
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा प्रहरीले रातिको समयमा महिलालाई कुटेको देखिने एउटा भिडिओले चर्चा पाइरहेको छ । काठमाडौं ठमेलको एउटा नाइट क्लबमा प्रहरी सिभिल ड्रेस छिरेको र अश्लीलताले सीमा नाघेको फेला परेपछि कारबाही गरेको भन्ने दाबी गरिएको छ । टेकपाना फ्याक्टचेकले यो घटना नेपालको नभइ पेरुको भएको र आजभन्दा १० वर्षअघि २०१४ मा भएको पत्ता लगाएको छ ।
दाबी

बिहीबार १७ अप्रिल २०२५ मा ‘रेज योर भ्वाइस’ नामको फेसबुक पेजबाट एउटा भिडिओ पोस्ट भयो । भिडिओमा केही प्रहरी जस्तो देखिने व्यक्तिले रातिको समयमा केही महिलाहरू कुटिरहेको देखिन्छ । १ मिनेट २७ सेकेन्डको उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “Kathmandu Thamel को एक night club मा पुलिस सिबिल ड्रेसमा छिरे पछिको अबस्था। अश्लीलताको सीमा नाघेपछि सुरक्षाकर्मी छिर्नु पर्ने बाध्यता भयो ।”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा २७२ रियाक्सन, ४१ कमेन्ट र ८५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
फेसबुकमा आयुष क्षेत्री (ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ), मिशन नेपाल (ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ), युथ अफ बुद्धशान्ति (ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ), सजन गुरुङ खवास (ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ) लगायतका फेसबुक पेज तथा प्रयोगकर्ताले यो भिडिओ राखेका छन् ।
यी सबैले यो भिडिओ काठमाडौं ठमेलमा भएको एउटा नाइट क्लबको भन्ने दाबी गरेका छन् । तर नाइट क्लबको नाम के हो भन्ने राखेका छैनन् ।
तथ्यजाँच
टेकपाना फ्याक्टचेक टिमले इनभिड टुल प्रयोग गरेर भाइरल भिडिओको कीफ्रेम निकाल्यो । त्यसमध्यको एउटा कीफ्रेमलाई गुगल लेन्समा reverse image search गर्दा भाइरल भिडिओमा देखिएकी युवतीको फोटो फिचर भएको mangalore today को ‘Peru Moral Police wip Nightclub Employees’ शीर्षकको समाचार फेला पार्यो ।
त्यसमा तीन ओटा फोटो फिचर भएका छन् । नेपालमा भाइरल भइरहेको भिडिओमा देखिने युवती र उक्त समाचारमा राखिएका फोटोमा देखिने युवतीको फोटो मिलेको पायौं ।
मंगलोर टुडेले यो घटना पश्चिमी पेरुमा भएको उल्लेख गरेको छ । तर यो कहिलेको समाचार हो भन्ने उल्लेख नभएको पाइएपछि हामीले पश्चिमी पेरुको नाइट क्लबमा यौनकर्मी महिला भन्ने आशयका समाचार खोज्यौं । यसका लागि हामीले गुगलमा ‘Peru nightclub prostitution’ भन्ने कीवर्ड्स खोज्यौं । त्यस क्रममा फक्स न्युजले राखेको समाचार फेला पर्यो ।
नेपालमा भाइरल भइरहेको भिडिओको कीफ्रेम र फक्स न्युजले उक्त समाचारमा राखेको फिचर फोटो दाँजेर हेर्यौं । फोटो मिल्यो ।
७ जनवरी २०१४ मा ‘Euronews’ ले राखेको भिडिओको शीर्षक “Video: Vigilantes chase, whip women in ‘anti-prostitution’ raid on Peru night club” मा उक्त भिडिओ हेर्न सकिन्छ । हेर्नुहोस् भिडिओ ।
मंगलोर टुडे, फक्स न्युज र युराे न्युजका अनुसार यो ९ जनवरी २०१४ भन्दा अगाडिको उत्तरी पेरुमा रहेको काजामार्का सहरमा रहेको एउटा नाइट क्लबको घटना हो । उक्त नाइट क्लबमा पहिले केही नकाबधारी मान्छे छिरेका थिए । पछि उनीहरूले आफूलाई ‘सिटी सेक्युरिटी फोर्स’ भनेर चिनाए ।
यी मानिसहरूले क्लबमा काम गर्ने महिलाहरू (जो सम्भावित यौनकर्मी थिए) लाई पिटे, लाइनमा उभ्याए, कोहीको लुगा अधुरो थियो र उनीहरू डरले रुँदै थिए । क्लबमा रहेका बार टेन्डर र बाउन्सरहरूलाई पनि घुँडा टेकेर पुशअप गराए ।
उनीहरूले क्लबमा चोरहरू लुकेका छन् भन्ने सूचना पाएपछि छापा मारेको बताएका थिए । तर त्यहाँ कोही चोर फेला परेनन् । उनीहरूको भनाइ अनुसार त्यो उनीहरूको ‘अपराध र वेश्यावृत्तिको अन्त्य गर्ने प्रयास’ थियो । फक्स न्युजका अनुसार पेरुमा १८ वर्षभन्दा माथिका महिलाका लागि वेश्यावृत्तिले कानुनी रूपमा मान्यता छ । तर महिलाले नगरपालिका कार्यालयमा दर्ता भएर स्वास्थ्य प्रमाणपत्र लिनुपर्छ । तर धेरैजसो यौनकर्मीहरू अनौपचारिक रूपमा काम गर्थे, जसले गर्दा उनीहरू हिंसा र स्वास्थ्य समस्या भोग्न बाध्य हुने गरेको समाचार माध्यमले उल्लेख गरेका छन् ।
दाबी
काठमाडौंको ठमेलको एउटा नाइट क्लबमा वेश्यावृत्ति भइरहेको भन्ने थाहा पाएपछि सिभिलमा खटिएको प्रहरीले छापा मार्यो ।
दाबीकर्ता
Raise your voice, Aayush Xettri, Mission nepal, Sajan gurung khawas, Youth of buddhashanti लगायतका फेसबुक पेज र प्रयोगकर्ता ।
तथ्य
काठमाडौं ठमेलमा वेश्यावृत्ति बढ्दै गएपछि सिभिलमा खटिएको प्रहरीले एक नाइट क्लबबाट त्यसमा संलग्न महिलालाई कुट्दै बाहिर निकाल्यो भन्ने दाबी केही नेपाली फेसबुक पेज र प्रयोगकर्ताले गरेका छन् । तर यो भिडिओ नेपालको नभएर उत्तर पेरुको एक सहरको नाइट क्लबको रहेको पुष्टि भएको छ ।
निष्कर्ष
काठमाडौं ठमेलमा वेश्यावृत्ति बढ्दै गएपछि सिभिलमा खटिएको प्रहरीले एक नाइट क्लबबाट त्यसमा संलग्न महिलालाई कुट्दै बाहिर निकाल्यो भन्ने दाबी भ्रमपूर्ण रहेको पाइएको छ । यो घटना नेपालको नभइ पेरुको उत्तरी क्षेत्रमा भएको एक सहरको नाइट क्लबको हो । यो आजभन्दा १० वर्ष अगाडि सन् २०१४ मा भएको घटना हो । नेपालका केही फेसबुक पेज र प्रयोगकर्ताले काठमाडौं ठमेलको भन्दै भ्रामक भिडिओ फैलाएका हुन् ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १८:५२
सामाग्री श्रोत :
टेक पाना