
काठमाडौँ – एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपाल को अध्यक्षमा सम्भु श्रेष्ठ चयन भएका छन्।

आइतबार काठमाडौँमा भएको दोस्रो राष्ट्रिय भेलाले रिक्त रहेको अध्यक्ष पदमा पुराना पत्रकार श्रेष्ठलाई चयन गरेको हो त्यस्तैगरी संगठनको महासचिवमा रोहित दाहाल निर्वाचित भएको सचिव कान्ति न्यौपानेले जानकारी दिइन्।
संगठनको कोषाध्यक्षमा भरतराज पोखरेललाई चयन गरिएको छ। यसअघिका अध्यक्ष विश्वमणि सुवेदी सहितका केही नेताहरूले संगठन छाडेपछि समाजवादी प्रेस संगठनले आइतबार दोस्रो राष्ट्रिय भेला आह्वान गरेर नयाँ नेतृत्व चयन गरेको हो।
श्रेष्ठ एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको संस्थापक समेत हुन् २०५५ सालमा उनकै नेतृत्वमा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपाल निर्माण भएको थियो।
काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका कदमको विरोध गरेका छन्।
केसीले ट्रम्प प्रशासनले लिएका कदमहरूको विरोधमा फागुन ६ गते नेपालस्थित अमेरिकी दूतावासनजिक प्रदर्शन गर्ने भएका छन्।
केसीले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै अमेरिकी दूतावासनजिक शान्तिपूर्ण प्रदर्शनी र दूतावासमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाएका छन्।
‘संयुक्त राज्य अमेरिकाको डोनाल्ड ट्रम्पको प्रशासनले हालै लिएका कदमहरूले नेपाललगायत संसारका विभिन्न देश तथा त्यसका नागरिकहरूलाई जलवायु परिवर्तन, जन स्वास्थ्य, शिक्षा र जीविकोपार्जनजस्ता क्षेत्रमा नकारात्मक असर पारेको छ भने पश्चिम एसियाको गाजा पट्टीका प्यालेस्टाइनीहरूको जातीय सफाया गर्ने खालका प्रस्तावले त्यहाँको भू-राजनीति अस्थिर बनेको छ र अन्तर्राष्ट्रिय मानवीय कानुनको पनि खिल्ली उडाएको छ,’ केसीको विज्ञप्तिमा भनिएको छ।
केसीले अनाहकमा रुसले छेडेको युद्ध व्यहोरिरहेको युक्रेनले पाइरहेको अमेरिकी सहयोगको अनिश्चितताले युक्रेनकलगायत अन्य छिमेकी राष्ट्रहरुको पनि अस्तित्व खतरामा परेको जनाएका छन्।
‘यस परिस्थितिमा ती निर्णयहरूमाथि पुनर्विचारको लागि ट्रम्प प्रशाशन तथा अमेरिकी नागरिकहरूलाई अनुरोध गर्न यही फागुन ६ गते (मार्च १८ तारिख) अपराह्न ३:३० बजे अमेरिकी दूतावासनजिक (नारायण गोपाल चोक आसपास) स्थानीय प्रशासनले तोकेको स्थानमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनी तथा दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा भाग लिन सबैलाई अनुरोध गरिन्छ,’ केसीले विज्ञप्तिमा भनेका छन्।
श्रोत: www.dcnepal.com
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले डोटीको बानीडुग्रीसैनको पुलको काम तत्काल सुरु गराउन माग गरेका छन्।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद आले डोटीको शिखर नगरपालिका बानीडुग्रीसैन–सातनाली जोड्नका लागि सेती नदीमा निर्माण गरिने उक्त पुलको दश बर्ष अगाडि ठेक्का लगाइए पनि हालसम्म निर्माण हुन नसकेकाले उक्त पुलको निर्माणको काम चाँडो सुरु गराउन सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यान आकर्षण गराए।
उनले भने, “पुल निर्माणको करिब दश वर्ष पहिले ठेक्का लागेको छ। अहिले सम्म जम्मा २५ प्रतिसत मात्रै काम भएको छ। ठेकेदारले काम गर्दैन। उक्त पुलको चाँडो निर्माणको काम सुरु गराउन म ध्यानाकर्षण गराउँछु।”
यसैगरी सांसद आलेले उक्त पुल निर्माणका लागि रु ८० लाख बजेट विनियोजन भइसकेको भए पनि ठेकेदारले काममा सक्रियता नदेखाउँदा पुलको काम अलपत्र परेको बताए। स्थानीयवासी लामो समयदेखि पुलको प्रतिक्षामा रहेपनि निर्माणको गति सुस्त देखिएको उनको भनाइ छ।
ठेकेदारको लापरबाहीले लामो समयदेखि पुल अलपत्र परेको भन्दै छिटोछरितो रुपमा निर्माण कार्य अघि बढाउन समेत सांसद आलेले जोड दिए।
रौतहट । डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ। शेखलगायत नेताले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिबार गरेको हतियार प्रदर्शनबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरू गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढेलगत्तै छानबिन प्रक्रिया सुरू गरेको बताएका छन्।
जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइवटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ भइरहेको उनले बताए। छानबिनको क्रममा हतियार सरकारबाट इजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवै जना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमसैदको जिम्मा लगाएर पठाएको छु, आइन्दा सिडिओसाबको निर्देशन अनुसार हुने छ,’ उनले भने।
उता सिडिओ हिरालाल रेग्मीले प्रहरीले सुरू गरेको अनुसन्धान पूरा भएपछि उचित सुझाव दिने बताएका छन्।
उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँस्थित जमसैदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए। सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खानसँगै जमसैद सोफामा बसेका थिए। उनकै घरको प्राङ्गणमा नेताहरू घुमिरहँदा दुवै जना मानिस हतियार बोकेर सँगसँगै हिँडेका थिए।
जनमत इञ्चार्ज जमसैदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडीबाट शनिबार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना सुरू भएपछि जमसैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए।
सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कारबाही हुने र सत्ता पक्षका नेताले त्यही गर्दा कारबाही हुने कि नहुने? भन्दै उक्त क्रियाकलापबारे विरोध भएको थियो।
श्रोत: www.dcnepal.com
काठमाडौँ- पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् ।

अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरूलाई अनवरत मेहनतका गरेकामा धन्यवाद ज्ञापन गरेका छन्।
गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का छात्रा र १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप लगाइएको हो ।
मन्त्री पौडेलको सचिवालयका अनुसार अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप लगाउने लक्ष्य छ । मुलुकमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरूको सङ्ख्या उच्च छ ।
सानै उमेरमा खोप प्रदान गरेर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रम सरकारले कार्यानवयन गरिरहेको छ ।
काठमाडौं। सरकारले जारी गरेका ६ वटा अध्यादेश अझै एक साता संसदमा पेस नगरिने भएको छ। फागुन ६ गते संघीय संसद्का दुवै सदनमा अध्यादेश पेस गर्ने सरकारको तयारी थियो।
तर सांसदहरू राजधानी बाहिर भएकाले फागुन ११ गतेसम्म अध्यादेश संसदमा पेस नगरिने भएको हो। सत्ता पक्षले भूमिसम्बन्धी अध्यादेशबाहेक पाँचवटा अध्यादेश संसदबाट पारित गर्ने तयारी गरेको छ।
सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ। आइतबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए। एमालेका प्रमुख सचेतकसमेत रहेका बर्तौलाले विगतका चारवटा अधिवेशनमा पास भएकोभन्दा बढी विधेयक यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नुपर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरुले जोड दिएको बताए। विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई चालू अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको उनको भनाइ छ।
‘संसदमा कतिपय विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भयो। संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरु भए। आगामी कुन बैठकमा यसलाई कार्यसूचीमा लैजान सकिन्छ, त्यो विषयमा पनि छलफल गरेका छौँ। यो हाउसमा विचाराधीन भएका कैयौँ महत्वपूर्ण विधेयकहरु छन्। बाहिर सार्वजनिक टिप्पणीहरु र बहसका विषय पनि छन् । अहिलेको अधिवेशन विधेयक अधिवेशन हो,’ उनले भने।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्ता पक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकहरु छिटो पारित गरी कानुनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको बताए।
उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै अब तीव्रता दिने निर्णय भएको बताए । चालू अधिवेशनबाटै विद्यालय शिक्षा विधेयक र निजामती कर्मचारी विधेयकलाई पारित गर्नेगरी अघि बढ्ने निस्कर्षमा आफूहरु पुगेको जानकारी दिए।
ताप्लेजुङ- गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए ।
तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।
यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।
ढोरपाटन (बागलुङ)- काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्न मौरीपालन तालिमसहित घार उपलब्ध गराएको छ । घरको काममा मात्र सीमित महिलालाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले तालिमसहित घार उपलब्ध गराएको हो ।

काठेखोला गाउँपालिका–४ तङ्ग्राममा तीनदिने मौरीपालनसम्बन्धी तालिम दिएपछि महिला पनि उत्साहित भएका छन् । गाउँका २० महिलालाई उद्यमी बनाउने गरी मौरीघार उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।
देश समृद्ध बनाउन भौतिक र पूर्वाधारको मात्र विकास गरेर नहुने भन्दै उनले समावेशी विकासको आवश्यकता भएको बताए। नागरिकलाई सीपयुक्त तालिम दिई दक्ष र आत्मनिर्भर बनाउन आफूहरू लागिरहेको अध्यक्ष थापाको भनाइ छ ।
गाउँमा थुप्रै सम्भावना रहेको तर सीप र दक्षता नहुँदा नागरिकलाई उत्पादनसँग जोड्न नसक्दा पछाडि परेको उनले बताए। अध्यक्ष थापाले भने, “अहिले धेरै जनाको रोजाइ सहरबजार छ, गाउँमा धेरै सम्भावना रहे पनि सीप नहुँदा धेरै नागरिकलाई आयआर्जनसँग जोड्न सकेका छैनौँ, काठेखोलाले अहिले पालिकाभर के–केको सम्भावना छ, खोजी गर्ने र त्यसमा आमजनतालाई दक्ष गराउने तथा उत्पादनमा लाग्ने योजना बनाएर अगाडि बढेका छौँ, अहिले मौरीपालनका लागि केही थान घार र मौरी पाल्ने तालिम दियौँ ।”
पालिकाको गत वर्ष विभिन्न वडामा खाना पकाउने तालिम, मकैको भुत्लाबाट हस्तकलाका सामग्री बनाउने र चप्पल बनाउने तालिम दिएको थियो ।
यस वर्ष महिला लक्षित कार्यक्रमअन्तर्गत महिलाको सीप विकासका लागि वडा नं १ र ६ मा मादल बजाउने र हार्मोनियम बजाउनेसम्बन्धी तालिम दिएको स्थानीय महिला समन्वय समिति संयोजक सुन्तली विश्वकर्माले जानकारी दिइन् ।
काठमाडौँ –स्वयम्भूस्थित आनन्दकुटी विहारमा आज भिक्षुसङ्घलाई सामूहिक सङ्घदान गरिएको छ। उदाय् समाजको संयाजकत्वमा भएको कार्यक्रममा तीन सय ५० जना भिक्षु, भिक्षुणी तथा अनगारिकाहरुलाई सामूहिक दान गरिएको थियो। समाजद्वारा आयोजित यो चौथो सङ्घदान हो। यसपटकको सङ्घदानमा समाजमा आबद्ध नरहेका व्यक्ति तथा संस्थालाई पनि दान दिइएको थियो।
सङ्घदान अघि आनन्दकुटी विहारका प्रमुखभिक्षु धर्ममूर्ति महास्थवीरले बुद्धधर्ममा दानको महिमाबारे प्रवचन दिँदै श्रद्धापूर्वक गरिएको दानले आशा नगरेकै भए पनि दातालाई पुण्य प्राप्त हुने बताए।