
काठमाडौं- कामना न्यूज पब्लिसन्स् प्रा.लिका संस्थापक तथा वरिष्ठ पत्रकार स्वर्गीय पुष्करलाल श्रेष्ठको छैटौं स्मृतिमा विहीबार नि: शुल्क आँखा शिविरको आयोजना गरिएकाे छ ।कामना न्यूज पब्लिकेसन्स्का प्रा.लि र नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल नेत्रज्योति संघको प्राविधिक सहयोग र द रोलिङ स्टोन्स् स्कुलको सहकार्यमा काठमाडौंको भीमसेनस्थानमा सो शिविर सञ्चालन गरिएको हो।शिविरको शुभारम्भ गर्दै कामना न्यूज पब्लिकेशनका प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले स्वर्गीय श्रेष्ठको समग्र योगदान, जीवन मूल्यलाई जिवित बनाइराख्न शाखाको अगुवाईमा वर्षभरि विविध गतिविधि भइरहेको बताए। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यक्रम आयोजना गर्दै आएको पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई रहेको छ ।सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले स्वर्गीय स्मृतिमा आँखा शिविर कार्यक्रम राखेकोमा प्रशंसा व्यक्त गर्दै आगामी दिनमा हुने यस्ता कार्यक्रममा महासंघले पनि सघाउने प्रतिबद्धता व्यक्त गरिन्। समारोहमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले स्वर्गीय श्रेष्ठले पत्रकारिता क्षेत्रमा देखाउनुभएको बाटोमा हिड्न नेपाली पत्रकारहरु तयार रहेको बताउँदै उहाँको स्मृतिमा भएको आँखा शिविरले उहाँको योगदानलाई सदैव स्मरण राख्ने बताए।नेपाल समाचारपत्रका सम्पादक सागर पण्डितले स्वर्गीय श्रेष्ठ आधुनिक पत्रकारिताको एउटा धरोहरका रुपमा रहेको उल्लेख गर्दै उनीबाट व्यावसायिक पत्रकारिताको मूल्य र मान्यता सिक्नुपर्नेमा जोड दिए।स्वर्गीय श्रेष्ठ कै सोच, मूल्यमा कामना न्युज प्रकाशन अघि बढीरहेको पनि उनको भनाई थियो।सो अवसरमा प्रतिष्ठानका अध्यक्ष भगवती तिमल्सिनाले मुलुकको राजनीति र राज्यलाई सही ट्रयाकमा ल्याउन पत्रकारिताको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्। सञ्चार जगत भनेको सिद्धान्ततः राज्यको प्रतिपक्ष हुनुपर्नेमा स्वर्गीय श्रेष्ठले जीवन पर्यन्त जोड दिएको स्मरण गर्दै अध्यक्ष तिमल्सिनाले सो कुरा अहिलेका पत्रकारहरुले व्यवहारमा आत्मसात गर्दै अघि बढ्नुपर्ने खाँचो औल्याइन्।कामना न्यूज पब्लिसन्स्का सल्लाहकार कपिल काफ्ले स्वर्गीय श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बाटो अनुशरण गरेकोमा पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठको प्रशंसा गरे। प्रतिष्ठानका पूर्व अध्यक्ष टंक पन्तले आफूले पत्रकारिता जीवनको दुई दशक समय कामना न्यूज पब्लिकेशनमा बिताएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठले पत्रकारिताको विकासमा पुर्याएको योगदान नेपाली पत्रकारिताको सधै प्रेरित रहने बताए।प्रतिष्ठानका पूर्वअध्यक्ष दिपक रिजालले आधुनिक नेपाली पत्रकारितामा स्वर्गीय श्रेष्ठले पुर्याएको योगदान चिरस्मरणीय रहने उल्लेख गर्दै उनले देखाएको बाटोलाई हामीले अनुसरण गर्न सके सच्चा श्रद्धाञ्जली अर्पण हुने विश्वास व्यक्त गरे।सो अवसरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डा आरजु लौडारी, नेपाल नेत्रज्योति संघका सदस्य सचिव भरतबहादुर चन्द लगायत शिविरको महत्वबारे केन्द्रीत गर्दै आआफ्नो धारणा राखेका थिए सो शिविरमा कामना न्यूज पब्लिकेसन्स्का परिवार, स्कुल परिवार र समुदायको सहभागिता रहेको थियो। शिविर बिहान १० देखि ४ बजेसम्म सञ्चालन भएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar

कपिलवस्तु। शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ।
बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारी राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथी गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
तर, घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन । तर, कम्पाउन्ड बाहिरवाट हानेको गोलीबाट छलेकोले फूलाई कुनै चोटपटक नलागेको उनले जनाएका छन्।
साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन ।
सामाग्री श्रोत :

काठमाडौं – संघीय संसद्अन्तर्गत आज विभिन्न तीन वटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाका दुई र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेका हुन् ।
बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१/०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे नै बस्ने राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको सम्बन्धमा कानून मन्त्रालयसँग छलफल हुने तय भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो।
“स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ।
शनिबार भएकोको घटनामा स्थिति नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १४५ राउण्ड अश्रु ग्यास र दुई राउण्ड हवाइ फायर गरेको थियो भने उक्त घटनामा प्रहरीतर्फ नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षकसहित २५ जना र प्रदर्शनकारीतर्फका १५ जना बढी घाइते भएका थिए। दर्जनौं पसलहरूमा तोडफोड भएको थियो ।
सामाग्री श्रोत :

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले हराउँदै विजयी यात्रालाई निरन्तरता दिएको हो ।
सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बई ले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे। तिलक बर्मा २१ रनमा अविजित रहे ।
मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।
यस अघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो ।
उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।
मुम्बईका विल ज्याक्सले दुई तथा जसप्रित बुम्राह, ट्रेन्ट बोल्ट र हार्दिक पाण्डेले एक एक विकेट लिए । जितपछि मुम्बई ६ अङ्क सहित सातौँ स्थानमा उक्लिएको छ । हैदरावाद ४ अङ्क सहित नवौँ स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्ति सुरक्षाको अवस्था सामान्य बनेको भन्दै आज बिहान ७ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो। प्रजिअ अर्यालले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेकाले गत […]
सामाग्री श्रोत :

एजेन्सी–म्यानमाको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाह गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ।
सन् २०२१ मा म्यान्माको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाईभन्दा बढी समर्थन प्राप्त आङ् साङ सूचीको नेशनल लिग फर डेमोक्र्यासी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिई सेनाप्रति बफादार व्यक्तिलाई सरकार प्रमुख बनाएको थियो।
सेनाको ‘कू’ पछि लोकतान्त्रिक अभ्यासमाथि अङ्कुश लगाउँदै भएको दलविरोधी अभियानले देशलाई बहुपक्षीय गृहयुद्धमा फसाएपछि जुन्टाले हजारौँ प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरेको नागरिक अधिकारवादी समूहहरूले बताएका छन्।
म्यान्मामा राष्ट्रिय पर्व वा बौद्ध धर्मसम्बन्धी चाडहरूको अवसरमा आममाफी दिने प्रचलन रहेको छ। आनीबानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आममाफीको घोषणा गरिन्छ। सरकारले अपदस्थ नागरिक नेतृ आङ सान सुचीसहित अधिकांश उच्च–ओहोदाका राजनीतिक कैदीहरूलाई अझै पनि हिरासतमा राखेको छ।
जुन्टाले जारी गरेको वक्तव्यमा चार हजार ८९३ जना कैदीलाई राज्य निर्माण प्रक्रियामा सहभागी हुन, जनताको मानसिक शान्तिका लागि र अनुकम्पाका आधारमा माफी दिइने उल्लेख छ।
‘राज्यको तर्फबाट माफी व्यक्त गर्न’ जुन्टाले गम्भीर अपराध गर्नेहरू बाहेक अन्य कैदीहरूको सजाय छ भागको एक भाग घटाइ छुटका लागि योग्य कैदीलाई आममाफी दिइने बताएको छ।
स्थानीय समयअनुसार बिहान ११ः३० बजे याङ्गुनको इन्सेन जेलको गेटबाट करिब ३० वटा बस बाहिरिएका एएफपी म्यान्मा प्रतिनिधिले जनाएका छन्।
बसमा सवार सयौँमध्ये केही ढोकाबाहिर ओर्लिए र आफ्ना प्रियजनको नाम लेखिएको प्लेकार्ड बोकेका आँसुले भरिएका परिवारहरूसँग पुनर्मिलन गरे।
जुन्टाले १३ जना विदेशी नागरिकलाई पनि उनीहरूको पहिचान वा अपराधको विवरण नदिई माफी दिने र देश निकाला गरिने बताएको छ।
यस वर्ष १० देश सम्मिलित आसियान समूहको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्न बैङ्कक जाने क्रममा जुन्ता प्रमुख मिन आङ ह्लाइङले आममाफीको घोषणा गरेका हुन्।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले विगतमा शान्ति योजनामा प्रगति नभएको भन्दै जुन्टाका अधिकारीहरूलाई शिखर सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाएको थियो।
तर अनवरले गत महिना गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि म्यान्मा पठाइएको मलेसियाली मानवीय सहायता टोलीको सुरक्षाका विषयमा छलफल गर्न बिहीबार मिन आङ ह्लाइङलाई भेट्ने बताएका छन्।
जुन्टाले उक्त बैठकको पुष्टि गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गर्दै देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको भएको बताएकी हुन्।
मन्त्री राणाले सधै बाह्य सहयोगको भरमा मुलुक रहिरहन नहुने भन्दै युवा शक्तिको परिचालन गर्दै स्वदेशमा नै उत्पादनमा जोड दिनुपर्ने धारणा राखिन्।
यसका लागि सहि नीति बनाउनुपर्ने उनले बताइन्। आफू विदेश जाँदा नेपालको परराष्ट्रमन्त्री भनेपछि इज्जत गर्ने भन्दै उनले देशमा आएपछि राष्ट्रिय माहोल विग्रिएको देख्दा आफूलाई दुःख लाग्ने गरेको उल्लेख गरिन्।
परराष्ट्रमन्त्री राणाले राजावादीको जुलुसमा हजार जना जम्मा नहुदा पनि अन्य देशका मिडियाहरूले नेपालमा सत्ता नै पल्टिन लागेजस्तो गरेर प्रचार गरेको धारणा राखिन्।
उनले सञ्चारमाध्यमले राम्रा कुराको नभइ नराम्रो कुराको प्रचार गर्ने गरेको जिकिर गरिन्। राणाले मन्त्रीको कुर्सीमा भोली जो पनि आउन सक्ने भन्दै पदलाई प्रमुख कुरा नठान्न सुझाव दिइन्।
सामाग्री श्रोत :
देश बनाउने जिम्मेवारी देशभित्रकै नागरिकको हो : परराष्ट्रमन्त्री

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति वैठक अहिले पार्टी कार्यालय घण्टीघर बसिरहेको छ।
कार्यवाहक सभापति डोलप्रसाद अर्यालको सभापतित्वमा वैठक बसेको हो।
सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएको चर्चाले रास्वपाभित्र सरगर्मी बढेको छ।
आजको बैठकमा सुमनाले राजीनामाको घोषणा गर्ने बताइएको छ। बैठक सुरु भएको केही बेरपछि सुमनाले इन्ट्री गरेको स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका मन्त्री, सचिव, चारैसुरक्षा निकायका प्रमुख तथा प्रदेशअन्तर्गत कार्यालयका प्रमुखहरुसँग विभिन्न विषयमा छलफल गरेका छन्।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्तिसुरक्षाको अवस्था, भन्सार जाँच तथा आवागमन सहजीकरण, राजस्व संकलन र लागुऔषध नियन्त्रणका विषयमा मुख्यमन्त्री शाहले छलफल गरेका हुन्। छलफलका क्रममा उनले प्रदेशभित्रको शान्तिसुरक्षा चुस्तदुरूस्त राख्न, लागुऔषध नियन्त्रण गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रभावकारी रुपमा लाग्न निर्देशन दिए।
बैठकमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरुले शान्तिसुरक्षाबारे मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए। बैठकले शान्तिसुरक्षाको स्थितिलाई थप प्रभावकारी बनाउन संस्थागत समन्वय र सहकार्यलाई निरन्तरता दिने, प्रदेशस्तरमा सुरक्षा सम्बन्धित बैठक मासिक रूपमा गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाशबहादुर बम, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका निमित्त प्रमुख सचिव लीलाधर सुवेदी, नेपाली सेना, सुदूरपश्चिम पृतनाका उपरथी प्रकाश देउजा, भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश सचिव सुरतकुमार वम, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपक अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल, राष्ट्रिय अनुसन्धान विभाग, प्रदेश कार्यालयका सहअनुसन्धान निर्देशक नगेन्द्रप्रसाद दाहाललगायत सहभागी थिए।
सामाग्री श्रोत :









