२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

फ्याक्टचेकः थ्रेसरमा परी नेपालगञ्जमा एक व्यक्तिको ज्यान गएको भन्दै भाइरल भएको भिडिओ भारतको

काठमाडौं । गहुँ दाउने क्रममा थ्रेसरमा परेर नेपालगञ्जका एक व्यक्तिले ज्यान गुमाएको दाबीसहितको भिडिओ सोमबारदेखि फेसबुकमा भाइरल छ । टेकपामा फ्याक्टचेकले उक्त भिडिओ नेपालगञ्जको नभई भारत मध्यप्रदेशको भएको पत्ता लगाएको छ । 

दाबी 

सोमबार, ७ अप्रिल २०२५ देखि सामाजिक सञ्जाल फेसबुकमा फैलिएको भिडिओमा ‘गहुँ दाउने क्रममा थ्रेसरमा परेर नेपालगञ्जमा एक व्यक्तिको ज्यान गएको दाबी’ गरिएको छ । सुनिल खड्का नामका फेसबुक प्रयोगकर्ताले सोमबार ‘नेपालगन्जमा थेसर मा गौं दाउदै गर्दा मसिन मा पसेर महिला को मृत्यु भएको छ😥’ लेख्दै मान्छे थ्रेसरमा च्यापिएको दृश्य देखिने भिडिओ पोस्ट गरेका थिए । हेर्नुहोस् ओरिजिनल भिडिओ आर्काइभ भिडिओ । यो सामग्री तयार पार्दासम्म सो भिडिओमा दुई लाख ८० हजार बढी भ्युज, ७३३ रियाक्सन, १४१ कमेन्ट र ७५० बढी शेयर भएको छ । 

त्यस्तै कोहलपुर ग्यालरी नामक फेसबुक पेजले ‘थेसर मा गौं दाउदै  गर्दा मसिन मा पसेर महिला को मृत्यु भएको छ’ क्याप्सन राख्दै सोही भिडिओ अपलोड गरेको थियो । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ७५ हजार भ्युज, २०० बढी रियाक्सन, ३४ कमेन्ट र १०९ शेयर आएको छ ।

त्यसका साथै समीत डीसी नामका फेसबुक प्रयोगकर्ताले पनि उक्त भिडिओ र क्याप्सन राखेका थिए । हेर्नुहोस् ओरिजिनल भिडिओ आर्काइभ भिडिओ । सो भिडिओमा एक लाख बढी भ्युज, ७४३ बढी रियाक्सन, ७७ कमेन्ट र १२० शेयर आएको देख्न सकिन्छ ।

फेसबुक सर्चमा ‘नेपालगन्ज’, ‘थेसर’ जस्ता कीवर्ड सर्च गर्दा सयौं भिडिओ देखिन्छन् । भिडिओमा अधिकांशले उही क्याप्सन राखेको देख्न सकिन्छ । 

तथ्यजाँच

‘नेपालगञ्जमा गहुँ दाउँदा थ्रेसरमा परेर महिलाको ज्यान’ गएको दाबी गरिएको भिडिओ सोमबारदेखि नै फेसबुक प्रयोगकर्ताले शेयर गर्न थालेका थिए । झट्ट हेर्दा नेपालको जस्तो दृश्य नदेखेपछि हामीले त्यो भिडिओ नेपालको नहुने अड्कल गर्‍यौं । त्यसका लागि सबैभन्दा पहिले ‘थ्रेसर’, ‘महिलाको ज्यान’ जस्ता कीवर्ड गुगलमा खोज्यौं । कुनै पनि सञ्चार माध्यमले त्यसबारे समाचार लेखेको फेला नपरेपछि हामीले जिल्ला प्रहरी कार्यालय, बाँकेलाई सम्पर्क गर्‍यौं ।

जिप्रका बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक पातलीले त्यस्तो घटना आफ्नो जानकारीमा नभएको बताए । “हामीलाई त्यस्तो जानकारी आएको छैन । भिडिओ मैले पनि हेरें । त्यो ठाउँ नेपालगञ्जको जस्तो देखिंदैन । सम्भवतः भारतको होला,” प्रहरी नायब उपरीक्षक पातलीले भने । 

त्यसपछि हामीले भिडिओ डाउनलोड गरी त्यसका कीफ्रेम निकालेर गुगल, बिङ, यान्डेक्स, टाइनीआई, बाइडु आदीमा रिभर्स इमेजसर्च गरी हेर्यौं । त्यस क्रममा भारतबाट सञ्चालित इन्स्टाग्राम पेजहरूले उक्त भिडिओ राखेको फेला पर्‍यो । न्युज म्याट्रिक्स नामको इन्स्टाग्राम पेजले उक्त भिडिओ राखेको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क आर्काइभ लिङ्क । उक्त पोस्टमा भनिएको छ, “बदरवास एनएड ४६ बाट डरलाग्दो खबर: बोनफिग्लिओली स्क्वालो २००० टनको ठाडो धातु काट्ने मेसिनले एक जना मानिसलाई टुक्राटुक्रा पार्यो। बदरवास | एनएच ४६ | मध्य प्रदेश | अप्रिल ४, २०२५ |”

उक्त पोस्टमा ठाउँको नाम ‘मध्ये प्रदेश बरदरवास’ र घटनाको मिति ‘४ अप्रिल २०२५’ उल्लेख गरेको पाएपछि हामीले त्यस ठाउँमा त्यही मितिको घटना खोज्यौं । त्यस क्रममा ईटीभी भारतको मध्ये प्रदेश ब्युरोले तयार पारेको ‘शिवपुरी में दिल दहला देने वाली घटना, गेहूं काट रहा मजदूर थ्रेशर में समाया, शरीर के हुए सैंकड़ों टुकड़े – SHIVPURI FARMER STUCKS IN THRESHER’ शीर्षकको समचार फेला पर्‍यो । 

उक्त समाचारका अनुसार उक्त मेसिन फलाम काट्ने मेसिन नभई थ्रेसर नै हो । त्यस्तै नेपाली फेसबुक प्रयोगकर्ताले दाबी गरेको जस्तो महिलाको नभई पुरुषको निधन भएको हो । उनी २२ वर्षीय देवेन्द्र केवत हुन् । थ्रेसरमा गहुँ दाउने क्रममा ती युवकको हात थ्रेसरमा पर्‍यो । मेसिन तीव्र गतिमा चलिरहेकाले रोक्न सक्ने अवस्था नभएपछि युवक च्यापिन पुगे र उनको निधन भयो ।

 

ईटीभी भारतले थ्रेसरको फोटो र मान्छे जम्मा भएको दुई ओटा फोटो जोडेर फिचर फोटो राखेको छ । ठाउँ, घटना र सन्दर्भ पुष्टि भए पनि फोटो भिडिओ अरू कुनै होकि भन्ने आशंकाले हामीले भाइरल भएको भिडिओको कीफ्रेम र ईटीभी भारतको फोटोलाई दाँजेर हेर्‍यौं । त्यस क्रममा ट्रक र त्यहाँ देखिएका अधिकांश महिलाको फोटो मिलेको पायौं । त्यसबाट सो घटना त्यहींको भएको पुष्टि भयो । 

दाबी

नेपालगञ्जमा गहुँ दाउने क्रममा थ्रेसरमा परेर महिलाको ज्यान गयो । 

दाबीकर्ता

सुनिल खड्का, कोहलपुर ग्यालरी, समीर डीसी, सन्दिप रिजाल लगायतका फेसबुक प्रयोगकर्ता । 

तथ्य

गहुँ दाउने क्रममा थ्रेसरमा परी एक व्यक्तिको ज्यान गएको घटना नेपालगञ्ज, बाँकेको नभई मध्यप्रदेश भारतको हो । ज्यान गुमाउने महिला नभएर २२ वर्षीय मजदुर पुरुष हुन् । 

निष्कर्ष 

सुनिल खड्का, कोहलपुर ग्यालरी, समीर डीसी, सन्दिप रिजाल लगायतका फेसबुक पेज र प्रयोगकर्ताले दाबी गरेको जस्तो गहुँ दाउने क्रममा थ्रेसरमा परेर एक व्यक्तिले ज्यान गुमाएको घटना नेपालगञ्ज बाँके, नेपालको नभई भारत मध्यप्रदेशको हो । थ्रेसरमा परेर महिलाको ज्यान गएको भन्ने दाबी गरिए पनि ज्यान गुमाउने व्यक्ति २२ वर्षीय पुरुष हुन् । भारतको भिडिओलाई नेपालको भन्दै भ्रम फैलाएको टेकपाना फ्याक्टचेकको निष्कर्ष छ ।

 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: चैत २६, २०८१ १६:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट