काठमाडौं । जेनेरेसन अल्फा र जेनेरेसन जेडपछि अब आउने नयाँ पुस्तालाई जेनेरेसन बेटा भनिनेछ । २०२५ देखि २०३९ को बीचमा जन्मिने बच्चाबच्ची यो पुस्तामा समेटिनेछन् ।
प्रविधि क्षेत्रमा भएको तीव्र प्रगति, सामाजिक चुनौती र विश्वव्यापी परिवर्तनको आकार लिने संसारमा हुर्किने भएकाले यस पुस्तालाई जेनेरेसन अर्थात् जेन बेटाले परिभाषित गरिएको हो ।
जेनेरेसन अल्फा (२०१०-२०२४ मा जन्मिएका) को पाइला पछ्याउँदै यी बालबालिका प्रविधि, दिगोपन र विश्वव्यापी परिदृश्यमा अभूतपूर्व परिवर्तनहरूको साक्षी बन्नेछन् ।
जेनेरेसन बेटा को हुन् ?
सामाजिक अनुसन्धानकर्ता मार्क म्याक्रिन्डलले जेनेरेसन अल्फा शब्दको सिर्जना गरेका थिए । सन् २०३५ सम्ममा जेनेरेसन बेटाले विश्वव्यापी जनसङ्ख्याको १६ प्रतिशत भाग ओगट्ने उनले भविष्यवाणी गरेका छन् ।
यी बालबालिका मुख्यतः युवा जेनेरेसन वाई (मिलेनियल्स १९८१-१९९६ मा जन्मिएका) र पुराना जेनेरेसन जेड (१९९६-२०१०) का अभिभावकबाट जन्मनेछन् । जेनेरेसन वाई र जेनेरेसन जेड डिजिटल युग र सामाजिक सञ्जालको उदयसँगै पहिले नै अनुकूलित भइसकेको पुस्ता हुन् ।
“जेनरेसन अल्फाले स्मार्ट प्रविधि र एआईको उदय अनुभव गरेको छ । जेनरेसन बेटा यस्तो युगमा बाँच्नेछ, जहाँ शिक्षा, कार्यक्षेत्र, स्वास्थ्य सेवा, मनोरञ्जनजस्ता सबै पक्ष पूर्ण रूपमा एआईमय हुनेछन्,” म्याकक्रिन्डलले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेका छन् ।
यता जेनेरेसन बेटा भने अझ बढी इन्टरकनेक्टेड र स्वचालित वातावरणमा हुर्किनेछन् । यसमा एआई, मसिन लर्निङ, स्वचालित जीवन र दिगोपनको प्रयासले आकार दिनेछन्।
जेनेरेसन बेटाका मुख्य विशेषताहरू
१. प्रविधिको एकीकरण
जेनेरेसन बेटा आर्टिफिसियल इन्टेलिजेन्स र स्वचालित संसारमा डुबेर हुर्किनेछ । यी प्रविधिहरू शिक्षा, स्वास्थ्य सेवा, मनोरञ्जन र कार्यक्षेत्रमा आधारभूत हुनेछन् । यसले उनीहरूको सिकाइ, काम गर्ने तरिका र अन्तर्क्रिया गर्ने शैलीलाई मौलिक रूपमा परिवर्तन गर्नेछ ।
२. दीर्घ जीवन
स्वास्थ्य सेवा र दीर्घायु प्रविधिमा भएको प्रगतिले गर्दा यस अवधिमा जन्मिने धेरै बालबालिका २२औं शताब्दीमा राम्रोसँग बाँच्ने अपेक्षा गरिएको छ । लामो समय बाँच्न सक्ने क्षमताले संसारमा नयाँ चुनौती र अवसर लिएर आउनेछ ।
३. दिगोपनको प्राथमिकता
जलवायु परिवर्तन, जनसङ्ख्याको विश्वव्यापी परिवर्तन र स्रोतहरूको समाप्ति जस्ता सामाजिक चुनौतीले जेनेरेसन बेटाले सामना गर्ने मुख्य मुद्दाहरू परिभाषित गर्नेछन् । दिगोपन कुनै रोजाइ नभई अनिवार्यता हुनेछ, जसले उनीहरूको उपभोग, जीवनशैली र कार्यशैलीमा प्रभाव पार्नेछ ।
४. विश्वव्यापी प्रभाव
यो पुस्ता बढ्दै जाँदा तिनीहरूको मूल्य र निर्णयले विश्वव्यापी अर्थतन्त्र, संस्कृति र उद्योगलाई महत्त्वपूर्ण रूपमा प्रभावित गर्नेछन् । सङ्ख्या बढ्दै जाँदा उनीहरू प्रविधि, समाज र नीतिमा भविष्यका प्रवृत्तिहरूलाई आकार दिने मुख्य जनसांख्यिकीय समूह बन्नेछन् ।
जेनेरेसन बेटाले उच्च प्रविधियुक्त संसारको अनुभव गर्नेछन् । यसमा खासगरी स्मार्ट सहर, स्वचालित गाडी र अत्याधुनिक भर्चुअल रियालिटी समावेश हुनेछन् ।
एआईद्वारा सञ्चालित यन्त्रमा आधारित शिक्षण र ब्लकचेन जस्ता प्रविधिले नयाँ पुस्ताको जीवनका हरेक क्षेत्रमा असर पुर्याउनेछ । यसले उनीहरूको पढाइ र कामलाई अझ बढी व्यक्तिगत र सजिलो बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
परिवर्तनशील संसारमा जेनेरेसन बेटाले दिगोपनका चुनौतीको सामना गर्नुपर्ने हुन्छ भने सँगै उदाइरहेका प्रविधिलाई बढीभन्दा बढी उपयोग गर्नुपर्नेछ ।
प्रविधिमा भएको प्रगति, वातावरण जोगाउने जिम्मेवारी र समाजमा हुने परिवर्तनको मिश्रणले भविष्यमा यस पुस्ताको पहिचान र प्रभाव निर्धारण गर्नेछ ।
पछिल्लो अध्यावधिक: पुस १६, २०८१ १२:१८
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्