
१३ अक्टोबर २०२०/लिमासोल
कोरोना महामारी सुरु भए देखि दोस्रो पटक ठुलो संख्यामा सोमबार कोरोना संक्रमण देखिए पछि साइप्रसको स्वास्थ्य मन्त्रालयले निकोसिया र लिमासोलका लागि नयाँ नियम लागू गरेको छ। सोमबार ४१ जनामा संक्रमण देखिए लगत्तै निकोसिया र लिमासोल जिल्लामा १३ अक्टोबर मंगलबार देखि अक्टोबर २३ सम्म लागू हुने बताएको हो । सोमबार सम्म साइप्रसमा २,०४७ जनामा कोरोना संक्रमण भै सकेको छ।
दैनिक वृद्धि भै रहेको कोरोना भाइरस नियन्त्रण गर्न लार्नाका मा लागू गरेको नियम प्रभावकारी देखिएपछि सरकारले निकोसिया र लिमासोलमा सोही नियमलाई कडाइका साथ पालना गर्नु पर्ने मा जोड दिएको छ । नियम अन्तरगत घर र खुल्ला स्थानमा हुने जमघटमा बालबालिका सहित दस जना भन्दा बढी जम्मा हुन पाइने छैन। त्यस्तै चर्च, मस्जिद, मन्दिर र अन्य धार्मिक स्थलमा ७५ जना भन्दा बढी सहभागी हुन पाइने छैन यधपी सुरक्षाका उपाय र मास्क भने अनिवार्य गरिएको छ। खेलकुद सम्बन्धि सबै क्रियाकलापहरुमा दर्शक बिना नै संचालन गर्न निर्देशन दिएको छ। साथै रेस्टुरेन्ट भित्र पचहत्तर र बाहिर एक सय पचास जना ग्राहक राख्न अनुमति दिएको छ।
ठाउँ अनुसार ‘सोसल डिस्टेन्सिङ्ग ‘ कायम गर्नु पर्ने छ इन्डोर का लागि ३ स्क्वायर मिटर को दुरि राख्नु पर्ने बताइएको छ। सिनेमा हलमा पचहत्तर जना, इन्डोर थियटरमा पचहत्तर जना र ओपेन थिएटरमा एक सय पचास जना दर्शक राखी संचालन गर्न सकिने बताइएको छ। यद्यपि स्वास्थ्य मन्त्रालयको निर्देशन र प्रोटोकोल अनुसारको सतर्कता अपनाउनु पर्ने छ। कक्टेल पार्टी, बिवाहका ‘बप्तिस्मा’ र बधाई दिने कार्यक्रममा प्रतिवन्ध लगाइएको छ। विवाह भोजमा भने तिन सय पचास जना सहभागी हुन सकिने निर्देशिकामा बताइएको छ।
दिनेश गौतम
युरोप ,आयानापा
नेपाली समुदायहरुको महान चाडं विजयादशमी (दसै)को अवसरमा गैरआवासीय नेपाली सघं साईप्रसले अक्टोबर २५ तारिखका दिन चौथो एनआरएनए कप आयोजना गर्ने भएको छ ।
एनआरएनए साईप्रसका सचिव पुरन मगरका अनुसार साईप्रसमा रहेका नेपाली युवाहरुको स्वस्थ्य एवमं आत्मबल मजबुद बनाउन , नेपाली समुदायहरुलाई एकता गर्ने उद्देश्यले एनआरएनए कप आयोजना गरिरहेको जानकारी दिनुभयो ।
सचिव मगरका अनुसार फुटबल प्रेमीहरुका लागि फुटसल , महिला दिदी बहिनी तथा दाजुभाईहरुका लागि भलिबल प्रतियोगिता साथमा महिला एवमं पुरुषहरुका लागि एक सय मिटर र चार सय मिटर दौडको प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनु भयो । एनआरएनएले अयोजना गर्न लागेको यो प्रतियोगितामा साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं सहकार्य गरेर खेल हुने स्थान , समय , र प्रवेश शुल्क छिट्टै निर्धारण गरेर सर्बजनिक सुचना मार्फत जानकारी गराईने जनाएको छ ।
साथै खेलमा पुरस्कार लगाएतका विषयमा यहा रहेका खेलप्रेमी एवम खेलाडी, समाजिक सघंसस्थाहरुलाई सहभागि हुनका लागि एनआरएनए साईप्रसले अनुरोध गरेको छ ।
युरोप , साईप्रस
नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS ) बीच शुभकामना आदान प्रदान भएको छ ।
उहाँहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं बर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको बताउनु भयो ।

उहाँले साइप्रसले युरोपियन युनियनको सदस्यका रुपमा विश्व मानचित्रमा महत्वपूर्ण उपस्थिति जनाएको उल्लेख गर्नुभयो । सभामुख सापकोटाले साइप्रसमा १० हजार बढि नेपाली कामदारहरु पुगिसकेको सम्बन्धमा सरकार–सरकारबीच समन्वय गरेर नेपाली कामदार पठाउँदा व्यबस्थापनमा सहज हुने धारणा राख्नु भयो ।
उहाँले साइप्रसले नेपाली विद्यार्थीहरुलाई अध्ययनको अवसर सृजना गरेको र कोभिड–१९ का बेला साइप्रसमा रहेका नेपालीलाई सहयोग र संरक्षण प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था हुने विश्वास व्यक्त गर्नु भयो ।

सम्वादका क्रममा सभामुख सापकोटाले नेपालको संघीय संसद र साइप्रसको संसदबीच संसदीय मैत्री समूह गठनका लागि प्रस्ताव राख्नु भयो । उहाँले विश्व समुदाय कोभिड–१९ महाव्याधिको चुनौतीसँग लडिरहेको उल्लेख गर्दै यसका कारण दुई देशबीचका उच्चस्तरीय भ्रमण समेत प्रभावित भएको बताउनुभयो । सभामुख सापकोटाले अवस्था सहज भएपछि अध्यक्ष सिलौरिसको नेपाल भ्रमण हुने विश्वास व्यक्त गर्नु भयो ।
सम्वादका क्रममा साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष डेमेट्रिस सिलौरिसले दुई देशबीच राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै कोभिड–१९ का कारण सगरमाथा सम्वादका लागि आफ्नो निर्धारित नेपाल भ्रमण रोकिएको स्मरण गर्नु भयो ।

उहाँले काम र अध्ययनका सिलसिलामा १० हजार बढि नेपाली साइप्रसमा रहेको जानकारी गराउँदै नेपालबाट औपचारिक पत्र प्राप्त भएपछि सरकार–सरकारबीच समन्वयका आधारमा कामदार लैजाने प्रक्रिया अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष सिलौरिसले संसदीय मैत्री समुह गठनको प्रस्तावलाई सकारात्मक रुपमा लिंदै संसदीय समूह गठन प्रक्रिया आरम्भ गर्ने बताउनु भयो ।
समिम मियाँ
०७ अक्टोबर २०२०/ लिमासोल
केहि हप्ता देखि साइप्रसमा कोरोना संक्रमण दिनहुँ देखिन थाले पछि फेरी लकडाउन हुने हो कि भन्ने चिन्ताले धेरैलाई सताइरहेको छ। मंगलबार र बुधबार दुई दिनमा दुई जनाको मृत्यु हुनुले थप चिन्ता पैदा गरेको छ। हाल देखिएको महामारी प्रति जनतालाई सचेत बनाइ कोरोना को संक्रमणको फैलावट रोक्न सरकारले कोरोना ‘हटस्पट’ मा विभिन्न कदम चालेको छ। देश भरि मास्क लगाउनु अनिवार्य त छदै छ तर पनि सामाजिक दुरी र मास्क लगाउने प्रति सर्वसाधारणले लापरवाही गरेको देखिन्छ।
भ्याक्सिन तयार भएर बजारमा नआए सम्म हामीले हाम्रो दैनिकीमा मास्क, सेनेटाइजर र भौतिक दुरी कायम राख्ने बानीलाई जीवनशैलीको रुपमा अपनाउनै पर्ने हुन्छ। भ्याकसिन वा औसधी पत्ता नलागुन्जेल आफु र आफ्नो समुदायको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो भन्ने मन मस्तिस्कमा राख्नै पर्छ। आउदै गरेको जाडो महिनामा कोरोना अझै बढ्न र फैलावट पनि ठुलो हुन् सक्ने सम्भावनाको आकलन स्वास्थ्य मन्त्रालयले गरेको छ। मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकी भनेर लापरवाही गर्दा तपाइँ र आसपासका अन्यलाई पनि हानि पुग्न सक्छ त्यसैले कोरोना भाइरस बारे विभिन्न संचार मध्यमबाट जानकारी लिनु जरुरी छ।
मौसमी संक्रमण नभई कोरोनाको लक्षण देखिएमा लापरवाही वा वेवास्ता नगरी परिक्षण गराउनु पर्छ। परिक्षण गराएको ६० देखि ७५ युरो सम्म लाग्छ जुन साइप्रस भरि रहेका सरकारी वा प्राइभेट हस्पिटल ल्याब मा गराइन्छ। साथै कन्ट्याक्ट ट्रेसिंग गर्न तपाइको सम्पर्क मा आएका सबै को जानकारी पनि दिनु पर्छ चाहे त्यो एक सय जना नै किन नहोस्। जसले कोरोना संक्रमण फैलावटको ‘चेन’ टुटाउन सजिलो हुन्छ।
(कोरोना परिक्षण गर्ने ल्याब को सुची यहाँ क्लिक गरेर हेर्नु होला )
साइप्रस सरकारले तीन आधारलाइ मुख्य रणनिति बनाई कोरोना नियन्त्रण गर्ने लक्ष्य लिएको छ। जसमध्य ठुलो संख्यामा परिक्षण गर्ने, सतर्कता पुर्वक कन्ट्याक्ट ट्रेसिंग गर्ने र स्वास्थ्य प्रोटोकलको पालना गर्ने रहेको छ। भाइरस फैलाउने कि नियन्त्रण गर्ने त्यो सर्वाधारणको व्यवहार र दृष्टिकोणमा भर पर्ने स्वास्थ्य मन्त्रालयले भनेको छ। डाक्टर र वैज्ञानिकको टोलिले सबै ताजा आंकडाको मुल्यांकन गरिरहेका छन्। सावधानी अपनाए लकडाउन गर्न नपर्ने तर स्थानिय स्तरमा विभिन्न नियम र उपायहरु लागु गर्ने तर्फ भने मन्त्रालयले जोड दिएको छ ।
बुधबार थप १ को मृत्यु, २१ मा कोरोना पुस्टि
७ अक्टोबर २०२०/ लिमासोल
कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६२ वर्षीय पुरुष केहि दिन देखि निकोसिया जेनेरल हस्पिटल को आइसीयु मा भर्ना भै उपचाररत थिए। हिजो मंगलबार पनि एक बृद्धको मृत्यु भएको थियो।कोरोना बाट आज सम्म चौबिस जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घन्टामा गरिएको २०९५ टेस्ट बाट २१ जनामा कोरोना पुस्टि भएको छ। जसमध्य १ जना फुटबल क्लबका मेम्बर रहेका छन्। कन्ट्याक्ट ट्रेसिङ्ग बाट ९ जना , सरकारी ल्याबबाट १ जना , व्याक्तिगत रुपमा टेस्ट गराएका मध्य ९ जना र सिफारिस गरिएका टेस्ट बाट १ जनामा कोरोना पोजिटिभ देखिएको हो। आजको नयाँ विवरण संगै कोरोना संक्रमित को जम्मा संख्या १८९७ पुगेको छ।
६ अक्टोबर २०२०
कोरोना सन्क्रमणका कारण आज ९० वर्सिया वृद्ध को मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टाको बिवरण सार्वजनिक गर्दै एक को मृत्युु भएको र २९ जनामा संक्रमण देखिएको बताएको छ । बितेको २४ घन्टा मा ३५३२ टेस्ट गरिएको थियो जसमध्य आठ जना कन्ट्याक्ट् ट्रेसिङबाट, पाँच जना एयर्पोर्ट बाट, एक जना फुट्बल क्लब बाट र अन्य सन्क्रमित सरकारी र प्राइभेट ल्याब बाट पोजेटिभ देखिएका हुन् । विभिन्न स्कुलबाट विधार्थी र शिक्षक गरि २०८ नमुना परिक्षण गर्दा सबै नतिजा नेगेटिभ रहेको मन्त्रालयले जनाएको छ । आजको विवरण अनुसार आज सम्म सन्क्रमित को जम्मा संख्या १८७६ पुगेको छ भने ज्यान गुमाउनेको संख्या २३ पुगेको छ।
०६ अक्टोबर २०२०/लिमासोल
लार्नाका एउटा सक्रिय ग्रिनेड बमलाई निस्क्रिय गरिएको छ। सोमबार दिउँसो लार्नाकाको अरादिपू आवासीय क्षेत्रमा स्थानीय व्याक्तिले ग्रिनेड फेला पारेको जानकारी पाए पछि तत्काल प्रहरी पुगेको थियो। सर्वसाधारण को जीवन लाइ खतरा हुने भए पछि सतर्कता अपनाउदै सो क्षेत्रलाई तुरुन्तै सिल गरि बम डिस्पोजल टोलीले करिब २ घन्टाको समय लगायर उक्त बम निस्क्रिय पारेको हो। ग्रिनेड एउटा सानो बम हो जसको पिन निकालेर हातले फ्यालिन्छ।

यदि कुनै पनि स्थानमा शंकास्पद बस्तु देखे वा भेटेमा तुरुन्त खबर गर्न प्रहरीले अनुरोध गरेको छ। शंकास्पद वस्तु देखे वा भेटेमा छुने वा सार्ने कोसिस नगरी सो स्थानको को सके सम्म धेरै जानकारी प्रहरीलाई उपलब्ध गराउन आग्रह गरिएको छ।
श्रोत : फिले न्युज
यो पनि पढ्नुहोस : साइप्रस मा बढ्दै छ कोरोना , कति पुग्यो संख्या ?
५ अक्टोबर २०२०
साइप्रसमा कोरोना संक्रमित को संख्या दिनदिनै बढ्दै गैरहेको छ। यस अवस्थालाई मध्य नजर गर्दै लार्नाका र फामागुस्ता जिल्लामा खास नियम पनि लागु गरिएको छ। पछिल्लो २४ घन्टामा यहाको स्वास्थ्य मन्त्रालयले २३ जनामा नयाँ संक्रमण पुस्टि भएको जानकारी दिएको छ। प्राइभेट ल्याब, बोर्डर, एयरपोर्ट, सरकारी ल्याबमा २७३६ नुमना टेस्ट गरिएको थियो।
‘कन्ट्याक ट्रेसिंग ‘ मार्फत सय जनामा गरिएको टेस्टमा ५ जनामा कोरोना पोजेटिभ देखियो भने एयरपोर्टमा १७५६ जनाको टेस्ट बाट १० जना यात्रुमा कोरोना पुस्टि भएको छ। अन्य आठ जनाको सरकारी र प्राइभेट ल्याब मा परिक्षण गर्दा कोरोना पुस्टि भएका छन्। कन्ट्याक ट्रेसिंग गरिएका मध्य २ जना फुटबल खेलाडी रहेको खुलेको छ। आजको विवरण अनुसार हाल सम संक्रमित को संख्या १८४७ पुगेको छ। २२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने हाल सम्म १३६९ जना कोरोना बाट निको भैसकेका छन्। ४५६ जनामा कोरोना सक्रिय छ जसमध्य ८ जना फामागुस्ता जेनेरल हस्पिटल, २ जना निकोसिया जेनेरल हस्पिटल र १ जना अन्य हस्पिटल मा उपचाररत रहेका छन्।
०५ अक्टोबर २०२० / लिमासोल
पापोसमा केहि हप्ता यता विभिन्न घटना घटीरहेका छन्। केहि दिन अघि मात्र सय युरो फिर्ता नगरेको रिसमा भियतनामी माथी चक्कु प्रहार भएको थियो। घटना हिजो आइतबार को हो। पापोस सिटि को एक पार्किङ्ग एरियामा २३ वर्षीय सिप्रियोट युवक जादै थिए। उनको पछाडीबाट आइरहेको मोटरसाइकलमा सवार व्याक्तिले चक्कु देखाएर घाटीको चेन लुटेर फरार भए। चक्कु देखाए पछि उनि भाग्न खोजे तर उनीहरुले पिछा गरे। मोटरसाइकल चालक संगै सवार महिलाले युवकलाइ टाउको र दाहिने काँधमा हेलमेटले प्रहार गरि चेन लुटेर फरार भए।
पापोस हस्पिटलमा प्रहरीलाई घटनाको सम्पूर्ण विवरण दिदै युवकले अपराधिको हुलिया बारे बताए। दिनदहाडै भएको घटना पछि पिडित युवक अहिले पापोस हस्पिटल मा उपचार गराई रहेका छन्। युवकको दाहिने काँध र टाउकोमा चोट लागेको छ। सुन चेन भनेर लुटिए पनि सुनको जलप लगाइएको उक्त चेनको मूल्य करिब ८० युरो मात्र रहेको छ। प्रहरीले “अरेस्ट वारेन्ट ” जारि गर्दै अपराधीलाई ‘वान्टेड’ को सुचिमा राखेर खोजी गरिरहेको छ।
श्रोत : स्थानिय मिडिया
दिनेश गौतम
युरोप ,साईप्रस , गैर आवासीय नेपाली संघको १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन शनिवार र आईतबार विभिन्न १८ बुदे घोषणा पत्र जारी गर्दै भब्यताका साथ सम्मपन्न भएको छ। सम्मेलनमा यरोप लगाएत एनआरएनएको केन्द्रिय तहका नेता , पत्रकार एवम समाजसेबीहरुको सहभागितामा सम्पन्न भएको एनआरएनए युरोप संयोजक नारायण अर्चायले जानकारी दिए ।
“मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए। नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा पूर्व मन्त्री एवम नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले सम्वोधन गर्नु भयो।
विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्वोधन गर्नु भयो भने अन्य सत्रहरूमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, पूर्व मंत्री तथा नेकपा नेता डा गंगाधर तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, महामहिम राजदूतज्यूहरु, एनआरएनएका केन्द्रिय नेतृत्व, पूर्व अध्यक्षज्यूहरु, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा आम गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो।
कोभिड-१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले निम्न निर्णयहरु गरेको छ :
१. विश्वव्यापी कोभिड-१९ संक्रमणका कारण नेपाल तथा नेपाल बाहिर युरोप लगायत संसारभरि नेपाली समुदायमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै कोभिड-१९ संग जुध्न स्वयंसेवी रुपमा खटीरहनु भएका गैर आवासीय नेपाली अभियन्ताहरु, प्रवासी नेपाली संघसंस्था, नेपाली समुदायका अगुवाहरु, नेपाली नियोगहरु लगायत सम्बन्धित सबैको उच्च सम्मान गर्दै यो बैठक उहांहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ। युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेकाले सुरक्षित रहन सबै गैर आवासीय नेपाली समुदायलाई यो बैठक आग्रह गर्दछ।
२. संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भै संसदको विचाराधीन रहेको ‘गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन’ लाई “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसंग जोड्ने प्रावधान सहित यथाशिघ्र पारित गर्न सबै सांसदज्यूहरु तथा प्रमुख राजनीतिक दलहरुलाई यो बैठक आह्वान गर्दछ।
३. सन् २०१९ मा नेपाल सरकारको आयोजना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानी गर्न समेत यो बैठक आह्वान गर्दछ ।
४. युरोपले एक अल्पविकसित मुलुकका रुपमा नेपाललाई सहुलियतपूर्ण निर्यात गर्ने सुविधा दिएको तर त्यसको पर्याप्त उपयोग गर्न नसकिएकाले नेपालका हस्तकला, पश्मिना, चिया, कफी लगायतका उत्पादनहरुको निर्यात युरोपेली बजारमा वृद्धि गर्न र र आआफ्नो घरमा नेपाली उत्पादनहरुको प्रयोग बढाउन प्रोत्साहित गर्न एनआरएनए तथा एनआरएनहरुले विशेष भूमिका निर्वाह गर्ने निर्णय गर्दछ। यसैगरी संसारभरि नेपाली निर्यात तथा नेपालमा विदेशी लगानी प्रवर्धन गर्न संसारका धेरैजसो देशहरुसंग दोहोरो कर तिर्नु नपर्ने सम्बन्धि सन्धि (Double Taxation Avoidance Agreement), लगानी प्रवर्धन सम्बन्धि सन्धि (Investment Promotion Agreement) हरु गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ।

५. नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अगाडि सारेको ‘पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटनक्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारको रुपमा काम गर्न गैर आवासीय नेपाली संघ तत्पर रहेको बताउंदै उक्त रणनीतिमा आन्तरिक पर्यटनसंगै एनआरएन पर्यटनको विषयलाई पनि अरु स्पष्टरुपमा उल्लेख गर्न यो बैठक अनुरोध गर्दछ।
६. विगत केही वर्ष देखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहक लगायत सबै नेपाली वायु सेवालाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइ रहेकोमा यथाशिघ्र सो प्रतिबंध हटाइ युरोपेली आकाश खुला गर्न हाल भैरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न यो बैठक नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ।
७. नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कूटनीतिक नियोगहरु स्थापना नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कूटनीतिक नियोगमा हस्तान्तरण गराउन समेत यो बैठक अनुरोध गर्दछ। युरोपस्थित नेपाली नियोगहरु तथा युरोपमा रहेका नेपाली समुदायबीच निकट सहकार्य गर्दै मिलेर अगाडी बढ्न यो बैठक आह्वान गर्दछ ।
८. युरोपस्थित गैरआवासीय नेपाली संघ महिला फोरमले महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागितालाई अरु वृद्धि गर्दै जाने निर्णय गर्दछ । ’कोभिड १९’ का कारण महिलाहरु अत्यधिक प्रभावित भएको र महिला बेचबिखन तथा नेपाल भित्रै देहव्यापारमा महिला, बालवालिकालाई संलग्न गराउने प्रवृत्ति बढ्दै गएकाले जनचेतना जगाई यस्ता विकृति नियन्त्रण गर्न प्रभावकारी कार्यक्रममा ल्याउन यो बैठक माग गर्दछ ।
९. युरोप क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मूलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न उपयुक्त वातावरण बनाउन पहल गर्दै यस्ता प्रयासहरुलाई ठोस सहयोग गर्न एनआरएन केन्द्रलाई यो बैठक अनुरोध गर्दछ । साथै हाल विदेशमा हुर्कीरहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने कार्यलाई अरु विस्तारित र संस्थागत गर्न यो बैठक अपील गर्दछ ।
१०. ब्रिटिश सेनाबाट अवकाशप्राप्त भूतपूर्व गोर्खा सैनिकहरुसंग रहेको सीप, अनुभव र पूँजीलाई मातृभूमिको विकासमा परिचालन गर्ने ठोस प्रयासहरुको आवश्यकता रहेको महसुस गर्दै भूतपूर्व गोर्खा सैनिकहरुको नेपाली नागरिकताको निरंतरताको विषयलाई नेपाल तथा ब्रिटिश सरकारबीच कूटनीतिक माध्यमबाट यथाशिघ्र सुनिस्चित गर्न र सो कार्यमा हरसम्भव सहयोग गर्न एनआरएनए प्रतिबद्धता व्यक्त गर्दछ।
११. गैर आवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेशमै रोजगारीको सृजना गर्न तथा नेपाल सरकारले अगाडी सारेको “समृद्ध नेपाल, सुखी नेपाली” अभियानलाई सार्थक पर्न आआफ्नो ठाउँबाट सघाउन यो बैठक सबै गैरआवासीय नेपालीलाई आह्वान गर्दछ ।
१२. कोभिड-१९ का कारण रोजगारी गुमाएर नेपाल फर्केका र फर्कने अनुमान गरिएका झन्डै ५ लाख नेपालीहरुलाई नेपालमै रोजगारी दिलाउन सघाउनका लागि नेपालका सरकारी निकायहरु तथा निजी क्षेत्र समेतसंग सहकार्य गरी बृहत् अभियान संचालन गर्न एनआरएन केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ।
१३. कोभिड -१९ शुरु भएको ६ महिना बितिसक्दा अहिले खाडी, मलेसिया लगायतका मुलुकमा रोजगारी गुमाएका लाखौं नेपाली नेपाल फर्कन पर्खि रहनुभएकाले खासगरी महिला, बिरामी, अशक्त, आर्थिक अभाव बेहोरी रहनु भएका नेपालीहरुलाई निशुल्क उडानको व्यवस्था मिलाउन तथा नेपालीहरुका प्रमुख चाड दशैं, तिहार अगावै अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउने योजना सार्वजनिक गर्न यो बैठक नेपाल सरकारसंग आग्रह गर्दछ। कोभिड-१९ का कारण विदेशमा निधन भएका नेपाली नागरिकहरुको तथ्यांक स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक गरिने विवरणमा समावेश गर्न यो बैठक आग्रह गर्दछ। त्यस्तै वैदेशिक रोजगारलाई मर्यादित र सुरक्षित बनाउन गैर आवासीय नेपाली संघले विभिन्न कालखण्डमा पेश गरेका बुंदाहरुमा मंत्रीस्तरीय निर्णय भै सकेर पनि लागू नभएका विषयहरु तत्काल लागू गर्न यो बैठक आग्रह गर्दछ।
१४. स्थापना भएको १७ वर्ष पुरा हुंदै गर्दा एनआरएनएलाई रुपान्तरण गर्नु पर्ने आवश्यकताबारे यो बैठकमा व्यापक छलफल गरियो। एनआरएनको वर्तमान नेतृत्वले अगाडी सारेको निशुल्क सदस्यता, अनलाइन भोटिंग, स्मार्ट एनआरएनए जस्ता अवधारणाबारे सबै एनसीसीहरुमा व्यापक छलफल गरी एनसीसीहरुको स्वायत्तता, आर्थिक अवस्था, दिगोपना तथा संस्थाको भविष्य लगायतका विषयलाई समेत ध्यानमा राखी अगाडी बढ़ाउन यो बैठक आइसीसी केन्द्रलाई अनुरोध गर्ने निर्णय गर्दछ ।
१५. गैर आवासीय नेपाली अभियानमा नेपाल तथा संसारभरि रहेका संचारकर्मीहरुको योगदानको उच्च मूल्यांकन गर्दै एनआरएनए तथा संचार माध्यमहरुबीच नियमित अन्तरक्रिया, सामाजिक संजालको जिम्मेवारीपूर्ण रुपमा प्रयोग तथा सहकार्य, सहयोग र समन्वयका लागि यो बैठक आग्रह गर्दछ।
१६. यो बैठक संघका सबै क्षेत्रहरुमा क्षेत्रीय आपतकालीन कोष निर्माण गर्नका लागि एनआरएनए केन्द्रलाई सुझाव दिने निर्णय गर्दछ।
१७. अक्टोबर ४ मा सम्पन्न दोश्रो ज्ञान सम्मेलनमा पांच ओटा विभिन्न विषयगत सत्रहरुमा नेपाली तथा गैर आवासीय नेपाली विज्ञहरुले प्रस्तुत गरेका विभिन्न कार्यपत्रहरुमाथि व्यापक छलफल भयो। कोभिड-१९, जलवायु परिवर्तन, नवीकरणीय उर्जाको विकास, वातावरण संरक्षण, पूर्वाधार लगायतका क्षेत्रमा नेपालमा रहेका सरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धान संस्थाहरु लगायतका साझेदारहरु र विदेशमा रहेका गैर आवासीय नेपाली विज्ञ तथा संस्थाहरुसंग निकट सहकार्य गर्न यो बैठक आह्वान गर्दछ। कोभिड-१९ का कारण नेपाल तथा विदेशमा रहेका नेपालीहरुमा मानसिक स्वास्थ्य समस्याहरु देखिएकाले एनआरएनएको स्वास्थ्य समितिसंग समन्वय गरी संचालित चेतनामूलक कार्यक्रमहरुलाइ नियमितता दिन यो बैठक आग्रह गर्दछ। नेपालको आधुनिकीकरण र समृद्धिका लागि विज्ञान र प्रविधिको विकास तथा प्रयोगमा जोड दिन पनि यो बैठक आग्रह गर्दछ।
१८. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, संघको केन्द्रिय कार्यालय, आइटी टिम, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंसेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
नारायण आचार्य
संयोजक
गैर आवासीय नेपाली संघ युरोप
४ अक्टोबर, २०२०





