काठमाण्डाै – दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेकाे कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ । एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपको ‘निराशाजनक’ नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा स्वरूपबाट प्रभावित रहेको पाइएको छ ।
दुई हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको प्रभावकारिता नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको १० लाख डोज प्राप्त गरिसकेको थियो । खोप अभियान सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला प्रभावकारितामाथि प्रश्न उठेपछि खोप लगाउनै रोक लगाइएको हो ।
आइतवार अनलाइन समाचार कन्फ्रेन्समा बाेल्दै दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड-आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताउनुभयाे ।
अध्ययनकाे नेतृत्व गरिरहनुभएका प्राध्यापक शाबिर माधीले भन्नुभयाे, दुर्भाग्यवश अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले सामान्य तथा मध्यम खालका बिमारीमा काम नगर्ने रहेछ ।त्यस अध्ययनले भने अझ गम्भीर सङ्क्रमणलाई अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय नहेरेको उहाँले बताउनुभयाे ।
अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेकाले गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई त्यसले प्रतिनिधित्व नगर्ने जनाइएकाे छ ।
अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टले अक्सफोर्ड-आस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिनुभएकाे छ । खोप विकासकर्ताहरूले दक्षिण अफ्रिकाकाे देखिएकाे काेराेनाकाे नयाँ प्रकारविरुद्ध अहिलेकाे खोपमा परिमार्जन गर्न सक्ने उहाँले बताउनुभयाे ।
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्