२०८२ बैशाख १७ बुधबार
LATEST NEWS
२०८२ बैशाख १७ बुधबार

चीनको साँझपखको नाचगान: सार्वजनिक जीवनशैलीबाट स्वास्थ्य लाभतर्फ

के साँझपखको केही घण्टा रमाइलो संगतमा नाच्दै बिताउनु स्वास्थ्यका लागि चमत्कारिक हुन सक्छ? चीनमा मेरो अनुभवले यस प्रश्नको उत्तर “हो” भन्ने प्रष्ट संकेत दिएको छ। केही समयअघि मैले सिचुवान प्रान्तको चेङ्दु र पान्जिहुवा सहरहरूको भ्रमण गरेको थिएँ। साँझको समय सार्वजनिक स्थानहरूमा पुग्दा मैले देखेको दृश्य साँच्चिकै रोचक र प्रेरणादायक थियो—बृद्धदेखि युवासम्म, पुरुषदेखि महिला सबैजना संगीतको तालमा खुला ठाउँमा रमाउँदै, एकआपसमा मिलेर नाचिरहेका थिए। त्यो दृश्य केवल मनोरञ्जन मात्र होइन, स्वास्थ्य, सामाजिक सम्बन्ध र मानसिक शान्तिको अभ्यासजस्तो लाग्यो।

इतिहास: कसरी सुरु भयो सार्वजनिक नाचगान?
“Guangchang Wu” (广场舞), जसको अर्थ हो “पब्लिक स्क्वायर डान्स”, चीनमा सार्वजनिक नाचगानको अभ्यास सन् १९९० को दशकदेखि सुरु भएको हो। ग्रामीण क्षेत्रबाट सहरतिर स्थानान्तरण भएका बृद्धबृद्धाहरू, विशेषगरी महिलाहरू  एक्लोपन र खाली समयलाई सकारात्मक दिशामा प्रयोग गर्न एक-अर्कासँग भेला भएर नाच्ने अभ्यासमा लागे।

सुरुवातमा यो अभ्यास केवल थोरै मानिसहरूद्वारा साना पार्क वा खुला चौकहरूमा गरिन्थ्यो। विस्तारै यसले व्यापक रूप लियो। अहिले त यो चीनको सहर-सहरमा सामान्य दृश्य बनेको छ—पार्कहरू, मल अगाडि, र आवासीय क्षेत्रहरूमा दैनिक रूपमा सयौँ मानिसहरू संगीतमा रमाइरहेका हुन्छन्।

शारीरिक फाइदा – वैज्ञानिक प्रमाणसहित
नियमित रूपमा सार्वजनिक स्थानमा नाचगानमा संलग्न हुने मानिसहरूमा शारीरिक स्वास्थ्य उल्लेखनीय रूपमा सुधारिएको पाइन्छ।

•    बेजिङ स्पोर्ट युनिभर्सिटीले गरेको एक अध्ययन (सन् २०२०) अनुसार, स्क्वायर डान्समा दैनिक ३०–६० मिनेट संलग्न हुने महिलाहरूको रक्तचाप, कोलेस्ट्रोल, र शरीरको बोसोको मात्रा उल्लेखनीय रूपमा घटेको पाइयो।

•    जर्नल अफ एजिइङ एन्ड फिजिकल एक्टिभिटीमा प्रकाशित एक अध्ययनले स्क्वायर डान्सले ५० वर्षभन्दा माथिका महिलामा कार्डियोभास्कुलर स्वास्थ्य सुधार गरेको देखाएको छ।
यसले निम्नलिखित शारीरिक फाइदाहरू पुर्‍याउँछ:

१.    हृदयको क्षमता सुधार हुन्छ।
२.    तौल घटाउँछ, बोसो कम गर्छ।
३.    उमेर अनुसार उपयुक्त गतिशीलता कायम राख्न सहयोग गर्छ।

मानसिक फाइदा – मन र मस्तिष्कको उर्जा
•    चीनको सांघाइ युनिभर्सिटीद्वारा २०१८ मा गरिएको अध्ययनमा सहभागी वृद्धवृद्धामा स्क्वायर डान्सले डिप्रेशनका लक्षण ३० प्रतिशतले घटाएको देखिएको थियो।
•    फ्रन्टायर्स इन साइकोलोजी पत्रिकामा प्रकाशित अनुसन्धान अनुसार यस्तो नृत्य अभ्यासले स्मृति सुधार र आत्म-सन्तुष्टि बढाउने प्रमाण पाइएको छ।

सारांशमा, नाचगानले:
•    तनाव घटाउँछ,
•    मूड अपलिफ्ट गर्छ,
•    आत्मविश्वास बढाउँछ।

सामाजिक फाइदा – सम्बन्धमा मिठास
स्क्वायर डान्स केवल शारीरिक अभ्यास नभई सामाजिक सहभागिताको सशक्त रूप हो।
•    चाइनिज जर्नल अफ सोसियोलोजीमा प्रकाशित एक अध्ययनमा सहभागीहरूद्वारा नाचगानमार्फत आफू समुदायसँग जोडिएको महसुस भएको, एक्लोपन कम भएको र सामाजिक जीवन समृद्ध भएको बताइएको छ।

कम लागतमा अधिक लाभ
यो अभ्यासको सबैभन्दा राम्रो पक्ष भनेको—यसका लागि धेरै खर्च लाग्दैन। खुला ठाउँ, एउटा सानो स्पिकर र केही उत्साही मानिसहरू चाहिन्छ।

न त जिमको महँगो सदस्यता आवश्यक पर्छ, न विशेष पोशाक वा उपकरण। सबै उमेर समूहका मानिसहरूले सजिलै भाग लिन सक्छन्। चीनमा कतिपय ठाउँमा स्थानीय सरकारले पनि यस्तो नृत्य अभ्यासलाई प्रोत्साहन गर्न स्पिकर, लाइटिङ र नृत्य प्रशिक्षकको व्यवस्था समेत गरेको छ।

नेपालमा यसको सम्भाव्यता
नेपालजस्तो समाजमा जहाँ साँझपख चिया खाने, टोलका चौकमा गफ गर्ने चलन छ, त्यही समयलाई नाचगानजस्तो फाइदाजनक अभ्यासमा रूपान्तरण गर्न सकिन्छ।

•    स्थानीय निकायले सामुदायिक ठाउँहरूलाई यस्तो गतिविधिका लागि उपयोग गर्न सक्ने व्यवस्था गर्न सक्छन्।
•    टोल सुधार समिति वा युवा क्लबहरूले नेतृत्व लिन सक्छन्।
•    स्वास्थ्य संस्थाहरूले प्रचारप्रसार र प्रारम्भिक तालिम दिन सक्छन्।

धेरैजसो नेपाली शहरहरूमा खुला स्थान, चौक, पार्क तथा सामुदायिक भवनहरू छन्, जुन यस कार्यको लागि प्रयोग गर्न सकिन्छ।

मेरो अनुभव
मैले चेङ्दु र पान्जिहुवा भ्रमणका क्रममा देखेको जनजीवनले मलाई एकदमै छोयो। साँझपख काम सकिएको थकाइपछि मानिसहरू खुला ठाउँमा निस्केर साथीभाइसँग रमाउँदै नाचिरहेका थिए। त्यो केवल नाच मात्र थिएन—स्वास्थ्यप्रति जिम्मेवार व्यवहार, समाजसँग जोडिने प्रक्रिया, र सकारात्मक जीवनशैलीको अभिव्यक्ति थियो।

निष्कर्ष
हामीले सधैं भनिरहन्छौं—“चीनजस्तो विकास भएको देशको कुरा हो, नेपालमा सम्भव छैन।” तर साँचो चाहना, थोरै योजना र थोरै स्रोतले पनि हामी यस्तो अभ्यास सुरु गर्न सक्छौं। स्वास्थ्य, मानसिक शान्ति र सामाजिक सम्बन्ध—यी सबै एकैचोटि सुधार गर्न सक्ने अभ्यास नेपालमा पनि प्रारम्भ गरिनुपर्छ।

शुरुवात सानो टोलबाट गरौं, र विस्तार समुदायसम्म पुर्‍याऔं। आजको मोबाइल चलाउने समयलाई भोलिको स्वस्थ जीवनशैलीमा रूपान्तरण गरौं।

हामी पनि साँझपख रमाउँदै, तालमा नाच्दै, स्वास्थ्य र मित्रता सँगसँगै अगाडि बढ्न सक्नेछौं।

(डा पार्थ गुरागाईं विराट मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्।)

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट