
काठमाडौं। सरकारले जारी गरेका ६ वटा अध्यादेश अझै एक साता संसदमा पेस नगरिने भएको छ। फागुन ६ गते संघीय संसद्का दुवै सदनमा अध्यादेश पेस गर्ने सरकारको तयारी थियो।
तर सांसदहरू राजधानी बाहिर भएकाले फागुन ११ गतेसम्म अध्यादेश संसदमा पेस नगरिने भएको हो। सत्ता पक्षले भूमिसम्बन्धी अध्यादेशबाहेक पाँचवटा अध्यादेश संसदबाट पारित गर्ने तयारी गरेको छ।
सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए। एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले विगतका चारवटा अधिवेशनमा पास भएकोभन्दा बढी विधेयक यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरुले जोड दिएको बताए। विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई चालू अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको उनको भनाइ छ।
‘संसदमा कतिपय विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भयो। संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरु भए। आगामी कुन बैठकमा यसलाई कार्यसूचीमा लैजान सकिन्छ, त्यो विषयमा पनि छलफल गरेका छौँ। यो हाउसमा विचाराधीन भएका कैयौँ महत्वपूर्ण विधेयकहरु छन्। बाहिर सार्वजनिक टिप्पणीहरु र बहसका विषय पनि छन् । अहिलेको अधिवेशन विधेयक अधिवेशन हो,’ उनले भने।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्ता पक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकहरु छिटो पारित गरी कानुनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको बताए।
उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै अब तीव्रता दिने निर्णय भएको बताए । चालू अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई पारित गर्नेगरी अघि बढ्ने निस्कर्षमा आफूहरु पुगेको जानकारी दिए।
ताप्लेजुङ- गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।
यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।
ढोरपाटन (बागलुङ)- काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो ।

काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।
देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उनले समावेशी विकासको आवश्यकता भएको बताए। नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन आफूहरू लागिरहेको अध्यक्ष थापाको भनाइ छ ।
गाउँमा थुप्रै सम्भावना रहेको तर सीप र दक्षता नहुँदा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेको उनले बताए। अध्यक्ष थापाले भने, “अहिले धेरै जनाको रोजाइ सहरबजार छ, गाउँमा धेरै सम्भावना रहे पनि सीप नहुँदा धेरै नागरिकलाई आयआर्जनसँग जोड्न सकेका छैनौँ, काठेखोलाले अहिले पालिकाभर के–केको सम्भावना छ, खोजी गर्ने र त्यसमा आमजनतालाई दक्ष गराउने तथा उत्पादनमा लाग्ने योजना बनाएर अगाडि बढेका छौँ, अहिले मौरीपालनका लागि केही थान घार र मौरी पाल्ने तालिम दियौँ ।”
पालिकाको गत वर्ष विभिन्न वडामा खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने र चप्पल बनाउने तालिम दिएको थियो ।
यस वर्ष महिला लक्षित कार्यक्रमअन्तर्गत महिलाको सीप विकासका लागि वडा नं १ र ६ मा मादल बजाउने र हार्मोनियम बजाउनेसम्बन्धी तालिम दिएको स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माले जानकारी दिइन् ।
काठमाडौँ –स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ। उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो। समाजद्वारा आयोजित यो चौथो सङ्घदान हो। यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो।
सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताए।
काठमाडौँ । हामीमध्ये कतिपयको घरमा दिन रात चौबिसै घण्टा वाई इफाई अन हुन्छ । यसरी रातमासमेत वाईफाई अन राख्दा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरा अहिले पनि बहसकै विषय हो । तर केही अनुसन्धान र विशेषज्ञहरूले भने वाईफाई रेडियो फ्रिक्वेन्सी (आरएफ) विकिरणको सम्पर्कमा लामो समयसम्म रहँदा सम्भावित रूपमा स्वास्थ्यमा असर पर्न सक्छ भनेर सुझाव दिएका छन् ।
वाइफाईको डिभाइसबाट निस्कने आरएफ विविकरण कम तीव्रताको हुन्छ । तर लामो समयसम्म यसको सम्पर्कमा रहँदा टाउको दुख्ने, थकान महसुस हुने जस्ता समस्या देखिन सक्छ । केही अध्ययनका अनुसार वाईफाईबाट निस्कने विकिरणले मस्तिष्कको तरङ्गलाई समेत प्रभावित पार्न सक्छ । यसका कारण निद्राको चक्रमा खलल उत्पन्न हुन सक्ने बताइएको छ ।
आरएफ बिकिरणले मस्तिष्कको कार्य क्षमता र तनावको स्तरलाई पनि प्रभावित पार्न सक्छ । तर यसको प्रभाव कम तीव्र हुने र हरेक व्यक्तिमा असर पनि फरक फरक हुने बताइएको छ । केही अनुसन्धानले भने आरएफ बिकिरणले डीएनएमा क्षति पुर्याउने अनि यो अक्सिडेटिभ तनावको कारण समेत बन्न सक्ने भनिएको छ ।
क्यान्सरको खतरा पनि छ कि ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आरएफ बिकिरणलाई सम्भावित कार्सिनोजेनिक अर्थात् क्यान्सर उत्पन्न गराउने मानेको छ । बच्चाको मस्तिष्क र शरीर विकसित भइरहेको हुन्छ । त्यसैले उनीहरू यस्तो विकिरणप्रति बढी संवेदनशील हुन सक्छन् । त्यसैले सुत्ने समयमा वाईफाईको राउटर बन्दै गरिदिनुस् । सुत्ने कोठामा सकेसम्म वाईफाईको राउटर वा अन्य वायरलेस डिभाइस नराख्नु वेश हुन्छ ।
काठमाडौँ । आजको समयमा इन्टरनेट मानिसहरूको जीवनको एक महत्त्वपूर्ण हिस्सा बनेको छ। मानिसहरूले अनलाइन कक्षा, डिजिटल सिकाइ, कार्यालयको काम, ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालका लागि इन्टरनेट प्रयोग गर्छन्।यद्यपि, सबैभन्दा ठुलो समस्या तब हुन्छ जब हामी त्यस्तो ठाउँमा हुन्छौँ जहाँ मोबाइल डेटा र इन्टरनेटले काम गरिरहेको छैन। यस्तो अवस्थामा, मानिसहरू सार्वजनिक वाईफाई खोज्छन्।
सार्वजनिक वाईफाई सामान्यतया विमानस्थल, होटल वा रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानहरूमा उपलब्ध हुन्छ। यी पूर्ण रूपमा नि:शुल्क छन्। जो कोहीले पनि यसलाई आफ्नो मोबाइल, ट्याब्लेट वा ल्यापटपमा जडान गर्न सक्छन्। सार्वजनिक वाईफाई प्रयोग गर्नु सुविधाजनक छ, तर यो जोखिमपूर्ण पनि हुन सक्छ।
सार्वजनिक वाईफाई प्रयोग गरेर आफ्नो व्यक्तिगत वा व्यावसायिक खाताहरूमा लग इन नगर्न सल्लाह दिइन्छ किनभने यसको प्रयोगले मानिसहरू घोटाला वा ठगीको सिकार हुन सक्छन्।
सार्वजनिक वाईफाई भनेको के हो?
यो एक वायरलेस इन्टरनेट जडान हो जुन क्याफे, रेस्टुरेन्ट, विमानस्थल जस्ता सार्वजनिक स्थानहरूमा जडान गरिएको छ। सामान्यतया यो सुविधा पूर्ण रूपमा नि:शुल्क हुन्छ। जो कोहीले पनि साझा पासवर्ड प्रविष्ट गरेर यसलाई पहुँच गर्न सक्छन्। धेरै ठाउँहरूमा तपाईं पासवर्ड बिना नै आफ्नो उपकरणबाट सिधै सार्वजनिक वाईफाईमा जडान गर्न सक्नुहुन्छ।
सार्वजनिक वाईफाईका फाइदाहरू के के हुन्?
यात्राको समयमा सार्वजनिक वाईफाई सबैभन्दा बढी आवश्यक हुन्छ। विशेष गरी मेट्रो स्टेसनहरू, ठुला बजारहरू, रंगशालाहरू र भिडभाड भएका क्षेत्रहरूमा इन्टरनेट कमजोर हुन्छ। यस्तो अवस्थामा, तपाईंले सार्वजनिक वाईफाई प्रयोग गरेर राम्रो कनेक्टिभिटी प्राप्त गर्न सक्नुहुन्छ।
सार्वजनिक वाईफाई प्रयोग गर्नु किन खतरनाक हुन सक्छ?
जो कोही पनि सार्वजनिक वाईफाईमा जडान हुन सक्छ। ह्याकरहरूले सार्वजनिक वाईफाई मार्फत तपाईंको फोन वा ल्यापटपमा मालवेयर वा भाइरस घुसाउन सक्छन्, जसले तपाईंको प्रणाली ह्याक गर्न सक्छ। यही कारणले गर्दा सार्वजनिक वाईफाईमा ह्याकिङ र डेटा चोरीको जोखिम बढ्छ। यसको प्रयोग धेरै हिसाबले खतरनाक छ।
कुन ठाउँहरूमा सार्वजनिक वाईफाई प्रयोग गर्नु बढी खतरनाक छ?
प्रायः सार्वजनिक वाईफाईको सुरक्षा कमजोर हुन्छ। साथै, खुला सञ्जाल भएकोले, साइबर अपराधीहरूलाई लक्षित गर्न सजिलो छ। त्यसैले कतिपय ठाउँहरूमा सार्वजनिक वाईफाई प्रयोग गर्नबाट जोगिनु पर्छ।
क्याफे र रेस्टुरेन्टहरू: केही क्याफे र रेस्टुरेन्टहरूले नि:शुल्क वाईफाई प्रदान गर्छन्, तर तिनीहरूको नेटवर्क सुरक्षा बलियो हुँदैन। ह्याकरहरूले त्यस्ता ठाउँहरूमा नक्कली वाईफाई नेटवर्कहरू सेटअप गर्न सक्छन्, जसले गर्दा प्रयोगकर्ताहरूको जानकारी चोरी हुन सक्छ।
सपिङ मल र खुद्रा पसलहरू: मानिसहरूले सामाजिक सञ्जाल एपहरू प्रयोग गर्छन् वा सपिङ मलहरूमा नि:शुल्क वाईफाई मार्फत भुक्तानी कारोबार गर्छन्। त्यस्ता ठाउँहरूमा, फिसिङ आक्रमण र मालवेयर मार्फत तपाईंको बैंक विवरणहरू चोरी हुन सक्छ।
विमानस्थल : विमानस्थलजस्ता सार्वजनिक स्थानहरूमा प्रायः हजारौँ मानिसहरू उपस्थित हुन्छन्। यस्तो अवस्थामा, ह्याकरहरूले नक्कली वाईफाई पोर्टल मार्फत तपाईंको व्यक्तिगत डेटा चोर्न सक्छन्।
होटल र रिसोर्टहरू: प्रायः होटल र रिसोर्टहरूले आफ्नो सार्वजनिक वाईफाईको सुरक्षा अपडेट राख्दैनन्। यस कारणले गर्दा, मालवेयर वा भाइरस तपाईंको उपकरणमा पुग्न सक्छ। यस्तो अवस्थामा, यदि तपाईंले होटल वाईफाई मार्फत कुनै पनि बैंकिङ साइट वा सोसल मिडिया एपमा लगइन गर्नुभयो भने, ह्याकरहरूले तपाईंको संवेदनशील जानकारी चोर्न सक्छन्।
सार्वजनिक वाईफाई प्रयोग गर्दा कस्ता कुराहरूमा ध्यान दिनुपर्छ?
सामान्यतया सार्वजनिक वाईफाई प्रयोग गर्नबाट जोगिनु पर्छ। यदि तपाईं यसलाई कुनै महत्त्वपूर्ण कामको लागि प्रयोग गर्दै हुनुहुन्छ भने केही सावधानी अपनाउनु पर्छ। यस्तो वाईफाई प्रयोग गरेर बैंकिङ, सपिङ वा अनलाइन कारोबार गर्नुहुँदैन ।
एचटीटीपीएस (https) बाट सुरु हुने साइटहरू मात्र खोल्नुपर्छ । आफ्नो डिभाइसमा सन्दिग्ध गतिविधि भए त्यसलाई ब्लक गर्नुपर्छ । अनलाइन अकाउन्टमा टू फ्याक्टर अथेन्टिकेसन राख्नुपर्छ तथा अटो कनेक्ट फिचर बन्द गर्नुपर्छ ।
डिभाइसको सफ्टवेर र अपरेटिङ सिस्टमलाई अपडेट गर्नुपर्छ ।
सार्वजनिक वाईफाईको सुरक्षित विकल्प के के हुन्?
आजको डिजिटल युगमा, सुरक्षा र डेटा गोपनीयता सबैको लागि धेरै महत्त्वपूर्ण छ। यसलाई सुरक्षित राख्न, सार्वजनिक वाईफाई प्रयोग गर्नबाट जोगिनु पर्छ। यसको सट्टामा धेरै अन्य सुरक्षित विकल्पहरू प्रयोग गर्न सकिन्छ।
व्यक्तिगत हटस्पट
बैंकिङ, इमेल, सामाजिक सञ्जाल लगइन जस्ता संवेदनशील जानकारीको लागि मोबाइल हटस्पट उत्तम विकल्प हो। मोबाइल हटस्पट सार्वजनिक वाईफाई भन्दा बढी सुरक्षित छ। यसले डेटा स्थानान्तरणलाई इन्क्रिप्टेड राख्छ, जसले गर्दा साइबर आक्रमणको सम्भावना कम हुन्छ।
त्यसैले ल्यापटप वा अन्य कुनै उपकरणलाई इन्टरनेटमा जडान गर्न आफ्नो मोबाइलको हटस्पट अन गर्नुहोस्। तपाईं आफैंले यसलाई नियन्त्रण गर्नुहोस्। हटस्पट सेटिङहरूमा डब्लूपीए२ वा डब्लूपीए३ सुरक्षा अन गर्नुपर्छ । यसरी कुनै पनि अपरिचित व्यक्तिले यसलाई प्रयोग गर्न सक्दैनन् ।
यूएसबी टेथरिङ :
यूएसबी टेथरिङ भनेको फोनको इन्टरनेट जडान ल्यापटप वा कम्प्युटरसँग साझेदारी गर्नु हो। यसमा, यूएसबी केबल मार्फत मोबाइललाई ल्यापटपमा जडान गरेर इन्टरनेट साझा गरिन्छ। यसले सार्वजनिक वाईफाईभन्दा बढी सुरक्षित र स्थिर जडान प्रदान गर्दछ। यसबाट एक पटकमा एउटा मात्र उपकरण जडान गर्न सकिन्छ।
समिम मियाँ
१२ मार्च २०२१/ नेपाल
साइप्रसको मन्त्रिपरिषदको बैठकले लकडाउन खुलाउने बारे विभिन्न निर्णयहरु गरेको छ। आज बसेको बैठकले मार्च १६ मंगलबार देखि होटेल रेस्टुरेन्ट संचालन गर्न पाउने निर्णय गरेको हो। त्यस्तै, रात ९ बजे देखि बिहान ५ बजे सम्म रहेको कर्फ्युको समय घटाएर नयाँ समय निर्धारण गरेको छ। मार्च १६ देखि ३१ सम्म भने राति ११ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुने सरकारले जनाएको छ।
मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता स्वास्थ्य मंत्री कोंस्तान्तिनुस आयान्नुले निर्णयहरु बारे स्पस्ट पार्नु भयो।
रेस्टुरेन्टहरुले आफ्ना ग्राहकलाई आउटडोर मा मात्रै बसाएर सेवा प्रदान गर्न मिल्ने तर रेस्टुरेन्ट भित्र भने गर्न नसकिने बताइएको छ। त्यस्तै, विधालयहरु ले अझै २ हप्ता अनलाइन पढाइ हुने जानकारी दिएको छ।
लिमासोलका विभिन्न प्राथमिक विधालयमा कोरोना संक्रमण भेटिए पछि विधालय बन्द गरिएको छ। सरकारले विधालय जाने विधार्थी र स्कुल कर्मचारीलाइ हरेक हप्ता कोरोना नेगेटिभ भएको रिपोर्ट ल्याउनै पर्ने निर्णय गरेको थियो।
सोहि अनुसार सरकारले नि:शुल्क कोरोना परिक्षण गर्ने व्यवस्था गरे पछि विभिन्न स्कुलमा कोरोना संक्रमण पुस्टि भएको थियो।
मंत्री आयान्नुले कर्फ्यु को समय कम गरिएको बताउदै एस एम एस सिस्टम भने यथावत राखेको बताउनु भयो। एसएमएस सिस्टम मा अझै पनि २ ओटा एस एम एस प्रतिदिन कायमै राखेको छ। त्यस्तै, सोमबार देखि पार्क मा ६ जना सम्म मास्क लगाएर बस्न सकिने निर्णय भएको मंत्री आयान्नुले जानकारी दिनु भयो।
आगामी सोमबार “ग्रीन मन्डे ” को दिन मात्र ड्याम तथा पिकनिक एरियामा जम्मा हुन सकिने बताइएको छ।
११ मार्च २०२१ / लिमासोल
साइप्रसको स्वास्थ्य मन्त्रालयले आज एक को मृत्यु भएको बताउदै ४३१ मा कोरोना संक्रमण भएको पुस्टि गरेको छ। बुधबार ४२० मा देखिएको कोरोना अझ तिव्र हुदै गएको छ। पिसिआर र र्र्यापिड टेस्ट गरि ४३,१७७ टेस्ट गरिएको जानकारी दिएको छ। २९०४ पिसिआर र र्यापिड ४०,२३७ टेस्ट बाट १२८ जनालाई कन्ट्रयाक ट्रेसिंग बाट, २ जना एयरपोर्टबाट, ६४ जनाले व्याक्तिगत रुपमा परिक्षण गराउदा, आठ जना हस्पिटल ल्याब बाट, १६ जना प्राइभेट ल्याब बाट, १ जना व्याक्तिगत डाक्टरको सिफारिसबाट र २१२ जना भने स्वास्थ्य मन्त्रालयको निशुल्क कोरोना टेस्ट योजना अन्तर्गत फेला परेको हो।
जानकारी अनुसार ८५०० टेस्ट लिमासोल मा मात्रै गरिएको थियो जसमध्य १४२ जनामा कोरोना संक्रमण भेटिएको हो। त्यस्तै निकोसियामा अनि १०,९१० टेस्ट गरिएको मध्य ३७ जनामा मात्र कोभिड संक्रमण फेला परेको हो।
आज ८१ वर्षीय वृद्धाको मृत्यु संगै हाल सम्म कोरोनाका कारण ज्यान गुमाउने को संख्या २३६ पुगेको छ।
यता, हस्पिटलमा भर्ना हुने को संख्या पनि बढ्दो छ हाल १८५ जना सक्रिय बिरामी हस्पिटलमा उपचाररत छन् जसमध्य ३६ को अवस्था गम्भीर रहेको छ।
यो पनि पढ्नुहोस् : सरकारको शंका :एक नर्शको मृत्यु पछि कोरोना खोप कति सुरक्षित ?
११ मार्च २०२१ / लिमासोल
कोरोना विरुद्दको खोप लिएको १० दिन मै अस्ट्रियामा एक नर्सको मृत्यु भएको खबर पछि साइप्रसले सो व्याचमा उत्पादन भएको खोप प्रति आशंका जाहेर गरेको छ। पहिलो डोज लिएकी ४९ वर्षीय सो नर्सको रगत जमेर मृत्यु भएको हो। केहि दिन अघि मात्र सोहि व्याचको खोप लिएकी ३५ वर्षीय अर्की नर्सलाइ अस्पतालमा भर्ना गरिएको थियो। उनको फोक्सोमा समस्या देखिएको थियो उपचार पछि निको भैरहेको विभिन्न एजेन्सीले जनाएका छन्।
युरोपियन युनियनले भने खोप कै कारण यस्तो अवस्था आएको प्रमाण नभेटिएको बताएको छ। औसधी सेवाका उपनिर्देशकका अनुसार साइप्रसले लिएको सो व्याचको बारे चिन्ताजनक अवस्था नभएको बताएकी छिन्।
अस्ट्रिया, बुल्गारिया, साइप्रस, डेनमार्क, एस्टोनिया, फ्रान्स, ग्रीस, आइसल्यान्ड, आयरल्यान्ड, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, माल्टा, नेदरल्यान्ड, पोल्याण्ड, स्पेन र स्वीडेनको ब्याचमा एस्ट्राजेनेका खोपको १० लाख डोज पठाइएको थियो।
यस व्याचको खोप मा समस्या नभए अनि सावधानीका लागि यूरोपियन मेडिसिन एजेन्सीको फार्माकोविजिलेन्स जोखिम निर्धारण समितिको अन्तिम रिपोर्ट नआए सम्मका लागि खोप प्रयोग बन्द गरिएको बताइएको छ। अनुसन्धान पुरा नहुन्जेल साइप्रस लगायत अन्य देशले सावधानीका लागि सो ब्याचको खोप प्रयोगलाई स्थगित गरिदिएको छ।
साइप्रसको खोप कार्यक्रमको मेरुदण्ड नै एस्ट्राजेनेका खोप हो किनकि यसले १२ लाख डोज खोप को अर्डर गरिसकेको छ।
साईप्रस , युरोप
महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई प्रचार प्रसार , रुपन्देहीबासीलाई एकिकृत , पर्यटन प्रवद्र्धन , गैर नाफामुलक सेवा गर्ने उद्देश्यले साईप्रसमा रुपन्देही समाज साईप्रस नामक संगठन स्थापना भएको छ । मंगलवार भर्चुवल माध्यमबाट साईप्रसमा रुपन्देही जिल्लाबासीहरुको छलफलले जानु अधिकारी कार्कीको संयोज्कत्वमा १६ सदस्यीय रुपन्देही समाज साईप्रस गठन गरेको छ ।
जसको सह संयोजकमा सिता नेपाल भट्टराई , सह संयोजक बिबा गहतराज र सह संयोजक सरस्वति न्यौपानेलाई सर्बसम्मतले चयन गरेको छ , साथै महासचिव खुम बहादुर रेश्मी , सचिव अनिता ज्ञावली , कोषाध्यष गिता लामिछाने , सहकोषाध्यक्ष अजित गुप्ता , मुल कार्यसमिति सदस्यहरुमा मिनु गैह्रे , विमला परियार , पुजा गौतम ,शोभा गौतम , दुर्गा रेग्मी , जमुना थापा , शिला ज्ञावली , पार्बती पौडेल ,लगाएतलाई निर्विरोध रुपमा चयन गरिएको छ । समाजको पहिलो अनलाईन छलफलले संगठनको प्रमुख सल्लाहकारमा पत्रकार दिनेश गौतमलाई चयन गरेको छ । साथै समाजको पहिलो बैठकले विभिन्न ४ बुदे निर्णय गरेको छ ।
जसमा समाजको टिममा पछि थप नया सदस्यहरुलाई पनि थप्ने , हरेक मुख्य सहरहरुमा कार्यको अधारमा संयोजक बनाउने , हरेक सदस्यहरुले हरेक दिन एक एक जना नया रुपन्देही बासीहरुलाई ग्रुपमा ल्याउने , साईप्रसमा रहेका होनरी कन्सुलेट , एनआरएनए र समाजिक सघंसस्थाहरुसगं सहकार्य गरिने , साथै बैठकमा उपस्थिति जनाउनु हुने सबै जनालाई समाजले धन्यबाद ज्ञापन गरेको छ ।