काठमाडौँ । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको भुक्तानी म्याद थप गर्ने प्रक्रियामा नयाँ व्यवस्था लागु गरेको छ । यसअगाडि कुनै पनि प्रयोगकर्ताको पैसा तिर्ने समयावधि सकिएपछि कम्पनीले स्वतः तीन दिनका लागि इन्टरनेट सेवा विस्तार गर्ने व्यवस्था थियो । अब भने कम्पनीले उक्त नियम परिवर्तन गर्दै प्रयोगकर्ताले आफैँले सेवा अवधि थप गर्ने सुविधा सुरु गरेको छ ।
कम्पनीका अनुसार इन्टरनेटको भुक्तानी म्याद सकिएर सेवा बन्द भएपछि प्रयोगकर्ताले चाहेको खण्डमा ‘माई वर्ल्डलिंक’ एप वा एसएमएसमार्फत तीन दिनका लागि समय थप गर्न सक्नेछन् ।
“यस अघिसम्म कुनै ग्राहकको पैसा तिर्ने अवधि सकिएर सेवा डिसेबल भएको दिन कम्पनीले स्वतः तीन दिन थप गरिदिने गरेको थियो,” कम्पनीका एक प्रतिनिधिले भने, “तर, अब इन्टरनेटको बिल भुक्तानी गर्ने दिन समाप्त भएर इन्टरनेट डिसेबल भएपश्चात् ग्राहक आफैँले कम्पनीको एप तथा एसएमएस मार्फत समय थप गर्न सक्नेछन् ।”
ग्राहकलाई समयमै बिल तिर्न नसक्दा इन्टरनेट बन्द हुने समस्या समाधानका लागि कम्पनीले लामो समयदेखि तीन दिनको एक्सटेन्ड सेवा दिँदै आएको छ । यसरी थपिएको समय प्रयोग गरेपछि भुक्तानी गर्दा त्यो अवधि ग्राहकको नयाँ प्याकेजबाट घटाइनेछ ।
उदाहरणका लागि, तपाईंको इन्टरनेट ४ वैशाखमा सकियो र त्यही दिन तीन दिनको एक्सटेन्ड गर्नुभयो भने सेवा ६ वैशाखसम्म चल्छ । यदि ७ वैशाखमा एक महिनाको बिल तिर्नुभयो भने त्यसपछि २७ दिन अर्थात् जेठ १ गतेसम्म मात्र चल्नेछ ।
कसरी गर्ने त एक्सटेन्ड ?
-एपमार्फत: ‘माई वर्ल्डलिंक’ एप खोलेर Extend Plan मा क्लिक गरी सेवा विस्तार गर्न सकिन्छ ।
-एसएमएसमार्फत: आफ्नो मोबाइलको मेसेज बक्समा गएर WL EXTEND आफ्नो युजरनेम (जस्तै: WL EXTEND Techpana) टाइप गरेर ३५४६५ नम्बरमा पठाउनुहोस् ।
त्यसपछि इन्टरनेट सेवा स्वतः तीन दिनका लागि थप हुनेछ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १५:५२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–साताको अन्तिम कारोबार दिन सेयर बजार २६.४९ अंक बढेको छ।
बैशाख २ गते २७.१४ अंक, ३ गते ९.७५ अंक र आज करिब साढे २६ अंकले नेप्से सुचक बढेको हो।
आज नेप्सेमा ३ सय ११ कम्पनीका २ करोड ३७ लाख ७३ हजार ७ सय ३१ कित्ता सेयर ९० हजार ५ सय ५५ पटक खरिद बिक्री हुँदा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कारोबार रकमको आधारमा भने उक्त दिन हिमालयन पावर पार्टनर कम्पनीको सार्वधिक १ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
यस्तै, आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयरमा सकारात्मक सक्रिट लागेको थियो भने क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको थियो।
उक्त दिन १० प्रतिशत एनआइसी एशिया डिबेञ्चर २०८५/८६को सेयर मूल्य भने ४.४७ प्रतिशत र बोर्टलस नेपाल (बालाजु) को सेयरमूल्य ४.४६ प्रतिशतले घटेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
वासिंटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘उत्कृष्ट मानसिक र शारीरिक स्वास्थ्य’ रहेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन्।ट्रम्पको दोस्रो कार्यकालको पहिलो बार्षिक स्वास्थ्य परीक्षण वाशिङ्टन डिसी नजिकको अस्पतालमा गरिएको हो। जाँचका क्रममा चिकित्सकहरूले गएको जुलाई महिनाको हत्या प्रयासपछि उनको दाहिने कानमा देखिएको गोलीको चोटको दाग पनि उल्लेख गरेका छन्।ह्वाइट हाउसका चिकित्सक क्याप्टेन सीन बार्बाबेल्लाले एक विज्ञप्तिमा भने, ‘राष्ट्रपति ट्रम्पको मुटु, फोक्सो, स्नायु प्रणाली र सम्पूर्ण शारीरिक अवस्था राम्रो देखिएको छ।’७८ वर्षीय ट्रम्प जनवरीमा पदभार ग्रहण गर्दा हालसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति बनेका थिए। उनका पूर्ववर्ती जो बाइडेन पदत्याग गर्दा ८२ वर्षका थिए।शुक्रबारको करिब पाँच घण्टे स्वास्थ्य परीक्षण वाल्टर रीड अस्पताल, बेथेस्डा, मेरिल्याण्डमा सम्पन्न भयो। परीक्षणमा रक्त परीक्षण, मुटुको जाँच, अल्ट्रासाउण्ड र मानसिक स्वास्थ्य परीक्षणहरू गरिएका थिए। डा. बार्बाबेला अमेरिकी नौसेनाका आपतकालीन चिकित्सक हुन् जसले इराक र अफगानिस्तानमा सेवा गरेका छन्।उनले भने, ‘राष्ट्रपति ट्रम्प पूर्ण रूपमा मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ र राष्ट्रपतिको जिम्मेवारी वहन गर्न सक्षम हुनुहुन्छ।’मानसिक अवस्थाको जाँचमा ट्रम्पले मस्तिष्कको क्षमता जाँच गर्न प्रयोग गरिने मोन्ट्रियल संज्ञानात्मक मूल्याङ्कनमा ३० मध्ये ३० अंक प्राप्त गरेका थिए। उक्त परीक्षणमा जनावरको नाम भन्ने, घडी बनाउने, र शब्दहरू सम्झने जस्ता कार्य गराइन्छ।ट्रम्पले भने, ‘मैले सबै उत्तर सही दिएको छु।‘ उनले थपे, ‘म आफैंलाई राम्रो अवस्थामा महसुस गरें, राम्रो मुटु, राम्रो आत्मा, एकदमै राम्रो आत्मा।‘चिकित्सकले ट्रम्पको छालामा हल्का सूर्यको असर र केही सामान्य चर्मरोगका दागहरू रहेको बताएका छन्। ट्रम्प हाल कोलेस्ट्रोल नियन्त्रण गर्न रोसुभास्टाटिन र इजेटिमिब नामक औषधी, मुटुको सुरक्षाका लागि एस्पिरिन, र छालाको अवस्थाका लागि मोमेटासोन क्रिम प्रयोग गरिरहेका छन्।मुटुको परीक्षणमा कुनै असामान्यता नदेखिएको चिकित्सकले बताएका छन्।चिकित्सकका अनुसार ट्रम्पलाई पहिलेदेखि नै कोलेस्ट्रोल सम्बन्धी समस्या छ , तर हाल त्यो राम्रोसँग नियन्त्रणमा रहेको छ। उनले अघिल्लो कोरोना संक्रमण, छालाको रोसेसिया समस्या, र एक सौम्य कोलोन पोलिप रहेको पनि उल्लेख गरेका छन्।डाक्टरका अनुसार ट्रम्पको तौल अहिले १०१ केजी छ र उचाइ ६ फिट २.५ इन्च छ। २०१९ मा उनको तौल ११० केजी थियो, अर्थात् उनले केही तौल घटाएका छन्। उनका शारीरिक गतिविधि (विशेष गरी गल्फ खेल्नाले) उनी सक्रिय र स्वस्थ रहन मद्दत गरेको डाक्टरले उल्लेख गरेका छन्।पहिलो कार्यकालमा चिकित्सकले ट्रम्प स्वस्थ भए तापनि तौल घटाउन र व्यायाम गर्न सुझाव दिएका थिए।चुनावी सभाहरूमा ट्रम्पले बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यमाथि बारम्बार प्रश्न उठाउँदै आएका थिए। गत वर्ष ट्रम्प विरुद्धको खराब बहस प्रदर्शन पछि, बाइडेनले ट्रम्पजस्तै मानसिक परीक्षण गराउने प्रतिबद्धता जनाउन मानेका थिएनन्।
सामाग्री श्रोत :
swasthyakhabar

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङका मौरीपालक किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरिएको छ। प्रगति किसान सहकारी संस्थामार्फत मौरीपालक किसानको लागत घटाउँदै बढी मुनाफा लिनसक्ने र आर्थिक अभिवृद्धि गर्ने उद्देश्यले ती सामग्री वितरण गरिएको हो।
यहाँ आयोजित एक कार्यक्रमकाबीच भूमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, उपप्रमुख बालाकृष्ण बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपाली र सहकारीका अध्यक्ष भुवानन्द भुसालले किसानलाई मौरीसहित आवश्यक सामग्री वितरण गरेका हुन्।
नगरप्रमुख थापाले आधुनिक मौरीपालनमार्फत महको उत्पादन बढाउन र मौरी संरक्षण गर्न किसानलाई आग्रह गर्दै व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसानलाई प्रोत्साहन गरी आर्थिक विकासमा सहयोग पुगोस् भनेर सीमित स्रोतका बावजुद नगरपालिकाले ५० प्रतिशत अनुदानमा मौरीसहित आवश्यक सामग्री वितरण गरेको बताए।
नगरउपप्रमुख बञ्जाडे, प्रमुख प्रशासकीय अधिकृत नेपाली, योजना शाखा प्रमुख हरिश्चन्द्र भुसाललगायतले मौरीपालन पेसा सहजै जस्तो भए पनि किसानले चरनको समस्या झेल्ने गरेका बताउनुभयो। मौरी चरनका लागि विभिन्न समस्या झेल्नुपर्ने अवस्था रहेको बताउँदै यसको समाधानका लागि बालीमा कडाखालका विषादी प्रयोग घटाउनुपर्नेमा उनीहरूले जोड दिए।
सहकारीमा आबद्ध एक सय किसानलाई भूमिकास्थान नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७९ वटा मौरीसहितको घार, ४० वटा सुपरसहित माहुरी घार, चार सय २५ थान मह प्याक गर्ने प्लास्टिक बट्टा, ३८ थान जाली टोपी घुम्टी, ५० जोर पञ्जा, ४८ थान फिडर, तीन सय थान लेवलिङ छपाइ, स्ट्याण्डलगायत सामग्री वितरण गरिएको सहकारीका अध्यक्ष भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार ती सामग्री वितरणपूर्व किसानलाई दुई दिने तालिमसमेत दिइएको थियो।
अनुदानमा मौरीसहित सामग्री पाएसँगै किसान उत्साहित हुँदै खुसी व्यक्त गरेका छन्। मौरीपालन व्यवसायलाई थप प्रवर्द्धन गर्न नगरपालिकाको सहयोगले टेवा पुग्ने किसानको भनाइ छ।
कार्यक्रममा भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, वडा नं १ का वडाध्यक्ष गोपालप्रसाद खनाल, वडा नं ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलगायत जनप्रतिनिधि, कर्मचारी र किसानको उपस्थिति थियो।
सामाग्री श्रोत :
ढाकावाङका किसानलाई मौरी वितरण
काठमाडौँ । नेपाली विद्यार्थी मनोज कुमार चौधरीले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । कैलालीको भजनी नगरपालिका-४ निवासी चौधरीले ‘बगक्राउड’ कम्पनीको बग बाउन्टी प्रोग्राममार्फत नासाको सिस्टममा रहेको कमजोरी फेला पारेका हुन् । यस उपलब्धिका लागि नासाले चौधरीलाई ‘नासा भल्नरेबिलिटी डिस्क्लोजर प्रोग्राम’ अन्तर्गतको ‘हल अफ फेम’ मा समावेश गर्दै कदरपत्र प्रदान गरेको छ ।
नासाले आफ्नो सिस्टममा महत्त्वपूर्ण सुरक्षा रिपोर्ट उपलब्ध गराउने व्यक्तिहरूलाई ‘हल अफ फेम’ मा समावेश गर्दै आएको छ । चौधरीले २०२४ डिसेम्बर २० मा नासाको वेबसाइटमा रहेको ‘Cache-Control’ सम्बन्धी एचटीटीपी हेडरमा समस्या रहेको पत्ता लगाएका थिए । उनले वेबसाइटले प्रयोगकर्तासँग सम्बन्धित निजी जानकारी ब्राउजर क्यासमा सुरक्षित भई बस्न सक्ने र त्यसलाई साइबर आक्रमणकारीले फिशिङलगायत विभिन्न किसिमका आक्रमणमा प्रयोग गर्न सक्ने जोखिम देखाएका थिए ।
करिब दुई महिनापछि नासाले चौधरीलाई कदरपत्र प्रदान गरेको हो । नासाले पठाएको पत्रमा भनिएको छ, “तपाईंको रिपोर्टिङले अज्ञात रहेका सुरक्षा कमजोरीबारे जानकारी गराउन सहयोग पुग्यो, जसले नासाको सूचना सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याएको छ ।”

चौधरीले नासाबाट प्राप्त कदरले आफ्नो करिअरमा थप हौसला मिलेको प्रतिक्रिया दिएका छन् । “आईटी क्षेत्रमा चिनिनका लागि यो उपलब्धि निकै महत्त्वपूर्ण छ,” उनले टेकपानासँग भने ।
हाल बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बीसीए आठौँ सेमेस्टरमा अध्ययनरत चौधरीले स्नातक पहिलो वर्षदेखि नै बग हन्टिङ सुरु गरेका थिए । सन् २०२१ बाट सक्रिय रुपमा विभिन्न कम्पनीहरूका सुरक्षा कमजोरी पत्ता लगाइरहेका उनले हालसम्म बगक्राउडमार्फत चार हजार ९४५ डलर (करिब ६ लाख ८० हजार रुपैयाँ) आम्दानी गरिसकेको जानकारी दिए ।
त्यस्तै, गुगलको सुरक्षा कमजोरी पत्ता लगाई ५०० डलर (करिब ७० हजार रुपैयाँ) पुरस्कारसमेत प्राप्त गरिसकेका चौधरीले अध्ययनपछि नेपालमै साइबर सुरक्षा क्षेत्रमा काम गर्ने योजना रहेको सुनाए ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १४:५८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ।
आज १६ दिन पुग्दा देशभरका शिक्षकहरू जम्मा भएर आन्दोलनलाई थप चर्काएका हुन्।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ। उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन्।
शिक्षकहरू माइतीघर-बबरमहल-बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन्।

उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ। उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको छ।
नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको हो।
शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- जारी भएको दुई दशकसम्म पनि आधिकारिक कार्यान्वयनमा जान नसकेको आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५ कार्यान्वयनमा आएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ।ऐन जारी भएको सूचना २०५५ माघ १ को राजपत्रमा प्रकाशन भए पनि ऐनमा राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिबाट प्रारम्भ हुने उल्लेख थियो । तर, त्यसयताका सरकारहरुले कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन नगर्दा ऐन कानुनी रुपमा लागु भएको थिएन । जसका कारण ऐनको कार्यान्वयन तथा नियमनका लागि नियमावली तथा निर्देशिका बनाउन सकिएको थिएन। अब साढे २ दशकपछि मन्त्रालयलाई यस काम अघि बढाउन कानुनी बाटो खुला भएको छ।मंगलबारको मन्त्रिपरिषद बैठकले २०८२ साउन १ गतेबाट लागु हुने गरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको हो । बनेको २६ वर्ष पछि बल्ल ऐन कार्यान्वयनमा आउने भएको हो।नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयले नै एक दशक अघि गरेको अनुसन्धानले देखाएको मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्र्तगतको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले बताए।सन् २०१६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सुक्ष्म पोषक तत्व विश्लेषण सर्वेक्षण गर्दा ६ देखि ९ वर्षका बाबालिकाकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा तीन सय १४ भेटिएको थियो । जसका कारण उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिने गरेको चिकित्सक बताउँछन्।व्यवहारिक रुपमा अभ्यासमा आए पनि राजपत्रमा ऐनको शुरुवात तथा क्षेत्रसहितको विवरण प्रकाशनको सूचना नआएकाले यसले नियमावली तथा निर्देशिका आदि बनाएर देखिएको स्वास्थ्य समस्या समाधानमा समेत अड्चन आएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। ‘अब स्वास्थ्य, कृषि तथा सम्बद्ध मन्त्रालय मिलेर मापदण्ड परिमार्जन वा अरु आवश्क काम गर्न सहज हुनेछ,’ उनले भने।नुनमा झेल : उत्पादनमा हुनुपर्ने आयोडिनको मात्रा भान्सामा, रोगको जोखिम
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन्। शिक्षा ऐन माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ।
यसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भए पनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ।
१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका हुन्। बिहीबार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न बैशाख १२ गतेलाई संसद बैठक आह्वान गरे पनि शिक्षकले आन्दोलनलाई थप चर्काएका हुन्।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्नेसमेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन्।
सामाग्री श्रोत :
१६ दिनदेखि शिक्षक आन्दोलन जारी, ऐन जारी नहुँदासम्म नरोकिने चेतावनी
काठमाडौं । स्मार्टफोन ब्रान्ड मोटोरोलाले आफ्नो नयाँ मोडेल ‘मोटो जी ०५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । केही समयअघि मात्र विश्व बजारमा सार्वजनिक भएको यो फोन नेपालमा मोटोरोलाको आधिकारिक बिक्रेता सीजी मोबाइल्सले ‘मस्त छ है’ ट्यागलाइनसहित भित्र्याएको हो ।
सस्तो मूल्यमा उत्कृष्ट प्रविधियुक्त स्मार्टफोन उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले यो फोन ल्याएको जानकारी दिएको छ । एन्ड्रोइड १५ मा आधारित फोनमा मिडियाटेक हेलियो जी८१ एक्सट्रिम प्रोसेसर प्रयोग गरिएको छ । कम्पनीका अनुसार एन्ड्रोइड १५ मा आधारित इन्ट्री लेभलको यो नै पहिलो स्मार्टफोन हो ।
फोनमा ९० हर्ज रिफ्रेस रेटयुक्त आईपीएस एलसीडी डिस्प्ले छ भने स्क्रिनको सुरक्षाका लागि कर्निङ गोरिल्ला ग्लास ३ जडान गरिएको छ ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेल सेल्फी क्यामेरा राखिएको छ । साथै, ५२०० एमएएच ब्याट्री रहेको यो फोन लामो समयसम्म चार्ज टिक्ने कम्पनीको दाबी छ ।
साउण्ड क्वालिटीलाई उत्कृष्ट बनाउन डल्बी एटमसयुक्त ड्युल स्टेरियो स्पिकर प्रयोग गरिएको छ । साथै, फिङ्गरप्रिन्ट सेन्सर सुविधा पनि फोनमा उपलब्ध छ ।
नेपालमा यो फोन ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको छ । प्लम रेड र फरेस्ट ग्रिन गरी दुई रंगमा उपलब्ध यो फोनको मूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
विभिन्न अनलाइन तथा अफलाइन स्टोरमार्फत खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ४, २०८२ १३:४५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसले गठबन्धनभित्र रहेका दलहरूबीचमा समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पूर्वपदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको छलफलमा गठबन्धनमा रहेका दलहरूबीच तालमेल र सहकार्यको आवश्यकता रहेको निष्कर्ष निकालिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘सरकारको पर्फमेन्स अझै बेटर हुनुपर्छ। बढी गठबन्धन दलबीच समन्वय र सन्तुलन हुनुपर्यो भन्ने कुरा भयो। अझै सशक्त रुपमा डेलिभरी सरकारले दिनुपर्छ भन्ने विषयमा कुराकानी भयो,’ उनले भने।
कांग्रेस बैठकमा नियुक्ति सरुवा बढुवा लगायतका विषयमा समेत छलफल भएको छ।
‘गठबन्धनमा समन्वयको आवश्यकता छ, नियुक्तिका कुराहरूमा पनि सन्तुलनमा आवश्यकता पनि छ। सवैका कुरा समेट्नुपर्ने पनि छ’, महतले भने, ‘पार्टीगत आवद्धता भन्दा पनि व्यवसायिक डेलिभरी गर्ने मान्छे आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौँ।सभापतिले पनि त्यसकै आधारमा हुनुपर्छ भन्ने कुराकानी भइरहेको छ र सहमति जुट्छ भन्नुभएको छ।’
बैठकमा नेताहरूले सरकारबारे पार्टी नेताहरूको धारणा सम्बन्धित ठाउँमा राख्नुपर्नेमा पनि नेताहरूले जोड दिएका थिए। केही दिनयता कांग्रेस महामन्त्री गगन थापा लगायतका नेताहरूले सरकारको कार्यशैलीलाई लिएर आलोचना गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ