२०८२ श्रावण २२ बुधबार
LATEST NEWS
२०८२ श्रावण २२ बुधबार

काठमाडौँ । नेपालमा गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न छ चिनियाँ नागरिक सहित ५२ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई १७ असारमा काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २९ वर्षीय झाङ लुन, २७ वर्षीय चेन जिहाओ, ४१ वर्षीय लिन दे, ३२ वर्षीय सु झेङ, ३० वर्षीय लिउ जेसुहान र ३३ वर्षीय सु लिङहु सहित अन्य नेपाली रहेका छन् । 

प्रहरीका अनुसार उनीहरूले ललितपुर महानगरपालिका वडा नं.४ दमकल चोकमा रहेको एक घर भाडामा लिई सोसल सफ्टवेयर डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरी गैरकानुनी रुपमा कल सेन्टर तथा मि टु ‘Me Too’ नामक डेटिङ एप सञ्चालन गरिरहेका थिए । यस्तै काठमाडौँको चागलमा एक घर भाडामा लिई शाखाका रूपमा कम्पनी सञ्चालन भइरहेको थियो ।  

उनीहरूले नेपाली युवतीहरूलाई विभिन्न प्रलोभन देखाइ आफ्नो डेटिङ एपमार्फत अनलाइन डेटिङ स्क्याम गर्न लगाउने गरेको पाइएको छ । साथै उनीहरूले किप्टो कारोबार पनि गरिरहेको प्रहरीले जनाएको छ । ब्युरोका अनुसार निजहरूको साथबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ, सात ल्यापटप र ५४ ओटा मोबाइल बरामद गरेको छ ।

उनीहरूलाई अभौतिक मुद्रा सम्बन्धी मुद्दा दर्ता गरी बाँकी ४६ जना उपर थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।  

पछिल्लो अध्यावधिक: असार १८, २०८२ १७:४८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– सामान्य प्रशासन मन्त्रालयका सहसचिव मिरा आचार्यले निजामती विधेयकमा कुलिङ पिरियडमा राखिएको व्यवस्थाबारे आफूहरूसँग छलफल नै नभएको बताएकी छन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सहसचिव आचार्यले भनिन्– ‘समितिको सचिवालयले पेस गरेको प्रतिवेदन हामीले फाइनल गरेको होइन। उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदै गर्दा ८२ को ४ मा थप्ने सवालमा बाधा मानिने छैन भन्नेमा हटाउने विषयबारे छलफल भएकै छैन।’

निर्णय भएको विषय उपदफा ४ हेरे पनि अवकाश भएको विषयमा राजीनामा दिने विषय पहिला नआएको आचार्यले बताइन्। त्यसपछि आफू बाहिर गएकाले विस्तृत थाहा नपाएको भन्दै उनले प्रतिवेदन अध्ययनका लागि माग्दा समेत नदिइएको बताइन्। यस्तो अवस्थामा सङ्घीय मामिला मन्त्रालय कसरी संलग्न भयो ? भन्दै प्रश्न गरिन्। 

कानुन मन्त्रालयका सहसचिव सुवास भट्टराईले अन्तिम प्रतिवेदन तयार गर्दा आफू सहभागी नभएको बताए।  ‘अन्तिम समयमा हामीलाई दफावार छलफलका लागि निमन्त्रणा पनि भएन’, भट्टराईले भने, ‘उपदफा ५ मा भएका व्यवस्था झिकिएको वा थपेको होइन।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । रातको समय होस् वा दिन, चौबिसै घण्टा खानाको डेलिभरी दिने अनलाइन प्लेटफर्म सञ्चालनमा आएको छ । जुनसुकै समयमा खाना तथा ताजा सागपात-तरकारी,  किराना सामग्रीको डेलिभरी दिनेगरी सिटी ९७७ (Citi977) नामक प्लेटफर्म सुरु भएको हो । 

विशेषगरी आफ्नो व्यस्त दैनिकी, पेसागत जिम्मेवारी वा व्यक्तिगत कारणले रातको समयमा पनि खाना बनाउन नभ्याउनेहरूका लागि यो निकै उपयोगी माध्यम हुनसक्छ । काठमाडौँमा हालै क्लाउड किचेनको रूपमा सुरु भएको सीटी ९७७ ले तपाईँलाई २४/७ अर्थात् सातै दिन २४ सै घण्टा सुविधा दिने बाचा गरेको छ । 

स्वादिष्ठ एवम् ताजा खाना, रेस्टुरेन्टका परिकार, पेय पदार्थ आदिको डेलिभरी दिने कम्पनीले रातको समयमा खाना अर्डर गर्ने ग्राहकलाई १० प्रतिशत छुट समेत उपलब्ध गराइरहेको छ । सुरुवाती ५० रेस्टुरेन्टलाई शून्य प्रतिशत कमिसनमा आफ्नो प्लेटफर्ममा सूचीकृत हुने अवसर समेत सिटी ९७७ ले उपलब्ध गराइरहेको छ ।

यति मात्र नभई सिटी ९७७ आफैँ राइड हेलिङ अर्थात् राइड शेयरिङ सेवा प्रदायक समेत हो । यसको एपमार्फत राइड शेयरिङ लिन र राइडरको रूपमा आबद्ध हुन पनि सकिन्छ । कम्पनीले यसलाई सुपर एपको रूपमा ब्रान्डिङ गरिरहेको छ । 

प्लम्बिङ, इलेक्ट्रिसियन, घर पेन्टिङ, पार्केटिङ, फल्स सिलिङ र सरसफाइ सहितको होम रेनोभेसन सुविधा सुरु गरिसकेको कम्पनीले निकट भविष्यमा सिटी ट्राभल र सिटी फिट जस्ता नयाँ फिचर समेत ल्याउने योजना बनाएको छ । सिटी ९७७ को एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अनि आईओएस अर्थात् आईफोनका लागि यहाँ क्लिक गरेर यो एपमा जोडिन सक्नु हुनेछ । 

पछिल्लो अध्यावधिक: असार १८, २०८२ १५:१०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन्।  

बुधबार राष्ट्रियसभा बैठकमा आफ्नो मन्त्रालयमाथिको बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै पौडेलले बजेट तजबिज ढंगले नभइ प्रणाली अन्तर्गत निर्माण भएको बताएका हुन्।

उनले बजेट कर्मकाण्डीका रुपमा नभइ तथ्यपरक रुपमा आएको र संसदले पारित गरेपछि कार्यान्वयनमा जाने बताए। 

 अर्थमन्त्री पौडेलले ऋणको दायरा असिमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पूँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताएका छन्।  

करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आवद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ। अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको भन्दै सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरुको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। 

अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रकृयामा सांसदहरुले दिएका सुझावहरुलाई पनि ख्याल गरिएको बताएका छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं– नेपाल डेन्टल एसोसिएसनले काठमाडौंको कलंकी–रविभवन क्षेत्रस्थित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्त चिकित्सा सेवा प्रदान गरिरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

एसोसिएसनले नेपाल ब्युटी पार्लर संघलाई पत्र लेख्दै यस्ता अनैतिक र स्वास्थ्य जोखिमयुक्त गतिविधि तत्काल रोक्न माग गरेको छ। एसोसियसनका महासचिव डा प्रदिप भन्डारीद्वारा हस्ताक्षरित पत्रमा उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा लगाउने कार्यको भिडियो टिकटकमा राखेको र यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख छ।

नेपालको प्रचलित कानुनअनुसार दन्त चिकित्सा सम्बन्धी कार्य नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउने व्यवस्था छ। तर, गैर–लाइसेन्स प्राप्त व्यक्तिबाट यस्ता सेवा प्रदान गर्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम निम्तिन सक्ने एसोसिएसनको ठहर छ।

पत्रमा यस्ता गतिविधिले ब्युटी पार्लर व्यवसायको साखमाथि समेत प्रश्न उठेको भन्दै तत्काल रोक्न र यस्ता कार्य दोहोरिन नदिन नेपाल ब्युटी पार्लर संघलाई कडा कदम चाल्न आग्रह गरिएको छ।

एसोसियसनले चेतावनी दिँदै आवश्यक कदम नचालिए कानुनी कारबाही अगाडि बढाउने बताएको छ।

‘यस्ता गैरकानुनी कार्यले जनस्वास्थ्यमा जोखिम त बढाउँछ नै, पेशागत मर्यादामाथि पनि आघात पुग्छ,’ डा भन्डारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ।

एसोसिएसनले ब्युटी पार्लर संघले यस विषयमा गम्भीर भएर तत्काल कारबाही गर्ने विश्वास व्यक्त गरेको छ। ब्युटी पार्लर संघले भने यो विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । च्याजटजीपीटी जस्ता एआई च्याटबटहरू प्रयोग बढ्दै जाँदा यस क्रममा हुन सक्ने जोखिम र अपनाउनु पर्ने सावधानीको समेत चर्चा हुन थालेको छ । च्याटजीपीटी धेरै कुरामा उपयोगी भए पनि केही विशेष अवस्थाहरूमा यसको प्रयोग ‘एकदमै जोखिमपूर्ण’ हुन सक्छ ।

यो च्याटबटले कहिलेकाहीँ गलत जानकारीलाई तथ्यको रूपमा प्रस्तुत गर्न सक्छ, जानकारी अद्यावधिक नहुन सक्छ र गलत कुरालाई पनि यसले अत्यन्तै विश्वस्त लाग्ने गरी प्रस्तुत गर्न सक्छ । कर, मेडिकल बिल, अदालतका मिति वा बैँक ब्यालेन्स जस्ता विषयहरूमा एआई प्रयोग गर्दा यसका कमजोरीहरू तपाईँलाई थप महँगो पर्न सक्छन् ।

यस्तोमा च्याटजीपीटी प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी बारे सीनेटले तयार पारेका केही सुझावहरू यहाँ उल्लेख गरिएका छन् ।

१. स्वास्थ्य समस्याहरूको निदान

च्याटजीपीटीलाई आफ्नो लक्षण बताउनु अत्यन्त खतरनाक हुन सक्छ । यसले क्यान्सर जस्ता गम्भीर रोगको सम्भावना देखाउन सक्छ, जबकि वास्तविक अवस्था सामान्य हुन सक्छ । एआईले भौतिक परीक्षण गर्न वा प्रयोगशाला परीक्षणको आदेश दिन सक्दैन । न त यसले दिएको कुनै त्रुटिपूर्ण जवाफका कारण हानी ब्यहोर्नुपरे त्यसको क्षतिपूर्ति नै मिल्छ । बरु, यसलाई डाक्टरका लागि प्रश्नहरू तयार गर्न वा चिकित्सा शब्दावली बुझ्ने कार्यमा प्रयोग गर्न सकिन्छ ।

२. मानसिक स्वास्थ्य व्यवस्थापन

च्याटजीपीटीले अत्यधिक भावनात्मक अवस्था वा आघातपूर्ण सम्झनालाई व्यवस्थापन गर्न सल्लाह दिन सक्छ । तर यसमा वास्तविक मानवीय सहानुभूति, व्यक्तिगत अनुभव वा शारीरिक हाउभाउ बुझ्ने क्षमताको अभाव हुन्छ । यसको सल्लाहको पछि लाग्दा गम्भीर लक्ष्यणलाई बेवास्ता गर्न सक्छ वा प्रशिक्षणका दौरान प्रयोग गरिएका डेटामा निहित पूर्वाग्रह राख्न सक्छ । त्यसैले गहन र व्यक्तिगत कामका लागि तालिमप्राप्त मानव चिकित्सककै सहारा लिनु पर्ने हुन्छ ।

३. तत्काल अपनाउनुपर्ने सुरक्षा सावधानी

कार्बन-मोनोक्साइड अलार्म बजेको वा ग्यास लिक भएको जस्ता आपत्कालीन अवस्थामा च्याटजीपीटीलाई सोध्नुको सट्टा तुरुन्तै बाहिर निस्केर आपत्कालीन सेवाहरूमा फोन गर्नु बुद्धिमानी हुन्छ । एआईले ग्यास सुँघ्न वा धुवाँ पत्ता लगाउन सक्दैन, न त यसले आपत्कालीन टोली पठाउन सक्छ ।

४. व्यक्तिगत आर्थिक वा कर योजना

च्याटजीपीटीले आधारभूत वित्तीय अवधारणाहरू बुझाउन मद्दत गर्न सक्छ, तर यसलाई व्यक्तिगत ऋण, आय, करको दर, वा दीर्घकालीन लक्ष्यहरू बारे थाहा हुँदैन । यसको प्रशिक्षणमा प्रयोग गरिएका डेटा वर्तमान समयका लागि अद्यावधिक नहुन सक्छ, जसले गर्दा यसको मार्गदर्शन बासी हुन सक्छ । एआई च्याटबटमा शेयर गरिएको कुनै पनि जानकारी (आय, सामाजिक सुरक्षा नम्बर, बैँक विवरण) यसको प्रशिक्षण डेटाको हिस्सा बन्न सक्छ, जसले गोपनीयताको जोखिम पनि बढाउँछ ।

५. गोप्य वा नियन्त्रित डेटाको प्रयोग

नन्-डिस्क्लोचर एग्रिमेन्ट (एनडीए) अर्थात् गोप्य सम्झौताहरू, ग्राहक सम्झौता, वा गोपनीयता सम्बन्धी कानुनले संरक्षण गरेका कुनै पनि जानकारी च्याटजीपीटीमा हाल्नु हुँदैन । एक पटक संवेदनशील जानकारी च्याटबटको प्रम्प्ट विन्डोमा गएपछि, त्यसलाई कहाँ भण्डारण गरिन्छ, कसले रिभ्यु गर्न सक्छ वा भविष्यका मोडेलहरूलाई तालिम दिन प्रयोग गर्छ कि गर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।

६. कुनै पनि अवैध कार्य

च्याटजीपीटीलाई कुनै पनि अवैध गतिविधिहरूका लागि प्रयोग गर्नु हुँदैन ।

७. विद्यालयको गृहकार्यमा चिटिङ गर्न

च्याटजीपीटीलाई होमवर्क अर्थात् गृहकार्यमा ‘घोस्टराइटर’ को रूपमा प्रयोग गर्दा ‘टर्नइटइन’ (Turnitin) जस्ता एआई पत्ता लगाउने टुलहरूले यसलाई सजिलै पत्ता लगाउन सक्छन् । यसले निलम्बन, निष्कासन वा लाइसेन्स रद्द हुने जस्ता जोखिम निम्त्याउन सक्छ । बरु, यसलाई अध्ययन सहायकको रूपमा प्रयोग गर्दा राम्रो हुन्छ ।

८. अद्यावधिक जानकारी र ब्रेकिङ न्युज

च्याटजीपीटी सर्चले वेबपेज, शेयरको मूल्य, ग्यासको मूल्य, खेलकुदको स्कोर जस्ता वास्तविक-समयको जानकारी प्राप्त गर्न सक्ने भए पनि यसले निरन्तरका अपडेट दिँदैन । प्रत्येक अपडेटका लागि नयाँ प्रम्प्ट आवश्यक पर्छ । त्यसैले द्रुत जानकारीको लागि लाइभ डेटा फिड, आधिकारिक प्रेस विज्ञप्ति, अनलाइन न्युज पोर्टल र लाइभ स्ट्रिमिङ कभरेज अझ उत्तम विकल्प अपनाउनु होस् ।

९. जुवा खेल्न

च्याटजीपीटीले खेलाडीको विवरण, घाइते भएको विषयमा दिइएका चलत रिपोर्ट र जित-हारको रेकर्डको बारेमा गलत जानकारी प्रदान गरेको पाइएको छ । यसले भोलिको खेलको परिणाम थाहा पाउन सक्ने कुरै हुँदैन । त्यसैले यसमा मात्र भर परेर जुवा खेल्नु हुँदैन ।

१०. इच्छापत्र वा अन्य कानुनी रूपमा बाध्यकारी सम्झौताहरू तयार पार्न

च्याटजीपीटीले आधारभूत कानुनी अवधारणाहरू बुझाउन मद्दत गर्न सक्छ, तर वास्तविक कानुनी कागजातहरू तयार पार्न यसको प्रयोग गर्दा जोखिमपूर्ण हुन सक्छ । राज्य वा देशअनुसार फरक पर्ने नियमहरूका कारण यसले आवश्यक साक्षीको हस्ताक्षर वा नोटरी सम्बन्धी क्लज छुटाउन सक्छ । जसले गर्दा पूरै कागजात खारेज हुन सक्छ । कानुनी कामको लागि सधैँ वकीलसँग परामर्श गर्नु नै उत्तम हुन्छ ।

११. कला सिर्जना गर्न

च्याटबटलाई ब्रेनस्ट्रमिङ वा हेडलाइनमा सहयोगका लागि प्रयोग गर्न सकिन्छ । यसलाई कुनै चिजको प्रतिस्थापन भन्दा पनि पूरकको रूपमा उपयोग गर्न सकिन्छ ।

कला वा सिर्जनाका लागि च्याटजीपीटी प्रयोग गर्ने वा नगर्ने व्यक्तिगत विचार हुन सक्छ । तर त्यसलाई प्रयोग गरेर सिर्जना गरिएको कलालाई आफ्नै कृति भनेर प्रस्तुत गर्नु नैतिक कार्य होइन । 

पछिल्लो अध्यावधिक: असार १८, २०८२ १५:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कुलिङ पिरियड विवादमा उच्चस्तरीय छानविन समिति बनाउन प्रतिनिभि सभाका सभामुख देवराज घिमिरेसँग माग गरेको छ। 

बुधबार बसेको समितिको बैठकले २ बुँदे निर्णय गर्दै यस्तो माग गरेको हो।

साथै, वैठकले विधेयकमा भएको त्रुटिलाई सच्याउनका लागि राष्ट्रिय सभालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

बैठकपछि निर्णय सार्वजनिक गर्दै सभापति रामहरि खतिवडाले विधेयकको उपदफा (४) लाई निष्क्रिय गराउने गरी सोही विधेयको उपदफा (४) पछि उपदफा क्रम मिलाउँदा कायम हुने उपदफा (५) राख्नु नपर्ने विधेयकको व्यवस्थालाई यथावत राखेको कारण यो विधेयक समितिको प्रतिवेदनको उपदफा (४) ले गरेको व्यवस्था र भावनालाई कुठाराघात हुने गरी उपदफा थप गरी पारित भएको बताए।

सोही कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले उक्त दफा ८२ को कुलिङ पिरियड सम्बन्धी व्यवस्थालाई समितिले पास गरेको भावना अनुसार प्रतिवेदनको बुँदा ४३ लाई आवश्यक संशोधन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको बताए। 

“समितिले संङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को दफा ८२ मा “निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले २ वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार गर्दा निष्क्रिय गर्ने गराउने गरी समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य कानुन प्रशासन मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधिले भाषा लेख्ने काम भएको बैठकले ठहर गरेको छ। 

‘उक्त कार्य निर्माणको हिसाबले षड्यन्त्रपूर्ण र दुराशयपूर्ण देखिएको हुँदा उक्त कार्यमा को को व्यक्तिको के कति गल्ती वा अपराध भएको हो त्यसको उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सङ्घीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो’, समितिको निर्णयमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । ओपन-सोर्स ईआरपी सफ्टवेयर ओडुले नेपालकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराजको सञ्चालन पूर्ण रूपमा अटोमेटेड (स्वचालित) बनाएको छ । ओडुको अटोमेसन प्रणाली लागु भएसँगै ​दराजको बिक्री (सेल्स), लेखा (अकाउन्टिङ), स्टक व्यवस्थापन (इन्भेन्ट्री), मानव संसाधन (एचआर), परियोजना व्यवस्थापन (प्रोजेक्ट म्यानेजमेन्ट) लगायतका काम व्यवस्थित हुन थालेका छन् ।

यो सफ्टवेयर अन्य ईकमर्स प्लेटफर्महरू र अनलाइन अर्डर लिने कम्पनीहरूले पनि प्रयोग गर्न सक्ने बताइएको छ, जसले उनीहरूलाई आफ्नो अनलाइन व्यवसाय छिटो र प्रभावकारी ढङ्गले अगाडि बढाउन मद्दत गर्छ ।

यसअघि विक्रेताहरूले म्यानुअल रूपमा दराजमा लगइन गरेर अर्डर जाँच, इनभोइस तयार पार्ने, स्टक अपडेट गर्ने जस्ता काम गर्नुपर्ने बाध्यता थियो । यो प्रक्रियामा समय धेरै लाग्ने र मानवीय त्रुटिको जोखिम पनि उच्च हुने गर्थ्यो । 

तर, ओडुले दराज विक्रेताहरूको यो समस्या समाधान गरिदिएको छ । अब दराज सेन्टरमा लगइन नै नगरी दराजमा आउने सबै अर्डरहरू स्वतः सेल्स एपमा सेल्स अर्डरको रूपमा तयार भएर बस्छन् । यसका लागि वेयरहाउसको नेटवर्कमा प्रिन्टर जोडिएको हुनुपर्छ । यसबाट इनभोइस र डेलिभरी अर्डर सिधै प्रिन्ट हुन्छन् । अर्डरदेखि डेलिभरीसम्मको सबै सञ्चालन नै दराजमा स्वचालित बनेको छ ।

ओडुमा रहेको अटोमेटेड खाता मिलान प्रणालीले क्याश अन डेलिभरी र डिजिटल पेमेन्ट ट्र्याक गर्दै वित्तीय विवरणलाई अझ व्यवस्थित बनाएको छ । ग्राहकको भुक्तानी पुष्टि नभएसम्म अर्डर पेन्डिङमा रहने र पेमेन्ट आएपछि मात्र बैंक खातामा मिलान हुने व्यवस्था गरिएको छ ।

साथै, ग्राहकको बिल सिधै उनीहरूको ईमेल वा ह्वाट्सएपमा पठाइने व्यवस्था पनि मिलाइएको छ । ओडुको अटोमेसन प्रणालीले व्यवसायको मानव स्रोत खर्च घटाउनका साथै म्यानुअल काममा हुने समय र झन्झट हटाइदिएको छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८२ १५:०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न स्थानीय तहलाई सहयोग गर्ने प्रतिद्धवता जनाएका छन्। 

बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथिको विनियोजन विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री भण्डारीले स्थानीय तथा प्रदेशको सम्भावनाको पहिचान नयाँ र परिष्कृत ढङ्गबाट रोजगार रणनीतिक योजना तयार गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्।

उनले आगामी आर्थिक वर्ष देखि रोजगारदातालाई दक्ष श्रमिकको उपलव्धताका लागि राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई थप प्रभावकारी तवरले अघि बढाउने बताए।

त्यस्तै उनले वैदेशिक रोजगार बोर्डलाई थप सशक्त र प्रभावकारी बनाउन मन्त्रालयले बोर्ड सुधारको प्रतिवेदन प्राप्त गरिसकेको जानकारी दिदै त्यसका अधारमा प्रभावकारी कार्ययोजना निर्माण गर्ने धारणा राखे।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक खोज्ने राष्ट्रिय नीति बमोजिम नयाँ १३ वटा युरोपियन गन्त्व्यहरुसंग श्रम समझदारी गर्न सरकारले प्रस्ताव गरेको उल्लेख गरे।

उनले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको ज्ञान, पूँजि र सीपको उच्चतम उपयोग गरी मुलुकको उत्पादन र उत्पादकत्व अभिबृद्धी गर्ने कार्य अघि बढेको समेत बताए। 

मन्त्री भण्डारीले प्रत्येक श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्ने योजना अघि सारेको बताए।

पालिकाहरुलाई बालश्रम मुक्त घोषणालाई प्राथमिकतामा राखेको भन्दै उनले यो अभियानलाई व्यापक बनाइने र श्रमिकहरुको कार्यस्थललाई उचित स्वास्थ्य र सुरक्षायुक्त बनाइने जानकारी दिए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित ग्राहक सेवा सुरु गरेको छ । बैंकले ‘Ting Ting’ नामको प्रविधिमार्फत ग्राहकलाई फोनमार्फत सेवा दिन थालेको हो ।

यसअघि बैंकका कल सेन्टरका कर्मचारीले दैनिक २०० देखि २५० जना ग्राहकलाई मात्र फोन गरेर जानकारी दिन सक्थे । अब भने एआई प्रणाली प्रयोग गरेर बैंकले दैनिक १० हजारभन्दा बढी ग्राहकलाई फोन गरेर आवश्यक जानकारी दिन सक्ने भएको छ ।

बैंकिङ क्षेत्रमै पहिलो पटक सिटिजन्स बैंक यो एआई प्रविधिमार्फत ग्राहक सेवा थालनी गरेको हो । ​बैंकका कल सेन्टर प्रमुख रचना खतिवडाका अनुसार अब ग्राहकलाई डेबिट कार्ड संकलन, चेकबुक, कर्जा भुक्तानी, मोबाइल बैंकिङ, डिम्याट जस्ता सेवाबारे स्वचालित रूपमा जानकारी दिन सकिन्छ । यसले समय र स्रोत दुवै बचत भएको बताइएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना प्रविधि प्रमुख सञ्जीव कुमार श्रेष्ठले प्रविधिले बैंकिङ सेवा अझ प्रभावकारी र छिटो बनाएको बताए । उनले भने, “अब प्रविधि बिना सेवा सुधार सम्भव छैन । ‘टिङ टिङ’ सँगको सहकार्यले लागत घटाउन र कार्यक्षमता बढाउन ठुलो फाइदा पुगेको छ ।”

यो कदमले ग्राहक सेवा मात्रै होइन बैंकिङ क्षेत्रमा डिजिटल रूपान्तरणको नयाँ अध्याय सुरु गरेको बैंकको भनाइ छ । एआई प्रविधि अपनाउँदै बैंकले भविष्यका लागि आफूलाई अझ तयारी अवस्थामा ल्याएको जनाएको छ ।

टिङ टिङको अत्याधुनिक एआई टेलिफोनी प्रणालीको प्रयोगमार्फत सिटिजन्स बैंकले एकतर्फी सूचना प्रवाहलाई पूर्ण रूपमा स्वचालित र व्यवस्थित गर्ने बताइएको छ । यसले गर्दा प्रत्येक ग्राहकलाई व्यक्तिगत आवश्यकता अनुसारको सटीक जानकारी मानवीय हस्तक्षेप बिना समयमै पुर्‍याउन सम्भव हुनेछ । 

टिङ टिङले आफूलाई नेपालको पहिलो एआई टेलिफोनी प्रणाली भएको दाबी गर्दै आएको छ । जसले स्थानीय आवश्यकता र भाषालाई मध्यनजर गर्दै आफ्नै रिरी (Riri) नामक नेपाली टेक्स्ट-टु-स्पिच (TTS) इन्जिनसमेत विकास गरेको छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८२ १३:५३





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट