
काठमाडौं । मंगलबार बिहानैदेखि नेपाल टेलिकमको इन्टरनेट सेवा सुस्त बनेको छ । एक अन्तर्राष्ट्रिय सेवा प्रदायकको नेटवर्कमा प्राविधिक समस्या आएपछि सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आज बिहान ९:३० बजे एउटा सेवा प्रदायकको नेटवर्कमा समस्या देखिएको थियो । समस्यालगत्तै सम्पूर्ण इन्टरनेट ट्राफिकलाई वैकल्पिक लिंकमार्फत सञ्चालनमा ल्याइएको छ ।
तर, वैकल्पिक सञ्जालमा एकैपटक सम्पूर्ण ट्राफिकको चाप पर्दा इन्टरनेटको गतिमा असर परेको कम्पनीको भनाइ छ ।
कम्पनीले एक सूचना जारी गर्दै तत्काल समस्या समाधान गरी सेवालाई पूर्ण रूपमा पुनर्स्थापना गर्ने प्रयास जारी रहेको बताएको छ । साथै, अप्रत्याशित परिस्थितिका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १३:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– प्रतिनिधिसभा बैठक सुरु भएको छ।
सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बहिस्कार गरेको छ।
भिजिट भिसामा सरकारले आफूहरूको माग बमोजिम छानबिन गर्न संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक आयोग नबनाएको भन्दै रास्वपाले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको हो।
बैठकमा बोल्दै रास्वपा सांसद सोबिता गौतमले आफूहरूले उठाएको संवेदनशील विषयमा सरकार अनदेखा गरेको भन्दै बैठक बहिस्कार गर्ने निर्णय गरेको बताइन्। उनले बोलिसकेपछि रास्वपा सांसदहरू संसद् बैठक कक्षबाट बाहिरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत काठमाडौं उपत्यकामा रहेका डाक्टरहरु सडकमा आएका छन्।
चिकित्सक संघको आहवान अनुसार माइतीघरमा उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु जम्मा भएका हुन्। उनीहरुले माइतीघरमा विरोध प्रदर्शनसँगै र्याली पनि गरेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधिको प्रयोगबाट सामाजिक समस्या समाधानका लागि नवीनतम उपाय प्रस्तुत गर्न दुई नेपाली टिम स्विजरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । सोमबार ‘टिम सगरमाथा’ र ‘टिम गौतम बुद्ध’ स्विजरल्यान्ड उडेका हुन् ।
यी टिमले संयुक्त राष्ट्रसंघ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार संघले आयोजना गरेको ‘एआई फर गुड- रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । ९ जुलाई २०२५ देखि सुरु हुने यस विश्वव्यापी मञ्चमा ६० भन्दा बढी देशका युवा आविष्कारकले एआई र रोबोटिक्समा आधारित आफ्ना परियोजना प्रदर्शन गर्नेछन् ।
नेपालबाट सहभागी टोलीलाई रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान)ले आयोजना गरेको राष्ट्रिय स्तरको छनोट प्रतियोगितामार्फत छानिएको हो । सिनियर र जुनियर गरी दुई तहमा विभाजित नेपाली टोलीले विश्वव्यापी चुनौतीको प्राविधिक समाधानमा नेपालको क्षमता प्रस्तुत गर्नेछ । सिनियर तहको छनोट काठमाडौँ इन्जिनियरिङ कलेजमा र जुनियर तहको छनोट ललितपुरको युनाइटेड स्कुलमा सम्पन्न भएको थियो । त्यसमा देशभरका १७ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
‘टिम सगरमाथा’ नाम दिइएको सिनियर टोलीमा शिक्षक सन्तोष थापा मगरको नेतृत्वमा प्रभिन श्रेष्ठ, सम्पना केसी र श्रेयश आचार्य छन् । त्यसैगरी ‘टिम गौतम बुद्ध’ नामको जुनियर टोलीमा शिक्षक ऋषभ राज र किरण खत्रीको मार्गदर्शनमा आरव गौतम, परिधि श्रेष्ठ, अनुपम भुजेल र ऋद्धि मानन्धर सहभागी छन् ।
रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङले टोलीको मुख्य सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । ‘एआई फर गुड ग्लोबल समिट’ को एक हिस्साको रूपमा रहेको यो प्रतियोगिताले युवालाई वास्तविक विश्वका समस्या समाधान गर्न अत्याधुनिक प्रविधिको रचनात्मक प्रयोग गर्न प्रोत्साहित गर्ने र्यानले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १२:१७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवामा बाढीले पुर्याएको क्षतिपछि अत्यावश्यक बाहेक पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेका छन्।
अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरू स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे रिपोर्टिङ लिइरहेको प्रधानमन्त्री ओलीले बताएका हुन्।
उनले आज सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘तिब्बतको सीमावर्ती क्षेत्रमा भएको भारी वर्षाका कारण त्रिशुली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको छ।’
‘यस दुःखद क्षणमा अत्यावश्यक बाहेक निर्धारित कार्यक्रमहरु स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धारकार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु। विपद् सम्भावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको छ।’
उनले सरकारको तर्फबाट गरिने प्रयासमा कुनै कमी हुन नदिन निर्देशन पनि दिएका छन्। साथै सरकारी निकायहरुले गरिरहेको उद्धारको काममा सबैको सहयोगको अपेक्षा पनि उनले गरेका छन्।
उनले बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपद्को पीडामा रहेका नागरिकप्रति सहानुभूति प्रकट गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबरहरू आएका छन्। ठुलो भौतिक क्षति पुर्याएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँगको साझेदारीमा नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स र यसको सहायक कम्पनी डेटा वर्ल्डमा दुई करोड ९० लाख अमेरिकी डलर (करिब तीन अर्ब ९८ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ ।
यो लगानी नेपालभर ब्रोडब्यान्ड कनेक्टिभिटी विस्तार गर्न, दिगो डेटा सेन्टरको पूर्वाधार विकास गर्न र डिजिटल पहुँच बढाएर आर्थिक वृद्धिमा सघाउन केन्द्रित हुने बताइएको छ । यो साझेदारीले नेपालका दुर्गम क्षेत्रहरूमा फाइबर अप्टिक नेटवर्क विस्तार गरी उच्च गतिको इन्टरनेट पहुँच पुर्याउने र डेटा भण्डारण तथा प्रशोधनको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ ।
वर्ल्डलिंकका संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले आईएफसी र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको यो रणनीतिक साझेदारीले नेपालभर कनेक्टिभिटीको पुललाई अझ बलियो बनाउने बताए । “यो सहकार्य डिजिटल रूपमा सशक्त समाज निर्माण गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रमाण हो र सबै नेपालीको समृद्ध भविष्यको आधारस्तम्भ हो,” उनले भने ।
परियोजनाअन्तर्गत नेपालको पहिलो ईडीजीई (EDGE) प्रमाणित डेटा सेन्टरसहित देशभर अत्याधुनिक डेटा सेन्टरहरू स्थापना गरी दिगो र नवीन विकासका लागि नयाँ मापदण्ड तयार पारिनेछ । यसमार्फत हजारौँ रोजगारी सिर्जना गर्ने र वर्कफोर्स (कार्यबल)मा महिलाको प्रतिनिधित्व बढाउने लक्ष्यसमेत राखिएको छ ।
आईएफसीका दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक इमाद एन. फाखौरीका अनुसार यो लगानी नेपाल सरकारको १६औँ राष्ट्रिय योजना र डिजिटल नेपाल फ्रेमवर्कको दृष्टिकोणसँग मिल्दोजुल्दो छ । “विशेषगरी पिछडिएका क्षेत्रमा डिजिटल पहुँच बढाएर र गुणस्तरीय रोजगारी सिर्जना गरेर नेपालको डिजिटल रूपान्तरण, कनेक्टिभिटी र आर्थिक वृद्धिमा सहयोग गर्न पाउँदा आईएफसी गौरवान्वित छ,” उनले भने ।
यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ गोरख राणाले यो सहकार्यलाई नेपालको डिजिटल पूर्वाधार बलियो बनाउने महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरे । उनले भने, “देशको डिजिटल पूर्वाधारमा लगानी गरेर हामी इन्टरनेटको पहुँचमा उल्लेखनीय सुधार ल्याउन र विश्वव्यापी अवसरहरू खोल्न चाहन्छौँ ।”
विश्व बैंक ग्रुपको सदस्य आईएफसी विकासशील देशहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठुलो विश्वव्यापी विकास संस्था हो । यो लगानी नेपालका लागि विश्व बैंक ग्रुपको कन्ट्री पार्टनरशिप फ्रेमवर्क (२०२५-२०३१) सँग पनि जोडिएको छ, जसले सबैका लागि राम्रो अवसर सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ ११:१४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ।
त्रिशूली खोलाको किनारमा २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ क्यरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो।
शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन्। घटनाबारे अध्ययन गर्न प्रहरी टोली घटनास्थल पुगेको उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – राष्ट्रिय चिकित्सक संघ, नेपाल (एनडान)को केन्द्रीय समितिको आकस्मिक बैठकले हाल उत्पन्न स्वास्थ्य तथा कानुनी चुनौतीहरूलाई गम्भीर रूपमा मूल्याङ्कन गर्दै चिकित्सा सेवा प्रणालीको दीर्घकालीन सुधारका लागि १० बुँदे महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
बैठकमा वर्तमान समयको संवेदनशील स्वास्थ्य परिदृश्य, उपभोक्ता संरक्षण ऐन अन्तर्गतका विवादहरू, तथा अदालतका पछिल्ला फैसलाहरूले चिकित्सक समुदायमा सिर्जना गरेको मानसिक दबाबलाई मध्यनजर गर्दै चिकित्सा पेशाको गरिमा, बिरामीको हक हित, र व्यावसायिक सम्मानको रक्षा गर्न आवश्यक कदमहरू तय गरिएको एनडानले जनाएको छ।
संघले उपभोक्ता संरक्षण ऐनले उपचारको नियत, सेवा सन्दर्भ, र नेपालको स्वास्थ्य प्रणालीको यथार्थतालाई नबुझेको आधारमा गरिएका केही न्यायिक फैसलाहरूले सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई नै अन्योलमा पारेको जनाउँदै, चिकित्सा अभ्यासको स्पष्ट कानुनी संरचना निर्माण गर्न सरकार र सरोकारवालासँग सहकार्यको तयारी पनि जनाएको छ।
एनडानका अनुसार, यो सुधारको यात्रा केवल कानुनी परिवर्तनमा सीमित नरही, स्वास्थ्य सेवा संरचना, संस्थागत आचरण, र चिकित्सा अभ्यासका विविध आयामहरूमा व्यापक हस्तक्षेप आवश्यक भएको स्पष्ट गरिएको छ।
एनडानले भनेको छ, ‘यो केवल चिकित्सकको मुद्दा होइन, सम्पूर्ण स्वास्थ्य प्रणालीको सुरक्षासँग सम्बन्धित विषय हो। हामी व्यावसायिक उत्तरदायित्व स्वीकार गर्दै बिरामीको हितका लागि नीतिगत, कानुनी, र संस्थागत सुधार चाहन्छौं।’
यस्तो छ १० बुँदे निर्णय :
हेर्नुहोस् : स्वास्थ्य खबर पोलिसी क्लिनिक : विथ डिबी खड्का
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । ट्वीटरका सहसंस्थापक तथा ब्लकका सीईओ ज्याक डोर्सीले इन्टरनेट वा मोबाइल नेटवर्क बिना नै मेसेज पठाउन सकिने नयाँ एप ‘बिटच्याट’ (Bitchat) सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले हालै कोडिङ गरेर यो एप बनाएको जानकारी दिएका हुन् ।
‘बिटच्याट’ ब्लुटुथ मेस नेटवर्क प्रविधिमा आधारित एप हो । यसले प्रयोगकर्ताहरूलाई वाई-फाई वा सेलुलर डेटा नभएको अवस्थामा पनि एकआपसमा मेसेज आदानप्रदान गर्न अनुमति दिन्छ । सामान्यतया ब्लुटुथको प्राविधिक सीमितताका कारण यस्ता एपहरू करिब १०० मिटरको दूरीमा मात्रै प्रभावकारी हुन्छन् ।
तर, डोर्सीले आफ्नो एपले अन्य प्रयोगकर्ताको डिभाइसमार्फत मेसेज रिले (प्रसार) गरेर यसको पहुँच ३०० मिटरसम्म विस्तार गर्न सक्ने दाबी गरेका छन् । यो एप विशेषगरी कन्सर्ट, मेला वा नेटवर्क कमजोर भएका स्थानहरूमा साथीभाइहरूसँग सम्पर्कमा रहन उपयोगी हुने देखिन्छ ।
my weekend project to learn about bluetooth mesh networks, relays and store and forward models, message encryption models, and a few other things.
bitchat: bluetooth mesh chat…IRC vibes.
TestFlight: https://t.co/P5zRRX0TB3
GitHub: https://t.co/Yphb3Izm0P pic.twitter.com/yxZxiMfMH2
— jack (@jack) July 6, 2025
यो एप पूर्ण रूपमा ‘इन्ड-टु-इन्ड इन्क्रिप्टेड’ रहेको बताइएको छ । जसले गर्दा मेसेज पठाउने र पाउनेबाहेक अरू कसैले हेर्न सक्दैन ।
डोर्सीको यो एप हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूले प्रयोग गरेको ‘ब्रिजफाई’ (Bridgefy) नामक एपसँग मिल्दोजुल्दो छ । इन्टरनेट बिना चल्ने भएकाले सरकारी निगरानीबाट बच्न ब्रिजफाई निकै लोकप्रिय भएको थियो । रोचक कुरा के छ भने ब्रिजफाईमा ट्वीटरकै अर्का सह-संस्थापक बिज स्टोनको लगानी रहेको छ ।
डोर्सीले बेटा परीक्षणका लागि एप्पलको टेस्टफ्लाइट (TestFlight) मार्फत एप उपलब्ध गराएका थिए । तर १०,००० प्रयोगकर्ताको सीमा पूरा भएसँगै परीक्षण हाल बन्द गरिएको छ । एप सार्वजनिक रिलिजका लागि समीक्षामा रहेको उनले बताएका छन् ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १०:२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीबाट प्रभावितको उद्धार तथा राहत प्रभावकारी बनाउन अनुरोध गरेका छन्।
आज सामाजिक सञ्जालमार्फत उनले नेपाल–चीन जोड्ने मितेरी पुललगायत धेरै महत्त्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उनले भने, “प्राकृतिक विपद्को विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न म जोडदार माग गर्दछु।”
अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता-कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिएका छन्।
उनले भनेका छन्, “म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकहरूलाई यो सङ्कटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ