
काठमाडौं । आइतबारदेखि फेसबुक, टिकटक र एक्स लगायतका सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । भिडिओमा प्रहरीले एक व्यक्तिलाई विमानस्थलबाट बाहिरतिर लगिरहेको देखिन्छ । भिडिओमा उक्त घटना कहिले र कहाँ भएको हो तथा प्रहरीले पक्राउ गरेका व्यक्ति को हुन् र उनलाई किन त्यसरी ट्याक्सी पार्किङबाट भित्र लगिएको हो भन्ने विषयहरू स्पष्ट छैनन् ।
यो भिडिओ सामाजिक सञ्जालमा राख्ने अधिकांश प्रयोगकर्ताले एउटै क्याप्सन कपी-पेस्ट गरेको पाइएको छ । क्याप्सनमा प्रायः सबैले भिडिओ भाइरल भइरहेको छ भन्ने वाक्य उल्लेख गरेका छन् । केहीले भने प्रहरीलाई गाली गर्दै कारबाही गर्नुपर्ने माग गरिरहेका छन् ।
भिडिओमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार देखिन्छ । त्यहीँ नजिक भएको ट्याक्सी पार्किङ स्थलबाट एक व्यक्तिलाई तीन प्रहरीले युवकलाई समाउँदै विमानस्थलभित्र लग्दै गरेको देखिन्छ ।
विमानस्थलभित्र लग्दै गर्दा ती युवक बेलाबेला प्रहरीसँग झर्किरहेका देखिन्छन् । विमानस्थलभित्र लगिसकेपछि युवक र प्रहरीबिच केहीबेर धक्का-मुक्का भएको देखिन्छ । यही दृश्यलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रहरीको आलोचना गरिरहेका छन् ।
यस विषयमा बुझ्न टेकपानाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक लालध्वज सुवेदीलाई सोमबार भिडिओ उपलब्ध गराई त्यसको वास्तविकता बताउन अनुरोध गर्यो ।
“हामीले त्यो भिडिओ हेर्यौं । त्यसलाई सीसीटीभीमा पनि दाँजेर हेर्यौं,” प्रहरी उपरीक्षक सुवेदीले भने, “त्यो शनिबारको घटना रहेछ ।”
भिडिओमा प्रहरीले नियन्त्रणमा लिएका युवक शनिबार विदेश (नाम खुलिसकेको छैन) बाट ११ बजे नेपाल फर्किएका थिए । प्रहरी उपरीक्षक सुवेदीका अनुसार विमानबाट झरिसकेपछि युवक भन्सार कार्यालयमा सामान जाँचका लागि गएका थिए । “सामान जाँच गर्ने प्रक्रिया देखेर युवक हैरान भएका रहेछन् । शर्ट टेम्पर खालको मान्छे झनक्क रिसाइहाले,” उनले भने, “त्यसपछि युवक सामान लिएर ट्याक्सी पार्किङतिर लागे ।”
ट्याक्सी चालकसँग पनि युवकको विवाद भयो । त्यहाँ हानाहानको अवस्था आएपछि ड्युटीमा खटिएका प्रहरीले युवकलाई पार्किङबाटै नियन्त्रणमा लिएको हो । “नियन्त्रणमा लिएपछि पनि युवक प्रहरीसँगै जाइलागे । नियन्त्रण गर्न खोज्ने क्रममा केही धक्कामुक्की भएको हो,” सुवेदीले भने ।
विमानस्थल कार्यालयभित्र लगिसकेपछि युवककी श्रीमतीले प्रहरीसँग कुरा गरिन् । त्यसपछि प्रहरीले युवकलाई उनको श्रीमतीको जिम्मा लगाएर युवकलाई पठाएको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १३:२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेपाल विद्युत् प्राधिकरणले हावाहुरी तथा प्रतिकुल मौसमी कारणले केही स्थानहरूमा विद्युत् अवरुद्ध भएको जनाएको छ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रतिकुल मौसमको कारण छोटो समयका लागि विद्युत् अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने बताएको हो।
प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भएको भनेर अतिरञ्जित र भ्रामक प्रचार गरिएको दाबी समेत गरेको छ।
‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत् सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०२६ को बजेटमा राज्य विभागको बजेट लगभग आधा कटौती गर्ने योजना बनाएको छ। यसअनुसार लगभग ३० वटा अमेरिकी कूटनीतिक मिसनहरू बन्द गरिने सम्भावना छ र विदेशी सहयोगमा ठूलो कटौती गरिनेछ।सन् २०२६ को आर्थिक वर्षमा लगभग ३० अर्ब डलरको प्रस्तावित कटौतीलाई ‘प्यासब्याक’ भनिने दस्तावेजमा समेटिएको छ, जुन सेप्टेम्बर १ बाट सुरु हुने आगामी आर्थिक वर्षका लागि परराष्ट्र मन्त्रालयको बजेट मागप्रति ह्वाइट हाउसको बजेट कार्यालय ‘व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी)’ द्वारा दिइएको प्रतिक्रिया हो।राज्य विभागले संशोधनको अनुरोध गर्न सक्ने भएपनि, एक अमेरिकी अधिकारीका अनुसार अन्तिम संस्करणमा ‘सामान्य परिमार्जन’ मात्र हुने सम्भावना छ र यो कँग्रेसलाई स्वीकृतिको लागि पठाइनेछ, जहाँ केही रकम पुनः पुनर्स्थापित हुने सम्भावना रहन्छ।अहिलेसम्म अन्तिम निर्णय नभएको भएपनि, योजनाअनुसार अफ्रिका र युरोपमा अवस्थित कम्तीमा २७ वटा अमेरिकी मिशनहरू बन्द गरिने सिफारिस गरिएको छ। तीमध्ये १० वटा दूतावास हुन् भने बाँकी कन्सुलर कार्यालयहरू हुन्।यस योजनाको मुख्य उद्देश्य संघीय सरकारलाई तीव्र रूपमा सानो बनाउनु, खर्च कटौती गर्नु र हजारौं कर्मचारी हटाउनु हो। ट्रम्पको पहिलो कार्यकालमा पनि उनले अमेरिकी कूटनीति र सहयोग बजेटको एक तिहाइ कटौतीको प्रस्ताव गरेका थिए, तर कँग्रेसले त्यो प्रस्ताव अस्वीकार गरेको थियो।ओएमबीको ‘पासब्याक’ सारांश अनुसार, राज्य विभागको बजेट २०२६ मा ५४.४ अर्ब डलरबाट घटाएर २८.४ अर्ब डलर बनाइने प्रस्ताव छ।एसएआईडी र राज्य विभागद्वारा वितरण गरिने विदेशी सहयोग रकम ३८.३ अर्ब डलरबाट घटाएर १६.९ अर्ब डलर बनाउने योजना छ।ओएमबीको दस्तावेजअनुसार युएसएआईडी बन्द गरिनेछ र यसको केही कार्यहरू राज्य विभागमा विलय गरिनेछन्। झण्डै ५,००० कार्यक्रमहरू बन्द गरिएका छन्, सयौं ठेकेदारहरूलाई बर्खास्त गरिएको छ र हजारौं कर्मचारीलाई सेवा समाप्ति सूचना दिइएको छ।ठूला मानवीय सहायता र शरणार्थी कार्यक्रमहरू समाप्त गरिनेछ र नयाँ ‘अन्तर्राष्ट्रिय मानवीय सहायता कोष’मा डलर २.५ अरब र “राष्ट्रपति आपतकालीन शरणार्थी र आप्रवासन कार्यक्रम”मा डलर १.५ अरब सुरु गरिनेछन्।यो नयाँ दृष्टिकोणले ‘अमेरिकी नागरिकहरूको हित पहिलो’ राख्ने बताइएको छ।अफगानिस्तानबाट अमेरिकी सरकारको पक्षमा काम गरेका नागरिकहरूको उद्धार तथा पुनर्वास गर्ने ‘एन्ड्यूरिङ वेलकम’ कार्यक्रमका लागि भने कुनै बजेट नराखिएको उल्लेख गरिएको छ।फुलब्राइट कार्यक्रमजस्ता शैक्षिक र सांस्कृतिक कार्यक्रमहरू पनि पूर्ण रूपमा समाप्त गरिने प्रस्ताव छ।बन्द गरिने सम्भावना भएका १० वटा अमेरिकी दूतावासहरू यस्ता देशहरूमा छन्: इरिट्रिया, ग्रेनाडा, लेसोथो, सेन्ट्रल अफ्रिकन रिपब्लिक, लक्जेम्बर्ग, कङ्गो, गाम्बिया, दक्षिण सुडान, माल्टा र माल्दिभ्स।बन्द गर्न सिफारिस गरिएका १७ वाणिज्य दूतावासहरू मध्ये अधिकांश युरोपमा छन् भने बाँकी चार स्थानहरू दक्षिण कोरियाको बुसान, दक्षिण अफ्रिकाको डरबन, इन्डोनेसियाको मेडान, र क्यामरुनको डुआलामा छन्।जापान र क्यानडाका ठूला मिशनहरूलाई पनि समेटेर केही दूतावासहरू सानो बनाउने योजना रहेको बताइएको छ।सिफारिसअनुसार सोमालियाको मोगादिशु र इराकमा रहेका अमेरिकी पोस्टहरूको आकार घटाउने प्रस्ताव गरिएको छ। यी दुवै मिशनलाई ‘वासिङ्टनले सञ्चालन गर्ने अहिलेसम्मकै सबैभन्दा महँगो कूटनीतिक मिशन’ भनेर उल्लेख गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडाैं। भक्तपुरको मध्यपुरथिमीमा मंगलबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा मनाइएको छ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा अति प्रसिद्ध जात्रा हो।
थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो।

बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो। जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो।

यसैगरी विष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ। जात्रामा बालकदेखि वृद्ध वृद्धासम्म सहभागी थिए। सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठूलो जात्रा हो। जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेको छ।

यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी, र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरि टोल टोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ। मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दुरे जात्रा मनाइने परम्परा रहेको छ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ। जात्रामा काँया बाजा, भुस्याबाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली स्थानीय जात्रालुहरु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो।









सामाग्री श्रोत :
काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयबाट ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट लिन अबदेखि अनलाइनबाटै फाराम भर्न सकिने भएको छ । विश्वविद्यालयले मङ्गलबारदेखि विद्यार्थीहरूको लागि ट्रान्सकिप्टको अनलाइन फाराम खुलाएको हो ।
फारम भर्नका लागि विद्यार्थीले https://student.tuexam.edu.np/login मा आफ्नो रजिस्ट्रेसन नम्बर र जन्म मिति राखेर साइन अप गर्नुपर्नेछ । त्यसपछि विद्यार्थीहरूले युजर आईडी र पासवर्ड राखेर लगइन गर्न सक्नेछन् ।
त्यस्तै ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्नका लागि फाराम भरेरपछि तोकिएको शुल्क पनि अनलाइनबाटै भुक्तानी गर्न सकिनेछ । विश्वविद्यालयले गत वर्षदेखि नै अनलाइन सेवा सुरु गरेपनि प्राविधिक समस्या आएपछि बन्द गरिएको थियो ।
पहिले अन्य सर्भरबाट अनलाइन प्रणाली सञ्चालन गर्दा समस्या आएपछि विश्वविद्यालयकै सिस्टमबाट अनलाइन फाराम भर्ने काम सुरु गरिएको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
उनले भने, “अनलाइन फाराम भर्दा केही गल्तीहरू भेट्टिएन भने २४ घण्टा भित्र नै ट्रान्सक्रिप्ट प्रिन्ट गर्ने तयारी गरिरहेका छौँ । कति अनलाइन फाराम आउँछन्, त्यसपछि कति छिटो प्रिन्ट गर्न सकिन्छ भनेर थाहा हुन्छ ।”
यस्तै १५ जेठदेखि विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका सबै काम अनलाइनबाट नै सुरु हुने उनले जानकारी दिए । “विश्वविद्यालय अन्तर्गत क्याम्पस-क्याम्पसमा पनि यो प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको छ,” उनले भने ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ ११:४८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं –आवासीयष चिकित्सकका विषयमा अदालतमा रहेको महत्वपूर्ण मुद्दाको आज सुनुवाई हुँदैछ । आवासीय चिकित्सकहरूले पूर्वनिर्धारित परीक्षा सिटको सुनिश्चितता र हाम्रो मासिक रु ४८ हजार रुपैयाँ निर्वाह भत्तालाई लिएर अदालतमा मुद्दा दायर भएको छ ।
उक्त मुद्दामाथि आज सुनुवाई हुने सम्भावना रहेको छ । यसअघि भएको निर्णय कार्यान्वयनको माग राख्दै आवासीय चिकित्सक केही दिनदेखि आन्दोलित छन् । सरकारले आवासीय चिकित्सकलाई मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको दुई महिना बित्दा पनि कलेज सञ्चालकले सुनुवाई नगरेपछि उनीहरु काम छाडेर आन्दोलनमै उत्रिनुपरेको हो ।
चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई निर्वाह भत्ता ४८ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरेको हो । त्यसअघि उनीहरुले जम्मा १९ हजारदेखि २४ हजारसम्म मात्र निर्वाह भत्ता दिँदै आइरहेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा छात्रवृत्ति करारमा कार्यरत १२ जनाले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्। मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको पारिश्रमिक नपाएका हुन्।उनीहरुले वैशाख ३ गतेसम्म समस्या समाधान नभए इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी सहितको ध्यानाकर्षण पत्र बुझाएका छन्। सामूहिक हस्ताक्षर रहेको पत्रमा वैशाख ३ सम्म तलबभत्ता उपलब्ध गराउन माग गरिएको छ। तलबभत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेका छन्। उक्त कार्यालयमा काम गरेर बाहरिरिएका ३ मेडिकल अधिकृत र १ डेन्टल सर्जन गरी ४ जनाले पनि तलबभत्ता नपाएका छैनन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाल प्रहरीले नयाँ आइजीपी पाएको एक महिना बितिस्क्दा पनि विभागीय प्रमुखहरुले पूर्णता पाउन सकेका छैनन्।
संगठनले नयाँ आइजीपी पाएको एक महिनासम्म रिक्त रहेको ६ एआइजीको दरवन्दीमा बढुवा प्रकृया अघि नबढाउदा विभागीय प्रमुखले गर्ने काम अल्झिएको छ। ‘कमाण्ड कन्ट्रोल गर्ने फौजमा विभागीय प्रमुख नहुँदा निकै अप्ठेरो भएको छ’, प्रहरी प्रधानकार्यालयका एक अधिकृतले भने।
नेपाल प्रहरीको ऐन समयमा नबन्ने हो भने अबको पाँच महिनापछि हुने आईजीपीको लडाइले एक महिनासम्म एआइजी बढुवामा अवरोध चलिरहेको छ।
त्यही बेलाको नेतृत्वलाई लिएर अहिलेको बढुवामा ठूलै प्रतिस्पर्धा चलिरहेको गृहमन्त्रालयका एक अधिकारीको दावी छ। ती अधिकारीका अनुसार अहिले प्रहरीमा दुई व्याचको टसल छ। सरकारले पनि यी दुई व्याचको टसललाई लिएर एआइजी बढुवालाई रोकिरहेको छ।
नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)को ६ दरबन्दी खाली भएको करिब एक महिना बित्यो। ४ चैत राति १२ बजेबाट एआईजीहरु टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएपछि पाँच एआईजीको दरबन्दी खाली भएको हो भने एआइजी दीपक थापा आइजीपीमा बढुवा भएपछि अर्को एक गरी अहिले ६ सीट पुगेको छ।
तर सरकारले अहिलेसम्म एआइजी सिफारिस गर्न सकेको छैन। ६ एआईजीको दरबन्दी रिक्त भएको २८ दिन पूरा भइसकेको छ। तर अहिलेसम्म एआईजी बढुवाका गृहमन्त्रालयले सिफारिस गर्न सकेको छैन। नेपाल प्रहरीमा अहिले दुई मात्रै एआईजी छन्। जसमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा टेकबहादुर तामाङ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सुदीप गिरी छन्।
नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ एआईजीको दरबन्दी छ। तर ६ वटा विभाग भने अहिले एआईजीविहीन छन्। जसमा, मानव स्रोत विभाग, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, प्रदेश समन्वय विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) एआईजीविहीन छन्।
‘मुख्य ठाउँ नै खाली रहेको छ’, प्रहरी प्रधानकार्यालयले भन्यो। लामो समयसम्म प्रहरीका उच्च पदहरु खाली हुँदासमेत बढुवा प्रक्रिया अघि बढ्न नसक्दा प्रहरीको वृत्तिविकासमा समेत असर परिरहेको छ।
एआईजी बढुवाका लागि गृहसचिवको नेतृत्वको बढुवा सिफारिस समिति रहने व्यवस्था छ।
प्रहरी नियमावली २०७१ को दफा २७ (१) को (क) अनुसार बढुवा सिफारिस समितिमा गृहसचिवका साथै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सचिव (सदस्य) र प्रहरी महानिरीक्षक (सदस्य सचिव) रहने व्यवस्था छ। यो बढुवा सिफारिस समितिले अहिलेसम्म एआईजीको बढुवाको गृहकार्य गरेर सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन।
विद्यमान प्रहरी नियमावलीअनुसार आगामी १८ भदौ २०८२ को गते राति १२ बजेबाट आईजीपी दीपक थापा अनिवार्य अवकाशमा जान्छन्। यदि ऐन पास नभएको अवस्थामा ६ महिनापछि बन्ने आईजीको सम्भावित ढोकासमेत अहिलेको एआईजी बढुवाले खोल्नेछ।
त्यतिमात्रै होइन, ६ महिनापछि २ महिनाका लागि आईजीपी भन्ने र त्यसपछिको आईजीपी को बन्ने भन्नेसम्म अहिलेको बढुवाले धेरै अर्थ लाग्छ। एआईजीको बढुवामा सीआईबीमा कार्यरत डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशमा कार्यरत लालमणि आचार्य, बागमती प्रदेशमा कार्यरत कृष्णहरि शर्मा मुख्य प्रतिस्पर्धामा छन्।
उनीहरु २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका टोलीहरु हुन्। एआईजी बढुवाको दाबेदार रहेका खापुङ र आचार्य २० चैत २०७९ मा डीआईजी बढुवा भएका थिए। शर्मा भने गत जेठमा डीआईजी बनेका थिए।
आचार्य भने एआईजीमा बढुवा भए पनि ५६ वर्षे उमेरहदका कारण उनी यसअघि नै अवकाशमा जाने भएकाले उनी आईजीको प्रतिस्पर्धामा रहँदैनन्। यो ब्याचका बाँकी दुई जना खापुङ र शर्मा एआईजीमा बढुवा भएको अवस्थामा उनीहरुमध्येबाट एक जना (१९ भदौदेखि २६ कात्तिकसम्म) दुई महिनाका लागि आईजीपी बन्ने बाटो खुल्छ।
जसका कारण पनि उनीहरु अहिले जसरी पनि पहिलो नम्बरमै बढुवा हुने लबिङमा छन्। खापुङ र शर्मामध्ये एक जनामात्रै अहिले एआईजीमा बढुवा भएको अवस्थामा उनैलाई दुई महिनाका लागि आईजी बन्ने बाटो खुल्नेछ।
उनीहरु तीन बाहेक एआईजी बढुवामा लुम्बिनी प्रदेशनका डीआईजी दानबहादुर कार्की, प्रहरी एकेडेमीमै कार्यरत रहेका डा मनोज केसी, कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारी, विशेष ब्यूरो प्रमुख सिद्धिविक्रम शाह, प्रशासन विभागमा रहेका सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक एआईजी बढुवाको प्रतिस्पर्धामा छन्।
४ जेठ २०८१ मा कार्की, केसी र अधिकारी डीआईजी बढुवाका लागि सिफारिस भएका थिए। उनीहरु तीनै जना १८ चैत २०५४ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। त्यतिबेला उनीहरुभन्दा सिनियर ब्याच (५ पुस २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका) का शाह, राठौर, चतुर्वेदीलगायत बढुवामा छुटेका थिए।
सामाग्री श्रोत :
भावी आइजीपी बन्ने लडाइँले बढुवा रोकिँदा नयाँ आइजीपी आएको महिनादिनसम्म विभागीय प्रमुख रिक्त
काठमाडौँ । डिजिटल जमानामा काम गर्ने तरिका पनि फेरिँदै छ । अब काम गर्न कम्प्युटर वा ल्यापटपको अगाडि बसिरहनु पर्दैन । तपाईं जहाँ भएपनि मोबाइलबाटै आफ्नो अफिसको कम्प्युटर चलाउन सक्नुहुन्छ । कलेजको प्रोजेक्ट कम्प्युटरमै सेभ छ भने मोबाइलबाटै हेर्नु सक्नुहुन्छ । वा टिभी हेर्दै मिडिया प्लेयर कन्ट्रोल गर्न सकिन्छ । यसले सुविधासँगै तपाईंको समय र ऊर्जा पनि बचाउँछ ।
सामान्यतया हामी मोबाइललाई सामाजिक सञ्जाल हेर्न, गेम खेल्न र फोन कल गर्न प्रयोग गर्छौं । तर, धेरैलाई थाहा यही मोबाइल फोनले पीसी वा म्याक चलाउन सकिन्छ भन्ने थाहा छैन । यही सन्दर्भमा आज हामी तपाईंका लागि मोबाइलबाटै कम्प्युटर चलाउने पाँच उपयोगी, भरपर्दो र स्मार्ट तरिकाबारे जानकारी दिँदैछाैँ:
१. क्रोम रिमोट डेस्कटप (Chrome Remote Desktop)
गुगलको यो निःशुल्क र भरपर्दो एप प्रयोग गरी मोबाइलबाट पीसी र म्याक दुबै चलाउन दिन्छ । यसका लागि यी बेसिक तरिका अपनाए पुग्छ:
-
क्रोम ब्राउजरमा ‘Chrome Remote Desktop’ एक्सटेन्सन इन्स्टल गर्नुहोस् ।
-
मोबाइलमा पनि यही एप डाउनलोड गर्नुहोस् ।
-
एउटै गुगल एकाउन्टले दुवै डिभाइस साइन इन गरेपछि आफ्नो कम्प्युटर मोबाइलमै देख्न सक्नुहुन्छ ।
एक पटक सेटअप गरेपछि तपाईं मोबाइलमा माउस कन्ट्रोल, किबोर्ड टाइपिङ, फाइल खोल्ने, एप चलाउने, मिडिया कन्ट्रोल गर्ने जस्ता सुविधा सजिलै लिन सक्नुहुन्छ । भिडिओ क्वालिटीदेखि फ्रेमरेट, सेसन भ्यु सबै कस्टमाइज गर्न सकिने भएकाले यो धेरैको रोजाइमा पर्ने गरेको पाइन्छ ।
२. टिमभ्युअर (TeamViewer)
विश्वभर चर्चित टिमभ्युअर मोबाइलबाट कम्प्युटर चलाउन मात्रै होइन, रिमोट सपोर्ट दिन पनि मिल्छ । कतै समस्या परेमा टाढाबाट साथीलाई सपोर्ट दिन टिमभ्युअर काम लाग्छ । मोबाइलमा पनि टिमभ्युअरको एप हुन्छ । कम्प्युटरमा TeamViewer इनस्टल गरेर ID र पासवर्ड राखेपछी मोबाइलबाट सजिलै कनेक्ट गर्न सकिन्छ । इन्टरनेट स्पिड कम हुँदा ‘Optimize speed’ सेटिङ अन गर्दा स्क्रिन केही धमिलो देखिए पनि कन्ट्रोल स्मुथ हुन्छ । यदि बारम्बार कनेक्ट गर्नु छ भने ‘Unattended Access’ सेट गर्दा पासवर्ड पटक–पटक हाल्न नपर्ने सुविधा पाइन्छ ।
-
Windows, macOS, Linux, Android सबैमा काम गर्छ ।
-
मोबाइलबाट कम्प्युटर कन्ट्रोल गर्दा च्याट र भ्वाइस कल सुविधा पनि छ ।
-
फाइल ट्रान्सफर, स्क्रिन सेयरिङ र रिमोट सेटिङ कन्ट्रोल गर्न सकिन्छ ।
३. एनीडेस्क (AnyDesk)
एनीडेस्क पनि क्रोम रिमोट डेस्कटप र टिमभ्युअर जस्तै एप हो । तर यो अझ लो लेटेन्सी र उच्च सुरक्षाका लागि चर्चित छ । एनीडेस्कले कम्प्युटरको स्क्रिन मोबाइलमा बिलकुलै सजिलै देखाइदिन्छ । डेस्कटप आईडी मोबाइलमा बुकमार्क गर्न सकिन्छ, ताकि बारम्बार आईडी खोज्न नपरोस् । यदि इन्टरनेट स्पिड कम छ भने फ्रेम रेट घटाउन सकिन्छ र काम स्मुथ गराउन सकिन्छ । रिमोट एक्सेस सुरक्षा संवेदनशील विषय भएकाले पासवर्ड सधैं बलियो राख्न नभुल्नुहोला ।
-
लो लेटेन्सीमा पनि राम्रो चल्छ
-
अनलाइन कनेक्सन कमजोर हुँदा समेत काम गर्ने
-
डेटा सुरक्षामा ध्यान दिइएको एप
४. स्प्लाशटप (Splashtop)
स्प्लाशटप एप खासगरी भिडिओ हेर्न, गेम खेल्न वा मिडिया कन्ट्रोलका लागि बढी काम लाग्छ । यो एपले लो लेटेन्सीमा राम्रो रेस्पोन्स दिन्छ । भिडिओ चलाउँदा ‘High Performance Mode’ अन गर्नुभयो भने स्क्रिन क्लियर देखिन्छ । तर मोबाइल डेटामा चलाउँदा ‘Low Quality Mode’ राख्दा डेटा पनि बच्छ र कनेक्सन पनि स्मुथ हुन्छ ।
-
Game वा भिडियो चलाउँदा ‘High Performance Mode’ अन गर्नुहोस्
-
हटस्पट कनेक्शनमा काम गर्दा ‘Low Quality Mode’ प्रयोग गर्नुहोस्
-
यदि आवाज चाहिंदैन भने कनेक्सन सेटिङमा Audio Routing अफ गर्न सक्नुहुन्छ ।
५. रस्टडेस्क (RustDesk)
रस्टडेस्क ओपन सोर्स एप हो । सुरक्षाका हिसाबले यो एप बढी मन पराइन्छ । यसको सबै डेटा प्राइभेट सर्भरबाट चलाउन सकिन्छ । तर रस्टडेस्क इनस्टल गर्दा कम्प्युटरको फाइरवाल पर्मिसन दिन जरुरी हुन्छ । यदि इन्टरनेट कमजोर छ भने ‘Low Quality Mode’ राखेर काम गर्दा राम्रो रेस्पोन्स आउँछ । तर रस्टडेस्कको एपीके फाइल चाहिँ विश्वसनीय साइटबाट मात्र डाउनलोड गर्न आवश्यक छ ।
-
एपीके फाइल डाउनलोड गर्दा विश्वासिलो साइटबाट मात्र लिनुहोस् । अफिसियल साइट वा गिटहबबाट डाउनलोड गर्न सक्नुहुन्छ ।
-
Firewall Permission दिन नबिर्सनुहोस् । कम्प्युटरमा रस्टडेस्क चलाउँदा Firewall अनुमति दिनुपर्ने हुन्छ, नत्र कनेक्ट हुँदैन ।
-
‘Low Quality Mode’ एक्टिभ गर्नुहोस् । यदि इन्टरनेट स्पिड कम छ भने यसले भिडियो क्वालिटी घटाएर कन्ट्रोल स्मुथ बनाउँछ ।
यी सबै एप चलाउँदा केही कुरा सधैं ध्यान दिनुपर्छ । मोबाइल र कम्प्युटर दुवैलाई एकै वाईफाई नेटवर्कमा जोड्दा कनेक्सन अझ राम्रो हुन्छ । मोबाइल डेटामा चलाउँदा इन्टरनेट स्पिड कम हुने र डेटा छिट्टै सकिन सक्छ । ‘Remote Session’ सकिएपछि एप बन्द गर्न नभुल्नुहोला । किनभने ब्याकग्राउन्डमा खुलेर छाड्दा डेटा खर्चिन्छ र मोबाइल स्लो हुन सक्छ ।
यदि कुनै प्रोजेक्ट फाइल, मिडिया वा पावरप्वाइन्ट प्रिजेन्टेसन मोबाइलबाट कन्ट्रोल गर्नुपर्नेछ भने मोबाइलमा पनि सम्बन्धित एप राखेर चलाउन सकिन्छ । मोबाइलबाट स्लाइड स्क्रोल, मिडिया स्टार्ट, स्टप वा फाइल एडिट गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १०:१४
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनु पर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले गर्दा निरन्तरता दिन नसके पनि आजबाट उक्त सेवालाई निरन्तरता दिइएको बताइएको छ ।
वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने एक सूचनामार्फत जानकारी दिइएको छ । यो संगै अब विद्यार्थीहरुले आफ्नो प्रमाणपत्र अनलाईनबाटै प्राप्त गर्ने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









