२०८३ असार ५ शुक्रबार
LATEST NEWS
२०८३ असार ५ शुक्रबार

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’  युट्युबमा रिलिज भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारी आज बुढासुब्बा डिजिटल युट्युब च्यानलमा यो चलचित्र सार्वजनिक गरिएको हो ।

मगर संस्कार र संस्कृतिमा बनेको चलचित्रलाई अनिल बुढा मगरले लेखन तथा निर्देशन गरेका हुन् । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा मगर, कविता आले मगर, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), शिला आले, अनु थापालगायत कलाकारहरूको अभिनय छ । 

सिनेमा हलमा गएको असार २८ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले औसत व्यापार गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १५:९





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन्। अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन्।

यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ। यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन्। विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ। यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो। 

Ncell 2
Ncell 2

उनीहरू सुनौला रङ्गका चम्किला रौंले ढाकिएका हुन्छन्। विशबोन माकुरा टारान्टुला र ट्रयापडोर माकुरासँग सम्बन्धित छन् र प्रायः अस्ट्रेलियाका सुख्खा, दुर्गम क्षेत्रमा पाइन्छन्। 

shivam cement
shivam cement

अनुसन्धानकर्ताहरूका अनुसार अझै धेरै माकुरा प्रजाति पत्ता लाग्न बाँकी छ। यो खोजले अस्ट्रेलियाका जङ्गल र जीवजन्तुको विविधता बुझ्न मद्दत गर्नेछ।

वैज्ञानिक जेरेमी विल्सनले दुई वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गर्नुभएको हो। “हामीले धेरै नयाँ कुरा पत्ता लगाएका छौं,” उनले भनेका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  नर्भिक इन्टरनेशनल अस्पताल  वैशाख १ गतेदेखि ३३ औं वर्षमा प्रवेश गरेको छ । सन् १९९३ मा नर्भिक हेल्थकेयर एण्ड रिसर्च सेन्टरबाट सुरु भएको अस्पताल नेपालका नाम चलेका ‘मल्टी स्पेसियालिटी अस्पताल’मा एक भएको छ। स्थापनाको ४ वर्षपछि अर्थात् सन् १९९७ मा भारतको स्कर्ट हर्ट इन्स्टीच्युटको सहकार्यमा हर्ट कमाण्ड सेन्टर स्थापना गरेको अस्पतालले सन् १९९९ मा न्युरोलोजी सेवा सुरु गरेको थियो। त्यसपछि सन् २००४ मा प्रसूति सेवा, २००५ मा युरोलोजी र सीटी स्क्यान सेवा, २००६ मा घुँडाको रिप्लेसमेन्ट सर्जरी, २००८ मा गंगादेवी चौधरी क्याथल्याब, २०१३ मा गाइनोलोजी र २०२२ मा मिर्गौला प्रत्यारोपण सेवा सरु गर्‍यो । यसबाहेक अस्पतालले सौन्दर्य तथा छाला रोग, मधुमेह तथा इन्डोक्राइनोलोजी, छाती तथा श्वासप्रश्वासजन्य रोग, बालबालिकाका स्वास्थ्य समस्या, ग्यास्ट्रोइन्टेरोलोजी, न्यूरोसाइकियाट्री, आइभीएफ, ओरल तथा म्याक्सिलोफेसियल, प्लास्टिक रिकन्सट्रक्टीभ सर्जरी, अर्थोपेडिक, पिडियाट्रिक अर्थोपेडिक, फिजियोथेरापीलगायतका सेवाहरु सञ्चालन भइरहेका छन् । ‘पछिल्लो समयमा अस्पतालमा विभिन्न जटिल समस्याको पनि सफल उपचार सम्पन्न भएका छन् । अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट उपचार गरिएको छ भने पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिबाट सफल उपचार भएको छ,’ अस्पतालले जनाएको छ। यस्तै, कलेजोको समस्या ‘बड चियारी सिन्ड्रोम’ को सफल उपचार गरिएको बताइएको छ । चिरफार नगरी मेरुदण्डको शल्यक्रिया पनि सुरु गरिएको छ। प्रि–हस्पिटल सेवाअन्तर्गत फोन आएको १० मिनेटभित्रै एम्बुलेन्ससहितको टिम बिरामी भएको ठाउँमा पुग्ने व्यवस्था मिलाइएको छ । यस्तै, नर्भिकले हेलिकोप्टर उद्धार सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । ‘स्थापनायताका तीन दशकभन्दा लामो अवधिमा हामीले २५ लाखभन्दा बढी बिरामीलाई सेवा दिइसकेका छौं । यसैगरी, नर्भिक अस्पताल विदेशी नागरिकका लागि पनि विश्वसनीय गन्तव्य बन्दै गएको छ । हालसम्म हामीले सातै महादेशका ३० भन्दा बढी मुलुकका नागरिकलाई गुणस्तरीय उपचार सेवा दिएका छौं,’  अस्पतालले भनेको छ।हाल १ सय ४० बेड क्षमतामा सञ्चालनमा रहेको अस्पतालले आफ्नो क्षमता वृद्धिका लागि अत्याधुनिक ८ तले भवन बनाउने क्रममा छ। सन् २०२५ भित्र सक्ने लक्ष्य राखिएको भवन निर्माणसँगै ३ सय बेडको क्षमता हुने बताइएको छ। अस्पताल सन् २०२१ को  जुलाइ १७ देखि पब्लिक लिमिटेडमा रुपान्तरण भएको छ र निकट भविष्यमै सर्वसाधारणका लागि शेयर जारी गर्ने समेत जनाएको छ। अस्पताल खोल्न उत्प्रेरित गर्ने घटनाउपचार सेवामा जोडिनका लागि बसन्त चौधरीलाई बाल्यकालका घटनाले उत्प्रेरित गरेको छ । सानोमा उनी बिरामी परिरहन्थे । उनलाई उपचारका लागि भारत लगिन्थ्यो । उनी सम्झिन्छन्, ‘त्यो बेला भारतमा पनि अहिलेको जस्तो राम्रो र सुविधा सम्पन्न अस्पताल थिएनन् । अस्पतालमा कर्पोरेट लगानी सुरु भइसकेको थिएन । सबैभन्दा राम्रो अस्पताल अल इन्डिया इन्स्च्युट अफ मेडिकल साइन्स (एम्स) मानिन्थ्यो । हामी त्यहीँ उपचारका लागि जान्थ्यौं।’ उनका अनुसार उक्त अस्पतालमा बिरामीको भीड छिचोलेर डाक्टरको समय पाउनै गाह्रो थियो । उनको उपचारका लागि उनका बुवा लुनकरणदास चौधरी हात जोडेर डाक्टरको पछि–पछि हिँडिरहेको दृश्य उनको मानसपलटमा ताजै छ । त्यस्तै, रस्साकस्सी थियो बेड पाउन । उनी सम्झिन्छन्, ‘बल्ल–बल्ल पाएको बेडमा पनि जताततै रगतका टाटा हुन्थे । मलाई उपचारका क्रममा त्यसैमा सुताइन्थ्यो।’ अस्पताल नजिककै रुखको छहारीमा उनकी आमाले खाना पकाउँथिन् । उपचार चलिरहेका दिनहरुमा त्यहीँ खाना पकाएर उनीहरु खान्थे । उनी १३/१४ वर्षका थिए त्यो बेला । यी घटनाले उनको मनमा गहिरो छाप बनाए । उनलाई लाग्न थाल्यो, ‘नेपालमै राम्रो अस्पताल भए त यस्तो दुःख पाइँदैनथियो।’उनी हुर्किंदै गए, दिल्लीमा आफ्नो उपचार गर्नुपर्दाका दृश्यले उनलाई त्यति नै बिझाउँदै गयो । स्वास्थ्य क्षेत्रमा केही काम गर्ने अठोट पनि पलाउँदै गयो । उनका बुवाले बेला–बेला भनिरहेका हुन्थे, ‘नेपालमा एउटा राम्रो उपचार केन्द्र चाहिन्छ ।’करिब ३२/३३ वर्षअघि उनका बुवालाई हृदयाघात भयो । वीर अस्पतालको आइसियूमा उपचार भइरहेको थियो । त्यो समय वीरको व्यवस्थापन अहिलेभन्दा पनि निकै अस्तव्यस्त थियो । उनले भने, ‘बुवाको उपचारका क्रममा हामीले निकै समस्या भोग्यौं । त्यो समस्याले मलाई नेपालमै सुविधा सम्पन्न अस्पताल खोल्ने हुटहुटी जाग्यो।’‘नर्भिक’ नामको अर्थ  र सुरुवातनर्भिक शब्दको आफैंमा कुनै अर्थ छैन । शब्दकोष हेरेर जुराइएको पनि थिएन । ‘नर्भिक’ नाम जुर्नुको कथा यस्तो रहेछ, एकपल्ट मेडिकल इक्युपमेन्टको व्यवसाय गर्ने सोच अनुरुप डा चौधरी भारत पुगेका थिए । पुनामा बस्ने उनका एक साथीको एम्सका तत्कालीन निर्देशक डा आरपी सिन्हासँग पारिवारिक सम्बन्ध थियो । पारिवारिक भेटका क्रममा डा सिन्हाले एकदिन भनेका थिए, ‘मेडिकल साइन्स नर्भ (नशा) माथि विजय प्राप्त गर्नु हो ।’ अर्थात् भिक्टरी ओभर नर्भ । यी दुई शब्दलाई मिलाएर चौधरीले अस्पतालको नामाकरण ‘नर्भिक’ गरे। सन् १९९३ मा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालिको नाममा अस्पताल दर्ता गरिएको थियो । डा नरेश त्रेहान अमेरिकाबाट भर्खर भारत फर्किएको समय थियो त्यो । डा त्रेहानसँग उनका दाजु विनोद चौधरीको राम्रो मित्रता थियो । उनले भारत फर्केर स्कर्ट अस्पताल खोलेको धेरै भइसकेको थिएन । उनी सम्झिन्छन्, ‘एक दिन कुरैकुरामा उहाँले नेपालमा पनि राम्रो अस्पताल खोल, हामी साथ दिन्छौं भन्नुभयो । त्यसपछि हामीले अस्पताल सञ्चालनको काम अगाडि बढाएका हौं।’ सुरुमा डाइग्नोस्टिक सेन्टर खोल्ने निधोमा उनीहरु पुगेका थिए । हाल एभरेस्ट अस्पताल रहेको नयाँबानेश्वरस्थित भवनमा भाडा पाएपछि डाइग्नोस्टिक सेन्टर मात्र नभई सानो अस्पतालकै रुपमा सेवा दिन सुरु गर्‍यो, चौधरी ग्रुपले । तर, त्यहाँबाट उपचार सेवा ६ महिनाभन्दा बढी दिन पाएनन् । चौधरी भन्छन्, ‘६ महिनामै हामीलाई भवन छाड्न वाध्य पारियो । त्यहाँबाट निस्केपछि पुतलीसडकबाट सेवा दिन थाल्यौं । तर, त्यहाँ पनि समस्या आयो । त्यसपछि हामी थापाथलीमा रहेको जेसिस भवनमा सर्‍यौं।’ जेसिस भवनमा अस्पताल सञ्चालन गरिरहँदा नर्भिक अस्पतालबाट पोलिक्लिनिकमा झर्‍यो । यो सन् १९९७ तिरको कुरा हो । त्यसपछि चौधरीलाई लाग्यो, अब यसरी  हुँदैन । कि त मैले नेपालमा राम्रो अस्पताल सञ्चालन गर्ने सपनाकै अन्त्य गर्नुपर्छ । कि त एउटा स्थायी स्थानमा प्रशस्त ठाउँ लिएर अघि बढ्नुपर्छ ।  आफ्नो सपनाको अन्त्य गर्न उनको मनले दिँदै दिएन । त्यसपछि थापाथलीमा जग्गा किनेर आफ्नै भवनबाट नर्भिक अस्पताल सुरु भयो । जुन आज पर्यन्त त्यहीँ छ । सन् १९९७ मा थापाथलीबाट सेवा दिन सुरु गरिएको चौधरी बताउँछन् । त्यसपछि उनले सन्तोषको सास फेरे । लक्ष्य लिए, ‘कुनै पनि हालतमा राम्रो उपचार सेन्टर बनाएरै छाड्छु।’ 
सामाग्री श्रोत :
swasthyakhabar

मुस्ताङ। विसं २०८१ मा चार हजार एक सय ३६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन्। यस अवधिमा सार्क राष्ट्रका दुई सय ३० जना र अन्य मुलुकका तीन हजार नौ सय छ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) लोमान्थाङले जनाएको छ।

कार्यालय प्रमुख उमेश पौडेलका अनुसार एक वर्षमा ७२ राष्ट्रका पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका हुन्। सबैभन्दा बढी असोज महिनामा सात सय ३४ जना र सबैभन्दा कम माघ महिनामा ३० जना पर्यटकले यहाँको भ्रमण गरेका छन्। अघिल्लो वर्ष विसं २०८० मा तीन हजार छ सय १३ जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए। त्यस अवधिमा सार्क राष्ट्रका ५२ र अन्य मुलुकका तीन हजार पाँच सय ६१ जनाले भ्रमण गरेका थिए। विसं २०८० को अनुपातमा विसं २०८१ मा पाँच सय १३ जना अर्थात् १२ दशमलव ६४ प्रतिशत बढी पर्यटक सङ्ख्या वृद्धि भएको एक्यापका कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो ।

सडक यातायात सहज भएकाले उपल्लो मुस्ताङमा पर्यटक आगमन वृद्धि हुन थालेको उनले बताए। मुस्ताङ जिल्लामा भित्रिने कुल विदेशी पर्यटक सङ्ख्याको करिब चार प्रतिशत मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेको पौडेलले बनाए।

रु २७ करोडभन्दा बढी राजस्व संकलन

उपल्लो मुस्ताङबाट गत वर्ष पर्यटक रोयल्टी शुल्कवापत रु २७ करोड २९ लाख राजस्व संकलन भएको छ। चालु वर्षको विदेशी मुद्राको औसत नेपाली मुद्रा अनुमानमा सरकारले उक्त राजस्व संकलन गरेको हो। चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा सूचीकृत गरेको छ। सीमा क्षेत्रमा अवान्छित गतिविधि हुनसक्ने भन्दै सरकारले यस क्षेत्रलाई निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा राखेको हो। यसैकारण मुस्ताङ भित्रिएका सीमित पर्यटक मात्रै उपल्लो मुस्ताङ पुग्ने गरेका छन्।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमाथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा राखेको छ। तल्लो मुस्ताङका दुई गाउँपालिका, बारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र कागबेनीसम्म पुग्नका लागि एक्यापले लिने प्रवेशआज्ञा शुल्कबाहेक अन्य शुल्क पर्यटकले बुझाउनुपर्दैन तर, कागबेनीदेखि माथि उपल्लो मुस्ताङ जाने पर्यटकलाई नेपाल सरकार अध्यागमन विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिस्वरुप पाँच सय डलर शुल्क लिने गरेको छ।

सरकारलाई शुल्क बुझाएर अनुमति लिएका विदेशी पर्यटकले १० दिन कटेपछि दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क बुझाउनुपर्ने प्रावधान छ। उपल्लो मुस्ताङको प्रवेश शुल्क महँगो भएकै कारण यहाँ विदेशी पर्यटकको उपस्थित न्यून भएको स्थानीय पर्यटन व्यवसायीको गुनासो छ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले यस क्षेत्रलाई निषेधित क्षेत्रको सूचीमा राख्दा पर्यटकीय हिसावले समस्या भएको बताए। सरकारले विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेवापत उठाउने राजस्वको कम्तीमा यसबाट पर्यटन व्यवसायीलाई मार परेको उनले बताए। ‘सीमा क्षेत्र हो, सुरक्षाको हिसाबले निषेधित क्षेत्रमा राखिनु गलत होइन तर निषेधित क्षेत्रले यहाँको पर्यटन चलायमान हुन सकिरहेको छैन, यसैकारण यहाँका युवा जति विदेशपलायन हुन थालेका छन्’, अध्यक्ष विष्टले भने।

उपल्लो मुस्ताङको पृथक भूगोल, ऐतिहासिक धर्मसंस्कृति, सहनसहन र मौलिकता अवलोकन गर्न विदेशी पर्यटक यहाँ आउने गरेको छन्। यहाँ तिब्बती संस्कृतिसँग मिल्दोजुल्दो पृथक धर्मसंस्कृति र परम्परा विद्यमान छ। लोमान्थाङमा सातौँ शताब्दीमा बनेको ऐतिहासिक लोमान्थाङ दरबार छ। त्यहाँका गुम्बा, माने, छोर्तेन पर्यटक आर्कषणका आधार हुन्। लोघेकर दामोदरकुण्डको मराङमा सातौँ शताब्दीमा निर्मित लोघेकर (घर) गुम्बा छ। उक्त गुम्बा गुरु पद्यसम्भवसँग सम्बन्धित छ।

यहाँ पुगेपछि लुरी गुम्बा, चराङ गुम्बा, ढाक्मरमा रातो पहाड, छोसेर गुफा, चिउसी गुफा, मुस्ताङ गेट, विश्वकै अग्लो ठाउँमा रहेको गल्फ खेल मैदानलगायत दर्जनौँ धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा अवलोकन गर्र्न पाइन्छ। यहाँ बर्सेनि तिजी र यार्तुङ पर्वमा विदेशी पर्यटकको उपस्थित बढी हुने गरेको छ।


सामाग्री श्रोत :

उपल्लो मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

काठमाडौं । चितवन रिसर्च एन्ड इलेक्ट्रोनिक्स सेन्टरले पुरानो, बिग्रिएर फालिएको स्कुटरलाई नयाँ विद्युतीय स्कुटरमा रूपान्तरण गरेको छ । इन्धनबाट चल्ने स्कुटरलाई करिब एक महिना लगाएर सेन्टरले विद्युतीय स्कुटरमा रूपान्तरण गरेको हो । यो स्कुटर हाल चितवनको भरतपुरमा जारी तेस्रो संस्करणको ‘मेड इन नेपाल एक्स्पो’ मा समेत प्रदर्शन गरिएको छ ।

सेन्टरका अध्यक्ष रवीन्द्र श्रेष्ठका अनुसार आफ्नै खर्चमा उक्त स्कुटर तयार पारिएको हो । श्रेष्ठसहित सेन्टरका अर्का सदस्य कोसिस कोइराला र अन्य ६ जनाको टोलीले स्कुटर बनाएका हुन् । विद्युतीय स्कुटरमा ४८ भोल्ट क्षमताको लिथियम-आयन ब्याट्री जडान गरिएको छ । यसले करिब ३५० किलोमिटर रेन्ज दिनसक्ने श्रेष्ठले जानकारी दिए । स्कुटरमा डिस्प्ले जडान भने बाँकी रहेको उनले बताए ।

यसअघि सेन्टरले २० वर्ष पुरानो महिन्द्राको बोलेरो गाडीलाई पनि विद्युतीयमा रूपान्तरण गरिसकेको छ । करिब तीन वर्षअघि सामाजिक विकास मन्त्रालयको युवा वैज्ञानिक प्रोत्साहन कोषमार्फत प्राप्त अनुदानबाट सो गाडी तयार पारिएको थियो ।

‘Project on Electric Conversion of a Diesel-Powered Mahindra Bolero into a Wildlife Safari Vehicle for use in Chitwan National Park’ नामक परियोजनाअन्तर्गत तयार पारिएको उक्त बोलेरो गाडी हाल चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालनमा छ ।

सेन्टरमा हाल ६ जना कर्मचारी कार्यरत रहेको र वर्कशपमार्फत बाहिरी सवारी साधनहरूमा समेत विद्युतीय रूपान्तरणको काम भइरहेको श्रेष्ठले जानकारी दिए ।

उनी भन्छन्, “परम्परागत डिजेल-पेट्रोल सवारीलाई विद्युतीय बनाउँदा केही पुराना पाटपूर्जा उपयोग गर्न सकिन्छ, तर धेरैजसो पाटपुर्जा भने विदेशबाट आयात गर्नुपर्ने हुन्छ ।” तर, पाटपूर्जा आयात गर्दा भन्सार शुल्क अत्यन्त महँगो हुने भएकाले स्कुटर रूपान्तरणको लागत पनि उच्च हुने उनी बताउँछन् ।

“नेपालमा विद्युतीय गाडी ल्याउँदा १० प्रतिशत मात्र भन्सार लाग्छ, तर विद्युतीय गाडीका पार्टपुर्जा ल्याउँदा ६० प्रतिशत भन्सार तिर्नुपर्छ,” श्रेष्ठले भने, “यदि पार्टपुर्जाको भन्सार शुल्क घटाइयो भने नेपालमै फालिएका पुराना गाडीलाई विद्युतीय रूपान्तरण गरेर बजारमा ल्याउन सकिन्छ ।”

श्रेष्ठले सरकारबाट स्पष्ट नीति बनेर विद्युतीय रूपान्तरण सवारी दर्ता र बिक्रीमा सहजीकरण गर्नुपर्ने माग गरे । “नीति नै नभएपछि सामान बनायो, चलाउनै नपाइने भयो भने कसरी काम अघि बढाउने ? मार्केटमा लैजान मिल्ने नीति बन्यो भने थुप्रै पुराना गाडीहरू विद्युतीय बनाउन सकिन्छ,” उनले थपे ।

चितवनमा भइरहेको उक्त एक्स्पोमा पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पनि सेन्टरले बनाएको स्कुटर चलाएकी थिइन् । उनले स्कुटर चलाएको अनुभव सोमबार आफ्नो फेसबुकमार्फत सेयर गर्दै हालको कानुनले पेट्रोलियमबाट विद्युतीयमा रूपान्तरण गरिएका सवारीसाधनको दर्ता गर्न नदिने व्यवस्था रहेको उल्लेख गरेकी छिन् ।

सांसद श्रेष्ठका अनुसार अहिले संसदमा गैरसरकारी विधेयक (Private Bill) दर्ता गर्ने तयारी भइरहेको छ र मस्यौदा पनि बनेको छ । उनले उक्त मस्यौदामा सुधारको सुझाव दिन आग्रह समेत गरेकी छिन् ।

के छ नेपालको कानुन ?

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सवारीमा स्वीकृति बिना हेरफेर गर्न नपाइने व्यवस्था छ । सो दफामा भनिएको छ, “सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रङ, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन हुने गरी हेरफेर गर्नुहुँदैन ।”

सामान्य परिवर्तनका लागि स्वीकृति लिन सकिए पनि सवारी निर्माता कम्पनीले बनाएको स्पेसिफिकेसन अनुसार ठूला हेरफेर स्वीकृत नगर्ने प्रावधान ऐनमा छ ।

२०७८ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सकिने व्यवस्था भने मिलाएको छ । तर विद्युतीयमा रूपान्तरण भएपछि त्यसलाई सञ्चालन अनुमति दिने सुस्पष्ट कानुन हालसम्म बनेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १९:१३





सामाग्री श्रोत :
टेक पाना

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जले आजदेखि जङ्गल सफारी सुरु गरेको छ। 

निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट सुरु भएको जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिएको बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले जानकारी दिएका हुन्। 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताए।  “यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको हो”, उनले भने। 

Ncell 2
Ncell 2

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जङ्गल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो ,बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको बताउनुभयो। निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारी कार्यक्रमले सघाउ पुग्ने उल्लेख गर्दै रेग्मीले वन सप्ताहअन्तर्गत मङ्गलबार पनि जङ्गल सफारीको कार्यक्रम रहेको बताए। 

सफारी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, नेचर गाइडलगायत सफारीमा सहभागी थिए। 

shivam cement
shivam cement

विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ््ख्या बढेर २५ पुगेको थियो। जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन्। 

करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन्। मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ। पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

जनकपुरधाम। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्षको शैक्षिक सत्र सुरु हुनु अगावै रु आठ करोड बराबरको करिब पाँच लाख ८७ हजार थान पुस्तक बिक्री गरेको छ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगाडि नै पाठ्यपुस्तक आएकाले बिक्री वितरण सुरु गरिएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिए।

शैक्षिक वर्ष २०८२ का लागि रु २५ करोड वरावरको २३ लाख ७० हजार थान पुस्तक बिक्री वितरण गरिने लक्ष्य केन्द्रको थियो। हाल नौ लाख १३ हजार नौ सय ७६ थान पुस्तक गोदाममा सुरक्षित रहेको सो कार्यालयले जनाएको छ। विद्यालयलाई तोकिएका विभिन्न ९६ वटा वितरकमार्फत पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको प्रमुख खनालले जानकारी दिए। कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा र बारालगायत जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्दै आएको छ।

विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गर्दा बालबालिकाको अध्ययन अध्यापनमा समस्या रहेको थियो। यसअघि सो कार्यालयले गत वर्ष रु २३ करोड ३० लाख बराबरको किताब बिक्री गरेको थियो। कार्यालयले त्यसअघि शैक्षिक सत्र २०८० मा रु २६ करोड बराबरको किताब बिक्री गरेको थियो।

प्राथमिक तहमा अनिवार्य शिक्षा तथा माध्यमिक तहमा निःशुल्क शिक्षा दिने संघीय सरकारको नीति रहेको छ। तोकिएका बिक्रेताबाट विद्यायलले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएको छ।


सामाग्री श्रोत :

आठ करोड बराबरको किताब बिक्री

काठमाडौँ । विन्डोज ११ को नयाँ अपडेट (24H2) पछि केही प्रयोगकर्ताको सिस्टम ड्राइभ अर्थात् सी ड्राइभमा एउटा खाली फोल्डर ‘inetpub’ देखिन थाल्यो । धेरैलाई यो अनौठो लाग्यो, र केहीले त खाली र निरर्थक ठानेर डिलिट नै गरे । तर माइक्रोसफ्टले यो फोल्डर गल्तीले नबनेको भन्दै डिलिट नगर्न आग्रह गरेको छ ।

यो फोल्डर वास्तवमा एउटा सुरक्षामा सुधारका लागि (security fix) ल्याइएको हो । माइक्रोसफ्टका अनुसार यसले विन्डोजमा रहेको एउटा सुरक्षासम्बन्धी कमजोरीबाट बचाउँछ, जसका कारण कुनै लोकल आक्रमणकारी (local attacker) ले सिस्टमका संवेदनशील फाइल वा फोल्डरमा पहुँच पाउन सक्थ्यो।

“यो फोल्डर तपाईँको सिस्टम ड्राइभमा अपडेट गरेपछि बन्नेछ, र यो हटाउनु हुँदैन – चाहे तपाईँले इन्टरनेट इन्फरमेसन सर्भिस (IIS) प्रयोग गर्नु भएको होस् या नभएको होस् ।”

यसको मतलब, तपाईँ आईआईएस प्रयोगकर्ता हुनुहुन्छ कि हुनुहुन्न भन्नेमा फरक पर्दैन । यो फोल्डर रहनै पर्छ । यदि यो छैन भने तपाईँको कम्प्युटर अझै पनि उक्त सुरक्षा कमजोरीको जोखिममा हुनेछ ।

पहिल्यै फोल्डर डिलिट गरिसक्नु भएको त छैन ?

यदि तपाईँले पहिले नै यो फोल्डर डिलिट गर्नुभएको छ भने, तपाईँले यसलाई फिर्ता ल्याउनुपर्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

१. सबैभन्दा पहिला कन्ट्रोल प्यानल खोल्नुहोस् ।

२. प्रोग्राम्स हुँदै प्रोग्राम्स एन्ड फिचर्समा जानुहोस्

३. अब बाँया पट्टि रहेको ‘टर्न विन्डोज फिचर्स अन अर अफ’ भन्ने विकल्पमा क्लिक गर्नुहोस् ।

४. खुल्ने सूचीमा ‘इन्टरनेट इन्फरमेसन सर्भिसेस’ खोज्नुहोस् र सँगैको बक्समा टिक लगाउनुहोस् ।

५. अन्त्यमा ओके थिच्नुहोस् । यति गरेपछि ‘inetpub’ नामक फोल्डर फेरि बन्नेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १९:२०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा माओवादी केन्द्रले पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रीत जनतासँग तराई मधेस जागरण अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारबाट पुन: सुरु भएको छ।

नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । अभियान लागि पुगेका प्रचण्डसहितका नेताहरुलाई गैडाकोट नेता कार्यकर्ताले स्वागत गरेका छन् ।

Ncell 2
Ncell 2

अभियानलाई नवलपुरको गैडाकोटमा भव्य स्वागत गरिएको छ। अध्यक्ष प्रचण्ड लगायतका नेताहरू सोमबार र मंग्लबार नवलपुरमा रहने छन्। 

shivam cement
shivam cement

गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेपछि पुन पार्टी अभियानमा अध्यक्ष प्रचण्डसँगै हिँड्न थालेका हुन् ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताएका छन्।

नगरकोटको बतासे डाँडामा आज आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताए।

‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हुन्। आर्थिक वृद्धिका लागि यी क्षेत्रमा विद्यमान समस्या समाधान गरेर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको प्राथमिक दायित्व हो। रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्द्धन गरी औद्योगिकरणलाई बढावा दिनु पनि उत्तिकै जरूरी छ’, राष्ट्रपति पौडेलले भने, ‘न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैले भूमिका खेलौँ।’

सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्रपति पौडेलले यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको बताए।

उनले भने, ‘पर्यटकीय उपजहरूको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको समन्यायिक वितरण सुनिश्चित गर्न आवश्यक छ। पर्यटकीय वस्तुको विकास, बजारीकरण र सहज पहुँचको व्यवस्था गरी नेपाललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्दछ।’

राष्ट्रपति पौडेलले काठमाडौंको उकुसुमुकसबाट उम्केर प्रकृतिमय क्षण व्यतित गर्ने उत्कट चाहना राख्नेका लागि नगरकोट नजिकको रोजाइस्थल भएको उल्लेख गर्दै यो क्षेत्र संस्कृति, प्रकृति, इतिहास र भौगोलिक आकर्षणका लागि गौरव भएको उल्लेख गरे। ‘जसले देश विदेशमा चिनाउन र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योगदान दिएको छ। यसलाई अझै विकसित, आधुनिक र सुविधा सम्पन्न बनाउन स्थानीय बासिन्दा, उद्यमी, पर्यटन व्यवसायीसहित संघ, प्रदेश र विशेषत यहाँका चारवटै नगरपालिकाको सहकार्य बढी अपेक्षित रहेको मैले ठानेको छु’, उनले भने।

राष्ट्रपति पौडेलले उत्तरतर्फका सुन्दर हिमश्रृङ्खला, सूर्योदय र सूर्यास्त एवं सुन्दर काठमाडौं उपत्यका अवलोकनको लागि स्वदेशी तथा विदेशी पर्यटकबीच नगरकोटको महिमा अधिक रहेको उल्लेख गरे। ‘यसको निकटमा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर, पौराणिक प्रसङ्ग जोडिएको महादेव पोखरी, मञ्जुश्री गुफा, ऐतिहासिक भङ्गेरी र पुतली दरबार, शङ्खरापुर नगरपालिकाको प्रसिद्ध शालीनदी तथा बज्रयोगिनी माईको मन्दिर एवं साँखु बजारको ऐतिहासिक, पुरातात्विक सम्पदासँगै यसलाई केन्द्रमा राखेर विस्तार हुँदै गएको पदयात्रा मार्गले यहाँको पर्यटकीय गतिविधिलाई बढाएको छ’, उनले भने।

नगरकोटलाई मूलविन्दु बनाएर चारवटै नगरपालिकाले आ–आफ्नो क्षेत्रका सम्पदा एवं ऐतिहासिकस्थलको प्रवर्द्धन गर्न अगाडि बढ्नु प्रशंसनीय रहेको भन्दै राष्ट्रपति पौडेलले पर्यटन पूर्वाधारको विस्तार र सहज आवागमनका लागि सडकको स्तरोन्नति गर्नेतर्फ ध्यान दिन जरूरी रहेको बताए। उनले नगरकोट भ्रमण वर्षले विकासको प्रमुख आधारशीला पर्यटन क्षेत्रबाट लाभ लिएर मुलुकको आर्थिक समृद्धिमा योगदान दिने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले नयाँ वष–२०८२ को अवसरमा जनताको चाहनाअनुरुप शान्ति, दिगो विकास, समावेशी समाज, आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित राष्ट्र निर्माणको अभियानमाा जुट्न यो दिनले सबैलाई प्रेरणा देओस् भन्ने कामना गरे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोटको ऐतिहासिक, सम्पदा, पर्यटकीय स्थललगायतको महत्व अधिक रहेको चर्चा गर्दै भ्रमण वर्षले यस क्षेत्रसँग जोडिएका चार पालिकसँगै धुलिखेल, पनौती, नमोबुद्ध, शिवपुरी, चन्द्रागिरिसम्म पर्यटनको विकास हुने बताए। महाभूकम्प र कोेरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र पछिल्लो समय सुधारोन्मुख रहेको भन्दै उनले तीन तहलाई चलायमान बनाउँदै आर्थिक वृद्धि र लगानीमैत्री वातावरण बनाउन सरकार अगाडि बढिरहेको बताए।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले नगरकोट हिमाल, सूर्योदय, सूर्यास्त हेर्न मात्रै नभई ‘स्काई’ पर्यटन र काभ्रेमा जलपर्यटन सुरु गर्न लागिएको बताए। बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले नगरकोटमा पर्यटक भित्र्याउन भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने बताए।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरकोटलाई केन्द्रविन्दु बनाएर सुरु भएको भ्रमण वर्षले यहाँको मात्र नभई देशभरकै आर्थिक विकासलाई चलायमान बनाउने धारणा राखे। उनले नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने बताए।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले चाँगुनारायण, मण्डन देउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रूपमा आयोजना गरेको भ्रमण वर्षले यहाँको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।


सामाग्री श्रोत :

अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छः राष्ट्रपति पौडेल

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट