
काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयूभी ‘जेइको जे-फाइभ’ सार्वजनिक गर्ने भएको छ । यसअघि नै बजारमा आइसकेका ओमोडा ई-फाइभ र जेइको जे-सिक्सपछि कम्पनीले ‘जेइको जे-फाइभ’ प्रस्तुत गर्न लागेको हो ।
‘रेन्ज रोभर’सँग तुलना गरिएको सार्प-एन्गुलर डिजाइन रहेको जे-फाइभलाई सहरी यात्रा र हल्का अफ-रोड दुवैका लागि उपयुक्त हुने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । यसमा लेभल टु एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता प्रिमियम विशेषता छन् ।
गाडीको भित्री भाग फराकिलो र प्रविधियुक्त बनाइएको छ । यसमा भेन्टिलेटेड सिट, पूर्ण डिजिटल इन्सट्रुमन्ट क्लस्टर, २५६-कलर एम्बिएन्ट लाइटिङ, ४८० लिटरको बुट स्पेस र ३६ ओटा स्टोरेज कम्पार्टमेन्टहरू उपलब्ध छन् ।
यो एसयूभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्री प्याक जडान गरिएको छ । जसले एक पटकको पूर्ण चार्जमा ४०२ किलोमिटरको डब्लूएलटीपी प्रमाणित रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । ४३८० एमएम लामो, १८६० एमएम चौडा र १६५० एमएम अग्लो यो गाडीमा १८ इन्चको एलोय ह्विल्स प्रयोग गरिएको छ ।
कम्पनीले जे-फाइभमा सुरक्षालाई उच्च प्राथमिकता दिएको बताएको छ । यसमा रहेको लेभल टु एडास अन्तर्गत फरवार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट मनिटरिङ, इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित इमर्जेन्सी ब्रेकिङसहित १९ भन्दा बढी सेक्युरिटी फिचरहरू समावेश छन् ।
यस एसयूभीमा पर्फमेन्स, प्रविधि र लक्जरीको सन्तुलन रहेको भन्दै कम्पनीले नेपाली बजारमा विद्युतीय सवारीको राम्रो विकल्प आएको उल्लेख गरेको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १७:१२
सामाग्री श्रोत :
टेक पाना
Kathmandu: After years of sluggish growth, Nepal’s smartphone market has rebounded sharply. In the fiscal year 2081/82, the country recorded its highest smartphone imports in four years, with sales rising by 40 percent.
According to data from the Department of Customs, 2.184 million smartphones worth Rs 35.54 billion were imported last fiscal year, marking the highest volume since 2078/79. The government collected Rs 6.62 billion in customs revenue from these imports.
Compared to …
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । ल्यापटप खरिद गर्दा इन्टेल (Intel) र एएमडी (AMD) राइजनमध्ये कुन प्रोसेसर तथा सीपीयू रोज्ने भन्ने दुबिधाले धेरैलाई अन्योलमा पार्ने गरेको छ । दुवै कम्पनी हाइ-पर्फर्मेन्स भएका चिप उत्पादन गर्छन् ।
ल्यापटपको सन्दर्भमा यी प्रोसेसरहरूको कार्यसम्पादन, पावर खपत, स्थिरता र मूल्य जस्ता विभिन्न पक्षहरूको गहिरो विश्लेषणले ग्राहकहरूलाई उचित निर्णय लिन मद्दत पुर्याउँछ । त्यसैले यहाँ यी दुई प्रोसेसर बिचको भिन्नता केलाउने प्रयास गरेका छौँ । ल्यापटप प्रोसेसरको मुख्य पक्ष यसको कार्यसम्पादन हो, जुन गेमिङ र उत्पादकत्व दुवैका लागि महत्त्वपूर्ण हुन्छ ।
गेमिङ पर्फर्मेन्स
सन् २०२४ मा एएमडीको राइजन ७ ९८००एक्सथ्रीडी (AMD Ryzen 7 9800X3D) लाई गेमिङ सहित समग्रमा उत्कृष्ट सीपीयू मानिएको थियो । यसको प्रमुख कारण एएमडीको थ्रिडी भी-क्याश (3D V-Cache) प्रविधि हो, जसले गेमिङ पर्फर्मेन्समा राम्रो सुधार ल्याउँछ ।
राइजन ९ ९९५०एक्सथ्रीडी (Ryzen 9 9950X3D) ले पनि गेमिङमा हाई पर्फर्मेन्स दिनुका साथै उत्पादनशील कार्यसम्पादन पूर्ण रूपले सम्पन्न गर्न सक्छ । पहिलेका एएम४ (AM4) प्लेटफर्मका प्रयोगकर्ताहरूका लागि राइजन ७ ५७००एक्सथ्रीडी (Ryzen 7 5700X3D) उत्कृष्ट अपग्रेड विकल्प मानिन्छ ।
उत्पादनशील कार्य
मल्टी-थ्रेडे (multithreaded) कार्यहरूका लागि एएमडी राइजन प्रोसेसरहरू उत्कृष्ट मानिन्छन् । राइजन ९ ७९५०एक्स (Ryzen 9 7950X) लाई वर्कस्टेसन (workstation) र गेमिङ कार्यसम्पादनको सन्तुलनका लागि सबैभन्दा सन्तुलित सीपीयू मानिएको छ । म्युजिक प्रोडक्सन जस्ता कार्यहरूका लागि धेरै कोर भएका सीपीयूहरूको आवश्यकता पर्ने हुँदा राइजन ९ ७९५०एक्स (Ryzen 9 7950X) एक राम्रो विकल्प हो ।
पावर खपत र ब्याट्री लाइफ
ल्यापटप प्रयोगकर्ताहरूका लागि ब्याट्री लाइफ एउटा प्रमुख चिन्ताको विषय हो । सामान्यतया राइजन प्रोसेसरहरू (विशेष गरी मोबाइल राइजन H-series प्रोसेसर) ले राम्रो ब्याट्री लाइफ र पावर इफिसेन्सी प्रदान गर्छन् । एएमडीको ४ एनएम (4nm) टीएसएमसी (TSMC) प्रोसेसरले यसको पावर इफिसेन्सीमा सघाउ पुर्याउँछ । उदाहरणका लागि राइजन ९ ९९५०एक्सथ्रीडी (Ryzen 9 9950X3D) को टीडीपी (TDP) १२० वाट/१६२ वाट छ, जबकि इन्टेलको कोर आई९-१४९००के (Core i9-14900K) को १५० वाट/२५३ वाट छ) । यसले एएमडी चिपलाई कम तातो बनाउँछ र कुलिङको आवश्यकता पनि कम पर्छ ।
तर इन्टेलको १२ औँ र १३ औँ पुस्ताका प्रोसेसरहरू ब्याट्री इफिसेन्सीको मामिलामा त्यति राम्रो मानिँदैनन् । तर नयाँ इन्टेल अल्ट्रा ५ वा ७ प्रोसेसरहरूमा सुधारको अपेक्षा गरिएको छ ।
इन्टेलको उच्च पावर खपतका कारण अक्सर बलियो खाले कुलिङ सोलुसन आवश्यक पर्छ, जसले गर्दा सिस्टमको लागत पनि बढ्न सक्छ । एएमडी चिपलेट (chiplet) डिजाइनका कारण आइडल पावर बढी हुन सक्छ, तर मोबाइल एएमडी प्रोसेसरहरू (मोनोलिथिक डिजाइन) बढी छन्।
स्टेबिलिटी र सपोर्ट
इन्टेलको १३ औँ र १४ औँ पुस्ताका सीपीयूहरूमा देखिएका स्थिरता समस्याहरू कम्पनीका लागि सबैभन्दा ठुलो नराम्रो पक्षको रूपमा रहेका छन् । यसमा फ्याब-स्तरको अक्सिडेसन कमजोरी (oxidation defects) र अत्यधिक भोल्टेज सम्बन्धी समस्याहरू पनि समावेश छन् । यसले इन्टेलको आरएमए प्रोसेसमा पनि कठिनाइ ल्याएको छ ।
जब कि सुरक्षालाई लिएर सचेत प्रयोगकर्ताहरूका लागि एएमडी दीर्घकालीन स्थिरताका लागि सुरक्षित विकल्प मानिएको छ । एएमडीको एएम५ सकेटले अपग्रेडका लागि लामो प्लेटफर्म आयु प्रदान गर्दछ, जसरी एएम४ (AM4) ले धेरै पुस्तासम्म सपोर्ट प्रदान गरेको थियो । यस विपरीत इन्टेलले भने प्रायः प्रत्येक एक वा दुई पुस्तामा प्लेटफर्म अपग्रेड गर्न बाध्य पार्छ ।
धेरैजसो इन्टेल कोर आई (Intel Core i) सिरिजका सीपीयूहरूमा एकीकृत ग्राफिक्स (F-series बाहेक) उपलब्ध हुन्छ । एएमडीका एपीयू (APU) सिरिजका प्रोसेसरहरूमा मात्र आईजीपीयू (iGPU) उपलब्ध हुन्छ, तर यसको ग्राफिक्स पर्फर्मेन्स इन्टेलको आईजीपीयूभन्दा राम्रो हुन्छ ।
इन्टेल कोर आई७-१४७००के (Intel Core i7-14700K) राइजनको तुलनामा उत्पादनशील कार्यहरूमा राम्रो मानिन्छ । यद्यपि, इन्टेलको १३ औँ र १४ औँ पुस्ताका सीपीयूमा अस्थिरताका समस्याहरू देखिएका छन्, जसले उपभोक्ताको विश्वास घटाएको छ ।
मूल्य
एएमडी सीपीयूमा सामान्यतया तपाईँले मूल्य अनुसारको पर्फर्मेन्स पाउन सक्नु हुन्छ । राइजन ५ ५६०० (Ryzen 5 5600) लाई १०० डलरभन्दा कममा गेमिङका लागि उत्कृष्ट सीपीयू मानिएको छ ।
इन्टेलका हाई-इन्ड सीपीयूहरू (जस्तै १३९००के (13900K), १४९००के (14900K)) स्टेबिलिटी समस्याका बाबजुद अझै पनि निकै महँगो छन्।
यति भन्दै गर्दा ल्यापटपका लागि इन्टेल वा राइजन प्रोसेसर छनोट गर्ने निर्णय प्रयोगकर्ताको विशिष्ट आवश्यकता र प्राथमिकतामा निर्भर गर्दछ । यदि तपाईं उत्कृष्ट गेमिङ प्रर्फर्मेन्स, पावर इफिसेन्सी र दीर्घकालीन प्लेटफर्म स्टेबिलिटी चाहनुहुन्छ भने एएमडी राइजन प्रोसेसर, विशेष गरी थ्रिडी भी-क्याश (3D V-Cache) भएका मोडलहरू उत्कृष्ट विकल्प हुन् ।
तर तपाईंलाई हाई पर्फर्मेन्स सिङ्गल-थ्रेडेड कार्यसम्पादन, केही विशिष्ट उत्पादनशील कार्य र एकीकृत ग्राफिक्सको धेरै आवश्यकता छ भने इन्टेलका केही मोडलहरू विचार गर्न सकिन्छ । तर तिनीहरूको हालैका स्टेबिलिटी र उच्च पावर खपतलाई भने ध्यानमा राख्नु होस् ।
निष्कर्षको रूपमा के भन्न सकिन्छ भने एएमडीले हालैका वर्षहरूमा उल्लेखनीय प्रगति गरेको छ, विशेष गरी पावर दक्षता र गेमिङ कार्यसम्पादनमा । जसले यसलाई ल्यापटप बजारमा एक बलियो प्रतिस्पर्धी बनाएको छ ।
सीपीयू बेन्चमार्कका अनुसार सन् २०१६ मा सीपीयू बजारमा इन्टेलको ८२.५ प्रतिशत र एएमडीको १७.५ प्रतिशत हिस्सा रहेको थियो । २०२५ को तेस्रो त्रैमासिकसम्म आइपुग्दा इन्टेल ५९.७ प्रतिशतमा खुम्चिएको छ भने एएमडीले भारी मात्रामा वृद्धि गर्दै आफ्नो बजार हिस्सा ३९.१ प्रतिशत पुर्याएको छ । बाँकी क्वालकमको ०.१ प्रतिशत र एप्पलको ०.८ प्रतिशत हिस्सा छ ।
विशेष गरी स्टेबिलिटी सम्बन्धी चुनौतीहरूका कारण इन्टेलले आफ्नो स्थान कायम राख्न सङ्घर्ष गरिरहेको छ । यी दुई बलिया खेलाडीहरूबिचको प्रतिस्पर्धाले उपभोक्ताहरूलाई भने अझ राम्रा र किफायती विकल्पहरू उपलब्ध गराउन मद्दत पुगिरहेको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १७:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । नेपाल सरकारले मेसेजिङ एप टेलिग्राममाथि लगाएको प्रतिबन्धको विरोधमा एक ह्याकर समूहले नेपालका विभिन्न सरकारी तथा निजी वेबसाइट ह्याक गरेको छ । आफूलाई ‘डिकु’ (DIKU) नामले चिनाउने उक्त समूहले वेबसाइट ह्याक गरी टेलिग्राममाथिको प्रतिबन्ध तत्काल हटाउन माग गरेको हो ।
ह्याकर समूहले चितवन मेडिकल कलेज, कृषि ज्ञान केन्द्र दाङ, सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तु लगायतका वेबसाइट आफ्नो नियन्त्रणमा लिएर त्यहाँ आफ्नो माग छोडेको छ ।
“हामी नेपालमा टेलिग्राममाथि लगाइएको अनुचित प्रतिबन्धको कडा विरोध गर्दछौँ,” ह्याकरले वेबसाइटमा छोडेको मेसेजमा लेखिएको छ, “अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्ने प्लेटफर्मलाई चुप लगाउनु डिजिटल अधिकारको हनन हो ।”
समूहले यसलाई केवल विरोध नभएर एक आन्दोलनको संज्ञा दिँदै भनेको छ, “यो केवल विरोध मात्र होइन, यो एक आन्दोलन हो । हामी जनताका लागि टेलिग्रामको पहुँच पूर्ण रूपमा पुनर्स्थापित गर्न माग गर्दछौँ । तिमीहरूले जनताको आवाजलाई दमन गर्न सक्दैनौ ।”
यसका साथै ह्याकरले नेपालको साइबर सुरक्षा प्रणाली कमजोर रहेको औंल्याएको छ । “तिम्रो सिस्टम एउटा खेलौना हो, तिम्रो फायरवाल एउटा मजाक हो,” ह्याक गरिएको वेबसाइटमा भनिएको छ, “हामी कानुन तोड्दैनौँ, बरु नाफाका लागि कानुनलाई बङ्ग्याउनेलाई उजागर गर्छौँ । भ्रष्ट प्रणाली, अल्छी प्रशासक, किनिएको मौनता – हामी सबै देख्छौँ । यो धम्की होइन, यो एक उपकार हो । आफ्नो सिस्टम सुधार, नत्र हामी यसलाई तिमीलाई सुधार्न प्रयोग गर्नेछौँ ।”
अनलाइन ठगी, मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) जस्ता गम्भीर आपराधिक गतिविधिमा टेलिग्रामको प्रयोग बढेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि टेलिग्राममाथि रोक लगाएको थियो । प्राधिकरणले सबै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकलाई आफ्नो नेटवर्कबाट टेलिग्रामको पहुँच तत्काल बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणको निर्देशनपछि सेवा प्रदायकहरूले टेलिग्राम बन्द गरेका छन् । त्यसैको परिणाम अहिले नेपालमा रहेका लाखौं प्रयोगकर्ता प्रभावित भएका छन् ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १८:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपतकालीन उद्दारमा ड्रोनको प्रयोग गर्ने भएको छ । यसका लागि प्राधिकरणले नेपाल मानव रहित विमान संघ (उडान) सँग मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीअनुसार विपद् व्यवस्थापनका पूर्वतयारीदेखि, उद्दारको तत्काल प्रतिक्रिया, राहत तथा पुनःस्थापनामा उडानले प्राधिकरणलाई आफ्नो प्रविधि, जनशक्ति तथा ड्रोन उपलब्ध गराएर आवश्यक सहयोग प्रदान गर्नेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले प्राकृतिक तथा मानव निर्मित विपद्का घटनामा तुरुन्त प्रतिक्रिया जनाउन प्रविधि प्रयोगको आवश्यकता रहेको बताए । यसको लागि सरकार मात्र नभएर उडान जस्ता गैरसरकारी संस्थासँगको सहकार्य महत्वपूर्ण हुने बताए ।
यस्तै उडानका महासचिव प्रवीन भट्टराईले आपतकालीन अवस्थामा रियल टाइम डेटा सङ्कलन, क्षति मूल्याङ्कन तथा पहुँच विहीन क्षेत्रहरूमा सहायता पुर्याउन ड्रोन प्रविधि उपलब्ध गराउने प्रतिबद्धता जनाए । यसका लागि ड्रोन तथा ड्रोन चालक नि:शुल्क उपलब्ध गराउने उनले बताए ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १९:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । ओपनएआई र गुगल डीपमाइन्डका एआई मोडेलहरूले सन् २०२५ को अन्तर्राष्ट्रिय गणित ओलम्पियाड (आईएमओ) मा स्वर्ण पदक स्तरको अङ्क हासिल गरेका छन् ।
विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो उच्च माध्यमिक तहको गणित प्रतियोगितामा एआईले उत्कृष्ट प्रदर्शन गरेपछि दुवै कम्पनीले हालै छुट्टाछुट्टै रूपमा यसको पुष्टि गरेका हुन् ।
यो परिणामले एआई प्रणालीहरू कति द्रुत गतिमा अघि बढिरहेका छन् भन्ने कुरालाई मात्र देखाउँदैन, गुगल र ओपनएआई बीचको एआई दौड कति प्रतिस्पर्धात्मक छ भन्ने पनि प्रस्ट पार्छ ।
एआई कम्पनीहरू आफू दौडमा अगाडि रहेको देखाउन पनि चर्को प्रतिस्पर्धा गरिरहेका छन् । धेरै एआई अनुसन्धानकर्ताहरू प्रतिस्पर्धी गणितको पृष्ठभूमिबाट आएका हुनाले आईएमओ जस्ता बेन्चमार्कहरूले उनीहरूका लागि विशेष अर्थ राख्छ ।
गत वर्ष गुगलले ‘फर्मल’ “formal” प्रणाली प्रयोग गरेर आईएमओमा रजत पदक जितेको थियो । ’फर्मल’ प्रणालीको अर्थ मानिसले गणितका प्रश्नहरूलाई कम्प्युटरले बुझ्ने विशेष ढाँचामा अनुवाद गरिदिनु पर्थ्यो। तर, यो वर्ष दुवै कम्पनीले ’इन्फर्मल’ ‘informal’ प्रणालीलाई प्रतिस्पर्धामा उतारे ।
यसले मानव अनुवाद बिना नै प्राकृतिक भाषामा सोधिएका प्रश्नहरू बुझ्न र प्रमाणमा आधारित उत्तरहरू दिन सक्यो । दुवै कम्पनीले आफ्ना एआई मोडलहरूले आईएमओको परीक्षामा ६ मध्ये ५ प्रश्न सही हल गरेको दाबी गरेका छन् जुन अधिकांश उच्च माध्यमिक तहका विद्यार्थी र गुगलको गत वर्षको एआई मोडलभन्दा उत्कृष्ट स्कोर हो ।
टेकक्रन्चसँगको अन्तर्वार्तामा ओपनएआई र गुगलका अनुसन्धानकर्ताहरूले यो स्वर्ण–पदक स्तरको प्रदर्शनलाई एआईको तर्क क्षमतामा भएको एक ठूलो सफलताको रूपमा व्याख्या गरेका छन् ।
सामान्यतया एआई मोडलहरूले सरल गणित वा कोडिङजस्ता सिधा उत्तर भएका प्रश्नहरूमा राम्रो प्रदर्शन गर्छन् । तर, राम्रो कुर्सी कसरी किन्ने वा जटिल अनुसन्धानमा कसरी मद्दत गर्ने जस्ता अस्पष्ट वा फरक फरक समाधान भएका काममा भने उनीहरूलाई कठिनाइ हुन्छ ।
तर, ओपनएआईले आफ्नो स्वर्ण–पदकको प्रदर्शनको घोषणा र परीक्षण गरेको तरिकालाई लिएर गुगलले प्रश्न उठाएको छ ।
ओपनएआईले शनिबार बिहान आफ्नो सफलताको घोषणा गरेलगत्तै गुगल डीपमाइन्डका सीईओ र अनुसन्धानकर्ताहरूले सोसल मिडियामा ओपनएआईको आलोचना गरे । उनीहरूले ओपनएआईले आईएमओको आधिकारिक मूल्याङ्कन बिना र समयभन्दा पहिले नै स्वर्ण पदकको घोषणा गरेको आरोप लगाए ।
गुगल डीपमाइन्डका वरिष्ठ अनुसन्धानकर्ता तथा आईएमओ प्रोजेक्टका प्रमुख थाङ लुओङले टेकक्रन्चलाई बताएअनुसार गुगलले प्रतिस्पर्धामा सहभागी विद्यार्थीहरूलाई सम्मान गर्न आफ्नो नतिजा घोषणा गर्न पर्खिएको थियो ।
उनका अनुसार गुगलले गत वर्षदेखि नै आयोजकहरूसँग मिलेर यो एआई परीक्षणको तयारी गरिरहेको थियो ।
ओपनएआईका वरिष्ठ अनुसन्धानकर्ता नोआम ब्राउनका अनुसार आईएमओले केही महिनाअघि ओपनएआईलाई गणित प्रतियोगितामा भाग लिन औपचारिक रूपमा सम्पर्क गरेको थियो ।
आफ्नो एआई मोडलको प्रदर्शनको मूल्याङ्कन गर्न तेस्रो–पक्ष मूल्याङ्कनकर्ताहरू (तीन पूर्व आईएमओ पदक विजे) नियुक्त गरेको ओपनएआईले जनाएको छ ।
स्वर्ण–पदक स्तरको स्कोर थाहा पाएपछि कम्पनीले आईएमओलाई सम्पर्क गरेको र आईएमओले शुक्रबार रातिको पुरस्कार समारोहपछि मात्र घोषणा गर्न आग्रह गरेको ब्राउनले बताए ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २०:९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । चन्द्रागिरि-८ मातातिर्थकी ममता घिमिरे (नाम परिवर्तन) को ह्वाट्सएपमा मङ्गलबार दिउँसो ठीक १२ बजे एउटा अपरिचित विदेशी नम्बरबाट भिडियो कल आयो । फोन उठाउनासाथ स्क्रिनमा देखिएको दृश्य र सुनिएको आवाजले उनको होस उडायो ।
प्रहरीको जस्तै पोसाक लगाएको एक युवकले हिन्दी मिसिएको लर्बरिएको नेपालीमा बोलेको पहिलो वाक्य नै मुटु छेड्ने खालको थियो: “तिम्रो छोरा हाम्रो कब्जामा छ ! उसले अरू केटाहरूसँग मिलेर एउटी केटीको बलात्कार गरेको छ । तिम्रो छोरा सोझो होला, तर अब उसलाई बचाउन पैसा दिनुपर्छ ।”
यो सुन्नासाथ ममताको सातोपुत्लो उड्यो । अपहरणकारीले उनलाई तत्काल स्क्रिन शेयर गर्न लगाएर बैंक खाता हेर्यो । खातामा जम्मा ३४ रुपैयाँ देखेपछि उसले धम्कीपूर्ण स्वरमा भन्यो, “तत्काल १० लाख रुपैयाँ जम्मा गर ! कतै फोन गरिस् वा कसैलाई भनिस् भने तेरो छोरो जिउँदो रहँदैन । तँसँग जम्मा आठ मिनेट छ ।”
आफ्नो त्रास बढाउन अपहरणकारीले छोरा रोएको जस्तो आवाज सुनायो र उसले लगाएको जस्तै देखिने ज्याकेटको एक झलक पनि देखायो । ममताको दिमाग शून्य भयो । बिहान ८ बजे पुतलीसडकमा एउटा सुटिङ हेर्न जान्छु भनेर निस्केको १६ वर्षीय छोरा रोहन (नाम परिवर्तन) को फोन पनि स्विच अफ थियो । यो १२ बजेर २५ मिनेटको कुरा हो । १२ बजेर २४ मिनेटसम्म लगातार भिडिओ कल गर्ने व्यक्तिले जे भनेको थियो ममताले त्यही मानेकी थिइन् ।
परिवारमा रुवाबासी चल्यो । ममताले तुरुन्तै धादिङमा प्रधानाध्यापक रहेका श्रीमानलाई खबर गरिन् । उनी पनि आत्तिएर काठमाडौँ आउने तयारीमा लागे । कुनै उपाय नदेखेपछि परिवारले प्रहरी वृत थानकोटलाई गुहार्यो ।
यता उनका अरू आफन्त काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आइपुगे । र, घटनाको सबै विवरण बुझाए । घटनाको गम्भीरतालाई बुझ्दै कार्यालयले तत्काल अनुसन्धान थाल्यो । इन्सपेक्टर विदुर सिवाकोटीको नेतृत्वमा टोली परिचालन भयो । प्रहरीको एउटा टोली मातातिर्थस्थित उनको घर पुगेर सोधपुछ र सीसीटीभी फुटेज खोजीमा लाग्यो । अर्कोतर्फ, इन्सपेक्टर सिवाकोटीले कल आएको पाकिस्तानी नम्बरबारे जानकारी लिन पाकिस्तान प्रहरीलाई सम्पर्क गरे । यता अर्को प्राविधिक टोली रोहनको विवरण निकाल्नतर्फ लाग्यो ।
अनुसन्धानकै क्रममा एक आफन्तले दिएको सानो सुइँकोले घटनालाई नयाँ मोड दियो । उनले अघिल्लो दिन पुतलीसडकको स्टार मलमा हुने ‘कमेडी दरबार’को सुटिङमा निःशुल्क प्रवेशबारे विज्ञापन देखेको बताए । ममताकी १३ वर्षीया छोरीले पनि रोहनले सोही कार्यक्रमको नाम लिएको पुष्टि गरेपछि प्रहरीसँग बलियो आधार तयार भयो ।
प्रहरी टोली तत्काल पुतलीसडकस्थित स्टार मल पुग्यो । सयौँ दर्शकको भीडमा खोज्दै जाँदा प्रहरीले अपहरणमा परेका भनिएका युवकलाई फेला पार्यो – उनी दर्शकदीर्घाको अन्तिम लहरमा बसेर मग्न भई कार्यक्रम हेरिरहेका थिए !
आफूलाई लिन एक्कासी प्रहरी आएको देखेपछि रोहन आफैँ डराए । उनले हत्तपत्त मोबाइल ‘फ्लाइट मोड’बाट हटाएर अन गरे र आमालाई फोन लगाए । उता अपहरणकारीको अर्को कल आउने हो कि भनेर डरले काँपिरहेकी ममताले जब छोराको आवाज सुनिन्, उनको सासै रोकिएला जस्तो भयो । झन्डै तीन घण्टाको मानसिक यातना र छटपटीपछि उनले सन्तोषको सास फेरिन् ।
यसरी ‘साइबर अपहरण’को हल्ला मच्चाएर फिरौती माग्ने गिरोहको योजना विफल भयो । प्रहरीले रोहनलाई सकुशल परिवारको जिम्मा लगाएको छ भने अन्तर्राष्ट्रिय नम्बरबाट कल गरेर मानसिक तनाव दिने र पैसा असुल्न खोज्ने गिरोहबारे थप अनुसन्धान गरिरहेको छ ।
यसले ‘भर्चुअल अपहरण’को नयाँ शैली नेपालमा पनि भित्रिएको सङ्केत गरेको छ । यसमा अपराधीले व्यक्तिलाई भौतिक रूपमा कब्जा नगरी डर र त्रास देखाएरै फिरौती असुल्ने प्रयास गर्छन् । यसबारे थप अनुसन्धान गरेर विस्तृत विवरण उपलब्ध गराउने प्रहरीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २१:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । च्याटजीपीटी जस्ता प्रविधि निर्माता ओपनएआईले सार्वजनिक सेवाहरूमा उत्पादकत्व बढाउनका लागि बेलायत सरकारसँग रणनीतिक साझेदारी गरेको छ । बेलायतको एआई पूर्वाधारलाई तीव्र पार्ने र सार्वजनिक सेवाहरूलाई प्रभावकारी बनाउने उद्देश्यका साथ सोमबार यस्तो समझदारी भएको हो ।
विज्ञान, आविष्कार तथा प्रविधि विभाग र ओपनएआईबिच भएको सम्झौता अनुसार बेलायतमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई तीव्रता दिइनेछ । साथै देशको ‘एआई अवसर कार्य योजना’ का लक्ष्यहरू समेत पूरा गरिनेछ । एआईले बेलायतको परिवर्तन र आर्थिक वृद्धिमा मौलिक भूमिका खेल्ने त्यहाँका प्रविधि सचिव पिटर काइलले बताएका छन् ।
ओपनएआईका सीईओ साम अल्टम्यानले यो योजनाले सबैका लागि समृद्धि प्रदान गर्ने उल्लेख गरेका छन् । सम्झौताले ओपनएआईलाई सरकारी डेटामा पहुँच दिन सक्छ । जसको सफ्टवेयर शिक्षा, रक्षा, सुरक्षा र न्याय प्रणालीमा प्रयोग गर्न सकिने सम्भावना रहेको उल्लेख छ ।
बेलायत र ओपनएआईले जनताको सुरक्षा र लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्ने सुरक्षा उपायहरू विकास गर्नेछन् । ओपनएआईले बेलायतको एआई सुरक्षा संस्थानसँग पनि प्राविधिक सूचना आदानप्रदान कार्यक्रम विकास गर्न सहयोग गर्नेछ ।
यो सम्झौताले एआई पूर्वाधारमा लगानीको खोजी गर्नेछ, जसमा प्रायः डेटा सेन्टरहरू निर्माण वा विस्तारको काम पर्छ । ओपनएआईले ‘एआई ग्रोथ जोन’ मा लगानी र सहयोग उपलब्ध गराउनेछ ।
बेलायत सरकारले हाल आफ्नो सार्वजनिक सेवामा उत्पादकत्व बढाउन ‘हमफ्रे’ (Humphrey) नामक एआई टुलहरू प्रयोग गरिरहेको छ । जसले ओपनएआईका मोडेलहरू प्रयोग गर्दछ ।
उदाहरणका लागि जीपीटी-४ओको प्रयोग ‘कन्सल्ट’ (Consult) नामक उपकरणमा गरिएको छ, जसले सार्वजनिक परामर्शको प्रतिक्रियाहरू स्वचालित रूपमा क्रमबद्ध गरेर नीति निर्माण प्रक्रियालाई तीव्रता दिन्छ । कर्मचारीहरूलाई हप्ता लाग्ने उक्त काम एआईले मिनेटमै पूरा गर्दछ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २१:११
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । विश्वभरका कार निर्माता कम्पनीहरू सेल्फ–ड्राइभिङ प्रविधिको दौडमा सामेल भइरहँदा अधिकांशले एकातिर चालकलाई सहयोग गर्ने नयाँ फिचर दिइरहेका छन् भने अर्कोतिर कानुनी झमेलाबाट बच्न अनेकौँ शर्तनामामा हस्ताक्षर गराइरहेका छन् । तर, चिनियाँ ईभी निर्माता कम्पनीले बीवाइडीले यो दौडमा यस्तो नयाँ उपाय अपनाएको छ जसले अन्य कार निर्माता कम्पनीलाई पनि सोचमग्न बनाइदिएको छ ।
बीवाइडीले आफ्नो अटोनोमस पार्किङ सिस्टम (गाडी आफैँ पार्किङ हुने प्रविधि) को लागि सार्वजनिक रूपमै आर्थिक ग्यारेन्टी दिने घोषणा गरेको छ । यदि यो सिस्टमले काम गरेन वा यसको सफ्टवेयर (एल्गोरिदम) मा आएको गडबडीका कारण कुनै दुर्घटना भयो भने त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मा कम्पनी आफैँले लिनेछ । यसमा गाडी मर्मतको खर्च, तेस्रो पक्षको सम्पत्तिमा भएको नोक्सानी र व्यक्तिगत चोटपटकको क्षतिपूर्ति समेत समावेश छ । जबकी अन्य कम्पनीहरुले यस्ता दुर्घटना हुँदा सवारी धनी आफैँ जिम्मेवार हुने शर्तनामा गराउँदै आएका छन् ।
कम्पनीले चिनियाँ सामाजिक सञ्जाल विबोमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अटोनोमस पार्किङका लागि ग्यारेन्टी प्रस्ताव गर्ने हामी विश्वमै पहिलो हौं । हाम्रो यो कदमले एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) माथिको हाम्रो पूर्ण विश्वासलाई झल्काउँछ ।“
बीवाइडीले गरेको यो वाचाले अटोनोमस प्रविधिमा कुनै गडबडी भएमा यसको जिम्मेवारी निर्माता कम्पनीहरूले लिने वा उपभोगकर्तामाझ नै पन्छाउने भन्ने विषयमा विश्वव्यापी रूपमै नयाँ मापदण्ड स्थापित गर्न सक्छ ।
टेस्ला चेतावनी दिन्छ, बीवाइडी जिम्मा लिन्छ
बीवाइडीको यो घोषणा टेस्लाको भन्दा ठीक उल्टो छ । टेस्लाको ’फूल सेल्फ–ड्राइभिङ’ सिस्टम अझै पनि ’बिटा’ (परीक्षणको चरणमा रहेको) फिचरको रूपमा बजारमा उपलब्ध छ । नाम ’फूल सेल्फ–ड्राइभिङ’ भए तापनि यसलाई चलाउँदा चालक पूर्णरूपमा चनाखो रहनुपर्छ र टेस्लाले बारम्बार आफ्ना प्रयोगकर्ताहरूलाई सडकमा जेसुकै भए पनि त्यसको कानुनी जिम्मेवारी कम्पनीको नभई स्वय चालककै हुने कुरा सम्झाइरहन्छ ।
तर, बीवाइडीले यो तर्कलाई उल्टाइदिएको छ । उसले केवल एउटा स्मार्ट सिस्टमको वाचा मात्र गरिरहेको छैन उसले कर्पोरेट जवाफदेहिताको वाचा गरिरहेको छ । यस्ता वाचाहरु उपभोक्ताले प्रयोग गर्ने अटोनोमस प्रविधिको बहसबाट लगभग हराइसकेको थियो ।
यस्ता प्रविधि निर्माताले प्रविधि निर्माण गर्ने र कुनै कमजोरी भए प्रयोग गर्ने उपभोक्ताले नै जिम्मा लिने यो अभ्यासबाट बीवाइइडीले आफूलाई अलग राख्ने प्रयास गरेको छ ।
यो ग्यारेन्टी कुनै नयाँ कन्सेप्ट कारमा नभएर इन्टरनेटमार्फत गरिने सफ्टवेयर अपडेट (Over-the-air update ) बाटै उपलब्ध गराइँदैछ । आउँदो ’गड’स आई बी’ अपडेटमार्फत बीवाइडीले हरेक अवस्थामा सिन रिकग्निसन, प्राथमिक सुरक्षा (Active Safety) र पार्किङको क्षमतालाई अझै सुधार गर्नेछ ।
वर्षौंदेखि नियामक र सुरक्षा विज्ञहरूले कार निर्माताहरूले केही गल्ती भएमा दोष कसको हो भनेर स्पष्ट नपारी अटोनोमस फिचरहरू हतारमा ल्याइरहेको भन्दै चेतावनी दिँदै आएका थिए । बीवाइडीको यो घोषणाले पहिलो पटक यस्ता जिम्मेवारी प्रयोगकर्ताबाट निर्मातामा सार्ने छ । यस्तै, यो घोषणाले प्रयोगकर्तामा आर्थिक तथा प्राविधिक विश्वास समेत बढाउन सहयोग गर्नेछ ।
बीवाइडीको यो कदमले अटोमेसन बजारमा ठूलो तरंग ल्याउन सक्छ । यदि एउटा कम्पनी आफ्नो लेभल ४–स्तरको (उच्च स्वचालित प्रविधि) अटोनोमस पार्किङको लागि पैसाकै बाजी लगाउन तयार छ भने अन्य प्रतिस्पर्धीहरूलाई पनि यस्तै वाचा गर्न दबाब पर्दैन र ? अन्य प्रविधि कम्पनी वा कार निर्माताले पनि यस्तो अभ्यास सुरु नगर्ने हो भने उपभोक्ता र ग्राहकले त्यस्ता कम्पनीलाई गैर–जिम्मेवारको रूपमा हेर्न सक्नेछन् ।
चीनबाट सुरु, तर कहिलेसम्म ?
अहिलेको लागि, बीवाइडीको यो ग्यारेन्टी चीनमा मात्र सीमित छ । तर युरोप र ल्याटिन अमेरिकामा कम्पनीको बढ्दो उपस्थितिले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ, बीवाइडीले यो यस्तो घोषणा पश्चिमी बजारहरूको लागि पनि गर्ला ?
यदि बीवाइडीले यस्तो घोषणा पश्चिमा बजारको लागि पनि गरेमा यसले अमेरिका र युरोपका नियामकहरूलाई सेल्फ–ड्राइभिङ प्रविधिलाई हेर्ने दृष्टिकोणमा पुनर्विचार गर्न बाध्य पार्न सक्छ । यसले टेस्ला, मर्सिडिज–बेन्ज, र जीएम जस्ता कम्पनीहरूलाई पनि उपभोक्तालाई यस्तै ग्यारेन्टीहरू प्रस्ताव गर्न ठूलो दबाब दिनेछ ।
महत्वपूर्ण प्रश्न त यो छ कि यदि एक चिनियाँ अटोमेकरले आफ्नो एआईको जोखिम उठाउन सक्छ भने सिलिकन भ्यालीको सबैभन्दा धनी कार कम्पनीलाई केले रोकिरहेको छ ?
गिजमोडोमा प्रकाशित सामग्रीमा आधारित :
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ २०:२९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । गुगलले आईफोन प्रयोगकर्ताहरूका लागि क्रोम ब्राउजरमा एक अपडेट ल्याएको छ । यो नयाँ फिचरले प्रयोगकर्ताहरूलाई आफ्नो व्यक्तिगत र कामको लागि गरिने ब्राउजिङलाई सजिलैसँग छुट्याउनेछ ।
कम्पनीहरूमाझ काममा आउँदा आफ्नै डिभाइस बोकेर आउने (Bring your own device-BYOD) अभ्यास लोकप्रिय बन्दै गएको बेला गुगलले आईफोनको लागि यो सुविधा ल्याएको हो ।
यी फिचरहरू केही समयदेखि एन्ड्रोइड उपकरणहरूमा उपलब्ध थिए र अब आईफोनको लागि क्रोम अपडेटको रूपमा रोल आउट हुन थालेका छन् ।
गुगलले प्रयोगकर्ताहरूलाई क्रोममा आफ्नो व्यक्तिगत र अफिसियल अकाउन्टबीच सजिलै स्विच गर्नका लागि नयाँ र सजिलो विधि ल्याएको छ । प्रयोगकर्ताले आफ्नो आईफोनमा भएको गुगल क्रोममा आफ्नो प्रोफाइल आइकनमा क्लिक गरी व्यक्तिगत र कामको लागि क्रोममा छुट्टाछुट्टै प्रोफाइल बनाउन सक्नेछन् ।
यसले ट्याब, पासवर्ड, ब्राउजिङ हिस्ट्री र अन्य डेटाहरूलाई दुई भागमा छुट्याउँछ । यसले गर्दा व्यक्तिगत र कामको ब्राउजिङ हिस्ट्री व्यवस्थित हुन्छ ।
यसका साथै, आईफोनको क्रोममा अब यूआरएल फिल्टरिङ (URL Filtering)को सुविधा पनि थपिएको छ, जुन पहिले डेस्कटप र एन्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो ।
यो फिचरले कर्मचारीहरूलाई कम्पनीले अनुमति नदिएका वेबसाइट वा जेनेरेटिभ एआई उपकरणहरू चलाउनबाट रोक्छ । यसले कर्मचारीहरूले व्यक्तिगत डिभाइस प्रयोग गर्दा पनि कार्यालयको नीति पालना सुनिश्चित गर्दछ ।
पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १९:१५
सामाग्री श्रोत :
टेक पाना