

काठमाडौं। आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजेदेखि सुरू हुनेछ। यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथो जीतका लागि मैदानमा उत्रन लागेको हो।
नेपालले पहिलो खेलमा युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो।
गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो। लगातार तीन खेलमा जीत हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ। याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुनेछ।
सामाग्री श्रोत :

ताप्लेजुङ–विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहणको ७० औँ वार्षिकोत्सवका अवसरमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित लेलेपमा ‘कञ्चनजङ्घा हीरक महोत्सव–२०८२’ आजदेखि सुरु भएको छ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा सुरु भएको महोत्सव यही वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सव अवधिभर कञ्चनजङ्घा हिमालको प्रचारप्रसार, स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री, मौलिक खानाका परिकारको प्रवर्द्धन, विविध सांस्कृतिक कार्यक्रम, खेलकुद, पदयात्रा, फोटो तथा भिडियो प्रदर्शनीलगायत गतिविधि हुनेछन्।
परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूका अनुसार महोत्सवमा जिल्लाका छ जना कञ्चनजङ्घा आरोहीलाई सम्मान गरिनेछ। सम्मानित हुनेमा पासाङ शेर्पा, ङाडा शेर्पा, लाक्पा शेर्पा, दावाछेतेन शेर्पा, मिङ्माग्याबु शेर्पा र लाक्पा शेर्पा रहनुभएको उनले जानकारी दिए।
‘कञ्चनजङ्घा संरक्षण क्षेत्रः प्रकृतिको उपहार, दिगो पर्या–पर्यटन समृद्धिको आधार’ भन्ने नारासहित आयोजना भएको यस महोत्सवले संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सन् १९५५ मे २५ मा बेलायती आरोही जो ब्राउन र जर्ज ब्यान्डले कञ्चनजङ्घाको दक्षिणी मोहोडाबाट पहिलो पटक सफल आरोहण गरेका थिए। सन् १९०५ देखि नै आरोहण प्रयास हुँदै आए पनि पहिलो सफल आरोहण १९५५ मै भएको हो।
यसैबिच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे ‘कञ्चनजङ्घा हीरक महोत्सव’ को उद्घाटनका लागि आज हेलिकप्टरमार्फत ताप्लेजुङको लेलेप पुगेका छन्। उनीसँगै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई पनि महोत्सवमा सहभागी हुन लेलेप पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारका लागि प्रेसरराइज इन्ट्रापेरिटोनियल येस्रोसल केमोथेरापी (पाइप्याड) प्रविधिको सुरुवात गरेको छ। एक २७ वर्षीय चौथो चरणको क्यान्सर भएका पुरुषमा यस प्रविधिको प्रयोग गरेर सफल रुपमा शल्यक्रिया सम्पन्न गरिएको अस्पतालका निर्देशक डा उज्ज्वल चालिसले जानकारी दिए। अस्पतालका सर्जिकल अंकोलोजिष्ट सर्जन डा दिप लामिछानेकाका अनुसार चौथो चरणमा रहेको तथा पेटभित्र फैलिसकेको क्यान्सरमा यो प्रविधिको प्रयोग गरिन्छ। उनका अनुसार आन्द्राको क्यान्सर, डिम्बाशयको क्यान्सर,आमाशयको क्यान्सर,रेक्टम क्यान्सरको उपचारमा यो प्रविधिको प्रयोग फाइदाजनक हुन्छ। यो पेटभित्र उत्पन्न हुने र पेटभित्र फैलिने क्यान्सरमा प्रयोग हुने उपचार प्रविधि हो। यो एकदमै विकसित अवस्थाको क्यान्सरमा प्रयोग हुने प्रविधि हो।विश्वमा पहिलेदेखि नै प्रचलनमा रहेपनि नेपालमा भने भर्खरै यो प्रविधिको सुरुवात गरिएको हो । कसरी प्रयोग हुन्छ प्रविधि ?यो शल्यक्रिया गरिरहेकै अवस्थामा तरल पदार्थ स्वरुपमा रहेको किमाोथेरापी दिने प्रविधि हो। यसका लागि करिब ३० मिनेट समय लाग्छ । अरु बेला नशामा दिइने किमोथेरापीलाई शल्यक्रिया गरिरहेको अवस्थामा पेटभित्र नै दिइने प्रविधि हो । जसमा पेटमा सानो सानो आकारमा २,३ वटा प्वाल बनाइन्छ । यो नेपालमा नै पहिलोपटक भएको हो। यसका लागि सर्जन, एनेस्थेसिया चिकित्सक तथा नर्सिङ जनशक्तिको खाँचो पर्छ । अस्पतालले आफैंसँग उपलब्ध स्रोत साधनको प्रयोग गरि उक्त प्रविधिको प्रयोग गरी बिरामीको शल्यक्रिया गरेको हो।यो उपचारका लागि सही बिरामी र कुरा बुझ्न सक्ने परिवार चाहिन्छ। प्रविधिको प्रयोगका लागि अस्पतालले चिकित्सकलाई तालिम प्राप्त बनाई राखेको थियो । ५,१० वर्ष विभिन्न मुलुकमा लिइने तालिम तथा अवलोकनले मात्रै अस्पतालले हाल उक्त प्रविधिको प्रयोग गरि बिरामीको उपचार गर्न सफल भएको हो। कस्ता बिरामीमा प्रयोग गरिन्छ यो प्रविधि ?सबै चौथो चरणका क्यान्सर बिरामीहरुमा उक्त प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने भ्रम समेत रहन सक्छ। यद्यपि चौथो चरणका केही क्यान्सर बिरामीहरुलाई मात्रै यो प्रविधिको फाइदा पुग्न जान्छ । चिकित्सकले प्रविधिको प्रयोग हुँदा फाइदा पुग्ने बिरामीलाई मात्रै यो प्रविधिको प्रयोग गर्छन्। बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ। उक्त प्रविधिले उपचार गर्न सुरु गरेको ६,६ साताको अन्तरालमा गरिन्छ । बिरामीलाई फाइदाजनक भएको अवस्थामा जतिपटक पनि यस प्रविधिको प्रयोग गर्न सकिन्छ। यसले रोगलाई निको बनाएर शुन्यमा झार्ने भन्दा पनि केही समयका लागि नियन्त्रण मात्रै गर्ने हो । यसले रोगलाई बढ्न नदिने भएकोले रोगबाट बिरामीलाई हुने पीडा कम हुन्छ।बिरामीले उक्त प्रविधिको प्रयोग गरी उपचार गरेकोमा अतिरिक्त शुल्क तिर्नुपर्दैन । शल्यक्रिया लागतमा नै उक्त खर्चलाई समावेश गरिएको हुन्छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । दाङमा बस दुर्घना हुँदा दुई जनाको ज्यान गएको छ। लमही–भालुवाङ सडकखण्डअन्तर्गत सिंगेखोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव छन्। अर्का मृतकको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा परेर १५ जना घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था मध्यम छ। घाइते मध्ये सात जनाको अवस्था सामान्य छ।
कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयदाङले जनाएको छ।
सामाग्री श्रोत :

रूपन्देही – भारतीय पर्यटक चढेको बस दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीले जानकारी दिइन्।
चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा २५ जना यात्रु सवार थिए। घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

भरतपुर (चितवन)। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै मजबुत र लोकप्रिय शक्तिका रूपमा स्थापित गर्दै जाने बताएका छन्।
नेकपा (एमाले) भरतपुर महानगर कमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी हुलबाट निर्देशित नभई सही विचार र नीतिका कारण जनताको मनमा बस्न सफल भएको बताए।
उनले भने, ‘हामी देश र जनतका पक्षमा काम गरेर स्थापित हुने हो, भ्रम पालेर होइन। अहिलेको अवस्थामा आत्तिनुपर्ने होइन।’ अध्यक्ष ओलीले मिसन २०८४ मा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिए।
एमाले हुलबाट निर्देशित हुने पार्टी नभई सही नीति र नेतृत्वबाट सञ्चालित हुने उनले बताए। एमालले लिएको नीति सही भएको भन्दै अध्यक्ष ओलीले राष्ट्रिय नीति नै यही आधारमा तय हुने गरेको धारणा राखे।
सामाग्री श्रोत :
काठमाडौँ । आजकल आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले धेरै काम गर्न सक्छ । भर्खरै, च्याट जीपीटीले फोटो हेरेर त्यो फोटो कहाँ खिचिएको हो भनेर पत्ता लगाउने नयाँ तरिका विकास गरेको छ । यसलाई ‘रिभर्स लोकेसन सर्च’ भनिन्छ।
यसले कसरी काम गर्छ त ? च्याट जीपीटीले फोटोमा भएका विभिन्न चीजहरूलाई ध्यान दिएर हेर्छ। जस्तै: वरपरका भवन, वास्तुकला, रुख बिरुवा, जमिनको बनावट, सडकका सङ्केत, भाषा, सार्वजनिक संरचना, पहिरन र सांस्कृतिक पहिचान दिने चीज, मौसम, प्रकाश र छायाको दिशा ।
यसरी फोटोमा भएका दृश्यहरूलाई विश्लेषण गरेर च्याट जीपीटीले पहिलेदेखि नै उपलब्ध डेटाबेससँग तुलना गर्छ । यसरी तुलना गरेर, यो फोटो कुन ठाउँमा खिचिएको हो भनेर अनुमान लगाउन सक्छ । यो प्रक्रिया गुगल अर्थ र सडकका दृश्यमा हामी आफैँले घण्टौँ लगाएर पत्ता लगाउने तरिका जस्तै हो, तर च्याट जीपीटीले यो काम तुरुन्तै गर्न सक्छ ।
ओपनएआईका नयाँ मोडेलहरू जस्तै ०३ र ०४-मिनी यो काममा अझै सिपालु छन् । यी मोडेलहरूले फोटोलाई राम्ररी जुम गर्न, क्रप गर्न र घुमाएर हेर्न सक्छन् । त्यसैले, धमिलो वा बिग्रिएको फोटो भए पनि, तिनीहरूले लोकेसन पत्ता लगाउन सक्ने सम्भावना बढी हुन्छ ।
गोपनीयताको चिन्ता
च्याट जीपीटीको यो नयाँ क्षमताले धेरैलाई अचम्मित तुल्याएको छ भने कतिपयका लागि गोपनीयताको चिन्ता पनि बढाएको छ । सजिलै एउटा फोटो अपलोड गरेर कसैको लोकेसन पत्ता लगाउन सकिने भएपछि, यसको दुरुपयोग हुनसक्छ । कसैले सामाजिक सञ्जालबाट लिएको फोटो प्रयोग गरेर तपाईँ कहाँ हुनुहुन्छ भनेर पत्ता लगाउन सक्छ । त्यसैले, अनलाइनमा फोटो शेयर गर्दा सचेत हुनु आवश्यक छ ।
अहिले च्याट जीपीटीको यो फिचर परीक्षणकै क्रममा छ र सबै प्रयोगकर्ताहरूलाई उपलब्ध भइसकेको छैन । तर, भविष्यमा यो प्रविधि थप विकसित हुँदै जाँदा लोकेसन पत्ता लगाउन अझ सजिलो हुनेछ ।
समग्रमा, च्याट जीपीटीले फोटोकै आधारमा लोकेसन पत्ता लगाउन सक्ने क्षमता एउटा उल्लेखनीय प्राविधिक विकास हो । तर, यसले ल्याउने गोपनीयताका चुनौतीहरूलाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ ।
यो फिचर कसरी प्रयोग गर्ने ?
च्याट जीपीटीको फोटोबाट लोकेसन पत्ता लगाउने फिचर प्रयोग गर्न, तपाईँले निम्न तरिका अपनाउन सक्नु हुन्छ:
-
यसका लागि सबैभन्दा पहिला तपाईँले च्याट जीपीटीमा फोटो अपलोड गर्नुपर्ने हुन्छ । यो सुविधा ओपनएआईका नयाँ मोडेलहरूमा उपलब्ध छ ।
-
फोटो अपलोड गरिसकेपछि तपाईँले च्याट जीपीटीलाई फोटोको लोकेसन पत्ता लगाउन अनुरोध गर्नुपर्ने हुन्छ । तपाईँले साधारण भाषामा “यो फोटो कहाँ खिचिएको हो?” (where this picture has been taken) जस्ता प्रश्न सोध्न सक्नुहुन्छ ।
-
त्यसपछि च्याट जीपीटीले फोटोमा देखिने वरपरका भवन, वास्तुकला, रूख बिरुवा, सडक सङ्केत, भाषा, मौसम र अन्य पहिचान गर्न सकिने चीजहरू विश्लेषण गर्छ ।
-
फोटोको विश्लेषण र पहिलेदेखि नै उपलब्ध डेटाबेससँग तुलना गरेर च्याट जीपीटीले उक्त फोटो कुन ठाउँमा खिचिएको हो भनेर अनुमान लगाउँछ र तपाईँलाई जवाफ दिन्छ । कहिलेकाहीँ यसले सहरको नाम मात्र दिन सक्छ भने कहिलेकाहीँ यकिन स्थान वा आसपासको ठाउँ पनि बताउन सक्छ ।
एउटा के कुरामा ध्यान दिनुहोस् भने यो फिचर अहिले पनि प्रयोगात्मक चरणमा भएकाले सबै प्रयोगकर्ताका लागि उपलब्ध नहुन सक्छ । साथै, च्याट जीपीटीको अनुमान सधैँ सही हुन्छ भन्ने ग्यारेन्टी पनि छैन ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १२:२३
सामाग्री श्रोत :
टेक पाना

मिक्लाजुङ–खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा टेवा पुर्याउने उद्देश्यले पाँचथरको फिदिममा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा यही वैशाख ८ गतेदेखि १० गतेसम्म फिदिमस्थित जिल्ला समन्वय समितिको ब्याडमिन्टन हलमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिएका हुन्।
आयोजक जिल्ला खेलकुद विकास समितिले आज फिदिममा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस प्रतियोगितातर्फ मेन्स सिङ्गल, वुमेन्स सिङ्गल, मेन्स डबल्स र मिक्स डबल्स गरी चार विधाका लागि ५८ खेलाडी सहभागी हुने समितिका सचिव दुश्यन्त बस्नेतले जानकारी दिए।
भेट्रान्स प्रतियोगिताको हरेक विधाका विजेता, उपविजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन्। प्रदेश खेलकुद विकास बोर्डको संयोजन र फिदिम नगरपालिका तथा जिल्लाका अन्य स्थानीय तहहरूको समन्वयमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता सफल पार्न रु १८ लाख खर्च हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

खोटाङ। अठार वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का पुनः परिवारसहित गाउँ फर्किएपछि गाउँपालिकाले रु एक लाख प्रोत्साहन रकम प्रदान गरेको छ। उनी २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर गएका थिए। खड्का अहिले परिवारसहित पुनः आफ्नै गाउँ फर्किएका हुन्।
गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बिहीबार खड्काको घरमै पुगेर प्रोत्साहन रकमको चेक हस्तान्तरण गरेका हुन्। आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव विर्सन नसकेर पुनः आफ्नै गाउँ फर्किएको उनले बताए। उनले भने, ‘बसाइँ सरेर गए पनि यहाँको जग्गा बेचेको थिइनँ। बाँझिएको जमिन खनजोत सुरु गरेका छौँ।’
गाउँ फर्किए लगत्तै घर निर्माण गरेका खड्काले आफ्नो परिवारलाई पुनः स्थापित गराउन गाउँपालिकाले ठूलो सहयोग गरेको बताए। गाउँपालिकाले हरेक वडामा पूर्वाधार निर्माण गरिरहेको छ। ‘अब सुविधाको खोजीमा कोही बसाइँ सरेर अन्यत्र जानुपर्दैन। यसअघि गएकालाई गाउँ फर्क अभियान चलाएका छौँ’, अध्यक्ष बञ्जराले भने।
पछिल्लो समय सुविधाको खोजीमा बसाइँसराइ गर्नेहरुका कारण बर्सेनि जनङ्ख्या घट्दै जान थालेपछि जिल्लाका अन्य स्थानीय तहले पनि ‘गाउँ फर्क अभियान’ चलाएका छन्। पछिल्लो समय जिल्लाका १० वटै स्थानीय तहले विकासमा फड्को मारे पनि त्यहाँका स्थानीयवासी भने, सुविधाको खोजिमा सहर पस्ने क्रम तीव्र छ।
शैक्षिक क्षेत्रको सुधारका लागि सामुदायिक विद्यालयमा ठूल्ठूला भवन निर्माण गरिएका छन्। बसाइँसराइका कारण विद्यार्थी अभाव हुँदा ती विद्यालय भवन प्रयोगविहीन हुने अवस्था छ।
सामाग्री श्रोत :
काठमाडौँ । डिजिटल बोर्ड ह्याक गरेको आरोपमा १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले ती किशोरलाई बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो।
“राष्ट्रपति भवन पछाडि रहेको रोटरी क्लबको डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्रीविरुद्धको नारा लेखिएको थियो। सोही बोर्डको प्रविधिमार्फत रिभर्स इन्जिनियरिङ गरी परीक्षण गर्दा किशोरको विवरण पत्ता लगायौं र त्यसपछि नियन्त्रणमा लियौं,” अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले टेकपानालाई भने ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले ती किशोरलाई यस्तो कार्य किन गरियो भनेर सोधपुछ गरेको थियो। किशोरले “प्रधानमन्त्रीविरुद्ध बोल्ने लहर चलेको बेला आफूले पनि डिजिटल बोर्ड ह्याक गरेको” बताएका छन्। हालसम्म उनी कुनै समूहबाट परिचालित भएको पुष्टि नभएको प्रहरी अधिकारीले जनाएका छन्।
यसरी चर्चा पाउने वा कुनै संस्थालाई बदनाम गर्ने उद्देश्यले अरूको लहैलहैमा लागी डिजिटल बोर्डमा अनधिकृत पहुँच लिनु कानुनी रूपमा आपराधिक हो । साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, यस्ता कार्यले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४५ अनुसार कारबाही हुन सक्छ ।
उक्त दफामा भनिएको छ, “कुनै व्यक्तिले कुनै कम्प्युटरमा रहेको कार्यक्रम, सूचना वा तथ्याङ्कमा पहुँच प्राप्त गर्ने उद्देश्यले अनुमति नलिई पहुँच गरेमा वा अनुमति लिएको भए तापनि त्यसको सीमाभन्दा बाहिर गएर कुनै कार्य गरेमा, त्यस व्यक्तिलाई कसुरको गम्भीरता हेरी दुई लाख रुपैयाँसम्म जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।”
हालको समयमा डिजिटल बोर्ड ह्याक गरेर अश्लील शब्द, प्रेमसम्बन्धी सन्देश तथा राजनीतिज्ञहरूलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो छ । सामान्य मोबाइल एपमार्फत पनि डिजिटल बोर्डको पहुँच लिन सकिने भएकाले यस्ता गतिविधिहरू बढेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८२ १३:१
सामाग्री श्रोत :
टेक पाना









