काठमाडौं । नेपाली महिला राजनीतिज्ञमाथि लक्षित अनलाइन हिंसाको डरलाग्दो स्वरूप देखा परेको छ । ओपन नेपाल इनिसिएटिभ (ओएनआई) ले सार्वजनिक गरेको प्रतिवेदनले नेपाली महिला राजनीतिज्ञमाथि भइरहेको अनलाइन हिंसा उजागर गरेको हो ।
आइतबार सार्वजनिक गरिएको यस प्रतिवेदनले नेपाली नेतृमाथि हुने अनलाइन हिंसाले कसरी लोकतान्त्रिक सहभागितालाई कमजोर बनाइरहेको छ भन्ने औंल्याएको छ । तीन महिनाको अवधिमा १२ प्रमुख महिला राजनीतिज्ञका सामाजिक सञ्जाल अकाउन्टको अनुगमन गरी यो प्रतिवेदन तयार पारिएको ओएनआईका शोधकर्ता एवम् तथ्यजाँचकर्ता दीपक अधिकारीले बताए ।
अगस्ट २०२४ देखि अक्टोबर २०२४ सम्म अनलाइन हिंसाको घटना उल्लेखनीय रूपमा बढेको देखाएको छ । अगस्टमा २४ घटना, सेप्टेम्बरमा ३५ घटना र अक्टोबरमा ४४ घटना दर्ता भएका थिए । सबै घटनामध्ये औसतमा ६१.७१ प्रतिशतभन्दा बढी अपमानजनक तथा घृणास्पद अभिव्यक्ति रहेका छन् ।
प्रतिवेदनका अनुसार अनलाइन हिंसा महिलाका राजनीतिक अडानमाथि मात्र नभई उनीहरूको लैंगिक पहिचानलाई समेत लक्षित गरी हुने गरेको छ । त्यसैगरी महिला नेतृको फोटो अश्लील फोटोमा जोडेर चरित्रहत्या गर्ने, भौतिक आक्रमणको धम्की दिने, इज्जतमाथि प्रश्न उठाउने र क्षमतामाथि प्रश्न उठाइ अनलाइन दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनले देखाएको छ ।
यसरी महिला नेतृमाथि अनलाइन हिंसा गर्न प्रयोगकर्ताले नक्कली (एनोनिमस) र अर्धनक्कली (सेमिएनोनिमस) अकाउन्ट प्रयोग गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी सामाजिक सञ्जाल एक्स (पहिलेको ट्वीटर) मुख्य रूपमा अनलाइन दुर्व्यवहारको प्राथमिक माध्यम रहेको प्रतिवेदनमा उल्लेख छ । साथै यस्ता कामका लागि फेसबुक पनि उत्तिकै दुरुपयोग भएको देखिएको छ ।
महिला राजनीतिज्ञमध्ये तोषिमा कार्की, सुमना श्रेष्ठ, आरजु राणा देउवा र सुनिता बराल सबैभन्दा धेरै अनलाइन हिंसामा परेका छन् । तोषिमा कार्कीले मात्रै अक्टोबर महिनामा २३ ओटा अपमानजनक घटनाहरूको सामना गरेकी थिइन् । त्यस्तै सुमना श्रेष्ठले सोही अवधिमा १२ र आर्जु राणा देउबाले सामाजिक सञ्जालमा नौ ओटा अपमानजनक घटनाको सामना गरेकी थिइन् ।
ओएनआईले अनलाइन हिंसालाई न्यूनीकरण गर्न साइबर कानुनको प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिएको छ । त्यसैगरी जनचेतनामूलक अभियान चलाउन, कानुनी र मनोवैज्ञानिक सहयोग गर्न तथा सामाजिक सञ्जालका माध्यमलाई जवाफदेहिता बनाउनुपर्ने जनाएको छ ।
त्यसका साथै पार्टीले पनि त्यसमा आन्तरिक रूपमा सहयोग गर्नुपर्ने आवश्यकता देखिएको छ । “नेपालमा यसरी अनलाइन हिंसाको डरलाग्दो स्वरूप देखिनुका पछाडि सामाजिक सञ्जाल जवाफदेही नभएर पनि हो,” अधिकारीले भने, “नेपाली भाषा प्रयोग गरी महिला नेतृहरूलाई दुर्व्यवार गरिएको हुन्छ । सामाजिक सञ्जालको एआईले त्यो दुर्व्यहार हो भन्ने पहिचान गर्न सक्दैन । रिपोर्ट गर्दा पनि त्यसलाई गम्भिर रूपमा लिन खोजेको जस्तो देखिंदैन ।”
ओएनआईका शोधकर्ता दीपक अधिकारीका अनुसार अनलाइन हिंसाले महिला राजनीतिज्ञहरूको व्यक्तिगत जीवन, समानता र लोकतान्त्रिक प्रतिनिधित्वमा नकारात्मक असर पुर्याएको छ । “राजनीतिमा लागेर आफ्ना विचार सामाजिक सञ्चालमा राख्ने नेतृहरू नै अनलाइन हिंसाको सामना गरिरहेको देखिन्छ,” अधिकारीले भने, “यसले गर्दा उहाँहरू जसरी पहिले आफ्ना विचार सामाजिक सञ्जालमा खुलस्त रूपमा राख्नुहुन्थ्यो, त्यसरी राख्न सकिरहनु भएको छैन ।”
नेतृत्व स्तरमै पुगेका राजनीतिज्ञ महिलाहरू माथि गरिएको यस अध्ययनले कानून निर्माण एवम् त्यसको प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने ओएनआईको विश्वास छ । उनले सरकार, सामाजिक सञ्जाल कम्पनी र नागरिक समाजलाई अनलाइन प्लेटफर्म सुरक्षित बनाउन आह्वान गरे । पूरा प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नु होस् ।
पछिल्लो अध्यावधिक: पुस १, २०८१ १४:४९
समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्