

घोडाघोडी– जिल्लाको टीकापुर नगरपालिका– २ स्थित जनशक्ति सामुदायिक वनमा आज पाटेबाघ मृत फेला परेको छ।
सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलिप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए।
पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उनले बताए।
गन्हाएपछि स्थानियले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताए। घट्नाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा.आयुश महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो।
स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छभने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

सिमकोट (हुम्ला) हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो। आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उहाँका आफन्त पूर्ण बुढाले जानकारी दिए।
यस्तै पाल्पामा पनि भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। जिल्लाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।
सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उहाँ अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा आज दिउँसो उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
सामाग्री श्रोत :
काठमाडौँ । गुगलले आफ्नो नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड १६ को अन्तिम बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एन्ड्रोइड १६ बेटा फोर जारी गर्दै अब यस संस्करणमा प्रयोग हुने डेभलपर एपीआई र एप्ससँग सम्बन्धित व्यवहारहरू अन्तिम भएको जानकारी दिएको छ । अब डेभलपरहरूले एन्ड्रोइड १६ लक्षित एप प्ले स्टोरमा राख्न सक्नेछन् ।
यसअघि यो अपडेट पिक्सेल सिरिजका फोनमा मात्र उपलब्ध थियो । अब अनर, लेनोभो, ओप्पो, रियलमी, भिभो, साओमी लगायत ब्रान्डका फोन, ट्याब्लेट र फोल्डेबल डिभाइसमा पनि एन्ड्रोइड १६ बेटा परीक्षण गर्न सकिनेछ । यद्यपि यी बेटा संस्करणहरू स्टेबल नभएकाले सामान्य प्रयोगकर्ताले आफ्नो मुख्य फोनमा इन्स्टल नगर्न सुझाइएको छ ।
परीक्षण गर्न मिल्ने डिभाइसमा HONOR Magic 7 Pro, Lenovo Yoga Tab Plus, OnePlus 13, OPPO Find X8, realme GT 7 Pro, vivo X200 Pro, iQOO 13, Xiaomi 14T Pro, Xiaomi 15 र Redmi K70 Ultra रहेका छन् ।
यदि तपाईं पिक्सेल फोन प्रयोगकर्ता हुनुहुन्छ भने एन्ड्रोइड १६ बेटा आफ्नै फोनमा पनि परीक्षण गर्न सकिन्छ । अन्यथा, एन्ड्रोइड इम्युलेटर मार्फत पनि यो अपडेट परीक्षण गर्न सकिन्छ । गुगलले एन्ड्रोइड १६ को स्टेबल संस्करण पनि चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ २०:५०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले त्यस्तो गरे कारबाही गर्ने चेतावनी दिएको छ।
आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ गृह मन्त्रालयले भनेको छ।
संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ।
‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ।
लोकतान्त्रिक व्यवस्था नै फालेर राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना गर्न आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले सरकारलाई निषेधित क्षेत्र तोड्ने ठाडो चुनौती दिएको छ। बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय नै गरेर राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने भनेको छ।
राप्रपाको उक्त चुनौतीपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- सरकारले वैशाख ६ र ७ गते अर्थात् शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त आहार ‘बाल भिटा’ दिने बताइएको छ। नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने कार्यक्रम रहेको छ।दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने २०५६ बाट खुवाउन सुरु भएको हो।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई संघीय सरकारको आठौँ तह सरहको रु ४८ हजार ७३७ निर्वाह भत्ता दिनेभनी गरेको निर्णय तत्काल लागू गर्नुपर्ने नेपाल चिकित्सक संघले माग गरेको छ।
चिकित्सा शिक्षा आयोगको यही वैशाख ३ गतेको बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो। उक्त विषयमा संघको आज बसेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले गरेको निर्णय अनुसार प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गरेको हो।
बैठकपछि संघका महासचिव डा सञ्जिव तिवारीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म यो कार्यदलको काम कारबाहीमा सहभागी नहुने भनी गरिएको निर्णय संयोजकलाई जानकारी गराउन चाहन्छु।’
सामाग्री श्रोत :
चिकित्सकलाई निःशर्त काममा फर्कने वातावरण सुनिश्चितता गर्नुपर्ने माग
काठमाडौं । कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको ‘गुनासो पोर्टल’को वेबसाइट ह्याक भएको छ । वेबसाइट ह्याक गरी एक व्यक्तिले छुट्टिएकी प्रेमिकालाई समर्पित प्रेम सन्देश लेखेका छन् ।
वेबसाइट कहिले ह्याक भएको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि अन्तिम पटक उक्त वेबसाइट २०२५ मार्च २० मा सामान्य अवस्थामा रहेको देखिन्छ । अहिले ‘hellocm.koshi.gov.np/’ लिङ्क ब्राउज गर्दा प्रेमिल शब्दले भरिएको पेज देखिन्छ ।
वेबसाइटको सबैभन्दा माथिल्लो भागमा चकलेटको फोटो राखिएको छ । त्यसको तल ‘तिम्रै लागि’ भन्दै अंग्रेजी वर्ण ‘S’ लेखिएको देखिन्छ ।
वेबसाइटमा राखिएको प्रेम सन्देशको नेपाली भावानुवाद यस्तो छ :
साँच्चै भन्नुपर्दा, आजकल तिम्रो यादले धेरै सताइरहेको छ । झूट बोलेको होइन । मलाई थाहा छ हाम्रो सम्बन्धको अन्त्य सुखद थिएन । सायद त्यतिबेला मैले गरेका गल्तीहरू बुझ्न सकिनँ । तर सत्य के हो भने, म तिमीलाई अझै पनि अत्यन्त माया गर्छु । तिम्रो हाँसो, तिम्रो आवाज, सँगै बिताएका पलहरू — ती सबै आज पनि मेरो मनमा छन् ।
म कुनै जबरजस्ती गर्न खोजिरहेको छैन, केवल आफ्ना भावनाहरू पोख्दै छु । यदि तिमी पनि कतै मनको कुनामा ‘यदि यस्तो भएको भए…’ भन्ने सोच्दैछौ भने म यहाँ छु । कुनै दबाब छैन — केवल माया मात्र । सधैं ।
म तिमीलाई अझै पनि धेरै माया गर्छु । जतिसुकै समय बिते पनि वा हामी जतिसुकै टाढा भए पनि, तिमी सधैं मेरो मनमा छौ । हाम्रा कुराकानी, हाँसो र ती साना पलहरू सम्झन्छु । म ठीक छु भन्ने देखाइरहेछु, तर त्यो केवल झूट हो । मेरो मन अझै तिमीसँगै छ ।
तिमी मैले भेटेका सबैभन्दा सुन्दर मन भएका व्यक्तिहरूमध्ये एक हौ । जे भए पनि, हाम्रो भेटको लागि म आभारी छु । तिमी सधैं माया र सुख–शान्तिको हकदार छौ । र आशा गर्छु, कुनै दिन त्यो खुसीले तिमीलाई म तर्फ फर्काउनेछ ।
अहिले पनि तिम्रो मुस्कान, तिम्रो हाँसो र अबेर रातिसम्मका ती गफहरू सम्झिन्छु । ती कुराहरू आज पनि मेरो लागि अर्थपूर्ण छन् ।
मलाई थाहा छ मैले गल्ती गरेँ, मूर्खतापूर्ण व्यवहार गरेँ । तिमीले सधैं साथ दिएकी थियौ, तर मैले आफूसँग के थियो भन्ने बुझ्न सकिनँ । अहिले म यहीँ छु, तिम्रो त्यो अनुभूति, तिम्रो हाँसो र तिमीलाई सम्झिरहेको ।
म यहाँ झुट बोल्न आएको छैन — केवल मनदेखि बोलेको हुँ । यदि सक्थें भने समयलाई पछाडि फर्काएर तिमीलाई रानीझैं माया गर्थें । तिमीले यो कुरा थाहा पाउँछ्यौ भन्ने मात्र चाहेको छु । म तिमीलाई अझै माया गर्छु, सधैं गर्थें ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८२ १८:३९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भोलि थाइल्याण्डको बैंकक जाँदै छिन्।
यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ। सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।
यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ। सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरुको प्रमुख श्रम गन्तव्य युएईका अधिकारीहरुसँग स्वास्थ्यका लागि सघाउन आग्रह गरेका छन्।अबुधाबीमा त्यहाँका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँगको शिष्टाचार भेटका क्रममा मन्त्री पौडेलले ठूलो संख्यामा नेपाली त्यहाँ कार्यरत रहेको भन्दै उनीहरुको स्वास्थ्य रक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको र युएई सरकारबाट समेत उनीहरुको स्वास्थ्य रक्षाका लागि सहयोगको अपेक्षा गरेको बताए। उनले प्रस्थान गर्नुअघि तथा फर्केपश्चात सरकारले समेत श्रमिकको स्वास्थ्य रक्षाका लागि चालेको कदममा युएई सरकारबाट सहयोगको अपेक्षा गरे। मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।युएईका स्वास्थ्य विभाग अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा सहयोग गर्न तत्पर रहेको र दुई देशबीच सम्झौता गरी आपसी सहयोग र सहकार्य गर्न आवश्यक रहेको बताए। उनले युएईमा रहेका नेपाली श्रमिकहरुको प्रशंसा गर्दै नेपालसँगको सम्बन्धलाई अझ मैत्रीपूर्ण र प्रगाढ बनाउन युएई नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार भएको तर यसका लागि नेपाल सरकारबाट उपयुक्त वातावरण र कानूनी आधार तयार हुन आवश्यक रहेको समेत बताएको युएईस्थित नेपाली राजदूतावासले जनाएको छ।भेटमा नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए। मन्त्री पौडेल आइतबार आयोजना हुने नेपाल फेस्टिभलमा प्रमुख अतिथिका रुपमा सहभागी हुने दूतावासले जनाएको छ ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आइतबार थाइल्याण्डको बैंकक जाने भएकी छन्। यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ। सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस सत्रको विषयवस्तु एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ। सो सत्रमा मन्त्री डा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ।
उनीहरु अप्रिल २५ मा स्वदेश फर्कने कार्यक्रम छ।
सामाग्री श्रोत :
परराष्ट्रमन्त्री डा राणा बैंकक जाँदै, युएनस्केपको अध्यक्षता गर्ने









