कुचो लाउँदै छिन बहिनी
गोठमा भकारो सोर्दैछ छोरो
आपाले हलगोरु घँसाइसकें
दुई कठुवा जाँड छानेर आमाले
राखिसकिन सुर्क्याउने झोलामा
आज गैरी खेत जोत्नु छ
डाँडाबाट आयो आवाज
बज्यो ठूलो कर्नाल
आज जिम्वाल बाको रोपाइँ छ
सबै गाउलेहरू बेठीमा आउनु रे
करायो कटुवाल
आपाले भने
–मरेस बजिया !
– लाठे छु म
बा म जान्छु जिम्मावालको बेठीमा
– नकरा, पत्याउँदैनन् तँलाई
टेरेन भन्छन्
हप्काउँछन् आपाले
– हुन्देऊ हौ आपा जावस् ठूले
आमाले दिन्छिन् सल्लाह
– कति लपेटिनु जिम्मावालको खेतमा ।
– रोपाहार त म जान्छु नि
बोल्छिन् बहिनी
– नजा छोरी सक्दिनस्
भन्छिन् आमा
उपद्रो गर्नेहरुले बिटुलाउन सक्छन्
तिम्रो त्यो शरीर
लडाउने छन् हिलोमा
रमाइलो मान्ने छ जिम्मावाल
तेरो शरीर हेरेर
लोभिनेछ उसको पापी मन ।
आखिर
आपाआमा जिम्मावालको खेतमा
छोराछोरी घरमा
सुतिखेती आफ्नै
उहीँ सुसे धन्दामा
जिम्मावलको खेत
हलगोरुसँगै झरेको आपा
खेतको गरामा
फर्किन सकेन गोरु
आमा चिच्याइन्–
आपौ, के भयो नि यस्तो
जम्मा भए सबै बाउसे र रोपाहार
अग्लो कान्लामुनि
हिलोमा डुबेको छ आपा
सक्दैनन् बोल्न
चिम्म छ आँखा
घाँटीसम्म भित्रै छिरेछ हिलो
रोइरहेछिन आमा
सबै जना भएका छन् स्तब्ध
कराउँछ जिम्मावल
बजियाले अपशकुन पार्यो
निकालेर लैजाऊ
खोल्सीमा पुरेर आऊ
आज सक्नु छ रोपाइँ
चुपचाप छन् गाउँले
उठाउदैनन आपाको शरीर
बिस्तारै फुकाउँछन् हलगोरु
थुन्छन कुलोको मुहान
छेकेर जान्छन् जिम्मावालको बाटो
मिलाउँछन् आपाको शरीर
बोकेर हिँड्छन् आपाकै घर
राखेर आपाको शरीर
आमालाई राखेर साँची
–नरोऊ छोराछारी हो,
भनेर सबैले एकैस्वरमा
अबदेखि हामी जिम्मावालको बेठीमा जाँदैनौँ
मान्छेजस्तो नभएको जिम्मावाल मुर्दावाद !
श्रोत: नागरिक