयको अर्को पोस्ट राखेको भेटियो । उक्त पोस्टमा कुनै क्याप्सन राखिएको छैन । तर, फोटोमा कलाकार राजाराम पौडेल, सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले भेटघाट गरेको फोटो जोडेर राखिएको छ । त्यसको ब्याकग्राउन्ड म्युजिकमा ‘श्रद्धाञ्जली गीत’ राखिएको छ । यो सामग्री तयार पार्दासम्म सो पोस्टमा  १२ लाख भन्दा बढी भ्युज आइसकेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यही अकाउन्टबाट बिहान १० बजेतिर यस्तै आशयको अर्को पोस्ट अपलोड भएको छ । त्यसमा पनि माथि प्रयोग गरिएको सङ्गीत प्रयोग गरेको देखिन्छ । 

यीबाहेक अन्य फेसबुक पेज तथा प्रयोगकर्ता र टिकटक प्रयोगकर्ताले पनि लक्ष्मी श्रेष्ठको निधन भएको दाबी गर्दै पोस्ट राखिरहेका छन् । 

मेरी बास्सैमा श्रेष्ठसँगै काम गरेका  सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बिहीबार उनकै निवासमा भेट्न गएका थिए । घिमिरेले भेटघाटको भिडिओ पनि राखेकी थिइन् । यो सामग्री तयार पार्ने क्रममा आइतबार राति (९ बजेतिर) सिताराम कट्टेल (धुर्मुस)लाई हामीले सम्पर्क गर्‍यौं । “उहाँको निधन भएको भन्ने पोस्टहरू भ्रामक हुन्,” कट्टेलले टेकपानासँग भने, “उहाँ (लक्ष्मी श्रेष्ठ)लाई त्यस्तो नहोस्, हामी कामना गर्छौं ।”

अनलाइन खबरमा आइतबार दिउसो ४ः२५ बजे ‘घरमै थलिइन् ‘मेरी बास्सै’की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । त्यस्तै सेतोपाटीमा आइतबार दिउसो १ः३२ बजे ‘बिरामी परिन् ‘मेरी बास्सै’ की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । त्यसैगरी नेपाल प्रेसमा आइतबार बेलुका ५ः४१ बजे ‘घरमै थलिइन् क्यान्सर पीडित ‘मेरी बास्सै’की ‘अप्सरा’’ शीर्षकमा समाचार आएको छ । त्यसका साथै नेपालखबरमा दिउसो २ः४९ बजे ‘क्यान्सरले थला परिन् ‘मेरि बास्सै’ की अप्सरा आमा’ शीर्षकको समाचार प्रकाशन भएको छ । 

यी समाचार माध्यमले पारिवारिक स्रोतसँगको कुरा उद्धिृत गर्दै श्रेष्ठको स्वास्थ्य अवस्था बिग्रिँदै गएको उल्लेख गरेका छन् । समाचारका अनुसार गएको दसैँदेखि अस्वस्थ उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । तर, डाक्टरले उपचार सम्भव नभएको भन्दै दुई साताअघि घर फर्काइदिएका थिए ।

हाल काठमाडौंको कपन बालुवाखानीस्थित घरमा रहेकी लक्ष्मीको रेखदेख उनकी छोरीले गर्दै आइरहेकी छिन् । दुई सातादेखि उनलाई एकदमै गाह्रो भएको समाचारमा उल्लेख छ । साथै उनको औषधि छुटाइसकेको र झोल खानेकुराबाहेक खाना खान छाडेकी बताइएको छ । यो सामग्री तयार पार्दासम्म अधिकांश सञ्चार माध्यमले उनको स्वास्थ्य अवस्था बिग्रिरहेको उल्लेख गरे पनि अप्रिय खबर दिएका छैनन् । 

कलाकार लक्ष्मी श्रेष्ठको नजिककी कलाकार सुशीला निरौला (बिम्ली)ले सामाजिक सञ्जाल फेसबुक मार्फत उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेकी छिन् । 

उनले पनि आइतबार लक्ष्मी श्रेष्ठसँगको एक पुरानो भिडिओ राख्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन् । यी सबै प्रमाणबाट कलाकार लक्ष्मी श्रेष्ठ उर्फ अप्सरा आमाको निधन भन्ने दाबी मिथ्या रहेको पुष्टि हुन्छ । 

दाबी

हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन ।

दाबीकर्ता

चौहान क्विन र राधिका तिवारी नामका टिकटक अकाउन्ट ।

तथ्य

विगत लामो समयदेखि स्तन क्यान्सरबाट पीडित कलाकार लक्ष्मी श्रेष्ठ ‘अप्सरा आमा’को स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले दाबी गरेको जस्तो अप्रिय घटना भएको छैन । 

निष्कर्ष

चौहान क्विन र राधिका तिवारी नामका टिकटक अकाउन्टले शनिबार रातिदेखि पोस्ट राख्दै टेलिसिरियल मेरी बास्सैमा ‘अप्सरा आमा’को भूमिका निभाएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको दाबी गर्दै पोस्ट राखेका छन् । तर, यो सामग्री तयार पार्दासम्म आएका विभिन्न सञ्चार माध्यमका समाचार र श्रेष्ठको बारेमा निरन्तर जानकारी दिइरहेकी सुशीला निरौला ‘बिम्ली’को पोस्ट र कुनै समय सहकार्य गरेका सिताराम कट्टेल ‘धुर्मुस’सँग गरेको कुराकानीबाट लक्ष्मी श्रेष्ठको निधन भएको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २१:२२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुई बुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधि सभाको आइतबाको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिने क्रममा उनले दुई बुँदे सहमतिका पक्षमा केही दिनमै संयन्त्र बनाउने जानकारी गराएका हुन् ।

Ncell 2
Ncell 2

मुख्य सचेतक बर्तौलाले भने, ‘विपक्षी दलसँग भएको समझदारीबारे सरकार प्रतिबद्ध छ । एक महिना कुरिँदैन । आजको मितिले बढीमा तीनदेखि पाँच दिन भित्रमा हामी संयन्त्र बनाउँछौँ । गृहमन्त्री रमेश लेखकले नै सदनमा उपस्थित भएर घोषणा गर्नुहुनेछ । त्यस प्रकारको तयारी उच्चस्तरबाट भएको छ ।’

उनले गत जेठ १३ गतेदेखि लगातार सदन अवरोध कायम राखेको बताउदैँ गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसदको अवरोधप्रति निन्दा व्यक्त गरे ।

आइतबारको बैठकमा नै त्यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । शवदाह मसिन खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडा सहित १४ जना र दुई कम्पनी विरुद्ध मुद्‍दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शवदाह मसिन खरिदमा १० करोड ३३ लाख भन्दा बढी हिनामिना गरेको आरोपसहित आइतबार विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो । 

खतिवडा सहित कोषका सदस्य सचिव मिलनकुमार थापा, उपनिर्देशक रेवती रमण अधिकारी,  तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री र तत्कालीन उपनिर्देशक सिताराम रिसेलव विरुद्ध अभियोग पत्र दायर भएको हो । यस्तै अभियोग पत्रमा इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, कानुनी सल्लाहकार लैनबहादुर थापा र पुल्चोक क्याम्पसका उपप्राध्यापक युवराज अधिकारी समेत संलग्न रहेको उल्लेख छ ।  

त्यस बाहेक म्याप एन्टरप्रेनर्स प्रालिका सञ्चालकहरू मनोज पुरी र यदुनन्दन भट्टराई, एप्पल इन्जिनियरिङ प्रोफेसनल कन्सलटेन्सी प्रालीका प्रबन्ध निर्देशक सुरज चापागाईसमेत अभियुक्त बनाइएको छ । आरोपीहरूले ३२ लाख ५० हजार भारतीय रुपैयाँ पर्ने शवदाह मसिनको लागत अनुमान बढाएर १ करोड ५२ लाख रुपैयाँ देखाएको अख्तियारको आरोप छ । यस्तै शवदाह मसिन खरिद गर्ने बेलामा नियम विपरीत मिलेमतोमा एकै कम्पनीलाई फाइदा हुने गरी खरिद प्रक्रिया अघि बढाएको आरोप पनि लगाइएको हो । 

अख्तियारका अनुसार कोषले ५ असार २०८० मा शवदाह मसिन खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । सो पछि १० करोड २२ लाख ९१ हजार ३० रुपैयाँमा म्याप एन्टरप्रेनर्स प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । 

तर, कम्पनी छनोटको क्रममा प्रतिस्पर्धा सीमित गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरीमा अनुसन्धान हुँदा मसिनका लागि अनुभव नभएको परामर्शदाताबाट झुटो कोटेसन तयार गरेको, फर्जी कागजात प्रयोग गरेर बढी लागत अनुमान गरेको, नक्कली विज्ञ खडा गरी नक्कली प्रतिवेदन तयार गरेको, गैरप्राविधिक मूल्याङ्कन लगायतका कामहरूमा संलग्न भएको आरोप लगाइएको छ । 

यस्तै, सार्वजनिक खरिद ऐन, २०६३ को दफा २३ का आधारहरूलाई पालना नगरी १ करोड ८२ लाख पेस्की समेत उपलब्ध गराइएको उल्लेख छ । तर खरीद गरिएका मसिन न्यून गुणस्तरको भएर पटक पटक बिग्रिँदा पनि पेस्की रकम जमानत नगरेको अख्तियारको दाबी छ । अहिले उक्त शववाहन मसिन सञ्चालनमा समेत नआएको बताइएको छ । 

आरोपीहरू विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, १९ र २२ अन्तर्गत अभियोगपत्र दायर गरिएको हो  । उनीहरूबाट बिगो बमोजिम जरिबाना, कैद सजाय र सरकारी सम्पत्तिको हिनामिनाको क्षतिपूर्ति माग गरिएको छ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ २०:२८





सामाग्री श्रोत :
टेक पाना

जेरुसेलम– इजरायलले विदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन ‘सेफ रिर्टन’ योजना अघि सारेको छ । यातायातमन्त्री मिरी रेगेवले यो योजना अनुसार देश बाहिर रहेका एक लाख ५० हजार इजरायली नागरिकलाई स्वदेश ल्याइने बताएकी छन् ।

दस दिनयता जारी इजरायल-इरान युद्धका कारण इजरायली आकाशमा उडान प्रतिबन्ध लगाइएको छ । इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले यातायातमन्त्रीको भनाइ उदृत गर्दै निजी जहाज र पानीजहाजमार्फत देश बाहिर रहेका एक लाखदेखि डेढ लाख इजरायलीलाई स्वदेश झिकाउन लागेको उल्लेख गरेको छ । रक्षा मन्त्रालयसँगको समन्वयमा यस्तो काम सुरु गर्न लागिएको पनि यातायातमन्त्रीले बताइकी छन् ।

Ncell 2
Ncell 2

यातायातमन्त्री रेगेवले इजरायलमा बसिरहेका गैरनागरिकहरु जसमा बर्थराइट ट्रिप्स (इजरायलले देश बाहिर जन्मेका १८ देखि २६ वर्ष उमेर समूहका यहुदी किशोर– जसलाई नि:शुल्क दस दिने भ्रमणमा इजरायल घुम्ने योजना अन्तर्गत घुम्न आएका वा विदेशी पर्यटक पर्छन्) मा रहेकालाई सुरक्षित रुपमा देश बाहिर पठाउने काम पनि सरकारले गर्ने बताइन् ।

उनले भनिन्, ‘हामीले विदेशमा रहेका इजरायलीलाई स्वदेश ल्याउन हरसम्भव सबै प्रयास गर्नेछौं तर यसका निम्ति केही समय लाग्नेछ । किनकि यो रातारात हुने काम होइन ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । राइड हेलिङ प्लेटफर्म इनड्राइभको टपअप अब डिजिटल वालेट ‘खल्ती’बाट सिधै गर्न सकिने भएको छ । यसअघि आईएमई पेमा मात्र सीमित यो सुविधा दुई डिजिटल वालेट गाभिने भएपछि खल्तीमा पनि उपलब्ध गराइएको हो ।

आईएमई पे र खल्ती एकआपसमा गाभिएपछि आईएमई पेका विशेष सुविधाहरू क्रमशः खल्तीमा थपिँदै गइरहेका छन् । सोही प्रक्रियाअन्तर्गत इनड्राइभ टपअपको सुविधा पनि खल्तीमा आएको हो । “पहिले राइडरहरूले इनड्राइभमा टपअप गर्न आईएमई पे नै प्रयोग गर्नुपर्ने हुन्थ्यो,” आईएमई पेका एक प्रतिनिधिले भने, “अब खल्तीमा पनि यो सुविधा उपलब्ध भएको छ, जसले गर्दा राइडरलाई थप सहज हुनेछ ।”

इनड्राइभका राइडरले प्रत्येक राइड सम्पन्न गरेपछि कम्पनीलाई निश्चित प्रतिशत कमिसन बुझाउनुपर्छ । उक्त कमिसन भुक्तानीका लागि उनीहरूले आफ्नो इनड्राइभ खातामा रकम टपअप गर्नुपर्ने हुन्छ ।

आगामी १ साउनदेखि आईएमई पेका सम्पूर्ण कारोबार खल्ती एपबाटै सञ्चालनमा आउने छन् । त्यसैको तयारी स्वरूप आईएमई पेका सेवा तथा फिचर खल्तीमा स्थानान्तरण हुन थालेका हुन् ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १८:४३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य विज्ञानको शुरुवात नेपालबाटै भएको बताएका छन्।

आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको छैटौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ भएको बताए।

Ncell 2
Ncell 2

उनले स्वास्थ्यको विकास गर्न नेपालले नसक्ने भन्ने नरहेको बताए। पुराना विधि र पद्धतिहरूको उपयोग गर्न पनि आवश्यक रहेको बताए। स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक रूपमा कसरी सबल बनाउने भन्ने बारेमा सरकार गम्भीर रहेको बताए।

प्रधानमन्त्री ओलीले भने‚ ‘यो स्वास्थ्य विज्ञानको शुरुवातको भूमि हो। स्वास्थ्य विज्ञानको प्रारम्भ भएको ठाउँ हो यो। हामीले यसलाई विकास गर्न सक्दैनौँ भन्ने कुरा होइन। हाम्रा कतिपय पुराना मेथोडलोजी, पुराना विधि, प्रविधिहरू उपयोगी हुन सक्छन् त्यसलाई पनि लिएर अघि बढ्न सक्छौँ।’

प्रधानमन्त्री ओलीले विरामीको संख्या न्यून गर्नेतिर सरकारको ध्यान गइरहेको बताए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ललितपुर– नेपाल औषधि आयातकर्ता संघ (मियान) को आठौँ अधिवेशन तथा वार्षिक साधारणसभाले पवन आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ललितपुरको होटल हिमालयमा शनिबार आयोजित कार्यक्रममा दुई वर्षे कार्यकालका लागि यो कार्यसमिति निर्वाचित भएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षद्वयमा पृथ्वीराज वैद्य र सुमन कयाल, महासचिवमा मधु पौडेल, सचिवमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाल चयन भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यहरूमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ, महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशोर, आनन्द चास्यधरी, चन्द्रशेखर रुगाटा र डा. अबुल हुसेन अन्सारी रहेका छन्।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले औषधिको गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्न आयातकर्ताहरूलाई आग्रह गरे। उनले जनतालाई केन्द्रमा राखेर मूल्य निर्धारण गर्नुपर्ने र ‘कन्ट्री अफ ओरिजिन’लाई बिर्सन नहुने बताए। साथै, महामारी र विपत्तिका बेला आयातकर्ताहरूको योगदानको प्रशंसा गर्दै मूल्य नीति सम्बन्धी प्रतिवेदनमा थप छलफलपछि मात्र निर्णय हुने आश्वासन दिए।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की र औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालबीच प्रतिवेदनलाई लिएर तर्कवितर्क चलेको थियो। डा कार्कीले सरोकारवालाहरूको रायबिना एकतर्फी रूपमा तयार पारिएको प्रतिवेदन अपारदर्शी र अन्यायपूर्ण भएको आरोप लगाए। उनले चिकित्सकहरूलाई बदनाम गर्ने र मूल्यवृद्धिको दोषी देखाउने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरे।

जवाफमा महानिर्देशक ढकालले प्रतिवेदन वैज्ञानिक र वस्तुपरक रहेको दाबी गर्दै यसको पूर्ण कार्यान्वयन हुने बताए। उनले आयातकर्ताहरूले अनावश्यक दबाब दिएको आरोपसमेत लगाए।

नेपालमा वार्षिक ८० अर्बभन्दा बढीको औषधि कारोबार हुने व्यवसायीहरू बताउँछन्। यसमा ५५–६० प्रतिशत हिस्सा आयातकर्ताहरूको रहेको दाबी छ। भारतबाट सबैभन्दा बढी, त्यसपछि बङ्गलादेश र युरोपेली मुलुकहरूबाट औषधि आयात हुन्छ। अध्यक्ष आचार्यका अनुसार आयातित औषधिमा धेरैजसो जीवनरक्षक औषधि समावेश छन्।

अध्यक्षमा निर्वाचित भएलगत्तै आचार्यले पोषराज पाण्डे नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको औषधि मूल्य नीति सम्बन्धी प्रतिवेदन कार्यान्वयनमा संघको समर्थन नरहने स्पष्ट पारे। उनले औषधिको मूल्य समायोजनमा आयातकर्ताहरू सधैँ सकारात्मक रहेको र सरकारलाई सहयोग गर्न तयार रहेको बताए। तर, उक्त प्रतिवेदनले औषधि आयातमा अङ्कुश लगाउने प्रयास गरेको भन्दै उनले विरोध जनाए। ‘मूल्य समायोजनमा हामी सधैँ साथ दिन्छौँ, तर आयातलाई नियन्त्रण गर्ने घुमाउरो प्रयासको हामी विरोध गर्छौँ,’ उनले भने।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । इजरायली र अमेरिकासँग गहिरिँदो द्वन्द्वका कारण इरानमा इन्टरनेट ब्ल्याकआउट (सेवा बन्द) भएको छ । यसले गर्दा विदेशमा रहेका इरानीहरूले देश भित्रका आफ्ना आफन्त तथा परिवारका सदस्यहरूलाई सम्पर्क गर्न पाइरहेका छैनन् ।

इरानी नम्बरहरूमा कल गर्दा पहिले नै रेकर्ड गरिएका रोबोटिक कलको आवाजमा सन्देश आउने गरेको विभिन्न विदेशी सञ्चारमाध्यमले लेखेका छन् ।बेलायत, अमेरिका र युरोपभर छरिएर रहेका इरानीहरूले आफ्ना परिवारका सदस्यहरूको मोबाइल नम्बरमा डायल गर्दा यान्त्रिक आवाजले स्वागत गरेको अनुभव सुनाएका छन् । यो सन्देश कहिलेकाहीँ अङ्ग्रेजीमा र कहिलेकाहीँ फारसी भाषामा हुन्छ, जुन अनौठो दार्शनिकदेखि पूर्ण रूपमा अर्थहीन सम्मका हुने गरेको बताइएको छ ।

कसैले “आँखा चिम्लेर शान्त स्थानको कल्पना गर्नुहोस्” भन्दै सन्देश सुनेको बताएका छन् भने, अन्य कलरहरूले राम्रो अङ्ग्रेजी नभएको एआईबाट सिर्जित आवाज सुनेको उल्लेख गरेका छन् । “एलो ? एलो ? कसले फोन गर्दै हुनुहुन्छ ? मैले सुन्न सकिनँ । तपाईँ को सँग कुरा गर्न चाहनुहुन्छ ? म एलिसिया हुँ । के तपाईँलाई मेरो सम्झना छ ? मलाई लाग्छ म तपाईँलाई चिन्दिनँ,” यस्तै आवाज सुनिन्छ ।

धेरैका लागि, यो अनुभव डरलाग्दो मात्र होइन, भयभीत पार्ने खालको छ । न्युयोर्ककी एक ३० वर्षीया महिलाले भनेकी छिन्, “आफ्नी आमाको आवाज सुन्ने आशामा फोन गर्दा एआई आवाज सुन्नु मेरो जीवनको सबैभन्दा डरलाग्दा अनुभवहरू मध्येको एक हो ।”

यी सन्देशहरूको समय महत्त्वपूर्ण छ । इजरायलले इरानी आणविक र सैन्य साइटहरूमा हवाई हमला सुरु गरेपछि यस्तो आवाज आउन सुरु भएको थियो । त्यसपछि इरानले जवाफी क्षेप्यास्त्र र ड्रोन हमला सुरु गर्‍यो । सँगसँगै इरानी सरकारले ह्वाट्सएप र अन्य मेसेजिङ सेवाहरू बन्द गरेर इन्टरनेट बन्द गरेको छ । डिजिटल सञ्चार अवरुद्ध भएपछि परिवारहरूले सिधै फोन कल गर्न थालेका छन् । तर फोन कल गर्दा समेत रहस्यमय आवाज सुनिन थालेको छ ।

रोबोटिक सन्देशहरूको सुनिनु र यस्तो सन्देश आउनुको उद्देश्य रहस्यमै छ । यद्यपि विद्युतीय सञ्चारलाई उच्च सुरक्षा चिन्ताले सताएको छ । निगरानी गर्न वा भ्रमित पार्ने उपकरणको रूपमा प्रयोग हुनबाट रोक्न इरान सरकारले यसमाथि रोक लगाएको हुन सक्ने बताइएको छ ।

शनिबारसम्म, नेटब्लक्सले ६२ घण्टाको गम्भीर अवरोधपछि केही क्षेत्रहरूमा अन्तर्राष्ट्रिय इन्टरनेट पहुँच आंशिक रूपमा पुनस्थापित भएपनि शनिबारदेखि पुनः ठप्प भएको उल्लेख गरेको छ । यद्यपि, समग्र कनेक्टिभिटी सामान्यभन्दा कम नै छ, र इरान भित्र र बाहिर दुवै तर्फका धेरै इरानीहरू अझै पनि परिवारसँग पुनः सम्पर्क गर्न र स्वतन्त्र जानकारी प्राप्त गर्न सङ्घर्ष गरिरहेका छन् ।

 

पछिल्लो अध्यावधिक: असार ८, २०८२ १८:२५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो तीन दशकमा पार्टीबाट सरकारमा गएका सबै जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग गठन गर्ने प्रस्ताव राखेका छन्।

आइतबार ‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव पार्टीको बैठकबाट पारित गर्न प्रस्ताव राखेका हुन्।

‘बितेका ३० वर्षभन्दा लामो समयको संसदबाटै पूर्वन्यायाधीशको संयोजकमा छानविन आयोग बनाउँ। देशले पत्याएको पूर्वन्यायाधीश छानौँ। निष्पक्ष काम गर्ने मान्छे छानौँ। यस्तो मान्छे छानौँ कि त्यो एमाले, काँग्रेस माओवादी केही पनि नहोस्। र त्यो व्यक्तिलाई २०४६ सालपछिका जिम्मेवारीमा बसेका सबै नेताको सम्पत्ती छानविन गर्न भनौं,’ उनले भने।

Ncell 2
Ncell 2

छानबिन गराउँदै गर्दा जतिसुकै शक्तिशाली मान्छे परेपनि आयोगले जे कुरा लिएर आउँछ त्यो कुरालाई  मान्ने आँट गर्नुपर्ने पनि महामन्त्री थापाले बताए।

‘बल्ल जेन–जी पुस्ताले हाम्रो कुरा सुन्छ,’ उनले भने। 

भ्रष्टाचार र अनियमितता विरुद्धको स्पष्ट मापदण्ड स्थापित नगरी नयाँ पुस्ता (जेन–जीको भरोसा जित्न नसकिने उनको भनाइ छ।

‘यो पुस्ताको गुनासो सम्बोधन नगरीकन अब हामी उनीहरुका बीचमा जान सक्दैनौँ। यो नेपाली काँग्रेसका लागि सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल नेत्र सहायक परिवारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी आँखा स्वास्थ्यसँग सम्बन्धित नेत्र सहायक र आप्टोमेट्रिस्टको थप दरबन्दी सिर्जना गर्न माग गरेका छन्।

मन्त्रालयका सचिवलाई सम्बोधन गरिएको पत्रमा हाल सरकारी अस्पतालहरूमा १५ शैय्याको अस्पतालमा नेत्र सहायक र ५० शैय्याको अस्पतालमा आप्टोमेट्रिस्ट अधिकृतको दरबन्दी रहने व्यवस्था भए पनि मन्त्रालयले तयार पारेको नयाँ प्रस्तावमा थप दरबन्दी नहुँदा आँखा स्वास्थ्य सेवामा गम्भीर असर परेको उल्लेख छ।

संघका अध्यक्ष निरज देव जोशी र परिवारका महासचिव रमेश प्रधानद्वारा हस्ताक्षरित संयुक्त पत्रमा नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा २,५०० नेत्र सहायक, १,७०० आप्टोमेट्रिस्ट (ए लेभल) र २५० विशेषज्ञ (स्पेसलिस्ट लेभल) दर्ता रहेको जनाइएको छ। प्रत्येक वर्ष २०० भन्दा बढी आप्टोमेट्रिस्ट थपिने र त्रिभुवन विश्वविद्यालय, NAMS लगायतका विश्वविद्यालयहरूले यो विषयमा अध्यापन गराउँदै आएको तथ्य प्रस्तुत गरिएको छ।

उनीहरुले विगतमा पटक-पटक पत्राचार र विभिन्न कार्यक्रममार्फत दरबन्दी सिर्जनाको माग राख्दै आएको तर हालसम्म कुनै प्रगति नभएकोमा दुख व्यक्त गरेको छ। पत्रमा भनिएको छ, ‘हाम्रो जायज माग नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पूरा गर्नेछ भन्नेमा हामी विश्वस्त छौं। अन्यथा, पेशागत हितका लागि चरणबद्ध आन्दोलनमा उत्रनुपर्ने बाध्यता हुनेछ।’

नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल नेत्र सहायक परिवारले आँखा स्वास्थ्य सेवालाई सुदृढ बनाउन र दक्ष जनशक्तिको उपयोग गर्न मन्त्रालयले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट