२०८२ माघ २३ बिहीबार
२०८२ माघ २३ बिहीबार

साइप्रसमा उपचारका क्रममा निधन भएकी नेपाली महिला मन्दिरा कुमारी विश्वकर्माको शव नेपाल पठाउने प्रक्रिया अन्ततः अघि बढ्ने भएको छ। नेपाली वाणिज्यदूतावास निकोसियाको सक्रियता र निरन्तर पहलपछि बीमा कम्पनीले दाबी स्वीकार गरेसँगै प्रक्रिया पुनः सुरु भएको हो।

नेपाली वाणिज्यदूतावासले दिएको जानकारी अनुसार मन्दिराको शव अब फेब्रुअरी ९ तारिख दिउँसो १२ बजे लार्नाकाबाट कतार एयरवेजको उडानमार्फत पठाइनेछ। उक्त उडान दोहा हुँदै फेब्रुअरी १० तारिख साँझ ४:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।

यसअघि मन्दिराको मेडिकल रिपोर्टमा ‘मुटु रोगी’ उल्लेख भएको कारण देखाउँदै बीमा कम्पनीले उपचार तथा शव व्यवस्थापन खर्चको दाबी अस्वीकार गरेको थियो। बीमा दाबी अस्वीकार भएपछि शव व्यवस्थापन गर्ने फ्युनरल हाउसले पनि अन्तिम समयमा आएर शव पठाउने सम्पूर्ण प्रक्रिया रोकिदिएको थियो।

यो विषय बाहिर आएपछि एनआरएन साइप्रस लगायत विभिन्न नेपाली संघसंस्थाले नेपाली वाणिज्यदूतावासलाई तत्काल पहल गर्न आग्रह गरेका थिए। संघसंस्थाहरूको आग्रहपछि वाणिज्यदूतावासले पनि विषयलाई गम्भीर रूपमा लिएर सक्रियता बढाएको थियो।

यसपछि नेपाली वाणिज्यदूतावासका प्रमुख रामजीवन पञ्जियारले बीमा कम्पनीसँग निरन्तर संवाद र समन्वय गर्दै समस्या समाधानका लागि पहल गरेका थिए। उनले मानवीय पक्षलाई ध्यानमा राख्दै दाबी प्रक्रिया सहज बनाउन आग्रह गरेका थिए।

साइप्रसनेपाल डट कम संग को संवादमा वाणिज्यदुत डा.  पञ्जियारले बीमा कम्पनीसँगको छलफलमा, यदि समस्या समाधानमा ढिलाइ भयो भने यसले भविष्यमा नेपाली नागरिकहरूको बीमाप्रति विश्वासमा असर पर्न सक्ने विषय समेत उठाएका थिए। त्यसपछि कम्पनीले पनि सो विषयलाई गम्भीरतापूर्वक लिँदै पुनः समीक्षा गरेको बताइएको छ।

बीमा कम्पनीले सुरुमा बीमा पोलिसी दोस्रो महिनाबाट मात्र लागू हुने भन्दै दाबी दिन कठिनाइ हुने जनाएको थियो। तर दूतावास र विभिन्न पक्षको समन्वयपछि कम्पनीले अन्ततः दाबी स्वीकार गरेको हो।

शव पठाउने प्रक्रिया रोकिँदा परिवारले ठूलो मानसिक पीडा भोग्नुपरेको थियो। नेपालमा मन्दिराको अन्तिम संस्कारका लागि परिवारजन र आफन्तहरू पहिले नै जम्मा भइसकेका थिए। तर अन्तिम समयमा प्रक्रिया रोकिँदा अन्त्येष्टि स्थगित हुँदा परिवार थप तनावमा परेको थियो।

एकातिर प्रियजन गुमाएको दुःख, अर्कोतिर अनिश्चितताले परिवार मानसिक र आर्थिक रूपमा प्रभावित बनेको थियो।

लामो समयपछि प्रक्रिया अघि बढेपछि परिवारले केही राहत महसुस गरेको छ। परिवारले नेपाली वाणिज्यदूतावास, एनआरएन साइप्रस, संघसंस्था तथा सहयोगी व्यक्तिहरूप्रति आभार व्यक्त गरेको छ।

यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको बीमा प्रणाली र आपतकालीन व्यवस्थापनमा अझै सुधार आवश्यक रहेको तथ्य पुनः उजागर गरेको छ। यस्ता संवेदनशील विषयमा सम्बन्धित निकाय, दूतावास र समुदायको समन्वय महत्त्वपूर्ण हुने देखिएको छ।

यो पनि पढ्नुहोस् :  किन रोकिएको थियो मन्दिरा विश्वकर्माको शव नेपाल पठाउने प्रक्रिया

 

यसै  संग सम्बन्धित  : लिमासोल अस्पतालको ICU मा उपचाररत नेपाली घरेलु कामदारको मृत्यु

 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट