
काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र प्रणालीसँग सम्बन्धित सम्पूर्ण सेवा बन्द भएको जनाएको छ । शुक्रबार एक सूचना जारी गर्दै विभागले सिस्टममा समस्या आएको कारण देखाउँदै सेवा बन्द हुन पुगेको जानकारी दिएको हो ।
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र सो समस्या समाधानको कार्य भइरहेको विभागले जनाएको छ ।
“अर्को सूचना जारी नहुँदासम्मका लागि सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा बन्द भएको ब्यहोरा जानकारी गराइन्छ,” विभागले भनेको छ ।
यसबाट ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीका सम्पूर्ण सेवा अवरुद्ध हुन पुगेका छन् ।

पछिल्लो अध्यावधिक: असार २०, २०८२ १३:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । बिहीबार, १९ असार २०८२ (४ जुलाई २०२५) मा अनलाइनखबर, नागरिक न्युज, नेपाल खबर लगायतका अनलाइन माध्यमले ५ महिनामै २४५ मिटर लामो विनयी खोला पुल निर्माण सम्पन्न भएको समाचार राखे । अच्युत पुरीको बाइलाइनमा अनलाइन खबरमा प्रकाशित उक्त समाचारमा नारायणगढ-बुटवल सडक खण्डमा पर्ने २४५ मिटर लामो विनयी खोला पुल पाँच महिनाकै अवधिमा निर्माण सम्पन्न भएको दाबी गरिएको छ ।
नागरिक दैनिकले समेत ५ महिनामै पुल निर्माण भएको समाचार वसन्त ढुंगानाको बाइलाइनमा राखेको छ । उता नेपाल खबरले भने बाइलाइन बिनाको समाचारमा ६ महिनामै पुल बनेको दाबी गरेको छ । मूलधार भनिने अनलाइन माध्यमले यस खाले समाचार राखेपछि अन्य विभिन्न सामाजिक सञ्जाल पेज तथा प्रयोगकर्ताहरूले समेत यस्तै दाबी सहित समाचार तथा दाबीहरू शेयर गरिरहेको पाइयो ।
तर, टेकपानाको फ्याक्टचेकले भने उक्त दाबी भ्रामक रहेको तथ्य फेला पारेको छ । वास्तवमा सन् २०१९ देखि निर्माण सुरु भएको यो पुल भर्खर अहिले आएर मात्रै सम्पन्न भएको हो । पाँच महिनाअघि सोही ठाउँमा रहेको करिब पाँच दशक पुरानो पुल भत्किएपछि निर्माण कार्यलाई केही तीव्रता भने दिइएको थियो । लामो समयदेखि निर्माणाधीन पुलको अन्तिम चरणको कामलाई आधार मानेर ‘पाँच महिनामै पुल बनेको’ भन्दै अनलाइन सञ्चार माध्यम तथा केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भ्रामक समाचार प्रकाशन तथा शेयर गरेको पाइएको छ ।
दाबी
बिहीबार, १९ असार २०८२ (४ जुलाई २०२५) मा अनलाइनखबरले ‘पुल निर्माणमा अभूतपूर्व उपलब्धि, ५ महिनामै बन्यो २४५ मिटर लामो विनयी खोला पुल’ शीर्षकमा एक समाचार प्रकाशित गर्यो । अच्युत पुरीको बाइलाइनमा प्रकाशित उक्त समाचारमा नारायणगढ-बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनालको भनाइलाई स्रोतका रूपमा प्रस्तुत गरिएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।

समाचारको लिडमा लेखिएको छ, “नेपालमा पुल निर्माणमा नयाँ कीर्तिमान बनेको छ । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार पारी बिहीबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ।”
यसबाट पाँच दशक पुरानो पुल भाँचिएको पाँच महिनामै नयाँ पुल सम्पूर्ण रूपमा तयार भएको सन्देश दिएको छ । तर, समाचारको बीचमा ‘पुरानो पुल भाँच्चिनु अघि कुन हालतमा थियो नयाँ पुल ?’ उपशीर्षक राखेर लेखिएको अंशले नै समाचारको मूल दाबीलाई खण्डन गर्छ । त्यसमा पुरानो पुल भत्किनुअघि नै नयाँ पुलका आठमध्ये दुई ओटा स्पानमा सुपरस्ट्रक्चरको काम सकिएको उल्लेख छ ।
अर्थात् समाचारमा अगाडि भनिएको छ, “५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ-बायाँको एप्रोच सडक समेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।”
यो समाचार सामाजिक सञ्जालहरूमा शेयर गरिएको छ । अनलाइनखबरको आधिकारिक फेसबुक पेजबाट यो पोस्ट दुई पटक शेयर भएको देखिन्छ । यो फ्याक्टचेक गर्दासम्म पहिलो पटक शेयर गरिएको पोस्टमा १२०० भन्दा बढी लाइक (रियाक्सन सहित) र १०० कमेन्ट आएका छन् भने ३८ पल्ट शेयर भएको छ (हेर्नुहोस्: ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क, स्क्रिनशट) । वेबसाइटभित्र जाँदा समाचार ८ हजारभन्दा बढी पल्ट शेयर भएको देखाइएको छ ।

दोस्रो पटक शेयर गरिएको पोस्टमा ८१० रियाक्सन, ९२ कमेन्ट र १३ शेयर छन् । (हेर्नुहोस्: ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट, स्क्रिनशट) ।
अनुसन्धान
अनलाइन खबरमा समाचार आइसकेपछि अन्य अनलाइन न्युज पोर्टल, फेसबुक पेज तथा प्रयोगकर्ताले यही शीर्षक कपी पेस्ट गर्दै राखेका छन् । नेपाल खबर (अर्काइभ), नागरिक न्युज (अर्काइभ) पालिका टेलिभिजन, शिव डुम्रे, गणेश बस्नेत, महेन्द्रबहादुर गुरुङ लगायतका प्रयोगकर्ताले अनलाइन खबरकै जस्तो शीर्षक र क्याप्सन राखेर शेयर गरेका छन् ।




टेकपाना फ्याक्टचेकले यही विषयमा तथ्यजाँच गर्ने क्रममा अनलाइन खबरमा प्रकाशित समाचारको बीच खण्डमै माथिको दाबीलाई खण्डन गरेको फेला पार्यो । समाचारको शीर्षक, आमुख र मध्य भागको सुरुवाततिर पुल पाँच महिनामै निर्माण सम्पन्न भएको दाबी गरिएको छ । तर, मध्य भागमा उपशीर्षक राखेर नयाँ पुलको निर्माण कार्य पाँच वर्षअघिदेखि थालिएको बताइएको छ । त्यसमा लेखिएको छ, “५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ-बायाँको एप्रोच सडकसमेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।” त्यसपछि भने पछिल्लो पाँच महिनामा पुल निर्माण कार्य कसरी तीव्र गतिमा अगाडि बढ्यो भन्ने उल्लेख गरिएको छ ।
यस विषयमा हामीले नारायणगढ-बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाललाई सम्पर्क गर्यौँ । पछिल्लो पाँच महिनामा पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको विषयलाई अनलाइन खबरले फरक रूपले व्याख्या गरी समाचार लेखेको उनले बताए ।
“पाँच महिनामा पुल बन्यो भनेर आएका समाचारहरूमा केही गलत व्याख्या भएको छ,” खनालले भने, “यो पुलको फाउन्डेसन (जग) र दुई ओटा स्पान (एक पिलरदेखि अर्को पिलरमाथि राखिने पुलको भाग) पहिले नै बनिसकेका थिए । पाँच महिनाको अवधिमा निर्माण सम्पन्न भएको भनेको बाँकी रहेका ६ ओटा स्पानको ‘सुपर स्ट्रक्चर’ (गाडी गुड्ने स्ल्याबसहितको माथिल्लो भाग) मात्र हो ।”
इन्जिनियर खनालले पुलको जग र पिलर (सब-स्ट्रक्चर) को काम पहिल्यै सकिएको र बाढीले क्षति पुर्याएपछि माथिल्लो भागको कामलाई तीव्रता दिइएको बताए । यद्यपि छोटो समयमा यति धेरै काम सम्पन्न हुनुलाई उनी आफैँमा एउटा उपलब्धि मान्छन् ।
यो पुलको निर्माण मात्र नभएर समग्र सडक विस्तार आयोजना नै सन् २०१९ बाटै सुरु भएको थियो । अहिले पुल सञ्चालनमा आए पनि समग्र आयोजनाको काम सम्पन्न हुन भने अझै समय लाग्ने खनालले जानकारी दिए ।
“यो पुलको आयोजना सन् २०१९ बाटै सुरु भएको हो, समग्रमा परियोजना सुरु भएको ६ वर्ष भइसक्यो । अहिले पुल सञ्चालनमा आए पनि समग्र आयोजना सम्पन्न हुन अझै करिब एक वर्ष लाग्न सक्छ,” खनालले भने ।

उक्त सडकमा भएको पुरानो पुल २६ पुस २०८१ मा भारतीय ट्रकले ठक्कर दिँदा भाचिएको थियो । त्यही दिन ‘टकेन्द्र बोहोरा’ले आफ्नो युट्युब च्यानलमा ‘दुम्किबासमा आज पुल भाचियो हामी बाचियो । महेन्द्र राजमार्ग अवरुद्ध । धन्न केही भयन ।’ शीर्षकमा भिडिओ राखेका थिए । उक्त भिडिओको ३७ औं सेकेन्डमा दायाँतिर नयाँ पुल निर्माण भइरहेको देखिन्छ । यतिसम्म कि पुल भासिएको हेर्न केही व्यक्ति त्यही नयाँ पुलमाथि चढेर हेरिरहेका देखिन्छन् । भिडिओको लगभग अन्तिमसम्म नै नयाँ पुल निर्माण भइरहेको प्रस्ट देखिन्छ ।

यी विभिन्न तथ्यलाई आधार मान्दा अनलाइन खबर, नागरिक न्युज, नेपाल खबर आदिले ‘पाँच महिनामै २४५ मिटर पुलको निर्माण सम्पन्न गरी कीर्तीमान’ भन्दै भ्रामक शीर्कक राखेको पुष्टि हुन्छ ।
दाबी
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित ‘विनयी खोला पुल’ ५ महिनामै तयार भएको कीर्तिमान राख्यो ।
दाबीकर्ता
अनलाइन खबर । नेपाल खबर । नागरिक न्युज । अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बुटवल-नारायणगढ खण्डको दुम्कीबासस्थित ‘विनयी खोला पुल’ पाँच महिनामै निर्माण सम्पन्न भएको होइन । यसको निर्माण कार्य सन् २०१९ देखि नै सुरु भएको थियो ।
करिब पाँच महिनाअघि त्यहाँ रहेको पाँच दशक पुरानो पुल भत्किएपछि त्यसअघि कछुवा गतिमा बनिरहेको नयाँ पुल निर्माणको कामले केही तीव्रता मात्रै पाएको हो । समग्र पुल पाँच महिनामा बनेको नभई पछिल्लो पाँच महिनाको अवधिमा बाँकी रहेको ६ ओटा स्पान र सुपरस्ट्रक्चरको काम सम्पन्न भएर पुल बिहीबारदेखि सञ्चालनमा आएको हो ।
निष्कर्ष
बिहीबार, १९ असार २०८२ (४ जुलाई २०२५) मा अनलाइनखबरले ‘पुल निर्माणमा अभूतपूर्व उपलब्धि, ५ महिनामै बन्यो २४५ मिटर लामो विनयी खोला पुल’ शीर्षकमा एक समाचार प्रकाशित गरेको थियो । उक्त समाचारको शीर्षक र आमुखमा २४५ मिटर लामो पुल पाँच महिनामै सम्पन्न भएको दाबी गरिएको छ ।
तर, त्यही समाचारको मध्यभागमा राखिएको उप-शीर्षकमा पुरानो पुल भाँचिनुअघि नै नयाँ पुलको अवस्थाबारे उल्लेख छ । अर्थात् समाचारमा एकातिर पुल पाँच महिनामै बनेको दाबी गरिएको छ भने अर्कोतिर त्यसको निर्माण पाँच वर्षअघि नै सुरु भएको तथ्य पनि उल्लेख छ ।
अनलाइन खबरलाई पच्छ्याउँदै नागरिक न्युजले पनि ‘नारायणगढ-बुटवल सडक: पाँच महिनामै विनयी खोलामा पुल निर्माण’ शीर्षकको समाचार राखेको छ । नेपाल खबर नामक अनलाइनले ‘विनयी खोलामा ६ महिनामै बन्यो नयाँ पुल, चल्न थाले गाडी’ भनेर हेडलाइन राखेको छ ।
यसबाहेक समाचारमा उद्धृत गरिएका आयोजनाका सूचना अधिकारी शिव खनालले समेत आफ्नो भनाइको आशय नै बङ्ग्याएर प्रस्तुत गरिएको बताएका छन् । पुरानो पुल भत्किएको दिन युट्युबमा अपलोड गरिएको एक भिडियोमा पनि नयाँ पुलको अधिकांश काम पहिल्यै सम्पन्न भइसकेको देखिन्छ ।
यी विभिन्न तथ्य र आधारहरूले अनलाइनखबरमा प्रकाशित उक्त समाचारको शीर्षक र लिड भ्रामक रहेको पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १७:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । सिलिकन भ्यालीमा चलिरहेको प्रविधि कम्पनीहरूको तीव्र प्रतिस्पर्धा बीच भारतीय ट्यालेन्टहरूले समेत ठुलो लाभ उठाइरहेका छन् । यसै क्रममा आईआईटी कानपुरका त्रपिट बंशल ओपनएआई छोडेर मेटामा आबद्ध हुन पुगेका छन् ।
उनी १०० मिलियन डलरको जोइनिङ बोनससहित हालै मेटाको सुपरइन्टेलिजेन्स ल्याबमा सामेल भएको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । यो रकम करिब १३ अर्ब ६२ करोड नेपाली रुपैयाँ बराबर हुन्छ । जुन एप्पलका सीईओ टिम कुकको वार्षिक आम्दानी (७४.६ मिलियन डलर) भन्दा २५ मिलियन डलर (२ करोड ५० लाख डलर) बढी भएको बताइएको छ ।
त्रपिट बंशल सन् २०१२ को ब्याचका आईआईटी कानपुरका स्नातक हुन् । उनले आईआईटीबाट म्याथम्याटिक्स (गणित) र स्टाटिस्टिक्स (तथ्याङ्क)मा डिग्री हासिल गरेका छन् । उनले म्यासाचुसेट्स विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा पीएचडी पनि गरेका छन्, जहाँ उनले डिप लर्निङ, मेटा-लर्निङ र नेचुरल ल्याङ्वेज प्रोसेसिङ (एनएलपी) मा विशेषज्ञता हासिल गरे ।
उनको करियर सन् २०१२ मा गुडगाउँको एक कन्सल्टिङ कम्पनीमा विश्लेषकको रूपमा सुरु भएको थियो । त्यसपछि उनले बैंगलोरको इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएससी) मा इन्टर्नको रूपमा काम गरे । समयक्रमसँगै उनले फेसबुक (२०१६), ओपनएआई (२०१७) , गुगल (२०१८), र माइक्रोसफ्ट (२०२०) मा विभिन्न भूमिकामा रहे ।
सन् २०२० मा उनले ‘फ्यु-शट नेचुरल ल्याङ्वेज प्रोसेसिङ बाई मेटा-लर्निङ विदआउट लेबल डेटा’ शीर्षकको आफ्नो पीएचडी शोधपत्रको डिफेन्स गरे । सन् २०२२ मा बंशल फुल-टाइम प्राविधिक कर्मचारीको रूपमा ओपनएआईमा आबद्ध भए । त्यहाँ उनले सह-संस्थापक र मुख्य वैज्ञानिक इल्या सुत्स्केभरसँग रिइन्फोर्समेन्ट लर्निङ (आरएल) को काम गरे । साथै कम्पनीको पहिलो एआई रिजनिङ मोडल ०१ को निर्माणमा संलग्न भए । उनको योगदानलाई च्याटजीपीटीको रिजनिङ क्षमताहरूको जग मानिन्छ । उनले रिइन्फोर्समेन्ट लर्निङ र रिजनिङलाई आकार दिनमा महत्त्वपूर्ण भूमिका खेले ।
Thrilled to be joining @Meta! Superintelligence is now in sight 🚀
— Trapit Bansal (@TrapitBansal) June 30, 2025
अहिले त्रपित बंशल मेटाको सुपरइन्टेलिजेन्स टोलीमा सामेल भएका छन् । यो टोली मार्क जुकरबर्गले हालै औपचारिक रूपमा सुरु गरेको मेटा सुपरइन्टेलिजेन्स ल्याब्स (एमएसएल) को एक हिस्सा हो । यो डिभिजन आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) को विकासमा समर्पित छ । यसले ओपनएआई, एन्थ्रोपिक र गुगल डिपमाइन्ड जस्ता प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ ।
मेटाले आक्रामक रूपमा एआईका ट्यालेन्टहरूलाई आकर्षित गरिरहेको छ । जसमा ओपनएआईका पूर्व सीईओ अलेक्जेन्डर वाङ र गिटहबका पूर्व सीईओ नट फ्रिडम्यान जस्ता दिग्गजहरू पनि छन् । कम्पनीले एआई अनुसन्धानकर्ताहरूलाई चार वर्षका लागि ३०० मिलियन डलरसम्मको प्याकेज अफर गरिरहेको छ। यद्यपि बंशलको सम्झौताको विवरण त्यति स्पष्ट त छैन ।
मेटा पछिल्लो समय एआईलाई लिएर लामा ४ मोडेल र मेटा एआई एप वरिपरि केन्द्रित छ । लामा ४ मोडेलले नयाँ मेटा एआई एपलाई पावर दिनेछ र यसलाई ओपनएआई र गुगल जस्ता कम्पनीहरूका मोडेलहरूसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको हो । मेटाको एआई एपले सामाजिक सञ्जालको पर्सनलाइजेसनलाई भोइस-बेस एआईमा जोडेर करिब १ अर्ब प्रयोगकर्ताहरूलाई आकर्षित गरिरहेको छ ।
मेटाले एआईलाई फेसबुक, इन्स्टाग्राम, र ह्वाट्सएपमा एकीकृत गरेर प्रयोगकर्ताको आवश्यकता बुझ्ने र भविष्यवाणी गर्ने एआईको क्षमतालाई समेत बढावा दिइरहेको छ । यसका अतिरिक्त, मेटाको एआई रे-बान मेटा ग्लाससम्म विस्तार भएको छ ।
बंशलको विशेषज्ञताले मेटालाई सार्वजनिक रूपमा उपलब्ध एआई रिजनिङ मोडेलको विकासलाई तीव्र बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । उनको सिस्टम निर्माण सम्बन्धी विशेषज्ञताले मेटाको अर्को पुस्ताका लार्ज ल्याङ्वेज मोडेललाई आकार दिनेछ र सम्भवतः ओपनएआईको ०३ तथा डिपसिकको आर १ सँग प्रतिस्पर्धा गर्न सक्नेछ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ १८:२५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ । फरक डिजाइन तथा पारदर्शी फोनको रूपमा छुट्टै पहिचान बनाएको नथिङले आफ्नो नयाँ स्मार्टफोन ‘नथिङ फोन थ्री’ नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले ३१ असारमा दुई स्टोरेज भेरियन्टमा नयाँ फोन नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।
परिष्कृत र पारदर्शी डिजाइनलाई निरन्तरता दिँदै कम्पनीले यस पटक नेपाली बजारलाई विशेष प्राथमिकतामा राखेको छ । यो फोन भारतमा भन्दा सस्तो मूल्यमा नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नेपालमा नयाँ फोन उपलब्ध गराउने निश्चित भइसकेपछि कम्पनीले विभिन्न प्रि-बुकिङ अफर पनि दिन सुरु गरेको छ । यस अन्तर्गत प्रि-बुकिङ गर्ने नेपाली ग्राहकले बजार मूल्यमा १९ हजार रुपैयाँ छुट पाउनेछन् । साथै त्यसैमा साढे नौ हजार रुपैयाँ पर्ने सीएमएफ बड्स प्रो टु समेत निःशुल्क उपलब्ध गराउने दिइने कम्पनीले जनाएको छ । यो अफर सुरुवाति १०० ग्राहकले पाउनेछन् । यस हिसाबले प्रि-बुकिङ गर्ने ग्राहकले कूल साढे २८ हजार रुपैयाँसम्मको लाभ उठाउन सक्नेछन् ।
फोनको डिजाइन र प्रदर्शन पनि उत्तिकै आकर्षक छ । यसमा नयाँ ‘ग्लिफ म्याट्रिक्स’ सहितको प्रिमियम र पारदर्शी बनावट, फ्ल्यागशिप-स्तरको पर्फमेन्स र पृथक् युजर एक्सपिरियन्स रहेको छ । यसका साथै ग्राहकको सुविधाका लागि नागरिकताको आधारमा ४० प्रतिशत डाउन पेमेन्टमा बाँकी रकम शून्य प्रतिशत ब्याजदरको १२ महिने किस्ताबन्दीमा तिर्न सकिने सुविधा पनि उपलब्ध छ ।
नेपाली बजारमा यो फोन दुई ओटा भेरियन्टमा उपलब्ध हुनेछ । १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको अधिकतम बजार मूल्य एक लाख २७ हजार ९९८ रुपैयाँ तोकिएको छ । तर प्रि-बुकिङमा यसलाई मात्र एक लाख नौ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यस्तै १६ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको अधिकतम मूल्य एक लाख ४३ हजार ९९८ रुपैयाँ रहेकामा प्रि-बुकिङ मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
दुवै भेरियन्टको प्रि-बुकिङमा सीएमएफ बड्स प्रो टु निःशुल्क पाइनेछ । यसको प्रि-बुकिङ ४ देखि १४ जुलाईसम्म चल्नेछ भने १५ जुलाईदेखि फोन बजारमा विक्रीका लागि उपलब्ध हुनेछ । यहाँ क्लिक गरेर प्रि-बुकिङ गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ २०:५८
सामाग्री श्रोत :
टेक पाना

कञ्चनपुर– भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो ।
शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । बाँकेको नेपालगन्जबाट नेपक्याब नामक नयाँ राइड शेयरिङ प्लेटफर्म सुरु भएको छ । ‘ईड्राइभ पश्चिम नेपाल प्राली’ नामक कम्पनीले नेपालगन्जभित्र र अन्तर-सहर ट्याक्सी सेवा सुरु गरेको हो ।
नेपक्याबले नेपालगन्जबाट विमानस्थल जान र सहर भित्रकै एक ठाउँबाट अर्को ठाउँमा जाने सुविधा दिने छ । नेपक्याबका अध्यक्ष विजय भण्डारीका अनुसार अर्को सहरमा जान पनि चार पाङ्ग्रे गाडी बुक गर्न सकिन्छ । उनले भने , “कुनै काम विशेषले तत्काल काठमाडौँ जानु पर्यो वा सुर्खेत जान पर्यो भने ट्याक्सी अनलाइनबाट नै बुक गर्न सकिन्छ ।”
नेपक्याबको राइड शेयरिङ एप यात्रु र राइडरका लागि छुट्टाछुट्टै ल्याइएको छ । यात्रुले यहाँ क्लिक गरेर र चालकले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन् । यो प्लेटफर्मबाट यात्रा सुरु गरेको स्थान र गन्तव्यसम्मको दुरीअनुसार एपले भाडा तोकिदिन्छ ।
यात्रुले ट्रोल फ्रि नम्बर १८१०५०००३६६ मा कल गरेर पनि गाडी बुक गर्न र शुल्क निर्धारण गर्न सक्ने बताइएको छ । सुरुवातमा चार पाङ्ग्रे सवारी साधनहरूबाट सेवा दिइरहेको नेपक्याबले भविष्यमा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरूलाई पनि समेट्ने योजना बनाएको छ ।
भण्डारीले भने, “यहाँ लामो दुरीका लागि बढी राइडको आवश्यकता महसुस गरेका छौँ । प्रायसँग दुई पाङ्ग्रे सवारी हुने भएकाले मोटरसाइकललाई अलि पछि सुरु गर्ने योजना बनाएका हौँ ।”
नेपालगन्जबाट काठमाडौँसम्मका लागि ट्याक्सी बुक गर्न सकेपनि काठमाडौँबाट नेपालगन्ज जानका लागि भने यो प्लेटफर्ममा बुकिङ सुविधा छैन । नेपालगन्जमा प्लेटफर्म सफल भएमा क्रमशः: अन्य सहरमा पनि बिस्तार गर्ने योजना रहेको उनले बताए ।
विद्युतीय गाडीको प्रयोग
नेपक्याबको सेवा दिन कम्पनीले आफ्नै १० ओटा विद्युतीय ट्याक्सी खरीद गरेको छ । यसमा ट्याक्सी भाडा पनि तुलनात्मक रूपमा सस्तो पर्ने उनले बताए । यस्तै अन्य निजी सवारी चालकले पनि आफूलाई राइडरको रूपमा प्लेटफर्ममा दर्ता गराउन सक्नेछन् ।
यात्रुले आफूले चाहेजस्तो गाडी रोज्न सक्ने विकल्प प्लेटफर्ममा दिइएको छ । पेट्रोल गाडीहरू, एसयूभी र लक्जरी ट्याक्सी मध्ये आफूले चाहेको ट्याक्सी रोज्न सकिनेछ । उनले थपे, “कसैलाई अफरोड यात्रा गर्नुपर्ने छ भने त्यही अनुसारको कार पनि रोज्न सक्नुहुन्छ ।”
त्यस्तै तत्कालका लागि राइड बुक गर्न वा पछिका लागि बुकिङको शेड्युलमा राख्ने सुविधा पनि उपलब्ध छ । नेपक्याबले यात्रु र चालकको सुरक्षालाई विशेष प्राथमिकता दिएको उनले बताए ।
“ हामीसँग यात्रु वा चालकले असुरक्षित महसुस गरेमा इन्टरनेट बिना ह्वाट्सएपमा सिधै कल गर्न सक्ने फिचर पनि उपलब्ध छ,” उनले भने, यो प्लेटफर्म पूर्ण रूपमा नेपालमै विकास गरिएको हो ।”
भारतमा अध्ययन गरेका नेपालगन्जका चार-पाँच जना युवा डिजाइनरहरूले यो एपको विकास गरेको उनले सुनाए । उनले भने, “स्थानीय भाइहरूले बनाए हामीलाई प्राविधिक सहयोग पनि लिन सजिलो हुन्छ भन्ने लागेको थियो । हामीले आइडिया दियौँ । उनीहरूले ६ महिना लगाएर यो प्लेटफर्म बनाए ।”
महँगो ट्याक्सी भाडा तिर्न यात्रु बाध्य भएकाले नयाँ राइड शेयरिङ प्लेटफर्म ल्याइएको उनले सुनाए । “यहाँ ट्याक्सी भाडामा एकरूपता नै छैन । मनलाग्दी भाडा लिने गरिन्छ । त्यसैले सस्तो भाडामा जहाँ बसेर पनि सजिलै ट्याक्सी बुक गर्न सक्ने सुविधा ल्याएका हौँ ।” यो प्लेटफर्मबाट चौबिसै घण्टै राइड शेयरिङ सेवा लिन सकिनेछ ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ २१:१५
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेसनल टेलिभिजन (हाल बन्द)का अध्यक्ष युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७ सय ९ रुपैयाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित सम्पत्ति शुद्धीकरण अभियोगमा मुद्दा दायर गरेको हो ।
नक्कली भारतीय नोटको कारोबार र विदेशी मुद्रा तस्करी, लागूऔषध कारोबारबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेर टेलिभिजन सञ्चालनदेखि जग्गा/जमिन खरिदबिक्री लगायतमा लगानी गरेको अभियोगमा उनलाई प्रतिवादी बनाइएको छ ।
यसैगरी नेसनल टेलिभिजनका तत्कालीन सञ्चालक भुवनेश्वरप्रसाद कुशवाहलाई ५ करोड २ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेर (बिगोको हकमा मात्रै) मुद्दा दायर गरिएको छ । गैरकानुनी सम्पत्ति जफत प्रयोजनका लागि अन्सारीकी पत्नी सलमा खातुन र अर्मी महिला प्रमिला अधिकारीलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
अन्सारी र उनकी पत्नीका नाममा राखिएका स्रोत नखुलेको घरजग्गा पनि जफत गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ । यसमध्ये अन्सारीको परिवारका नाममा पर्सामा भेटिएको २ बिघा, १३ कठ्ठा ८ धुर जग्गा पनि जफत गर्न मागदाबी लिइएको छ ।
यस्तै, अन्सारीका नाममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई, प्रभू, सानिमा र माछापुच्छ्रे बैंकमा रहेको १५ लाख ५० हजार २ सय ९ रुपैयाँ नगद पनि जफत गर्नुपर्ने अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ ।
अन्सारी भारतीय जाली नोटको ओसारपसारमा संलग्न रहेको अभियोगमा ६ वर्ष कैद सजाय भुक्तान गरी १७ जेठ २०८२ मा ललितपुरको नख्खु कारागारबाट छुटेका थिए । छुटेलगत्तै सीआईबीले पक्राउ गरी उनीविरुद्ध सम्पत्ति शुद्धीकरण आरोपमा अनुसन्धान गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । पछिल्ला केही दिन यता नेपाली काँग्रेसका महामन्त्री गगन थापाको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक कलेजको कक्षामा उनले कोर्सेरा वेबसाइटको बारेमा विद्यार्थीहरूलाई सल्लाह दिएका छन् ।
कोर्सेरामा गएर लगइन गरी खोल्दा अमेरिकाको स्ट्यानफोर्ड, अमेरिका-युरोपका एकसेएक युनिभर्सिटीभित्र छिरेर त्यहाँको पढाई फोनबाटै निःशुल्क गर्न सकिने दाबी उनले गरेका छन् । आज हामी तपाईँलाई कोर्सेराको अनलाइन लर्निङ प्लेटफर्मसँगै थापाको त्यही दाबी वरपर रहेर चर्चा गर्दैछौँ ।
हुन त पछिल्लो समय अनलाइन शिक्षाको माग तीव्र गतिमा बढिरहेको छ । यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ प्लेटफर्महरू सञ्चालनमा छन् ।
त्यसमध्येको एउटा हो, कोर्सेरा (Coursera) । जुन विश्वको सबैभन्दा ठुलो सिकाइ प्लेटफर्ममध्येको एक मानिन्छ । कोर्सेरामा ३१ मार्च २०२५ सम्म १७ करोड ५० लाख रजिस्टर्ड प्रयोगकर्ता जोडिएका छन् । कोर्सेरामा उपलब्ध कोर्स निःशुल्क पढ्न सकिने विकल्प पनि छन् । तर ठ्याक्कै गगन थापाले भने जस्तो विदशी विश्वविद्यालयको पढाई वा डिग्री भने निःशुल्क छैन ।
कोर्सेराको वेबसाइटमा ‘अनलाइन डिग्री‘ नामक एउटा सेक्सन छ, जहाँ विभिन्न विश्वविद्यालयले उपलब्ध गराउने अनलाइन डिग्री (कोर्स) राखिएका छन् । त्यहाँ रहेका कोर्सहरूमा क्लिक गर्दा कोर्सेराभन्दा बाहिर अर्थात् सम्बन्धित विश्वविद्यालयको अनलाइन डिग्री लिन सकिने प्लेटफर्ममा पुगिन्छ । ती कोर्सहरूलाई कोर्सेराले आफ्नो वेबसाइटमा एग्रिगेट गरेको मात्रै हो ।
यद्यपि, कोर्सेरामै उपलब्ध भिडिओ, पाठ्यसामग्रीसहितका विभिन्न कोर्सहरू भने निःशुल्क रूपमा अध्ययन गर्न सकिन्छ । यदि बिना शुल्क नयाँ सीप सिक्न वा आफूलाई मनपर्ने विषयहरू अन्वेषण गर्न चाहनुहुन्छ भने अवश्य पनि कोर्सेरा एक राम्रो विकल्प हुन सक्छ ।
कोर्सेराले शीर्ष विश्वविद्यालय र उद्योगका लिडरहरूबाट विभिन्न क्षेत्रका कोर्सहरू प्रदान गर्दै आएको छ । यी कोर्सहरू निःशुल्क वा कम लागतमा कसरी लिन सकिन्छ भन्ने बारेमा आज हामी तपाईँलाई बताउँदै छौँ ।
१. निःशुल्क अडिट मोड (Audit Mode)
कोर्सेराका कोर्समा निःशुल्क पहुँच पाउने एउटा तरिका हो अडिट द कोर्स (Audit the Course) । यो सुविधाले तपाईँलाई कोर्सका सामग्रीहरू निःशुल्क रूपमा हेर्ने अनुमति दिन्छ ।
अडिट मोडमा तपाईँले कोर्सका भिडिओ, पाठ्य सामग्री (readings) र असाइनमेन्टहरूमा पहुँच पाउन सक्नु हुन्छ । । तर, यसमा तपाईँले ग्रेड, फिडब्याक र कुनै पनि प्रमाणपत्र (certificate) भने पाउनु हुनेछैन । यदि तपाईँको उद्देश्य प्रमाणपत्र नभई सिक्नु र सीप विकास गर्नु मात्र हो भने यो तपाईँका लागि उत्कृष्ट विकल्प हुनसक्छ ।
अडिट मोड कसरी प्रयोग गर्ने ?
अडिट मोड प्रयोग गर्न सबैभन्दा पहिला तपाईँले यहाँ क्लिक गरेर वा कोर्सेराको वेबसाइटमा गएर आफ्नो अकाउन्ट बनाउनु होस् । त्यसपछि आफूले सिक्न चाहेको कुनै पनि कोर्स छान्नुहोस् ।
कोर्सको पेजमा गएर Enroll बटनमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि भुक्तानीका विकल्पहरू देखिनेछन् । त्यसको तल Audit वा Audit the course भन्ने सानो बटन खोज्नुहोस् र त्यसमा क्लिक गर्नुहोस् ।
यसरी एक पटक तपाईँले Audit the course मा क्लिक गरेपछि कोर्सका सबै सामग्रीहरूमा तत्काल र असीमित पहुँच पाउनु हुनेछ । कतिपय अवस्थामा, तपाईँले सिधै Audit बटन देख्नुहुन्न । जस्तै कि जब तपाईँ कुनै स्पेसलाइजेसनमा (जसमा धेरै कोर्सहरू हुन्छन्) हुँदा ।
यदि तपाईँले कुनै कोर्सको Enroll बटनमा क्लिक गर्दा तल सानो अक्षरमा Audit अथवा Audit the course को विकल्प देख्नु भएन भने एक स्टे पछि फर्किनुहोस् । अब केही तल स्क्रोल गरेर Courses मा क्लिक गर्नु भयो भने स्पेसलाइजेसन अन्तर्गतका एक एक (individual) कोर्स देख्नु हुनेछ । त्यहाँबाट प्रत्येक कोर्सलाई एक एक गरी छानेर Enroll बटन क्लिक गर्नु भयो भने Audit अथवा Audit the course को विकल्प पाउनु हुनेछ, जहाँबाट उक्त कोर्स अध्ययन गर्न सकिन्छ ।
२. वित्तीय सहायता (Financial Aid)
कोर्सेराले आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई वित्तीय सहायता (Financial Aid) पनि प्रदान गर्दछ । यो विकल्पले तपाईँलाई निःशुल्क रूपमा वा निकै कम लागतमा यसमा रहेका कोर्सहरूमा पहुँच प्रदान गर्दछ र सफलतापूर्वक कोर्स पूरा गरेपछि प्रमाणपत्र पनि प्राप्त हुन्छ ।
सन् २०२५ मा कोर्सेराले आफ्नो प्रणालीमा केही परिवर्तन गरेको छ । पहिले १००% वित्तीय सहायता उपलब्ध भए पनि, अहिले अधिकांश कोर्सहरूमा बढीमा ९०% छुट मात्र प्रदान गरिन्छ । जुन पूर्ण रूपमा निःशुल्क होइन । यसको अर्थ, यदि कुनै कोर्सको लागत २० डलर (करिब २७०० रुपैयाँ) छ भने, ९०% छुटपछि तपाईँले २ डलर (करिब ३०० रुपैयाँ) मात्र तिर्नुपर्ने हुन्छ । यो रकम हार्वर्ड स्तरको कोर्स र प्रमाणित प्रमाणपत्रको लागि निकै सस्तो हो ।
कोर्सेराले वास्तविक रूपमा आवश्यकता भएकाहरूलाई मात्र सहयोग प्रदान गर्न चाहन्छ । त्यसका लागि निश्चित योग्यता आवश्यक पर्छ । जस अनुरूप तपाईँले कोर्सको शुल्क किन तिर्न सक्नुहुन्न भन्ने कुरा खुलाउनु पर्छ । साथै तपाईँ कोर्स किन लिन चाहनुहुन्छ र यसले तपाईँको करियरमा कसरी मद्दत गर्छ भन्ने देखाउनु पर्छ । वित्तीय सहायताको बारेमा थप बुझ्न र प्रक्रिया अगाडि बढाउन यहाँ क्लिक गर्नुहोस् ।
निःशुल्क उपलब्ध कोर्स
कोर्सेराले विभिन्न विषयहरूमा निःशुल्क कोर्सहरू पनि प्रदान गर्दछ, जुन प्रमाणपत्रसहितको कोर्स भन्दा फरक हुन्छन् । यी कोर्सहरूले तपाईँलाई बिना खर्च नयाँ सीपहरू सिक्न, रुचि भएका विषयहरू पत्ता लगाउन, र आफ्नो व्यक्तिगत वा व्यावसायिक लक्ष्यतर्फ कदम चाल्न मद्दत गर्दछन् ।
कोर्सेराको वेबसाइटमा Free खण्डमा गएर तपाईँले विभिन्न विषयहरूमा निःशुल्क कोर्सहरू खोज्न सक्नुहुन्छ । जसमा बिजिनेस, कम्प्युटर विज्ञान, डेटा साइन्स, सूचना प्रविधि (आईटी), भाषा शिक्षा, व्यक्तिगत विकास, कला तथा मानविकी, जेनेरेटिभ एआई लगायतका विषयहरू छन् ।
पछिल्लो अध्यावधिक: असार २०, २०८२ २०:२६
सामाग्री श्रोत :
टेक पाना

काभ्रेपलाञ्चोक। बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ः०० बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो ।
कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ ।
यसअघि यही असार ६ गते काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो ।
मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभे्रपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।
उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभे्रपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड सडक नै बगाएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
गत शनिबारदेखि वीर अस्पतालमा उपचाररत मन्त्री पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको अस्पताल निर्देशक डा दिलिप शर्माको नेतृत्वमा उपचार भएको थियो।
‘मन्त्री प्रदिप पौडेलज्यू स्वास्थ्य उपचारको लागि मिति २०८२/०३/१४ गते ज्वरो आई यस चि. वि. रा.प्र. वीर अस्पतालमा भर्ना हुनुभएकोमा अस्पतालका निर्देशक प्रा.डा. दिलीप शर्माको नेतृत्वमा विषेशज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचार भएको र हाल स्वास्थ्यमा सुधार भएकोले आज मिति २०८२/०३/२० गते अस्पतालबाट डिस्चार्ज हुनु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
मन्त्री पौडेल ज्वरो आएपछि गत शनिबार बेलुका वीर अस्पताल भर्ना भएका थिए।
सामाग्री श्रोत :
swasthyakhabar




